बह्राईन | “कोभिड-१९को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्कनै पर्ने नेपाली नागरिकहरूको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धि आदेश २०७७” अनुरूप २५ जुन २०२०का दिन बह्राईनमा कोरोना प्रकोपको कारण नेपाल फर्किन नपाएका मध्ये २ सय ७१ जना सहित विभिन्न कारणले मृत्यु भएका मध्ये १ जना नेपालीको शव नेपाल वायुसेवा निगमको दोस्रो चार्टर विमान बाट नेपाल फर्किएका छन्।
एनआरएनए एनसिसी बह्राईनका अनुसार बह्राईनमा विभिन्न कारणले मृत्यु भएका ७ जना मध्ये ३ वटा बह्राईनमा नै अन्त्येष्टि गर्न अनुमती प्राप्त भएको र ३ वटा पहिलो उडान मार्फत नेपाल पुगिसको थियो भने कागजी काम पुरा गरी नेपाल पठाउनु पर्ने बाँकी एक जनाको शव बह्राईनमा रहेको थियो । उक्त बाँकी रहेको एक जनाको शवको सम्पूर्ण कागजी काम पुरा गरी नेपाली दुताबास मनामाले २५ जुनको दोस्रो उडान मार्फत नेपाल पठाईएको दुतासले जनाएको छ ।अब हालको लागी बह्राईनमा नेपाल पठाउनु पर्ने कुनै पनि नेपाली नागरिकको शव नरहेको बुझिएको छ।
गत साता सार्वजनिक गरेको वैदेशिक रोजगार बोर्डको सचिवालयको तथ्यांक अनुसार अन्त्येष्टिको अनुमति पाएका ३ वटा शव बह्राईनमा रहेको थियो।
स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार तयार गरिएको प्राथमिकताको आधारमा आधारित पहिलो चरणमा नेपाल फर्किनै पर्नेमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो चरणको सहजिकरणको उडान बाट नेपाल फर्किनु पर्ने नेपाली नागरिकहरू बह्राईनमा ३ सय ७२ जना रहेको तथ्यांक सार्वजनिक भएको थियो भने नेपाली दुताबास मनामाले पहिलो सुचनामा २ सय ५६ जना र दोस्रो सुचनामा पहिलो सुचनालाई पनि समेट्दै २ सय ९१ जनाको नामावली सार्वजनिक गरेको थियो।
साउदी अरेबियामा आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएकाहरुलाई नेपाल फर्काउने प्रक्रिया सुरु भएको छ ।
उक्त प्रक्रिया यहाँस्थित दूतावासले बुधबार सूचना जारीगरी जानकारी दिएको हो । दूतावासको सूचनामा ‘ साउदी सरकारले अकामा नबनाईका वा नवीकरण नगरेका १३५ जना नेपालीलाई बहिर्गमन भिसा( देश छोड्न अनुमति)’दिइएको उल्लेख छ ।
दूतावासको सूचनामा ‘ देश छोड्न अनुमति पाएका( एक्जिट भिसा लागेका ) ले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने’ उल्लेख गरिएको छ । सूचनामा ‘ स्वदेश फर्कने उडानको मिति पुनः जानकारी गराइने’ लेखिएको छ ।
लकडाउन अघि चलाएका मिनी एमेष्टी ( अकामा नभएका वा नवीकरण नगरेका प्रवासीद्वारा देश छोड्न गरिएका अनुरोध )बाट आएका विवरणका आधारमा साउदी सरकारले आममाफी दिइएको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । उनका अनुसार यो प्रक्रियाबाट साउदीमा अवैधानिक रूपमा रहेका भनिएका हजारौंको संख्या लाभान्वित हुनेछन् ।
