‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- २१२ सम्पन्न

  • २० मंसिर २०८२, शुक्रबार २३:३८ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २१२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २१२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    ~~~~~<•>~~~~~
    सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-
    ~~~~~<•>~~~~~
    आउनुहोस् ! सबैजना मिलेर गरौँ पहल
    फेरि पनि त लुट्न पर्‍यो, खोलौँ एउटा दल ।
    १//
    दल खोलेर मात्रै के गर्नु चुनाव हुनै गाह्रो
    छिचिमिरो जस्तै निस्किएपछि जित्नै पर्छ साह्रो ।
    ✍️ वेदु न्यौपाने
    २//
    सबै जना मिलेर खोलौँ ठुलै खाले दल
    विकासका कुरा गर्न त्यागेर सारा छल।
    ✍️ दिलीप कुमार शर्मा कट्टेल
    भद्रपुर -झापा हाल -अस्ट्रेलिया
    ३//
    पुरानालाई हप्काएर खोलौँ नयाँ दल
    ढाँटी छली सत्तामा पुग्ने गरौँ दलबल ।
    ✍️ गुणनिधि
    ४//
    दल खोल्न सजिलो भयो नि भ्रष्टाचारको  दलदल
    अहिले सम्मकै के रह्यो नतिजा  देखाऊ  पलपल ।
    ✍️ मोती योन्जन सुब्बा   दार्जिलिङ।
    ५//
    पुरानाले मासिसके देश जथाभावी पोलेर
    थप क्षति किन निम्त्याउने नयाँ दल खाेलेर ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ६//
    जनतालाई उल्लु सधैँ बनाउन हुने छैनौँ सफल
    साँच्चै जुनसुकै बनाए पनि यिनै नेताहरूले दल ।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ७//
    दल खोलौँ बाटो खुल्छ पैसा कमाउन
    काम हैन कुरा गरी सक्छौँ रमाउन ।
    ✍️ हरिप्रसाद तिमल्सिना
      त्रिपुरासुन्दरी -४  धादिङ्
    ८//
    हाम्रो सानो देश नेपाल सबैजसो खोल्छन् दल मात्रै
    जनको दुःखलाई कसले हेर्ने भइहेको छ जात्रै ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    हालः अमेरिका,बोस्टन
    ९//
    पुरानाले सब लुटीसके देश खोक्रो बनाए
    काले काले सबैजना मिली एकता पो जनाए ।
    ✍️ पदमराज न्यौपाने
    रामारोशन ४ अछाम
    १०//
    हामी पनि कम छैनाैँ खाेलाैँ नयाँ दल
    लुटतन्त्र काफी छ गर्याैँ भने पहल ।
    ✍️ काेपिला अधिकारी
    सिरानचाेक-७, गाेरखा
    ११//
    हिडौँ है सबै मिलेर खोजेर उज्यालो बाटो
    फेरि पनि खोज्छन् पुरानो नयाँहरूको साटो ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहुँ । हाल चनपा ६ मातातीर्थ
    १२//
    यहाँ देशप्रेमी नेता कमै छन् अधिक छन् दलाल
    बाहिर राष्ट्रवादी नारा दिई भित्र गर्छन् कमाल ।
    ✍️ नवराज भट्ट
    कञ्चनपुर
    १३//
    चाहे खोल नयाँ दल चाहे तिम्रो झण्डा फेर
    तिम्रो अस्तित्व मेटाउँने छ चुनावले हेर ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके
    १४//
    भ्रष्टाचारीहरूको मात्र संगठन खोल्ने गरौँ अब नै पहल
    देशको भण्डार लुटेर तलामाथि तला थप्दै बनाऔँ महल ।
    ✍️ दिल ठकुरी दार्जिलिङ
    १५//
    पार्टी पनि नेपालमा च्याउजस्तै उम्रे
    उमेदवार दिएका बच्चादेखि खुम्रे ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई नगरपालिका ४ झापा
    १६//
    कसरी गरौँ देश बनाउन पहल
    हेर त अवसरवादीहरूको दल ।
    ✍️दीप गोले तामाङ
    रौतहट
    १७//
    बोटमा पाकेको छ फल
    खानलाई नगर कल !
