कपिलवस्तुमा प्रतिनिधिसभा निर्वाचनका लागि कुल ९८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीनवटै निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी उम्मेदवारी क्षेत्र नम्बर ३ मा परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा ३४ जना, क्षेत्र नम्बर २ मा २८ जना र क्षेत्र नम्बर ३ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको अनुसार क्षेत्र नम्बर १ मा कुल १ लाख ४७ हजार ६५९ मतदाता रहेका छन् । जसमध्ये पुरुष ७७ हजार ६४६, महिला ७० हजार ००९ र अन्य ४ जना रहेका छन् । त्यस्तै, क्षेत्र नम्बर २ मा कुल १ लाख ३० हजार २०२ मतदाता छन् । यसमध्ये पुरुष ७० हजार २६४ र महिला ५९ हजार ९३८ रहेका छन् । क्षेत्र नम्बर ३ मा कुल १ लाख १८ हजार ४०४ मतदाता रहेका छन् । जसमध्ये पुरुष ६३ हजार ९३६ र महिला ५४ हजार ४६८ रहेका छन् । यसैबीच, प्रतिनिधिसभा सदस्यका लागि परेको उम्मेदवारीमा महिला प्रतिनिधित्व अत्यन्त न्यून देखिएको छ । कुल ९८ उम्मेदवारमध्ये केवल चार जना महिला रहेका छन्, जुन करिब ४ प्रतिशत मात्र हो । विशेषगरी क्षेत्र नम्बर ३ मा महिला उम्मेदवारी शून्य रहेको देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयस्तरमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यालयस्तरबाटै ट्राफिक नियमसम्बन्धी सचेतना प्रदान गरी दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख तथा प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमअन्तर्गत मायादेवी गाउँपालिका–१, पकडीस्थित श्री छत्रपाली तीर्थादेवी माध्यमिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको आस्थायी ट्राफिक प्रहरी कार्यालय पकडीका नायब निरीक्षक विष्णु न्यौपानेले बताउनुभयो ।
विद्यालयस्तरबाटै विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक सुरक्षा र सचेत व्यवहारका विषयमा जानकारी दिँदै सवारी दुर्घटना न्यूनीकरण गराउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।
विद्यालयका विद्यार्थीहरूले दैनिक रूपमा सडक पार गरेर आवागमन गर्नुपर्ने भएकाले यस्तो सचेतना कार्यक्रमले उनीहरूलाई दुर्घटनाबाट जोगिन सहयोग पुग्ने ट्राफिक प्रहरीले अपेक्षा गरेको छ ।
कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक पार गर्दा अपनाउनुपर्ने सावधानी तथा ट्राफिक संकेतका विषयमा प्रशिक्षण दिइएको थियो । सो अवसरमा विद्यार्थीहरूले ट्राफिक नियमसम्बन्धी विभिन्न जिज्ञासा र प्रश्नहरू समेत राखेका थिए ।
त्यस्तै, प्रशिक्षण कार्यक्रममा सवारी साधन चलाउँदा आवश्यक कागजात साथमा राख्नुपर्ने, ट्राफिक नियमको पालना गर्नुपर्ने तथा सवारी चलाउँदा ध्यान दिनुपर्ने विषयमा चेतनामूलक जानकारी दिइएको थियो ।
साथै, विद्यालयमा सिकेका कुराहरू परिवार तथा समुदायमा समेत जानकारी गराउन विद्यार्थीहरूलाई अनुरोध गरिएको छ ।
ट्राफिक प्रहरीले कारबाहीमा मात्र सीमित नभई समुदायस्तरमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
