• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: विचार

देशको माया र पसिनाको मूल्य

  • १२ आश्विन २०८२, आईतवार १७:३१ मा प्रकाशित
  • ✍️— तुल्सी राम आचार्य
    वैदेशिक रोजगारीको सिलसिलामा मध्यपूर्वमा आएको पनि दशकौं भइसकेछ। बिहान–बेलुकीको धपेडी उस्तै हुन्छ, रुटिन उस्तै हुन्छ, घामको ताप र पसिनाको गन्ध उस्तै छ… यिनै सबैसँग यहाँ जीवन कटिरहेको छ। आफ्ना परिवार, समाज र देशको लागि मरिमेटी पसिना बगाइरहेका छौं; हरेक महिनाको अन्त्यमा केही रकम ‘रेमिट्यान्स’को रूपमा स्वदेश पठाइरहेका छौं।
    काम सकेर थकाइले चुर हुँदै बासस्थान फर्किने बेला, गर्मीले चुत्रुक्क भिजेको शरीर लिएर बस कुर्दै गर्दा मेसेञ्जरमा छोरीको तोते बोलीमा आउने “बाबा…” भन्ने सम्बोधनले सबै थोक बिर्साइदिन्छ। त्यो मुस्कान, त्यो शब्द—थकान, पीडा र विछोडको भार बगाएर लैजान सक्ने रहेछ।

    तर म यहाँ कुनै सम्पन्न देश वा सम्पन्न व्यक्तिको सहानुभूति खोजेर बसेको छैन। मलाई त केवल यति थोरै आश्वासन चाहिएको छ—मेरो गाउँ, मेरो सहर, मेरो समाज शान्त होस्; मेरो जीवन र पसिनाको सुरक्षा सुनिश्चित होस्।
    म जान्दछु, आन्दोलनले मेरो चुलो बल्दैन। यदि बल्ने भए—२०४७ सालदेखिको तर्स्याउने क्रियाकलाप, तोडफोड र भरपर्दो नभएका आश्वासनहरूले मेरो जीवनमा केही वास्तविक परिवर्तन ल्याइदिएको हुन्थ्यो। मैले ती आन्दोलनहरू देखेँ—संगठित हुन पाएनँ, तर नतिजाको प्रतीक्षामा रहिरहेँ।
    २०४७ मा भयो—राजनीतिक आन्दोलन। केही व्यवस्था फेरिएझैं देखियो।
    २०६३ मा भयो—लामो र तिखो जनयुद्ध। हजारौंले ज्यान गुमाए, अर्बौंको आर्थिक क्षति भयो। नियम-कानुन र संविधानमा केही संशोधनहरू भए होलान्, तर गरिबको भाग्य फेरिएन।
    जसले तोडफोड गरे, तिनलाई प्राय: राजनीति नामकै छाताले बचाइदियो। ‘क्रान्तिको नाममा’ भनेर कानुनी कारबाहीबाट उन्मुक्ति दिइयो। समय बित्यो, अनि हामी फेरि बिर्सियौं।

    आज फेरि आन्दोलन हुँदैछ। फेरि तोडफोड हुँदैछ। फेरि सार्वजनिक सम्पत्तिमा आगो लाग्दैछ। र फेरि हामीलाई भनिँदैछ—“यो त देशको भविष्यका लागि हो।” अनि गृहमन्त्री बोल्छन्: तोडफोड गरिनेलाई कारबाही गरिनु हुँदैन।

    यो स्वीकार्य छैन। कानून र सुरक्षाको प्रश्नमा दुईतर्फी मापदण्ड हुँदैन। सार्वजनिक शान्ति, व्यक्तिगत सुरक्षा र आर्थिक आधारभूत संरचनाको रक्षा गर्दै न्याय कायम गर्नु सबै नागरिकको पहिलो कर्तव्य हो—राजनीतिक स्वार्थ होइन। आन्दोलनले बोल्न पाउनुपर्छ; तर त्यो बोलाइले जीवन र सम्पत्तिमा क्षति पुर्‍याउनु हुँदैन, र दोषीहरूले राजनीतिमा सक्रिय भएकै कारण वा आधारमा छुट पाउनु हुँदैन।

    हामीले अब प्रश्न उठाउनुपर्ने बेला आयो—के हामी वास्तवमा परिवर्तन चाहन्छौं, कि केवल ‘अर्को पटक’ को लागि बहाना? के हाम्रो लक्ष्य तोडफोड र अस्थिरता हो, कि न्याय, विकास र सुरक्षा हो? छुट वा संरक्षण पाउनेहरूको सूची लामो रहिरहेसम्म, असल परिवर्तनका लागि भरोसा कसरी फर्किन्छ?

    देशको माया झन्डा फहराउनेभन्दा ठूलो हो—देशलाई जिम्मेवार नेतृत्व, उत्तरदायी शासन र सुसम्बन्धित न्यायिक प्रक्रिया चाहियो। मेरो पसिना र अनेकौं परिवारको बलिदानले त्यस्तो भविष्य चाहिन्छ जहाँ अरूले ‘क्रान्ति’को नाममा अमान्यतालाई धर्म नदिएर जवाफदेही बनून्।
    हामी चुप बस्ने समय सकियो — आवाज उठाउनै पर्दछ; तर आवाजले विनाश ल्याउनु हुँदैन, न्याय र इमानदारी माग्नुपर्छ। त्यसो भए मात्रै मेरो र तपाईंको पसिना असल तरिकाले मुल्यवान हुनेछ।

    Posted in मुख्य खबर, विचार, समाज

    “म पनि विदेशमै छु”

  • ३० भाद्र २०८२, सोमबार २१:०९ मा प्रकाशित
  • ✍️तुल्सी राम आचार्य

    म पनि विदेशमै छु, तर नेपालमा विधि–विधान र प्रजातान्त्रिक पद्धतिको वकालत गर्छु। मेरो देश जहिले पनि खुशहाल, प्रगतिशील र उज्यालो भविष्यतर्फ अगाडि बढोस् भन्ने मेरो कामना छ।

    तर म जस्तै विदेशमा रहेका कतिपय “कथित देशभक्त”हरूले सामाजिक सञ्जालमा देश, समाज र सरकार विरुद्ध बिष वमन गर्दा त्यसबाट उत्पन्न परिस्थितिले आज देशले हजारौं रोजगारी गुमाएको छ। अरबौंको क्षति भएको छ। सरकारी सम्पत्ति जलेर खरानी भएको छ।र करिब सयौँको सङ्ख्यामा नेपाली आमाका काख रित्तिएका छन्।

    हो, देशमा विकास जति हुनुपर्ने थियो त्यति भएको छैन, भ्रष्टाचार पनि रोकिएको छैन। तर हामीले रोइलो गरेजति देश बिग्रेको पनि थिएन।

    गाउॅ, सहर् पालीका, नगरपालिका–उपमहानगरलाई जोड्ने सडकहरू धमाधम हाम्रो अर्थतन्त्रले भ्याए अनुसार फराकिला बन्दै थिए। तराई–हिमाल–पहाडलाई जोड्ने सडक आफ्नै गतिमा अघि बढ्दै थियो। नागढुङ्गा सुरुङ मार्ग अन्तिम चरणमा थियो। काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माण भइरहेकै थियो। बुटवल–नारायणघाट सडक चार लेनमा विस्तार हुँदै थियो।

