उदक साहित्य समाज नेपालको आयोजनामा प्रथम उदक वाचन कार्यक्रम मिति २०७८ साल कार्तिक महिनाको ७ गते आइतबारका दिन सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष तथा खोरिया काव्यिक विधाका प्रवर्तक जनार्दन अधिकारी धड्कनले काव्यिक विधा उदक परिष्कृत हुँदै गइरहेकोले यसलाई आफूले अनुसन्धानात्मक रूपमा हेरेको बताउँदै प्राकृतिक बिम्बको प्रयोग गरी शीर्षक दिएर बिभिन्न फरक शैलीमा समेत लेख्न सकिने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि वेदका विज्ञ वरिष्ठ साहित्यकार तिलकप्रसाद लुइटेलले सानोमा सिङ्गो विश्व माथि उकास्ने सामर्थ्य राख्ने उदकमा अब उदक यात्रीहरूले भाव पक्षको गहनतामा जोड दिनुपर्ने धारणा सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका सल्लाहकार चक्रप्रसाद अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्वीय साहित्यको शब्द टिपेर उदक प्रवर्तक आर्त अकुलीनले अपनत्वको महसुस गराएर साहित्यिक भोक मेटाउने काम गर्नुभएको धारणा राख्नुभएको थियो ।
सो समाजकी उपाध्यक्ष सविता केसीले उपस्थित सम्पूर्ण अतिथिलाई स्वागत मन्तव्य सहित रचना वाचन र शुभकामना व्यक्त गर्नुभएको थियो ।
जम्मा २९ जनाको सहभागिता रहेको उक्त उदक वाचन कार्यक्रममा उदक यात्री हिमाल अम्मै, लक्ष्मी बस्याल, देवेन्द्र शाक्य, वसन्त अनुभव, सरस्वती वली, धनराज अविरल, इन्दिरा ज्ञावली, मणिराज सिंह, बालकृष्ण खनाल, चन्द्रावती अधिकारी, सोमनाथ लुइटेल, सुरेशचन्द्र घिमिरे, उर्मिला पन्त, तिला लेकाली, बासुदेव ज्ञावली, दुर्गाप्रसाद अधिकारी, रोशन पराजुली, श्रद्धा आचार्य, मन्दिरा सेँढाइ, बादल गुरूङ, सरस्वती श्रेष्ठ, लक्ष्मीप्रसाद मिश्र, कमला देवकोटाले आफ्ना उत्कृष्ट रचनाहरू वाचन गर्नुभएको थियो ।
कार्यक्रम उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनको सभापतित्व एवं सचिव अबोध निर्मलको सञ्चालनमा भएको थियो ।
टुक्का साहित्य समाज नेपालले ७६ औं संयुक्त राष्ट्रसंघ दिवसकाे अवसर पारेर टुक्का लेखन अभ्यास कार्यक्रम सम्पन्न गरेको छ। जसमा ५४ जना नेपाली भाषी टुक्काकरहरू सहभागी भएका थिए ।सहभागी टुक्काकारहरूले संयुक्त राष्ट्रसंघको उद्देश्य, महत्त्व लगायत विविध विषयवस्तु समेटेर शुभकामना सम्बन्धि टुक्का सृजना गरेका थिए।
समाजले नियमित रूपमा टुक्का लेखन अभ्यास लगायत अन्य विविध कार्यक्रम सञ्चालन गर्दै आएको समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले बताउनुभयो । उक्त अभ्यास शृङ्खलाको संयोजन तथा सम्पादन संस्थाका वरिष्ठ टुक्काकार अनिल खग्रासले गर्नुभएको थियो ।
टुक्का कविता काव्य विधा अन्तर्गतको उदियमान एक नविनतम प्रविधा हो। जसमा केवल दुई हरफमात्र रहेका हुन्छन्। तर दुबैको अन्त्यानुप्रास मिलेको र अक्षर संख्या बराबर भएको हुनुपर्दछ। टुक्का ५ अक्षर देखि २७ अक्षर सम्ममा लेख्न सकिन्छ।
अभ्यासकाे क्रममा सङ्कलन गरिएका टुक्काहरू
@ १ १. विश्वमा पुनः युद्ध नहोस् , शान्ति किटानी होस्, मेलमिलाप सँगै साथ सहयोग मिलोस्। २. विकास र समृद्धिमा दिई अनुदान, अल्पविकसित देशको गर्छ सम्मान। ✍️ अनिल खग्रास, पर्वत
@ २ १. सम्युक्त राष्ट्र संघको बडापत्र, विश्व एक बनाउने यज्ञ सत्र। २. लागु भयो उन्नाइसौं सदीमा, विश्वमा भाइचाराको गरिमा। ✍️ पौडेल विमुन्स
@ ३ १. नाम जस्तै संयुक्त राष्ट्रसंघ सबैको साझा बनोस् प्रवक्ता भै शक्तिशाली राष्ट्रको कुरा मात्र नभनोस् । २. बन्द गरियोस् भट्टीहरू आणविक हतियारका, जंजिर बाधियोस् हातहरूमा युद्ध मतियारका । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
