• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

  • ९ माघ २०७८, आईतवार २०:१६ मा प्रकाशित
  • ९ माघ / मोटरसाइकल दुर्घटना हुँदा देउखुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुर बस्ने अन्दाजी २५ वर्षिय अरुण देबकोटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।सोही मोटरसाइकलमा सवार चितवन भरतपुर ७ बस्ने राम प्रसाद सापकोटा घाइते भएका छन । आइतबार बेलुका लमही देखि गढवा तर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरित दिशा बाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका वडा नम्बर ४ बलामपुरमा दुर्घटना भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका देबकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उनको टाउकामा गहिरो चोट लागेको छ । त्यस्तै घाइते सापकोटाको सामान्य उपचार पछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भैरहेको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमा हुने

  • ९ माघ २०७८, आईतवार ११:४४ मा प्रकाशित
  • ९ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जानकारी दिएको छ ।

    शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

    उनले भने, ‘अहिलेसम्मको परिस्थितिमा एसईई वैशाखमा र जेठमा १२ को परीक्षा गर्ने  हामीले निर्णय गरेका छौं । अब चाँडै परीक्षा तालिका सार्वजनिक गर्छौं ।’कोभिडको कारण यो वर्षको शैक्षिक सत्रको पठनपाठन केही ढिला भएकोले परीक्षा केहीपछि गर्ने निर्णय बोर्डले गरेको उनले बताए ।कोभिडको कारण विद्यालय बन्द भएकोले बोर्डले तोकेको समयावधिको अवस्था हेरेर कुन मोडालिटीमा परीक्षा गर्ने भन्ने निर्णय गर्ने शर्माले बताए । उनले भने, ‘अहिलेको समयलाई हेरेर परीक्षा गर्नसक्ने सबै परिस्थितिलाई आंकलन गरेर हामीले कसरी कुन मोडालिटीबाट गर्ने भन्ने कुराहरु अलि पछि गर्छौं ।’

    यो वर्षको शैक्षिक सत्रलाई अप्ठ्यारो नपर्नेगरी विद्यार्थीको सुविधालाई ध्यानमा राखेर चैतभर पठनपाठन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय बोर्डले गरेको जनाएको छ ।

    एसईईको परीक्षा प्रदेशस्तरीय गराउने बोर्डको तयारी

    बोर्डले यही शैक्षिक सत्रदेखि कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउने तयारी थालेको जनाएको छ ।

    संविधानले, शिक्षा ऐनले कक्षा ८ को स्थानीयस्तरीय कक्षा १० को प्रदेशस्तरीय र कक्षा १२ को राष्ट्रियस्तरीय हुनुपर्ने व्यवस्था गरे अनुरुप गर्ने तयारी भइरहेको बोर्डका अध्यक्ष शर्माले बताए । ‘संविधानको मर्म अनुसार परीक्षाको व्यवस्थापन हुनपर्छ । अब हुने परीक्षाहरू त्यहीअनुसार व्यवस्था हुनुपर्छ भन्ने लाइनबाट धेरै कुराहरू भएका छन् ।’ उनले भने, ‘प्रदेशलाई व्यवथापकीय पक्षमा कसरी धेरै संलग्नता गराउने भन्ने छलफल भइरहेको छ । यही वर्षदेखि प्रदेशस्तरीय गराउने तयारीमा जुटेका छौं ।’

    बोर्डले अब संघीय शिक्षा ऐन पनि त्यही अनुरुप बन्नुपर्छ भनेर काम गरिरहेको समेत शर्माले जानकारी दिए ।

    Posted in ताजा अपडेटLeave a Comment on एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमा हुने

    उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

  • ९ माघ २०७८, आईतवार ००:२३ मा प्रकाशित
  • १.
    कोरोना
    थाहै नदिएर
    सुटुक्क पसेको ज्यानमा !

    २.
    महामारी
    रुघाखोकीको रूप
    कोरोनाको जहर पसेको !

    ३.
    ज्यानमारा
    कोरोनाको कहर
    अचानक सुटुक्कै आउने !

    ४.
    कोरोना
    हातपाउ नदेखिने
    बाटो छेकेर नछेकिने !

    ५.
    कोरोना
    चौतर्फी सतर्क
    सुटुक्क आउने जहर !

    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर, काठमाण्डौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

    उदक यात्री अम्बिका अधिकारीका उत्कृष्ट उदकहरू

  • ९ माघ २०७८, आईतवार ००:१९ मा प्रकाशित
  • १.
    आहारा
    स्वस्थ स्वास्थ्य
    जीवन बाच्ने आधार !

    २.
    योग्यता
    सिर्जनाको आधार
    मान्नैपर्ने उपज सादर !

    ३
    खेती
    विकल्प खोज
    किसानले प्रगति रोज !

    ४.
    समाज
    दु:खीको थलो
    पौरखी हातले भलो !

    ५
    वसन्त हिउँदको पात झरेर पालुवा पलाउने !