    व्यापार–व्यवसाय फस्टाउँदै थियो, निजी लगानीकर्ताहरू उत्साहित थिए। भाटभटेनीले देशभर शाखा विस्तार गरिरहेको थियो। चन्द्र ढकाल केबलकार विस्तारमा सक्रिय थिए। विदेशी मल्टिनेसनल कम्पनीहरू नेपालमा लगानी गर्न थालेका थिए। यी सबै क्रियाकलापले रोजगारी सिर्जना गरिरहेका थिए। गाउँपालिकासम्म प्रहरी चौकी र अस्पताल विस्तार भइरहेका थिए।

    हाम्रो जस्तो भूपरिवेष्ठित देश युरोप–अमेरिकासँग तुलना गर्न नसकिए पनि आफ्नै गतिमा अघि बढ्दै थियो। हामीले मौजुदा सरकारलाई नागरिकको तर्फबाट सहयोग गर्दै, डेलिभरी चित्त नबुझे प्रजातान्त्रिक पद्धतिबाट चुनावमार्फत परिवर्तन गर्ने हो भने हाम्रो लोकतन्त्र अझ बलियो बन्दै जाने थियो र हामीले चाहेका ब्क्ती सरकारमा पुग्ने थिए!

    तर कसको आँखा लाग्यो—पलभरमै सबैकुरा खरानी बन्यो। भाटभटेनीको पसलभित्रको कपडा मात्र जलेन, त्यहाँ काम गर्ने गरिब–मध्यमवर्गीय परिवारको रोजीरोटी पनि जल्यो। अब उनीहरूले पनि झोला बोकी विदेशतिर पलायन हुने अवस्था आयो।

    अब सुरुवात हामीबाटै गर्नुपर्छ। हाम्रो पुर्खाले हामीलाई क्रान्ति र लडाइँ त सिकाए, तर सिर्जनशील रूपमा समाजका लागि केही गर्न सिकाएनन्। त्यसैले आज हामीले लेख्ने, बोल्ने, सोच्ने पद्धति नै सकारात्मक बनाउनुपर्छ। जसले समाजमा सकारात्मक ऊर्जा भरिन्छ, त्यसले नै भविष्यको पुनर्निर्माण सम्भव बनाउँछ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, विचार, समाज

    “नेतृत्वको अर्थ र नागरिकको जिम्मेवारी”

  • ३० भाद्र २०८२, सोमबार ०३:१३ मा प्रकाशित
  • प्रर्तीकात्मक तस्बीर


    ✍️तुल्सी राम आचार्य


    मिडियामा बहस चर्किएको छ—गत सोमबार र मङ्गलबारको विध्वंसमा कसैले विदेशीको हात देख्छ, कसैले दलको, कसैले राजसंस्थाको।

    कोही लिपापोतीमा छन्, कोही श्रेय लिन दौडिरहेका छन्। तर जनता अझै अलमलमा छन्।

    प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेकी सुशीला कार्कीको उपस्थितिले एक कुरा स्पष्ट पार्छ—देशले केही समयका लागि भए पनि स्वच्छ छविको नेतृत्व खोजिरहेको थियो, र त्यो अपेक्षा पूरा भएको छ।

    तर नेतृत्वमा पुगेकाले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कामलाई प्राथमिकता दिएन भने भोलि पनि यस्ता आयातित आन्दोलन दोहोरिन सक्छन्। देश आर्थिक दलदलमा फस्न सक्छ। त्यसैले नयाँ सरकारले यो सन्देश बुझ्न जरुरी छ।

    सवारीचालक अनुमति पत्र बनाउन हजारौँ रुपैयाँ घुस नदिई सम्भव छैन। कर तिर्न जाँदा पनि घुसको माग। कार्यालयमा “चिया–पानी”को व्यवस्था नभएर एक दिनको काम पाँच दिन, पाँच दिनको काम महिना दिन, कहिलेकाहीँ वर्षौं लाग्छ।

    यसका लागि आन्दोलनको जगमा उभिएको सरकारले गाउँ–गाउँ, टोल–टोलमा सुशासन कायम गर्नुपर्छ। नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने निकायमा हुने घुस्या प्रवृत्तिमाथि तुरुन्त कारबाही जरुरी छ, ताकि जनताले राजनीतिक परिवर्तनको वास्तविक अनुभूति गर्न सकून्।

    आधारभूत सेवामा बाधा हुँदा जनताको आक्रोश बढ्नु स्वाभाविक हो। तर जनता पनि अनुशासित नभई देश बदलिँदैन। जति सरकार फेरिए पनि परिणाम उस्तै रहन्छ। “घुस लिन्या र दिन्या दुवै समाजका शत्रु” हुन् भन्ने सचेतना सबैमा हुनुपर्छ।

    सरकारी सम्पत्ति जोगाउने जिम्मा पनि हामी सबैको हो। नेताहरूलाई प्रक्रिया अनुसार फेर्न सकिन्छ, तर सार्वजनिक सम्पत्ति पनि नष्ट गर्न थालियो भने गन्तव्य टाढा धकेलिन्छ—१० वर्षको लक्ष्य पचास वर्ष लाग्न सक्छ।

    आजको युगमा सामाजिक सञ्जालमार्फत विभिन्न शक्तिहरू आफ्नै स्वार्थ सोझ्याउन लागिपरेका छन्। बजारको हल्ला, पत्रिकाको समाचारको सत्यता जाँच नगरी चरित्र हत्या गर्ने प्रवृत्ति रोक्नैपर्छ। आज ब्यक्ति बिषेसलाई खुइल्याउन प्रयोग भएको यही विष भोलि हाम्रो समाजमै फर्किन सक्छ।

    यस्ता प्रवृत्तिले सरकार मात्र होइन, हामी नागरिकलाई पनि कटघरेमा उभ्याउँछ।

    हामीले दोष सधैं सरकारलाई मात्र थोपर्दै आएका छौं। तर यो संकटमा नागरिकको पनि उत्तिकै जिम्मेवारी छ। सरकारमा हुँदा सुधार नगर्ने, बाहिरिएपछि नकारात्मकता फैलाउने राजनीतिक शक्तिहरू—दुवैले आजको अविश्वासको भित्तो बाक्लो बनाएका छन्। त्यसकै परिणाम जनतामा निराशा बढ्दै देश फेरि २० वर्ष पुरानै अवस्थामा फर्किनु परेको छ।

    कहिल्यै सम्मानको पर्याय रहेको “नेता” भन्ने शब्द आज कतिपयको मुखमा तिक्त लाग्छ। सामाजिक सञ्जालको अन्धाधुन्ध प्रयोगले यसलाई झन् घातक बनाएको छ। सकारात्मक विमर्शको ठाउँमा दोषारोप र वितृष्णाले स्थान लिएको छ।

    सरकारले ढिला–चाँडो सामाजिक सञ्जाल नियमनको आवश्यकता वैज्ञानिक रूपमा पहिचान गरी अगाडि बढाउनुपर्छ। तर नियमन मात्रै समाधान होइन; यसले व्यक्तिगत स्वतन्त्रतामा चोट पुर्याउन सक्छ। त्यसैले यस्तो कदम नागरिक र सरकार दुवैको सहमतिमा अघि बढ्नुपर्छ। नागरिक चेतना र स्वनियन्त्रण बिना कुनै पनि कानुन अपुरो हुन्छ।

