
काठमाडौ, ६ कार्तिक । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास शृङ्खलाको पाचौं भाग शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४८ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का सञ्चालकका तर्फबाट राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खलाको पाँचौ भागको अभ्यास लागि कार्यक्रम संयोजक वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको थियो ।
अभ्यासका लागि राखिएको टुक्का
कृषिप्रधान मुलुक हाम्रो बाझैँ राख्छौं खेत,
भिसा लगाई डलर छाप्छौँ कम्ता छैन चेत ।

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१/
युवाले खेती गरि बस्दा नेता कसले पाल्ने?
रुपैयाँले कमी हुन्छ रे डलर टिप्दै फाल्ने।
✍️ ताराप्रसाद चापागाईं
२/
खेतबारीमा काम गर्न लाग्छ लाज के गरौं?
बरु डलर टिपि नेताहरुको गोजी भरौं ।
✍️ जगत थापा
बझाङ
३/
कृषिप्रधान देश अरे बाहिरबाट किन्छन् अन्न,
भाषणमा आत्मनिर्भर छौँ रत्ति लाज छैन भन्न।
✍️ अभागी ललिता
४/
खेती गर्नहुन्थ्यो समयमा मल र बीउ पाइदैन,
राहदानी दिदै भन्छ सरकार झन्झट लाइदैन।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
५/
सौखिन भए मानव कसले जोत्छन् खेतबारी,
युवा जति पलायन भए गर्दछन् वारिपारी।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४झापा
६/
कृषिप्रधान देश नेपाल केहि चाहिँदैन,
मल र बिऊ समयमा कहिल्यै पाईदैन।
✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
७/
भएका खेतबारी बेची छोरो अमेरिका पठायो,
डलर कमाएपछि छोरो खैरेनीसँग हरायो ।
✍️ शर्मिला श्रेष्ठ
ललितपुर हाल अमेरिका
८/
कृषिमा क्षति भएको समाचार मात्रै छाप्ने,
विदेशी डलर टिप्दा सबको जीवन फाप्ने।
✍️ कल्पना थामी
सिन्धुपाल्चोक
९/
खेति गर्ने जाँगर छैन् लाग्छ मनमा दिक्क,
बेमौसमी झरी अनि खडेरीलाई ठिक्क ।
✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ
१०/
दु:ख गरि गरि मरेर खेती गर्यो आउँदैन पर्याप्त दाम!
डलरको कमाई हुँदा साननै बेग्लै त्यसैमा रहेछ नाम!
✍️ प्रमोद भट्टराई ‘प्रतीक‘
कौशलटार, भक्तपुर
११/
खेतको धान बगाईलग्यो के ले पेट भर्ने,
रेमिटान्सले देश चल्दैछ किन पिर गर्ने ।
✍️ शान्ता निरौला
कन्याटार पाचथर
१२/
आफ्नो खेतमाभन्दा पहिले राम्रो हुने तक्दिर,
समाज एवंम् युवामाझ गलत बस्यो नजिर।
✍️ म्यामराज राई
भोजपुर
१३/
भनिदिए जे पनि हुन्छ झुटकै गर्छौ खेती,
घर बसि नेपाल देख्नेभन्छौ भाछैन क्षति।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
१४/
पुर्खौलीको पसिनामा दुबो रोपिगयौ,
आफ्नै पाटो बाँझो राखि मुग्लानी पो भयौ।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही १८
१५/
दिनभरि काम गर्यो हातमुख जोर्न गाह्रो,
त्यही भएर बिदेश गएं मन पारी साह्रो।
✍️ घनश्याम पौडेल
पोखरा
१६/
ल्याप्चे ठोके नक्कलेले बाँझै भए बारी,
कमाउन विदेशमा भूमी काँडाघारी।
✍️ महेन्द्र मान बलामी
दक्षिणकाली नगर पालिका-९फर्पिङ,काठमाडौ।
१७/
खेतबारीमा काम गर्दा हातमा लाग्छ अरे हिलाे,