    • अम्बिका अधिकारी
      काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री अम्बिका अधिकारीका उत्कृष्ट उदकहरू

    साताका तीन लघुकथा

  • ८ माघ २०७८, शनिबार २३:५९ मा प्रकाशित
  • १. लघुकथा : स्वर्णयुग


    ✍️ डा. विदुर चालिसे

    एकादेशमा एक घरकाे नजिकै एक दुखी महिला थिइन् । उनी फिसिक्क हाँस्थिन् । नेपाली पहिचानकाे रूपमा रूग्ण मुहार, खिस्रिक्क हँसाइ, प्यात्त माेटाे बसाइ, जिङ्ग्रिङ्ग मुन्द्राइ कपाल खुस्केला जस्ताे सास, धम्कीले गाँजिएकाे दम र ह्वासल्याङमा देखिन्थिन् । उनलाई सबैले दुखी महिलाकाे रूपमा चिनिदिन्थे । उनकाे पहिचान थियाे ।
    –“सामना !”
    सबैकाे आँखा अगाडि एकाएक एउटा अर्काे नयाँ चेहरा पर्थ्याे । तीनै महिलाले झैँ जीवन व्यतित गरेका व्यक्तिहरूकाे जीवन कथा पनि कम मार्मिक थिएन । जीवनभर कहिल्यै संस्कारित नभएका, हिमालयकाे कन्चन जलले ननुहाएका, फाेहरी र दृढ पात्र थिए ।
    –“अलि बाबा !”
    उनीहरूकाे बिच एकदिन धर्मयुग बारे युद्ध चल्याे । महिलाले धर्मका बारे व्याख्या गरिन् ।
    –“सनातन धर्म !”
    नयाँ चेहराकाे अलि बाबा एक मुठाे साग देखाएर वरिपरिका मान्छेहरूलाई भने !”
    –“धर्म अफिम भएकाेले याे अमानत हाे !”
    जब धर्म र अफिमकाे द्वन्द्व चल्न थाल्याे तब चुल्हाेमा खिचडी फत्किन थाल्याे । सामना र अलि बाबाकाे बाटाेमा अफिम र धर्मले लठ्ठिदै दुवैकाे जम्काभेट भयाे । उनीहरूले सल्लाह गरे।
    –“अब बाेली फेराैँ !”
    बाेली फेर्दैजाँदा उनीहरूकाे चुल्होमा फत्केकाे खिचडीमा एक अचम्मकाे आवाज आयाे ।
    –“भट्टाकाे उद्याेग गर !”
    जब स्थापित उद्याेग चल्याे । काेही बेराेजगार त काेही घरबार विहिन, काेही सहिद त काेही अपाङ्ग हुन थाले । बेराेजगारका मालिकले हाैस्याएर भने ।
    –“खाडीकाे श्रम शिविर देखेका छाै ?”
    भट्टामा डढेर अँगार भएका विचरा बेरोजगार, घरवार विहिन र अपाङ्गहरूले दर्शन भेटमा भने ।
    –“हजुर हिमालमा जाडाे छ, उता कस्ताे छ ?”
    –“गरम !”
    हिमालयमा सामना र अलि बाबा मात्र बाँकी थिए । उनीहरूले पलपलमा सिरिन्जले घाेचेर रगत तानिरहेका थिए ।
    –“पसिनाकाे कर !”
    काठमाण्डौ

    २. लघुकथा : लोग्नेमान्छे

    ✍️ घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’

    रात ढल्किँदै जाँदा सदा झैँ फेरि पनि उसको शारीरिक चाहना श्रीमतीले इन्कार गर्छिन् र अर्कै पट्टि कोल्टे फर्केर सुत्छिन् ।

    “तँ, काम नलाग्ने, भइस् !” ऊ रिसाउँछ, घोँडा झैँ हिनहिनाउँछ र स्वास्नीलाई जबरजस्ती आफूतिर तान्छ । उसकी स्वास्नी विवश बनेर जिउँदो लास झैँ लम्पसार पर्छिन् , हरेक रात, उसको हिंस्रक आक्रमण सहेर ।

    -“के म बजारबाट किनेर ल्याइएकी वस्तु हुँ र जतिखेर, जे मन लाग्यो गर्न ? लोग्ने मान्छेको जात कस्तो ! के सबैका लोग्नेहरू मेरै जस्ता हुन्छन् ?” श्रीमतीको मनले सोच्ने गर्छ ।

    एकरात श्रीमती हिंस्रक र उन्मत्त बूढो लोग्नेलाई ओच्छ्यानमा पछार्दै भागेर बुहारीको ढोका ढकढकाउन पुग्छिन् ।

    ढोका खोल्दा, सासुलाई अस्तव्यस्त उभिएको देखेर अचम्म मान्दै बुहारी सोध्न खोज्छिन् तर सासू भित्र पसेर हतारमा चुकुल लगाउँछिन् र भन्छिन् , “आज देखि म तिमीसँगै सुत्छु । छोरा पनि विदेशमा छ । म भएपछि तिमीलाई पनि एक्लो महसुस हुँदैन ।”

    बुहारीले चकित् हुँदै सोध्छिन् , “के भयो र आमा ?”

    “के भन्नु ! लोग्नेले श्रीमतीको अप्ठेरो र अनिच्छा पनि बुझे पो सँगै बस्नु !”

    बुहारीले कुरा बुझिछिन् के रे ! खिन्न भावमा एकछिन टोलाउँछिन् ।

    “कता डुब्दैछौ, बुहारी ? सुत, म पनि सुत्छु, अब !”

    झस्किँदै बुहारीले सासू आमालाई सोध्छिन् , “के ससुरा बाले बल प्रयोग गर्नु भो ?”

    “अँ ! यो उमेरमा पनि खुब दुख दिन्छन् । मासिक धर्म रोकिएको पनि १० बर्ष भयो । अब त मेरो शारीरिक इच्छा नै मरिसकेको छ । हैन, लोग्ने मान्छेको इच्छा चैँ, मान्छे नमरुन्जेल सम्म नमर्ने रहेछ कि के हो, जति बूढो भयो उति….!”

