• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

एनआरएनए साउदीको १९ औँ वार्षिकोत्सव जेद्दामा भव्य रूपमा सम्पन्न: साथमा श्रमिक अन्तरक्रिया तथा साँस्कृतिक प्रस्तुति

  • ९ श्रावण २०८३, शनिबार १८:५८ मा प्रकाशित
  • समर्पण रम्जान दिन मियाँ, अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका – साउदी शाखा सदस्य

    जेद्दा, साउदी अरब — गैर-आवासीय नेपाली संघ (NRNA), राष्ट्रिय समन्वय परिषद साउदी अरबको १९ औँ वार्षिकोत्सव साउदी अरबको  जेद्दास्थित ‘द भिलेज रेस्टुरेन्ट’ (अजीजिया) मा गत 24 जुलाई 2026 का दिन भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका संचालक संस्थाका उपाध्यक्ष राज कुमार गिरीद्वारा अपरान्ह २ बजेबाट सुरु गरेका उक्त समारोह संस्थागत गतिविधि, महावाणिज्य दूतावाससँगको श्रमिक अन्तरक्रिया र विविध साँस्कृतिक प्रस्तुति गरी मुख्य तीन चरणमा सञ्चालन गरिएको थियो।

    उक्त समारोहको सभापतित्व गैर-आवासीय नेपाली संघ साउदी अरबका अध्यक्ष उमेश भट्टराईले गर्नुभएको थियो भने नेपाली महावाणिज्य दूतावास जेद्दाका महावाणिज्यदूत पारस पण्डित प्रमुख अतिथिका रूपमा आशन ग्रहण गर्नुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिका रूपमा दूतावासका उप-महावाणिज्यदूत यज्ञ पोखरेल, वाणिज्यदूत सुभास यादव, श्रम सहचारी जीवन घिमिरे र उप-वाणिज्यदूत श्रीमती पुजन पाण्डेले आशन ग्रहण गर्नु भएको थियो। समारोहमा अन्तर्राष्ट्रिय प्रवास मञ्च अमेरिका-साउदी शाखाका अध्यक्ष एवं अन्नपूर्ण पोष्ट प्रतिनिधि विष्णु घिमिरे, नेपाली युवा समाजका अध्यक्ष राम थापा,  हातेमालो युवा क्लबका अध्यक्ष अमर प्रसाद चपाँई, तामाङ युवा समाजका अध्यक्ष तथा मेलम्चि रेस्टुरेन्टका संचालक राम सिंह तामाङ, नेपाल मगर संघका अध्यक्ष कुल बहादुर मगर, किरात राई यायोक्खाका अध्यक्ष शैलाब राई, नेपाली साझा मंचका महासचिव तेज बहादुर बि.क., इस्लामिक दावा सेन्टरका नेपाली विभाग प्रमुख मन्जुर अलि मियाँ, एनआरएनए आरसिसी अलकासिमका पूर्व अध्यक्ष तथा संचारकर्मी रमजान दिन मियाँ, सिटी एक्सप्रेसका क्षेत्रीय प्रबन्धक रामजी काईराला, Frendi का क्षेत्रीय प्रबन्धक निरज सिंह, काठमाडौँ रेस्टुरेन्टका संचालकहरू रबिन राना मगर र कुल मगर, नेपाली कल्चरल डान्स ग्रुपका संस्थापक धीरज आले मगर, समाजसेवीहरू दिपेन्द्र यादव र रामचन्द्र पौडेल तथा अन्तरप्रगतिशिल मञ्चका सचिव सिताराम लगायत स्थानीय विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू एवं व्यवसायीहरू समाजसेवीहरूले आशन ग्रहण गर्नु भएको थियो। लक्ष्मी थापा मगर र शर्मिला गिरीले उपस्थित अतिथिहरूलाई खादा तथा ब्याच वितरण गरेर भव्य स्वागत गर्नुभएको थियो

    सभापति, प्रमुख अतिथि तथा अतिथिगणहरूद्वारा संयुक्त रूपमा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गरिएको कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूले सम्मानपूर्वक उठेर राष्ट्रिय गान गाएका थिए। कार्यक्रमको थप रौनक बढाउन LCC, RCC र NCC द्वारा संयुक्त रूपमा तयार पारिएको झाँकीले हलको सांगीतिक परिक्रमा गरेको थियो भने ।

    औपचारिक समारोहको पहिलो चरणमा स्वागत मन्तव्य एनआरएनए साउदीका उपाध्यक्ष हेम सुवेदीले प्रस्तुत गर्नुभएको थियो। त्यसपश्चात् अर्का उपाध्यक्ष अर्जुन थापाले संस्थाको एक बर्षे  कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष योगेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन, अडिट रिपोर्ट, बैंक स्टेटमेन्ट तथा आय-व्ययको विस्तृत विवरण सबैमाझ बुझ्नेगरि प्रस्तुत गर्नुभएको थियो। सोही अवसरमा समाजमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सभापति उमेश भट्टराई र प्रमुख अतिथि पारस पण्डितद्वारा सम्मान-पत्र प्रदान गरिएको थियो।