लकडाउन अगाडि अकामा नबनाईका वा नवीकरण नगरेका झन्डै ३ हजारको हाराहारी संकलित नेपालीहरुको विवरण साउदी सरकारलाई बुझाइएको दूतावास उपप्रमुख दिलीपकुमार पौडेलले बताए । एक्जिट भिसा पाइसकेकाले तयारी गर्न, भिसा लाग्न बाँकी र निवेदन दिन बाँकी रहेकाहरुले दूतावासको आधिकारिक सूचना हेर्न उपप्रमुख पौडेलले आग्रह गरे ।
साउदीमा झन्डै ३ लाख २५ हजार नेपालीहरु रहेको अनुमान छ । त्यसमध्ये ११ हजारको हाराहारीमा महिलाहरु छिन् । महिला श्रमिकहरु अधिकांश सप्लायर्स कम्पनी कार्यरत छिन् । उनीहरूलाई सप्लायर्स कम्पनीले स्कुल, क्याम्पस, अस्पताल, एअरपोर्ट, पार्लर, रेस्टुरेन्टहरु लगायतमा सप्लाई गर्छन् ।
यहाँ सप्लायर्स कम्पनीहरुले अकामा नबनाउने वा नवीकरण नगर्ने नेपाली श्रमिकहरुको संख्या अत्यधिक छन् । थोरै सप्लायर्स कम्पनीले सेवा, सुविधा दिए पनि थुप्रै कम्पनीहरुले सामान्य मापदण्ड अपनाएको देखिदैन । अन्य नेपाली कामदारभन्दा सप्लायर्समा आएकाहरुको पीडित हुने गरेको दूतावासले जानकारी दिए । दूतावासका अनुसार झन्डै एकवर्ष अघिदेखि सप्लायर्स भिसा बन्द छ । तर यहाँस्थिति विभिन्न कम्पनीलाई नेपाली कामदार दिने उपलब्ध गराउनेहरुले भने धेरै जस्तो काम छोडेर भाग्ने ल्याउन रोकिएको छैन ।
नेपाली राजदूतावास रियादको पहलमा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका १३५ नेपालीहरुले नेपाल उडान गर्ने अनमति पाएका छन्राजदूतावासले निकालेको सुचना अनुसार वहिर्गमन भिषा (Exit Visa) का लागि राजदूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण साउदी सरकारलाई उपलव्ध गराएको र साउदी सरकारले हालसम्म १३५ जना नेपालीहरुलाई बहिर्गमन भिषा जारी गरेको छ ।भिषा लागेकाहरु भिषा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने छ । स्वदेश फर्कने उडान र मिति आदिका बारेमा चाँडै जानकारी गराइने राजदूतावासले जनाएको छ ।
कुवेत | कोरोना भाइरसको कारणले गर्दा विभिन्न समस्यामा परेका र नेपालीहरुको उद्धार गरिनु पर्ने माग सहित गैर आवासीय नेपाली संघ कुवेत र कुवेतमा रहेका संघसंस्थाहरुले सामुहिक रुपमा नेपाली राजदुतावास कुवेतका राजदूत दुर्गा प्रशाद भण्डारी समक्ष लिखितरुपमा ज्ञापनपत्र बुझाएका छन्।
उक्त ज्ञापन पत्रको पूर्ण पाठ:
श्री दुर्गाप्रसाद भण्डारी ज्यू, राजदूत, नेपाली राजदूतावास कुवेत ।
विषय : ज्ञापनपत्र महोदय, उपरोक्त सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई आक्रान्त बनाइरहेको र यो अत्यन्तै कठिन समयबाट हामी गुज्रिरहेका छौं । देशको अर्थतन्त्रको एकतिहाई बराबरको योगदान पुर्याउने वैदेशिक रोजगारमा रहेका श्रमिकमध्ये हामी कुवेतमा रहेका श्रमिक पनि यस महामारीको कारण आपतमा छौं । अत्यन्तै अप्ठ्यारोमा परेकालाई स्वदेश फिर्तिका निम्ति सरकारले तोकेको उच्च भाडादर घटाउन पटकपटक पहल भएको यहाँलाई थाहै छ । तर कुवेत–काठमाडौंका लागि एकतर्फी ४१० अमेरिकी डलर भाडादर तोकेको दरमा पीडित कामदारलाई फर्कन अप्ठेरो पर्न थालेको जानकारी गराउँछौं । आममाफी पाएकालाई सेल्टरसम्म पुर्याउन, पीडितलाई