• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: विचार

एमसीसीमा प्रधानमन्त्री देउवाका तीन विकल्प

  • २० माघ २०७८, बिहीबार १३:२९ मा प्रकाशित
  • एमसीसीका कारण गठबन्धनमै गडबड भएपछि प्रधानमन्त्री देउवासमक्ष अहिले तीनवटा विकल्प छन् । पहिलो, संसदमा मतदानका लागि लैजाने । दोस्रो, प्रधानमन्त्रीबाटै राजीनामा दिएर जेठमा प्रतिनिधिसभा र स्थानीय चुनाव सँगसँगै गराउने र तेस्रो अमेरिकालाई भनेर एमसीसी थाती राख्ने ।

    १९ माघ, काठमाडौं । बुधबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर बाहिरिनेबित्तिकै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने पार्टीसम्वद्ध विद्यार्थीहरुको कार्यक्रममा पुगेर भने, ‘सत्ता गठबन्धन टुट्दैन ।’

    बुधबार नै आयोजित पार्टी प्रवेश कार्यक्रममा पनि अध्यक्ष नेपालले उही अभिव्यक्ति दोहोर्‍याएर भने, ‘सत्ता गठबन्धन टुट्दैन ।’

    नेपालमात्रै होइन, पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु यही वाक्य बारम्बार भन्ने गर्छन् । तर गठबन्धन टुट्दैन भन्ने अभिव्यक्तिको पछाडि टुटिहाल्छ कि भन्ने भय भने जबरजस्त लुकेको छ । र, भयको सिर्जना गरेको हो अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई लिएर प्रधानमन्त्री देउवामाथिको दबाव ।प्रधानमन्त्री देउवा हर हालतमा संसदमा एमसीसी टेबल गर्न चाहन्छन् । उनले बुधबार पनि सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई विहान र साँझ दुई पटक भेटेर पास फेल जे भएपनि एमसीसी संसदमा लैजानुपर्नेमा जोड लिएका छन् । तर दुबै नेता त्यसमा सहमत छैनन् ।प्रधानमन्त्रीले कुनै हालतले पास गर्छु भन्ने कमिटमेन्ट देखिँदैन, तर अमेरिकालाई मैले त संसदमा लगेँ, पास भएन त के गरुँ भन्न पाए हुन्थ्यो भन्ने छ’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, हामी संसदमा टेबल गर्न सहमति दिँदैनौं ।’संसदमा टेबल हुनसाथ सांसदहरु ‘थ्रेट’मा पर्ने भएकाले स्थितिमा एमसीसी अगाडि नबढ्ने दुबै दलको अडान छ । प्रमुख विपक्षी नेकपा एमालेले पनि सत्तारुढ गठबन्धन कायम रहँदासम्म एमसीसी अनुमोदनमा साथ नदिने प्रष्ट बताएको छ ।

    त्यसैले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा पछिल्लो समय अहिलेकै परिस्थितिमा एमसीसी अनुमोदन गर्ने वा गठबन्धन जोगाउने अर्थात ‘गर या मर’ को अवस्थामा पुगेका निकटवर्तीहरु बताउँछन् ।

    एमसीसीसम्बन्धी परियोजना जसरी भए पनि संसदबाट अनुमोदन गराउन अमेरिकाले दिएको दबाव र गठबन्धनमा देखिएको टकरावका कारण प्रधानमन्त्री देउवाका अघिल्तिर अब तीन वटामात्रै विकल्प देखिन्छन् । कम क्षतिपूर्ण विकल्प कुन हुनसक्छ भनेर उनले परामर्श समेत शुरु गरेको निकटस्थहरु बताउँछन् ।

    पहिलो विकल्प : संसदमा मतदानमा लैजाने, एमालेको साथ लिने

    पहिले एमसीसी विकास परियोजना भन्दै अनुमोदनका लागि जोड दिएको नेकपा एमाले प्रमुख प्रतिपक्षी भएपछि मौनता साँधिरहेको छ । उसको मौनतालाई आउँदो चुनावसँग पनि जोडेर हेर्ने गरिन्छ । यदि एमालेको समर्थन बिनै संसदबाट एमसीसी अगाडि बढाउँदा चुनावमा उसले एमसीसी विरोधी जनमतलाई ‘क्यास’ गर्न सक्ने भय कांग्रेस र स्वयं देउवामा पनि छ ।

    त्यसैले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा संसदमा दर्ता भएको एमसीसी अनुमोदनसम्बन्धी प्रस्तावलाई संसदको पूर्ण बैठकमा मतदानका लागि पेश गर्ने र सबैको सहमतिमा त्यसलाई पारित गराउने देउवाको पहिलो चाहना हो ।

    कांग्रेस केन्द्रीय सदस्य एनपी साउद प्रधानमन्त्रीको पहिलो विकल्प नै प्रतिपक्षीलाई समेत साथमा लिएर राष्ट्रिय सहमति कायम गर्दै एमसीसी अनुमोदन गराउनु रहेको र उनको छलफल त्यतै केन्द्रित रहेको बताउँछन् । उनले अघि भने, ‘दोस्रो विकल्प सत्ताधारी दलहरुलाई साथमा लिएर सहमति जुटाउनु हो । त्यो पनि भएन भने यो विषयवस्तुलाई सदनमा लगेर पास फेल जे हुन्छ, छिनोफानो गर्नुपर्छ ।’

    देउवाले यसलाई सुरक्षित विकल्प मानेपनि यति सजिलै एमसीसी अनुमोदन हुने सम्भावना न्यून छ । किनभने एमसीसी अनुमोदनका लागि चाहिने बहुमत सत्ता पक्षसँगै रहेकाले गठबन्धन कायम हुँदासम्म आफूहरुले एमसीसीको पक्षमा मतदान गर्न नसक्ने स्पष्टै सन्देश ओलीले देउवालाई दिइसकेका छन् । त्यसो हुँदा देउवाले सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई मनाउनुपर्छ ।

    तर उनीहरु एमसीसी सम्झौताका केही प्रावधान संशोधन नभएसम्म संसदमा टेबल गर्नै नदिने पक्षमा छन् । बरु गठबन्धन टुटोस्, तर यथास्थितिमा एमसीसी संसदमा पेश गर्न हुँदैन भन्ने अडान माओवादी र एकीकृत समाजवादीको मात्र होइन, स्वयं सभामुख अग्निप्रसाद सापकोटाको छ ।

    यस्तोमा प्रधानमन्त्री देउवाले पनि गठबन्धनको माया मारेर एमसीसी पास गराउने गरी अघि बढ्न सक्छन् । त्यसो हुँदा उनलाई प्रमुख प्रतिपक्षी एमालेले साथ दिनसक्छ । त्यो बेला सभामुख बाधक बने के गर्ने भन्ने प्रश्न आउँछ ।

    संसदका अरु साना दललाई पनि विश्वासमा लिएर दुई तिहाई बहुमत पुर्‍याउने र सभामुख परिवर्तन गर्ने परिस्थितिसम्म सिर्जना हुनसक्ने बालुवाटारको आकलन हो । त्यसका लागि देउवाले जनता समाजवादी पार्टी (जसपा) को मन जित्नुपर्ने हुन्छ । तर अहिलेकै परिस्थितिमा जसपा एमसीसीका लागि सभामुख हटाउने हदसम्म नजान सक्छ ।

    त्यसैले देउवाले यो विकल्पमा छलफल र परामर्श त गरेका छन् तर सजिलो छैन भन्ने उनलाई राम्रोसँग थाहा छ ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि देउवाले गठबन्धन नै तोड्ने र सभामुख परिवर्तन नै गर्नेसम्मको विकल्पमा जाने सम्भावना आफूले अहिलेसम्म नदेखेको बताउँछन् । ‘एमसीसीमा केही भएको छैन, गठबन्धनका बीचमा कुरा मिलेको छैन । के हुन्छ अब प्रधानमन्त्रीले हामीसित छलफल पनि गर्नुभएको छैन,’ पौडेलले भने, ‘प्रधानमन्त्रीले सल्लाह गर्नुहुन्छ होला नि !’