    सन्देश स्पष्ट छ—देशको भविष्य बदल्ने शक्ति केवल सिंहदरबारमा छैन। नागरिकको अनुशासन, इमानदारी र सक्रिय सहभागिताले मात्र विध्वंसको घाउ निको पार्न सक्छ। नेतृत्वको मूल्य जोगाउने र समाजको आत्मसम्मान उठाउने जिम्मा हामी सबैको हो।

    Posted in मुख्य खबर, राजनीति, विचार

    प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र संविधान संशोधनको कठोर परीक्षा

  • २८ भाद्र २०८२, शनिबार ०२:४१ मा प्रकाशित
  • ✍️ तुल्सी राम आचार्य

    नेपालको राजनीतिमा फेरि नयाँ बहस सुरु भएको छ—के देशले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको बाटो रोज्ने हो? जेन–जीको आन्दोलनले यो विषयलाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ। तर अहिलेको संविधानलाई टेकेर यस्तो संरचनात्मक परिवर्तन सम्भव छ त भन्ने प्रश्नले गम्भीर छलफल माग्छ।

    संविधान २०७२ ले संशोधनको लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा उपस्थित सदस्यहरूको दुई–तिहाइ बहुमत अनिवार्य गरेको छ। साथै गणतन्त्र, लोकतन्त्र, सार्वभौमिकता र स्वतन्त्रता जस्ता मूल आधार सुरक्षित रहनुपर्ने संवैधानिक शर्त स्पष्ट छ। यसैले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीजस्तो प्रणाली ल्याउनु केवल कानुनी औपचारिकता मात्र होइन, संविधानकै ढाँचामा गहिरो हस्तक्षेप गर्ने विषय हो।

    प्रतिनिधि सभामा नयाँ शक्तिले ठूलो सफलता हात पार्न सक्ने सम्भावना राजनीतिमा देखिएको छ। जनताको आक्रोश पुराना दलतर्फ मोडिएको छ भने बालेनजस्ता युवा नेताप्रतिको आकर्षण बढ्दो छ। तर संविधान संशोधनको बाटो लोकप्रियताले मात्र खुल्दैन।

    राष्ट्रिय सभा स्थायी संरचना हो। यसलाई भंग गर्न सकिँदैन, प्रत्येक दुई वर्षमा एक–तिहाइ मात्र नयाँ हुन्छ। यस कारण यसमा पुराना दलहरूको पकड लामो समयसम्म रहने निश्चित छ। प्रतिनिधि सभामा दुई–तिहाइ जिते पनि राष्ट्रिय सभाको अनुमोदन विना संविधान संशोधन असम्भव हुन्छ।

    यस्तो अवस्थामा नयाँ शक्ति वा अन्तरिम सरकारले पुराना दललाई पूर्णतया बाइपास गरेर अघि बढ्ने कल्पना राजनीतिक यथार्थसँग मेल खाँदैन। संविधान संशोधन सहमति र संवादकै आधारमा मात्र सम्भव हुन्छ।

    नेपालले गणतन्त्र, लोकतन्त्र र सार्वभौमिकताको यात्रा धेरै संघर्षपछि हासिल गरेको हो। त्यसैले कुनै पनि संरचनात्मक परिवर्तनलाई जल्दबाजीमा होइन, व्यापक बहस र सहमतिको आधारमा अघि बढाउनुपर्छ। लोकप्रियता क्षणिक हुन्छ, तर संविधान दीर्घकालीन।

    हामीले बुझ्नैपर्छ—देशलाई नयाँ गन्तव्यमा पुर्‍याउने बाटो सहमति र संवाद नै हो। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा अन्य कुनै विकल्प ल्याउने हो भने त्यसलाई जनताको अपेक्षा, राजनीतिक दलहरूको सहभागिता र संवैधानिक मर्यादासँगै अघि बढाउनुपर्छ।

    Posted in मुख्य खबर, राजनीति, विचार

    होली पर्वको ऐतिहासिक महत्व

  • १२ चैत्र २०८०, सोमबार १०:१७ मा प्रकाशित
  • ✍️ तेजप्रसाद खनाल
    लमही दाङ

    नेपालमा धेरै पहिले देखि नै विभिन्न चाडपर्वहरु मनाउँदै आइएको छ। दशैँ, तिहार, तीज, छठ, माघी, ल्होसार, होली , क्रिशमस, उधौँली, उभौँली, लगायतका दर्जनौँ चाडपर्व विभिन्न समयमा विभिन्न जातजाति र समुदायले मनाउने गर्दछन्। दशैँ, तिहार, तीज भने नेपालका महान् पर्व हुन। होली पर्वलाई पनि एक रमाइलो पर्वको रुपमा लिने गरिन्छ।

    होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ। त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ।यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ ।

    होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

    होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, विचार, समाजLeave a Comment on होली पर्वको ऐतिहासिक महत्व

    ५ बुँदे निर्णय सहित अभिभावक संघ नेपालको बैठक सम्पन्न

  • ३२ श्रावण २०८०, बिहीबार ०७:२५ मा प्रकाशित
  • अभिभावक संघ नेपालको केन्द्रीय स्टेन्डिङ्ग कमिटीको बैठक साउन ३१ गते ललितपुरको मान भवनमा सम्पन्न भएको छ । संघका अध्यक्ष केशव पुरीको सभापतित्व, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको प्रमुख आतिथ्य र कोशी प्रदेशका संयोजक देवी पन्थीको विशेष आतिथ्यमा बैठक सम्पन्न भएको हो ।

    बैठकले निम्नलिखित बुँदामा व्यापक छलफल गरी निर्णयमा पुगेको थियोे ।

    १. नेपाल सरकारले शिक्षा ऐन परिमार्जन गर्दै शिक्षा विधेयक २०८० सरोकारवालासँग छलफल नगरी ल्याउने प्रयास गरेकोमा अभिभावक संघ नेपालको विरोध रहेको छ। बैठकले निजी विद्यालय गुठीमा जाने या कम्पनी ऐन अन्तर्गत रहने सम्बन्धित विद्यालयको ऐच्छिक विषय भएकाले गुठीमा जान बाध्य गराउनु नेपालको संविधान २०७२ विपरीत रहेको ठहर गरेको छ। शिक्षा उपभोगमा सरोकार राख्ने सरोकारवाला संघसंस्थाको भूमिका निश्चित नगरी विधेयक ल्याएमा शिक्षा मन्त्रीको राजीनामा माग गर्ने निर्णय गरिएको छ। यसका लागि संघको एक प्रतिनिधि मण्डल सचेत गराउन अविलम्ब शिक्षा मन्त्रालय पुग्ने निर्णय गरिएको छ।

    २. बैठकले सामुदायिक विद्यालयले कक्षा बाह्रसम्मको शिक्षा अनिवार्य निशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा अंग्रेजी माध्यममा पढाउने बाहानामा चन्दा, सहयोग आदि शीर्षकमा लिइरहेको शुल्कलाई अवैध ठहर गरेको छ।

    ३. बैठकले संघको जिल्ला , प्रदेश र केन्द्रीय सम्मेलन ६ महिनाभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ।

    ४. बैठकले अभिभावक संघ नेपालको मुखपत्र
    “अभिभावक आवाज ” प्रकाशित गर्ने निधो गरेको छ।

    ५. बैठकले अभिभावक संघ नेपालको सदस्यता शुद्धीकरण अभियान चलाउने निर्णय गरेको छ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, विचार, समाजLeave a Comment on ५ बुँदे निर्णय सहित अभिभावक संघ नेपालको बैठक सम्पन्न

    विस्तृत शान्ति सम्झौता : के थियो, के भएन ?