@ ४ १. मानव अधिकार रक्षार्थ राष्ट्र संघ आयाे, शान्ति, विकास र सहायता सँगसँगै ल्यायाे। २. सबै राष्ट्रका सहमत भई सामुहिक हस्ताक्षर आयाे, संयुक्त राष्ट्र संघले कार्यक्रममा विशिष्ट लाभ दिलायो। ✍️ ताराप्रसाद चापागाईं धुनिबेसी ।
@ ५ १. मानव अधिकारका लागि सङ्घ बन्यो, युद्ध विरामको छु पक्षमा भनी भन्यो। २. विश्वमा शान्ति कायम गर्ने उदेश्य थियो, संयुक्त राष्ट्र सङ्घले यही संदेश दियो। ✍️ सुरेशकुमार पान्डे, दाङ घोराही १८
@ ६ १. राष्ट्रसंघको स्थापना अन्तर्राष्ट्रिय दिवस शिक्षा स्वास्थ्य सुरक्षाका काम गर्न छ विवश । २. सबै क्षेत्र सुधार गर्ने पहिलो संस्था भएछ यसको प्रमूख कार्यालय न्युयोर्कमा रहेछ। ✍️ मन्दिरा सेढाई मलेखु, धादिङ
@ ६ १. विश्वभर शान्ति सुरक्षामा सर्नू, मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्नू। २. युद्ध पोत साटो, शान्ति पूर्ण बाटो। ✍️ कृष्ण आनन्द भट्ट पञ्चेश्वर०५, बैतडी
@ ७ १. सरकार!जनताको मानव अधिकार नगर्दे हनन, नेपाली गरिबको मनको झुपडी रोएको गर्नु मनन। २. गास बास कपास भन्नु मानव अधिकारको आधार, भोका नाङ्गा जनतालाई सधैं झुठो भाषणले नमार। ✍️ रवीन्द्रनाथ पोखरेल देबचुली, नवलपरासी
@ ८ १, विश्वभरिका जनको एउटै बनोस् भावना, संयुक्त राष्ट्रसंघ दिवसको शुभकामना। २, शक्ति राष्ट्रको प्रभावमा पर्न नपरोस्, समस्या समाधान स्वविवेकले गरोस्। ✍️ चिरञ्जीवी ढकाल नेपालगन्ज-२० राँझा एयरपोर्ट बाँके
@ ९ १. अहंकारको आगो निभाउन राष्ट्र संघ जन्मनु पर्यो, अापत विपत मानवको मानवै हो भनी अघि सर्यो । २. साझा विश्वास भएर संसारको कल्याणमा जुटेको, शान्ति नै सुन्दर विकासको राजमार्ग भनी उठेको । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी
@ १० १. जन्म्यो यो राष्ट्र संघ भाइचारा बढाउन, विश्वकै देशहरूमा मित्रता गराउन । २. राष्ट्र संघको जन्मले चारैतिर शान्ति छायो, संसारभरि रमाइलो र खुशी पनि आयो । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
@ ११ १. जहिले कर्तव्य निष्ठा शान्ति कायम गर्न, ऐन लागुसॅंगै पछि पर्दैन अघि सर्न। २. चर्को रूप घरायसी होस् या त बाह्य झगडा, मिलाउन राष्ट्र संघले खटाउॅंछ अखडा। ✍️म्यामराज राई,भोजपुर
@ १२ १. देश, प्रदेश, हिमाल, पहाड ,तराईका जनको एउटै बनोस् भावना, यहाँ संयुक्त राष्ट्रसंघ दिवसको सबैलाई अनगिन्ती छ शुभकामना। २. हामी मित्रवत् बनौँ,अहंकार त्यागौँ,राष्ट्र संघ आधार बनेर, आपत पर्दा एक अर्काको साहारा मानवको मानवै हो भनेर। ✍️ दुर्गा आचार्य, मोरङ
@ १३ १. विश्व शान्तिहेतु गठन भा’को यसले छाओस् , साना राष्ट्रले पनि ढुक्क भएर बस्न पाओस्। २. यस संस्थाको उद्देश्य सधैँ भरि सफल रहोस् , अस्तित्व भाइचाराको नघटोस् जाँगर र जोस। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग।
@ १४ १. राष्ट्रसंघको नियम कानुन सबैले जान्नु पर्छ, परोपकारी कामहरू यही संघ संस्थाले गर्छ। २. आज मानवअधिकार प्राप्त भएको दिन, खुशी हुनु पर्छ है सबै जनाले एकै छिन। ✍️ राम रावल (सागर) कैलाली
@ १५ १ छयत्तरौँ संयुक्त राष्ट्रसंघ दिवसको छ शुभकामना , सधैँ शान्ति कायम गरी जगाऔँ मेलमिलापको भावना । २ विश्वका देशमा राख बन्धुत्वको समान, अविकसित देशलाई पनि आफ्नै ठान। ✍️ भगवती दवाडी, झापा
@ १६ १ आज सयुक्त राष्टसंघकाे अधिकार सम्बन्धि दिवस, सुरक्षा ,विकास र स्वास्थ बारे काम गर्न निम्ति विवश। २, सुरक्षा शान्ति अब सबैतिर थालियोस् निर्धोलाई सकभर सहयोग मिलाेस्। ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही ,बुटवल
@ १७ १. अमनचैनले सबै राष्ट्र प्रति शान्ति छरोस् राष्ट्रसंघले नीति अनुसारको काम गरोस् । २ राष्ट्रसंघका सदस्यबीच भाइचारा बनोस् छुटेका राष्ट्रले पनि सहभागी बन्छु भनोस् । ✍️ रिजाल विनोद बेलबारी ०२, मोरङ
