• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: खेल

एनआरएनएको महाधिवेशन नहुने खतरा बढ्यो, अदालतमा मुद्दा

  • २७ फाल्गुन २०८२, बुधबार ०२:३० मा प्रकाशित
  • समर्पण रम्जान

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी फागुन ३० गतेदेखि तय भएको ‘१२औं बृहत् एकताको महाधिवेशन’ तोकिएको मितिमा नहुने खतरा बढेको छ । महाधिवेशन र त्यसमा प्रयोग गर्न लागिएको अनलाइन मतदान प्रक्रिया रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएपछि महाधिवेशन अन्योलमा परेको हो । उक्त रिटको पेसी भोलिका लागि तोकिएको छ ।

    एनआरएनए बेलायत (एनसीसी युके) का हजारौं सदस्यहरूलाई मताधिकारबाट वञ्चित गरी विधानविपरीत निर्वाचन गर्न लागिएको भन्दै एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको तर्फबाट वारेस राजेन्द्र प्रसाद दंगालले अदालतमा मुद्दा दायर गरेका हुन् । रिटमा बेलायतको कडा डेटा सुरक्षा कानुन (डेटा प्रोटेक्सन एक्ट) लाई मुख्य आधार मानिएको छ । निवेदकका अनुसार, एनआरएनए युकेमा रहेका करिब २२ हजार सदस्यहरूको व्यक्तिगत विवरण बेलायती कानुनअनुसार सुरक्षित रहेको र उक्त विवरण एनआरएनए केन्द्रले प्रयोगमा ल्याएको ‘एमआरएस’ (Membership Registration System) प्रणाली वा तेस्रो पक्षको सर्भरमा सार्न कानुनले दिँदैन । संघको कुल मतदातामध्ये करिब २० प्रतिशत हिस्सा ओगट्ने बेलायतका प्रतिनिधिहरूलाई प्राविधिक र कानुनी जटिलताका कारण बाहिर राखेर गरिने महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ मान्न नसकिने जिकिर रिटमा गरिएको छ ।

    निवेदकले अनलाइन भोटिङ प्रणाली र व्यक्तिगत गोपनीयताको विषयमा समेत गम्भीर प्रश्न उठाएका छन् । मतदाताको पहिचानका लागि तेस्रो पक्षको एपमा इमेल र ‘सेल्फी फोटो’ (फेसियल भेरिफिकेसन) दिन बाध्य पार्नु व्यक्तिगत गोपनीयताको हक विपरीत हुने उनीहरूको दाबी छ । सन् २०२३ को निर्वाचनमा अनलाइन भोटिङमार्फत गम्भीर धाँधली भएको स्मरण गराउँदै अहिले पनि तेस्रो पक्षलाई चुनाव गराउने जिम्मा दिनु गैरकानुनी भएको रिटमा उल्लेख छ । यसका साथै इजरायल, इरानलगायत मध्यपूर्वको द्वन्द्वका कारण लाखौं नेपाली अलपत्र रहेको अवस्थामा अनलाइन भोटिङ व्यावहारिक नहुने भन्दै प्रतिनिधिको भौतिक उपस्थितिमा मात्र निर्वाचन गराउन परमादेश माग गरिएको छ ।

    दायर गरिएको रिटमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय, एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी), संघको सचिवालय, निर्वाचन समिति तथा एनआरएनएका अध्यक्षद्वय महेश कुमार श्रेष्ठ र डा. बद्री केसीलाई विपक्षी बनाइएको छ । मन्त्रालयले भौतिक रूपमा उपस्थित हुन नसक्ने अवस्थामा अनलाइनमार्फत सहभागी हुने गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन दिएको पत्र (च.नं. ६२८०) कानुनविपरीत भएको दाबी गर्दै उत्प्रेषणको आदेशले त्यसलाई बदर गर्न माग गरिएको छ । वैकल्पिक उपचारको मार्ग अवलम्बन गर्दै आफ्ना माग सम्बोधनका लागि परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाइ नभएपछि अदालत जानुपरेको निवेदकले जनाएका छन् ।