  • २४ फाल्गुन २०७९, बुधबार ०९:५४ मा प्रकाशित
  • काठमाडौं । सर्वोच्च अदालतले माओवादी जनयुद्धका सुप्रिमो कमान्डर रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएपछि १० वर्षिय सशस्त्रद्धन्द्ध अन्त्यकालागि गरिएको प्रमुख कडी वृहत शान्ति सम्झौताका विषयमा चर्चा चुलिएको छ ।

    दर्ताको आदेशपछि पक्ष–विपक्षमा मतहरू विभाजित देखिन्छन् । अझ् मंगलबार प्रचण्डविरुद्ध रिट नै दर्ता भएपछि त विस्तृत शान्ति सम्झौता र त्यसमा समेटिएका विषयमा सतहमै बहस छेडिएको देखिन्छ ।

    जब सर्वोच्च अदालतले माओवादी सशस्त्र द्धन्द्धका सुप्रिमोविरुद्ध रिट दर्ता गर्न पाउने आदेश दियो त्यसपछि जनयुद्धपछि टुक्राटुक्रामा विभाजित माओवादीहरू एकै ठाउँमा उभिएका छन् ।

    ८ टुक्रामा छरपष्ट रहेका माओवादी अदालतको यसै आदेशपछि एकै ठाउँमा उभिएर रिटको विरोध मात्रै होइन चेतावनी नै दिएका छन् ।

    प्रचण्डविरुद्ध द्धन्द्धकालिन समयलाई जोडेर रिट दर्ता हुनु विस्तृत शान्ति सम्झौता विपरित हो भन्दै माओवादी नेताहरु सम्झौता विपरित गतिविधि बढाएर अशान्ति ल्याउन खोजीरहेको बताइरहेका छन् ।

    के छ विस्तृत शान्ति सम्झौतामा ?

    सशस्त्र युद्धको औपचारिक अन्त्यको घोषणा

    माओवादी सेना, हतियारको र नेपाली सेनाको हतियारको संयुक्त राष्ट्रसंघद्वारा प्रमाणीकरण र अनुगमन
    माओवादीद्वारा कब्जा गरिएका सम्पूर्ण सम्पति फिर्ता

    मानव अधिकर र अन्तराष्ट्रिय मानवअधिकर सम्बन्धी कानूनहरूको पूर्ण पालना

    राजाको सम्पूर्ण राजनीतिक अधिकारको अन्त्य

    उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन

    माओवादी सेनाका लडाकुहरूको रेखदेख समायोजन र पुनर्स्थापना

    युद्धबाट पीडित र विस्थापित व्यक्तिहरूको ससम्मान पुनर्स्थापना

    हातहतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थ साथमा लिई आवतजावत गर्नु गैरकानुनी लगायत विषय समेटिएका छन् ।

    २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    योसँगै दशक लामो द्वन्द्वबाट मुलुकले मुक्ति पाएको थियो । तर, संक्रमणकालीन न्यायलाई टुंगोमा पु-याउने सहमति कार्यान्वयनमा आउन नसक्दा आजको स्थिति बन्न पुगेको विश्लेषण हुन थालेको छ ।

    यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन भए पनि द्वन्द्वपीडितले न्यायको महसुस गर्न सकेका छैनन् । झण्डै डेढ दशक बढि समयसम्म पनि संक्रमणकालीन न्याय निमटारा लाग्न नसकेपछि अन्तर्राष्ट्रिय समुदायले समेत चासो व्यक्त गर्दै आएका छन् ।

    सभार: न्युज २४टिभीबाट

    Posted in मुख्य खबर, राजनीति, विचारLeave a Comment on विस्तृत शान्ति सम्झौता : के थियो, के भएन ?

    फेसबुके खेती, समयको क्षति 

  • १८ असार २०७९, शनिबार १४:३९ मा प्रकाशित
  • घर आएको भोलिपल्टै उ शहर फर्की। यत्रो समयपछि गाउँ आएकी छोरी। दुईचार दिन गाउँमै बसोस्, दही–दूध खाओस्, अलिकति भने पनि मोटाओस् भन्ने सोझा बाउआमाको चाहना। आमाबाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुङ्गामुढा माथि भन्ने उखान यत्तिकै बनेको होइनरहेछ। छोरी आधुनिक हुनु पनि बाबुआमालाई साह्रै पिरलो पो हुँदोरहेछ नि !

    गाउँमा वाईफाई छैन। त्यसैले हाईफाई पनि छैन। अरु त परै जाओस् टेलिफोनको टावर पनि राम्रो छैन। द्वन्द्वकालमा माओवादीले भत्काएको टावर अहिलेसम्म पनि बनेको छैन। त्यही गाउँको टावर भत्काउने नेता तीन–तीन पटक संचार मन्त्री भइसके।त्यही गाउँको तिनैले भत्काएका टावर अहिलेसम्म उस्तै। उनीहरू कस्ता धनाढ्य भैसके गाउँ द्वन्द्वकालकै बुढो लौरो टेकिरहेछ। अहिलेको समय संचार र सोसल मिडियाको हो रे ! सबका सब भुलेका छन्। मस्त छन्। चुस्त छन्। सब चार इन्चीको पर्दामा रमाएका छन् मानौं मोबाइल र फेसबुक भनेको मान्छेलाई ज्यूँदो छु भन्ने प्रमाणदेखि रमाइलो गर्ने एउटा वैधानिक वेश्यालय जस्तो !यसैमा केटाकेटीको अन्तरङ्ग गफ। चुम्बन चाटाचाट–साटासाटदेखि देह देखाउने लीलागिरी थलो पनि। सेल्फीको चुच्चे नाक होस् या बुद्धि बङ्गारो खुस्केको हाब्रे मुख, सिंगानदेखि अल्छीको वैराग्य विरहसम्म यही फेसबुकमै देखाइन्छ। भागेर बिहे गर्ने कुरादेखि साँधेर अचार खाने कुरासम्मको घटना र विचारको पौडी पोखरी हो फेसबुक।घाटमा जलाएको लासदेखि खाएको गाँससम्म यसमै उत्तानिन्छ। उसो त काम नभएका बेरोजगारीहरुलाई समय कटाउने, गफ पड्काउने, विचार छड्काउने मेसो पनि हो फेसबुक। जतिबेला पनि केटालाई केटी र केटीलाई केटो उपलब्ध हुने आधुनिक रत्नपार्क भनेको अहिलेको फेसबुक हो। गाडीमा झन्डा हल्लाउनेदेखि पिंढीमा कोक्रो हल्लाउनेसम्मका उत्तरआधुनिक कथा यसमै पोख्छन् मनुवा।बुढो भएका बाउ भैंसीको भकारो सोर्ने, सत्तरी नाघेकी आमा डोको नाम्लोले तालु कुच्याउने जिन्दगी घिच्याउने ! यता तरुण छोराछोरी जतिबेला पनि घोप्टिंदै मोबाइलको मेसेन्जरमा समय सिध्याउने। एउटा विचित्रको घोप्टे रफ्तार हो फेसबुके लीला।