    दोस्रो विकल्प : प्रधानमन्त्रीबाट राजीनामा दिने, चुनावको घोषणा गर्ने

    यसैपनि यो गठबन्धन प्रधानमन्त्री देउवाको रोजाईको होइन । शक्ति राष्ट्र अमेरिका र भारतको पनि चाहनाको होइन । नेपाली कांग्रेस पार्टीभित्रै पनि गठबन्धन जोगाउने ध्याउन्नमा लाग्नुभन्दा बरु चाँडै प्रतिनिधिसभा र स्थानीय तहको चुनावमा जानु नै उपयुक्त हुन्छ भन्ने मत बलियो छ ।

    त्यसैले एमसीसीलाई लिएर गठबन्धनभित्र मतभेद चर्किदै गयो भने देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिने र आउँदो जेठमा स्थानीय तह र प्रतिनिधिसभाको चुनाव सँगसँगै गर्ने विकल्प पनि छ । यो विकल्पमा अघि बढ्न पनि प्रधानमन्त्री देउवालाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले साथ दिनुपर्छ ।

    यदि यो रोडम्यापमा अघि बढे भने बाहिरबाट सघाउने बचन एमाले अध्यक्ष ओलीले देउवालाई दिएका छन् । किनभने एमाले ५ पुस २०७७ र ७ जेठ २०७८ मा गरी दुईदुई प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई सही सावित गर्न चाहन्छ ।

    देउवा पनि गठबन्धनले आफ्नो चाहनाअनुसार काम गर्न दिएन भने सरकारलाई अरु लम्ब्याएर थप अलोकप्रिय बन्ने पक्षमा छैनन् । यसबारेमा उनले कानुनविद्हरुसँग पनि परामर्श पनि गरेको देउवा निकट स्रोतको दाबी छ । देउवाले राजीनामा दिने र संसदको ठूलो दल एमालेले सरकारको नेतृत्वका लागि दाबी नगर्ने परिस्थिति बन्दा देउवाले चाहेझैं जेठमै प्रतिनिधिसभा चुनाव हुनसक्छ ।

    गठबन्धनकै नेताहरु पनि देउवा यो हदसम्म जानसक्छन् भन्नेमा तयार देखिन्छन् । ‘देउवाजीले मैले भनेको भएन अब गठबन्धनलाई नै देखाइदिन्छु भनेर प्रधानमन्त्रीबाटै राजीनामा दिन पनि सक्नुहुन्छ,’ गठबन्धनका एक शीर्ष नेताले भने, ‘हामी त्यसका लागि पनि तयार भएर बसेका छौं, तर यही अवस्थामा संसदमा एमसीसी अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्न दिन्नौं ।’

    तेस्रो विकल्प : अमेरिकालाई मनाउने, एमसीसी पर धकेल्ने

    गठबन्धन टुट्ने भयले जति माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुको मन पोलेको छ, त्यति नै भयभित प्रधानमन्त्री देउवा पनि छन् । गठबन्धन टुट्दा चुनावमा संकटमा पर्ने जति डर कम्युनिष्टहरुलाई छ, देउवालाई पनि कम्युनिस्टहरु मिल्छन् र फेरि ०७४ साल दोहोरिन्छ भन्ने पिर छ ।

    ०७४ मा स्थानीय तहको चुनावमा कांग्रेससँग तालमेल गरेको माओवादीले एकाएक प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एमालेसँग मिल्दा आफ्नो पार्टीले अकल्पनीय पराजय व्यहोर्नुपरेको देउवाको ठम्याई छ । त्यसमाथि ०७४ मा एमाले र माओवादी केन्द्र मिलाउन भूमिका खेलेको भनिएको चीनले आउँदो चुनावमा पनि वाम तालमेल गर्न एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धेरैपटक सुझाव दिइसकेको छ ।

    देउवाको डर पनि यहीँनिरै हो । त्यसैले उनले एमसीसीलाई संसदबाट अनुमोदन गराउने विषय आउँदो चुनावसम्म थाती राख्ने र चुनाव जितेर आएपछि मात्रै अघि बढाउने अमेरिकासँग लबिइङ गर्न सक्छन् । देउवालाई गठबन्धनका नेताहरुले दिएको सुझाव पनि यही छ ।

    यसो हुँदा गठबन्धन टुट्ला र एक्लै परिएला भन्ने डरबाट प्रचण्ड र माधव नेपालहरु मुक्त हुनेछन् भने फेरि कम्युनिस्टहरु नै मिल्ने भय देउवालाई रहने छैन ।

    कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पनि यो तर्कसँग सहमत छिन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवामा सरल सहज र कुनै पनि कुरालाई निर्णयमा पुर्‍याउन सक्ने क्षमता छ,’ उपाध्यायले अनलाइनखबरसँग भनिन्, ‘मलाई लाग्छ, उहाँले गठबन्धन र प्रमुख प्रतिपक्षी दललाई एमसीसीको विषयमा मनाएरै ठोस निर्णय लिनुहुनेछ । अरु नेताहरुले पनि यसको गहनताको बारेमा बुझ्नुहुनेछ ।’

    Posted in राजनीति, विचारLeave a Comment on एमसीसीमा प्रधानमन्त्री देउवाका तीन विकल्प

    स्वास्थ्य मापदण्ड पालना गर्दै सोनाम ल्होछार मनाऔं : प्रधानमन्त्री

  • १९ माघ २०७८, बुधबार ०८:२२ मा प्रकाशित
  • १९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गर्दै सोनाम ल्होछार पर्व मनाउन आह्वान गरेका छन् ।

    प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।‘सोनाम ल्होछार’ अर्थात् तामाङ समुदायले मनाउने मौलिक नयाँ वर्षको अवसरमा तामाङ समुदायलाई शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट जोगिने उपाय अपनाउँदै पर्व मनाउन आह्वान गरेका हुन् ।  शुभकामना सन्देशमा उनले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् ।

    सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन् ।

    उनले कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षाेल्लासपूर्वक मनाउन आग्रह गरेका हुन् ।

    ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राजनीतिक दलका नेताहरुले पनि शुभकामना सन्देश दिएका छन् ।

    Posted in विचारLeave a Comment on स्वास्थ्य मापदण्ड पालना गर्दै सोनाम ल्होछार मनाऔं : प्रधानमन्त्री