राहत र उद्धार गर्न एनआरएनए लगायतका संघसंस्थाका प्रतिनिधि आफ्नो जिन्दगीलाई दाउमा राखेर नेपाली कामदारको सेवामा जुटेको पनि यहाँलाई अवगत नै छ । यो काममा सहकार्य गरिदिएकोमा नेपाली दूतावास, कुवेतलाई पनि धन्यवाद । तर हवाई टिकट सहुलिय गराउनको लागि दूतावासले समन्वय र सहकार्य गर्न जरुरी ठानेन। महामारी भन्दा अघिका समयमा कुवेत–काठमाडौ नियमित उडान भर्ने जहाजहरु हुँदाहुँदै महामारीबाट पीडित भएकालाई उद्धार गरेर सहुलियत भाडादरमा उडाउन कुनै प्रयास गरिएन । विदेशी भूमिमा खानबस्न नै समस्या परेकाहरु नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले तोकेको महँगो भाडादरमा नेपाल फर्कन बाध्य भएका छन् । उद्धारको नाममा गरिएको व्यापारले पीडितको घाउमाथि नुनचुक छर्कने काम भएको छ । साथै अत्यन्तै महँगो भाडादरका कारण स्वदेश फिर्ता हुन नसक्दाको तनाव तथा पिडाबाट उत्पन्न परिस्थिति र निराशाबारे पनि यहाँहरुलाई जानकारी नै होला । यो परिस्थितिको सामना गर्न नसकेर आत्महत्या गरेको समाचार आउँदा हामीलाई दुःख लागेको छ । र यो अप्ठ्यारो परिस्थितिमा यस्ता घट्ना नदोहिरियोस भन्नेतर्फ सबैले सजगता अपनाउनु पर्छ भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छौं । महामारीले मानव जीवनमा अकल्पनीय क्षति पुर्याएको छ । देश महामारीविरुद्ध कठिन लडाईंमा छ । जस्तोसुकै अप्ठ्यारोकाबिच पनि आफ्नो नागरिकको रक्षा गर्नु राज्यको पहिलो कर्तव्य हुन आउँछ । तसर्थ पीडितलाई सजिलो गरी उद्धार गरिदिन हुन तपशिलका बुँदाहरु सहित नेपाली राजदूतावास, कुवेतसमक्ष अनुरोध गर्दछौं ।
१) रोजगारी गुमाई लामो समयदेखि मासिक तलब नपाएका, थोरै तलबमा काम गरेका र बिमारीले नेपाल सरकारले तोकेको ४१० अमेरिकी डलरमा टिकट किन्न नसकेको हुँदा पुर्नविचार गरी भाडादर तोकिदिन हुन। सस्तो भन्दा सस्तो दरमा नेपाल लैजानका लागि प्रतिस्पर्धाका आधारमा हवाई कम्पनी छनौट गर्नु हुन । २) लामो समयदेखि बिमारी अवस्थामा रहेका श्रमिक, महामारीका कारण कम्पनी बन्द भई लामो समयदेखि तलब नै नपाएर अप्ठ्यारोमा परेका स्वयं टिकट काटेर स्वदेश फर्कन नसक्ने अवस्थामा रहेकालाई विदेशी भूमिमा मर्नपर्ने गरी अलपत्र अवस्थामा परेकालाई वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट खर्च हुने गरी उद्धार गरेर स्वदेश फर्काउन हुन । ३) नेपाली राजदूतावास, कुवेतबाट समयमा आवश्यक सूचना प्राप्त नहुने वा सूचना लुकाउने जनगुनासो बढेको र फेसबुक पेजबाट अन्तिम समयमा सार्वजनिक गरिएका कतिपय सूचनाले सर्वसाधारण अन्योलमा परेकाले समयमै सही सूचना दिनुहुन । ४) खाडी मुलुकमै पर्ने अन्य देशमा नेपाली राजदूतावासले राहत बाँडिरहेको अवस्थामा भोकले छटपटाईरहेका नेपाली नागरिक पटकपकट दूतावाससम्म चर्को घाममा हिँडेर जाँदा पनि कुनै किसिमको सहयोग नहुनुको कारण स्पष्ट पार्न अनुरोध छ । नेपाली राजदूतावास, कुवेतले अहिलेसम्म वितरण गरेको