    बधाई तथा शुभकामना व्यक्त गर्ने मन्तव्यको क्रममा एनआरएनए आरसिसी अलकासिमका पूर्व अध्यक्ष तथा संचारकर्मी रमजान दिन मियाँले सन् २०१४ देखि २०२२ सम्म आफु संस्थामा रहेर संस्थालाई दिएको योगदान तथा श्रमिक हकहितमा गरेका आफ्ना अनुभव र सहकार्यको स्मरण गर्दै संस्था 19औं बर्षमा पुगेमा बधाई तथा शुभकामना दिए । त्यसपछि बोल्दै इस्लामिक दावा सेन्टरका मन्जुर अलि मियाँले शुभकामना दिंदै सम्सि जेलमा समस्यामा परेका नेपाली श्रमिकहरूको तत्काल उद्धारका लागि महावाणिज्य दूतावासको ध्यान आकर्षण गराउनुभयो। क्रमलाई निरन्तरता दिँदै नेपाली साझा मंचका तेज बहादुर बि.क., किरात राई यायोक्खाका शैलाब राई, नेपाल मगर संघका कुल बहादुर मगर, तामाङ युवा समाजका राम सिंह तामाङ, हातेमालो युवा क्लबका अमर प्रसाद चपाई र नेपाली युवा क्लबका राम थापाले संस्थाले श्रमिकको हक-हितमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी ग्लोबल आईएमई बैंकका प्रतिनिधि दीपक राज गौतमले विदेशबाटै नेपाल फर्किएको 35 दिनभित्र राष्ट्रिय परिचयपत्र बनाउऩे गरी  बैंकिङ कारोबार तथा खाता खोल्दा राष्ट्रिय परिचयपत्र (NID) को अनिवार्यता नरहेको जानकारी गराए ।

    उक्त भब्य समारोहमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका – साउदी शाखाका अध्यक्ष विष्णु घिमिरेले बधाई तथा  शुभकामना दिदैं श्रमिकका हक हितमा संस्थाले धेरै काम गरेको र अझै राम्रो काम गर्न अनुरोध गरेका थिए, अन्तरप्रगतिशिल मञ्चका सचिव सिताराम, सिटी एक्सप्रेसका क्षेत्रीय प्रबन्धक रामजी काईरालाले वैधानिक र कानुनी माध्यमबाट मात्र रेमिट्यान्स/पैसा पठाउन उपस्थित सम्पूर्णलाई अनुरोध गरेका थिए । र Frendi का क्षेत्रीय प्रबन्धक निरज सिंहले पनि आफ्नो मन्तव्य  राख्दै अनावस्यक धेरै सिम ननिकाल्न र आफ्नो नाममा भएको सिम चेक गरी अनावस्यकलाई बन्द गर्न आग्रह गरेका थिए ।  कुटनैतिक नियोगका तर्फबाट बोल्दै उप-महावाणिज्यदूत यज्ञ पोखरेलले दूतावास र एनआरएनएको सहकार्यले श्रमिकलाई ठूलो राहत मिलेको बताउँदै दूतावासका सूचनाहरू आधिकारिक पेजबाट सेयर र फलो गर्न आग्रह गर्दै श्रमिक हकहितका लागि दूतावासको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो भने श्रम सहचारी जीवन घिमिरेले साउदी अरबको स्थानीय कानुनको पूर्ण पालना गर्न श्रमिकहरूलाई अनुरोध गर्नुभयो।

    प्रमुख अतिथिको आसनबाट बोल्दै महावाणिज्यदूत पारस पण्डितले एनआरएनए साउदी उमेरले १९ वर्षको भए पनि यसको कार्यसम्पादन ४०-४५ वर्षको परिपक्व संस्था जत्तिकै उत्कृष्ट रहेको भन्दै प्रशंसा गर्नुभयो साथै नियोगका गतिविधि र श्रमिकका समस्या समाधानमा एनआरएनएले गरेको योगदानको उच्च कदर गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। पहिलो चरणको अन्त्यमा सभापतिको आसनबाट बोल्दै एनसीसी तथा आईसीसी स्तरबाट प्राप्त शुभकामना सन्देश व्यक्त गर्दै संस्थाले अहिलेसम्म श्रमिकहरूका लागि ६ देखि ७ करोड रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गरिसकेको जानकारी दिनुभयो। साउदी अरबमा काम गर्दा यहाँकै नियम-कानुनभित्र रहेर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले कार्यक्रम सफल पार्न साथ सहयोग गर्ने सम्पूर्ण आरसीसी, एनसीसी, मिडिया, कलाकार, महावाणिज्य दूतावास तथा सम्पूर्ण उपस्थित नेपाली समुदायलाई दिँदै पहिलो  औपचारिक सत्रको समापन गर्नुभएको थियो।

    कार्यक्रमको दोस्रो चरण विशेष गरी साउदीमा कार्यरत नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीहरूका समस्या र गुनासाहरूमा केन्द्रित थियो। उपस्थित श्रमिकहरूले साउदीमा भोग्नुपरेका कानुनी, श्रम सम्बन्धी तथा व्यावहारिक समस्याहरू प्रत्यक्ष रूपमा महावाणिज्य दूतावासका पदाधिकारीहरूसामु राखेका थिए। उठाइएका जिज्ञासा र प्रश्नहरूको महावाणिज्यदूत पारस पण्डित लगायत दूतावासका उप-महावाणिज्यदूत यज्ञ पोखरेल, वाणिज्यदूत सुभास यादव, श्रम सहचारी जीवन घिमिरे ले प्रष्ट उत्तर दिँदै समस्या समाधानको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

