१ हिमपात सेताम्य वरिपरि गरिब जिउने कसरी ? २ चिसो हिमाली हावा बर्सिने सेता रुवा ! ३ खुसी छरपस्ट हाँसो मुहारमा नहुने गुनासो ! ४ खुसी मुस्कान ओठमा छुट्टै अन्तरमनको कोठामा ! ५ पार्टी हैकम सत्ता मिचाहा साँढेको साथी ! ६ कवि साहित्य सिर्जना अपार समाजको ढुकढुकी ! ७ कवि भावनाको बोध सलल बग्ने नदी !
१३ माघ २०७८! गृह मन्त्रालयले सार्वजनिक स्थलमा जथाभावी रुपमा भद्दा मजाक‘प्र्याङ्क’ गरिएका तस्विर तथा गोप्य भिडियो बनाइ प्रसारण नगर्न निर्देशन दिएको छ । सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी प्यान्क को नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने यस्ता भिडियो बनाइ सार्वजनिक गर्ने गरेको गुनासो बढेको भन्दै मन्त्रालयले एक सूचना जारी गर्दै सबैमाझ ध्यानाकर्षण गराएको छ ।
गृह मन्त्रालयले १३ माघ बिहीबार एक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिच्ने भिडियो बनाउने र सम्बन्धित ब्यक्तीलाई जानकारी नै नदिई सहमति तथा अनुमति बिना सामाजिक सञ्जालमा प्रसारण गर्ने जोसुकैलाई पनि प्रचलित कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
‘सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै, व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न’ मन्त्रालयले उक्त सूचना जारी गर्दै सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ आग्रह गरेको छ ।
काठमाडौ, ११ माघ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १८ औं शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ७० जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
प्रयोगवादी काव्य प्रविधा टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १८औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
गर्ने त मन साह्रै थियो, प्रतिपक्षले रोक्यो, समृद्ध नेपाल बनाउने, ताला चाबी बोक्यो । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] कुनै दिन पछुताउनेछन् काममा बाधा गर्नेहरू, मुखले चिप्लाे घसीघसी पराइकाे कान भर्नेहरू ।
ताराप्रसाद चापागाईं धुनिबेसी ।
[२] हुँती छैन काम गर्ने, अझैँ छारो हाल, दुई जिब्रे ए नेता ज्यू, जिब्रो काटी फाल ।
वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[३] हुतिहारा यी नेताहरूको चाला छैन राम्रो, समृद्ध नेपाल बनाउन आफै बने चाम्रो ।
बेदु न्यौपाने काठमाडौ
[४] गर्यौ कामहरु तिमीले निकै त्यस्तै आलोचना मात्र झेल्यौ। सोचविचार गर्नुपर्छ गरेनौ नेताहरुकै खेल खेल्यौ।।
️कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[५] समृद्ध नेपाल बनाउनेले दिउँसै रक्सी पिए, देश बेचि खानेहरु छिमेकीका प्यारा भक्त थिए।
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
[६] आफू सत्तामा पुगेको बेला लाउनु पर्ने कासन, तिमी आफै कमजोर भयौ खुकुलो भयो शासन।
गुणनिधि घिमिरे
[७] देश गिद्धले चोक्टा लुछे झैँ लुछ्दा हेरेर बस्छौ, जनता अगाडी भाषण गर्दा चिप्लो मात्र घस्छौ ।
गोमा गुरागाई इटहरी
[८] समृद्धिका भाषण मात्र गर्ने होइन काम, भ्रष्टाचार र खिचातानी बिकासका नाम ।
राम कुमारी खडका तुल्सिपुर उ न पा १९ दाङ्ग ।
[९] दुवैपट्टिबाट बोल्ने नेता हुन्छ भन्छन् गर्ने त केही होइनन् जून तारा छुन्छन्।
दीपक ठटाल जलन,खरसाङ,दार्जीलिङ।
[१०] अरू दोषी बनाउने पुरानै चलन राजनीतिमा, आफ्नो सत्ता हुँदासम्म देखे पनि बोल्दैनन् बेथितिमा।
म्यामराज राई,भोजपुर हाल- जापान
[११] सवालको जवाफ दिन नसकेपछि बाहाना बनाउँछन्, आफ्ना काला कर्तुत जनता सामु ल्याएर आफै गन्हाउँछन्
अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
[१२] खाने मुखलाई जुँगाले कहाँ छेक्या हुन्छ, राम्रो काम गरे पो त मन मस्तिष्क छुन्छ ।
त्रिलाेचन भण्डारी मेचीनगर झापा
[१३] मलाई जितायौ भने देश स्वर्ग बनाउँला, अरुले नगरेपनि आफ्नैलाई गराउँला।