फल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरीका लागि आवेदन प्रक्रिया सुरु गरिएको छ । आवेदनका क्रममा देखिएको भीडका कारण भोलि पुस २६ गतेदेखि आवेदन दर्ता गर्ने समय बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ । प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार आवेदन प्रक्रियाको पहिलो दिन कुल २५० जनाले आवेदन दर्ता गरेका छन् । जसमध्ये १५९ जना पुरुष र ९१ जना महिला रहेका छन् । सशस्त्र प्रहरीतर्फ भने एक जनाको मात्र आवेदन दर्ता भएको उनले जानकारी दिए ।उनका अनुसार कपिलवस्तु जिल्लामा निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल २ हजार ९ सय ९३जना निर्वाचन प्रहरी आवश्यक रहेको छ । जसमध्ये नेपाल प्रहरीतर्फ २ हजार ६ सय ६८ जना र सशस्त्र प्रहरीतर्फ ३ सय २५ जना माग गरिएको छ । निर्वाचन प्रहरीका लागि आवेदन दिने मिति पुस २५ गतेदेखि माघ १ गतेसम्म तोकिएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु ,पुष ९ जिल्लाका महत्वपूर्ण विषयको सूचना संकलनमा जुट्नुपर्ने राष्ट्रिय अनुसन्धान (गुप्तचर) का हाकिम नै एकपछि अर्को विवादमा तानिएपछि कपिलवस्तुका सूचकहरु हैरानी खेप्न बाध्य देखिन्छन् । बढ्दो अपराधिक तथा राजनीतिक घटनाक्रमका सूचना छाडेर उनीहरु सीमा क्षेत्रका तस्कर खोज्दै हिँड्नुपर्ने, रकम जोहोका लागि अनेक भेटघाटमा जुट्नुपर्ने अवस्था उत्पन्न भएको बताइन्छ ।
कपिलवस्तुका उपअनुसन्धान निर्देशक हिरण्य कुँवरमाथि गम्भीर आरोप लागेकाले उनी मातहतका अनुसन्धान सहायक, सूचक र सहसूचक गरेर १३ जनाको परम्परागत काम अर्कैमा परिणत हुन थालेको देखिन्छ । जनआस्थालाई प्राप्त एउटा अडियोबाट समेत कुँवरमाथि आरोप पुष्टि हुने अवस्था छ ।
हिजो सोमबार मायादेवी पकडीस्थित एकजना सञ्चारकर्मीलाई टायल, मार्बल तस्कर ठानेर हाकिमले आफ्ना विश्वासपात्र एक जना अनुसन्धान सहायकसँग टेलिफोनमा बार्गेनिङ गरेका थिए । टेलिफोन वार्तामा कुनै समस्या नहुने, एसपीसँग कुरा मिलिसकेको र बाँकी कुरा भेटमा मिलाउने भनिएको सुनिन्छ ।
असार पहिलो साता कपिलवस्तु पुगेका कुँवर शुरुदेखि नै विवादमा तानिएका हुन् । सुरक्षा समिति बैठकमा सुरक्षा अधिकारीहरुसँगको विवाददेखि पत्रकारका नाममा दशैं खर्च उठाइएका घटना यसअघि नै बाहिर आइसकेको छ । गत भदौ अन्तिम साता को. १ झ ४५५ नम्बरको सरकारी गाडीमा रातको २ बजे हर्दौना क्षेत्रमा पुगेर अवैध ब्रोइलर कुखुरा समात्न जाँदा कपिलवस्तुको गुप्तचर कार्यालय विवादमा तानिएको थियो । जिल्लास्थित सुरक्षा बैठकमा समेत आफ्नो सट्टा अर्का अधिकृतलाई पठाएपछि सरकारी कर्मचारीबीच उनको आलोचना हुने गरेको हो ।
मंसिर पहिलो साता ‘माथि’ को लागि भन्दै यशोधरा ६ रंगपुरका वडाध्यक्ष तथा चामल व्यापारी राजकुमार जैसवाल मार्फत् एक क्विण्टल कालानमक (महँगो चामल) राति ७ बजे तौलिहवाको रेडहर्स बसमा हालेर काठमाडौं पठाएको घटना गुप्तचरहरुबीच नै चर्चामा छ । मर्यादापुरमा खटिने एकजना अनुसन्धान सूचकमाथि मालवाहक ट्रकका चालकहरुले गम्भीर आरोप लगाउँदै आएको धेरै भइसकेको छ हिले मातहतका अनुसन्धान कर्मचारीहरु जागिर जोगाउनैका लागि अन्यत्र सरुवा माग्न थालेपछि घटनाहरु एकपछि अर्को बाहिर आएका हुन् । स्रोत भन्छ, ‘कार्यालय र कार्यालय प्रमुखमाथि लागेका गम्भीर आरोपलाई नजरअन्दाज गर्न नमिल्ने छ । तर, जिल्लामा बसेर जागिर खान सकिने अवस्था पनि छैन ।’
