• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

कपिलवस्तु–१ मा चुनावी रस्साकस्सी चुलिँदै

  • ९ माघ २०८२, बिहीबार १२:०४ मा प्रकाशित
  • कपिलवस्तु ,माघ ०८
    कपिलवस्तु जिल्लामै सबैभन्दा बढी मतदाता रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक चुनावी माहोल तातिएको छ । एक लाख ४७ हजार ६५९ मतदाता रहेको यो क्षेत्र जिल्लाकै निर्णायक मानिँदै आएको छ, जहाँ हरेक चुनावमा राजनीतिक समीकरणले फरक मोड लिने गरेको छ ।
    यस निर्वाचन क्षेत्रमा कांग्रेसबाट अतहर कमाल मुसलमान, एमालेबाट विश्राम चौधरी, नेपाल कम्युनिस्ट पार्टीबाट कृष्णबहादुर कुवर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहन आचार्य, जनमत पार्टीबाट नरेन्द्र प्रसाद चौधरी तथा स्वतन्त्र उम्मेदवार आशिष शर्मा चुनावी मैदानमा उत्रिएका छन् । पुराना अनुभवी नेता र नयाँ अनुहारबीचको प्रतिस्पर्धाले चुनावी रस्साकस्सी थप चर्किएको छ।
    उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा बोकेर घरदैलो, टोलभेटघाट र आमसभामार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै आएका छन् । विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि तथा सिँचाइजस्ता मुद्दालाई केन्द्रमा राख्दै उनीहरूले आफ्नो पक्षमा मत मागिरहेका छन् । केही उम्मेदवारले अधुरा पूर्वाधार सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् भने केहीले सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिको नारा अघि सारेका छन् ।
    गत निर्वाचनमा यही क्षेत्रबाट एमाले नेता बलराम अधिकारीले भारी मतान्तरसहित विजय हासिल गरेका थिए । त्यसैले यसपटक पनि एमालेले आफ्नो पकड जोगाउने प्रयास गरिरहेको देखिन्छ । अर्कोतर्फ कांग्रेसले संविधान सभा सदस्यसमेत रहिसकेका अतहर कमाल मुसलमानलाई अघि सार्दै क्षेत्र फिर्ता ल्याउने रणनीति बनाएको छ ।
    नयाँ दल र स्वतन्त्र उम्मेदवारको सक्रियताले परम्परागत दलमाथि दबाब बढेको छ । मतदातासामु विकल्प बढ्दा अन्तिम निर्णय कसको पक्षमा जान्छ भन्ने विषयले चुनावी चासो अझ बढाएको छ । अन्ततः उम्मेदवारका एजेन्डा, संगठनको शक्ति र मतदातासँगको पहुँचले कपिलवस्तु–१ को नतिजा तय गर्ने देखिन्छ ।

    Posted in Uncategorized

    कपिलवस्तु–१ मा चुनावी रस्साकस्सी चुलिँदै ३४ उम्मेदवार, मतदाता तानातान र अन्तिम निर्णयको पर्खाइ