घनश्याम पौडेल
[१४] दौरा सुरुवाल सिलाई सके मन्त्री बन्ने पक्का, यो राजनितिक च्याखे दाउ हो हानौ चौका छक्का।
नवशिला बेलबारी-२, लालभित्ती,मोरङ ।
[१५] सत्तामा पुग्नलाई खुट्टा ढोग्न आयौ, स्वार्थ पूरा भएपछि त लुक्न लायौ ।
कमला देवकोटा, पाल्पा हाल- बुढानिलकण्ठ काठमाण्डु
[१६] नारा दिने कुरा राम्रो, काम हेर्दा भने चाम्रो ।
रचना शर्मा प्रतीक्षा महालक्ष्मी नपा ४, ललितपुर, नेपाल ।
[१७] चाबी आफ्नै हातमा दिदा, ताला चाबी बिगार्ने, चाबी हरायो भन्दै प्रतिपक्षलाई थोपार्ने ।
धर्मराज पोख्रेल
[१८] अल्छिले त बल्छि हान्छ जाँगरे फाल्छ जाल, कहिले देश बन्ने हैन यी नेताका चाल ।
इन्दिरा देवकोटा कपिलवस्तु न .पा .३
[१९] म नेता हुँ किन गर्नु मैले देश बिकासको सह्राना, राख्दिन्छु म त कार्यकर्ता सामु प्रतिपक्षको बहाना ।
पञ्चाङ्ग साहित्य समाजले साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यास शृङ्खलाको १५औँ भाग माघ ११ गते सम्पन्न गरेको छ । जसको प्रशिक्षकमा सोमनाथ लुइटेल रवि पाल्पाली र सविता के.सी. रहनुभएको थियो ।
अभ्यासमा क्रममा पाठशालामा राखिएका पञ्चाङ्गहरूको संकलन गर्ने कार्य सोमनाथ लुइटेल रवि पाल्पाली र सविता के.सी.ले गर्नुभएको थियो भने भाषिक शुद्धीकरण सुशीला पौडेल, सविता के.सी. र चन्द्रावती अधिकारीले गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको सहजीकरण रामराजा के.सी.गर्नुभएको थियो ।
अभ्यासमा ढाले हुन्छ कान्छा,पाले हुन्छ कान्छा, गाले हुन्छ कान्छा , चाले हुन्छ कान्छा , बाले हुन्छ कान्छा, भाले हुन्छ कान्छा, फाले हुन्छ कान्छा, थाले हुन्छ कान्छा, टाले हुन्छ कान्छा जस्ता अनुप्रास र स्थायी दिएर १६ अक्षरमा समपञ्चाङ्ग लेख्न अनुरोध गरिएको थियो ।
अभ्यासका क्रममा ८ जनाले समपञ्चाङ्ग र १५ जनाले पञ्चाङ्ग लेख्नुभएको थियो । जुन यसप्रकार रहेका छन् ।
________________________
समपञ्चाङ्ग ०१
नराम्रो भएको सबै कुरा ढाले हुन्छ कान्छा ढुङ्गा भएनी त्यो मनलाई गाले हुन्छ कान्छा दुश्मन छैनन् कोहि सिकाउनु पर्छ तिमिले सकेसम्म त विकृतिलाई फाले हुन्छ कान्छा अपराधको विरुद्ध कदम चाले हुन्छ कान्छा।
सरकार तिमी हामीले नै थाले हुन्छ कान्छा नेता जति सबैलाई कसै पाले हुन्छ कान्छा जनताको आँखा कहिलेसम्ममा खुल्छ होला नाराजुलुस सडकमा गोटि हाले हुन्छ कान्छा भ्रष्टाचारको विरुद्ध आगो बाले हुन्छ कान्छा।
🇳🇵सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
समपञ्चाङ्ग ०२
सामाजिक विकृति,कुकार्य फाले हुन्छ कान्छा प्रगति युक्त नयाँ पाइला चाले हुन्छ कान्छा सुन्दर हाम्रोे देश कङ्गाल बनाउनेलाई कुकर्मीको त्यो पर्खाल सारा ढाले हुन्छ कान्छा अब त देशद्रोहीको मुद्दा हाले हुन्छ कान्छा ।
सुनौलो कार्य सारा हामीले थाले हुन्छ कान्छा अन्यायको विरुद्ध कदम चाले हुन्छ कान्छा यहाँ अनेक जालझेल षड्यन्त्र बुनिए अब उठ चेतनाको ज्योति बाले हुन्छ कान्छा भ्रष्टाचारी ती कुकर्मीलाई फाले हुन्छ कान्छा ।
🇳🇵प्रेम थापा , बाग्लुङ
समपञ्चाङ्ग ०३
नयाँ काम शुरू आजैबाट थाले हुन्छ कान्छा नवीन साईतको चिराग बाले हुन्छ कान्छा भोलि भोलि भन्दा भन्दै वर्षौ त्यसै बित्नु भन्दा हिम्मत गरी आजै पाइला चाले हुन्छ कान्छा मनमा भएका डर सबै फाले हुन्छ कान्छा
देखिए भ्वाङ व्यवहारमा टाले हुन्छ कान्छा समस्याको चाँङै चाँङ लागे ढाले हुन्छ कान्छा भाग्नु हुँदैन समस्यामा झन् बल्झिन्छ डराए डरलाई तौली तौली अब फाले हुन्छ कान्छा हिम्मतको खेती गर्न अब थाले हुन्छ कान्छा ।
🇳🇵केशब न्यौपाने बेलकोटगढी नगरपालिका वडा नं ७ महादेव फाँट, नुवाकोट
पञ्चाङ्ग ०१
प्वाल परेकाे त्याे मुटु तिम्रो टाले हुन्छ कान्छा मेराे याद र कल्पना सबै फाले हुन्छ कान्छा बाटाे माेडि सकें मैले अब फर्किन्न म त्यता तिमीले बिर्सने दिन गन्न थाले हुन्छ कान्छा अाफ्नै सुरमा जिन्दगी अब ढाले हुन्छ कान्छा।