@ १८ १. राष्ट्रसङ्घ तिमी विश्व मानवताकाे रक्षा गर, सम्पूर्णमा भातृत्व र भगिनीत्त्वकाे बीउ छर । २. विश्वबाटै राेग,भाेक र शाेककाे अन्त्य गरिदेऊ , बिन्ती छ सबैको तन र मनमा खुशी भरिदेऊ । ✍️ लक्ष्मी घिमिरे दहाल दमक-७ झापा
@ १९ १. शक्ति केन्द्रित राष्ट्रहरूको शासनमा पर्न नपरोस्, हरेक समस्याकाे समाधान सबैमा एकैनास् गरोस् । २. विश्वभरिका मानिसको सदैव एउटै रहोस् भावना, संयुक्त राष्ट्रसंघ दिवसको सम्पुर्णमा शुभकामना। ✍️ दुर्गा भट्टराई, मोरङ
@ २० १. विश्व शान्तिको लागि संगठित बनौँ सके सम्म हामी, गरीव राष्ट्र भन्दै कहिल्यै हेप्न नसरुन् प्रतिगामी। २. संयुक्त राष्ट्र संघले गरीव धनी भनेन दियो सदस्यता, विश्वकै भलाइको गुणगानले चौतर्फी पाएको छ मान्यता। ✍️ शर्मिला श्रेष्ठ, ललितपुर हाल अमेरिका
@ २१ १. विश्वभरका मानवलाई एक सूत्रमा बाँध्न, बाँच अनि बाँच्न देऊ,मानव अधिकार खाँध्न। २. मानव अधिकारको सजग प्रहरी”संयुक्त राष्ट्र संघ” भेदभाव रहित,समविकासको,यो हो भरपर्दो अङ्ग। ✍️ अर्जुन उप्रेती (अप्रतिम) असम (भारत)
@ २२ १. दिगो शान्ति र मानव हित विश्वमा कायम गर्न भनी, संयुक्त राष्ट्रसंघ जन्मियो ईश्वरको अवतार बनी । २. बिपत्ति टार्नलाई दिन्छ सधैँ भरि साथ, संयुक्त राष्ट्र संघ बनेछ सबकाे माथ। ✍️ गंगा खड्का बूढानीलकण्ठ १, काठमाडौँ
@ २३ १. मानवअधिकारको रक्षा सुनिश्चित ढंगले, पुरा गर्छ सब उद्धेश्य संयुक्त रास्ट्रसंघले । २. लाग्नेछ रोग,भोग र शोकको निदान गर्न, स्वास्थ मापदण्ड पुरा गर्दै प्रगतिमा सर्न । ✍️ अम्बिका गिरी, विराटनगर
@ २४ १. राष्ट्रहरूको वृहत् यो संस्था नहोस् कहिले भङ्ग, चिरकालसम्म बाँचिरहोस् संयुक्त राष्ट्र संघ । २. उदाहरणीय कार्यगरी सबैको हृदयमा छाअोस्, राष्ट्रहरूको समस्या ती सबै समाधान गर्दै जाओस् । ✍️ राजेन्द्र प्रधान पासा, दार्जीलिङ ।
@ २५ १ रोकेर युद्ध संसार शान्त राख्नु पर्दछ प्रकोपबाट बचाइ रक्षा जनको गर्दछ । २ झरेको ऑसु पुछेर हिड्ने बानी यसको हटाई दु:ख मनको खुशी बॉट्दछ त्यसको । ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न .पा .३
@ २६ १. स्वच्छ विचार र उच्च चाहना राख्यौ सुन्दर भावना, ७६ औं संयुक्त राष्ट्रसंघ दिवसको शुभकामना । २. जनताको लागि मरिमेटी दिएकाछन् आफ्नो ज्यान, यसले गर्दा जीवन बदलिएको छ भनी मान। ✍️ अनुग्रह राना मगर ‘पुस्प’ संखुवासभा, हाल मलेसिया
@ २७ १. संयुक्त राष्ट्रसंघ स्थापना दिवसको खास सार्थकता आएको, भन्नुपर्दा सबैले सोच्नुपर्छ कि विश्वले उसबाट के पाएको । २. संस्था स्थापनाको औचित्य हुँदैन उद्देश्य नै हात्तीको देखाउने दारा, यता युद्ध अशान्ति भोकमरीबाट जनता मर्ने उता शान्तिका नारा । ✍️ रामशरण न्यौपाने, भक्तपुर
@ २८ १, गरीव राष्ट्र प्रति संयुक्त राष्ट्रसंको ध्यान जाअोस, साना राष्ट्रलाई ठुला राष्ट्रले कहिले नधम्काअोस। २, संयुक्त राष्ट्रसंघको सदा सदा यही होस भावना, छ्यहत्तरौ राष्ट्रसंघ दिवसमा यही छ शुभकामना। ✍️ लक्ष्मी श्रेष्ठ बिर्तामोड, झापा
@ २९ १. विश्वभरि मानव अधिकारको रक्षा गरौँ युद्ध रोक्न र शान्ति सृजना गर्न लागि परौँ। २. मानवको जीवन – स्तरमा लौ! सुधार हुनुपर्छ मानवीय भावनाले एक -अर्कालाई छुनुपर्छ। ✍️ परिक्रमा श्रेष्ठ धरान
@ ३० १ विश्वकै शान्तिप्रिय देश हो हाम्रो नेपाल, शान्ति कार्यको लागि योगदान छ विशाल। २ संसारकै उत्कृष्टमा पर्छन् सैनिक राम्रो, राष्ट्र संघमा विशेष योगदान छ हाम्रो। ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती -३,काभ्रे
@ ३१ १. हुँदैन कसै शान्ति युद्धले बुझ हे मानव युद्धले पार्दछ ठूलो क्षति मान्छे बन्छ दानव। २. मानव कल्याण हुन्छ शान्ति मार्ग रोजेपछि अधिकार युद्धले कहाँ दिन्छ विधि तोडेपछि। ✍️ सुर्यमणी रेग्मी भरतपुर, चितवन