    ” तपाईं बुबाको कोठामा नसुते पनि अर्को कोठामा सुत्नुस् न, हुन्न ?”

    “हुन्न नि बुहारी, उतै पुगिहाल्छन् नि, गिजोल्न !”

    बुहारीले पनि यही मौकामा सासू आमालाई भनिदिइन् – “तपाईंकै छोरा पनि कम्ता बदमास छ र ? विदेशमै बसेर हरेक रात मलाई निर्वस्त्र बनाउँछ, स्मार्ट फोनको पर्दामा । म पनि धर्मसङ्कटमा छु, आमा ! के सबै लोग्ने मान्छे उस्तै हुन् , त ?”
    राप्ती-८, चितवन

    ३. लघुकथा: मुकुण्डो

    ✍️ गंगा खड्का

    ” छोरा ! हामीले सकभर तिमीहरूलाई दु:ख दिन नखोजेको। तर अब नभनी भएन । बालाई कोरोनाले सिकिस्त बनायो । अस्पताल नलगी भएन । छिटो बिदा मिलाएर आओ ।” सन्तोषीले काठमाडौँमा बस्ने छोरा रुपकलाई फोनमा भनिन् ।

    “आमा ! म यति टाढाबाट आउन्जेल बालाई अस्पताल पुराउन ढिलो हुन्छ । म पैसा पठाइदिन्छु । गाउँमा कसैलाई भनेर अस्पताल लैजाँदै गर्नु । म अस्पतालमै आउँछु।”

    छोराको कुरा सुनेर सन्तोषीले आत्तिदै भनिन् , ” बाबु प्लेनमै भए पनि छिटो आऊ । असली मान्छेका अभावमा गाउँ त रित्तै छ । गाउँमा त मान्छेका मुकुण्डो लगाएका मानवता विहिन मान्छे मात्रै बस्छन् ।”
    बूढानीलकण्ठ ,काठमाडौँ

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साताका तीन लघुकथा

    साप्ताहिक उदक अभ्यासको ३६औं शृङ्खला सम्पन्न; ८६ जना उदक स्रष्टाहरूको सहभागीता

  • ८ माघ २०७८, शनिबार २०:२९ मा प्रकाशित
  • काठमाडौ, ०८ माघ । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३६ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा उदक अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    १//
    भरिया
    संघर्षरत यात्रा
    दुखी जिन्दगिको जात्रा!

    राम न्यौपाने

    २//
    चम्क्यो
    जठाराग्निको ज्वाला
    लम्क्यो ठुल्दाई उकाला !

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    ३//
    समृद्धि
    भरिया दाजु
    पिठ्युँ भाच्ने भारी !

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    ४//
    जिन्दगी
    बोकेर भारी
    पूरा गर्नुछ जिम्मेवारी!

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    ५//
    भरिया
    पिठ्युँमा भारी
    अविकसित ठाउँको यथार्थता!

    राजाराम रत्गैंया, अमौरा कैलाली

    ६//
    उकालो
    पिठ्युमा भारी
    जीवन जिउने तयारी!

    घनश्याम पौडेल,पोखरा

    ७//
    उकालो
    पिठ्युँमा भारी
    भरिया दाइको जीन्दगानी!

    हिमाल अम्मै घोडाघोडी कैलाली

    ८//
    मेहनत
    जीवन भरी
    पेट सधै खाली!

    रमा पन्त

    ९//
    नियति
    ईन्द्रको स्वर्गासन
    वलिको पाताल बास!

    कण्ठराज गिरी

    १०//
    भारी
    भरियाकाे लक्ष्मी
    सँधै पसिनाले स्नान !

    नवराज भट्ट
    महेन्द्रनगर

    ११//
    भरिया
    ठूलो भारी
    परिवार पाल्ने बाध्यता!

    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३

    १२//
    जिन्दगी
    बोकेर भारी
    जीवन पाल्ने मजबुरी !

    सविता के.सी., काठमाडौँ ।

    १३//
    भरिया
    पिठ्युँमा भारी
    परिवार सम्हाल्ने जिम्मेवारी!

    केशब न्यौपाने, नुवाकोट

    १४//
    भरिया
    ठूलो भारी
    उकालोमा पैदल सवारी!

    रचना शर्मा प्रतीक्षा, ललितपुर

    १५//
    भरिया
    बोकेर भारी
    जीवन चलाउन बाध्यता!

    सरस्वती श्रेष्ठ इटहरी

    १६//
    भरिया
    कठिन जिन्दगी
    जिउन गर्दै उकालीओराली!

    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    १७//
    भारी
    उकालो बाटो
    कष्टकर पहाडी जीवन!

    बलराज गिरी कैलाली

    १८//
    भारी
    बोकेर पिठ्युँमा
    गर्दै जीवनमा उकालीओराली!

    सरस्वती वली
    बर्दिया

    १९//
    भरिया
    पापी पेट
    थिचिएरै बित्यो जिन्दगी!

    गोपालप्रसाद पाैड्याल
    विराटचोक, मोरङ

    २०//
    नेपाल
    विकट हिमालय
    नेतृत्वको खराब नियत!

    सिबि आले मगर

    २१//
    जीवन
    दुई विकल्प
    खोरिया या भरिया!

    श्रीकृष्ण शर्मा पोखरा

    २२//
    भरिया
    जीवन जिउन
    भारी बोक्नुपर्ने बाध्यता!

    देवेन्द्रराज शाक्य बुटवल रुपन्देही

    २३//
    बोकेर
    साहुँको भारी
    जीबन बित्यो यसरी!