    बल्लतल्ल घरमा आएकी छोरी। दु:खसुखका कुरा गर्ली, पढाइका कुरा गर्ली, मलाई यो चाहियो, मलाई उ थोक चाहियो भनेर भन्ली भनेको त मोबाइलमै झुन्डिएको देख्दा विचरा आमाबाबु आफैं लज्जित पो भए। मोबाइल नकिन्दिंदासम्म त राम्रोसँग बोल्थी। आमाबाबुका दु:ख बुझ्थी। जब आइफोन मोबाइल किन्देको छोरी त छोरी जस्ती छैन।

    दुई दिन बसेर उ निस्की। उसलाई शहर नै प्यारो रे ! बाबुआमा थोत्रा भए उसका लागि। उ आधुनिक शहरिया। गाउँ त ओढार भयो उसको लागि। बाले माया गरी बोलाउने प्यारो नाम छ्यङ्री हो उसको। यो उसको नाम छ्याङ्री जुर्नुमा पनि रोचक कुरो छ। तामाङ बस्तीमा जन्मेकी उ। बच्चामै एउटी गुरुङ्सेनी फुपूले बेस्सरी छ्याङ ख्वाएर नचाइछन्। त्यसबेलादेखि उसको नाम छ्याङ्री।

    गाउँ आएकै पिच्छे एक महीनालाई पुग्ने सामल लैजान्छे उ। स्कुलमा राखेको नाम चैं सरिता हो उसको। सरिताको अर्थ सरल, शान्त। नाम अनुसार काम कस्तो छ तपाईं यो कथा पूरै पढेपछि थाहा पाउनुहुन्छ। म विस्तारै भन्दै जान्छु। हतार नगर्नु न। हतार गरेको कुनै काम पनि राम्रो हुन्न क्या। तपाईं हतार गरेर दौडेर पनि के गर्नुहुन्छ आखिर गन्तव्यमा पुग्न हिंडेको बसले तपाईंलाई मात्रै कहाँ कुरेर बस्छ र ?

    उ बस चढ्छे। धादिङबेसीदेखि बालाजु चोकसम्मको भाडा ४०० थियो। खलासीसँग बेला–बेलामा झगडा गर्छे। ५०० को नोट दिएकी थी उसले। खलासीसँग खुद्रा थिएन। एकछिनमा पैसा फिर्ता गर्छु है भन्यो उसले। हरेक आधा आधा घन्टामा उ पैसा फिर्ता माग्छे। खलासीले “कस्तो किचकिचे केटी हो तिमी! तिम्रो पैसा कसले खान्छ ?” भनेर कडापन देखाउँथ्यो। उ चुपचाप घोप्टो परेर मेसेन्जरमा च्याट गर्न थाल्थी।

    मोबाइलमा च्याटिङ गर्दा गर्दै बाटो काटेको पत्तै भएन उसलाई।

    आफ्ना केटाहरुसँग च्याटिङ गर्दा उ दायाँबायाँ वरपर अगाडि पछाडि केही हेर्दिनथी। उ खुब रमाइलो कुरा गर्छे। भर्खरैकी कोरली कोर्के बैंसले लोर्के जवानीको पानी भरिएकी खाइलाग्दी। धेरै बोकाहरुको बथानमा एउटी जवान बाख्री कसरी चोखी रहन्छे ? उसको पनि हालत त्यही हो। अहिलेका फेसबुके बोकाहरुको काम छैन।

    कोही राम्री तरुनीको प्रोफाइल पिक्चर देखेपछि सक्किगो, भित्रको गडबडी कसलाई के थाहा ? कति बेते हुन् वा कति केटा फेरिसकिन्? नयाँ साथीहरूसँग जोडिनु, अलिकति खाइलाग्दा केटाहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु। नचिनेका केटाहरुको फेसबुक प्रोफाइल खोलेर हेर्नु। अलिक मनले खाएको जस्तो केटा देखियो भने स्टाटसमा गएर लब्ली लाइक ठोक्नु, मीठो कमेन्ट गर्नु उसको रमाइलोको विषय हुन्थ्यो।

    आफ्ना नजिकैको फेसबुके साथीहरूलाई आफ्ना फोटोहरु देखाउनु, रोमाञ्च गफ गर्नु, अनलाइन कुराकानी गर्नु, भ्वाइस मेसेज पठाउनु आदि कुरामा उ रमाउँछे। उ अर्थात् सरिता अर्थात् छ्याङ्री।

    आजको त्यो यात्रामा आफूसँगै काम गरेको एकजना अफिसको साथी “सोम” भन्नेसँग गफ भैरह्यो र अहिले पनि भैरहेको छ। उनीहरूको मेसेन्जर च्याटमा नुहाएको, खाएको, गाएको, लाएको, पाएको, धाएको, छाएको कुरादेखि जवानीका कुरा समेत साटासाट हुन्थे।

    “ओइ छ्याङ्री कहाँ आइपुगिस् ?”

    “नौबिसे पुग्न लागें।”

    “खोइ देखा त सेल्फी।”

    “देखाउन्न।”

    “तलाइँ मैले त्यो देखा भन्या हो र?”

    “तैं देखा न।”

    “किन जान्ने हुने।”

    “मेरो जिन्दगी तेरो हातमा साँचो?”

    “यस्तै हो धेरै केटा साथी हुने केटी भाउ खोज्छन् एउटासँग कुरा नमिले अर्को जगेडा।”

    “तिमी बोकाहरु पनि कम्ता छौ र?”

    “ओइ ! गाउँ गएपछि त पूरै चेन्ज भैछस् धेरै घ्यू खाइस् कि क्या हो?”

    “ओइ जेपीटी बोल्छस्?”

    “रातभर केटाहरुसँग च्याट गरेर थाकिस् होला।”

    “तँ जस्तो हो र म?”

    “म जस्तो भएको भए तेरो पूजा गर्थें?”

    “गर्न त पूजा। सर्दाम ठिक पार म तेरो रुममा सीधै आउँछु।”

    “पक्का आउछेस् छ्याङ्री ? नत्र म रेडी भएर बस्छु।”

    “के गर्न?”

    “पूजा गर्न।”

    “भात पकाइ राख। म चिकेन र वाइन लिएर आउँछु। आज दिनभर जम्ने।”

    “गिद्दी होइन नि फेरि खुरुक्क आइज।”

    “हस् आउँछु नि राजा।”

    “छोरी !” आफ्नै सिटको पछाडिबाट कोही बुढो मान्छे सुँक्क सुँक्क गरेर रुँदै कराए जस्तो लाग्यो। को रोयो भनेर यसो पछाडि फर्किंदा त आफ्नै बुवा। छ्याङ्री एकैचोटि चिसो भई। बाटोमा एक्कासि गाडीमा ब्रेक लागे जस्तो भो। एक्कासि अत्तालिएर बोली–

    “बा !”