राहत विवरण सार्वजनिक गर्न हुन । ५) नेपाल सरकारले खाडी मुलुकमा कार्यरत र अहिले आपतमा परेका श्रमिकलाई उद्धार गर्न पठाएको रकम नेपाली दूतावास कुवेतमा कति आएको छ भन्ने विषय सार्वजनिक गरी पीडितलाई यथाशिघ्र उद्धार गर्न हुन । ६) दूतावासको हटलाइन नम्बरमा फोन गर्दा रिसिभ नहुने र सबै श्रमिकसँग लोकल नम्बर नभएकाले यथाशिघ्र व्हाट्स एप,भाइभर र इमो नम्बरको व्यवस्था गरी सेवा सञ्चालन गर्न हुन । ७) सर्वसाधारण र गम्भीर अवस्थाका बिमारीले फोन गर्दा एम्बुलेन्स नआउने र अस्पतालमा उपचार पाउन नसकेकाहरुलाई अस्पताल वा सम्बन्धि निकायसङ्ग दूतावासले समन्वय गरि उपचारमा सहजता गराइदिन हुन।
बोधार्थ नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार काठमाडौं नेपाल सरकार, परराष्ट्र मन्त्रालय, सिंहदरबार काठमाडौं वैदेशिक रोजगार बोर्डको सचिवालय, काठमाडौं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय कार्यालय काठमाडौं नेपाली कांग्रेस पार्टी, केन्द्रीय कार्यालय सानेपा ललितपुर जनता समाजवादी पार्टी, केन्द्रीय कार्यालय काठमाडौं नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय काठमाडौं
साउदी अरब | सरकारको सहजिकरण र नेपाली नियोगहरूको समन्वयमा प्रबासमा कोरोना प्रकोपका कारण अड्किएका नेपाली नागरिकहरू स्वदेश फर्किने क्रम जारी छ। गत हप्ता बाट सुरू भएको चार्टर उडान मार्फत नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार प्राथमिकतामा परेको नेपाली नागरिकहरू स्वदेश फर्किँदै छन्। यसै क्रममा २३ जुनका दिन नेपाल एयरलाईन्सको जेद्धा बाट पहिलो उडान र दम्माम बाट हिमालय एयरलाईन्सको दोस्रो उडान मार्फत क्रमश: २५४ र १५४ गरी ४ सय ८ जना नेपाली स्वदेश फर्किएका छन्।
महावाणिज्यदुत रेवती रमण पौड्यालका अनुसार महावाणिज्य दुताबास जेद्धाले विभिन्न माध्यम बाट प्राप्त गरेको निवेदन र नेपाल सरकारले तय गरेको प्राथमिकताका आधारमा ११ सय ६० जनाले नेपाल सरकारको सहजिकरणमा हुने उडान मार्फत स्वदेश फर्किन अनुमती प्राप्त गरेका छन्।जस मध्ये २५४ जना पहिलो उडान बाट स्वदेश फर्किएका हुन।
महावाणिज्यदुत पौड्यालका अनुसार जेद्धा महावाणिज्य दुताबासको मातहदमा हाल विभिन्न कारणले मृत्यु भएका १२ जना नेपालीको शव रहेको मध्ये महावाणिज्य दुताबासले ५ वटा शवलाई एनओसी जारी गरिसकेको छ साथै मृत्यु भएको मध्ये कोभिड संक्रमण भएको २ जना नेपालीको नेपाल पठाउन विभिन्न प्राविधिक कठिनाई रहेको कारण साउदी सरकार र मृतकको परिवारको अनुमती लिएर साउदी अरबमै अन्तिम संस्कार गरिसकेको छ र ४ जनाको पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको छ । उहाँले दिनु भएको जानकारी अनुसार जेद्धा बाट १ जनाको शव नेपाल पठाएको छ भने अब हुने अर्को उडान बाट बाँकी रहेको शव मध्ये कम्तिमा ३ जनाको शव नेपाल पठाउने महावाणिज्य दुताबास जेद्धाको तयारी रहेको छ ।
जेद्धा विमान स्थल