    अन्तिम तथा तेस्रो चरणमा स्थानिय लोकप्रिय नेपाली कलाकारहरू सरस्वती लामा, श्याम भण्डारी, तेज बहादुर सिलवाल, अमर चपाई र अशोक सुवेदी लगायतले बेजोड सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए। कलाकारहरूको मनोरञ्जनात्मक प्रस्तुतिमा दर्शकहरूले नाचेर गाएर भरपूर आनन्द लिएका थिए। कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथि, आयोजक तथा दर्शकहरूका लागि स्वादिष्ट खानपान (रात्रिकालीन भोज) को व्यवस्था गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    साउदीमा नेपालीका समस्या सुल्झाउन डिजिटल पहल ‘नमस्ते दूतावास’ र ‘प्रवास हेल्प डेस्क’ सञ्चालनको तयारी

  • ३ श्रावण २०८३, आईतवार १९:३७ मा प्रकाशित
  • समर्पण रम्जान

    रियाद, साउदी अरब। प्रविधिको प्रयोगमार्फत देश र प्रवासमा रहेका नागरिकबीचको दूरी घटाउने उद्देश्यका साथ साउदी अरबमा एक नवप्रवर्तनात्मक डिजिटल यात्राको सुरुवात भएको छ। नेपाली राजदूतावास रियाद र प्रवास नेपाली सम्पर्क विभागबीचको ऐतिहासिक सहकार्यमा “नमस्ते दूतावास” (WhatsApp Group) र “प्रवास Help Desk” डिजिटल प्लेटफर्म सञ्चालनको तयारी तीव्र पारिएको छ।

    समस्या जहाँ भए पनि, समाधान दूतावाससँगै” भन्ने मूल मर्मलाई आत्मसात गर्दै प्रवासी नेपालीको सुख-दुःखमा साथ दिन र सेवा प्रवाहलाई सरल, पारदर्शी एवं प्रभावकारी बनाउन यो नयाँ यात्राको सुरुवात गरिएको यो सहकार्य केवल संस्थागत सम्बन्धमा मात्र सीमित नभई विशेषगरी श्रमिक वर्गको सेवा, सहयोग, समन्वय र विश्वासलाई अझ सुदृढ बनाउने साझा अभियानको एउटा महत्वपूर्ण कोशेढुङ्गा बन्ने विश्वास लिइएको छ।

    प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबको अवधारणा अनुरूप आयोजित उक्त कार्यक्रममा प्रवासी नेपालीका गुनासाहरूलाई कसरी व्यवस्थित रूपमा संकलन गर्ने र सम्बन्धित निकायसँगको समन्वयमा समाधान प्रक्रियालाई कसरी द्रुत बनाउने भन्नेबारे विस्तृत छलफल भएको थियो।

    सहज पहुँच: प्रवासी नेपालीहरूले आफ्ना समस्या, आवश्यकता र सेवासम्बन्धी विषयहरूलाई सिधै डिजिटल माध्यमबाट सम्बन्धित निकायसम्म पुर्‍याउन सक्नेछन्।

    द्रुत सञ्चार र मार्गदर्शन: सूचना आदान-प्रदान गर्न तथा अप्ठ्यारोमा परेका नेपालीहरूलाई तत्काल आवश्यक सहयोग र मार्गदर्शन प्रदान गर्न यो प्रणाली प्रभावकारी सेतु बन्नेछ।

    पारदर्शी गुनासो व्यवस्थापन: प्राप्त गुनासाहरूको उचित व्यवस्थापन र अनुगमनका लागि राजदूतावास र सम्पर्क विभागको प्राविधिक टोलीले यसलाई थप परिमार्जन गरी छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

    डिजिटल प्रणालीलाई अन्तिम रूप दिन आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा साउदी अरबका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत सिर्जना अधिकारी, लेबर कन्सुल कविराज उप्रेती लगायत दूतावासका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसैगरी कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग साउदी अरबका केन्द्रीय समिति तथा रियाद र जुबेल दुवै क्षेत्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको समेत सक्रिय सहभागिता थियो।

    आयोजकका तर्फबाट प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबका सभापति भुपाल भण्डारीले कार्यक्रमको सफल व्यवस्थापन तथा प्राविधिक समन्वयमा पुर्‍याएको योगदानका लागि नेपाली राजदूतावास रियादप्रति विशेष आभार व्यक्त गरेका थिए। यो ऐतिहासिक सहकार्यले आगामी दिनमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरूको हित, सम्मान र सुरक्षामा थप सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाज

    एनआरएनए साउदी अरबको १९औं वार्षिकोत्सव जेद्दामा भव्य रूपमा मनाइदैं, सम्पूर्ण नेपालीलाई उपस्थितिको आह्वान

  • ३ श्रावण २०८३, आईतवार ०१:२० मा प्रकाशित
  • समर्पण रम्जानदिन मियाँ

    जेद्दा, साउदी अरब गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, साउदी अरबले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ। आगामी जुलाई २४ तारिखका दिन जेद्दाको अजिजियास्थित ‘द भिलेज रेष्टुरेन्ट’मा एक विशेष कार्यक्रमको आयोजना गर्दै संघले उक्त वार्षिकोत्सव मनाउन लागेको हो।

    “नेपालीका लागि नेपाली” भन्ने मूल मर्म र भावनालाई आत्मसाथ गर्दै स्थापना भएको यस संस्थाले साउदी अरबमा कार्यरत नेपालीहरूको हकहित, उद्धार र सामाजिक कार्यमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यसै सन्दर्भमा आयोजना हुन लागेको १९औं वार्षिकोत्सवले साउदीमा रहेका नेपाली समुदायबीच आपसी भाइचारा, सहकार्य र एकतालाई थप सुदृढ गर्ने विश्वास आयोजकले लिएको छ।