    ‘भिजिट भिसामा दुबईमा अलपत्र परेपछि स्वदेश फर्किन भारतीय नागरिकको झोला बोक्न बाध्य भयौँ’

  • २० पुष २०७८, मंगलवार १६:२८ मा प्रकाशित
  • धादिङ – भिजिट भिसामा यूएई पुर्‍याएर एजेण्ट भागेपछि भोक भोकै परेका बेला साने परियारलाई एजेण्टले नै चिनाएका एक भारतीय नागरिकले भने ‘तिमीहरुलाई म टिकट काट्दिन्छु, तर मेरो सामान लानुपर्छ ।’

    भारतीय नागरिकको त्यो बोली बाध्यतामा फसेका साने र उहाँका साथीलाई आफूलाई बचाउन भगवान स्वयं आए झैँ लाग्यो । किनकि उनीहरूलाई यूएईमा राम्रो काम र कमाइको प्रलोभन देखाएर लैजाने एजेण्ट सम्पर्क विहीन भइसकेका थिए ।

    त्यो बेला उनीहरूको साथमा न बस्ने बास थियो न खाने गाँस । कमाउन गएको मानिस भोक भोकै परदेशी भूमिमा मर्नुभन्दा भारतीय नागरिकको सामान बोकेर भए पनि स्वदेश फर्कने निधो गरे साने र उहाँका साथीले ।

    ‘त्यो बेलामा अर्काको देशमा कुकुरको मराई हुनुभन्दा, आफ्नो देशमा जान जस्तो सुकै जोखिम पनि मोल्न तयार भयौँ’ साने भन्नुहुन्छ ‘हामीसँग कुनै विकल्प नै थिएन, लग्ने एजेण्ट सम्पर्क विहीन भइहाल्यो, अन्त कहाँ सम्पर्क गर्ने थाहा नै भएन ।’

    भिजिट भिसाले झण्डै ज्यान लियो
    तीन वर्ष साउदीमा रोजगारी गरेर फर्कनुभएका सानेले सानोतिनो घर बनाउनुभयो । साउदीको धेरथोर कमाइमा थपथाप गर्न ऋण नै काढ्न पर्‍यो । त्यसमाथि बालबच्चा पढाउँदा सानेलाई ऋण लाग्यो । साहुले ऋण तिर्ने अर्को उपाय भएन । आफ्नै ठाउँमा गरिखाऊ न त भन्दा जागिर मिलेन । त्यसपछि सानेलाई साहुको ऋण तिर्न फेरि विदेश नै जानु पर्ने बाध्यता आइलाग्यो ।

    ‘भिजिट भिसामा जानु हुँदैन भन्ने थाहा त थियो, तर एजेण्टले भने कि अहिले भिजिटमै गएर काम खोज्ने हो, समय यस्तै छ,’ साने भन्नुहुन्छ ।


    परदेशी भूमिमा गर्नु पर्ने दुःख थाहा थियो सानेलाई । पर्ने अप्ठेराबारेमा पनि जानकारी नभएको होइन । ऋणमा डुबेको बेला एजेण्टले यूएई पठाउने कुरा बताए ।

    ‘भिजिट भिसामा जानु हुँदैन भन्ने थाहा त थियो, तर एजेण्टले भने कि अहिले भिजिटमै गएर काम खोज्ने हो, समय यस्तै छ,’ साने भन्नुहुन्छ ।

    एजेण्ट पनि नाताले सानेकी भान्जी पर्छिन् । भान्जीले नै भनेपछि उहाँले विश्वास गर्नुभयो ।

    भने अनुसार नै सबै कुरा गर्नुभयो । साना किसान सहकारीमा घरजग्गा राखेर २ लाख ५० हजार रुपैयाँ लिनुभयो र एजेण्टलाई बुझाउनुभयो । सानेजस्तै भिजिट भिसामा यूएई जान गाउँका अन्य ६ जनाले पनि प्रतिव्यक्ति २ लाख ५० हजारका दरले पैसा बुझाए । एकै गाउँका ७ जना र गोरखाका एक जना गरी ८ जना ‍२२ मार्च २०२१ अर्थात् २०७७ साल चैत ९ गते सोमबारका दिन यूएई उडे ।

    यूएई उड्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ का साने परियारसहित, सुजन परियार, धन बहादुर परियार, राजु परियार, गणेश परियार, दीपक परियार र तारा भण्डारी थिए ।

    एजेण्टको मिठो कुरामा विश्वास गरेर यूएईमा टन्न कमाउने सपना बुन्दै यूएई त पुगे ।

    एजेण्टले मासिक १२ सय यूएई दिर्हाम कमाइ हुने बताएका थिए । काम भने चकलेट प्याक गर्ने हो भनेका थिए ।

    यूएई पुगेपछि १५ दिनसम्म त अजमानको एक भिल्लामा राम्रो गरी राखे एजेण्टले नै । तर १५ दिन पछि भने कम्पनीको साहु जेल परेको भन्दै साहु छुटेपछि मात्र काममा जान पाइने बताए । त्यो खबर सुन्दा उनीहरूको मनमा चिसो पस्यो ।

    साने भन्नुहुन्छ,‘ला अब के होला भन्ने त जानसाथ लागेको थियो, तर के गर्नु आफ्नी भान्जीको विश्वास गर्दा फसियो ।’

    एजेण्ट भागेपछि ट्वाइलेटको पानीले प्राण धान्यौँ
    साहु छुटेपछि काममा लगाइदिनहुन्छ भनेका एजेण्टको व्यवहार बिस्तारै फेरिन थाल्यो । १५ दिनपछि त्यहाँको बन्दोबस्त मिलाउने एजेण्ट नै सम्पर्क विहीन भए । न फोन लाग्यो न जाने बेलामा केही भने ।

    त्यही एजेण्टको बोलिमा विश्वास गरेर यूएई पुगेका उनीहरू एजेण्ट नै हराएपछि बिचल्लीमा परे । एजेण्ट नै भागेपछि भने सानेसहित उहाँका साथीलाई अर्को समस्या आइपर्‍यो । आफ्नो नाम मात्र लेख्न जान्ने उनीहरूलाई विदेशको ठाउँमा कहाँ जाने, के गर्ने भन्ने थाहै भएन ।

    खाने पानी नहुँदा थुप्रै दिन ट्वाइलेटको पानीले प्राण धानेको बत्ताउँछन् उनीहरू । न खाने कुरा छ न त जाने ठाउँ कही । एकातिर भिजिट भिसाको समय सकिँदै थियो । उनीहरूको एक मनले त भन्थ्यो अब बाँचेर घर फर्कँदैनौँ ।
    ‘काम लगाइदिन्छु भन्दा भन्दै एजेण्ट नै भाग्यो, हामी त कहाँ जानु कसलाई भन्नु, केही पत्तै भएन,’ साने भन्नुहुन्छ,‘न पढ्न लेख्न आउने ।’

    एजेण्ट भागेको एक महिनासम्म उनीहरू त्यही ठाउँमा आधा पेट खाएर दिन कटाउन थाले । एउटा कोठामा ८ जना पालैपालो सुत्थेँ ।