🇳🇵रामराजा के.सी. , फर्पिङ ,काठमाडौं
पञ्चाङ्ग ०२
अब देखि त्यो मनको दियो बाले हुन्छ कान्छा, मनमा केही दुबिधा भए फाले हुन्छ कान्छा। जीवन हो कहिलेकाहीँ मनमुटाव हुन्छ, उध्रिएको मन सिलाएर टाले हुन्छ कान्छा। वाधा बन्धन तोडी पाइला चाले हुन्छ कान्छा।।
🇳🇵नारायणप्रसाद निरौला, काठमाडौँ।
पञ्चाङ्ग ०३
नविन कार्य हुँदा आजैदेखि थाले हुन्छ कान्छा नयाँ साईत शुभारम्भ गर्न बाले हुन्छ कान्छा काम धेरै साँच्नु पनि हुदैन भन्छन् नि सबैले त्यसैले हिम्मतिलो भै पाइला चाले हुन्छ कान्छा आफ्नो ईच्छा अनुसार जिन्दगी ढाले हुन्छ कान्छा ।
🇳🇵दुर्गा भट्टराई , मोरङ
पञ्चाङ्ग ०४
घरिघरि दुख्ने मुटु तिम्रो टाले हुन्छ कान्छा हरपल सम्झनाको दियो बाले हुन्छ कान्छा ठगेपनि नियतिले बिर्सिएको छैन मैले आउँदैछु भेट्न दिन गन्न थाले हुन्छ कान्छा दुःखका ती दिन अब टाढा फाले हुन्छ कान्छा
🇳🇵पुष्पा नेपाल(सुवेदी ) , इलाम
पञ्चाङ्ग ०५
पाकेकाे काक्राेकाे अचार त हाले हुन्छ कान्छा । खेति किसानिले वस्तु भाउ पाले हुन्छ कान्छ । इलम गर्ने समयमा चुप नलाग है त शरिरकाे ज्युदाे जागर नि चाले हुन्छ कान्छा । सुकेकाे दाउरा भान्सामा नै बाले हुन्छ कान्छा ।
🇳🇵 मधुसूदन प्र घिमिरे
समपञ्चाङ्ग ०४
तिमीले अब आफ्नु कदम चाले हुन्छ कान्छा, अबदेखि मलाई बिर्सन थाले हुन्छ कान्छा। यदि संगै जीवन बिताउन सकिँदैन् भने, ती याद आउने कुरा सबै फाले हुन्छ कान्छा, फाल्दा भेट्लान अरुले सबै बाले हुन्छ कान्छा।
मेरा कुराले चोटछ भने टाले हुन्छ कान्छा, तिम्रो त्यो कठोर मन अब गाले हुन्छ कान्छा। बाटो अब अलग भैनै सक्यो हामी दुईको, मलाई बिर्सने दिन गन्न थाले हुन्छ कान्छा, तिम्रो जीवन आफ्नै तालमा ढाले हुन्छ कान्छा।
🇳🇵दुर्गा आचार्य , मोरङ
समपञ्चाङ्ग ०५
जाडो धेरै भएको छ आगो बाले हुन्छ कान्छा कुहिएका ठुटा मुडा सबै ढाले हुन्छ कान्छा जोगाई राखेकैहो यही जाडोलाई भनेर साँझ तीनपाने संग खान भाले हुन्छ कान्छा चाडै गर पानी तताउन थाले हुन्छ कान्छा।
बेसार अदुवा पकाउन थाले हुन्छ कान्छा तुलसी गुर्जो निम बारीमा हाले हुन्छ कान्छा सिटामोल सम्म पुर्याउन सक्दैन मेरो देश आयुर्वेदिक ओखतीले ज्यान पाले हुन्छ कान्छा जडीबुटी बनाउन सोच चाले हुन्छ कान्छा।
🇳🇵पद्मा रिजाल ,बाके कोहलपुर
पञ्चाङ्ग ०६
अब हामीले नै सुरु गर्न थाले हुन्छ कान्छा भ्रष्टाचारि नेता हरुलाई चाले हुन्छ कान्छा धेरै भयो राजनिति खेल पनि घीन लाग्ने देशै बेच्ने नेता हरुलाई फाले हुन्छ कान्छा सामान्तबाद जरा देखि नै ढाले हुन्छ कान्छा
🇳🇵चेतना पोखरेल , मोरङ
समपञ्चाङ्ग ०६
भित्री मनमा उज्यालाे दीप बाले हुन्छ कान्छा , आफ्नै गाउँ बस्ती बनाउन थाले हुन्छ कान्छा जवानी र बैँस पाेख्याै कठै! पराई भूमीमा, अब अाफ्नै भूमिमा पाइला चाले हुन्छ कान्छा। पर्देशकाे लाेलुपता अब ढाले हुन्छ कान्छा।
भित्री मनैबाट मेराे नाम फाले हुन्छ कान्छा काेही अरुलाई बसाउन थाले हुन्छ कान्छा । मेरी मुटु मेरी रानी मेरी जिन्दगानी भन्थ्याै , बाटाे माेडेर अन्तै पाईला चाले हुन्छ कान्छा याे विश्वासकाे सगरमाथा ढालेहुन्छ कान्छा।
🇳🇵चन्द्रावती अधिकारी , बाँके कोहलपुर
समपञ्चाङ्ग ०७
आजै देखि तिम्रो कु-विचार फाले हुन्छ कान्छा सके देखि त अाजै सत्कर्म थाले हुन्छ कान्छा मरि लानु केही छैन सु- मार्ग त्यो रोजे हुन्छ प्रगतिको पथमा कदम चाले हुन्छ कान्छा यहाँ परिवर्तनको दीप बाले हुन्छ कान्छा।
सत्कर्म तिमीले अाजै देखि थाले हुन्छ कान्छा पूरा नहुने सारा रहर फाले हुन्छ कान्छा धन सम्पत्ति केही हैन स्वाभिमान हो ठूलो फाटेको मन त्यो विचारले टाले हुन्छ कान्छा चेतनाको दीप त हजुर बाले हुन्छ कान्छा।
🇳🇵निर्मला सुवेदी “जिज्ञासु”,बागलुङ।
पञ्चाङ्ग ०७
कलम समाइ अब लेख्न थाले हुन्छ कान्छा अन्याय र सामन्तीको काँडा फाले हुन्छ कान्छा सल्कन्छ दनदन क्रन्तीको ज्वाला त मनमा समाजको निमित्त कदम चाले हुन्छ कान्छा अत्याचारीको वोटलाई नै ढाले हुन्छ कान्छा।