    अदालतले अन्तिम फैसला नसुनाएसम्म १२औं महाधिवेशनको निर्वाचन कार्यतालिका अघि नबढाउन, अनलाइनमार्फत भोटिङ नगराउन र परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम ‘अन्तरिम आदेश’ जारी गर्न निवेदकले जोडदार माग गरेका छन् । भोलि हुने अदालतको पेसी र आदेशले नै फागुन ३० गतेका लागि तय भएको महाधिवेशन हुने वा नहुने टुंगो लगाउनेछ । यस्तै अब सहमतिबाहेक अर्को विकल्प नरहने देखिएको छ।

    source by sk sharma

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेट

    साउदीको दमाममा ‘चौथो दमाम च्याम्पियन कप’को रौनक: विजेताले ७ हजार रियाल पाउने

  • ११ फाल्गुन २०८२, सोमबार २०:०७ मा प्रकाशित
  • दमाम, साउदी अरब ।

    साउदी अरबमा कार्यरत नेपाली युवाहरूबीच आपसी भाइचारा, सद्भाव र खेलकुदको विकास गर्ने उद्देश्यले ‘चौथो दमाम च्याम्पियन कप–२०२६’ आयोजना हुने भएको छ। युनाइटेड नेपाल फुटबल क्लब (युनाइटेड एफसी) दमामले मुस्लिम धर्मावलम्बीहरूको महान चाड इद–उल–फित्र (रमादान ईद) को पावन अवसर पारेर यो भव्य प्रतियोगिता सञ्चालन गर्न लागेको छ।

    प्रतियोगिताको तालिका र स्थान

    प्रतियोगिता आगामी मार्च २० देखि साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा सुरु हुनेछ। साउदीमा रहेका विभिन्न नेपाली फुटबल क्लब तथा टिमहरूले यस प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन्। आयोजकका अनुसार टिम दर्ता शुल्क ७ सय साउदी रियाल तोकिएको छ।

    पुरस्कारको भारी राशी

    यस पटकको च्याम्पियन कपमा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ, जसले खेललाई अझ प्रतिस्पर्धात्मक बनाउने विश्वास गरिएको छ:

    • विजेता: नगद ७,००० साउदी रियाल (करिब २ लाख ६६ हजार नेपाली रुपैयाँ), ट्रफी, मेडल र प्रमाणपत्र।
    • उपविजेता: नगद ३,५०० साउदी रियाल (करिब १ लाख ३३ हजार नेपाली रुपैयाँ), ट्रफी, मेडल र प्रमाणपत्र।

    यसका साथै, व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई पनि आकर्षक ट्रफी र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।


    “खेल मात्र होइन, नेपाली एकताको उत्सव”

    आयोजक क्लबका अध्यक्ष ओम बहादुर कुमालले यस प्रतियोगितालाई नेपालीहरूको साझा उत्सवको रूपमा व्याख्या गर्नुभएको छ। उहाँले भन्नुभयो:

    “यो प्रतियोगिता केवल खेल मात्र नभएर यहाँ रहेका नेपालीहरूको एकतालाई अझ मजबुत बनाउने महत्वपूर्ण माध्यम हो। रमादान ईदको सार्वजनिक बिदाको अवसर पारेर परदेशमा रहेका नेपाली समुदायमा खुशियाली र अपनत्वको भावना फैलाउन हामीले यो पहल गरेका हौँ।”

    विगतको सफलता

    स्मरण रहोस्, यसअघि आयोजित ‘तेस्रो दमाम च्याम्पियन कप–२०२५’ को उपाधि आयोजक युनाइटेड नेपाल फुटबल क्लबले नै जितेको थियो। अघिल्लो संस्करणको भव्य सफलता र उत्साहलाई मध्यनजर गर्दै यस वर्ष अझ परिष्कृत र व्यवस्थित रूपमा चौथो संस्करण आयोजना गर्न लागिएको क्लबले जानकारी दिएको छ।

    प्रतियोगिताले साउदी अरबमा रहेका नेपाली फुटबल प्रेमीहरूमा उत्साह थप्ने र फुटबल प्रतिको लगावलाई अझ विस्तार गर्ने आयोजकको अपेक्षा छ।

    Posted in अन्तर्राष्ट्रिय, खेल

    बेलकोटगढीमा ‘मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता फागुन १ र २ गते हुने

  • २९ माघ २०८२, बुधबार १४:५५ मा प्रकाशित
  • रोसन थिंग् , नुवाकोट
    नेपाल हाप्किडो संघको स्वीकृतिमा नुवाकोट जिल्ला हाप्किडो संघको आयोजनामा तथा बेलकोटगढी नगरपालिकाको व्यवस्थापनमा “मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता २०८२” फागुन १ र २ गते सञ्चालन हुने भएको छ।

