
काठमाडौ, ११ माघ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १८ औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ७० जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
प्रयोगवादी काव्य प्रविधा टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १८औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
गर्ने त मन साह्रै थियो, प्रतिपक्षले रोक्यो,
समृद्ध नेपाल बनाउने, ताला चाबी बोक्यो ।
✍️ वसन्त अनुभव

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
कुनै दिन पछुताउनेछन् काममा बाधा गर्नेहरू,
मुखले चिप्लाे घसीघसी पराइकाे कान भर्नेहरू ।
ताराप्रसाद चापागाईं
धुनिबेसी ।
[२]
हुँती छैन काम गर्ने, अझैँ छारो हाल,
दुई जिब्रे ए नेता ज्यू, जिब्रो काटी फाल ।
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[३]
हुतिहारा यी नेताहरूको चाला छैन राम्रो,
समृद्ध नेपाल बनाउन आफै बने चाम्रो ।
बेदु न्यौपाने
काठमाडौ
[४]
गर्यौ कामहरु तिमीले निकै त्यस्तै आलोचना मात्र झेल्यौ।
सोचविचार गर्नुपर्छ गरेनौ नेताहरुकै खेल खेल्यौ।।
️कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[५]
समृद्ध नेपाल बनाउनेले दिउँसै रक्सी पिए,
देश बेचि खानेहरु छिमेकीका प्यारा भक्त थिए।
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
[६]
आफू सत्तामा पुगेको बेला लाउनु पर्ने कासन,
तिमी आफै कमजोर भयौ खुकुलो भयो शासन।
गुणनिधि घिमिरे
[७]
देश गिद्धले चोक्टा लुछे झैँ लुछ्दा हेरेर बस्छौ,
जनता अगाडी भाषण गर्दा चिप्लो मात्र घस्छौ ।
गोमा गुरागाई इटहरी
[८]
समृद्धिका भाषण मात्र गर्ने होइन काम,
भ्रष्टाचार र खिचातानी बिकासका नाम ।
राम कुमारी खडका
तुल्सिपुर उ न पा १९ दाङ्ग ।
[९]
दुवैपट्टिबाट बोल्ने नेता हुन्छ भन्छन्
गर्ने त केही होइनन् जून तारा छुन्छन्।
दीपक ठटाल जलन,खरसाङ,दार्जीलिङ।
[१०]
अरू दोषी बनाउने पुरानै चलन राजनीतिमा,
आफ्नो सत्ता हुँदासम्म देखे पनि बोल्दैनन् बेथितिमा।
म्यामराज राई,भोजपुर
हाल- जापान
[११]
सवालको जवाफ दिन नसकेपछि बाहाना बनाउँछन्,
आफ्ना काला कर्तुत जनता सामु ल्याएर आफै गन्हाउँछन्
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[१२]
खाने मुखलाई जुँगाले कहाँ छेक्या हुन्छ,
राम्रो काम गरे पो त मन मस्तिष्क छुन्छ ।
त्रिलाेचन भण्डारी
मेचीनगर झापा
[१३]
मलाई जितायौ भने देश स्वर्ग बनाउँला,
अरुले नगरेपनि आफ्नैलाई गराउँला।
घनश्याम पौडेल
[१४]
दौरा सुरुवाल सिलाई सके मन्त्री बन्ने पक्का,
यो राजनितिक च्याखे दाउ हो हानौ चौका छक्का।
नवशिला
बेलबारी-२, लालभित्ती,मोरङ ।
[१५]
सत्तामा पुग्नलाई खुट्टा ढोग्न आयौ,
स्वार्थ पूरा भएपछि त लुक्न लायौ ।
कमला देवकोटा, पाल्पा
हाल- बुढानिलकण्ठ काठमाण्डु
[१६]
नारा दिने कुरा राम्रो,
काम हेर्दा भने चाम्रो ।
रचना शर्मा प्रतीक्षा
महालक्ष्मी नपा ४, ललितपुर, नेपाल ।
[१७]
चाबी आफ्नै हातमा दिदा, ताला चाबी बिगार्ने,