🇳🇵सरिता काफले , बाँके कोहलपुर
समपञ्चाङ्ग ०७
घरका प्वाल परेका भित्ता टाले हुन्छ कान्छा। नराम्रा कुरा भए जति सबै ढाले हुन्छ कान्छा। जिन्दगीमा उतार चढाव आउँदो रहेछ, यस्ता उतार चढाव जति फाले हुन्छ कान्छा। राम्रो कार्यको लागि कदम चाले हुन्छ कान्छा।
हामीले अघि बढ्न पाइला चाले हुन्छ कान्छा। हाम्रा भएका दुश्मन जति ढाले हुन्छ कान्छा। अगाडी बढ्नेको खुट्टा तान्ने काम हुन्छ सधैं, कुकार्य गर्नेलाई पछाडी फाले हुन्छ कान्छा। केही गर्छु भन्नेलाई सधैं पाले हुन्छ कान्छा।
🇳🇵सुशीला पौडेल , काठमाडौं
पञ्चाङ्ग ०८
समाज मेरो बिगार्ने तत्व फाले हुन्छ कान्छा । उखेल्न जरा पाइला आजै चाले हुन्छ कान्छा । हैकमवाद त्यो तानाशाह जलाऊ मिलेर , विकृति सारा सदाको निम्ति टाले हुन्छ कान्छा । सङ्कोच जति विशाल खम्बा ढाले हुन्छ कान्छा ।
🇳🇵आर्त अकुलीन, कैलाली
पञ्चाङ्ग ०९
तिम्राे चाला बुझि सकें गाेटी चाले हुन्छ कान्छा मन भित्र प्वाल भए टालाे हाले हुन्छ कान्छा धेरै दिन टिक् दिन्न कुकर्मकाे खेल रैछ रिस राग द्वेश भए भित्रै गाले हुन्छ कान्छा आफ्ना मान्छे भए मुद्दा दिन थाले हुन्छ कान्छा
🇳🇵सुरेश चन्द्र घिमिरे, लमजुङ
पञ्चाङ्ग १०
प्रगतीको लागि त पाइला चाले हुन्छ कान्छा। खराब काम गर्ने जो कोही ढाले हुन्छ कान्छा। जिन्दगीमा रिस र डाह गर्ने धेरै मान्छे छन्, नराम्रो व्यक्ति सदाको लागि फाले हुन्छ कान्छा। राम्रोलाई त सदाको लागि पाले हुन्छ कान्छा।
🇳🇵ह्यारिस ह्यारिसन काठमाडौं
पञ्चाङ्ग ११
अब त तिमीले गाईवस्तु पाले हुन्छ कान्छा, ती मलहरू जति बारीमा फाले हुन्छ कान्छा। खाँडी मुलुक ताकी सबै किन त्यतै जान्छौ र? रगत पसिना यै माटोमा गाले हुन्छ कान्छा, आफ्नै राष्ट्रमा उद्योग धन्दा थाले हुन्छ कान्छा।
🇳🇪अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
पञ्चाङ्ग १२
राम्रो काम गर्न आजबाट थाले हुन्छ कान्छा चेतनाको दियो समाजमा बाले हुन्छ कान्छा जन्मिए पछि एक्दिन मर्नु पर्छ के छ लानु अंहम घमण्ड मन देखी फाले हुन्छ कान्छा परिश्रम गरि अभाव त्यो टाले हुन्छ कान्छा ।
🇳🇵तारा घिमिरे संखुवासभा
पञ्चाङ्ग १३
साँझ पर्यो त रिमिक्क बत्ती बाले हुन्छ कान्छा भित्र पसेर भान्सामा गर्न थाले हुन्छ कान्छा आज जाडोमा पाहुना सत्कार गर्न पर्नेछ पिरो चाहिँ अलि कडा कडै हाले हुन्छ कान्छा
टुक्रा टाक्री हरू भरे भरे फाले हुन्छ कान्छा
🇳🇵गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
पञ्चाङ्ग १४
वर्षाको भेल उर्लेर आयो थाले हुन्छ कान्छा बोलीमा हाँसो, मनमा लड्डु पाले हुन्छ कान्छा दुई हात भए मेल बजाउँदा भयो ताली आँटमा बाँच्ने, द्विविधा भए फाले हुन्छ कान्छा जीवनको पाइला हो, अब चाले हुन्छ कान्छा ।
🇳🇵सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग १५
कुनै पनि कर्म गर्न छिटै थाले हुन्छ कान्छा दुःख सुख जे जे पर्छ ऐले फाले हुन्छ कान्छा अाँट मात्रै गर तिमी असम्भव केही छैन भाेलि भन्ने हैन अाजै प्राेसेस् चाले हुन्छ कान्छा समस्याका दुला सबै राम्रो टाले हुन्छ कान्छा
२५ जनवरी २०२२, साउदी अरब ! बिगत केहि दिन देखी साउदी अरवको जेद्धामा बिरामी परि छटपटाइरहेका जाजरकोट घर भएर बिगत २५ महिनाअगाडि न्यु वल्ड ओभर्जिस बाट साउदी आएका आएस रानाको एनआरएनए साउदी अरबले सम्पुर्ण उपचार तथा खाना खर्च र बस्नका लागि सेल्टरको ब्यबस्था गरेको छ ।
बिरामी परि कोठामा छटपटाइरहेका भिडियो भाइरल भए लगत्तै एनआएएनए साउदीका अध्यक्ष डम्बर यादवले उहाँको उद्दारका लागी महाबाणिज्य दूतावास जेद्दामा समन्वय गरि सम्पुर्ण उपचार खर्च, खाना खर्च र सेल्टरको ब्यबस्था गरि पीडितलाई आज सेल्टरमा लगिएको छ । उक्त कम्पनीमा कार्यरत उहाँहरुलाइ कम्पनीले इकमा पनि नदिएको, करार अबधी सकिंदा समेत नेपाल पनि नपठाएकोले अलपत्र अबस्थामा रहेका थिए । ९ जना नेपाली मध्ये एकजना लमिन लामा पहिलेनै नेपाल फर्किसकेका र अरु ६ जना आज २५ जनवरी का दिन दिउसो २:१५ बजे अल जजिरा एयर मार्फत कुवेत हुँदै नेपाल फर्किएका जेद्वा महाबाणिज्य राजदुतावास तथा एनआरएनए साउदीका अध्यक्षले जानकारी गराएका छन्।