    दर्बेन्द्र लबरकोटे
    स्याङ्जा

    २४//
    संघर्ष
    जीवनकाे बाटाे
    थाकेर सुख नपाइने!

    रामराजा के. सी.
    फर्पिङ , काठमाडौं

    २५//
    भरिया
    देवता बाटोको
    सहयोग सधैं अरूको!

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    २६//
    परीश्रम
    पेटका निम्ति
    जीन्दगीको खुड्किलो उक्लँदै ।

    प्रेम थापा “मन”बागलुङ

    २७//
    जीवन
    भारी बाेकेर
    अनवरत् सङ्घर्ष यात्रा!

    सुधा बासकाेटा ढकाल

    २८//
    गरिबी
    घरमा परिवार
    शिरमा ठूलो जिम्मेवारी !

    शिव ज्ञवाली
    रु रु १ गुल्मी

    २९//
    गरिब
    बोकेर भारी
    पूरा गर्दैछ जिम्मेवारी !

    पशपती राई खोटाङ

    ३०//
    भरिया
    गह्रुङ्गो भारी
    जिन्दगी चलाउँदै यगरी ।

    रमेश प्रभात

    ३१//
    भरिया
    ढुवानीकाे माध्यम
    बिकट भाैगाेलिक धरातल ।

    नारायण प्रसाद उपाध्याय , कैलाली ।

    ३२//
    भरिया
    गर्दै जीवन्त
    उकालो अनि ओरालो!

    रिता खराल,रुपन्देही

    ३३//
    जिन्दगी
    पिठ्युँमा भारी
    छैन हाम्रो घरबारी!

    तेजप्रसाद खनाल
    लमही दाङ।

    ३४//
    बोकेर
    पिठ्युँमा भारी
    परिवार पाल्ने सपनी!

    धर्मी शाक्य,बुटवल ,रुपन्देही

    ३५//
    भरिया
    कहालीलाग्दो अवस्था
    कष्टकर दु:खी जीवन!

    सुरेशचन्द्र घिमिरे

    ३६//
    भरिया
    लठ्ठीको सहारामा
    बोक्दै भारी पहरामा !

    धनमाया चौधरी कैलाली

    ३७//
    परिश्रम
    भरियाको जिन्दगी
    जहिल्यै बोकेर खानुपर्ने!

    खेमराज पुरी
    कैलाली हाल मुम्बई

    ३८//
    भरीया
    सहारा लौरोको
    जिवन धान्न कठिनाइ!

    लक्ष्मी बस्याल बर्दिया

    ३९//
    जीवन
    गह्रौँ भारी
    गन्तव्य त्यो डाँडापारी!

    कमला देवकोटा, पाल्पा

    ४०//
    जिन्दगी
    गर्दै उकालीओराली
    दु:ख बिसाउने चौतारी !

    अबोध निर्मल, कैलाली

    ४१//
    जीवन
    गर्दै उकालोओरालो
    साहुको भरिया विश्वासीलो!

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    ४२//
    बाध्यता
    भारीकाे बाेझा
    गाउँका गरिब साेझा!

    रामकृष्ण दवाडी

    ४३//
    भरिया
    बोकेरै भारी
    गर्दछ पुरा जिम्मेवारी!

    मंगला उपाध्याय
    बारा कलैया १

    ४४//
    जिन्दगी
    खेपेर भारी
    उकाली अनि ओराली!

    समुन्द्रा शर्मा

    ४५//
    राहत
    भरियाको भारी
    पहाडी जीवनकाे खुसीयाली !

    टीकाराम जाेशी, टीकापुर।

    ४६//
    जीवन
    पिठ्युँमा भारी
    लौरीको साहारामा उकाली!

    सुमित्रा पोखरेल काठमाडौं

    ४७//
    परिश्रम
    बोझा भारी
    परिवार धान्न कल्याणकारी!

    जमुना कायस्थ

    ४८//
    भरिया
    बाेकेर भारी
    फत्ते गर्छ जिम्मेवारी!

    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    ४९//
    भरिया
    बाेकेर भारी
    निर्वाहकाे आधार साथी !

    श्रद्धा आचार्य , पोखरा

    ५०//
    उकालाे
    लठ्ठीकाे साहारा
    भरियाकाे कठिन जिन्दगी!

    भावना मन्जु
    झापा- हाल – माेरङ

    ५१//
    भारी
    उकाली ओराली
    सुन्दर पिपल चौतारी!

    संझना कुसुम
    कास्की

    ५२//
    भरिया
    बोकेर भारी
    सधै खुसीले रमाउँछन्!

    टीकापुर( बि के विरही)

    ५३//
    भरिया
    जिन्दगीको कथा
    पिठ्युँमा पीडाको पहाड !

    आर्त अकुलीन, कैलाली

    ५४//
    नियति
    प्राकृतिक धरातल
    भरियाको कष्टकर जीवन!

    उर्मिला पन्त माण्डेय
    ज्ञानेश्वर , काठमाण्डौँ*

    ५५//
    जिन्गी
    मुन्टक् भारी
    सहके डुनियाँ डारी ।

    सागर कुस्मी, कैलाली ।

    ५६//
    भरिया
    गह्रुङ्गो भारी
    परिवार पाल्ने जिम्मेवारी!

    वासुदेव ज्ञवाली
    पाल्पा,तानसेन-१

    ५७//
    भरिया
    उकालो बाटो
    कठिन जिन्दगीको पाटो!

    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    ५८//
    भरिया
    सन्तानका सपना
    कहिले फुल्ला बिपना

    खगेन्द्र बस्याल
    तिलोत्तमा ९ रुपन्देही

    ५९//
    भारी
    होला गर्हौ
    हिड्नु हजुर बिस्तारै!

    राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही

    ६०//
    भरिया
    स्वप्ना बेचेर
    पर सपना बाहक !

    कर्ण थापा, कैलाली

    ६१//
    जिजीविषा
    बाध्यताकाे पेट
    जिन्दगी पेटकाे भरिया !

    जनार्दन धड्कन ।

    ६२//
    भारी
    साहुँको भकारी
    पुग्नुछ नौ डाँडापारी!

    दुर्गा अधिकारी भमरकोटे
    हाल, कपन काठमाडौं ।

    ६३//
    जीवन
    गर्दै उकालोओरालो
    बिसाउँने भञ्झ्याङ चौतारो !

    शारदा आचार्य
    ललितपुर !

    ६४//
    भारी
    बोकेर जिम्मेवारी
    लौ आयो सवारी!

    इश्वरी अधिकारी

    ६५//
    उकालो
    पिठ्युँमा भारी
    पेट पाल्ने मजबुरी।

    रघु थापा
    सु न पा १.

    ६६//
    भरिया
    कठिन जिन्दगी
    यात्रा बिसाउने ठाउँ!

    मिलन के.सी.(थापा) पोखरा

    ६७//
    जीवन
    चढ्दै उकाली
    पिठ्युँमा सपनाको भारी!

    अशोक थापा, कैलाली

    ६८//
    बिसाउन
    गह्रौं भारी
    पाइन सुखकाे छहारी!

    इन्दिरा ज्ञवाली
    तानसेन,पाल्पा

    ६९//
    भारी
    बोक्छ भरिया
    कसैको हैन करिया!

    (बि के विरही)टीकापुर

    ७०//
    परिश्रम
    गराैँ सधैं
    अरूकाे भर नपरी!

    ताेयानाथ सुवेदी
    काडाघारी

    ७१//
    ढाक्रे
    ढाडमा भार
    खाली छ उदर!

    शम्भु गजुरेल
    नुवाकोट

    ७२//
    भरिया
    समयकाे निर्णय
    गर्दै उकालीओराली जीवन ।

    राेशन पराजुली,धरान।

    ७३//
    पिठ्युँमा
    भारी बोकेर
    अनवरत चढ्दै उकालो!

    सुशीला पौडेल

    ७४//
    भरिया
    बोकेर भारी
    पुग्छ गन्तव्यको चौतारी!

    सरस्वती श्रेष्ठ

    ७५//
    भरिया
    डाेकाकाे भारी
    बलिया पाखुराकाे राेजगारी !

    टिकाराम जोशी

    ७६//
    कठिन
    भरियाको यात्रा
    मिठो पसिनाको कमाइ !

    पुष्पशायरा
    विराटनगर

    ७७//
    भरिया
    बाेकेर भारी
    जिन्दगी खेलकाे जुहारी !

    भवानी घिमिरे
    सर्लाही

    ७८//
    भारी
    पसिना झारी
    निरन्तर श्रम जारी !

    डम्बर पहाडी
    काठमाडौँ

    ७९//
    भरिया
    यात्रा कठिन
    निरन्तर संघर्ष जीवनमा !

    दुर्गा भट्टराई
    मोरङ

    ८०//
    धर्म
    गरेर परिश्रम
    मेरो जीवन कर्म!

    संझना कुबँर

    ८१//
    बाध्यता
    मनभरी छोराछोरी
    मीठो गासको सपना!

    किशोर खनाल
    तानसेन १,पाल्पा।

    ८२//
    भरिया
    ढुवानीकाे साधन
    दूरदराजका पहाडी बस्तीकाे!

    प्रद्युम्न चालिसे

    ८३//
    जीवन
    सङ्घर्षको पाटो
    गरी खाने बाटो !

    डा. रेजु बुढाथोकी, काठमाडौँ ।

    ८४//
    जीवन
    हुन्छ सफल
    कठोर संघर्ष गरेर !

    विक्रम तिरुवा सलिन
    जुम्ला

    ८५//
    सवार
    भरिया बिचरा
    गोरेटो घोडेटो खतरा !

    बिके माकजु ,भक्तपुर ।

    ८६// भरिया
    पसिना बगाउने
    साहुँ जतिले कमाउने !

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३ ,काभ्रे, कुशादेवी।

    जय उदक ! जय साहित्य !!

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक उदक अभ्यासको ३६औं शृङ्खला सम्पन्न; ८६ जना उदक स्रष्टाहरूको सहभागीता

    बिरामी परि साउदीको जेद्दामा छ्टपटाइ रहेका नेपालीको उद्दारका लागि अपील

  • ८ माघ २०७८, शनिबार १८:३२ मा प्रकाशित
  • समर्पण रम्जान

    २२ जनवरी २०२२, साउदी अरब !केही दिन देखी पेट दुख्ने र अचेत भएर बिरामी अबस्थामा रहेका एक नेपालीको समाजिक संजालमा भिडियो भाइरल भएका एक नेपाली लाइ उद्दार गरि नेपाल फर्काइयो भन्ने खबर झुठो रहेको र अहिले उहाँ जेद्दामा नै रहेका र उहाँको उद्दारका लागी दूतावास तथा संघसंस्थामा अपील गरिएको छ ।