    मैले तिमीलाई महँगो शहरमा पढ्न पठाएको फेसबुके प्रेम र मनोरञ्जन गर्न पो रहेछ। हामीले कोदो खायौं तिमीलाई चामल पठायौं। हामीले गुन्द्रुक खाई तिमलाई दाल पठायौं।

    हामी बेखर्ची भएर पनि तिमीलाई खर्च पठायौं। हामी लुम्रेझुम्रे बस्यौं तिमीलाई सुकिलो बनायौं। तिमी पढेर ठूलो हौली, लोकसेवा पास गरौली, अधिकृतमा नाम निकालौली भनेको त फेसबुकमा पो नाम निकालिछौ छोरी! धादिङबेसीदेखि तिमी नौबिसे खोलासम्म आउँदा अनेक फोहोरी केटाहरुसँग मनपरी च्याट गरेको देखें। धिक्कार छोरी ! म तिम्रो बाबु भएकोमा।

    तिम्रो कारणले यो उमेरमा म यति दुखी हुनुपर्ला भन्ने सोचेको पनि थिइनँ, यो सोसल मिडियाले सप्रिने भन्दा बिग्रने धेरै भए। अफसोच छ ! सोसल मिडियाको पिरो ज्वालाले तिमी पनि जल्यौ र हामीलाई पनि जलायौ। हामी गरिब भएर पनि, कहिल्यै गरिब छौं भनेर तिमीलाई अनुभूति हुन दिएनौं छोरी !

    जामले गर्दा गाडी उकालोमा रोकियो। बुढा गाडीबाट सीधै ओर्लिए। जाम खुल्यो। गाडी अगाडि बढ्यो। बुढा पछाडि हटे। यही हो जिन्दगी कोही पछाडि हट्ने पनि असल हुन्छन् र कोही अगाडि बढ्ने पनि खराब हुँदारहेछन्।लक्ष्मण सिटौला

    Posted in विचारLeave a Comment on फेसबुके खेती, समयको क्षति 

    महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस्ः राष्ट्रपति

  • १७ फाल्गुन २०७८, मंगलवार ०९:२१ मा प्रकाशित
  • काठमाडौं, फागुन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै महाशिवरात्रि पर्वले सबै नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेकी छन् ।“नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ, शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो”, जारी सन्देशमा उल्लेख छ ।

    आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात्शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको सन्देशमा उल्लेख छ ।

    वैदिक परम्परामा शिवलाई मूलतः संहारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित रहेको भन्दै प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गरेको र सौम्यशक्तिले मानव चेतनामा असल पक्षको बोध गराई त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवम् सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा रहेको राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा भनिएको छ ।

    Posted in विचार, समाजLeave a Comment on महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको उज्यालो छर्न सकोस्ः राष्ट्रपति

    एउटा विवाहको फरक दृश्य जसले देखाउँछ परम्पराको बदलिँदो तस्बिर

  • १२ फाल्गुन २०७८, बिहीबार १०:४१ मा प्रकाशित
  • विवाहको मण्डपमा दुईजना पण्डित मन्त्र पढिरहेका थिए। पण्डित भन्ने बित्तिकै धेरैको कल्पनामा सामान्यतया पुरुष पात्र देखिन सक्छन्, तर यहाँ दुवै पण्डित महिला थिए। उनीहरूको निर्देशन अनुरूप बेहुला र बेहुलीले विधि पूरा गर्दै थिए। 

    नेपाली समाजमा परम्परागत ढङ्गमा हुने विवाहभन्दा फरक देखिएको यस विवाहलाई क्यामेरामा कैद गरिरहेकी थिइन् अर्की महिला नै। 

    विवाह थियो काठमाण्डूकी सुवेक्षा पौडेलको।

    चलनचल्तीको विवाह समारोहभन्दा फरक लाग्ने यस समारोहबारे तब चर्चा भयो जब ‘टेल्स अफ मोडर्न बुहारी’ नामक इन्स्टाग्राम ह्यान्डलमार्फत् एउटा प्रश्न सार्वजनिक भयो: ‘तपाईँले आफ्नो विवाहमा कुन एउटा विधि त्याग्नुभयो?’

    एउटा होइन यस प्रश्नको जवाफको लामै सूची थियो सुवेक्षासँग। 

    उनले प्रश्नकर्तालाई किटेर लेखिन्- “मैले कन्यादान र खुट्टा धुने विधि त्यागेँ। श्रीमान्‌ले श्रीमतीलाई मात्र सिन्दूर लगाइदिने परम्पराविरुद्ध आफूले पनि श्रीमान्‌लाई सिन्दूरको टिका लगाइदिएँ। श्रीमान्‌को खुट्टा ढोग्नुको साटो सहमतिमै एक अर्कालाई नमस्ते गर्‍यौँ।”

    • विवाह गर्ने उमेर घटाउने माग किन?
    • बेहुलाबेहुलीलाई नोटको माला लगाइदिने होडबाजी

    ती चलनहरू लैङ्गिक हिसाबले विभेदकारी लागेका कारण आफूले नअपनाएको ३० वर्षीया उनी बताउँछिन्।

    उनको प्रतिक्रिया सामाजिक सञ्जालमा छाउन समय लागेन। केहीले उनको कदमलाई पितृसत्ता विरुद्धको बलियो सन्देश भएको बताए। केहीले आलोचना पनि गरे, तर औसतमा अधिकांश सन्देश सकारात्मक देखिए।

    “जबदेखि मैले विवाह संस्थाबारे अध्ययन गर्न थालेँ तबदेखि मलाई विभेदपूर्ण लागेका विधि, परम्परा नमान्ने सोच बनाएकी हुँ,” उनले बीबीसीसँग भनिन्।

    लैङ्गिक रूपमा आफूलाई असमान लागेका र पितृसत्ता प्रोत्साहित गर्ने जस्ता चलन आफूले त्यागेको उनी बताउँछिन्। 

    त्यसका लागि उनी नेपाली समाजमा स्थापित केही परम्पराविरुद्ध उभिइन् जसले उनको विवाहको दृश्यलाई चलनचल्तीको विवाह समारोहभन्दा भिन्न बनायो।

    दुई महिला पण्डित दायाँबाट क्रमश: रुसा र सुनिता

    ‘महिलामैत्री र समावेशी विवाह‘

    सुवेक्षाको विवाह मण्डपमा किशोरावस्थामा रहेका दुई महिला पण्डितले मन्त्रोच्चारणसहित बेहुलाबेहुलीलाई विधि सिकाइरहेका थिए। समाजमा हुँदै आएका विवाहहरूमा महिला पण्डित विरलै देखिन्छन्।

    “देवघाटको एक अनाथालयमा विभिन्न समुदायका महिलालाई उनीहरूको जात र अन्य पृष्ठभूमिको पर्वाह नगरी संस्कृत सिकाइँदो रहेछ। त्यहीँबाट दुई जनालाई पण्डित बनिदिन आग्रह गरेका हौँ,” सुवेक्षाले जानकारी दिइन्।

    उनको विवाहको दृश्य सृष्टि मगरले खिचेकी हुन्। 

    “महिला फोटोग्राफर खोज्दै केही व्यावसायिक स्टुडियोहरूमा फोन गरेँ। उनीहरूमध्ये कतिले मलाई- विवाहजस्तो उत्सवमा महिलालाई फोटो खिच्न लगाएर जोखिम नमोल्नु भन्ने सल्लाह दिए। मलाई त्यो कुरा निकै पक्षपाती महसुस भयो। त्यसपछि महिला नै खोज्ने मेरो इच्छा थप बलियो भयो,” उनले सुनाइन्।

    “अन्ततः मेरो भेट सृष्टिजीसँग भयो र उहाँले सम्झन लायक क्षणहरूलाई सुन्दर ढङ्गमा कैद गरिदिनुभयो।”

    आफ्नो विवाहमा आएको प्रतिक्रियाले ऊर्जा प्रदान गरेको उनी बताउँछिन्।

    • ‘कुट्दिनँ भनेर कसम खायो, अनि ऊसँगै भागेँ’
    • ‘१४ वर्षमै विवाहका लागि ‘हुन्छ’ भन्न परिवारले कर गर्‍यो’

    किन आवश्यक लाग्यो परिवर्तन?