यस सम्बन्धमा कुँवरले आफूमाथि लगाइएका आरोप सबै कपोलकल्पित भएको बताए । उनी भन्छन्, ‘कुन कर्मचारीलाई के चित्त बुझ्दैन, फूलबुट्टा भरेर प्रचार गरेपछि कसको के लाग्छ ।’ तर टायल काण्ड सम्बन्धी अडियो जनआस्थासँग सुरक्षित छ ।
कपिलवस्तु, ५ पुस – कपिलवस्तु प्रहरीले अवैध रूपमा भण्डारण गरिएको १ सय २ बोरा अनुदानको मल सहित एक व्यवसायीलाई नियन्त्रणमा लिएको छ । सूचनाका आधारमा कपिलवस्तु नगरपालिका–१० पचेहरास्थित मनोज किराना पसलमा छापा मारेको थियो । इलाका प्रहरी कार्यालय पकडीका निरीक्षक सुवास खतिवडाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोलीले मलसहित पसल सञ्चालक गोरखनाथ बनियालाई नियन्त्रणमा लिएको हो । बरामद मलमा ६२ बोरा डिएपी (मूल्य रु. १,३६,४००) र ४० बोरा युरिया (मूल्य रु. ३०,२००) रहेको छ । कुल मूल्य १,६६,६०० रुपैयाँ पर्छ । प्रहरीका अनुसार पछिल्लो समय अनुदानको मलमा कालोबजारी र अवैध भण्डारण बढेकोले सो छापा हानेको हो । नियन्त्रणमा लिइएका व्यक्ति र बरामद मल आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्र निर्माण दल नेपालले संगठन विस्तार तथा स्थानीय तहमा पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित कपिलवस्तुको मायादेवी गाउँपालिकामा २५ सदस्यीय गाउँपालिका स्तरीय कमिटी विस्तार गरेको छ । पार्टीको निर्णयअनुसार गठन गरिएको कमिटीको अध्यक्षमा इरशाद अहमद मु. चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा सिर्जना विमल हेल्डर, सचिवमा शिव कुमार चमार र सहसचिवमा तोफिक मुसलमान नियुक्त भएको पार्टीले जनाएको छ । नवगठित कमिटीलाई पार्टीको नीति, विधि–विधान तथा मूल उद्देश्यअनुसार संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र स्थानीय तहमा पार्टीको प्रभावकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी दिइएको छ । स्थानीय जनताको समस्या र आवश्यकता केन्द्रमा राख्दै पार्टीलाई जनमुखी बनाउने लक्ष्य लिइएको बताइएको छ । साथै पार्टीले आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्ना एजेन्डासहित प्रचार–प्रसारमा जाने निर्णय गरेको जनाएको छ । यस अवसरमा पार्टीका केन्द्रीय उपाध्यक्ष खगेन्द्र प्रसाद ढकालले भन्नुभयो, “स्थानीय तहमा संगठन मजबुत नबनाई राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका सम्भव हुँदैन । मायादेवी गाउँपालिकामा गठन भएको यो कमिटीले पार्टीको नीति र एजेन्डालाई घर–घरमा पुर्याउनेछ। आगामी प्रतिनिधि सभा निर्वाचनमा हामी जनताको मुद्दा लिएर मैदानमा उत्रनेछौं ।” ढकालले नवनियुक्त नेतृत्वलाई जिम्मेवार, अनुशासित र परिणाम देखिने काम गर्न आग्रहसमेत हुन् ।
कपिलबस्तु, पुष ४- जिल्लाको शुद्धोधन गाउँपालिका–५ गदहवा चोकस्थित प्रहरी चौकी हथिहवादोहनीबाट खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको सामान बरामद गरेको थियो ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा अन्दाजी मूल्य रु १८ हजार ८७० बराबरका कस्मेटिक सामान र रु १ लाख ५० हजार मूल्य बराबरको मोटरसाइकल बरामद गरिएको हो । बरामद सामान तथा मोटरसाइकलको कुल मूल्य रु १ लाख ६८ हजार ८७० रहेको छ । उक्त सामान आवश्यक कारबाहीका लागि सुठौली भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