  • ९ माघ २०८२, बिहीबार ११:५७ मा प्रकाशित
  • कपिलवस्तु ,माघ ०८

    कपिलवस्तु जिल्लामै सबैभन्दा बढी मतदाता रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको चुनाव असाध्यै रोचक र जटिल बन्दै गएको छ । राजनीतिक दल र स्वतन्त्र गरी कुल ३४ जनाले उम्मेदवारी दर्ता गराएपछि यो क्षेत्र जिल्लाकै सबैभन्दा भीडभाड भएको चुनावी मैदान बनेको छ । एक लाख ४७ हजार ६५९ मतदाता रहेको यो क्षेत्रमा हरेक मतको मूल्य निर्णायक मानिएको छ ।
    मुख्य दलका प्रभावशाली उम्मेदवारसँगै साना दल र स्वतन्त्र उम्मेदवारको बाक्लो उपस्थितिले मत विभाजनको सम्भावना बढाएको छ । यही कारण ठूला दलहरू संगठन मजबुत बनाउन र परम्परागत मतदाता जोगाउन आक्रामक प्रचारमा उत्रिएका छन् । गाउँ–गाउँ, टोल–टोलमा हुने भेटघाट, घरदैलो अभियान र साना आमसभाले क्षेत्रको राजनीतिक तापक्रम दिनानुदिन बढाइरहेको छ ।
    उम्मेदवारहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ तथा सडक पूर्वाधारलाई मुख्य एजेन्डा बनाउँदै मतदातासँग भोटको अपिल गर्दै आएका छन् । केही उम्मेदवारले विगतमा पूरा नभएका योजनालाई स्मरण गराउँदै यसपटक अवसर दिन आग्रह गरिरहेका छन् भने केहीले पुरानो राजनीतिक अभ्यासको आलोचना गर्दै ‘परिवर्तन’ र ‘नयाँ सोच’को नारा अघि सारेका छन् ।
    यस क्षेत्रमा विगतमा देखिएको दलगत मतबाहेक व्यक्तिगत प्रभाव, स्थानीय समीकरण र जातीय–सामुदायिक सम्बन्धले पनि चुनावी नतिजामा भूमिका खेल्ने गरेको छ । त्यसमाथि स्वतन्त्र उम्मेदवारको संख्या धेरै हुँदा अन्तिम परिणाम अनुमान गर्न गाह्रो बन्दै गएको छ ।
    गत निर्वाचनमा एमाले नेता बलराम अधिकारीले भारी मतान्तरसहित जित हासिल गरेकाले यसपटक पनि एमाले आफ्नो पुरानो आधार जोगाउने रणनीतिमा देखिन्छ । अर्कोतर्फ कांग्रेससहित अन्य दलहरू भने यही क्षेत्रलाई प्रतिष्ठाको लडाइँका रूपमा लिँदै जित हात पार्ने दाउमा छन् ।
    कुल मिलाएर, कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को चुनाव यसपटक केवल उम्मेदवार र दलको प्रतिस्पर्धा मात्र नभई मतदाताको चेतना, असन्तुष्टि र अपेक्षाको परीक्षा बनेको छ । अन्ततः मतदाताले कसलाई विश्वास गर्छन् भन्ने कुराले मात्र होइन, कति मत कसरी विभाजित हुन्छ भन्ने तथ्यले पनि नतिजा तय गर्ने देखिन्छ ।

    Posted in Uncategorized

    केन्द्रीय सुरक्षा समितिको बैठकः सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

  • ९ माघ २०८२, बिहीबार ०८:५५ मा प्रकाशित
  • काठमाडौं , पुष ०८

    सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था थप सुदृढ बनाउन जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको छ।गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनसँग सम्बन्धित सबै सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा सक्रिय बनाउने निर्णय गरेको हो। बैठकले केन्द्र, प्रदेश र जिल्ला तहमा गठन गरिएका सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय र सहकार्यमा सुरक्षा परिचालन गर्न निर्देशन दिएको छ।निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोग हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै त्यसको निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने निर्णयसमेत बैठकले गरेको छ। सामाजिक सञ्जालमार्फत गलत सूचना, घृणात्मक अभिव्यक्ति तथा निर्वाचन आचारसंहिता विपरीत गतिविधि भएमा तत्काल कारबाही गरिने गृहमन्त्रीको सचिवालयले जनाएको छ।बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्नो सुरक्षा तयारीबारे जानकारी गराएका थिए। निर्वाचनलाई लक्षित गरी लागू गरिएको ‘एकीकृत निर्वाचन सुरक्षा योजना’ अनुसार मतदानपूर्वदेखि मतगणनासम्म सुरक्षा व्यवस्था मिलाइने सरकारको भनाइ छ।

    Posted in Uncategorized

    पाँच उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा

  • ९ माघ २०८२, बिहीबार ०६:५८ मा प्रकाशित
  • काठमाडौं, पुष ०८ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा विभिन्न पाँच जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार प्राप्त उजुरीहरूमाथि हाल अध्ययन भइरहेको छ ।आयोग स्रोतका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका दुई जनाविरुद्ध उजुरी परेको छ । ती उम्मेदवारहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्री र नेपाल जनसेवा पार्टीकी जानुका पाठक रहेका छन् ।यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध पनि उजुरी परेको छ। नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीविरुद्ध पनि उजुरी परेको आयोगले जनाएको छ । यस्तै सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालबिक्रम थापाविरुद्ध समेत उजुरी दर्ता भएको छ ।निर्वाचन आयोगका अनुसार उजुरी कुन–कुन विषयमा परेको हो भन्नेबारे हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन । प्राप्त उजुरीमाथि कानुनी प्रक्रिया अनुसार अध्ययन भइरहेको आयोगको भनाइ छ ।

    Posted in Uncategorized

    The statue of Bhagwati Durga Mata in Morang drew the attention of devotees on Thursday morning.

