समर्पण रम्जान दिन मियाँ

जेद्दा साउदी अरब । जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले साउदी अरेबियाको ताइफ शहरमा नेपाली श्रमिक तथा समुदायका लागि एक सचेतनामूलक एवम् अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। २०८३ असोज ३० गते (१६ अक्टोबर २०२६) शुक्रबारका दिन आयोजित सो कार्यक्रममा ताइफ तथा ताईफ आसपासका क्षेत्रहरुमा बसोबास गर्ने नेपाली श्रमिक र स्वयंसेवी दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा मुख्यगरि निम्न गतिविधिहरु भएका थिए ।
- श्रमिक समस्या र समाधानका उपायहरूमा छलफल: महावाणिज्यदूतावासको टोलीले नेपाली श्रमिकहरूले प्रत्यक्ष रूपमा सामना गर्नु परेका विभिन्न समस्या, कठिनाइ तथा साउदी कानूनसम्बन्धी जिज्ञासामा छलफल गर्नुका साथै त्यसको समाधानका उपायहरूबारे जानकारी गराएको थियो।
- सचेतनामूलक प्रस्तुतीकरण: श्रमिकहरूले अनिवार्य रूपमा थाहा पाउनुपर्ने श्रमसम्बन्धी कानुनी प्रावधानहरू र अन्य व्यावहारिक विषयहरूमा सचेतनामूलक प्रस्तुति दिइएको थियो।
- राहदानीको घुम्ती सेवा (Mobile Service): नयाँ प्रणालीअन्तर्गत राहदानीको घुम्ती सेवाको परीक्षणस्वरूप सोही अवसरमा केही राहदानी आवेदनहरू सफलतापूर्वक लिइनुका साथै राहदानी वितरणको कार्यसमेत सम्पन्न गरिएको थियो।

कार्यक्रमको सफलताका लागि महत्वपूर्ण सहजीकरण गर्नुहुने ताइफका नेपाली स्वयंसेवीहरू र उपस्थित सम्पूर्ण नेपाली समुदायप्रति महावाणिज्यदूतावासले हार्दिक आभार व्यक्त गरेको छ। यस प्रकारका कार्यक्रमले परदेशी भूमिमा रहेका नेपाली श्रमिकहरूको कानुनी सचेतना बढाउनुका साथै कन्सुलर सेवा लिन सहजता प्रदान गर्ने पनि विश्वास गरिएको छ।


