बेरोजगार र अनुभवी नेपालीलाई रोजगारीसँग जोड्ने लक्ष्य

समर्पण रम्जानदिन मियाँ
रियाद, साउदी अरेबिया — प्रवासमा रहेका नेपालीहरूलाई रोजगारीका अवसरहरूसँग जोड्ने र आपसमा सहयोगको वातावरण निर्माण गर्ने उद्देश्यका साथ स्थापित ‘हेल्पलाइन नेपाल साउदी अरेबिया’ ले आफ्नो प्रथम उद्घाटन समारोह तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी ९ अक्टोबर २०२६ (शुक्रबार) का दिन रियादस्थित एक्जिट १८ मा रहेको वालिद रेस्ट हलमा भव्य कार्यक्रमका साथै हिन्दुहरूको महान् पर्व बडा दशैंको शुभकामना आदानप्रदान समेत गरिने भएको छ।
रोजगारी सिर्जना र अनुभवको सम्मान मुख्य प्राथमिकता
संस्थाका अनुसार साउदी अरेबियामा रोजगारविहीन बनेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्राथमिकताका साथ उपयुक्त रोजगारी दिलाउन पहल गर्नु संस्थाको पहिलो उद्देश्य रहनेछ। यसका साथै, लामो समयदेखि वैदेशिक रोजगारीका क्रममा अनुभव र दक्षता हासिल गरिसकेका श्रमिकहरूलाई उनीहरूको क्षमता र योग्यता अनुसार अझ राम्रो अवसरसँग जोड्ने सोच संस्थाले अघि सारेको छ।
अनुभवी नेपालीहरूले राम्रो अवसर पाउँदा उनीहरूको आर्थिक अवस्था सुधार हुनुका साथै आफ्नो ज्ञान, सीप र क्षमतालाई अझ परिस्कृत गर्ने मौका मिल्नेछ। “एक नेपालीले अर्को नेपालीलाई अवसर र सहयोग गर्ने” संस्कारको विकास गर्दै नयाँ पुस्तालाई अवसर दिने र अनुभवी पुस्ताको सीपको सम्मान गर्ने वातावरण बनाउनु हेल्पलाइन नेपालको मुख्य ध्येय रहेको छ।
सामाजिक र मानवीय सेवामा पनि समर्पित हुने
हेल्पलाइन नेपाल केवल रोजगारी र सीप समायोजनमा मात्र सीमित नरही समाजका विभिन्न क्षेत्रमा आवश्यक पर्ने सामाजिक तथा मानवीय कार्यहरूमा पनि सक्रिय रहने जनाइएको छ। संस्थाका अनुसार हाल विधि-विधान तथा कार्यविधिहरूलाई अन्तिम रूप दिने काम भइरहेको छ। कार्यविधि हेल्पलाइन नेपाल’को प्रथम उद्घाटन कार्यक्रममा संस्थाले गर्ने अन्य सामाजिक कार्यहरू र आगामी गतिविधिहरू स्पष्ट रूपमा सार्वजनिक गरिनेछ।
कार्यक्रमको पूर्ण विवरण:
- कार्यक्रम: प्रथम उद्घाटन समारोह, बृहत् सांस्कृतिक कार्यक्रम २०२६ तथा बडा दशैंको शुभकामना आदानप्रदान
- मिति: २०२६/१०/०९ (अक्टोबर ९, २०२६) शुक्रबार
- समय: दिनको ठिक १२:०० बजेदेखि साँझ ६:०० बजेसम्म
- स्थान: एक्जिट १८, वालिद रेस्ट हल (अबी तालिब मस्जिद पछाडि)
सम्पर्क व्यक्तिहरू:
- राज तोङमालुङ राई –
0570218160 - राज चेम्जोङ लिम्बु –
0545060749 - अभिषेक सुन्दास –
0548575198 - बिनोद खत्री –
0572727802
आयोजक संस्थाले साउदी अरेबियामा कार्यरत सम्पूर्ण नेपाली दिदीबहिनी, आमा-बुवा तथा दाजुभाइहरूलाई उपस्थित भई कार्यक्रम भव्य रूपमा सफल पारिदिनुहुन हार्दिक निमन्त्रणा गरेको छ।