    संघले यस ऐतिहासिक अवसरमा कार्यक्रमको शोभा बढाइदिन साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।

    आयोजकका अनुसार उक्त कार्यक्रममा संघका सबै समिति र संरचनाहरूमा आबद्ध वर्तमान तथा भूतपूर्व पदाधिकारीहरू, पञ्जीकृत सदस्यहरू, विभिन्न सामाजिक तथा राजनीतिक भातृ संगठनका अध्यक्ष एवम् पदाधिकारीहरू, जातीय तथा भौगोलिक संगठनका प्रतिनिधिहरू लगायत सम्पूर्ण शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहनेछ।

    कार्यक्रमको विस्तृत विवरण:

    • मिति: २०२६ जुलाई २४ तारिख
    • समय: बिहान ठीक ११:०० बजे
    • स्थान: द भिलेज रेष्टुरेन्ट, अजिजिया, जेद्दा, साउदी अरब

    साउदी अरबमा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्था र आम नेपाली श्रमिकहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन एनआरएनए राष्ट्रिय समन्वय परिषद्, साउदी अरबले विशेष अपिल गरेको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    साउदी अरबमा ‘दोस्रो रोम लामा सांगीतिक तथा बृहत सांस्कृतिक कार्यक्रम २०२६’ भव्य रूपमा आयोजना हुँदै, प्रवेश नि:शुल्क

  • ३० असार २०८३, मंगलवार १२:४८ मा प्रकाशित
  • समर्पण रम्जान दिन मियाँ

    रियाद, साउदी अरब । साउदी अरबमा क्रियाशील नेपाली समुदायबीच नेपाली कला, संस्कृति, र मौलिक परम्पराको संरक्षण, संवर्धन तथा प्रवर्धन गर्ने साझा उद्देश्यका साथ ‘दोस्रो रोम लामा सांगीतिक तथा बृहत सांस्कृतिक कार्यक्रम – २०२६’ आयोजना हुने भएको छ।

    गायक तथा कार्यक्रम संयोजक रोम लामाको एकल आयोजनामा हुन लागेको यस बृहत सांस्कृतिक महोत्सव साउदी अरबमा रहेका विभिन्न नेपाली संघ-संस्था, भातृ संगठनहरू र नेपाली दूतावास रियादका राजदूत लगायत कुटनैतिक अधिकारीहरूको प्रमुख आतिथ्य एवं गरिमामय उपस्थितिमा सम्पन्न हुनेछ।

    विगतमा पनि साउदी अरबमा यस्तै भव्य र ऐतिहासिक सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरि नेपाली समुदायको मन जित्न सफल भएका संयोजक रोम लामाले यस पटकको कार्यक्रमलाई अझ बढी परिष्कृत र व्यवस्थित बनाउने बताएका छन्। यस विशेष सांस्कृतिक उत्सवमा मुख्य आकर्षणका रूपमा गायक रोम लामासँगै पोस्टर तथा ब्यानरमा समेटिएका साउदी अरबका कुनाकुनामा रहेर आफ्नो कला साधना गरिरहेका दर्जनौँ ऊर्जावान् स्थानीय नेपाली कलाकारहरूका साथमा नेपालका केहि ख्यातिप्राप्त कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहनेछ। यस कार्यक्रमले साउदी अरबमा रहेका नेपालीहरूलाई आफ्नो थातथलो र मौलिकतासँग जोड्ने एउटा दह्रो माध्यम बन्ने विश्वास लिइएको छ।

    यो भव्य सांस्कृतिक महोत्सव आगामी ३१ जुलाई २०२६ (शुक्रबार) का दिन बिहान ११:०० बजेदेखि राति ९:०० बजेसम्म साउदी अरबको रियादस्थित एक्जिट-१३, खुरैस रोड मा आयोजना हुनेछ। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मनोरञ्जन प्रदान गर्दै आन्तरिक एकता बलियो बनाउने उद्देश्य राखिएको यस कार्यक्रममा प्रवेश पूर्ण रूपमा नि:शुल्क गरिएको छ। प्रवासमा रहेर पनि आफ्नो देशको कला र संस्कृति जोगाउने यो महाअभियानमा आ-आफ्नो स्थानबाट सहभागी हुन र कार्यक्रम भव्यताका साथ सफल पार्न गायक तथा कार्यक्रम संयोजक रोम लामाले सम्पूर्ण साउदीबासी नेपाली समुदायमा हार्दिक निमन्त्रणा गर्नुभएको छ।

    “प्रवासमा रहेर पनि आफ्नो देशको कला र संस्कृति जोगाउने यो महाअभियान हामी सबैको साझा अभियान हो। नेपाली दूतावास रियादका विशिष्ट व्यक्तित्वहरू, स्थानीय संघ-संस्थाका प्रतिनिधिहरू तथा सम्पूर्ण सञ्चारकर्मी साथीहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।” — रोम लामा (गायक तथा कार्यक्रम संयोजक)

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्य

    जेद्दामा नेपाली महावाणिज्यदूतावास र संघसंस्थाबीच बृहत अन्तरक्रिया: श्रमिकका समस्या समाधान र सहकार्यमा जोड