फर्कि आऊँ युवा जति स्वदेशमा नगर्नु है ढिलाे ।
✍️ लक्ष्मी घिमिरे दहाल
दमक- झापा
१८/
भैसी काटे म म बन्ने दु:ख किन गरुँ
खेती गर्दा पाखे भन्छन् चिन्ता लाग्छ बरु ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न पा ३
१९/
अरु देशले बनाउँछन् महँङ्गा महँङ्गा गाडी,
हाम्रो देशले युवाहरुलाई पठाउँछन् खाडी ।
✍️ गणेश तामाङ वाइबा
धादिङ नेपाल
२०/
खेतीपाती छोडेर बुहारी शहर पसी,
भिख माग्ने काम रै’छ टिकटकमा बसी।
✍️ अनिल खग्रास
२१/
कृषिप्रधान देश हाम्रो हर्ने भर्ने दाता,
खुल्ने जति खुल्यो चेत डलर पिता माता ।
✍️ होम प्रसाद नेउपाने
धरान ,सुनसरी
२२/
युवाले गरे विकास मरुभूमि खाडीमा,
बुढा गोरु ड्राइभर छन् नेपाल गाडीमा ।
✍️ रिजाल विनोद
बेलबारी०२ लालभित्ती मोरङ
२३/
कृषिप्रदान देश हाम्रो भन्दै खेत राख्छन् बाँझो
बाहिरबाट अन्न मगाए मिलाई चाजोपाँजो।
✍️ सरस्वती श्रेष्ठ
इटहरी
२४/
संविधानको पानामा त कृषिप्रधान देश लेखियो।
एक मुठा साग पनि भारतबाट ल्याएको देखियो।
✍️ बादल गुरुङ वियोगी,
संखुवासभा,हाल काठमाडौं
२५/
वैदेशिक राेजगारी खुलाएर सरकार फुलाउछ छाती ,
रेमिटान्सकाे रकमले राज्य चलाउछ याे कस्ताे देशघाती ।
✍️ प्रद्युम्न चालिसे
सु न पा ५ कटुञ्जे भक्तपुर ।
२६/
किसानको चाहत राहत पाउने,
र त ज्ञानकेन्द्र , सेवाकेन्द्र धाउने।
✍️ नागेन्द्रप्रसाद यादव
दाङ ।
२७/
खनजोत गर्न गाह्रो छ नि के काे खेतीपाती?
डिभी भरेर विदेश छिरि उतै बस्न जाती।
✍️ मित्र उराठी गौतम
अमरपुर, गुल्मी
२८/
गर्यो खेती लान्छ बगाई हेर,
किसानको पसिनामात्र खेर ।
✍️ भगवती दवाडी
झापा
२९/
रोपाइँ गर्न गए मन्त्री हातपात गर्ने,
त्योभन्दा राम्रो त विदेश गई झोला भर्ने ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ हाल- प्रवास
३०/
कृषिप्रधान देशमा किसानको भयो अधोगति,
चुरोट रक्सी उत्पादकहरु बने करोडपति।
✍️ बिके मुखिया
दार्जीलिङ,भारत
३१/
भूपीले त्यसै भनेका हैनन् हल्लै-हल्लाको देश,
नकारात्मक टिप्पणीले सबथोक पार्यो शेष।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग।
३२/
कृषिप्रधान देश झरीले बिजोग पारेको,
खेतभरि भिजेको पाँजो पानीमा उमारेको।
✍️ तारा घिमिर
संखुवासभा
३३/
बाढी पस्यो खेतमा त, भिज्यो सबै धान,
नेताहरु गर्छन् सधैँ कुर्सी तानातान
✍️ हरिप्रसाद घिमिरे
बकैया३ हात्तीसुँडे,मकवानपुर
३४/
कृषिप्रधान देश भन्छ सबै बाहिरबाट मगाउँछ,
आयात गरेको ती वस्तुहरूमा चर्को शुल्क लगाउँछ ।
✍ राजेन्द्र प्रधान पासा
दार्जीलिङ ।
३५/
साह्रै गाह्राे छ गर्नलाई यहाँ घामपानीमा खेतीपाती,
ऋण खाजेर परदेश कमाउन जानुनै हाेला जाती।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही , बुटवल
३६/
नामको मात्र कृषिप्रधान देश नेपाल भएको ,
भोकमरि ब्याप्त देश जो छ अन्न मगाइरहेको।
✍️लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा
३७/
यस्तै चेत पलाएर डलर खानथाले,
पोखरी खेत बन्धकीमा राख्नथाले बाले।
✍️ पौडेल विमुन्स
पोखरा
३८/
कृषिप्रधान देशमा खाद्यान्न बाहिरबाट आउने,
किसानले मल बिउबिजन कहिले होला पाउने?