  • ९ माघ २०८२, बिहीबार ०६:५४ मा प्रकाशित
  • The statue of Bhagwati Durga Mata in Morang drew the attention of devotees on Thursday morning. Visitors were seen offering prayers in the calm and peaceful atmosphere.
    📸 Photo: Bibek Poudel

    Posted in Uncategorized

    जनमत पार्टीबाट चौधरी उम्मेदवार, पूर्व मन्त्री सक्रिय

  • ८ माघ २०८२, बुधबार २१:३९ मा प्रकाशित
  • कपिलवस्तु, पुष ७
    फल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट जनमत पार्टीको तर्फबाट नरेन्द्र प्रसाद चौधरी लाई उम्मेदवारी दिइएको छन् । पार्टीको केन्द्रीय निर्णयअनुसार उनी सो क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।
    चौधरी हाल जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् र लामो समयदेखि राजनीति क्षेत्रमा सक्रिय छन् । उम्मेदवार बनेसँगै क्षेत्र नम्बर १ मा चुनावी माहोल थप तातिएको छ । उनका प्रवेशले यहाँ रोमाञ्चक चुनावी भिडन्त हुने संकेत पनि देखिएको छ ।
    चौधरीको साथमा हाल जिल्लाका चर्चित नेता तथा पूर्व मन्त्री दानबहादुर चौधरी पनि प्रचार–प्रसारमा सक्रिय देखिएका छन् । पुर्व मन्त्री चौधरी पनि जनमत पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष हुन् । उनी दुबैको संयुक्त उपस्थितिले क्षेत्रभर पार्टीको अभियानलाई थप जोश र गती प्रदान गरेको बताइन्छ ।
    क्षेत्रभर अहिले प्रत्येक राजनीतिक दलले मतदातासँग प्रत्यक्ष सम्पर्क गर्ने, घर–दैलो पुग्ने काम सुरु गरिसकेको छ । पार्टीका नेताहरूले संगठन सुदृढीकरण र जनसमस्यालाई प्राथमिकतामा राख्दै चौधरीलाई उम्मेदवार बनाएको बताएका छन् ।
    २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा चौधरीले सोही क्षेत्रबाट ८ हजार ३९६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए । यसपटक उनी आफ्नो अनुभव र पार्टीको मजबुत संगठनसहित मतदातासँग संवाद गर्दै प्रतिस्पर्धामा उत्रिने योजना बनाएका छन् ।

    Posted in Uncategorized

    फल्गुण २१ गते हुने निर्वाचनका लागि कपिलवस्तु–१ बाट निसार अहमद मुसलमानको उम्मेदवारी

  • ८ माघ २०८२, बुधबार २१:१३ मा प्रकाशित
  • कपिलवस्तु, पुष ७

    फल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्र निर्माण दल नेपालका केन्द्रीय सदस्य निसार अहमद मुसलमानले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्र निर्माण दल नेपालको चुनाव चिन्ह पानीको बोतल रहेको छ ।
    उम्मेदवारी दर्तापछि आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै मुसलमानले जनताको सुरक्षित र उज्ज्वल भविष्य, गाउँ–टोलदेखि देशसम्मको वास्तविक विकास तथा इमानदार र काम गरेर देखाउने नेतृत्वका लागि आफू चुनावी मैदानमा उत्रिएको बताए । उनले मतदातालाई पानीको बोतल चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे ।
    मुसलमानको उम्मेदवारीसँगै कपिलवस्तु क्षेत्र नम्बर १ मा नयाँ आशा, विश्वास र परिवर्तनको ऊर्जा फैलिएको सहभागीहरूको भनाइ छ। मनोनयन दर्ताका क्रममा उल्लेख्य संख्यामा समर्थक र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।
    निसार अहमद मुसलमानले आफू ठूला भाषणभन्दा काममा विश्वास गर्ने नेता भएको उल्लेख गर्दै जनताको दुःख–सुख बुझ्ने, युवाका सपना सुन्ने तथा किसान, मजदुर र पछाडि पारिएका वर्गको पीडालाई केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    उनले आफ्नो राजनीतिक यात्राको मूल एजेन्डामा जनताको हक–अधिकार, सामाजिक न्याय, समावेशी लोकतन्त्र तथा सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखिएको बताए । जनताको साथ, भरोसा र समर्थनलाई सबैभन्दा ठूलो शक्ति मानेर चुनावी अभियानलाई अझ सशक्त बनाउने उनको भनाइ छ ।

    Posted in Uncategorized

    एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म

  • ८ माघ २०८२, बुधबार २०:५३ मा प्रकाशित
  • काठमाडौं पुष -०७
    यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    यस पटक एसइई परीक्षाको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन् ।

    २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको हो ।

    राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैतको पहिलो साता सञ्चालन गर्दै आएको छ ।

    निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ ।

    Posted in Uncategorized

    निर्वाचन सुशासनको आधार हो : अतहर कमाल

  • ८ माघ २०८२, बुधबार २०:३१ मा प्रकाशित
  • कपिलवस्तु, पुष ७
    कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका नेता अतहर कमाल मुसलमानले निर्वाचन सुशासनको आधार भएको र लोकतन्त्रको वास्तविक शक्ति जनतामा निहित रहेको बताएका छन् ।
    नेता मुसलमानले आफू ठूलो नभई देश र जनता नै ठूलो भएको उल्लेख गर्दै आज उठिरहेका जनआवाजहरूलाई गम्भीर रूपमा आत्मसात् गरी आत्मसमीक्षा गर्दै अघि बढ्ने समय आएको बताए । उनले सत्य, इमानदारी र निष्ठालाई आफ्नो राजनीतिक यात्राको मूल आधार बनाएको उल्लेख गरे ।
    यसअघि संविधान सभा सदस्य रहँदा आफूले यस क्षेत्रका लागि उल्लेखनीय काम गरेको र त्यसपछि लिडो संस्था मार्फत पनि क्षेत्रका जनताको हरेक सुख–दुःखमा उभिएर निरन्तर सेवा गर्दै आएको उनले बताए । आफ्ना राजनीतिक मूल्य–मान्यता, नैतिक अडान तथा पार्टीका साथीहरू र आम मतदाताबाट प्राप्त माया, भरोसा र विश्वासकै बलमा यसपटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेको उनको भनाइ छ ।
    नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारका रूपमा रुख चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुँदै मुसलमानले पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई एकताबद्ध भई चुनावी अभियानमा जुट्न आग्रह समेत गरेको छन् ।

    Posted in Uncategorized

    निर्वाचन देशको भविष्य निर्धारण गर्ने अवसर हो’ – अतहर कमाल मुसलमान

  • ८ माघ २०८२, बुधबार ११:३६ मा प्रकाशित
  • कपिलवस्तु ,पुष ०७

    कपिलवस्तु जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा चित्रण गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन् ।
    मतदातालाई सम्बोधन गर्दै उनले देश अहिले ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्दै लोकतन्त्रलाई अझ सबल, जनउत्तरदायी र परिणाममुखी बनाउने जिम्मेवारी आम नागरिकको काँधमा आएको बताए । उनले प्रतिनिधि सभा निर्वाचन केवल सत्ता प्रतिस्पर्धा मात्र नभई देशको दिशा र जनताको भविष्य निर्धारण गर्ने निर्णायक अवसर भएको धारणा व्यक्त गरे ।
    नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य, समावेशिता, सामाजिक न्याय र जनताको सर्वोच्चतालाई केन्द्रमा राख्दै समयअनुसार आफूलाई परिमार्जन गर्दै आएको दाबी गर्दै उनले परिवर्तनलाई नेतृत्व गर्ने र चुनौतीलाई अवसरमा बदल्ने पार्टी नेपाली कांग्रेस रहेको बताए ।
    कपिलवस्तु क्षेत्र नम्बर १ लाई अपार सम्भावनाको भूमि भएको उल्लेख गर्दै उनले यहाँका उर्वर कृषि भूमि, परिश्रमी किसान, सिर्जनशील युवा, सांस्कृतिक विविधता र सामाजिक सद्भाव नै विकासको आधार भएको बताए । ती सम्भावनालाई व्यवहारिक विकासमा रूपान्तरण गर्न इमानदार नेतृत्व र दृढ इच्छाशक्ति आवश्यक रहेको उनको भनाइ छ ।
    उनले शिक्षा र स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच सुनिश्चित गर्ने, युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्ने, कृषि आधुनिकीकरण गर्ने, पूर्वाधार विकासलाई तीव्रता दिने तथा सुशासनमार्फत जनताको विश्वास मजबुत बनाउने प्रतिबद्धता जनाए ।
    नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका मुसलमानले आफू पदको आकांक्षाभन्दा पनि स्थानीय जनताको समस्या, पीडा र चाहनालाई संसदसम्म पुर्‍याउने साझा अभियानका रूपमा निर्वाचनलाई लिएको बताए ।
    उनले मतदाताको विश्वास, साथ र समर्थनले मात्र कपिलवस्तु क्षेत्र नम्बर १ लाई विकास, समृद्धि र सम्मानको नयाँ उचाइमा पुर्‍याउन सकिने भन्दै लोकतन्त्र, विकास र समृद्धिको पक्षमा एकजुट हुन सबैसँग आग्रह गरेका छन् ।

    Posted in Uncategorized

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P