    नेपाल घर जाजरकोट भएर बिगत २५ महिनाअगाडि
    न्यु वल्ड ओभर्जिस बाट साउदी आएका आएस रानालाई अहिलेसम्म कम्पनीले इकमा पनि नदिएको कन्ट्र्याक्ट सकिदा समेत नेपाल पनि नपठाएकोले काम छोडेर बसेका, र पाकिस्तानी नागरिकसित झगडा गरेका कारण पुलिसले पक्रेर जुठो केस लगाउदै दुई दिन जेल राखेर निकालेको एनआरएनए अल कासिमका संरक्षक तथा नेपाल एम्बेस्सी अल कासिमका स्वंयमसेवक बिशाल श्रेष्ठले जानकारी गराएका छन् ।
    उहाँको कम्पनीमा कार्यरत ८ नेपाली मध्य ६ जनाको यहि २५ जनवरीमा फ्लाइट भएको र उहाँ रानाको अन्य केस लगाएर इक्स्जिट नलागेको पनि जानकारी दिएका छन् ।
    उहाँलाई अहिले खानको लागि पनि समस्या रहेकोले एनआरएनए साउदीलाइ सहयोगको लागि पीडितको नम्बर 0578195903 सहिर सेयर गर्नुको साथै उहाँको नेपाल फिर्ती सहयोगको लागि नेपाली महाबाणिज्य दूतावास जेद्दा लाई अनुरोध गरिएको र नेपाली महाबाणिज्य दूतावास जेद्दाले सहयोगको लागि निरन्तर समन्वय गरिरहेको कुरा श्रेष्ठले जानकारी दिएका छन् !

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on बिरामी परि साउदीको जेद्दामा छ्टपटाइ रहेका नेपालीको उद्दारका लागि अपील

    साप्ताहिक पञ्चाङ्ग चित्रपट अभ्यास शृङ्खलाको प्रथम भाग सम्पन्न; २३ जना स्रष्टाहरूको सहभागीता

  • ८ माघ २०७८, शनिबार ००:२२ मा प्रकाशित
  • साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को पहिलो भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त अभ्यास शृङ्खला सञ्चालनमा ल्याइएको हो ।

    साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यासको पहिलो शृङ्खलाको प्रशिक्षकमा सुशीला पौडेल र सविता के.सी. रहनुभएको थियो । लघुतम काव्य विधा पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइँटेल “रवि पाल्पाली” का अनुसार अबदेखि प्रत्येक हप्ताको बिहीबार उक्त अभ्यास शृङ्खला सञ्चालन गरिनेछ । जसका लागि बिहीबार विहान एउटा चित्र राखिनेछ । सोही चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नुपर्नेछ ।

    यस शृङ्खलाका लागि चित्रको संकलन कार्यक्रमका परिकल्पनाकार सोमनाथ लुइँटेल “रवि पाल्पाली” ले गर्नुभएको थियो ।

    चित्रपट

    अभ्यासका लागि राखिएको चित्रपट

    सहभागी स्रष्टाहरूले सृजना गरेका पञ्चाङ्गहरू

    पञ्चाङ्ग ०१

    हरियाली बीचमा सुन्दर घर भेटिएका छन्।
    रातो माटो र कमेरोले राम्ररी लेपिएका छन्।
    पहाडका स्वास्थ्यकर घर हेर्दा हुन्छन् चिटिक्क,
    यिनमा बढी गर्मी र चिसो दुवै छेकिएका छन्।
    प्रकृतिको बिचमा घरको छानो देखिएका छन्

    🇳🇵सुशीला पौडेल , काठमाडौं

    पञ्चाङ्ग ०२

    वनको शितलताले जेलिएको मेरो सुन्दर घर
    रातो माटो कमेरोले लेपिएको मेरो सुन्दर घर
    लिपेर चट्ट पारी राख्छु कोमल हृदय भित्र चित्र
    सङ्गी साथिको आँखामा भेटिएको मेरो सुन्दर घर
    खरको छानो पातिले बेरिएको मेरो सुन्दर घर।

    🇳🇵सरिता काफले , बाँके कोहलपुर ।

    पञ्चाङ्ग ०३

    महल होइन झुपडीको बास भए पुग्छ मलाई
    सुख होइन केबल तिम्रो पास भए पुग्छ मलाई
    पसिनाको कमाइमा बाँच्न परोस् झुक्न नपरोस्
    मीठो हैन मात्र सन्तोषको गास भए पुग्छ मलाई
    महलको त्रास हैन तिम्रो सास भए पुग्छ मलाई।

    🇳🇵निर्मला सुवेदी “जिज्ञासु”, बागलुङ।

    पञ्चाङ्ग ०४

    मुरीका कुरा हुन्छ घरमा एक मानु छैन
    हप्तौं भयो भोक भोकै खाने अन्न दानु छैन
    दिन भरि साहुको मेला साँझमा खाली हात
    बिरामी भई काम नगरे रिस सानु छैन
    कुन जाडो कुन झरी ओत लाग्ने छानु छैन ।

    🇳🇵चेतना पोखरेल , मोरङ

    पञ्चाङ्ग ०५

    गाउँमै किन नहोस् सानो, स्वर्ग जस्तै घर छ मेरो
    माटे भित्तो फुसको छानो, स्वर्ग जस्तै घर छ मेरो
    स्वार्थ, लोभ, मोह केही छैन संसारकै सुखी छु म,
    खान पुग्दछ आधा मानो, स्वर्ग जस्तै घर छ मेरो
    छैन कतै कुटिल गानो, स्वर्ग जस्तै घर छ मेरो ।