  • २० असार २०८३, शनिबार १३:५१ मा प्रकाशित
  • समर्पण रम्जान ! जेद्दा, साउदी अरब ।
    नेपाली महावाणिज्यदूतावास जेद्दाको आयोजनामा साउदी अरबमा कार्यरत नेपाली श्रमिकका समस्या, कन्सुलेटबाट प्रदान हुने सेवा र आगामी रणनीतिबारे छलफल गर्न एक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    गत शुक्रबार, ३ जुलाई २०२६ का दिन महावाणिज्यदूतावास जेद्दाको परिसरमा दूतावासका प्रतिनिधि यज्ञराज पौडेलद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा महावाणिज्यदूत पारस पण्डित, गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबका अध्यक्ष तथा अन्य पदाधिकारी , साझा मञ्च साउदीका प्रतिनिधि , हातेमालो युवा क्लबका प्रतिनिधि लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि र सक्रिय समाजसेवीहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले साउदी अरबमा नेपाली श्रमिकले भोग्नुपरेका विविध समस्या, गुनासा र तिनका समाधानका उपायबारे महावाणिज्यदूतावासको ध्यानाकर्षण गराएका थिए।

    एनआरएनए आरसिसि जेद्दाका कार्यवाहक अध्यक्ष चिरञ्जीवी बस्नेतले श्रमिकलाई नयाँ नियमबारे जानकारी गराउन त्रैमासिक भेला गर्नुपर्ने,रियाद र जेद्दा कन्सुलरको समन्वयमा भिसा प्रमाणीकरण हुनुपर्ने, इकामा सकिएर एक्जिट लगाउने प्रक्रिया सहज बनाउनुपर्ने र ड्रग तथा रक्सीजन्य केसहरु न्यूनीकरण गर्न समाधानका उपायहरू खोज्नुपर्ने, साथै, मेनपावर कम्पनीले १० हजारको रसिद दिएर डेढदेखि दुई लाखसम्म असुल्ने गरेको जनाउँदै यो सम्बन्धि सरकारले कडा कदम चाल्नुपर्ने माग राखे।

    साझा मञ्चका महासचिव तेज बहादुर सिलवालले जेद्दाबाट नेपालका लागि सिधा हवाई उडानको व्यवस्था हुनुपर्ने र श्रमिकको लागत सम्बन्धी समस्या समाधानका लागि सरकार सँग पहल गर्न पर्ने, श्रमिक हक हितका लागि हरेक ३-३ महिनामा सचेतना कार्यक्रम गर्नुपर्ने बताए।


    एनआरएनए उपाध्यक्ष राज गिरीले सप्लाई कम्पनीका श्रमिकका समस्या परेकाले सप्लाइ कम्पनिको भिसा प्रामाणिकरण गर्दा बिशेष ध्यान दिनु पर्ने, किवा (Qiwa) र गोसी (GOSI) सम्बन्धी जनचेतना फैलाउनुपर्नेमा जोड दिए। उनले साउदी एम्बेसिले लागू गरेक सीप प्रमाणीकरण लागू गर्न केस सम्बन्धि श्रमिकलाइ स्पस्ट बुझाउन, मध्यपुर्वमा भएको द्वन्द्वका समयमा भरेको फारम बाट श्रमिकका माझ पुग्न सकिने सुझाव दिँदै पासपोर्ट नवीकरण फारम कन्सुलेटमै भर्ने व्यवस्था मिलाएकोमा धन्यवाद व्यक्त गरे।
    अन्तर्राष्ट्रिय पत्रकार महासंघ साउदीका (जेद्दा) सदस्य रम्जान दिन मियाँले श्रमिक गुनासा पुर्व बक्ता साथिले राखेका गुनासा सदर गर्दै नवीकरण भएर आएका राहदानी श्रमिकमाझ सहजै पुर्‍याउन कुरियरको व्यवस्था गर्नुपर्ने र मृत्युका केसहरु छिटो समाधान गरी मृतकका परिवारलाई स्पष्ट अपडेट गराउन अनुरोध गरे।
    एनआरएनए महिला संयोजक लक्ष्मी थापा मगरले श्रमिकका गुनासा सुन्दा नम्रता अपनाउनुपर्ने सुझाव दिइन् भने एनआरएनए संयोजक विष्णु रावलले महत्वपूर्ण केस र सूचनाहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्ने धारणा राखे।
    कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएनए साउदीका अध्यक्ष उमेश भट्टराईले कार्यक्रममा उठेका संघ संस्थाका गुनासा तथा सुझावलाई जवाफ दिदैँ श्रमिकका सानातिना गुनासाहरुलाई संघसंस्थाले नै सम्झाएर बुझाउनुपर्ने र जटिल केसहरु मात्र दूतावासमा ल्याउनुपर्ने बताए। उनले साउदी अरबमा ड्रग्स तथा मदिरासम्बन्धी कानुन अत्यन्तै कडा रहेको र यस्तो कुलतमा फस्नेलाई कानुनबमोजिम कारबाही हुने भएकाले श्रमिकहरुलाई सचेत रहन आग्रह गरे। उनले श्रमिकको हकहितका लागि एनआरएनए सधैं महावाणिज्यदूतावास तथा अन्य संघ संस्थाहरुसँग सदैब सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै दूतावासको कार्यको मुक्त कन्ठले प्रशंसा गरे