    सुवेक्षा र उनका श्रीमान् प्रज्जवलले कानुनी प्रक्रिया अनुरूप विवाह गरिसकेका थिए। दुवैजना परम्परागत रूपमा विवाह नगर्न सहमत थिए। केही वर्षअघि मात्र सुवेक्षाले दिदी गुमाइन्। 

    त्यो वियोगपछि उनका आमाबुवाले पनि सामाजिक संस्कारभन्दा बढी जोड छोरीको इच्छा र खुसीलाई नै दिए।

    “ठूलो वियोग भोगेको परिवारलाई सामाजिक दबाव गौण लाग्दो रहेछ।”

    तर, सिन्दूर पोते गर्नुपर्ने आफन्तको तर्क र दबावपूर्ण वातावरणले उनको निर्णय उल्टाइदियो।

    “गर्नै पर्ने भए आफ्नो तरिकाले गर्छु नत्र गर्दिनँ भन्ने कुरा प्रस्टसँग राखेँ। त्यसपछि हामीलाई विभेदपूर्ण लागेका विधि त्याग्ने, महिलामैत्री र समावेशी बनाउने योजना बनेको हो,” उनले भनिन्।

    समाजशास्त्र अध्ययन गरेकी उनलाई विवाहमा हुने कन्यादानको ‘दान’ शब्दले छोरीलाई गाई वा वस्तु सरह चित्रित गरेको भान हुने गरेको उनले बताइन्। 

    उनलाई विवाहित हुनुको सङ्केत सिन्दूर वा पोते महिलाले मात्र लगाउनुपर्ने नियम, खुट्टा धुनुपर्ने चलन आदिप्रति पनि आपत्ति रहेछ।

    त्यसपछि हो उनले ती चलनविपरीत प्रस्तुत हुने र आफ्नो पक्षबाट सक्ने जति लैङ्गिक समानता र समावेशिता कायम राख्ने योजना बनाएको। 

    महिला पण्डित र फोटोग्राफरको खोजी गरेको। जसबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भयो। तर सुवेक्षा स्वयंलाई आफूले चालेको कदम निकै सानो लाग्दो रहेछ।

    ब्राह्मण परिवारकी उनलाई लाग्छ जन्मजात पाइने केही विशेषाधिकारले नेपाल र दक्षिण एशियामा निकै असर पुर्‍याएको छ। र, ती असर न्यूनीकरण गर्न असमानता झल्कने केही स्थापित परम्परागत विधि भत्काउने महिलाहरूबाट आफूलाई प्रेरणा मिलेको बताउँछिन्। 

    “म केही महिलाबाट प्रभावित छु। सिक्नुपर्ने धेरै कुरा छन् र म सिकाइको प्रक्रियामा छु।”

    समानता र समावेशितालाई आफूले ‘आजीवन प्रतिबद्धता’ बनाएको उनले जिकिर गरिन्। र आफूले महिला र पुरुषबीचको समानता मात्र नभई हरेक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, जातीय समुदाय, अपाङ्गता भएका मानिस र आर्थिक- सामाजिक रूपमा पछाडि परेकाहरू र समानता पाउनका लागि अझै पनि विविध अड्चन भोग्न बाध्यहरूको मुद्दालाई आफ्नो जिम्मेवारी ठानी वहन गरेको बताइन्।

    “यो रहर वा इच्छा लागेर गर्ने काम होइन। यो त हामीले निर्वाह गर्नै पर्ने जिम्मेवारी हो।”

    विद्यालयमार्फत् व्यावहारिक प्रयास

    सुवेक्षाको परिवारले उनकी दिदी संवृद्धि को सम्झनामा स्थापित “पुकु दिदी फाउन्डेसन”मार्फत्‌ शिक्षामा सीमान्तकृत समुदायको समान पहुँचका लागि काम गर्दै आएको छ। 

    सर्लाही जिल्लास्थित पुर्ख्यौली गाउँ शिक्षाको क्षेत्रमा निकै पछाडि छुटेको भान भएकाले उनको परिवारले सर्लाहीका बालिकाहरूको शिक्षामा जोड दिएका छन्। 

    विशेषगरी मुस्लिम र दलित बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन्। “यो हाम्रो दायित्व हो।”

    घरमा महिनावारी नबार्न कलिलो छँदै लिएको अडानदेखि विवाहमा ‘आफ्नो इच्छाअनुसार गर्छु’ भन्न सक्ने निर्णयसम्म आइपुग्दा स-साना प्रयासहरूले भूमिका खेलेको उनको विश्वास छ।

    उनले आममानिसको प्रतिक्रियालाई नजिकबाट नियालेकी छन्। तीमध्ये केहीलाई निकै गहन र छलफलका आवश्यक महसुस गरेकी छन्।

    “कसैले भन्नुभएको छ- जे गरे पनि यो विवाह भन्ने संस्था नै समस्याग्रस्त छ। विवाहपछि महिला पुरुषकै घर जानुपर्ने नियमदेखि अन्य बाध्यात्मक अवस्थाहरू। मेरो विवाह पनि प्रगतिशील त देखियो, तर विवाहलगत्तै अरू समस्याग्रस्त सामाजिक नियम छन् जसविरुद्ध अझै बलियो भएर डट्नुपर्छ।”

    आफूलाई आफ्नो चाहनाअनुसार विवाह गर्न कसैले रोकतोक नगरेको तर अन्य कतिपयलाई त्यस्तो गर्न असम्भव रहेको उनको बुझाइ छ।

    “यो गलत हो र हामीले समाजको रूपमा यस्ता विभेदलाई कम गर्न प्रयास गर्नुपर्छ।”

    सामान्यीकरणको खोजी

    सुवेक्षाले आफ्नो विवाहमा केही नियम नमान्दा अधिकांश मानिसले त्यसलाई स्वागत गरेको देखिन्। तर अन्तर्जातीय वा समलिङ्गीहरूले विवाह गर्दा मानिसले प्रायः नकारात्मक र केही घटनामा हिंसात्मक प्रतिक्रिया जनाएको देखेकी छन्।

    यस विषयमा सहमति जनाउँछिन् समलिङ्गी स्वस्तिका परियार।

    “एक महिला र एक पुरुषको विवाहमा देखिएका परिवर्तनलाई असामान्य भन्दै स्वीकार्न सक्ने समाज अन्तर्जातीय वा समलैङ्गिक विवाहलाई किन स्वीकार्न सक्दैन?,” उनी प्रश्न गर्छिन्।

    “आखिर परिवर्तन त संस्कारसँग मात्र होइन सामाजिक, लैङ्गिक विभेदविरुद्ध पनि आवश्यक छ नि?”