चाबी हरायो भन्दै प्रतिपक्षलाई थोपार्ने ।
धर्मराज पोख्रेल
[१८]
अल्छिले त बल्छि हान्छ जाँगरे फाल्छ जाल,
कहिले देश बन्ने हैन यी नेताका चाल ।
इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३
[१९]
म नेता हुँ किन गर्नु मैले देश बिकासको सह्राना,
राख्दिन्छु म त कार्यकर्ता सामु प्रतिपक्षको बहाना ।
बिके माकजु , भक्तपुर ।
[२०]
चिल्लो गाडीमा हुइँकिने बानीले भ्रष्टाचारमा फसेंँ,
अघिपछि वास्तै नगर्ने कुलत पेवा बनाइ बसेँ ।
अम्विका अधिकारी
झापा विर्तामोड
[२१]
यी नेता जहाँ जता आफै मात्र राम्रो,
अरूलाई खोट लगाई बन्छन् चाम्रो।
सरस्वती श्रेष्ठ इटहरी
[२२]
खोकी लाग्दा जहाज चढी बिदेश तिर धाउने,
सत्तामाथी आफू बसी दोष अरुलाई लाउने।
माधवी भट्ट
सुर्नया ३( बैतडी )
[२३]
केमा मर्ने न रेल आयो न पानी देशको खोलामा,
समृद्ध नेपाल कसरी हुन्छ हाम्रो यही चोलामा।
सुरेशकुमार पान्डे।दाङ घोराही१८
[२४]
फत्ते एक्लै गर्छु भनी कुम्लाे कुटुराे बाेक्दा,
सर्ने नै भयाे महामारी जताततै खाेक्दा ।
शान्ति याक्साे
काठमाडौं ।
[२५]
भोट दिई जिताएर पठाकै हुन् जनताले हामीलाई,
पालैपालो यो नाटक गर्छौँ लुकाउन हाम्रो खामीलाई ।
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ हाल- प्रवास
[२६]
पद प्रतिष्ठा र पैसाको मुख्य छ कुरा,
विकासको मखुण्डोमा आफ्नै स्वार्थ पूरा!
भूषण जंग
काठमाडौ
[२७]
चटकेले चटक नै देखाए लौँ जातै फालेर,
नारायणहिटी दरबारमा बतास हालेर।
लक्ष्मी प्रसाद फुयाल
पथरी शनिश्चरे मोरङ
[२८]
सत्तापक्ष प्रतिपक्ष एउटै ड्याङका मुला,
काम गर्ने केही होइन कुरा गर्दछन् ठुला।
मन्दिरा सेढाई
मलेखु,धादिङ
[२९]
संसदलाई अनिर्णयको बन्दी बनाउन् ,
सांसदभत्ता महिनैपिच्छे खाई पचाउन् ।
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।
[३०]
बहाना हाे तालाचाबी, बिपक्षीले बाेक्याे भन्ने,
सत्तामा रहँदा तिमी पनि हाे तेसैमा गन्ने !
गाेपालकृष्ण डंगाेल
इटहरी, सुनसरी ।
[३१]
सधै रगत अनि पसिनाको मात्र चारो हाल्नुपर्ने,
अझै कति हामीले छसय एक उडुस पाल्नुपर्ने ।
अत्री स्वामी भोजपुर षढनन्द नगर पालिका १ नेपाल डाडा
[३२]
हावाले बिरुवा मर्दैन फूल झर्छ बरु,
मरूभूमिमा पनि हेर फुल्न सक्छ तरु ।
धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४बिगारे जुम्ला
[३३]
आफ्नो शक्ति, क्षमता नभई जनताको प्रयोग गर्छन्,
देश समृद्ध बनाउने नाम खाली आफ्नै भुडी भर्छन्।
रुपेश कु.सदाय
सिरहा गापा सखुवानन्कारकट्टी-३
[३४]
खोलौंन अब मिलिजुली समृद्धिको बागडोर ,
बाँडिचुँडी खाउँला बरु जतिपुग्छ धेरथोर।
होम प्रसाद न्यौपाने
धरान,सुनसरी ।
[३५]
हे निदने बराजु म त आइतबार नै बार्छु,
लछारपाटाे केही लाउन्न मुखले ठीक् पार्छु ।
निरज काेइराला भाैडादेवी टाेल उदयपुर
[३६]
जनता अगाडी ठुला ठुला भाषण गर्छन्,
सत्तामा पस्दा भन्नैका सबैकुरा थन्किछन्।
सुरेखा चाम्लिंग
भक्तपुर
[३७]
आफै धामी आफै बोक्सी हामीले के जान्नु ?