आजको फ्लाइटमा स्वदेश फर्कनेहरुमा सल्यानका यम ब पुन:मगर, हस्त ब पुन: मगर ,सर्लाहीका जितेन्द्र सिङ्दवा,स्याङ्जाका जीवन जेठ्ठी मगर, रुकुमका सुशील बुढा र धन बहादिर बिश्वकर्मा रहेका छन् । भने बिरामी आएस रानाको साउदीमा केस रहेको र मेग बहादुर कल्लीको बहिर्गमनका लागि आवाश्यक पेपर तयार नभएकोले अहिले उडान नभएको उनीहरु दुवैलाइ आज बेलुकी जेद्दाको सेल्टरमा राखिएको अध्यक्ष यादवले जानकारी गराए ।।
उहाँको यो अबस्थाको भिडियो भाइरल भए लगत्तै “साउदी अरबमा हामी नेपाली” भन्ने ग्रुपका एड्मिन हरु चन्द्र चुदाली, रवि साप्कोटा, एनआरएनए साउदिका अध्यक्ष डम्बर यादव, तथा नि वर्तमान उपाध्यक्ष बिशाल श्रेष्ठ, एनआरएनए आरसिसि अध्यक्ष रमजान दिन मियाँ, हरुले उद्दारका लागि महाबाणिज्य दूतावास जेद्दामा समन्वय गरि उद्दारका लागि अनुरोध गराएका थिए । बिरामी राना र अर्का मेघ बहादुर कल्लिको नेपाल फिर्तिको लागि पनि महाबाणिज्य दूतावास जेद्दाले पहल गरिसकेको र केही दिनमा नै उहाँहरु पनि नेपाल फर्किने जानकारी अध्यक्ष यादवले जानकारी गराए ।।
टुक्का साहित्य समाजकाे नियमित टुक्का लेखन अभ्यासकाे सिलसिलामा “सफल” शीर्षकमा टुक्का लेखन अभ्यास गरिएको थियो । जसको प्रशिक्षण टुक्का प्रवर्तक ताराप्रसाद चापागाईंले गर्नुभएको थियो । उक्त अभ्यासमा ५६ जना टुक्काकारको सहभागीता रहेको थियो ।
अभ्यासमा सृजना गरिएका टुक्काहरू
[१] अभियानमा अघि बढ्दा बाधा थिए पलपल निरन्तरकाे साधनाले आखिर भयाे सफल । ✍️ ताराप्रसाद चापागाईं धुनिबेसी ।
[२] गरे काम असम्भव हुनै छैन कुनै पल, इमान्दार र मेहनतले होईन्छ सफल। ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
[३] तिमीलाई भेटाउने बाचा थियो हरपल इन्टरनेटले साथ दियो भएँ म सफल । ✍️ गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
[४] आदर्शले चुमिराख्नु सुन्दर जीवन पल, उत्साहित नै सधै बनुन हुनुलाई सफल। ✍️ रामजी लामिछाने पाेखरा २७ ।
[५] हरेक कुरामा उ थियो र पो अब्बल, भएरै छाड्यो आज जीवनमा सफल। ✍️ लालीमाया थापा मगर प्युठान
[६] शिलाबाट टुसाएको पिपल नै हेर लड्दै उठ्दै गर्छु म त नगरेर देर। ✍️ महेन्द्र मान बलामी दक्षिणकाली-९ ,फर्पिङ ,काठमाडौ।
[७] जब देशमा जनसागर उम्लियो त्यो पल, गणतन्त्र ल्याउँन हामीहरू भयौं सफल। ✍️ सुरेशकुमार पान्डे दाङ घोराही-१८
[८] असफलता नै हो सफलताको कडी, चिन्नु र समात्नु पर्दछ बरु त्यो घडी। ✍️ घनश्याम पौडेल सृजना चोक, पोखरा
[९] बासुरीको धुन सुन्दै लेखे गित गजल टुक्का लेख्ने कलामा नि आज भए सफल । ✍️ माधवी भट्ट सुर्नया ३ (बैतडी )
[१०] विदेशमा काम गर्दा याद आउछ घरको हरपल, साहुको गुलामी गरेर कहिले हाेला जीवन सफल ? ✍️ लक्ष्मी श्रेष्ट बिर्तामोड झापा
[११] खन्दाखन्दै अग्लो पहाड नि बन्दोरैछ सम्म, सफल हुन मेहनतले बन्नुपर्छ टम्म । ✍️ गंगा खड्का बूढानीलकण्ठ काठमाडौँ
[१२] प्रयास जारी गरिराखे, भइन्छ एकदिन सफल, खाली लक्ष्य स्पष्ट हुनुपर्छ हाम्रो नभई अलमल । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[१३] गर्दा काम हुन्न कुनै असम्भवको पल मेहनतको कमाई हुन्छ सधैं सफल । ✍️ दुर्गा भट्टराई मोरङ
[१४] हार भयो भन्दैमा नसोच्नु त्याे अन्तिम असफल संघर्ष गरे भइन्छ एकदिन अवस्य सफल । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
[१५] आकाङ्क्षा रोपेर आयौं बगैंचामा सृजनाका फूल राम्रा, माली बनेर निरन्तर सेवाले सफलता दिन्छ हाम्रा। ✍️ होम प्रसाद न्यौपाने धरान,सुनसरी ।
[१६] जस्तो राेप्याे उस्तै मिल्छ हामीलाई फसल, निरन्तर कर्म गराैँ हुनलाई सफल । ✍️ केशवप्रसाद ढकाल `प्रीतबीज´ गाेरखा ।