    🇳🇵वसन्त अनुभव घोराही, दाङ

    पञ्चाङ्ग ०६

    निश्चल सफा सुन्दर शान्त रित हुन् गाउँको
    सहयोग अनि सद्भावना मित हुन् गाउँको
    शहरभन्दा बढी गाउँघर हो मेरो देश
    बगेका ती छाँगा छहरा संगीत हुन् गाउँको
    हुँदैनन् कोही पराई सबै प्रित हुन् गाउँको

    🇳🇵पुष्पा नेपाल(सुवेदी ) , इलाम

    पञ्चाङ्ग ०७

    पहाडको सौम्य घर प्यारो लाग्छ ।
    ढुङ्गा र माटोको भर प्यारो लाग्छ ।
    हाँसियो खेलियो छाँगा छहरामा ,
    पीपल छेउमा वर प्यारो लाग्छ ।
    नेपाली हुनुको थर प्यारो लाग्छ ।

    🇳🇵आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग ०८

    महल हैन फुसकै छानो भएपुग्छ मलाई
    कामगरी खान एक मानो भएपुग्छ मलाई
    जे जस्तो छ आफ्नै रमाउने बानी छ
    पेटभर्न पिडालुको गानो भएपुग्छ मलाई
    गाउँमा आफ्नै सानो भएपुग्छ मलाई।

    🇳🇵सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग ०९

    जंगल बीचमा सानो घर राम्रो लाग्छ मलाई
    यहाँ ढुङ्गा र माटाेकाे चर राम्रो लाग्छ मलाई
    गाउँमा स्वर्गिय आनन्द पाइन्छ झुपडीमा
    शहर भन्दा धेरै गाउँको भर लाग्छ मलाई
    गाउँ वरपर अति नै सुन्दर लाग्छ मलाई ।

    🇳🇵दुर्गा भट्टराई , मोरङ

    पञ्चाङ्ग १०

    लहरै सुन्दर घर, आहा कति राम्रो
    छानामा छ खरै खर, आहा कति राम्रो
    सधैँ बस्न पाऊँ म यस्तै गाउँघरमा
    नजिकै होऊन् निर्झर, आहा कति राम्रो
    घुमुन् त्यँही चराचर, आहा कति राम्रो

    🇳🇵केशब न्यौपाने, नुवाकोट

    पञ्चाङ्ग ११

    गाउँघरकाे गाँस राम्राे जहाँआफ्नाे पन छ
    भिर पाखाकाे बास राम्राे जहाँ आफ्नाे पन छ।
    कति खाेजेँ पाईन खुसी , हार्दिकता शहरमा
    बाह्रै मास मधुमास राम्राे जहाँ अाफ्नाे पन छ
    पुर्ख्याैली नै खास राम्राे जहाँ अाफ्नाे पन छ।

    🇳🇵चन्द्रावती अधिकारी ,बाँके कोहलपुर

    पञ्चाङ्ग १२

    स्वर्ग जस्तो सुन्दर थियो गाउँ अनि बस्ती ,
    बिर्सि सके अचेल सबै नाउँ अनि बस्ती ।
    प्रकृतिको सुन्दर घरमा रमाइलो थियो ,
    कसरि कता खोजौ त्यस्तै पाउँ अनि बस्ती ,
    भग्नावशेस मात्र छरे ठाउँ अनि बस्ती ।

    🇳🇵दुर्गा आचार्य , मोरङ

    पञ्चाङ्ग १३

    हरियाली पाखा भित्र मेरो सानो घर छ,
    त्यही सानो घरको हेर् धेरै ठूलो भर छ,
    सम्पत्ति र प्रतिष्ठा हो मेरो पैत्रिक घर
    अन्न-वाली प्रशस्तै नत भोकको डर छ,
    गोठ भरि गाई-बस्तु कूँडे भरि तर छ।

    🇳🇪 अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग १४

    अहो ! सुन्दर छटाले भरिएको सुन्दर घर हाम्रो
    प्रकृतिको यो काखमा सजिएको सुन्दर घर हाम्रो
    कैयौ सन्तती जन्मे यहीँ र त नेपाल भन्न पाइयो
    हरेकको तन मन मिसिएको सुन्दर घर हाम्रो
    आमा बाबाले उपहार दिएको सुन्दर घर हाम्रो ।

    🇳🇵प्रेम थापा , बाग्लुङ

    पञ्चाङ्ग १५

    मेराे गाउँ सफा छ सुन्दर अहाे! फाेहाेर छिर्दैन क्यै
    जाली मानिस हुन्न गाउँ घरमा,धाएर पिर्दैन क्यै
    बस्दा भित्र समेत शीतल हुने,छानाे भएकाे हुँदा
    गर्मी बढ्न गएर दुर्बल भई,पुर्लुक्क गिर्दैन क्यै
    काेही भ्रष्ट पुग्यो त्यहाँ र पिटिए,तत्काल फिर्दैन क्यै।

    🇳🇵ताेयानाथ सुवेदी, काठमाडौं

    पञ्चाङ्ग १६

    निश्चल सफा सुन्दर शान्त रित हुन् गाउँको
    सहयोग अनि सद्भावना मित हुन् गाउँको
    शहरभन्दा बढी गाउँघर हो मेरो देश
    बगेका तिनै छाँगा छहरा गीत हुन् गाउँको
    हुँदैनन् कोही पराई सबै प्रित हुन्! गाउँको

    🇳🇵पुष्पा नेपाल(सुवेदी ) , इलाम

    पञ्चाङ्ग १७

    पहाडको काखमा आहा ! मेरो सानो गाउँ छ
    पुर्खाको पसिनाले अर्जेको यहि ठाउँ छ
    जति नै टाढा गए पनि भुल्न सकिन मैले
    प्रकृतीको अनुपम सितल यस्को नाउँ छ
    तान्छ मनलाई लाग्छ फर्केर त्यही जाउँ छ ।

