
समर्पण रम्जानदिन,
साउदी अरब (जेद्दा): रोजगारीको सिलसिलामा साउदी अरबको जेद्दामा रहेका नेपाली श्रमिकहरुको संस्था ‘नेपाली श्रमिक समाज साउदी अरब, जेद्दा’ ले हालै नेपालको रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ९५ हजार ३ सय ४६ रुपैयाँ (रु. ९५,३४६) जम्मा गरेको छ।
बाढीपहिरोका कारण देशले ठूलो जनधनको क्षति व्यहोर्नु परेपछि नेपाल सरकारले उद्धार र राहतका लागि गरेको अपिललाई मनन गर्दै यस संस्थाले सुरुवाती दिनदेखि नै सक्रियता देखाएको थियो। प्रवासमा रहेर पनि आफ्नो देश र दाजुभाइमा परेको अकल्पनीय विपत्तिमा मूकदर्शक नबनी, यहाँ कार्यरत नेपाली श्रमिकहरुले आफ्नो क्षमताअनुसार स्वस्फूर्त रूपमा आर्थिक सहयोग संकलन गरेका थिए।
भर्खरै केहि महिना अगाडि स्थापना भई उदीयमान चरणमा रहेको यस संस्थाले छोटो समयमै देशप्रतिको उत्तरदायित्व बोध गर्दै यस्तो मानवीय कार्य गरेको हो। संस्थाका अध्यक्ष मन्जुर अलि मियाँले देश दुख्दा प्रवासमा रहेका नेपालीहरुको मन पनि दुख्ने बताउँदै विपत्तिको यो घडीमा सानै भए पनि सहयोग गर्न पाएकोमा सन्तोष व्यक्त गरे।
अध्यक्ष मियाँले भने, “हामी भर्खरै स्थापना भएर अघि बढ्दै गरेको संस्था हौं। तर देशमा यस्तो अकल्पनीय विपत्ति पर्दा हामी चुप लागेर बस्न सकेनौं। सबै साथीहरुले आफूले सकेको सहयोग गर्नुभएको छ। आगामी दिनहरुमा पनि देश र जनतालाई पर्ने हरेक अप्ठ्यारोमा हाम्रो संस्थाले यस्तै सामाजिक तथा मानवीय सेवामा निरन्तर हातेमालो गरिरहनेछ।”