    ✍️ आर्त अकुलीन
    १८//
    देशमा नेताभन्दा दर्ता धेरै दल
    निर्वाचन हुनुअघि देखाए बल ।
    ✍️ चुडामणी देबकोटा
    सिन्धुली मरिणखोला जखनी हाल थानेटार पुरानोनैकाप काठमाण्डौ
    १९//
    हान गोली छानी छानी आखिर मर्ने हो भोलि
    भ्रष्टाचारी नेताहरू कति कति भरे झोली ।
    ✍️ बिबा तामाङ दार्जिलिङ।
    २०//
    देशलाई बनायौ कङ्गाल
    सभ्यतामा अझै नै बेहाल ।
    ✍️ प्रेम थापा मन” बागलुङ
    २१//
    दलले दलदल बनाएछ देश
    यस्ता दल हुनुभन्दा नहुनु वेश ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ
    २२//
    हुन पनि दल नै दलमा लागेर नै जनता जति फुटे
    नेतालाई धनी बनाउन चारैतिरबाट जनता लुटे ।
    ✍️ पवनकुमार बुढाथेाकी
    काठमाडौं
    २३//
    दल कुनै दिन भ्रष्टाचारको दलदलमा फस्छ
    राष्ट्रवादको नारा खोकी भिडभित्र के खोज्न पस्छ ?
    ✍️ कला ढकाल, झापा
    २४//
    भएको सबै सम्पत्ति कतै राखेर बन्धकी
    गरेर छल खोलिए दल बन्नेछ नर्तकी ।
    ✍️ घनश्याम पौडेल, पोखरा
    २५//
    बिग्रेको छ देशको हालात अहिले हेर यसरी
    दल खोलौँ पार्टी बनाऔँ र लुटौँ जसरी तसरी ।
    ✍️ सुशीला  शिखा
    काठमाडौं कागेश्वरी
    २६//
    नेता त बनिँयो दल चलाउन गाह्रो
    भ्रष्टाचारी बन्नबाट बचाउन साह्रो ।
    ✍️ निमा छिरिङ भोटिया
    जलढाका कालेबुङ
    २७//
    कुर्सी चढ्दामा भन्छन् भगवान् हुन् जनता
    चढेपछि  कुर्सी  भन्छन्  चिन्दिनँ अब ता ।
    ✍️ भेष सुवेदी
    २८//
    दौडी आउँछन् मूर्ख जनता खोलौ नयाँ दल
    आजभोलि राम्रो चल्छ राजनीतिको पसल ।
    ✍️ बीके मुखिया
    वाङदे, दार्जिलिङ, भारत
    २९//
    खौलाैँ दल निम्त्याओैँ कल, गराैँ छल, बेचाैँ बाँकी जल र थल
    जनतालाई भल,  बनाई खल, बास्ना छराैँ गनाए झैँ ढल ।
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    ३०//
    दल खाेले असल हुन्छ राम्रो
    नकारात्मक साेच नहाेस् हाम्रो ।
    ✍️ कोपिला
    ३१//
    दल नयाँ होइन सोच राम्रो खोल
    सबैसँग सधैँ सत्य वचन बोल ।
    ✍️ सुनगाभा पोखरेल
    कपिलवस्तु १
    ३२//
    विदेशीको गुलाम बनेर जब
    सबै त्यस्तो नबनौँ नेपाली अब ।
    ✍️ नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    ३३//
    देशमा सबै नेतै नेता, जनता कोही छैन
    दल खोलेर बसे पनि, काम त गर्ने हैन ।
    ✍️ एवाइ प्रभात
    धनकुटा
    ३४//
    छिचिमिरा जस्तै खोलिदिए राजनीति दल
    नागरिकलाई सास्ती छ दलमा अलमल ।
    बिपी लामिछाने
    दमक, झापा
    ३५//
    च्याउझैँ उमारिए फेरि नयाँ दल
    ताकत हेर अझै गरौँला छ छल ।
    ✍️ इन्दु श्रेष्ठ
    चितवन
    ३६//
    हाम्रै छ गुनगान, हाम्रै छ चहलपहल
    जनताको रगतले भिजेको छ तीन दल ।
    ✍️ होमप्रसाद नेउपाने
    धरान, सुनसरी ।
    ३७//
    देशले भार थेग्न सक्दैन दल मात्र खोलेर भ्रष्टाचार अन्त्य हुँदैन
    जोपनि आफ्नै दुनो सोझ्याउने मात्र हो, मिलेर जाने पक्षमा कोही छैन ।
    ✍️ कबिताहरी
    सुन्दरहरैंचा १ कुमार गाउँ मोरङ
    ३८//
    दुईसय दल बनायौँ भने भागबण्डा हुन्छ
    पद सबले पाउँदा हामीलाई कसले छुन्छ ।
    ✍️ सुरेश चन्द्र घिमिरे
    ३९//
    दल मात्रै कति खोलेका हुन् बनाउने भए नि लुट्ने ठाउँ
    दल बनाउन मात्र आतुर छन्, लथालिङ्ग सहर गाउँ ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ४०//
    चुनावमा साट्छौ नोटले भोट
    त्यसैले भन्छु हामी मै छ खोट ।
    ✍️ रमा पन्त, पाल्पा
    ४१//
    कुर्ची बिलो पाउन जोड घटाउ गरे नेता
    सित्तिमा दिन्नन् ठाउँ बनाउँछन् यता न तेता ।
    ✍️ बालकृष्ण खनाल
    रिप्दिकोट-३ पाल्पा
    ४२//
    मान्छे नभए नि दल छ्न् जसोतसो
    मिलाउँदै छ्न् देश लुट्ने खेल कसो !