✍️ राम रावल (सागर)
अत्तरिया-कैलाली
३९/
विदेशीए युवा खेत भए मरूभूमि जस्तो,
नेपालीको पसिना विदेशमा पोखिए सस्तो!
✍️ शरद प्रधानाङ्ग
विराटनगर-७
४०/
कृषिप्रधान मुलुक हाम्रो रहेछ मात्रै नाम,
युवाहरू विदेशी जान्छन् कमाउनलाई दाम ।
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४ जुम्ला
हाल सुर्खेत
४१/
खेतीपाती गरौंभन्दा सहरको बास,
छाक टार्ने अन्न छैन बाआमाको आस।
✍️ दुर्गा आचार्य
मोरङ
४२/
वर्षा लागे बग्छ डुब्छ पाखापखेरो जिमी,
मङ्सिरमा तलाउ खेत, घरै बस तिमी !
✍️धनु शर्मा
पोखरा
४३/
कृषिप्रधान देश भन्छ,
सरकार बहिरो बन्छ।
✍️ चुडामणी ध्रुब देवकोटा
४४/
घर छोड्दा आँशु झारेथ्यौ विदेशतिर लाग्दा
विदेश पुगी बिर्सिहाल्यौ डलर पछि भाग्दा ।
✍️ रचना शर्मा प्रतीक्षा
महालक्ष्मी न.पा., ललितपुर ।
४५/
नेपाल कृषिप्रधान देश त बनायो ,
तर विदेशीकोनै मरूभूमि खनायो।
✍️ कान्छी बिनिता विश्वकर्मा
बाजुरा
४६/
गरे काम यहीँ हुन्थ्यो नि आफ्नै कुटाेकाेदालाे समाई,
गर्न लाज मान्दै गए सबै डलर खेतीमा रमाई।
✍️ दुर्गा भट्टराई
मोरङ
४७/
आफ्नो भूमिमा पसिना खोइ के गरौं,
चल्दैन गुजारा कसरी भुडी भरौं|
✍️ रिना योल्मो
दार्जिलिङ
४८/
स्वराेजगार र कृषि क्रान्ति गर्छु भन्छ सरकार,
पासपाेर्ट र भिसा बाेकिकन युवा खाडी फरार।
✍️ गणेश तिमल्सिना
धनुषा / गाेदार
:::::::: जय टुक्का ! जय साहित्य !! ::::::::


हार्दिक आभार हिमालयन दृष्टि अनलाइन पत्रिका तथा वसन्त अनुभव सर प्रति कृतज्ञता प्रकट गर्दछु। सम्पूर्ण टुक्का सर्जक ज्यू हरूमा हार्दिक बधाई तथा शुभकामना।
हार्दिक आभार हिमालयन दृस्टी परिवार साथै वसन्तअनुभव सर प्रति
सम्पुर्ण सर्जकहरुलाई हार्दिक बधाई
चाेटिला टुक्काहरू, सम्पूर्ण सर्जकहरूमा हार्दिक बधाई