
१. लघुकथा : स्वर्णयुग

✍️ डा. विदुर चालिसे
एकादेशमा एक घरकाे नजिकै एक दुखी महिला थिइन् । उनी फिसिक्क हाँस्थिन् । नेपाली पहिचानकाे रूपमा रूग्ण मुहार, खिस्रिक्क हँसाइ, प्यात्त माेटाे बसाइ, जिङ्ग्रिङ्ग मुन्द्राइ कपाल खुस्केला जस्ताे सास, धम्कीले गाँजिएकाे दम र ह्वासल्याङमा देखिन्थिन् । उनलाई सबैले दुखी महिलाकाे रूपमा चिनिदिन्थे । उनकाे पहिचान थियाे ।
–“सामना !”
सबैकाे आँखा अगाडि एकाएक एउटा अर्काे नयाँ चेहरा पर्थ्याे । तीनै महिलाले झैँ जीवन व्यतित गरेका व्यक्तिहरूकाे जीवन कथा पनि कम मार्मिक थिएन । जीवनभर कहिल्यै संस्कारित नभएका, हिमालयकाे कन्चन जलले ननुहाएका, फाेहरी र दृढ पात्र थिए ।
–“अलि बाबा !”
उनीहरूकाे बिच एकदिन धर्मयुग बारे युद्ध चल्याे । महिलाले धर्मका बारे व्याख्या गरिन् ।
–“सनातन धर्म !”
नयाँ चेहराकाे अलि बाबा एक मुठाे साग देखाएर वरिपरिका मान्छेहरूलाई भने !”
–“धर्म अफिम भएकाेले याे अमानत हाे !”
जब धर्म र अफिमकाे द्वन्द्व चल्न थाल्याे तब चुल्हाेमा खिचडी फत्किन थाल्याे । सामना र अलि बाबाकाे बाटाेमा अफिम र धर्मले लठ्ठिदै दुवैकाे जम्काभेट भयाे । उनीहरूले सल्लाह गरे।
–“अब बाेली फेराैँ !”
बाेली फेर्दैजाँदा उनीहरूकाे चुल्होमा फत्केकाे खिचडीमा एक अचम्मकाे आवाज आयाे ।
–“भट्टाकाे उद्याेग गर !”
जब स्थापित उद्याेग चल्याे । काेही बेराेजगार त काेही घरबार विहिन, काेही सहिद त काेही अपाङ्ग हुन थाले । बेराेजगारका मालिकले हाैस्याएर भने ।
–“खाडीकाे श्रम शिविर देखेका छाै ?”
भट्टामा डढेर अँगार भएका विचरा बेरोजगार, घरवार विहिन र अपाङ्गहरूले दर्शन भेटमा भने ।
–“हजुर हिमालमा जाडाे छ, उता कस्ताे छ ?”
–“गरम !”
हिमालयमा सामना र अलि बाबा मात्र बाँकी थिए । उनीहरूले पलपलमा सिरिन्जले घाेचेर रगत तानिरहेका थिए ।
–“पसिनाकाे कर !”
काठमाण्डौ
२. लघुकथा : लोग्नेमान्छे

✍️ घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’
रात ढल्किँदै जाँदा सदा झैँ फेरि पनि उसको शारीरिक चाहना श्रीमतीले इन्कार गर्छिन् र अर्कै पट्टि कोल्टे फर्केर सुत्छिन् ।
“तँ, काम नलाग्ने, भइस् !” ऊ रिसाउँछ, घोँडा झैँ हिनहिनाउँछ र स्वास्नीलाई जबरजस्ती आफूतिर तान्छ । उसकी स्वास्नी विवश बनेर जिउँदो लास झैँ लम्पसार पर्छिन् , हरेक रात, उसको हिंस्रक आक्रमण सहेर ।
-“के म बजारबाट किनेर ल्याइएकी वस्तु हुँ र जतिखेर, जे मन लाग्यो गर्न ? लोग्ने मान्छेको जात कस्तो ! के सबैका लोग्नेहरू मेरै जस्ता हुन्छन् ?” श्रीमतीको मनले सोच्ने गर्छ ।
एकरात श्रीमती हिंस्रक र उन्मत्त बूढो लोग्नेलाई ओच्छ्यानमा पछार्दै भागेर बुहारीको ढोका ढकढकाउन पुग्छिन् ।
ढोका खोल्दा, सासुलाई अस्तव्यस्त उभिएको देखेर अचम्म मान्दै बुहारी सोध्न खोज्छिन् तर सासू भित्र पसेर हतारमा चुकुल लगाउँछिन् र भन्छिन् , “आज देखि म तिमीसँगै सुत्छु । छोरा पनि विदेशमा छ । म भएपछि तिमीलाई पनि एक्लो महसुस हुँदैन ।”
बुहारीले चकित् हुँदै सोध्छिन् , “के भयो र आमा ?”
“के भन्नु ! लोग्नेले श्रीमतीको अप्ठेरो र अनिच्छा पनि बुझे पो सँगै बस्नु !”
बुहारीले कुरा बुझिछिन् के रे ! खिन्न भावमा एकछिन टोलाउँछिन् ।
“कता डुब्दैछौ, बुहारी ? सुत, म पनि सुत्छु, अब !”
झस्किँदै बुहारीले सासू आमालाई सोध्छिन् , “के ससुरा बाले बल प्रयोग गर्नु भो ?”
“अँ ! यो उमेरमा पनि खुब दुख दिन्छन् । मासिक धर्म रोकिएको पनि १० बर्ष भयो । अब त मेरो शारीरिक इच्छा नै मरिसकेको छ । हैन, लोग्ने मान्छेको इच्छा चैँ, मान्छे नमरुन्जेल सम्म नमर्ने रहेछ कि के हो, जति बूढो भयो उति….!”
” तपाईं बुबाको कोठामा नसुते पनि अर्को कोठामा सुत्नुस् न, हुन्न ?”
“हुन्न नि बुहारी, उतै पुगिहाल्छन् नि, गिजोल्न !”
बुहारीले पनि यही मौकामा सासू आमालाई भनिदिइन् – “तपाईंकै छोरा पनि कम्ता बदमास छ र ? विदेशमै बसेर हरेक रात मलाई निर्वस्त्र बनाउँछ, स्मार्ट फोनको पर्दामा । म पनि धर्मसङ्कटमा छु, आमा ! के सबै लोग्ने मान्छे उस्तै हुन् , त ?”
राप्ती-८, चितवन
३. लघुकथा: मुकुण्डो

✍️ गंगा खड्का
” छोरा ! हामीले सकभर तिमीहरूलाई दु:ख दिन नखोजेको। तर अब नभनी भएन । बालाई कोरोनाले सिकिस्त बनायो । अस्पताल नलगी भएन । छिटो बिदा मिलाएर आओ ।” सन्तोषीले काठमाडौँमा बस्ने छोरा रुपकलाई फोनमा भनिन् ।
“आमा ! म यति टाढाबाट आउन्जेल बालाई अस्पताल पुराउन ढिलो हुन्छ । म पैसा पठाइदिन्छु । गाउँमा कसैलाई भनेर अस्पताल लैजाँदै गर्नु । म अस्पतालमै आउँछु।”
छोराको कुरा सुनेर सन्तोषीले आत्तिदै भनिन् , ” बाबु प्लेनमै भए पनि छिटो आऊ । असली मान्छेका अभावमा गाउँ त रित्तै छ । गाउँमा त मान्छेका मुकुण्डो लगाएका मानवता विहिन मान्छे मात्रै बस्छन् ।”
बूढानीलकण्ठ ,काठमाडौँ


राम्रो छ