साउदीमा नेपालीका समस्या सुल्झाउन डिजिटल पहल ‘नमस्ते दूतावास’ र ‘प्रवास हेल्प डेस्क’ सञ्चालनको तयारी

  • ३ श्रावण २०८३, आईतवार १९:३७ मा प्रकाशित
  • समर्पण रम्जान

    रियाद, साउदी अरब। प्रविधिको प्रयोगमार्फत देश र प्रवासमा रहेका नागरिकबीचको दूरी घटाउने उद्देश्यका साथ साउदी अरबमा एक नवप्रवर्तनात्मक डिजिटल यात्राको सुरुवात भएको छ। नेपाली राजदूतावास रियाद र प्रवास नेपाली सम्पर्क विभागबीचको ऐतिहासिक सहकार्यमा “नमस्ते दूतावास” (WhatsApp Group)“प्रवास Help Desk” डिजिटल प्लेटफर्म सञ्चालनको तयारी तीव्र पारिएको छ।

    समस्या जहाँ भए पनि, समाधान दूतावाससँगै” भन्ने मूल मर्मलाई आत्मसात गर्दै प्रवासी नेपालीको सुख-दुःखमा साथ दिन र सेवा प्रवाहलाई सरल, पारदर्शी एवं प्रभावकारी बनाउन यो नयाँ यात्राको सुरुवात गरिएको यो सहकार्य केवल संस्थागत सम्बन्धमा मात्र सीमित नभई विशेषगरी श्रमिक वर्गको सेवा, सहयोग, समन्वय र विश्वासलाई अझ सुदृढ बनाउने साझा अभियानको एउटा महत्वपूर्ण कोशेढुङ्गा बन्ने विश्वास लिइएको छ।

    प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबको अवधारणा अनुरूप आयोजित उक्त कार्यक्रममा प्रवासी नेपालीका गुनासाहरूलाई कसरी व्यवस्थित रूपमा संकलन गर्ने र सम्बन्धित निकायसँगको समन्वयमा समाधान प्रक्रियालाई कसरी द्रुत बनाउने भन्नेबारे विस्तृत छलफल भएको थियो।

    सहज पहुँच: प्रवासी नेपालीहरूले आफ्ना समस्या, आवश्यकता र सेवासम्बन्धी विषयहरूलाई सिधै डिजिटल माध्यमबाट सम्बन्धित निकायसम्म पुर्‍याउन सक्नेछन्।

    द्रुत सञ्चार र मार्गदर्शन: सूचना आदान-प्रदान गर्न तथा अप्ठ्यारोमा परेका नेपालीहरूलाई तत्काल आवश्यक सहयोग र मार्गदर्शन प्रदान गर्न यो प्रणाली प्रभावकारी सेतु बन्नेछ।

    पारदर्शी गुनासो व्यवस्थापन: प्राप्त गुनासाहरूको उचित व्यवस्थापन र अनुगमनका लागि राजदूतावास र सम्पर्क विभागको प्राविधिक टोलीले यसलाई थप परिमार्जन गरी छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

    डिजिटल प्रणालीलाई अन्तिम रूप दिन आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा साउदी अरबका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत सिर्जना अधिकारी, लेबर कन्सुल कविराज उप्रेती लगायत दूतावासका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसैगरी कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग साउदी अरबका केन्द्रीय समिति तथा रियाद र जुबेल दुवै क्षेत्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको समेत सक्रिय सहभागिता थियो।

    आयोजकका तर्फबाट प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबका सभापति भुपाल भण्डारीले कार्यक्रमको सफल व्यवस्थापन तथा प्राविधिक समन्वयमा पुर्‍याएको योगदानका लागि नेपाली राजदूतावास रियादप्रति विशेष आभार व्यक्त गरेका थिए। यो ऐतिहासिक सहकार्यले आगामी दिनमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरूको हित, सम्मान र सुरक्षामा थप सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको छ।