    सानेका साथी गणेश परियार भन्नुहुन्छ ‘जिन्दगीमा त्यत्तिको दुःख त कहिले पनि भोग्न परेको थिएन ।’

    खाने पानी नहुँदा थुप्रै दिन ट्वाइलेटको पानीले प्राण धानेको बत्ताउँछन् उनीहरू । न खाने कुरा छ न त जाने ठाउँ कही । एकातिर भिजिट भिसाको समय सकिँदै थियो । उनीहरूको एक मनले त भन्थ्यो अब बाँचेर घर फर्कँदैनौँ ।

    घरमा फोन गर्नुहुन्थ्यो बेला बेलामा । घरका मानिससँग पनि रुनु बाहेक अर्को विकल्प थिएन ।

    ‘आफ्नो समस्या सुनाउँदा घरमा पनि रुने, हामी पनि रुने, रुदा रुँदै फोन काटिन्थ्यो ’ साने सुनाउनुहुन्छ ।

    पहिले एजेण्टलाई चिनाउने भान्जी पर्ने निशा परिवारलाई पनि आफ्नो समस्या सुनाउनुभयो । तर भान्जीले पनि आफूले चिनेको मात्र भएको र आफ्नो त्यसमा कुनै हात नभएको बताइन । भान्जी निशामार्फत नै उनीहरूले एजेण्ट रुपेश कुमार ठाकुर र नवराज तामाङलाई चिनेका थिए । उनीहरूले नै यूएई पठाएका थिए ।

    कुनै विकल्प नभेटेपछि उनीहरूले एजेण्टले नै चिनाएका एक भारतीय नागरिकलाई आफ्नो समस्या सुनाए ।

    उनले निःशुल्क टिकट काटिदिने तर त्यसका लागि आफ्नो सामान लैजान पर्ने सर्त राखे ।

    ‘उसले त्यसोभन्दा पनि मन त यति खुसी भयो नि, अब त बाँचिने भयो भन्ने लाग्यो, जे सामान होस्, बोक्ने र घर जाने भन्ने नै भयो ’ गणेशले भन्नुभयो ।

    सामान बोकेर भारतबाट नै जानु पर्ने, भारतीय नागरिकले राखेको अर्को सर्त थियो । त्यसपछि उनी ८ जनाको टिकट काटिदिन राजी भए ।

    ‘दुबईमा भोकै मर्नुभन्दा भारतमै मरौँ भन्ने सल्लाह गर्‍यौं, उसले के सामान पठाउँछ, कसरी पठाउँछ भन्ने कुरामा हामीलाई चिन्ता नै भएन, दीपक परियार त्यो क्षण सम्झनुहुन्छ ।

    ‘हेर्दा खरानीजस्तो धुलो थियो तर धागोले जेलेर सिलाएको थियो’ गणेशले भन्नुभयो ‘हेरेर हामीले के हो भनेर छुट्टाउन सकेनौँ ।’


    गएको असारमा दुबई विमानस्थलबाट उड्नुभन्दा अघि आठै जानालाई कालो कपडाको पाइन्ट लगाउन लगाए । कपडामा खरानीजस्तो धुलो राखेर सिलाएको थियो ।

    ‘पाइन्टमा खरानीजस्तो बस्तु राखेर सिलाइएको थियो, सुटकेसमा पनि माथि माथि चकलेट, काजु र तल भने पाइन्टमा राखेकोजस्तै कुरा राखिएको थियो,’ सानेले सुनाउनुभयो ।

    एजेण्टले दिएको लुगा र सुटकेस बोकेर उनीहरू विमानस्थलमा प्रवेश गरे । मन डरले थुरथुर काँपेको थियो । तर उनीहरूको अघिल्तिर अर्को कुनै विकल्प थिएन । गणेशले भने ट्वाइलेटमा गएर लुगामा के रहेछ भनेर हेर्नुभयो ।

    ‘हेर्दा खरानीजस्तो धुलो थियो तर धागोले जेलेर सिलाएको थियो’ गणेशले भन्नुभयो ‘हेरेर हामीले के हो भनेर छुट्टाउन सकेनौँ ।’

    भारतीय नागरिकले आफूहरूलाई गलत सामान पठाउन लागेछन् भन्ने बल्ल अनुभव भयो उनीहरूलाई । किनकि उनीहरू उड्नुअघि भारतीय नागरिकले आठै जनाको फोटो खिचे र उनीहरूको कागजपत्रसहित भारतमा आफ्नो मानिसलाई पठाए । त्यसपछि जे परे पनि परोस् भनेर उनीहरूले भारतीय नागरिकले भने अनुसार नै विमानस्थलमा सामान्य तरिकाले सबै प्रक्रिया पुरा गरे ।

    ‘प्रत्येक ठाउँमा चेक गर्दा मुटु ढुक्क फुल्थ्यो, यही जेलमा परिन्छ कि जस्तो लाग्यो, तर मर्नुभन्दा बौलाउन बेस भने झैँ भयो ’ साने भन्नुहुन्छ ।

    चेक हुने ठाउँमा उनीहरूको त्यो सामानको जाँच भएन । कुनै अप्ठेरो बिना दिल्ली विमानस्थलमा ओर्लिए ।

    उनीहरू विमानस्थलमा ओर्लिदा त्यहाँ केही मानिसहरू बसिरहेका थिए । उनीहरूले नै विमानस्थलबाट एउटा कोठामा लगे । र लुगा फुकाल्न लगाए । सानेसहित उहाँका साथीले भारतीय नागरिकले लगाउन दिएको कालो पाइन्ट खोलेर सुटकेस पनि जिम्मा दिए । ती भारतीय नागरिकले नै उनीहरूलाई ३५ सय नेपाली रुपैयाँ दिए ।

    त्यो झोलामा के थियो भन्ने कुरा उनीहरूलाई अहिले पनि थाहा छैन । त्यो झोला बोकाएर पठाउने भारतीय नागरिकले उनीहरूलाई त्यो सामान पठाउन किन प्रयोग गरे भन्ने पनि जान्दैनन् उनीहरू ।


    सामान जिम्मा लगाएपछि उनीहरू एक अर्कालाई अङ्कमाल गर्दै निकै बेर रोए । बाँचेर नेपाल फर्कन पाइने भयो भनेर खुसीयाली मनाए । जीवितै आफ्नो देश पुगिनेमा उनीहरू ढुक्क भए ।

    त्यही ३५ सय रुपैयाँले उनीहरू दिल्लीबाट काठमाण्डौ आउने बस चढे । कमाउने सपना बोकेर जुन लुगामा विदेश उडेका थिए त्यही लुगामा उनीहरू तीन महिना परदेशको दुःख भोगेर घरमा आइपुगे ।

    त्यो झोलामा के थियो भन्ने कुरा उनीहरूलाई अहिले पनि थाहा छैन । त्यो झोला बोकाएर पठाउने भारतीय नागरिकले उनीहरूलाई त्यो सामान पठाउन किन प्रयोग गरे भन्ने पनि जान्दैनन् उनीहरू ।

    आफ्नैको विस्वासमा जोखिम मोलेर विदेश जाँदा झण्डै ज्यानै गयो । भएको सम्पत्ति पनि गुम्ने अवस्था आएको छ । किनकि सहकारीबाट लिएको ऋण र ब्याज बढिरहेको छ ।