    सुकुमान मेमोरियल पोलिक्लिनिक प्राङ्गण, बेलकोटगढी–४, नुवाकोटमा आयोजना हुने उक्त राष्ट्रियस्तरको प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

    कार्यक्रमका प्रमुख अतिथि बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङ रहनेछन् भने विशेष अतिथिको रूपमा उपप्रमुख शिवप्रसाद दहालको उपस्थिति रहनेछ।

    नुवाकोट हाप्किडो संघका प्रशिक्षक सरोज गुरुङ मोक्तानका अनुसार यस राष्ट्रिय प्रतियोगिताले सहिदहरूको अमर स्मृतिप्रति सम्मान व्यक्त गर्दै हाप्किडो खेलको प्रवर्द्धन, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा समग्र खेलकुद संस्कृतिको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

    आयोजकले प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण खेलप्रेमी, अभिभावक तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि आग्रह समेत गरेको छ।

    Posted in खेल

    नुवाकोटमा प्रथम चिम्टेश्वर T–20 अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुँदै

  • १ माघ २०८२, बुधबार १४:४७ मा प्रकाशित
  • रोशन थीङ ,नुवाकोट। 

    नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित न्यू भिजन खेल मैदान, जरुवामा प्रथम चिम्टेश्वर T–20 अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता बेलकोटगढी क्रिकेट समितिको आयोजनामा तथा आरम्भ आर्ट बट्टारको सहकार्यमा सञ्चालन हुन लागेको हो।

    बेलकोटगढी क्रिकेट समितिका संयोजक रबिन दाहालका अनुसार युवामा खेलकुदप्रतिको उत्साह बढाउने, खेल प्रतिभाको पहिचान गर्ने र अन्तरपालिका सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

    माघ २ गतेदेखि सुरु भई माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नुवाकोट र धादिङ जिल्लाका चार पालिकाका टिमहरूको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागी हुने टिमहरू यस प्रकार रहेका छन्:

    1. बेलकोटगढी नगरपालिका (नुवाकोट)
    2. विदुर नगरपालिका (नुवाकोट)
    3. गल्छी गाउँपालिका (धादिङ)
    4. थाक्रे गाउँपालिका (धादिङ)

    माघ २ गते उद्घाटन खेलहरू अन्तर्गत बिहान ८ बजे विदुर नगरपालिका र गल्छी गाउँपालिकाबीच पहिलो खेल हुनेछ भने बिहान ११ बजे बेलकोटगढी नगरपालिका र थाक्रे गाउँपालिकाबीच दोस्रो खेल सञ्चालन हुनेछ।

    नकआउट प्रणालीमा आधारित प्रतियोगितामा उद्घाटन खेलका विजेता दुई टिमहरू माघ ३ गते बिहान १० बजे हुने फाइनल खेलमा उपाधिका लागि आमनेसामने हुनेछन्।



    Posted in खेल

    बेलकोटगढी नगरपालिकाको दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु

  • २६ पुष २०८२, शनिबार २१:५३ मा प्रकाशित
  • रोशन थिङ, नुवाकोट।
    नुवाकोटको बेलकोटगढी नगरपालिकामा आजदेखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बेलकोटगढी नगरपालिका शिक्षा शाखाको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ।

    कार्यक्रम बेलकोटगढी नगरपालिका–७, रातमाटेमा भइरहेको छ। प्रतियोगिताको उद्घाटन नगर प्रमुख जगत बहादुर गुरुङ र नगर उपप्रमुख शिवप्रसाद दाहालले संयुक्त रूपमा गर्नुभएको हो।

    उद्घाटन समारोहमा नगर प्रमुखको प्रमुख आतिथ्यतामा नगर उपप्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शिक्षक, विद्यार्थी खेलाडी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

    Posted in खेल

    साउदी अरबको दमाममा “तेस्रो दमाम च्याम्पियन कप-२०२५”, विजेतालाई २८०,००० ने.रु पुरस्कार

  • १३ बैशाख २०८२, शनिबार १२:५६ मा प्रकाशित
  • दमाम, साउदी अरब

    साउदी अरबमा रहेर कार्यरत नेपाली समुदायबीच एक आपसी सद्भाव, मित्रता र खेलकुदको भावनालाई प्रगाढ बनाउने उद्देश्यले साउदी अरबको दमाममा “तेस्रो दमाम च्याम्पियन कप-२०२५” आयोजना हुने भएको छ। युनाइटेड नेपाल फुटबल क्लब दमाम (UNFC DMM) ले मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद (इद–उल–अजहा) को अवसर पारेर यो भव्य फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।