@ ३२ १ शक्तिशाली देशलाई सकेन तह लगाउन, राष्ट्रसंघ असफल हुँदैछ विश्व बचाउन । २. शान्ति, विकास, स्वतन्त्रता हुन् यसका तत्व बढ्दै जाओस् राष्ट्रसंघको विश्वमा महत्त्व । ✍️ लक्ष्मण समिर, बर्दिया हाल: काठमाडौं
@ ३३ १. विश्वभरि शान्ति, सदाशय र सहयोगको मूल फुटोस् मानव जीवनस्तर बढाउन श्रोत र साधन जुटोस् । २. कला, साहित्य विज्ञान र सभ्यतालाईनै उठाउने गरौँन शान्तिपूर्वक बाँच्ने र बचाउने मन्त्रहरू दिलमा भरौँन। ✍️ पवन कुमार बुढाथेाकी बानेस्वर , बासुकी /अंबिका मार्ग
@ ३४ १. संयुक्त रास्ट्र संघको दिवस सबैले मनाऊँ राजनीति लाद्नु भन्दा हितकारी संस्था बनाऊँ। २. स्थापना भए देखि नै करोड राम्रा काम गर्यो विश्व हेर्ने भएकोले नै सबैलाई मन पर्यो। ✍️ दस्ता कौशिक पाँचथर,हिलिहाङ-२, सिंहपुर।
@ ३५ १. राेग,भाेक,अशान्तिलाई नामेट पार्न उठाैँ, राष्ट्रसंघको झण्डामुनि गाेलबन्द भै जुटाैँ । २. वशुधैव कुटुम्बकम बन्नु पर्छ नारा, विश्वशान्ति कायम गर्न बाेकाैँ अभिभारा । ✍️ मित्र उराठी गाैतम अमरपुर, गुल्मी हाल: बुटवल
@ ३६ १ बनेको छ राष्ट्र संघ सहयोग गर्न , सबैको मनमा शान्तिको दियो नै भर्न । २ यसको उदेश्य सगरमाथामा पुगोस् , विरोध गर्नेहरूको अनुहार लुकोस् । ✍️ कान्छी बिनिता विश्वकर्मा बाजुरा
@ ३७ १• दोश्रो विश्व युद्ध चल्दै थियो, थिएन कुनै दरिलो मियो। २• अन्तर्राष्ट्रिय तहको सहजकर्ता, शान्तिका ल्याउन भनी गराए दर्ता। ✍️ घनश्याम पौडेल, पोखरा
@ ३८ १. विश्वका राष्ट्र मिलेर गरे संयुक्त राष्ट्र संघको गठन, शान्ति र मेलमिलापको सधैँभरि जुरोस् सबैमा लगन। २. गोलो मेचमा बसेर सर सल्लाह गरून्, विश्वका जनतामा आशाको किरण छरून्। ✍️ राजेश भट्टराई सैनामैना ११,रुपन्देही हाल सुर्खेत
@ ३९ १. आँधी हुरी प्राकृतिक प्रकोपले हुन्छ कतिको हरण, मानव भई मानविय सभ्यतामा दिनुपर्छ शरण । २. आपत बाजा बजाई आउँदैन कसैको जिन्दगीमा, हात हात मिलाई खोजे हुन्छ समाधान आपत्तिमा । ✍️ शरद प्रधानाङ्ग, विराटनगर-७
@ ४० (१) यो संसारलाई नै एउटै परिवार मान्नुपर्ने थियो, संयुक्त राष्ट्र संघले ने बनिदिन चाह्यो त्यसैको मियो। (२) संसारभरि नै कायम हुन सकोस्, सुख शान्ति र अमन चैन, एकता शूत्रमा बाँध्ने संयुक्त राष्ट्र संघले हो, अर्को कुनै छैन। ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर
@ ४१ १ हिरोसिमा र नागासाकीमा जब बम खस्यो मान्छेको कुबुद्धिमा तब अलिक चेत पस्यो। २ असहाय असमर्थ अनि पछौटे राष्ट्रको निम्ति मान्छे खटाऊ ऐ राष्ट्र संघ परमाणु राख्ने देशलाई सदस्यबाट हटाऊ। ✍️ बी.कुलुङ दार्जिलिङ (भारत)
@ ४२ १. मित्र राष्ट्रहरू सधैँ मित्र राष्ट्रै रहिरहून् संयुक्त राष्ट्र संघले सीमा विवाद सल्ट्याऊन् । २. साना ठूला मुलुकहरू बीच, कुनै नगरी विभेद सेवा गर्नुपर्छ राष्ट्रिय संघले, मान्नु नपरोस् खेद। ३. ठूला देशको शक्ति अघि झुक्ने हैन राष्ट्र संघ मर्यादा नगुमाओस्, यो हो विश्वकै प्रमुख अंग । ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर ।
@ ४३ १. उन्माद शक्तिले गर्दा विश्व नै युद्दमा गयो , यही विभीषिका रोक्न राष्टसंघ खडा भयो। २. सिद्दान्त नीति दर्शनमा स्वतन्त्रभई चलिरहोस्, संयुक्त-राष्ट्रसंघ जागोस शान्ति दीप बलिरहोस्। ३. आणविक शस्त्रको त्रास मत्स्य न्याय हटाउन , यो राष्ट्र संघ सधैँ लागोस् शान्ति-दुत खटाउन । ✍️ रामजी लामिछाने, पाेखरा
@ ४४ १. वर्ग विभेद यहाँ जातियता विभेद, मानवको अधिकार हनन् को छ खेद। २. विश्व भाईचाराको संसारलाई छ खाँचो, विश्वराष्ट्र संघलाई यै कुराको छ माँचो। ✍️ ईशहाक हुसैन सिमरा उ. म. न. पा. १४ जि. बारा हाल- बुटवल मणिमुकुन्दसेन टोल फूलवारी २
