सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्ति प्रति प्रवास नेपाली सम्पर्क विभाग साउदी तथा कतारले गर्यो विरोध, सार्वजनिक क्षमायाचना नगरे आन्दोलन गर्ने चेतावनी

  • ३ श्रावण २०८३, आईतवार २०:३० मा प्रकाशित
  • समर्पण रम्जान

    रियाद, साउदी अरब। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित माननीय सांसद ज्ञानेन्द्र बहादुर शाहीद्वारा हालै जापानमा रहेकाबेला व्यक्त गरिएका अभिव्यक्तिहरू प्रति साउदी अरबको रास्वपा निकट संगठन प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरब सहित प्रवास नेपाली सम्पर्क समिति रियाद र जुबेलले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिको घोर भर्त्सना र खेद प्रकट गरेका छन्।

    सांसद शाहीका कतिपय अभिव्यक्तिहरू आधारहीन, अमर्यादित तथा राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिमा नकारात्मक प्रभाव पार्ने प्रकृतिको रहेको र उक्त अभिब्यक्तिले प्रवासी नेपाली श्रमिकहरूको सम्मानमा चोट पुगेको गुनासो रहेको छ । विज्ञप्तिमा उल्लेख भए अनुसार, विश्वका विभिन्न मुलुकमा आफ्नो श्रम, सीप र पसिना खर्चेर देशको अर्थतन्त्रमा मेरुदण्डका रूपमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका प्रवासी नेपाली नागरिकहरूलाई लक्षित गरी अपमानजनक अभिव्यक्ति आउनु नकैनी निन्दनीय रहेको समितिले जनाएकोछ।

    प्रवास नेपाली सम्पर्क विभागले लोकतान्त्रिक समाजमा विचार र अभिव्यक्तिको स्वतन्त्रता सबैलाई भए पनि सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले बोल्दा सामाजिक एकता र लाखौँ नेपालीको सम्मानलाई ध्यानमा राख्नुपर्ने कुरामा जोड दिएको छ।

    विज्ञप्तिको मुख्य अंश जस्ताको त्यस्तै:
    “लाखौँ प्रवासी नेपालीहरूको आत्मसम्मान र योगदानलाई अवमूल्यन गर्ने गरी आएका यस्ता अमर्यादित अभिव्यक्तिहरू हामीलाई कदापि स्वीकार्य छैनन्। सार्वजनिक पदमा रहेका जिम्मेवार व्यक्तिबाट यस प्रकारको गैरजिम्मेवार व्यवहार प्रदर्शन हुनु दुःखद छ।”

    साउदी अरबमा रहेका प्रवास नेपाली सम्पर्क विभागले सम्बन्धित पक्ष (सांसद ज्ञानेन्द्र शाही) लाई आफ्ना अमर्यादित अभिव्यक्तिहरू तत्काल सच्याउन र सार्वजनिक रूपमा आत्मालोचना तथा क्षमायाचना गर्न हार्दिक आग्रह गरेका छन्।

    यदि समयमै गल्ती नसच्याइए र माफी नमागिए प्रवासी नेपालीहरूको सम्मान र अधिकार रक्षाका लागि खाडी मुलुकहरूबाटै शान्तिपूर्ण रूपमा थप विरोधका कडा कार्यक्रमहरू अगाडि बढाउन बाध्य हुने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ।

    यसै समब्धलाई लिएर अन्य देशहरुमा रहेका प्रवास नेपाली सम्पर्क विभागहरेले पनि बिज्ञप्ति निकाल्दै आफ्नो अमर्यादित अभिव्यक्तिहरू तत्काल सच्याउन र सार्वजनिक रूपमा आत्मालोचना तथा क्षमायाचना गर्न हार्दिक आग्रह गरेका छन्।

    विज्ञप्ति जारी गर्ने संस्थाहरू:

    प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरब
    प्रवास नेपाली सम्पर्क समिति, रियाद, साउदी अरब
    प्रवास नेपाली सम्पर्क समिति, जुबेल, साउदी अरब
    प्रवास नेपाली सम्पर्क विभाग, कतार
    समस्त प्रवासी नेपाली परिवार