त्यसै क्रममा, इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउँपालिका–५ घिराउजोत क्षेत्रमा भारतबाट भन्सार छलि गरी ल्याइँदै गरेको सामग्री नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सुबास खतीवडाका अनुसार, अन्दाजी मूल्य रु २१ हजार ६०० बराबरको बोइलर कुखुराको मासु र रु ५० हजार मूल्यको मोटरसाइकलसहित कुल रु ७१ हजार ६०० बराबरको सामग्री नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगर पठाइएको हो ।
प्रहरीले सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार नियन्त्रणका लागि नियमित चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ ।
कपिलवस्तु -भारतको सिद्धार्थनगर जिल्लाअन्तर्गत कपिलवस्तु थाना प्रहरीले एनसीआरपी–समन्वय पोर्टलमार्फत विभिन्न राज्यबाट दर्ता भएका उजुरीका आधारमा १ करोड ७ लाख ३ हजार ७२० रुपैयाँ बराबरको साइबर ठगी प्रकरणमा संलग्न दुई जना नेपाली नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरूको साथबाट ठगीको रकमबाट खरिद गरिएका ७ थान मोबाइल फोन, १ थान मोटरसाइकल, १ थान मारुती स्वीफ्ट कार तथा ९८ हजार २०० भारतीय रुपैयाँ नगद बरामद गरिएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार जुन २०२४ मा एनसीआरपी–समन्वय पोर्टलमार्फत भारतका विभिन्न राज्यबाट कुल ३५ वटा साइबर ठगीसम्बन्धी उजुरी दर्ता भएका थियो । ती उजुरीको अनुसन्धानका क्रममा साइबर अपराधमा प्रयोग गरिएको म्युल खाता नम्बर 00000040548214309 मा जम्मा भएको १ करोड ७ लाख ३ हजार ७२० भारतीय रुपैयाँ बराबरको अनलाइन ठगी रकमको ट्रेल पत्ता लगाई अभियुक्तहरूलाई पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरूले ठगीको रकम व्यक्तिगत खर्च, सवारी साधन खरिद तथा अन्य सामग्रीमा प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ ।
सिद्धार्थनगरका प्रहरी उपरीक्षक डा. अभिषेक महाजनको निर्देशनमा सञ्चालन गरिएको साइबर अपराध नियन्त्रण अभियानअन्तर्गत अपर प्रहरी उपरीक्षक प्रशान्त कुमार प्रसादको मार्गदर्शन तथा क्षेत्राधिकारी सदर विश्वजीत सौरयान (आईपीएस)को पर्यवेक्षणमा कपिलवस्तु प्रहरी निरीक्षक सन्तोष कुमार तिवारीको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो ।
उक्त प्रकरणमा थाना कपिलवस्तुमा मुद्दा नं. ८५/२०२५ दर्ता गरी भारतीय दण्ड संहिता (IPC) को धारा ४१९, ४२०, ३४ तथा सूचना प्रविधि ऐनको धारा ६६(डी) अनुसार कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा
शहजाद खान,आशीष उर्फ अन्नू मिश्र ,परबेज खान ,अब्दुल अहद र मोहम्मद वसीम रहेकाको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक सन्तोष कुमार तिवारीको नेतृत्वमा खटिएको टोलीले पक्राउ परेका अभियुक्तहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरी जेल पठाइएको जानकारी दिएको छ ।