@ ४५ १. जगशान्ति, मानवता अनि भाइचारा राष्ट्रसंघको उद्धेश्य, घरै विश्व सारा । २. मत्स्य न्याय नहाेस् कतै, उद्धेश्य र कर्म एक मान्छे भइ बाँच्न मिलाेस् चाहे जुनै धर्ती टेक । ✍️ दुर्गा वनवासी, झापा
@ ४६ १. युद्ध रोक्नुका साथै मानव अधिकार नि संरक्षण गर्छ, हामीले संयुक्त राष्ट्रसंग दिवस भव्य बनाउनुपर्छ । २. हेर्नुस् है हुन्छ सबैको भलो, हो यो संयुक्त राज्यको थलो । ✍️रिता खराल, रुपन्देही
@ ४७ १. मानव जीवनस्तर समृद्धिको लागि गर्छ सहयोग चारैतिर स्वार्थ त्यागी। २ उपचार नपाई अकालमा कोहीपनि ज्यान नगुमाउन् भनी ल्याउँछ स्वास्थ्य कार्यक्रम अल्पविकसित देशमा उदार बनी। ✍️ काेकिला चाैधरी, बाँके
@ ४८ १. राष्ट्रहरू जुटेका छन् सहयाेग गर्न, मेलमिलाप र सबै तिर शान्ति छर्न। २. सहयाेगले विश्व सबै शान्त, सम्वृद्ध बनाअाैं, अाऊ हामी संयुक्त राष्ट्र संघ दिवस मनाअाैं। ✍️ रिना याेल्माे, दार्जीलिङ्ग
@ ४९ १. संसार भरका जनमानसमा होवोस् समानताको भावना , छयहत्तराैँ संयुक्त राष्ट्र संघको सबैलाई शुभ कामना । २. विश्व युद्ध दुई पटक चल्दा भएन भरपर्दो जन , अन्तर राष्ट्रिय शान्ति सहमतिमा जुटेका थिए मन । ✍️ बेदु न्यौपाने, काठमाडौ
@ ५० १ संयुक्त राष्ट्र संघ दिवसकाे छ शुभकामना विश्व भरी का मानिसमा एउटै सदभावना। २ हरेक ले न्याय बराबरी पाउन समस्या समाधान खेर नजाउन। ✍️ सरस्वती श्रेष्ठ, इटहरी
@ ५१ १. संसार दोश्रो विश्व युद्धमा थियो होमिएको मानव हितमा संयुक्त रास्ट्र संघ उभिएको । २. चिन्ता थियो कसरी होला र संसार खतरा मुक्त मानव रक्षा गर्न गठन भो रास्ट्र संघ संयुक्त । ✍️ तारा घिमिरे, संखुवासभा
@ ५२ १ एक ढिक्का बनायाे संसारलाई जमाएर, अघि बढे राष्ट्र संघकाे कानून समाएर। २ राष्ट्र संघकाे सदैव सहमति हुनु पर्छ, सबै देशको दु:ख कष्टमा सहयाेग गर्छ। ✍️ कमला हरिमाया पराजुली, झापा
@ ५३ १ उद्देश्य अनुरूप गज्जबले चलाेस् , दाता राष्ट्रकाे चङ्गुलमा त नफसाेस् । २ संयुक्त राष्ट्रसंघकाे स्थापना हुनुमा छ मुख्य सार , विश्व समुदायका साझा सवाल उठाउने आधार । ✍️ प्रद्युम्न चालिसे, भक्तपुर
@ ५४ १ खुला आकाश,सिङ्गो धर्ती,विशाल मानव मन, विध्वंसकारी होइन जन विकासवादी बन। २ बन्धु- वान्ध,मानव सारा रहे पनि जहाँ, सम्मान न्याय, संयुक्त राष्ट्रसङ्घ छ तहाँ । ✍️ धनु शर्मा, पाेखरा
काठमाडौ, ६ कार्तिक । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको पाचौं भाग शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४८ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का सञ्चालकका तर्फबाट राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खलाको पाँचौ भागको अभ्यास लागि कार्यक्रम संयोजक वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको थियो ।
अभ्यासका लागि राखिएको टुक्का
कृषिप्रधान मुलुक हाम्रो बाझैँ राख्छौं खेत, भिसा लगाई डलर छाप्छौँ कम्ता छैन चेत ।
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१/ युवाले खेती गरि बस्दा नेता कसले पाल्ने? रुपैयाँले कमी हुन्छ रे डलर टिप्दै फाल्ने। ✍️ ताराप्रसाद चापागाईं
२/ खेतबारीमा काम गर्न लाग्छ लाज के गरौं? बरु डलर टिपि नेताहरुको गोजी भरौं । ✍️ जगत थापा बझाङ
३/ कृषिप्रधान देश अरे बाहिरबाट किन्छन् अन्न, भाषणमा आत्मनिर्भर छौँ रत्ति लाज छैन भन्न। ✍️ अभागी ललिता
४/ खेती गर्नहुन्थ्यो समयमा मल र बीउ पाइदैन, राहदानी दिदै भन्छ सरकार झन्झट लाइदैन। ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
५/ सौखिन भए मानव कसले जोत्छन् खेतबारी, युवा जति पलायन भए गर्दछन् वारिपारी। ✍️ बुद्धिमान चौधरी कनकाई नगरपालिका ४झापा