    यो प्रतियोगिता आगामी जुन ६, २०२५, शुक्रबारका दिन साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा सम्पन्न हुनेछ। आयोजक समितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।
    शुक्रबार दिउँसो दमामको एक नेपाली होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको विस्तृत जानकारी सार्वजनिक गरिएको थियो। सम्मेलनमा आयोजकले खेलप्रेमी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेका छन्।
    प्रतियोगिताका विजेता तथा अन्य उत्कृष्ट खेलाडीहरूका लागि निकै आकर्षक पुरस्कारहरू प्रदान गरिने भएका छन्। आयोजक क्लबका सचिव कमल ल्हो तामाङका अनुसार, प्रतियोगिताको विजेता टोलीले शानदार ७,७७७ साउदी रियाल करिब दुई लाख असि हजार नेपाली रुपैंया नगद पुरस्कारका साथै प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले पनि ४,४४४ साउदी रियाल नगद, प्रमाणपत्र, ट्रफी र मेडल हात पार्ने कुरा साझा मञ्च साउदी अरबका अध्यक्ष अन्जान गुभाजु ले जानकारी गराएका छन् ।


    यति मात्र नभई, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष सम्मान गरिनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र प्रत्येक खेलका म्यान अफ द म्याच लगायत विभिन्न व्यक्तिगत विधामा पनि आकर्षक पुरस्कार र ट्रफीहरू प्रदान गरिने जानकारी सचिव तामाङले दिएका छन्।

    युनाइटेड नेपाल फुटबल क्लबका व्यवस्थापक ओम बहादुर कुमालले प्रतियोगिताको मुख्य लक्ष्य साउदी अरबमा रहेका नेपालीहरूलाई खेलको माध्यमबाट एकताबद्ध गराउनु, भाइचाराको सम्बन्ध स्थापित गर्नु र आपसी सद्भाव बढाउनु रहेको बताए।
    व्यवस्थापक कुमालले भने, ‘यो प्रतियोगिता केवल एउटा खेल मात्र नभएर यहाँ रहेका सम्पूर्ण नेपालीहरूको एकतालाई अझ बलियो बनाउने एउटा महत्वपूर्ण माध्यम पनि हो। हामीले बकर इद जस्तो पवित्र पर्वको अवसर पारेर यस किसिमको कार्यक्रम आयोजना गरी समुदायमा खुशियाली र अपनत्वको भावना फैलाउन चाहेका छौं।’
    स्मरण रहोस्, गत रमादान इदमा सम्पन्न भएको दोस्रो दमाम भेट्रान गोल्डकप–२०२५ को उपाधि पनि युनाइटेड क्लबले नै जितेको थियो। यस पटकको प्रतियोगितामार्फत नेपाली फुटबलप्रतिको लगाबलाई थप विस्तार गर्न क्लबले विश्वास लिएको छ।
    मध्यान्ह राष्ट्रिय दैनिक यस प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेटLeave a Comment on साउदी अरबको दमाममा “तेस्रो दमाम च्याम्पियन कप-२०२५”, विजेतालाई २८०,००० ने.रु पुरस्कार

    दोस्रो दमाम भेट्रान गोल्डकप २०२५ सफलताका साथ सम्पन्न ।उपाधि युनाइटेड नेपाल फुटबल क्लबले जित्न सफल

  • १९ चैत्र २०८१, बुधबार १३:४३ मा प्रकाशित
  • साउदी अरबको पूर्वी क्षेत्र अल्खोबरमा सम्पन्न दमाम दोस्रो भेटरान गोल्ड कप २०२५ को उपाधि युनाइटेड नेपाल फुटबल क्लबले उपाधि हात पारिसँगै उक्त खेल भव्य रुपमा सम्पन्न भएको छ।

    मुस्लिम धर्मालम्बीहरूको महान् चाड ईदको अवसर पारेर मार्च ३० र ३१ गरी दुई दिनसम्म चलेको उक्त खेलमा साउदी अरबमा रहेका विभिन्न खेलप्रेमी नेपालीहरू आबद्ध क्लबहरू सहभागी भएका थिए।