    कार्यक्रममा उठेका जिज्ञासा र गुनासाहरुको सम्बोधन गर्दै महावाणिज्यदूत पारस पण्डितले संघसंस्थाहरुबाट प्राप्त निरन्तर सहयोगका लागि हार्दिक आभार प्रकट गरे। उनले महावाणिज्यदूतावास सधैं श्रमिकको हकहित र सुरक्षाका लागि कटिबद्ध भएर काम गरिरहेको प्रष्ट पारे साथै यस्सिगरी सदैब संघ संस्थाहरुको साथ सहयोगको अपेक्षा गरे।
    “हामीले सकेसम्म सबैको फोन उठाउने र म्यासेजको जवाफ दिने गरेका छौं। कहिलेकाहीं कार्यव्यस्तताका कारण तत्काल जवाफ दिन नसक्दा श्रमिकहरुमा गुनासो आउन सक्छ, तर हाम्रो नियत सधैं सेवाभाव नै हुन्छ,” महावाणिज्यदूत पण्डितले स्पष्ट पारे।

    कार्यक्रमको अन्त्यमा उपस्थित सबै प्रतिनिधिहरुले पछिल्लो समय महावाणिज्यदूतावासले सामाजिक सञ्जालको अधिकतम प्रयोग गरी पारदर्शी रूपमा सूचना प्रवाह र सेवा प्रदान गरिरहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए।

    यस प्रकारको अन्तरक्रियाले आगामी दिनमा दूतावास र समुदायबीचको सम्बन्धलाई थप प्रगाढ र प्रतिफलमुखी बनाउने विश्वास लिइएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    एनआरएनएको महाधिवेशन नहुने खतरा बढ्यो, अदालतमा मुद्दा

  • २७ फाल्गुन २०८२, बुधबार ०२:३० मा प्रकाशित
  • समर्पण रम्जान

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी फागुन ३० गतेदेखि तय भएको ‘१२औं बृहत् एकताको महाधिवेशन’ तोकिएको मितिमा नहुने खतरा बढेको छ । महाधिवेशन र त्यसमा प्रयोग गर्न लागिएको अनलाइन मतदान प्रक्रिया रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएपछि महाधिवेशन अन्योलमा परेको हो । उक्त रिटको पेसी भोलिका लागि तोकिएको छ ।

    एनआरएनए बेलायत (एनसीसी युके) का हजारौं सदस्यहरूलाई मताधिकारबाट वञ्चित गरी विधानविपरीत निर्वाचन गर्न लागिएको भन्दै एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको तर्फबाट वारेस राजेन्द्र प्रसाद दंगालले अदालतमा मुद्दा दायर गरेका हुन् । रिटमा बेलायतको कडा डेटा सुरक्षा कानुन (डेटा प्रोटेक्सन एक्ट) लाई मुख्य आधार मानिएको छ । निवेदकका अनुसार, एनआरएनए युकेमा रहेका करिब २२ हजार सदस्यहरूको व्यक्तिगत विवरण बेलायती कानुनअनुसार सुरक्षित रहेको र उक्त विवरण एनआरएनए केन्द्रले प्रयोगमा ल्याएको ‘एमआरएस’ (Membership Registration System) प्रणाली वा तेस्रो पक्षको सर्भरमा सार्न कानुनले दिँदैन । संघको कुल मतदातामध्ये करिब २० प्रतिशत हिस्सा ओगट्ने बेलायतका प्रतिनिधिहरूलाई प्राविधिक र कानुनी जटिलताका कारण बाहिर राखेर गरिने महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ मान्न नसकिने जिकिर रिटमा गरिएको छ ।

    निवेदकले अनलाइन भोटिङ प्रणाली र व्यक्तिगत गोपनीयताको विषयमा समेत गम्भीर प्रश्न उठाएका छन् । मतदाताको पहिचानका लागि तेस्रो पक्षको एपमा इमेल र ‘सेल्फी फोटो’ (फेसियल भेरिफिकेसन) दिन बाध्य पार्नु व्यक्तिगत गोपनीयताको हक विपरीत हुने उनीहरूको दाबी छ । सन् २०२३ को निर्वाचनमा अनलाइन भोटिङमार्फत गम्भीर धाँधली भएको स्मरण गराउँदै अहिले पनि तेस्रो पक्षलाई चुनाव गराउने जिम्मा दिनु गैरकानुनी भएको रिटमा उल्लेख छ । यसका साथै इजरायल, इरानलगायत मध्यपूर्वको द्वन्द्वका कारण लाखौं नेपाली अलपत्र रहेको अवस्थामा अनलाइन भोटिङ व्यावहारिक नहुने भन्दै प्रतिनिधिको भौतिक उपस्थितिमा मात्र निर्वाचन गराउन परमादेश माग गरिएको छ ।

    दायर गरिएको रिटमा नेपाल सरकारको परराष्ट्र मन्त्रालय, एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी), संघको सचिवालय, निर्वाचन समिति तथा एनआरएनएका अध्यक्षद्वय महेश कुमार श्रेष्ठ र डा. बद्री केसीलाई विपक्षी बनाइएको छ । मन्त्रालयले भौतिक रूपमा उपस्थित हुन नसक्ने अवस्थामा अनलाइनमार्फत सहभागी हुने गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन दिएको पत्र (च.नं. ६२८०) कानुनविपरीत भएको दाबी गर्दै उत्प्रेषणको आदेशले त्यसलाई बदर गर्न माग गरिएको छ । वैकल्पिक उपचारको मार्ग अवलम्बन गर्दै आफ्ना माग सम्बोधनका लागि परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाइ नभएपछि अदालत जानुपरेको निवेदकले जनाएका छन् ।