    🇳🇵इन्दिरा देवकोटा , कपिलवस्तु न .पा .३

    पञ्चाङ्ग १८

    स्वर्ग जस्तो गाउँमा नि सानाे मेराे घर छ
    पक्कि नभएनि छानामा सुन्दर खर छ
    बुढा बा अामा हेर्छन् मेराे बाटाे अाँखा तान्दै
    म छु परदेश, उनकाे मै माथि भर छ
    उतै भएनि मन शरीर अाज पर छ ।

    🇳🇵रामराजा के. सी.,फर्पिङ , काठमाडौं

    पञ्चाङ्ग १९

    स-साना घर बनाउनेको लाइन चर्को छ
    जताततै यताउति बारै बारको धर्को छ
    कतै उत्साह कतै निराशा छाएको देखिन्छ
    कुन घर जाउँ, मान पाउँ भन्नेको लर्को छ
    आफ्नालाई कसरी जोगाउने पिर घर्को छ ।

    🇳🇵रचना प्रतीक्षा ,काठमाडौं

    पञ्चाङ्ग २०

    सहरबासी हो, गाउँको घर भयो आहा! सबैलाई
    त्यही घरमा जुनी काटी हेर हुन्छ थाहा सबैलाई
    प्रकृतिमा बाँच्नका लागि बनाइएका सुन्दरता हुन्
    विकास छैन, अभावमा दिन बित्दा, पाहा सबैलाई
    सहर जस्तै समुन्नतहोस् भन्ने छ चाहा सबैलाई ।

    🇳🇵सविता के.सी., काठमाडौँ ।

    पञ्चाङ्ग २१

    दुर्गम भएपनि खरले छाएको मेरो घर छ
    भगवानको आशिर्वादले पाएको मेरो घर छ
    सितल हुन्छ गाउँमा नै सुविधा दाउरा घाँसको
    दु:ख कष्ट गरि कमाएर लाएको मेरो घर छ
    पौरखि हातले कमाएर खाएको मेरो घर छ।

    🇳🇵सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग २२

    सुन्दर पहिचान हाम्रो सान नेपाली हु म
    सद्भाव सहिष्णुता दिएर मान नेपाली हु म
    गौरव छ घर गोरसले पुर्ण अर्गानिक छ
    आर्जन गरि पुराउछु कुटेर धान नेपाली हु म
    गुन्द्रीमा छ आनन्द लगाइ तान नेपाली हु म।

    🇳🇵 गणेश पौडेल
    चितवन।

    पञ्चाङ्ग २३

    फुसको छानो घर छ सानो सुन्दर संसार
    अहिले सम्म पुग्दैछ मानो सुन्दर संसार
    सरर आयो हिमाली हावा रमायो खुशीले
    पोषिलो खाना दुख्दैन गानो सुन्दर संसार
    लेखेर बस्छु गितको पानो सुन्दर संसार

    गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट अभ्यास शृङ्खलाको प्रथम भाग सम्पन्न; २३ जना स्रष्टाहरूको सहभागीता

    उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

  • ७ माघ २०७८, शुक्रबार १३:०३ मा प्रकाशित
  • १
    अगेनो
    काठ दाउरा
    रापले देह न्यानो !

    २
    आकाश
    निस्पट्ट कालो
    सूचना वर्षाको जालो !

    ३
    छाप्रोमा
    गरीबको जीवन
    कतै हिउँको थुप्रोमा !

    ४
    पीडा
    दुःखीको जीवन
    हिउँको तिखो काँडा !

    ५
    साहित्य
    मिठो सिर्जना
    शिल्पको सुन्दर वन्दना !

    ६
    मन
    खुसी आनन्द
    बुझाइ राख्नु जीवन !

    ७
    बिहानी
    उषाको लाली
    सूर्यको आफ्नै कहानी !

    ८
    जीवन
    सुख दुःख
    सम्बन्ध अनौठो मिश्रण !

    ९
    फूल
    सौन्दर्य अनुपम
    प्रकृतिको सुन्दर देन !

    १०
    समय
    चौतर्फी कहर
    मनमा व्यथित रहर !

    • शारदा आचार्य
      काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

    उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • ७ माघ २०७८, शुक्रबार १३:०० मा प्रकाशित
  • १.
    याेजना
    भविष्यकाे कार्य
    लक्ष प्रगति प्रतिफल !

    २.
    मन्दी
    क्रेताकाे कमी
    राेजगार सृजनामा आभाव !

    ३.
    अलमल
    गठबन्धनकाे सरकार
    आफ्नै स्वार्थमा तल्लीन !

    ४.
    चिसाे
    लुगाकाे आभाव
    सरकार दाउरा आगाे !

    ५.
    यातायात
    भाडामा वृद्धि
    पैसाकाे मूल्य घटदाे !

    ६.
    चुनाव
    पैसाकाे खेल
    कागलाई भयाे बेल !

    ७.
    काेराेना
    खाेपकाे अभाव
    सबैलाई मर्ने त्रास !

    ८.
    लिपुलेक
    नेपालकाे भूमि
    जबर्जस्ती भारतकाे कब्जा !

    ९.
    राेटीबेटी
    हात्तीकाे दाँत
    नेपालीलाई फकाउने चाल !

    १०.
    डर
    सत्ता जाने
    शक्ति पैसा हराउने !

         - नवराज भट्ट    
       महेन्द्रनगर, कञ्चनपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P