कपिलवस्तु, मंसिर–१८
छिमेकी घरमा हाँसो–खेलाइ गुन्जिरहँदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१, प्रगतीनगरकी लक्ष्मी परियारको झुपडी भने वर्षौँदेखि मुस्कान बिर्सिएको जस्तै देखिन्छ ।
बुढेसकालमा विश्रामको अधिकार पाउनुपर्ने उमेरमा पनि लक्ष्मी बिहानै ज्याला मजदुरीतिर लाग्छिन् ।
श्रीमान् भिमबहादुर परियारको मृत्युपछि परिवारको सम्पूर्ण जिम्मेवारी आफूले बोक्नुपरेको बताउने लक्ष्मीका चारै सन्तान जन्मजात अपाङ्गता भएका छन् ।
उपचार अभावमा जेठो छोरा शंकरको मृत्यु भइसकेको छ भने अहिले माइलो रामप्रकाश, साइँलो अनुराम र कान्छी छोरी सङ्गीता पनि कम्मरमुनीको खुट्टा चलाउन सक्दैनन् ।
“गरिबका दुःख कहिल्यै नघट्ने रहेछ,” लक्ष्मी भन्छिन्, “न सम्पत्ति छ, न सपाङ्ग सन्तान । बुढेसकालमा पनि ज्याला मजदुरी गरेर घर चलाएकी छु ।”
कागजातबिहीन घर, नागरिकता पनि ढिलो
सुकुम्बासी बस्तीमा रहेको एक कट्ठा जग्गामा बनेको झुपडी घरलाई आधिकारिक कागजात छ नै भन्न सकिन्न ।
श्रीमानीको मृत्यु हुँदा परिवारमा कसैको पनि नागरिकता थिएन ।
स्थानीय समाजसेवीहरूको पहल र तत्कालीन पालिका अध्यक्ष निसार अहमद खाँको सहयोगमा मात्र नागरिकता बनाइएको थियो ।
घुम्ती पसल र भत्ता—सामान्य आम्दानीको स्रोत
एउटा संस्थाले सहयोग गरेको घुम्ती पसल र तीन अपाङ्ग सन्तानले पाउने भत्ता परिवारको मुख्य आम्दानी स्रोत बनेको छ ।
तर रामप्रकाश स्वतः पसलसम्म पुग्न नसक्ने भएकाले छिमेकी युवाहरूले दिनभर त्यहाँ लगेर राख्ने गर्छन् ।
पुरानो कच्ची शौचालयको रिंग फुटेर प्रयोग गर्नै नसकिने भएपछि ‘इस्लामिक रिलिफ’ को सहयोगमा लिडो नेपालले नयाँ शौचालय निर्माण गरेको छ ।
“शौचालयको समस्या समाधान भयो, तर परिवार अझै धेरै सहयोगको प्रतीक्षामा छ,” स्थानीय समाजसेवी सरिफ खानले भने ।
स्कुटर छ, प्रयोगबाहिर
गाउँपालिकाले उपलब्ध गराएको चारपांग्रे स्कुटर पनि पेट्रोलको खर्च नहुने कारण प्रयोगबाहिर छ ।
कान्छी छोरी सङ्गीता भन्छिन्, “पढ्न, लेख्न, घुम्न चाहना छ, तर शरीरले साथ दिँदैन, घरमा साधन पनि छैन ।”
सुरक्षित घरको चाहना
रामप्रकाशले वर्षायाममा चुहिने झुपडीले सबैभन्दा बढी समस्या सिर्जना गर्ने बताउँदै भने,
“यदि कोही दाताले सानो पक्की घर बनाइदिए जीवन सजिलो हुन्थ्यो ।”
आमदनी र सुरक्षित घर नहुँदा परिवारको दैनिकी अझै पनि कठिन छ ।
लक्ष्मी परियारको परिवार अहिले पनि घर निर्माण सहितको सहयोगका लागि मनकारी दाताको आशामा छ ।

सभार: बुटवल टुडे

