.समर्पण रम्जानदिन, जेद्दा, साउदी अरब

साउदी अरब (जेद्दा) — नेपालको रसुवा र नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहतार्थ साउदी अरबको जेद्दामा स्थापित ‘नेपाली युवा क्लब, जेद्दा’ ले ठूलो आर्थिक सहयोग प्रदान गरेको छ। क्लबले बाढीपीडितहरूको सहयोगका लागि संकलन गरेको कुल ५,००,०००/- (पाँच लाख) रुपैयाँ जेद्दास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत श्री पारस पण्डितलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
मातृभूमिमा प्राकृतिक विपत्ति पर्दा प्रवासबाट मलम लगाउने उद्देश्यले क्लबले ‘बाढी पीडित सहयोगार्थ’ विशेष अभियान सञ्चालन गरेको थियो। सोही अभियान अन्तर्गत साउदी अरबका विभिन्न क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूबाट उक्त ५ लाख रुपैयाँ संकलन गरिएको हो। महावाणिज्यदूत पण्डितलाई उक्त राहत रकम हस्तान्तरण गर्दै क्लबले प्रभावित क्षेत्रका नागरिकहरूको छिटोभन्दा छिटो उद्धार, राहत र पुनर्थापनामा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
यस परोपकारी तथा मानवीय अभियानमा साउदीमा कार्यरत नेपालीहरूले आफ्नो पसिनाको कमाइबाट स्वस्फूर्त रूपमा सहयोग गरेका थिए। अभियानलाई सफल बनाउन विभिन्न कम्पनीमा कार्यरत नेपाली साथीहरूबाट महत्त्वपूर्ण आर्थिक योगदान प्राप्त भएको थियो। सहयोगदाता कम्पनी तथा व्यक्तिहरूको विवरण यसप्रकार रहेको छ:

- सनैया-२ (UAC कम्पनि): सिद्ध ओली, अमरराज गिरी र चित्र बहादुर डाँगी।
- वेस्टर्न जाना कन्ट्राक्टिङ: बल बहादुर मगर।
- बिन्जागर कम्पनि: रमेश शाह र मदन सिलवाल।
- सनैया-१: युवराज थापा मगर।
- बिजादिन कम्पनि: मिथुन थापा, ईश्वर श्रेष्ठ र पदम रावत।
नेपाली युवा क्लब, जेद्दाका अध्यक्ष राम थापाले महावाणिज्यदूतलाई रकम हस्तान्तरण गरेपश्चात यस अभियानमा जोडिएर मातृभूमिको दुःखमा साथ दिने सबै सहयोगी मनहरूप्रति विशेष कृतज्ञता प्रकट गर्नुभएको छ। उहाँले भन्नुभयो, “यो पवित्र अभियानमा जोडिनु हुने सम्पूर्ण सहयोगदाता, अभियन्ता लगायत क्लबका साथीहरूमा हार्दिक आभार व्यक्त गर्दछु।” अध्यक्ष थापाले प्रवासको व्यस्त दैनिकी र कडा परिश्रमका बाबजुद पनि देशलाई विपत्ति पर्दा निःस्वार्थ रूपमा सहयोग गर्ने सबै सहयोगीहरूको उच्च मूल्यांकन गर्दै आगामी दिनहरूमा पनि यस्तै साथ र सद्भाव निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
सन् २०१८ मा स्थापना भएको नेपाली युवा क्लबले प्रवासमा रहेका नेपालीहरूको हकहित र नेपालमा पर्ने विपत्तिहरूमा निरन्तर सहयोग गर्दै आइरहेको छ। हस्तान्तरण गरिएको यस रकमले रसुवा र नुवाकोटका बाढीपीडितको घाउमा मलम लगाउन र उनीहरूको दैनिक जीवनयापन सहज बनाउन ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।