[१७] उच्च शिखरमा पुग्न प्रयास गर्दै हिंडेथें पलपल, हरेक दिनको प्रयासले भएँ म पुग्नलाई सफल । ✍️ बेदु न्यौपाने काठमाडौ
[१८] रिस राग गरेर हुन्न है सफल माया र ममतामा हुनुपर्छ बल । ✍️ बिनिता विश्वकर्मा बिनु बुढिगंगा नगरपालिका ९, बाजुरा
[२०] कान्तिपथ रोजेर पुग्नुछ सफलताको बाटोमा नाम लेखाइ कर्म गरि मर्नुछ नेपाली माटोमा । ✍️ जमुना आचार्य सिन्धुपाल्चोक
[२१] मनबाट गरौंँ सबले असल हुनेछौं हामी अब यहाँ सफल । ✍️ नीमा भोटिया जलढक्का /कालेबुङ
[२२] सफलता हासिल गरेर जान थालेको अगाडि विफलताले लात्ती हानेर फेरि पुरायो पछाडि। ✍️ संझना कुसुम कास्की
[२३] लक्ष्य लिएर हिँड नगरी अलमल एक दिन अवस्य नै हुनेछौ सफल। ✍️ सरस्वती श्रेष्ठ इटहरी ।
[२४] चलमलाएका क्षणहरु शिखर चुमेर बढ्न सम्झिएओरालो भिरमा पनि पाइलाहरु अगाडि चढ्न तम्सिए ।✍️ अम्विका अधिकारी विर्तामोड झापा।
[२५] बाधा अड्चन आए नि काम गराैँ हरपल निरन्तरकाे प्रयासले भइन्छ है सफल। ✍️ प्रेम कला चापागाईं मेचीनगर १२ झापा।
[२६] हारे पनि रत्तिभर नघटाउनु आत्माबल मेहनत गरि अगाडि बड्दा भइन्छ सफल । ✍️ दुर्गा सानु खड्का खोटेहाङ-२ खोटाङ हाल काठमाडौं
[२७] सुकर्म गर्ने गरे हुन्छौ तिमी असल, तिम्रो कार्यक्षेत्र बन्ने छ यसै सफल । ✍️ भगवती दवाडी झापा
[२८] जीवन हुन्छ सफल गरे राम्रो कर्म यही नै हो पालना गर्ने मानव धर्म । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरंग हाल- प्रवास
[२९] लगनशीलता नै त सफलताको सूत्र देश बचाउन लागि पर्ने नै भूमी-पुत्र। ✍️ परिक्रमा श्रेस्ठ धरान- सुनसरी ।
[३०] अथक अभ्यास गर्नु पर्छ हरपल, एकदिन अवश्य नै भइन्छ सफल। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
[३१] पहरा नचढी शिखर पुग्न सफल कोही भा’काे छैन पौरखीलाई शिखर नपुगी त आउँछ र कहाँ चैन। ✍️ दीपक ठटाल जलन खरसाङ, दार्जीलिङ।
[३२] अन्धकारमा रुमल्लिई कति हामी त्यसै घुम्ने, उद्देश्य लिनुपर्छ सफलताको मन्जिल चुम्ने । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६, दोलखा ।
[३३] छैन धन दिनलाई खाली एउटा मन सफल हुनु नै जीवनको अमुल्य धन। ✍️ दुर्गा आचार्य मोरङ
[३४] असफल भएपनि मेहनत जारी राख्नु , सफल हुन्छ अवश्य नै सुस्त-सुस्तरी चाख्नु । ✍️ रामकृष्ण दुवाडी पाेखरा ।
[३५] गरेका काम सबै कहाँ कसको हुन्छ सफल, निरन्तर काममा लाग्ने को छ खोइ असफल ? ✍️ बिके माकजु भक्तपुर ।
[३६] निरन्तर गरेपछि, हुन्छ कार्य सफल , खुशी हुन्छ मनमा, हरदम हरपल । ✍️ बुद्धिमान चौधरी कनकाई नगरपालिका ४ झापा ।
[३७] असफलता त सधैं अनाथ हुन्छ सफलताले आफन्तको मन छुन्छ। ✍️ मन्दिरा सेढाई मलेखु, धादिङ ।
[३८] अध्ययन अभ्यासले चुलिनेछ सफलताकाे सिँढि , टुक्का लेखन अभ्यासमा लम्किउन् नव-युवा पीँढि। ✍️ प्रद्युम्न चालिसे भक्तपुर ।
[३९] महामारी चल्छ गास, बास, कपास,नहुदा धनले सफल हुन्छन ति कर्मठ प्याक्ति आनन्दित मनले। ✍️ जि कुमार गौतम भद्रपुर -१ पृथिविनगर, झापा।
[४०] सफल हुन नम्रताको आवश्यक थियो परिस्थिति ले पनि आज धेरै साथ दियो। ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका- ॰४, जुम्ला
[४१] बोकेर मनमा साहस अघि हामी बढें रोकिन्न पाइला सफलताको सिँढी चढे। ✍️ इन्दिरा देवकाेटा कपिलवस्तु ।
[४२] संघर्ष गरि अघि बढ्न सके जीवन सफल बन्छ याे मनले पनि सधैं प्रगतिको शिखर चुम्छु भन्छ । ✍️ तारा घिमिरे सङ्खुवा सभा
[४३] मेहनतकाे पसिनाले सगरमाथा चुम्नु निराशाकाे पर्दा च्यातेर उल्लाससँग झुम्नु। ✍️ मित्र उराठी गाैतमड तिलाेत्तमा न पा-२, रुपन्देही ।
[४४] सत्मार्गमा लागि नित्य गरौं कर्म हामी असल, श्रम र सीप मिलेपछि हुन्छ जीवन सफल। ✍️ शम्भु लाल श्रेष्ठ नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाडौं।
[४५] सफलता खोज्नु पर्छ,बोले टर्छ हाँने मर्छ, उद्धेश्य र लक्ष्य भेट्न सही बाटो रोज्नु पर्छ ! ✍️ बिबस पारदर्शी भद्रपुर न० पा-२, झापा ।