सधैँ ढाँट्नेको कुरा कसरी सत्य मान्नु ?
अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[३८]
जस जति आफुलाई, दोष जति अरूलाई,
काम नगरने बहाना, भ्रष्टाचार मचाई ।
बिबस पारदर्शी
भद्रपुर न० पा० २ झापा
[३९]
सर्पले नै देख्छ अरे सर्पका ती खुट्टा ,
झुक्याउन हामीलाई भर्छाै फुलबुट्टा ।
केशवप्रसाद ढकाल `प्रीतबीज´
[४०]
सधैं भरी लुछाचुडी र कुर्सी तानातान,
अदालतमै चल्न थाल्यो हात हानाहान।
ललिता अभागी
सुनकोशी५ सिन्धुली
[४१]
जुन जोगी आए नि कानै चिरेको,
जालझेल गरी सत्तामा छिरेको ।
भगवती दवाडी ,झापा
[४२]
बल्ल पाइयो सत्ता मोज गर्नुछ, जुँगामा लगाएर ताउ,
चुनाव किन घोषणा गर्नु, खोज्दैछु सत्ता लम्ब्याउने दाउ ।
मिसु श्रेष्ठ
दोलखा , हालकाँडाघारी काठमाडौं
[४३]
खै कस्ले बाँड्यो समेलनमा मिठो चट्नीसङ्गै खिरले भात छोपेर।
नेपाल समृद्ध बनाउने सपनामा प्रतिपक्षको चिप्ले रोपेर।
अच्युत घिमिरे
[४४]
अरुलाई दोष लगाउने मात्रै गर्छौ कुरा ,
गर्छु भनेर कम्मर कस हुन्छ अवश्य पूरा ।
गंगा खड्का
बूढानीलकण्ठ काठमाडौँ
[४५]
प्रतिपक्षी देखाएर आफु सिन्को भाँच्ने हैन,
कुर्सी भए पुग्यो सबै समृद्धिमा चासो छैन ।
कर्ण दयाल
मेलौली नगरपालिका ७, बैतडी
[४६]
एकदिने फुस्रा भाषण जनतालाई दिनै पर्यो ,
सोध्छन् तिनी भन्छु म पनि खै विगतकाले के गर्यो ।
जमुना आचार्य
सिन्धुपाल्चोक
[४७]
लाग्छ मलाई त यी सबै सत्ता भोगीहरू,
नाङ्गै भुत्तुङ्गै खरानी धसेका जोगीहरू ।
बी.कुलुङ
(दार्जिलिङ )भारत
[४८]
काम गर्दछन् दुई पैसाको धेरै गफ लगाउँछन् ,
जनताले चाहे हुतिहारा नेतालाई भगाउँछन्
निर्मला शाही ठकुरी
दैलेख
[४९]
खाने मुखलाई जुँगाले राेक्दैन,
सत्य कुरा काेही कसैले खाेक्दैन।
मित्र उराठी गाैतम
अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा-२
[५०]
नाटक गरी आपसमा दाेषाराेपण गर्ने,
खाने बेला त मिलेमतोमा आफ्नो पेट भर्ने ।
दुर्गा भट्टराई
मोरङ
[५१]
आशा हराई सक्याे समृद्ध नेपाल आउने,
कहिलेसम्म हाेला हामी खै विदेश धाउने ।
भावना मन्जु
झापा – हाल- माेरङ
[५२]
विधिको शासन गर्ने हो भन्दछन् यहाँ, बिधान तोडेर,
जनता नाच्ने गर्दछन् सडकमा यहाँ, टाउको फोडेर।
प्रदीप के रिमाल
इटहरी -८, सुनसरी प्रदेश न. १
[५३]
पक्ष प्रतिपक्षकाे हो याे केवल खेल ,
जनतालाई छल्ने यीनका जालझेल ।
प्रद्युम्न चालिसे
भक्तपुर कट्ञ्जे
[५४]
गरिब र दु:खी आँखा चिम्लेर आउ,
नेताको फेरिएन लुटिखाने दाउ ।
संझना कुसुम
कास्की
