कपिलवस्तु, पुस २७

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयस्तरमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यालयस्तरबाटै ट्राफिक नियमसम्बन्धी सचेतना प्रदान गरी दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख तथा प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमअन्तर्गत मायादेवी गाउँपालिका–१, पकडीस्थित श्री छत्रपाली तीर्थादेवी माध्यमिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको आस्थायी ट्राफिक प्रहरी कार्यालय पकडीका नायब निरीक्षक विष्णु न्यौपानेले बताउनुभयो ।
विद्यालयस्तरबाटै विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक सुरक्षा र सचेत व्यवहारका विषयमा जानकारी दिँदै सवारी दुर्घटना न्यूनीकरण गराउने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।
विद्यालयका विद्यार्थीहरूले दैनिक रूपमा सडक पार गरेर आवागमन गर्नुपर्ने भएकाले यस्तो सचेतना कार्यक्रमले उनीहरूलाई दुर्घटनाबाट जोगिन सहयोग पुग्ने ट्राफिक प्रहरीले अपेक्षा गरेको छ ।
कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई सवारी दुर्घटनाबाट बच्ने उपाय, सडक पार गर्दा अपनाउनुपर्ने सावधानी तथा ट्राफिक संकेतका विषयमा प्रशिक्षण दिइएको थियो ।
सो अवसरमा विद्यार्थीहरूले ट्राफिक नियमसम्बन्धी विभिन्न जिज्ञासा र प्रश्नहरू समेत राखेका थिए ।
त्यस्तै, प्रशिक्षण कार्यक्रममा सवारी साधन चलाउँदा आवश्यक कागजात साथमा राख्नुपर्ने, ट्राफिक नियमको पालना गर्नुपर्ने तथा सवारी चलाउँदा ध्यान दिनुपर्ने विषयमा चेतनामूलक जानकारी दिइएको थियो ।
साथै, विद्यालयमा सिकेका कुराहरू परिवार तथा समुदायमा समेत जानकारी गराउन विद्यार्थीहरूलाई अनुरोध गरिएको छ ।
ट्राफिक प्रहरीले कारबाहीमा मात्र सीमित नभई समुदायस्तरमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