६/ कृषिप्रधान देश नेपाल केहि चाहिँदैन, मल र बिऊ समयमा कहिल्यै पाईदैन। ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
७/ भएका खेतबारी बेची छोरो अमेरिका पठायो, डलर कमाएपछि छोरो खैरेनीसँग हरायो । ✍️ शर्मिला श्रेष्ठ ललितपुर हाल अमेरिका
८/ कृषिमा क्षति भएको समाचार मात्रै छाप्ने, विदेशी डलर टिप्दा सबको जीवन फाप्ने। ✍️ कल्पना थामी सिन्धुपाल्चोक
९/ खेति गर्ने जाँगर छैन् लाग्छ मनमा दिक्क, बेमौसमी झरी अनि खडेरीलाई ठिक्क । ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ
१०/ दु:ख गरि गरि मरेर खेती गर्यो आउँदैन पर्याप्त दाम! डलरको कमाई हुँदा साननै बेग्लै त्यसैमा रहेछ नाम! ✍️ प्रमोद भट्टराई ‘प्रतीक‘ कौशलटार, भक्तपुर
११/ खेतको धान बगाईलग्यो के ले पेट भर्ने, रेमिटान्सले देश चल्दैछ किन पिर गर्ने । ✍️ शान्ता निरौला कन्याटार पाचथर
१२/ आफ्नो खेतमाभन्दा पहिले राम्रो हुने तक्दिर, समाज एवंम् युवामाझ गलत बस्यो नजिर। ✍️ म्यामराज राई भोजपुर
१३/ भनिदिए जे पनि हुन्छ झुटकै गर्छौ खेती, घर बसि नेपाल देख्नेभन्छौ भाछैन क्षति। ✍️ अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
१४/ पुर्खौलीको पसिनामा दुबो रोपिगयौ, आफ्नै पाटो बाँझो राखि मुग्लानी पो भयौ। ✍️ सुरेशकुमार पान्डे दाङ घोराही १८
१५/ दिनभरि काम गर्यो हातमुख जोर्न गाह्रो, त्यही भएर बिदेश गएं मन पारी साह्रो। ✍️ घनश्याम पौडेल पोखरा
१६/ ल्याप्चे ठोके नक्कलेले बाँझै भए बारी, कमाउन विदेशमा भूमी काँडाघारी। ✍️ महेन्द्र मान बलामी दक्षिणकाली नगर पालिका-९फर्पिङ,काठमाडौ।
१७/ खेतबारीमा काम गर्दा हातमा लाग्छ अरे हिलाे, फर्कि आऊँ युवा जति स्वदेशमा नगर्नु है ढिलाे । ✍️ लक्ष्मी घिमिरे दहाल दमक- झापा
१८/ भैसी काटे म म बन्ने दु:ख किन गरुँ खेती गर्दा पाखे भन्छन् चिन्ता लाग्छ बरु । ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न पा ३
१९/ अरु देशले बनाउँछन् महँङ्गा महँङ्गा गाडी, हाम्रो देशले युवाहरुलाई पठाउँछन् खाडी । ✍️ गणेश तामाङ वाइबा धादिङ नेपाल
२०/ खेतीपाती छोडेर बुहारी शहर पसी, भिख माग्ने काम रै’छ टिकटकमा बसी। ✍️ अनिल खग्रास
२१/ कृषिप्रधान देश हाम्रो हर्ने भर्ने दाता, खुल्ने जति खुल्यो चेत डलर पिता माता । ✍️ होम प्रसाद नेउपाने धरान ,सुनसरी
२२/ युवाले गरे विकास मरुभूमि खाडीमा, बुढा गोरु ड्राइभर छन् नेपाल गाडीमा । ✍️ रिजाल विनोद बेलबारी०२ लालभित्ती मोरङ
२३/ कृषिप्रदान देश हाम्रो भन्दै खेत राख्छन् बाँझो बाहिरबाट अन्न मगाए मिलाई चाजोपाँजो। ✍️ सरस्वती श्रेष्ठ इटहरी
२४/ संविधानको पानामा त कृषिप्रधान देश लेखियो। एक मुठा साग पनि भारतबाट ल्याएको देखियो। ✍️ बादल गुरुङ वियोगी, संखुवासभा,हाल काठमाडौं
२५/ वैदेशिक राेजगारी खुलाएर सरकार फुलाउछ छाती , रेमिटान्सकाे रकमले राज्य चलाउछ याे कस्ताे देशघाती । ✍️ प्रद्युम्न चालिसे सु न पा ५ कटुञ्जे भक्तपुर ।
२६/ किसानको चाहत राहत पाउने, र त ज्ञानकेन्द्र , सेवाकेन्द्र धाउने। ✍️ नागेन्द्रप्रसाद यादव दाङ ।
२७/ खनजोत गर्न गाह्रो छ नि के काे खेतीपाती? डिभी भरेर विदेश छिरि उतै बस्न जाती। ✍️ मित्र उराठी गौतम अमरपुर, गुल्मी
२८/ गर्यो खेती लान्छ बगाई हेर, किसानको पसिनामात्र खेर । ✍️ भगवती दवाडी झापा
२९/ रोपाइँ गर्न गए मन्त्री हातपात गर्ने, त्योभन्दा राम्रो त विदेश गई झोला भर्ने । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
३०/ कृषिप्रधान देशमा किसानको भयो अधोगति, चुरोट रक्सी उत्पादकहरु बने करोडपति। ✍️ बिके मुखिया दार्जीलिङ,भारत