[५५]
दाेष जति थुपारेर बिपक्षीकाे काँधमा ,
पराईले उखेलेर किल्ला सार्याे साँधमा ।
रामकृष्ण दुवाडी
पाेखरा
[५६]
”नाटक र नौटंकी” गर्न त कसले पो सक्लान् राजनीतिमा हजुर,
साँट्या झैं पो लाग्यो नि है ताला चाबी नै ”तेत्तीस किलो सुन”को गजुर ।
शम्भु लाल श्रेष्ठ
नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाडौं।
[५७]
प्रतिपक्षले रोकेको भए रगतको बग्छ खोला,
छिमेकीलाई बुझाए चाबी कसले ल्याउने होला।
लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा
[५८]
नयाँ नेपाल बनाएर मर्ने रहर भो अपुरो,
देखेपछी त धन थाम्दैन मन नजरै मधुरो ।
गणेश तामाङ वाइबा
धादिङ नेपाल
[५९]
अघि सर्छन गर्छु भनेर, गँगटो झै नेता,
समृद्ध नेपालको भाषण गर्छन् ,फुर्ती तेता ।
बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा
[६०]
आफू पनि गर्नुछैन गर्नेको खुट्टा तान्ने,
कार्य सफल हुन लाग्छ पछिबाट हान्ने ।
दुर्गा अाचार्य
मोरङ
[६१]
अँध्यारोमा पनि घाम लाग्यो भन्न थाले,
उज्यालोमै आँखा थुन्छन् बलत्कारी भाले।
पौडेल विमुन्स 💕 पोखरा कास्की 💕
[६२]
हानथाप गर्छन् सधै भरि साँढे जस्तै सरकार,
यौटा डुक्रनु अर्को उफ्रिनु खुट्टा तान्दै बारम्बार ।
जि कुमार गौतम भद्रपुर -१ (पृथिविनगर) झापा
[६३]
ताला र चाबी मात्र बाेक्याे ढाेका खाेलेन,
विकास अनि समृद्धिकाे कुरै बाेलेन।
प्रेम कला चापागाई
मेचीनगर १२ झापा
[६४]
हेर्नुस् देश बनाउँछु भन्दै बारम्बार आफ्नो घर बनाए ,
यहाँ त पापीले नेताले गरिबको चुलोमा पानी खनाए ।
विक्रम तिरुवा सलिन
जुम्ला
[६५]
आफूले गर्न चाहदैन दाेष प्रतिपक्षलाई थाेपर्छ
अरुप्रति औला उठाउँदै ऊ परेका बेला पछि सर्छ।
रामकृष्ण रिजाल
[६६]
अरूलाई दाेष लगाएर मात्र देशमा विकास हुदैन,
शुभ कार्यकाे फैलावटमा हेर दुर्गन्धले रत्ति छुदैन ।
बसन्ती भण्डारी
[६७]
बाेलीमा मात्रै भयाे उनीहरूकाे राम्रो,
बानी व्यवहारमा भए सारै नै चाम्रो।
सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[६८]
सुनै फलाउने मन थियो विपक्षले जग्गा बेचिदिए,
समृद्ध देश बनाउलान् भनि पाखुरी बाधी राखिदिए ।
मेनुका खड्का
धुलिखेल
[६९]
जहाँ देखाइएको थियो विश्वको दोस्रो खानी,
त्यही भेट्न गाह्रो भो एक कप पिउने पानी ।
बादल गुरुङ वियोगी•
[७०]
आँखामा छारो हाल्दै, धेरै भाषण नछाँट बोता,
जनताले गलहत्याए, तब पाउँछौ धेरै गोता।
निर्मला बराल
भक्तपुर सानो ठिमी काठमाडौं।
जय टुक्का ! जय साहित्य !!