त्यसै गरी दम्माम बाट हिमालय एयरलाईन्सको उडानले २३ जुनकै दिन १५४ जना यात्रु संगै विभिन्न कारणले साउदी अरबमा मृत्यु भएको र अन्तिम संस्कारका लागी अनुमती जारी भएकोहरू मध्ये लम्जुङका १ र नवलपरासीका १ गरि २ जनाको शव नेपाल लिएर गएको छ।
साउदी अरब |रियाद स्थित नेपाली दुताबास रियादले नेपाल सरकारको सहजिकरणमा हुँदै आएको चार्टर्ड उडान बाट नेपाल जानै पर्ने नेपाली यात्रुहरूको नामावली सार्वजनिक गरेको छ। दुताबासले नेपाल सरकारले तय गरिएको प्राथमिकताका आधारमा आधारित नेपाल फर्कनै पर्ने अवस्थामा रहेको ५७० जना नेपालीहरूको नामावली सार्वजनिक गरेको छ। दुताबासले जारी गरेको सुचना र नामावलीको पूर्ण पाठ:
हिमालय एयरलाइन्सको साउदी अरबको दमामबाट यही मिति २६ र २७ जुन २०२० मा दमामबाट काठमाडौँ उडान हुने भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्रथमिकताका आधारमा राजदूतावासद्वारा तयार गरी हिमालय एयरलाईन्सको दम्मामस्थित कार्यलयमा पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पुर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ । हवाई भाडा दर: अमेरिकी डलर 465 (साउदी रियाल करिब १७४४.००) हवाई टिकटको लागि हिमालय एयरलाईन्सको दम्मामस्थित प्रतिनिधि श्री सुवास तिमिल्सिना, टेलिफोन नं +00966 598400198 मा सम्पर्क गरी टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला । अन्य विषयमा कुनै सहयोग आवश्यक भएमा यस राजदूतावासका जनसम्पर्क अधिकारी श्री हरि घिमिरे (Mob. No. 0500081536) लाई सम्पर्क गर्नुहुन समेत अनुरोध छ।
COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन र सो समेत सम्भव नभएमा परीक्षणका लागि निम्न स्थानमा सम्पर्क गर्नु हुन अनुरोध छ ।
Dammam
Health Care Polyclinic (CR No. 2050110244) सेको गार्डेन संगै
Jubail
Gulf Asian Medical Center (Department of Laboratory Medicine)
Address: King Abdulaziz Road,
• यस अघि मिति २०७७ असार १ र ३ गते हिमालय एयरलाईन्सलाई पठाइएको पहिलो र दोस्रो सूचिमा बाँकी रहेकाहरुले समेत टिकटका लागि एयरलाईन्सको माथिको ठेगानामा सम्पर्क गर्नुहोला ।
• भिजिट भिषा र Re-Entry भिषाको अवधि सकिएकाले भिषा नवीकरण गर्नुहोला ।
• यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।
• स्वदेश फर्किने सबैजनाले काठमाडौँ विमानस्थलमा कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनी कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।
साउदी अरब | बिश्वव्यापी महामारी कोविड 19 को कारण आफ्नो रोजीरोटी गुमाएका, हातमुख जोड्न धौ धौ परी स्वदेश फर्किँन बाध्य हुनु परेको पीडा आफैँमा दर्दनाक छ। यसै क्रममा सरकार प्रति चौतर्फी दवाव बढ्दै गए पछी लामो समय पश्चात् विभिन्न सहयोगी हातहरूको अथक प्रयासका कारण आफ्नो देश फर्किन पाएका हाम्रा दिदि बहिनीलाई आफनै देशमा किन अमानवीय व्यवहारको सामना गर्नू पर्ने ?