३१/ भूपीले त्यसै भनेका हैनन् हल्लै-हल्लाको देश, नकारात्मक टिप्पणीले सबथोक पार्यो शेष। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग।
३२/ कृषिप्रधान देश झरीले बिजोग पारेको, खेतभरि भिजेको पाँजो पानीमा उमारेको। ✍️ तारा घिमिर संखुवासभा
३३/ बाढी पस्यो खेतमा त, भिज्यो सबै धान, नेताहरु गर्छन् सधैँ कुर्सी तानातान ✍️ हरिप्रसाद घिमिरे बकैया३ हात्तीसुँडे,मकवानपुर
३४/ कृषिप्रधान देश भन्छ सबै बाहिरबाट मगाउँछ, आयात गरेको ती वस्तुहरूमा चर्को शुल्क लगाउँछ । ✍ राजेन्द्र प्रधान पासा दार्जीलिङ ।
काठमाडौ, ६ कार्तिक। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २३औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालको आयोजनामा आयोजित उक्त अभ्यास कार्यक्रममा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक कविताका प्रवर्तक एवं शृङ्खलाका प्रशिक्षक आर्त अकुलीनले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको प्रवर्तक अकुलीनले बताउनुभयो । शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने एउटा उदक साझ ५ बजेसम्म लेख्न भनिएको थियोे ।
अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर
तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू :
१ शरद् निरन्तर वर्षा बगेको किसानको सपना ! ✍️ आर्त अकुलीन, कैलाली २ संवत् साल इति सकिँदै धर्तीको मिति ! ✍️ बलराज भाट , कैलाली ३ झरी डुबानमा खेत हुँदै कृषक अचेत ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका-१४, दाङ ४ वितण्डा बेमौसमी बाढी गरिबीमा प्राकृतिक कहर ! ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली ५ मौसम अन्न सखाप सारा किसानके विलाप ! ✍️ सागर कुस्मी, धनगढी, कैलाली ६ वर्षा बेमौसमी झरी पार्दै किसानलाई दुखी ! ✍️ सरस्वती श्रेष्ठ, इटहरी ७ रसाएको किसानको सपना प्रकृतिले सबै बगाएको ! ✍️ सरस्वती वली, बर्दिया, नेपाल ८ खेत डुबेको धान पीडा सहँदै किसान ! ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली ९ वर्षा किसानको आस अहिले पार्दै सत्यानाश ! ✍️ राम न्यौपाने, कैलाली १० पानी पाकेको धान थन्क्याउने बेला डुवान ! ✍️ बादल गुरुङ ‘वियोगी’ संखुवासभा, हाल: काठमाडौँ ११ बेमौसमी वर्षाले डुबाएको विलिन किसानको भविष्य ! ✍️ सावित्री अधिकारी, काठमाडौँ १२ झरी पाकेको धान सपना बगेको किसान ! ✍️ श्रीकृष्ण शर्मा, पोखरा १३ कार्तिक बेमाैसमी झरी कृषक वर्गमा अत्यास ! ✍️ सुरेशचन्द्र घिमिरे, लमजुङ १४ किसानी बगायो पसिना रहेन कुटानी पिसानी ! ✍️ पशपती राई, खोटाङ १५ बाढी कार्तिक महिना सम्पूर्ण धान सखाप ! ✍️ खड्गबहादुर गुरुङ, टीकापुर, कैलाली १६ वर्षा सबैलाई कष्ट खेतबारी सबै नष्ट ! ✍️ देवेन्द्रराज शाक्य बुटवल, रुपन्देही, लुम्बिनी प्रदेश १७ उद्दण्ड मानवता नीति विकास विनास सखाप ! ✍️ राेशन पराजुली, धरान १८ झरी आँखा भिजाएर सपना भेल बनेको ! ✍️ दिवाकर भट्टराई, तनहुँ १९ पानी बढेर आयो जनजीवन क्षती बनायो ! ✍️ अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा, हाल: मलेसिया २० झर्झर बेमौसमी झरी किसानका सपना डुबान ! ✍️ शिव खनाल जीवम, रुपन्देही २१ पानीले खेतको धानसँगै डुबाएको हजार सपना ! ✍️ रामचन्द्र भट्टराई, स्याङ्जा २२ झरी एकनास पर्दै किसानको सपना डुब्दै ! ✍️ सरस्वती श्रेष्ठ, रुपन्देही २३ प्रकृति दिएर मार जताततै बनाएको नरसंहार ! ✍️ इन्दिरा देवकोटा, कपिलवस्तु २४ आशा बेमौसमी वर्षाले किसानकाे मुटुमा घाउ ! ✍️ तोयानाथ सुबेदी, काठमाडौँ २५ वर्षात किसानकाे आस बनाएको खेतीपाती सत्यानाश ! ✍️ शाेभा अर्याल, रुपन्देही, बुटवल २६ प्रकृति गरेको अत्याचार मानवीय पसिना बेकार ! ✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ २७ वर्षा किसानलाई मर्का कार्तिक मंसिरमा बाढी ! ✍️ प्रतिभा देवी न्यौपाने, काठमाडौँ २८ किसान चिन्तित अति बाढिले गरेको खती ! ✍️ रिता खराल, रुपन्देही २९ वर्षा बाढी पहिरो किसानमा असर गहिरो ! ✍️ अबोध निर्मल, कैलाली ३० धानबाली डुवानमा परेको किसानको मेहनत स्वाहा ! ✍️ धर्मी साक्य, रुपन्देही ३१ जिन्दगानी पानी जवानी विपद्मा हरेस नखानी ! ✍️ भवानी घिमिरे, सर्लाही ३२ बेमौसम वितण्डा मच्चाउँदै कृषककाे छाती जलाउँदै ! ✍️ मुना दाहाल, सर्लाही, हरिवन ३३ वर्षा किसानलाई वेदना सामाजिक सञ्जालमा भाइरल ! ✍️ नारायण कोइराला, तानसेन, पाल्पा ३४ वर्षा बेमौसमी भयो किसानको परिश्रम गयो ! ✍️ बालकृष्ण खनाल, टीकापुर, कैलाली ३५ जिन्दगी बेमाैसमी प्रकाेप भाग्यले ठगेको हरे ! ✍️ खलविर नाराज, तानसेन, पाल्पा ३६ प्रकृति बिग्रेको आकृति किसानको भएको विपत्ति ! ✍️ राजकुमार राजभण्डारी खाेटाङ्गे, भक्तपुर ३७ झरी खेतबारीमा परी कठै! अन्नको सखाप ! ✍️ बिके माकजु, भक्तपुर ३८ निर्दयी कार्तिके झरी चौतर्फी गरेको मनपरी ! ✍️ कविता आचार्य, कैलाली ३९ बाढी पानी धमिलो किसानको मनै अमिलो ! ✍️ मन्दिरा सेढाई, मलेखु, धादिङ ४० प्रकोप प्रकृतिले दिएको मानवलाई असर संयोग ! ✍️ सविता के.सी., काठमाडौँ ४१ मौसम उदेक लाग्दो झरीको वितण्डा प्रताडना ! ✍️ कमला देवकोटा, पाल्पा ४२ प्रकाेप गरिबको वेदना अविरल बगेको नयन ! ✍️ चन्द्रावती अधिकारी, कोहलपुर ४३ खेत हिलाम्मे पानी किसानको बीभत्स कहानी ! ✍️ जमुना कायस्थ, लमजुङ ४४ कार्तिक अपत्यारिलो वर्षा जनधनको ठूलो क्षति ! ✍️ अग्नि सुनुवार, सिन्धुली ४५ किसान जहाज डुब्यो अझै त्यान्द्राको आस ! ✍️ गोपालप्रसाद पौड्याल, विराटचोक, मोरङ ४६ किसान बगेको धान पापी पेटको चिन्ता ! ✍️ घनश्याम पौडेल, कैलाली ४७ प्रकृति उग्र स्वरूप किसानको परिश्रम पानीमा ! ✍️ सीता पाण्डेय मरासिनी, रेसुङ्गा-९, गुल्मी ४८ किसान वर्षको परिश्रम खेतमा सारा विलिन ! ✍️ बासुदेव दनुवार, सिन्धुली ४९ बाढीपहिरो प्राकृतिक प्रकोप दु:ख छ गहिरो ! ✍️ दुर्गा अधिकारी ‘भमरकोटे’, काठमाडौँ ५० बेमौसमी वर्षाले भित्र्याउने किसानको मेहनतको सत्यानाश ! ✍️ सुमित्रा पोखरेल ५१ किसान डुबायो धान पीडादायी कृषक जीवन ! ✍️ वासुदेव ज्ञवाली, तानसेन-१, पाल्पा ५२ किसान बाढीको प्रकोप बगेछ पसिनाको मूल्य ! ✍️ शान्ति नाथ पुरी, कैलाली ५३ झरी खेतबारी डुबान चुँडेर मुखको गाँस ! ✍️ समुन्द्रा शर्मा, इटहरी
उदक साहित्य समाज नेपालले मंगलबार कार्यक्रम समिक्षा बैठक सम्पन्न गरेको छ। समाजले गत असोज २७ गते मनाइएको आफ्नो प्रथम वार्षिकोत्सब कार्यक्रमको समिक्षा गर्न बैठकको आयोजना गरेको हो।
उक्त बैठकले प्रथम वार्षिकोत्सबको कार्यक्रममा उपस्थित भएर आफ्ना अमुल्य सुझाव र रचना सहित शुभकामना राख्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गरेको थियो ।
समाजका अध्यक्ष आर्त अकुलीनको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्षद्वय वसन्त अनुभव र सविता केसी, महासचिव हिमाल अम्मै, सचिव अबोध निर्मल, सहसचिव बादल गुरुङ, सदस्यहरू सोमनाथ लुइँटेल, सरस्वती श्रेष्ठ र रोशन पराजुलीको उपस्थिति रहेको थियो। बैठकमा उदक कविताको उन्नयन र विकासका लागि आगामी दिनमा चाल्नुपर्ने रणनीति बारे छलफल गरिनुका साथै निम्न प्रमुख निर्णय गरिएको थियोे।
१) समितिका पदाधिकारीहरूले दैनिक रूपमा उदक लेखन गर्ने ।
२) साप्ताहिक रूपमा उदक वाचन कार्यक्रम सुरुवात गर्ने ।
३) कृति/सङ्ग्रह प्रकाशनमा ध्यानाकर्षण हुनुपर्ने ।
४) उदकको संरचनागत पक्षमा ध्यान दिनुपर्ने ।
५) तस्बिरमा उदक लेखनमा उत्कृष्ट उदक यात्रीलाई सम्मान स्वरूप प्रमाणपत्र दिने ।