    अदालतले अन्तिम फैसला नसुनाएसम्म १२औं महाधिवेशनको निर्वाचन कार्यतालिका अघि नबढाउन, अनलाइनमार्फत भोटिङ नगराउन र परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम ‘अन्तरिम आदेश’ जारी गर्न निवेदकले जोडदार माग गरेका छन् । भोलि हुने अदालतको पेसी र आदेशले नै फागुन ३० गतेका लागि तय भएको महाधिवेशन हुने वा नहुने टुंगो लगाउनेछ । यस्तै अब सहमतिबाहेक अर्को विकल्प नरहने देखिएको छ।

    source by sk sharma

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेट

    साउदीमा अलपत्र २९ नेपाली मुस्लिम तीर्थयात्रीको नेपाली महाबाणिज्य दूतावासको सहयोगमा स्वदेश फर्किदै

  • २७ फाल्गुन २०८२, बुधबार ०१:४६ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा, साउदी अरब । साउदी अरबको मदिनामा विगत केही दिनदेखि अलपत्र परेका २९ जना नेपाली उम्रा तीर्थयात्रीहरूको नेपाली महावाणिज्य दूतावास जेद्दाले उद्धार गरेको छ। मध्यपूर्वमा उत्पन्न तनाव र उडान रद्द भएपछि स्वदेश फर्किन नपाएर बिचल्लीमा परेका उनीहरूलाई दूतावासको विशेष पहलमा नेपाल फर्काउने व्यवस्था मिलाइएको हो।

    गत १७ फेब्रुअरीमा ‘सादाब नेट्रो ट्राभल्स’ मार्फत ३६ जनाको समूह उम्राका लागि मक्का-मदिना आएको थियो। कपिलवस्तुका मोहम्मद ताहिर अलीको नेतृत्वमा आएको यो समूह आफ्नो तीर्थाटन सकेर ३ मार्चमा नेपाल फर्किने तालिका थियो। तर, क्षेत्रीय द्वन्द्वका कारण विमानस्थलहरू बन्द हुँदा उनीहरूको उडान अचानक रद्द भयो। ३६ जनाको समूहमध्ये ७ जना आफ्नै खर्चमा भारतको बाटो हुँदै नेपाल फर्किए पनि बाँकी २९ जनासँग पुनः टिकट काट्ने रकम नहुँदा उनीहरू मदिनामा अलपत्र परेका थिए।

    लामो समयसम्म खान र बस्न समेत समस्या भएपछि र विभिन्न सामाजिक संघ-संस्थाहरूबाट सहयोगको अपेक्षा पूरा नभएपछि उनीहरूले जेद्दास्थित नेपाली महावाणिज्य दूतावाससँग सहयोगको अपिल गरेका थिए। नेपाली नागरिकहरू समस्यामा परेको खबर पाउनासाथ महावाणिज्यदूताबासका प्रतिनिधि शौकत अलीको टोली मदिना पुगेर उनीहरूको आवास र भोजनको व्यवस्थापन गरेको थियो।

    महावाणिज्य दूतावासको समन्वयमा उनीहरूलाई आज (१० मार्च) मदिनाबाट बसमार्फत रियाद पठाइसकिएको छ। दूतावासका अनुसार, रियादबाट भोलि (११ मार्च) बिहान १० बजेको उडानमार्फत उनीहरूलाई नेपाल पठाइने तयारी पूरा भएको छ।

    अप्ठ्यारो परिस्थितिमा दूतावासले अभिभावकीय भूमिका निभाउँदै उद्धार र स्वदेश फिर्तीको प्रबन्ध मिलाएको भन्दै तीर्थयात्रीहरूले खुसी व्यक्त गरेका छन्। उनीहरूले दूतावासका पदाधिकारीहरूलाई धन्यवाद दिँदै दुआ र आशीर्वाद समेत प्रदान गरेका छन्।


    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर

    साउदीमा ४४औँ मगर दिवस मनाइयो: भाषा र संस्कृति जोगाउन एकतामा जोड

  • १७ फाल्गुन २०८२, आईतवार ००:५९ मा प्रकाशित
  • दमाम, साउदी अरब ।

    नेपाल मगर सङ्घ, शाखा साउदी अरबले ४४औँ मगर दिवसको अवसरमा पूर्वी क्षेत्र दमामस्थित सिकोमा एक विशेष कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । नेपाल मगर सङ्घको स्थापना दिवसको स्मरण गर्दै दमामको एभरेस्ट नेपाली रेस्टुरेन्टमा आयोजित उक्त समारोह सङ्घका साउदी शाखा अध्यक्ष ईमान थापाको अध्यक्षतामा सम्पन्न भएको हो।

    समारोहको प्रारम्भमा प्रथम सहिद लखन थापा, सङ्घका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर तथा संस्थापक गोरेबहादुर खपाङीको तस्बिरमा पूजा अर्चना एवं माल्यार्पण गरिएको थियो। कार्यक्रममा साउदी अरबमा सक्रिय विभिन्न वैचारिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, बुद्धिजिवी, सञ्चारकर्मीका साथै मगर तथा गैर–मगर समुदायको बाक्लो उपस्थिति रहेको थियो।