[४६] गरेपछि राम्रो काम जीवन सफल बन्छ असल कर्म गर्नेलाई दुनियाले नि गन्छ । ✍️ विक्रम तिरुवा सलिन तिला गाउँपालिका-३ कुडारी जुम्ला।
[४७] राम्रो काम को राम्रै हुन्छ नि त फल हिक्मत नहारी बढाओैैँ आत्मा बल । ✍️ प्रेम सुनार दैलेख ।
[४८] उमेर भन्नु नम्बर हाे जान्छ गन्दै दिन चाहना छेकिदैन सफलतालाई चिन। ✍️ मेनुका खड्का धुलिखेल ।
[४९] काम गर्दा दुख हुन्छ नहुनु कतै अलमल अठोट अनि परिश्रमबाट बनिन्छ सफल । ✍️ रामकुमारी खड्का दाङ ।
[५०] सफलता नै दुइ हातको कमाइ जीवन चल्छ दुइ साथको थमाइ । ✍️ सुरेखा चाम्लिंग भक्तपुर ।
[५१] लाएर दिल गरेमा काम बनिन्छ सफल जाँदैन खेर पसिना पनि भनिन्छ असल। ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा ।
[५२] भाग्यले पनि मलाई नै साथ दियाे, सफलता हासिल गर्ने मन थियो। ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही-१४ बुटवल ।
[५३] नित्य ध्यान पूर्वक गरेको छ भने बल कठिन कार्यपनि हुनेछन् सधैँ सफल। ✍️ प्रकाश बुढाथोकी असम, भारत।
[५४] संघर्षको रुख धेरै बढ्यो झ्याङ्गिएर शीतल देला सोचेको गयो बाङ्गिएर। ✍️ लिली अधिकारी पाेखरा ।
[५५] जिन्दगीमा हर्दम सफल भई जिउँछु भन असफल भए कोसिस गर, नदुखाऊ मन । ✍️ रचना शर्मा प्रतीक्षा ललितपुर ।
[५६] टुक्का कवितामा हात समाएर लेखाउछन् नयाँ सर्जक लाई सफल बाटो देखाउछन्। ✍️ राम रावल सागर कैलाली ।
[५७] लक्ष्य प्रतिकको कठिनाईहरु कति आउँछन कति, जिवन सफल हासिल गर्न राम्राहरूको सिक मति। ✍️ अच्युत घिमिरे भुटान ।
[५८] सफलताको कथा लेख्न गर असल काम, दुनियाले सम्झिरहोस् सधैँभरि तिम्रो नाम। ✍️ नवशिला बेलबारी-२, लालभित्ती,मोरङ ।
[५९] असफल भन्ने शब्दकाे खाेजिनिन्दा नगर, सफल तिमी सदा छाै अरू भ्रममा नपर । ✍️ शान्ति याक्साे काठमाडौं ।
[६०] सफल त्यो होइन जो सधैँभरि सुखी हुन्छ सफल त त्यो हो जस्ले दुख झेल्दै सुख बुन्छ। ✍️ धर्मराज पाेख्रेल माेरङ्ग ।
[६१] ज्ञान हासिल गर एकदिन सफल बन्नेछौं सफलता प्राप्तिले एकदिन शिखर चुम्नेछौं। ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ।
[६२] निर्धक्क भई काम गरेँ सफल हुन गाह्रो भयो आज ती सपना सबै चकनाचुर भै उडि गयो । ✍️ ललिता अभागी सुनकोशी-५ सुनकोशी ।
[६३] इमान्दारमा लुकेको हुन्छ नैतिकताको बल, उछिन्छ खराबीलाई एक दिन हुन्छ सफल । ✍️ कर्ण दयाल मेलौली नगरपालिका ७, बैतडी ।
[६४] आफ्ना मान्छे ठाँउमा भए सबै कुरामा नै हुन्छौ हामी नि सबैमा सफल चिनेजानेका नभेटिएमा केहि काम लाग्दैन भए पनि आफु दखल । ✍️ पवन कुमार बुढाथाेकी काठमाडाैँ ।
[६५] धैर्य अनि लगनले सफल हुन्छ जुनी आत्तिएमा मात्तिएमा जीवनभर रुनी। ✍️ मनोहरी पौडेल गैडाकोट १ >>> जय टुक्का! जय साहित्य!! <<<
२४ जनवरी २०२२! साउदी अरब, सिरहा, सुखचैन गा.बी.स ८ घर भइ ९ पाँच बर्षदेखि सम्पर्कबिहिन रहेका दुखि मण्डललाई खोजी गर्नका लागि परिवारले सबैमा आग्रह गरेको छ ।
रोजगारीको सिलसिलामा विगत डिसेम्बर २०१२ मा साउदीको अल अनवर इस्टर्न कन्ट इ. एस.टि. कम्पनीमा आएका मण्डल ५ बर्षदेखि साउदीमा हराएको र सम्पर्क बिहिन भएपछि अहिले उहाँलाई खोजी गरिदिनका लागि उहाँका परिवारले साउदीमा रहेका सबै संघसंस्था तथा दूतावासलाई अनुरोध गरेका छन् ।
परिवारका अनुसार पहिले कुरा हुने गरेको प्लम्बर काम गर्ने गरेको भए पनि पाँच बर्ष देखि सपर्कबिहिन रहेको न्युज मधेसको अन्तवार्तामा जनाएका छन् ।
हामी पनि उहाँलाई खोजी गर्नका लागि साउदी अरबमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी , संघसंस्था तथा दूतावासलाई उहाँको खोजी कार्यमा सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछौं । यदि कहि कसैले उहाँको बारेमा जानकारी पाउनासाथ नेपाली दूतावास रियाद अथवा तल दिएका ब्यक्तिहरुलाई जानकारी गराउन हुन पनि अनुरोध गर्दछौं ।।
सम्पर्क नं- विशाल श्रेष्ठ 0535470253 रम्जान दिन मियाँ 0530044702 कृष्ण अधिकारी 0556036023 धुर्ब कटुवाल 050 015 7568