    आफ्नै भान्जी भनेर विश्वास गर्दा आफू र आफ्नो छोरासहित एकै घरको तीन जना ठगीमा परेका पछुतो लाग्छ सानेलाई ।

    ‘आफ्नैले घात गर्लान् भन्ने के थाहा, विश्वास गरियो, झण्डै ज्यान गयो, घर फर्कन्न पनि ज्यानकै बाजी लगाउन पर्‍यो, अहिले ऋणै ऋण छ म के गरौँ’ साने पछुतो मान्दै भन्नुहुन्छ ।

    एजेण्टको अर्को झुट
    विदेशमा काम र कमाइ नभएपछि उहाँहरूले आफूले तिरेको रकम भए पनि फिर्ता गर्न एजेण्टसँग माग गर्नुभयो । भान्जी निशामार्फत मुख्य एजेण्टहरुलाई सम्पर्क गर्नुभयो । एजेण्टले रकम दिन्न भनेन । तर ६ महिना बित्दा पनि दिएनन् पनि ।

    उनीहरू एजेण्टले नै पैसा दिन्छन् कि भन्ने आशमा १० पटकभन्दा धेरै काठमाण्डौ धाइसके । तर धादिङबाट काठमाण्डौ आइपुग्दा पैसा दिन्छु भन्ने एजेण्ट कि त फोन उठाउँदैनन् कि त मोबाइलको स्विच आफ गरिदिन्छन् ।

    ‘दिन्छु भन्छन्, यहाँबाट काठमाण्डौ जान्छौँ, यो ठाउँमा आइज भन्छन् त्यहाँ जान्छौँ तर एजेण्ट आउँदैनन् ’ साने भन्नुहुन्छ ‘फेरि भोलि आइज भन्छन् भोलि त फोन नै लाग्दैन ।’

    भन्छन् ‘हामी त मरेर पनि बाँचेका छौँ, तपाईँहरू जानीजानी भिजिट भिसामा काम गर्न भनेर विदेश नजानुहोस् ।’


    यता साना किसान कृषि सहकारीले ऋण तिर्नको लागि ताकेता गरिरहेको छ । भएको घर र जायजेथासमेत सहकारीमा राख्नुभएका सानेलाई अब बालबच्चा कसरी पाल्ने भन्ने अर्को चिन्ता थपिएको छ ।

    ‘काम त दिन सकेन, त्यो भुमरीमा मर्नका लागि छोडिदियो तर बाँचेर फर्किएका हामीलाई तिरेको रकम त दिए हुने नि,’ उनीहरू भन्छन् ।

    राम्रो काम र कमाइको प्रलोभनमा आफू ठगीमा परेको भन्दै उनीहरू एजेण्टबाट रकम फिर्ताको माग गर्दै आप्रवासी स्रोत केन्द्र धादिङमा निवेदन दिन आइपुगेका छन् । केन्द्रले निवेदन दिएको र आवश्यक समन्वय र सहजीकरण भइरहेको कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो ।

    उनीहरूलाई आजकाल भिजिट भिसामा विदेश जानुभन्दा साग र सिस्नु खान बेस जस्तो लाग्छ ।

    भन्छन् ‘हामी त मरेर पनि बाँचेका छौँ, तपाईँहरू जानीजानी भिजिट भिसामा काम गर्न भनेर विदेश नजानुहोस् ।’
    यो खबर ऊजयालो अनलाइनका लागी रामकुमार थापाले तयार पारेका हुन्।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, लोकप्रिय, विचारLeave a Comment on ‘भिजिट भिसामा दुबईमा अलपत्र परेपछि स्वदेश फर्किन भारतीय नागरिकको झोला बोक्न बाध्य भयौँ’

    बिजुवा – पाठकीय टिप्पणी

  • ९ पुष २०७८, शुक्रबार ०९:५२ मा प्रकाशित
  • पाठकीय टिप्पणी
    लघुकथा -: बिजुवा
    लघुकथाकार -:दिनेश निरौला

    लघुकथाकार दिनेश निरौलाले आज मिति २०७८/ ९/८ मा हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा
    ” बिजुवा” पढेपछि मेरो पाठक मनमा आएका भावनालाई लघुपाठकीय टिप्पणीको रुपमा प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

    अन्य लघुकथाकारहरुसँग झै उहासँग पनि मेरो साक्षात्कार भएको छैन तर लघुकथाको माध्यमबाट हामी परिचित छौ ।अगस्त ५, २०२० देखि हाम्रो लघुकथा पाठशालामा जोडिनु भई दैनिक लघुकथा प्रेषित गर्नुहुने लघुकथाकारका सय भन्दा बढी कथाहरु हाम्रो लघुकथा पाठशालाको भित्तोमा पढन सकिन्छ ।

    बि.सं.२०३७/७/ १२ मा पिता सुर्य प्रसाद र आमा जानुका निरौलाको कोखबाट पाँचौ संतानको रुपमा साहित्यकार दिनेश निरौला ओखलढुंगा साविक कुईभिर -९, हाल चिसंखुगढी -१ मा जन्मिनु भएको हो । हाल उहाँ नेपाल प्रहरीको हवल्दार पदमा दुहबी सुनसरीमा कार्यरत हुनुहुन्छ । लघुकथा बाहेक अन्य बिधामा पनि कलम चलाउनुहुने साहित्यकार दिनेश निरौलाको “आशाको त्यान्द्रो ” गजल संग्रह २०६४ प्रकाशित छ ।

    प्रस्तुत कथा “बिजुवा” मा मुख्य पात्रको रुपमा बिजुवा र अन्य सहायक पात्रहरुको रुपमा ढोलेहरु र दर्शकहरु रहेकाछन् ।कथाको शुरुवात यसरी भएको छ । ढोलेहरू ढ्याङ्ग्रो र थाल बजाउन थाले । बिजुवा सेउली र फुर्का लिएर कहिले बिरामीलाई त कहिले कालो बोकोलाई लिसो छर्किँदै बिभिन्न देवी देवताहरूको नाम पुकार्दै कामी रहेको थियो बाह्र बजे राती सम्म । ठिक बाह्र बजे कालो बोकोको भोग दियो बिरामीलाई वनको शिकारी लागेर दु:ख दिएको हो सँगै कसैले उठन गरेर लगाई पनि दिएको छ । यस्ता बिमारी पहिल्यै देखि उस्ले निको बनाएको छ बिजुवाको भनाई त्यस्तै थियो ।

    आज कसैले पनि जोखाना नराख्नू । मेरो गुरुदेउले जोखाना नहेर्न भनेको छ । उसले बिजुवा बस्नु भन्दा अगाडीनै भनेको थियो । रातभर बिजुवा बस्ने उसले आज यत्तिमै दियो थन्क्याएको थियो । बोको चाँडै पकाउन उस्ले ढोलेहरुलाई भनेको थियो । उज्यालो हुनै लाग्दा सबैले खाईवरी सके । अनि बिजुवाले भन्यो ।” यो वालाडाङ्ग्रे (बिमारीलाई) कालो जण्डिस पनि भएको छ । मेरो गुरुदेउले भनेको यो चै फुकेर निको हुँदैन, तपाईहरू चाँडै तयार गर्नोस् बिमारीलाई अब हामी सबै मिलेर अस्पताल लानुपर्छ ।” यसरी कथाको समापन गरिएको छ ।

