
जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालले अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम राख्नका लागि पनि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) पास गर्नुको विकल्प नरहेको बताए ।
सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा समाजवादी पार्टीले आयोजना गरेको संगठन सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भनेका छन् – ‘अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम गर्न पनि एमसीसी पास गर्नैपर्छ। होइन भने उनीहरुको स्वार्थको भुमरीमा नेपाल फस्नेछ।’ उनले नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न नसके नेपाल अफगानिस्तान जस्तै बन्ने दावी गरे।
‘यस कारण पनि जनता समाजवादी पार्टी एमसीसी पास गर्नैपर्छ भन्ने पक्षमा छ’ डा भट्टराईले बताए। उनले आफ्नो पार्टी कुनै पनि शक्ति राष्ट्रसँग दुश्मनी पनि नगर्ने तर नझुक्ने बताए। कार्यकर्ता भेटघाटमा उनले आफ्नो पार्टीको भविश्य उज्ज्वल रहेको भन्दै सर्मपित भएर संगठन बनाउन कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका थिए।