    हाल टिकटक वा फेसबुकमा थुप्रै समलैङ्गिक जोडी विवाह गरेको वा सँगै बसेको जानकारीसहित बाहिर देखिएका छन्। यसलाई परिवर्तनको एउटा खुड्किलो मान्न सकिए पनि कानुनले वर्जित गरेको विषय भएकाले समस्या यथावत् रहने उनी बताउँछिन्।

    “विवाह दर्ता हुँदैन। कोठा खोज्न हिँड्दा विवाहित जोडीले समेत दिदीबहिनीको सम्बन्ध पुष्टि गर्नुपर्छ। कानुन नभएपछि हिंसा भएको खण्डमा सहनु र चुप लाग्नुको विकल्प हुँदैन,” उनले समस्याहरूबारे बोलिन्।

    • यी महिलाले किन आफ्नै ‘आमा’ सँग बिहे गरिन्
    • चार दिदीबहिनी, चार दुलही र एउटा ठूलो विवाह

    राज्यले महिला र पुरुषबीचको मात्र नभई व्यक्ति र व्यक्तिबीचको विवाहलाई मान्यता दिनुपर्ने उनको तर्क छ।

    लैङ्गिकता तथा यौनिकता पहिचान मानिसको जैविकता र मानसिकतासँग जोडिएको पाटो हो। त्यसैले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको विवाहलाई कानुनले बाटो खोलिदिए यस विषयमा सामाजिक धारणा पनि बदलिँदै जाने उनी बताउँछिन्।

    २०५८ सालमा एउटै गाउँका पुरुषसँग अन्तर्जातीय विवाह गरिन् गोर्खाकी विन्दु परियारले। उनको विवाहपछि गाउँको मेलापातदेखि पूजा, भोजसमेत विभाजित भएको उनी सम्झन्छिन्। सामाजिक प्रभावका कारण आफ्नी छोरीलाई मनोवैज्ञानिक परामर्श दिनु परेको उनले सुनाइन्।

    “विवाह भएको ६ वर्षपछि छोरी जन्मिइन्। छोरी जन्मिएपछि घरमा बोलाइयो, तर भान्सामा पस्न दिइएन, बाहिर बसेर खानुपर्थ्यो। श्रीमान्‌को बुवा मसँग मात्र होइन उहाँसँग समेत बोल्नुभएन,” उनले भनिन्।

    हेपाहा प्रवृत्तिको मारमा उनीहरूकी सानी छोरी पनि परिन्। आफ्नी आमा दलित भएकै कारण विभेद भोग्नुपरेको थाहा पाएपछि छोरी आफूबाट टाढिएको उनी सुनाउँछिन्।

    “उसलाई निकै सम्झाउनुपर्‍यो। दुई वर्ष लामो परामर्शपछि उनी आमाबुवाको अन्तर्जातीय विवाहका कारण भोग्नुपरेको विभेदको असरबाट उम्कन सकिन्।”

    आजभोलि अन्तर्जातीय विवाह सङ्ख्यात्मक हिसाबमा बढे पनि दलित समुदायका हरूले कथित गैरदलितहरूसँग विवाह गर्नुलाई सामान्य मान्ने नगरिएको उनको धारणा छ। 

    आफ्नो विचार पुष्टि गर्न अजित मिजार, नवराज विक लगायतको उदाहरण दिइन्।

    “अन्तर्जातीय विवाहलाई विचारदेखि व्यवहारसम्म स्वीकार्य हुने स्थिति बनाउनुपर्‍यो। हामीभन्दा अघिको पुस्ताले सिकाएको विभेदमा हाम्रो पुस्ताले अडान लिनु भएन,” उनी समाधानको उपायबारे बोलिन्।

    सुवेक्षा, स्वस्तिका र विन्दुहरूको आवाजमाथिको जोडदार ऐक्यबद्धता भएको बताउँछिन्।

    विवाहको बद्लिँदो तस्बिर

    अनुसन्धानकर्ता एवं मानव अधिकारकर्मी जीनिता विश्वकर्मा नेपालको कानुनले अन्तर्जातीय विवाहलाई वैधता दिए पनि समाजले सामान्य नमानेका कारण कैयौँ जोडी आफूलाई सुरक्षित महसुस नगर्ने बताउँछिन्। 

    “विवाह प्रत्यक्ष रूपमा वंश र धर्मसँग जोडिएको कारणले विवाहमा “जातिगत शुद्धता”लाई विषेश महत्त्व दिएको पाइन्छ,” उनले भनिन्।

    • सामूहिक विवाहको खर्च बेहोरिदिने निर्णयबारे गाउँपालिका अध्यक्ष यसो भन्छन्
    • ‘तराई क्षेत्रमा हुने अधिकांश घरेलु हिंसा दाइजोकै कारण’

    समाजशास्त्री डा. मीना पौडेल भने विवाहको बद्लिँदो चित्र अर्थ र आत्मनिर्भरतासँग सम्बन्धित भएको बताउँछिन्।

    “पहिले विवाह धर्मसँग जोडिएको थियो। कन्यादान गर्नु, रजस्वला हुनु वा सानैमा छोरीलाई विवाह गरेर पठाउनु पुण्य कमाउनु हो भन्ने मान्यता थियो। तर यो बाहिरी विश्वास हो,” डा. मिनाले प्रस्ट्याइन्।

    “मूल रूपमा भने यो महिलाको आर्थिक पराधीनतासँग जोडिएको थियो जहाँ छोरीलाई हुर्किसकेपछि उसलाई पालिदिने वर खोजिदिने विषय थियो।”

    पहिले महिला शिक्षा र रोजगारीबाट टाढा रहने भएकाले त्यसो भए पनि अहिलेका विवाह आधुनिकता, अधिकार, आत्मनिर्भरता र अर्थसँग जेलिएको उनको तर्क छ।

    “समग्रमा विवाह असमान सामाजिक सम्झौता हो जसमा पुरुष स्वतन्त्र रहन्छन् भने जिम्मेवारी र नियमहरूको भारी महिलासँग हुन्छ। जसले उनीहरूलाई तल पार्छ,” उनले भनिन्।

    सुवेक्षा त्यस्तै असमानतालाई सङ्केतदेखि व्यवहारको पक्षबाट सन्तुलित बनाउने प्रयासमा रहेको बताउँछिन्। त्यही अठोटका कारण उनको विवाह समारोह परम्परागत विवाहहरूभन्दा फरक देखियो।

    “मैले साथै अन्य दिदीबहिनीले समानताका लागि आफ्नो विवाहमा उठाएको कदमहरू केवल सानो सुरुवात हो। हामी सबैले थप गर्न अत्यन्त जरुरी छ र आफ्नो क्षमताभन्दा अझै बढी कोसिस गर्नु नै हाम्रो दायित्व हो,” सुवेक्षाले भनिन्।

    Posted in विचार, समाजLeave a Comment on एउटा विवाहको फरक दृश्य जसले देखाउँछ परम्पराको बदलिँदो तस्बिर

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P