    ग्रामीण समाजको यथार्थ र परम्परागत धामीझाँक्री बस्ने प्रचलनलाई उजागर गर्दै बिजुवाले अस्पताल लानुपर्ने र जन्डिस बोको चढाएर ठिक हुदैन भन्दै सचेत गराएको छ भने धामीझाँक्रीले बोको खाने दाउछोप्दै बोको खाईसकेपछि मात्रै अस्पताल लानुपर्छ भनेर भन्छन भन्ने तितोसत्य पनि उजागर गरिएको छ ।कथाको भाषा सरल छ । स्थानियपन झल्किएको छ । सेउली र फुर्को लिएर बसेको बिजुवाले बोको चढाएर सम्पूर्ण रोग निको पार्ने कोसिस गर्ला कि भन्ने पाठकीय अनुमान बिपरित अस्पताल लैजानु पर्छ भन्दै कथाको समापनले झट्का दिन सक्षम रहेको छ । १७३ शब्दमा लेखिएको कथा पाठकलाई खुलदुली जगाउदै अन्त्यमा अस्पतालमै लानुपर्ने गहकिलो र महत्त्वपूर्ण संन्देश दिन सफल भएको छ। कथा मन परेकोले होला मेरो पाठकीय मनले कथामा खोट लगाउने ठाउँ देखेन ।

    अन्त्यमा, साहित्यकार दिनेश निरौलाको साहित्यिक यात्रा सप्तकोसी नदी जस्तै अविरल बगिरहोस , सगरमाथाको शिखर चुमोस् । लघुकथाहरुको संग्रह यथाशीघ्र प्रकाशित होस् भन्दै अग्रिम बधाई तथा कोटी कोटी शुभकामना सहित सुस्वास्थ र दीर्घायुको शुभकामना व्यक्त गर्दछु ।

    बन्दना घिमिरे गठ्ठाघर, भक्तपुर

    लघुकथा -: बिजुवा ,
    दिनेश निरौला
    ढोलेहरू ढ्याङ्ग्रो र थाल बजाउन थाले । बिजुवा सेउली र फुर्का लिएर कहिले बिमारीलाई त कहिले कालो बोकोलाई ।लिसो छर्किँदै काम्न थाल्यो । उ बिभिन्न देवी देवताहरूको नाम पुकारी रहेको थियो । यो क्रम बाह्र बजे राती सम्म निरन्तर चलेको थियो ।
    ठिक बाह्र बजे कालो बोकोको भोग दियो ।बिमारीलाई वनको शिकारी लागेर दु:ख दिएको हो ।सँगै कसैले उठन गरेर लगाई पनि दिएको छ । यस्ता बिमारी पहिल्यै देखि उस्ले निको बनाएको छ । बिजुवाको भनाई त्यस्तै थियो ।
    आज कसैले पनि जोखाना नराख्नू । मेरो गुरुदेउले जोखाना नहेर्न भनेको छ ।उस्ले बिजुवा बस्नु भन्दा अगाडीनै भनेको थियो ।र रातभर बिजुवा बस्ने उस्ले आज यत्तिमै दियो थन्क्याएको थियो ।
    बोको चाँडै पकाउन उस्ले ढोलेहरुलाई भनेको थियो । उज्यालो हुनै लाग्दा सबैले खाईवरी सके । अनि बिजुवाले भन्यो ।” यो वालाडाङ्ग्रे (बिमारीलाई) कालो जण्डिस पनि भएको छ । मेरो गुरुदेउले भनेको यो चै फुकेर निको हुँदैन । तपाईहरू चाँडै तयार गर्नोस् । बिमारीलाई अब हामी सबै मिलेर अस्पताल लानुपर्छ “

    २०७८।०९।८ गते
    ओखलढुंगा , हाल – दुहबी सुनसरी

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, विचार, साहित्यLeave a Comment on बिजुवा – पाठकीय टिप्पणी

    उत्तरी गोरखालाई छुट्टै जिल्ला बनाउनुपर्छ : बाबुराम भट्टराई

  • २७ कार्तिक २०७८, शनिबार १३:४४ मा प्रकाशित
  • गोरखा पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गोरखाको उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउनुपर्ने बताएका छन् ।

    संगठन सुदृढिकरण तथा जनभेटघाट(सुज) अभियान अन्तर्गत गोरखामा रहेका भट्टराइले शुक्रबार साँझ लाप्राकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै धार्चे, चुमनुव्री र बारपाक क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउनुपर्ने बताएका हुन् ।

    ‘उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन अभियान चलाउनुपर्छ, संविधान त विशेष क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन मिल्ने भनेर लेखिएको छ,’ उनले भने, ‘अर्को जिल्ला, विशेष वा स्वायत्त क्षेत्र जे बनाउँदा पनि हुन्छ, जनताले बुझ्ने भनेको जिल्ला हो ।’ गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सासंद समेत रहेका भट्टराईले यसका लागि आवाज उठाउन स्थानीयबासीलाई आग्रह गरे । ‘आफ्नो सक्दा आफ्नो हातमा नआएसम्म, जनप्रतिनिधि आफैंले नचुनेसम्म, तपाईंहरुले विकास र समृद्धि जतिसुकै चिच्याएर पनि पाउनुहुन्न,’ उनले भने ।

    कांग्रेस, माओवादी, एमाले सबै पार्टी यस अभियानमा आउनुपर्ने भट्टराइले बताए । ‘आउनुस् उत्तरी भेगलाई छुट्टै जिल्ला बनाउन साझा मुद्दा बनाएर अभियान चलाऔं,’ उनले भने,‘सबैले आन्दोलन गर्‍यौं संघर्ष गर्‍यौं भने यो सम्भव छ ।’ जसपाले यो संविधान मिलेको छैन, जनताको पहिचान र अधिकार सहितको हुनुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएको उनले बताए ।

    सुज अभियान अन्तर्गत भट्टराई यतिबेला जिल्लाको ग्रामिण भेगमा छन् । गत सोमबार घ्याल्चोकबाट अभियान सुरु गरेका भट्टराई गण्डकी, शहिद लखन, भिमसेन थापा, आरुघाट, धार्चे गाउँपालिकाको विभिन्‍न गाउँ पुगिसकेका छन् । ११ दिने सुज अभियान मंसिर ३ सम्म चल्ने जसपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमालले बताए ।

    सडक नपुगेको ठाउँमा लौरो टेकेर भट्टराईले घरदैलो गरेका छन् । धार्चे गाउँपालिकाको लप्सीबोट, एमगाउँ क्षेत्रमा भट्टराई पैदल नै पुगेका थिए । किसानसँगै धान झाँट्ने, पार्टी नेता/कार्यकर्ता, स्थानीय तथा फरक पार्टीका नेता कार्यकर्तासँग उनी भलाकुसारी गर्दै जिल्ला घुमिरहेका छन् ।