    सो सुखेलको उपाधि युनाइटेड नेपाल फुटबल क्लबले जित्न सफल भएको छ।
    फाइनल खेलमा युनाइटेडले सम्रानी फुटबल क्लबलाई २-० ले हराउदै उपाधि चुम्न सफल भएको हो।

    विजेता टिमले ७००० रियाल (करिब नेपाली २ लाख ५४हजार) र मेडल प्रमाण पत्र र उपविजेता टिमले ४००० रियाल (करिब नेपाली १लाख ४५ हजार) र मेडल प्रमाण पत्र प्राप्त गरेको थियो।

    विधागत तिर उत्कृष्ट गोलकिपर ऊज्वल घिमिरे, बेष्ट डिफेन्डर बिशाल पुन, बेष्ट मिडफिल्डर सन्दिप राई र MVP योञ्जन हमाल ले प्राप्त गरेका थिए।

    Posted in खेल, मुख्य खबर

    साउदी अरबमा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने

  • २२ पुष २०८१, सोमबार ०२:०० मा प्रकाशित
  • साउदी अरबको पुर्बि क्षेत्रमा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने भएको छ।

    मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईद अल फितरको उपलक्ष्यमा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने दमाम भेट्रान क्लबका अध्यक्ष पदम बहादुर महतले बताएका छन् ।

    उनका अनुसार साउदी अरबमा रहेका फुटबल क्लबहरु , खेलाडी लगायत खेलप्रेमीहरुमा प्रतियोगिता हुने समेत जानकारी समेत गराएका छन्। दमाम भेट्रान फुटबल क्लब, दमामले ईदको पहिलो दिन खेल थुग्बा फुटबल क्लबको मैदान ,अजिजिया खसी बजारमा हुने छ।

    प्रतियोगितामा प्रथम पुरस्कार ७ हजार रियाल ट्रफी तथा मेडल, दोश्रो पुरस्कार ४ हजार रियाल ट्रफि तथा मेडल र विभिन्न उत्कृष्ट बिधागत पुरस्कार रहेको छ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबर

    फिफा विश्वकपको आयोजना साउदी अरबमा हुने घोषणा।

  • २७ मंसिर २०८१, बिहीबार १०:०६ मा प्रकाशित
  • बुधबार बसेको फिफाको बैठकले आधिकारिक रुपमा साउदी अरेबियालाई २०३४ को विश्वकपको आयोजना को अधिकार दिने घोषणा गरेको छ।
    यसो त प्रक्रियागत रूपमा २०३४ को विश्वकप साउदी अरबियाले पाउने पक्कापक्की जस्तै भइसकेता पनि आधिकारिक रुपमा घोषणा हुन भने बाँकी रहेको थियो।
    यो घोषणा भएसँगै २०३४ को विश्वकप साउदी अरेबियामा हुने भएको छ भने साउदी अरब सरकारले यसको तयारी स्वरूप पहिलेदेखि नै साउदी अरबको विभिन्न क्षेत्रहरुमा यसको तयारी स्वरूप यसका पूर्वाधारहरू बनाउन सुरु गरिसकेको छ।

    Posted in अन्तर्राष्ट्रिय, खेल

    मेसीले फिफा विश्वकप छनोट खेल गुमाउने

  • ४ भाद्र २०८१, मंगलवार १०:५८ मा प्रकाशित
  • अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेसीले फिफा विश्वकप छनोट अन्तर्गत दुईवटा खेल गुमाउने भएका छन् ।

    सेप्टेम्बर ५ मा हुने चिलीविरुद्धको खेल र १० मा हुने कोलम्बियाविरुद्धको खेलको प्रारम्भिक छनोटमा मेसी नअटाएपछि उनले दुई खेल गुमाउने पक्का भएको हो ।

    गत महिना अमेरिकामा भएको कोपा अमेरिकाको फाइनलमा खुट्टामा चोट लागेका कारण ३७ वर्षीय मेसीलाई टिममा समावेश नगरिएको हो ।

    उनी हाल अमेरिकामा रिकभरिको प्रयासमा छन् ।

    टिममा प्रशिक्षक लियोनेल स्कालोनीले मिडफिल्डर इजेक्वेल फर्नान्डेज र स्ट्राइकर भ्यालेन्टिन क्यास्टेलानोसलाई पहिलो पटक टिममा सामेल गरेका छन् ।

    Posted in खेल, मुख्य खबर1 Comment on मेसीले फिफा विश्वकप छनोट खेल गुमाउने

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P