    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली
    ४३//
    राजनीतिक एवम् कूटनीतिक खेल खेलाैँ
    हाम्रो सत्ता सरकार ल्याएर जनता पेलाैँ ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ,हाल भारत ।
    ४४//
    टाक्कटुक्क मिलाइकन चिन्ह्र पनि राखौँ
    चिन्ह्र भजाई ढिकुटीको स्वाद पनि चाखौँ ।
    ✍️ रेजिना
    ४५//
    नयाँ दल, पुरानो दल नामै मात्र बदलेको
    देश जनता लुटी खान भ्रममात्र छरिएको ।
    ✍️ शिवराम सुलु
    भनपा १० व्यासी – भक्तपुर
    ४६//
    मौका मिल्नासाथ पारौँला भनी देशको अवस्था खलबल
    देखासिकीमै खोलिरहेका छन् च्याउ उम्रे जस्तै नयाँ दल l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ४७//
    केही गर्ने हाेइन दलहरू काम, ग्राउन्डमा जिराे
    खुद्रा पसलझैँ दल खाेलेर मुख बनाउँछन् पिरो ।
    ✍️ रवि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ४८//
    खोल्छु दल नयाँ अब, चाहिन्न केही आफन्त भए पुग्छ
    दुई चार ओटा आन्दोलन गर्छु, सरकार आफैँ नुग्छ ।
    ✍️ राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    ४९//
    टोले दल झोले दल खोलौँ घरघर
    चण्डाल र डाका सबै राखौँ वरपर ।
    ✍️विवश पारदर्शी
    झापा
    ५०//
    संरक्षण अनि सम्बर्द्धन गरौँ भन्न छाडेर
    आफूमात्र बाँच्न खोज्ने मातृभूमिलाई गाडेर ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान, दार्जिलिङ।
    ५१//
    दलहरूकै रहेछ जगजगी खाेलाैँ एउटा दल
    सुर्ता चिन्ता जनताकाे भाग तिनलाई पैसाकाे भल ।
    ✍️ प्रमाेद नेपाल
    काठमाडौँ – ५
    ५२//
    पारदर्शिताको दियो बालौँ, जनताको पक्षमा बलौँ,
    लुटकै लागि होइन है, रुपान्तरणकै लागि उठौँ ।
    ✍️ नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    ५३//
    सबै जना मिलेर गरौँ राम्रो पहल
    देशको कुरामा मान्छेले नगरी कल ।
    ✍️ रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी
    ५४//
    मर्नुपर्छ भन्ने कुरा बिर्सेर जाँदा
    थाहा पाइन्छ बल्ल पछि धोखा खाँदा ।
    ✍️ अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    ५५//
    आजसम्मकाे यात्रामा मिलेर लुटेको नै थियौँ
    युवाकाे चेतावनीले फेरि बाटो बदली दियाैँ ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ५६//
    दुनियाँ अजिब छ खाएको थालमा चुठ्ने
    जसको छ आडमा उसैको विरुद्ध उठ्ने ।
    ✍️ धन माया चौधरी
    कैलाली
    ५७//