    Posted in विचारLeave a Comment on उत्तरी गोरखालाई छुट्टै जिल्ला बनाउनुपर्छ : बाबुराम भट्टराई

    प्रधानन्यायाधीशले गर्दा शिर झुकाएर हिँड्नुपर्ने अवस्था आयाे : वरिष्ठ अधिवक्ता मिश्र

  • २६ कार्तिक २०७८, शुक्रबार १६:२२ मा प्रकाशित
  • काठमाण्डाै – वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतोले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिका र कार्यपालिकाबीचको सीमा रेखालाई समाप्त पारेको बताउनुभएको छ । 

    आज शुक्रवार नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतको मूल गेटमा गरेको धर्नापछि बार भवनमा भएको संक्षिप्त कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता महतोले प्रधानन्यायाधीले कार्यपालिका र व्यवस्थापिकाबीचको सीमा रेखालाई समाप्त पारेको बताउनुभएको हो । नेपाल बार एसोसिएशनका पूर्वउपाध्यक्ष समेत रहनुभएका उहाँले प्रधानन्यायाधीशले आफूलाई कार्यपालिकाको रूपमा रूपान्तरण गरेको पनि बताउनुभयो । बारले गरेको आन्दोलन देश र संविधानको हितमा भएको उहाँको भनाइ छ । 

    वरिष्ठ अधिवक्ता महताेले भन्नुभयो, ‘यो आन्दोलन सम्पूर्ण नागरिककाे हो । देश हितका लागि हो । नेपालको संविधानको रक्षाका लागि हो । उहाँले यो आन्दोलनको मर्यादा, स्वतन्त्रता, सेवाग्राहीको अपेक्षा र न्यायपालिकाको जनआस्थालाई धरापमा पार्नुभयो, ध्वस्त पार्नुभयो र अझै ध्वस्त पार्न उन्मुख हुनुहुन्छ । उहाँले न्यायपालिका र कार्यपालिकाबीचको सीमा रेखालाई समाप्त गर्नुभयो । उहाँले आफूलाई कार्यपालिकाको रूपमा रूपान्तरण गर्नुभयो ।’

    यस्तै वरिष्ठ अधिवक्ता विजय मिश्रले प्रधानन्यायाधीश जबरा कानुन व्यवसायी र सेवाग्राहीको विश्वास गुमाएर असफल भएको बताउनुभयो । प्रधानन्यायाधीशका कारण न्यायाधीशहरूको स्वाभिमानमा चोट पुग्नुका साथसाथै कानुन व्यवसायीहरू शिर झुकाएर हिँड्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । 

    वरिष्ठ अधिवक्ता मिश्रले भन्नुभयो, ‘प्रधानन्यायाधीशले कानुन व्यवसायी, सेवाग्राहीबाट विश्वास प्राप्त गर्नुपर्ने हो तर त्यो विश्वासको परीक्षामा उहाँ असफल हुनुभएको छ । असफलताको कारणले न्यायाधीशहरूको स्वाभिमानमा चोट पुगेको छ । कानुन व्यवसायीहरू शिर झुकाएर हिँड्नुपरेको अवस्था छ । सकसपूर्ण अवस्था उहाँ आफैँले निम्त्याउनुभएकाे छ । उहाँलाई न्यायको बिक्री गरेर त्यत्रो रकम किन चाहिएको हो ? न्यायलाई बिक्री गर्ने व्यक्तिलाई न्यायको सर्वोच्च आसनमा बस्ने हक कहिल्यै पनि हुन सक्दैन । यो आन्दोलन उहाँको बर्हिगमनमा मात्रै टुङ्गिने प्रकृतिको आन्दोलन होइन, न्यायपालिकालाई शुद्धिकरण गरेर एउटा तहमा पुर्‍याइसकेपछि मात्रै विश्राम लिने आन्दोलन हो ।’

    यस्तै वरिष्ठ अधिवक्ता हरिहर दाहालले न्यायालयमा देखिएको समस्याको सम्बन्धमा राजनीतिक दलका नेताहरू अब चुप लागेर बस्न नसक्ने बताउनुभयो । नेताहरू मौनता तोड्न बाध्य हुने उहाँको भनाइ छ । समस्या समाधानका दिशामा नेताहरूले आफ्नो भूमिका निर्वाह नगरे सरकारको अर्कमण्यताको विरुद्ध पनि आन्दोलन तेर्सिने उहाँले बताउनुभयो ।

    वरिष्ठ अधिवक्ता दाहालले भन्नुभयो, ‘सम्मानजनक बर्हिगमनको बाटो भनेको उहाँले राजीनामा दिँदा त्याे अवस्था हुन्छ । अब उहाँले नै छनाेट गर्ने बेला भयो, पदच्युतको बाटो अपनाउने कि सम्मानजनक बर्हिगमनको बाटो अपनाउने । त्यो उहाँले छान्ने कुरा हो । यदी समय बित्दै गयो भने पदच्युतको बाटोले पछ्याउँछ उहाँलाई । अब राजनीतिक दलका नेताहरू पनि चुप लागेर बस्न सक्ने छैनन्, उनीहरू पनि आफ्नो मौनता तोड्न बाध्य हुनेछन् । हाम्रो आन्दोलन जब उत्कर्षमा पुग्छ, उनीहरूले अवश्य पनि समस्या समाधानको दिशामा आफ्नो तहबाट गर्नुपर्ने कुरा गरेनन् भने सरकारको अर्कमण्यताको विरुद्ध पनि यो आन्दोलन तेर्सिन्छ ।’   

    Posted in विचारLeave a Comment on प्रधानन्यायाधीशले गर्दा शिर झुकाएर हिँड्नुपर्ने अवस्था आयाे : वरिष्ठ अधिवक्ता मिश्र

    कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाइँदै

  • २३ कार्तिक २०७८, मंगलवार ०९:१८ मा प्रकाशित
  • काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताउनुभएको छ ।

    मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष हुने गरी छलफल भइरहेको बताउनुभयो । अहिले निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम छ । लामो समयदेखि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पनि कर्मचारीको अवकाश उमेर हद ६० वर्ष हुनुपर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

    मन्त्री श्रेष्ठले भन्नुभयो, “म सङ्घीयतासँगै कर्मचारीमैत्री भएकाले मेरो कार्यकालमा कर्मचारीमैत्री नीति बनाउने पहल गरिरहन्छु ।”

    सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थित गर्न सङ्घीय निजामती सेवा ऐन अत्यावश्यक भएकाले पटक पटक संसद् अवरुद्ध हुँदा अध्यादेशबाट भए पनि ऐन जारी गर्न सङ्घीय निजामती विधेयक संसद्बाट फिर्ता गरिएको मन्त्री श्रेष्ठले स्पष्ट पार्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    Posted in विचारLeave a Comment on कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाइँदै

    प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ नामक पुस्तक सार्वजनिक

  • १५ कार्तिक २०७८, सोमबार २३:३९ मा प्रकाशित
  • १५ कार्तिक २०७८ ! १५ वर्षको कतार बसाईंको सम्पुर्ण अनुभवहरुलाई समेटेर प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाँले लेखेका ‘मैले देखेको कतार’ पुस्तक १५ कार्तिक २०७८ सोमबारका दिन सार्वजनिक भएको छ।