    शुभकामना मन्तव्य राख्ने क्रममा वक्ताहरूले नेपालको इतिहास निर्माण र राष्ट्रियताको रक्षामा मगर समुदायको भूमिका अतुलनीय रहेको चर्चा गरे। उनीहरूले प्रवासको व्यस्त समयका बाबजुद पनि आफ्नो मौलिक भाषा, संस्कार र पहिचानलाई जगेर्ना गर्नु गौरवको विषय भएको बताए। वक्ताहरूले जातीय एकता, सांस्कृतिक संरक्षण र सामाजिक सद्भाव कायम राख्दै अघि बढ्न सके मात्र प्रवासमा नेपालीहरूको शिर उच्च रहने धारणा व्यक्त गरे।

    कार्यक्रमको समापन गर्दै अध्यक्ष ईमान थापाले मगर समुदायको एकता नै संगठनको मुख्य शक्ति भएको उल्लेख गरे। उनले साउदीमा रहेका सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरूलाई संगठित भएर सामाजिक, सांस्कृतिक तथा मानवीय कार्यमा सक्रिय रहन आग्रह गरे। “यो दिवसले हामीलाई आफ्नो पहिचानप्रति गर्व गर्न र नयाँ पुस्तालाई आफ्नो भाषा तथा संस्कृतिको महत्त्व बुझाउन ऊर्जा दिएको छ,” उनले भने।

    अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन सङ्घका सचिवले गरेका थिए भने उपस्थित सबैलाई मगर समुदायका मौलिक परिकारद्वारा स्वागत गरिएको आयोजकले जनाएको छ। समचार श्रोत अन्जान गुभाजु

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाज

    जेद्दास्थित नेपाली महावाणिज्य दूतावासद्वारा नेपाली मुस्लिम समुदायका लागि भव्य ‘इफ्तार’ कार्यक्रम सम्पन्न

  • १६ फाल्गुन २०८२, शनिबार २३:११ मा प्रकाशित

  • ​जेद्दा, साउदी अरब २८ फेब्रुअरी, २०२६
    ​साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले पवित्र रमदान महिनाको अवसरमा स्थानीय क्षेत्रमा बसोबास गर्ने नेपाली मुस्लिम समुदायका लागि भव्य ‘इफ्तार’ कार्यक्रम आयोजना गरेको छ।

    गत २७ फेब्रुअरी २०२६ शुक्रबारका दिन आयोजित उक्त कार्यक्रममा जेद्दा र यसका आसपासका क्षेत्रमा कार्यरत नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
    ​दिनभरि व्रत (रोजा) बस्नुभएका नेपाली दाजुभाइहरूलाई महावाणिज्यदूत पारस पण्डित तथा उहाँको टिमले न्यानो स्वागत गर्दै अफ्तारी गराउनुभएको थियो। महावाणिज्य दूतावासले हरेक वर्ष रमदानको अवसरमा नेपाली मुस्लिम समुदायलाई निमन्त्रणा गरी अफ्तारी गराउने परम्परालाई यो वर्ष पनि निरन्तरता दिएको हो।
    ​अफ्तारी कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो। पहिलो चरणमा व्रत तोड्नका लागि विभिन्न प्रकारका फलफूल, जुस, लेबन र समोसाको व्यवस्था गरिएको थियो भने दोस्रो चरणमा सहभागीहरूका लागि विशेष भोजनको प्रबन्ध गरिएको थियो।
    ​उक्त अवसरमा एनआरएनए आरसीसी अल कासिमका पूर्व अध्यक्ष रमजान दिन मियाँ, इस्लामिक दावा सेन्टरका मन्जुर अलि मियाँ र विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले दूतावासको निमन्त्रणा र आतिथ्यताप्रति आभार प्रकट गरे। परदेशमा रहेर पनि अभिभावक संस्थाले मीठो भोजनका साथ सम्मानपूर्वक अफ्तारी गराएकोमा उनीहरूले दूतावास परिवारलाई विशेष धन्यवाद दिएका थिए।
    ​कार्यक्रमको अन्त्यमा महावाणिज्यदूत पारस पण्डितले निमन्त्रणा स्वीकार गरी उपस्थित हुनुभएका सबैमा धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले बर्तालुहरूलाई अफ्तारी गराउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उपस्थित सबैमा रमदानको शुभकामना आदानप्रदान गर्नुभयो। यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव र भाइचारालाई अझ प्रगाढ बनाएको महसुस गरिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    हिमालयन एयरलाइन्सको दुबई, दमाम र दोहा — का सबै उडानहरू रद्द !

  • १६ फाल्गुन २०८२, शनिबार १७:५८ मा प्रकाशित
  • Screenshot

    मध्यपूर्व क्षेत्रको आकाशमा उत्पन्न भइरहेको परिस्थितिका कारण हिमालयन एयरलाइन्सले मध्यपूर्वका गन्तव्यहरू — दुबई, दमाम र दोहा — का सबै उडानहरू अर्को सूचना नभएसम्मका लागि रद्द गरिएको जनाएको छ।

    एयरलाइन्सले यात्रुहरूलाई आफ्नो आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत अद्यावधिक जानकारी लिन अनुरोध गरेको छ। साथै, यसबाट यात्रुहरूलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना गर्दै सहयोग र समझदारीका लागि धन्यवाद व्यक्त गरेको छ।

    Posted in Uncategorized, अन्तर्राष्ट्रिय, मुख्य खबर

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P