कपिलवस्तु ,०१ पुस – कपिलवस्तु प्रहरीले भारतबाट भन्सार छलि अवैध रूपमा नेपाल भित्र्याइएका मोबाइल तथा मोबाइलजन्य सामग्री बरामद गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिका–२ बाट विभिन्न ब्रान्डका मोबाइल सेट र तिनका पार्टपुर्जा नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार बरामद सामग्रीको बजार मूल्य करिब २ लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिएअनुसार ४ थान रियलमी मोबाइल सेटसहित मोबाइलका डिस्प्ले, ब्याट्री, ग्लास, सफा गर्ने कपडा र ब्रस गरी कुल १७६ थान सामग्री बरामद गरिएको हो ।
बरामद गरिएका सम्पूर्ण सामग्री आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा पठाइएको सिंहले जानकारी दिए ।
कपिलवस्तु, मंसिर–१८ छिमेकी घरमा हाँसो–खेलाइ गुन्जिरहँदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१, प्रगतीनगरकी लक्ष्मी परियारको झुपडी भने वर्षौँदेखि मुस्कान बिर्सिएको जस्तै देखिन्छ । बुढेसकालमा विश्रामको अधिकार पाउनुपर्ने उमेरमा पनि लक्ष्मी बिहानै ज्याला मजदुरीतिर लाग्छिन् ।
श्रीमान् भिमबहादुर परियारको मृत्युपछि परिवारको सम्पूर्ण जिम्मेवारी आफूले बोक्नुपरेको बताउने लक्ष्मीका चारै सन्तान जन्मजात अपाङ्गता भएका छन् । उपचार अभावमा जेठो छोरा शंकरको मृत्यु भइसकेको छ भने अहिले माइलो रामप्रकाश, साइँलो अनुराम र कान्छी छोरी सङ्गीता पनि कम्मरमुनीको खुट्टा चलाउन सक्दैनन् ।
“गरिबका दुःख कहिल्यै नघट्ने रहेछ,” लक्ष्मी भन्छिन्, “न सम्पत्ति छ, न सपाङ्ग सन्तान । बुढेसकालमा पनि ज्याला मजदुरी गरेर घर चलाएकी छु ।”
कागजातबिहीन घर, नागरिकता पनि ढिलो
सुकुम्बासी बस्तीमा रहेको एक कट्ठा जग्गामा बनेको झुपडी घरलाई आधिकारिक कागजात छ नै भन्न सकिन्न । श्रीमानीको मृत्यु हुँदा परिवारमा कसैको पनि नागरिकता थिएन । स्थानीय समाजसेवीहरूको पहल र तत्कालीन पालिका अध्यक्ष निसार अहमद खाँको सहयोगमा मात्र नागरिकता बनाइएको थियो ।
घुम्ती पसल र भत्ता—सामान्य आम्दानीको स्रोत
एउटा संस्थाले सहयोग गरेको घुम्ती पसल र तीन अपाङ्ग सन्तानले पाउने भत्ता परिवारको मुख्य आम्दानी स्रोत बनेको छ । तर रामप्रकाश स्वतः पसलसम्म पुग्न नसक्ने भएकाले छिमेकी युवाहरूले दिनभर त्यहाँ लगेर राख्ने गर्छन् ।
पुरानो कच्ची शौचालयको रिंग फुटेर प्रयोग गर्नै नसकिने भएपछि ‘इस्लामिक रिलिफ’ को सहयोगमा लिडो नेपालले नयाँ शौचालय निर्माण गरेको छ । “शौचालयको समस्या समाधान भयो, तर परिवार अझै धेरै सहयोगको प्रतीक्षामा छ,” स्थानीय समाजसेवी सरिफ खानले भने ।
स्कुटर छ, प्रयोगबाहिर
गाउँपालिकाले उपलब्ध गराएको चारपांग्रे स्कुटर पनि पेट्रोलको खर्च नहुने कारण प्रयोगबाहिर छ ।
कान्छी छोरी सङ्गीता भन्छिन्, “पढ्न, लेख्न, घुम्न चाहना छ, तर शरीरले साथ दिँदैन, घरमा साधन पनि छैन ।”
सुरक्षित घरको चाहना
रामप्रकाशले वर्षायाममा चुहिने झुपडीले सबैभन्दा बढी समस्या सिर्जना गर्ने बताउँदै भने, “यदि कोही दाताले सानो पक्की घर बनाइदिए जीवन सजिलो हुन्थ्यो ।”
आमदनी र सुरक्षित घर नहुँदा परिवारको दैनिकी अझै पनि कठिन छ । लक्ष्मी परियारको परिवार अहिले पनि घर निर्माण सहितको सहयोगका लागि मनकारी दाताको आशामा छ ।