    सोमबार लैनचौर स्थित उपराष्ट्रपति कार्यालयको सभाहलमा उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकको विमोचन गरे। पुस्तक बिमोचन कार्यक्रममा रुपमा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतिक, आर्थिकलगायतको सम्बन्धहरु र नेपाली कामदारले कतारलाई समृद्द बनाउन गरेको योगदानहरुको चर्चा गरेकोले कतारका बारे जान्न चाहनेलाई यो पुस्तक अति उपयोगी हुने बताए।पुस्तक पढ्दा आफू स्वयंलाई कताइ भ्रमण गर्न इच्छा जागेको बताउनु भयो।आफ्ना नेपालीहरुले निर्माण गरेको आघुनिक र समृद्ध कतारको वास्तविकता लेखकले पुस्तकमा उजागर गरेको बताउनु भयो।


    मुस्लिम आयोगका माननीय अध्यक्ष समिम मियाँ अन्सारीले आफू कतार गएको बेला लेखक मियाले राष्ट्रिय मानव अधिकार आयोगको हेल्प डेस्क मार्फत अन्याय र पिडामा परेका नेपाली श्रमिकहरुको उद्दार र सहयोग गरेको स्मरण गरे।मियाँ त्यहाँ नेपाली समाज प्रतिनिधिको रुपमा परिचित छन।संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले यस पुस्तकले नेपाल कतार मैत्रीपुर्ण सम्बन्धमा थप आयाम वृद्धि गर्ने बताउनु भयो।कुटनैतिक क्षेत्रमा समेत तरङ्ग ल्याउने यस पुस्तकले कतार बुझ्न चाहने सबैलाई सहयोग गर्ने बताउनु भयो।
    मुस्लिम अगुवा ताज मोहम्मद मियाले लेखक रमजान समाजको लागि मात्र नभइ राष्ट्रकै लागि गौरवान्वित ब्यक्ती भएको बताए। ओमनबाट भर्खरै कार्यकाल सकेर फर्किएकी पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले यो पुस्तकले कतारका सत्य बोले पनि सबै अरब रास्ट्रहरुको समग्र चित्रण गरेको बताइन्।


    पुस्तकमा कतारमा रहेका नेपालीहरुको इतिहास, नेपाली श्रमिकको योगदान, कतारको इतिहास लगायतका विषय समेटिएको लेखक प्रा. मियाँले बताए। उनले प्राकृतिक रुपमा सबै कुराहरु भएर पनि बिकासमा केही नभए जस्तो नेपाल र प्राकृतिक रुपमा केही कुराहरु मात्र भएर पनि बिकासमा सबै भए जस्तो कतारमा सन २००७ अप्रिल पछि देखेका कुरालाई समेटेको बताए। कतार नेपालको असल मित्र र दुख सुखको हितैषी भएको र कतारमा श्रम गरिरहेका नेपाली अनि नेपाल पनि समृद्ध कतार निर्माणको सहयात्री एवं पार्टनर तथा साझेदार भएको हुनाले नेपाली श्रमिकले कतारको निर्माणमा दिएको योगदानको उच्च मुल्यांकन हुनु पर्ने बताए।पुस्तक नेपाल कतार जोड्ने महत,कडि भएको मियाले बताए।

    मियाँले कतारको निर्माणमा ज्यान गुमाएका परिवारलाइ कतारले उचित ब्यवस्थाको जोहो गर्नु पर्ने बताए। कतारले बिश्वकप पुर्व १० लाख रुख रोप्ने प्रतिबद्धता गरेर बिश्वलाई फरक सन्देश दिन खोजेको स्मरण गरे।प्रस्तुत पुस्तक कतारको प्रगतिको कथा हो भने।नेपाल कतारको मैत्रीपुर्ण सम्बन्धको गाथा हो भने।कतारी र नेपाली भावनाको मिलनकेन्द्र हो भने।
    ‘मैले देखेको कतार’ पुस्तकलाई घोस्ट राइटिङ नेपालले पुस्तकलाई प्रकाशन गरेको छ भने यस पुस्तकको अरबिक र अंग्रेजी संस्करण पनि छिट्टै आउने अध्यक्ष कमल ढकालले बताए।जसले अरब जगतलाइ पनि नेपाली श्रमिकको योगदान बारे बुझ्न सहज बनाउने छ। लेखकको यो ३७ औं कृति हो । कतारबारे मात्रै उनले १० वटा पुस्तक प्रकाशन गरिसकेका छन्।

    जनसवाल.कम बाट

    Posted in ताजा अपडेट, विचार, साहित्यLeave a Comment on प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाँको ‘मैले देखेको कतार’ नामक पुस्तक सार्वजनिक

    विवेकशील साझाको दुई तिहाइले पारित गर्‍यो संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने रवीन्द्र मिश्रको प्रस्ताव

  • ११ कार्तिक २०७८, बिहीबार १७:२२ मा प्रकाशित
  • विवेकशील साझा पार्टीको केन्द्रीय समितिले अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णय गरेको छ।

    बिहीबार  भएको केन्द्रीय कमिटीको जुम बैठकमा दुई-तिहाइभन्दा बढी मतले उक्त दस्तावेज  पारित भएको प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    मिश्रले केही दिनअघि  स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै दस्तावेज सार्वजनिक गरेका थिए। उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको विज्ञप्तिमा जनाइएको छ।

    आजको बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ। पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।

    बैठकले पार्टीलाई अब तुरून्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।

    आजको  बैठकमा विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूह भने सहभागी थिएन।

    Posted in विचारLeave a Comment on विवेकशील साझाको दुई तिहाइले पारित गर्‍यो संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने रवीन्द्र मिश्रको प्रस्ताव

    एमसीसी पास नगरे नेपाल विदेशीको स्वार्थको भुमरीमा फस्‍नेछ : डा भट्टराई

  • २६ आश्विन २०७८, मंगलवार १०:०३ मा प्रकाशित
  • जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालले अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम राख्नका लागि पनि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) पास गर्नुको विकल्प नरहेको बताए ।

    सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा समाजवादी पार्टीले आयोजना गरेको संगठन सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले भनेका छन् – ‘अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम गर्न पनि एमसीसी पास गर्नैपर्छ। होइन भने उनीहरुको स्वार्थको भुमरीमा नेपाल फस्नेछ।’ उनले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न नसके नेपाल अफगानिस्तान जस्तै बन्ने दावी गरे।

    ‘यस कारण पनि जनता समाजवादी पार्टी एमसीसी पास गर्नैपर्छ भन्ने पक्षमा छ’ डा भट्टराईले बताए। उनले आफ्नो पार्टी कुनै पनि शक्ति राष्ट्रसँग दुश्मनी पनि नगर्ने तर नझुक्ने बताए। कार्यकर्ता भेटघाटमा उनले आफ्नो पार्टीको भविश्य उज्ज्वल रहेको भन्दै सर्मपित भएर संगठन बनाउन कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका थिए।

    Posted in विचारLeave a Comment on एमसीसी पास नगरे नेपाल विदेशीको स्वार्थको भुमरीमा फस्‍नेछ : डा भट्टराई

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P