घोराही,१० माघ/ घोराही कारागारबाट भागेका कैदी यमराज परियारलाई प्रहरीले एक महिना पछि पक्राउ गर्न सफल भएको छ । उपचारका लागि भन्दै अस्पताल लगिएका परियार गत पुस ८ गते साथमा गएका प्रहरी जवानको मोटरसाईकल लिएर भागेका थिए ।घटना लगत्तै जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुुकुुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले परियारलाई नेपाल भारतको सिमा जमुुनाह नाका क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो । कर्तव्य ज्यान मुुद्धामा २० बर्ष कैद तोकिएका राजपुर गाउँपालिका ३ घर भएका २९ बर्षिय परियारलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।कारागारबाट अस्पताल जाने भनि निस्कीएका प्रहरी जवान धनबहादुर चौधरी र परियार अस्पताल नगई घोराही कै थकाली रेष्टुुरेन्टमा दुुई जना महिला सहित गएका थिए । त्यही होटलबाट प्रहरी जवान चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाईलमा परियार भागेका थिए ।अर्को दिन मोटरसाईकल लमहीको जंगलमा फेला परेको थियो । उक्त घटनामा अहिले प्रहरी जवान चौधरी र उनि सँग होटलमा बसेकी तुलसीपुर १० की समि चौधरीलाई गत पुस १९ गते दाङ देउखुरी जिल्ला अदालतले पुुर्पक्षका लागि कारागार चलान गरेको छ ।पक्राउ परेका कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरीसंग १० हजार र प्रहरी हवल्दार गणेशकुुमार थारुलाई ५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । सो घटनामा होटल सञ्चालक सौजन्य खनाल र घोराही १६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।साथै पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भने कारागार बिभागले मुद्धा चलाउन अनुमति नदिए पछि गत पुस १६ गते रिहा भएका थिए । २० वर्ष कैद सजाय तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका थिए ।कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैद म्याद तोकिएको कैदी भागेमा पक्राउ पछि बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था गरेको प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन ।
उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको चौधौँ शृङ्खला मिति २०७८ साल माघ महिनाको ९ गते आइतबार सम्पन्न भएको छ ।
उक्त उदक वाचन कार्यक्रमका प्रमुख अतिथि पञ्चाङ्गका प्रवर्तक साहित्यकार सोम लुइटेलले साप्ताहिक उदक वाचन कार्यक्रमक महत्त्व माथि प्रकाश पार्दै उदक वाचन सहित कार्यक्रमबारे निरन्तर सफलताको शुभकामना राख्नुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष तथा खोरिया विधाका प्रर्वतक वरिष्ठ साहित्यकार जनार्दन अधिकारी धड्कनले कार्यक्रमबारे आफ्ना गहन विचार राख्नुको साथै आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय बाछिटा प्रतिष्ठानका अध्यक्ष साहित्यकार खगेन्द्र बस्यालले कार्यक्रमको समीक्षा गर्नुको थियो । उहाँले आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुको साथै उदक वाचन कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उदक वाचन कार्यक्रमको चौधौँ शृङ्खलामा उर्मिला पन्त पाण्डेय, भवानी घिमिरे, केशव ढकाल, प्रेम थापा, सविता केसी, निर्मला सुवेदी, सरस्वती श्रेष्ठ, सम्झना कुँवर, वसन्त अनुभव, बुद्धिप्रसाद लामिछाने, बालकृष्ण खनाल, जनार्दन अधिकारी धड्कन, खगेन्द्रप्रसाद बस्याल,सोमनाथ लुइटेल, सुशिला ढकाल, आर्त अकुलीन र हिमाल अम्मै लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।
बत्ती गएपछि प्राविधिक कठिनाइका कारण आफू सहित अन्य स्रष्टाहरूलाई समेत जोड्न नसकिएको उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनु भयो ।
उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालका महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।