विषम परिस्थितिमा आफ्नो देश, घर, गाउँ अनि समाज सम्म पुग्न यत्रो संघर्ष गर्नुपर्ने ? कोरोना एक बाट अर्को सार्न सक्ने क्षमता १०-२० प्रतिशत व्यक्तिमा मात्र हुन्छ भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित हुँदा पनि अछूत सरह ब्यवहार किन गरिने ? ढुंगेयुगमा नगरिएको ब्यवहार एकाईसौँ शताब्दीको शिक्षित नेपाली समाजले गर्दैगर्दा यसबाट भावी मानव समाजमा कस्तो संदेश जान्छ ? नेपाल सरकारको सहजिकरण नाममा के पाएका छन् त रेमिट्यान्स् भित्राएर देशको अर्थव्यवस्थाको खम्बा बनेका नेपाली युवा/यूवतीहरूले? मात्र लामो समय सम्म निरीह बनी स्वदेश फर्किने प्रतीक्षामा बस्नु पर्ने मात्र नभई चर्को हवाईभाडाको मार, नेपालमा उनीहरूलाई हेर्ने पाशुवत दृष्टिकोण अनि मानसिक पीडा।
एका तिर बैदेशिक रोजगारीको क्रममा विशेषगरी मध्यपूर्ब बाट फर्किएका महिलाहरू प्रतिको दुर्व्यवहार त अर्को तिर क्वारेन्टाईन भित्र नै महिला माथी सामूहिक बलात्कारको दुष्प्रयास गर्नु । कतै प्रवास बाट फर्किएका गर्भवति महिलाहरू पानी सम्म पिउन नपाएको खबरले जो कोहीलाई मर्माहत बनाएको छ।
कोविड 19 को संक्रमणको पीडामा रहेका आप्रवासी नेपाली नागरिकको सहयोगका निमित्त NRNA ICC -NCC , नेपाली दूतावास , विभिन्न स्थापित संघ संस्था तथा ब्यक्तिगत सहयोग सबैको एकिकृत प्रयासले ति युवा/यूवतीहरू स्वदेश फर्किए भनेर सन्तोषको सास फेर्न नपाउँदै विभिन्न दुःखद ह्रदयविदारक घटनाक्रमले विकराल समस्या सृजना हुने संभावित प्रारूप देखिन थालेको छ।
यस जटिल घडीमा नेपाल फर्किएका गर्भवति महिलाहरूलाई उहाँहरूको नजिक पायक पर्ने ठाउँको सरकारी हस्पिटल वा स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसुती अधिकारको सुनिश्चिततालाई मध्यनजर गर्दै ती महिलाहरूलाई सम्मानजनक निशुल्क सेवासुविधा दिनु पर्ने बिषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै महिला अधिकारकर्मी अनि सम्बन्धित सरोकारवाला निकायहरू संग मेरो अनुरोध छ ।
मध्यपूर्वका विभिन्न राष्ट्रहरूमा आएका महिलाहरू जो आफ्नै व्यक्तिगत कारणले नेपाल फर्किन बाध्य हुनु पर्यो जस्को पिडा उनीहरू स्वयंलाई छ। जसलाई आधार बनाएर नकारात्मक टिकाटिप्पणी गर्नू , आधारहीन संगिन आरोप लगाउँदै चरित्रहत्या गर्नू , सहयोगको साटो मानसिक रूपमा बिक्षिप्त हुने गरी सामाजिक संजालमा तथानामको शब्दावलीले प्रहार गर्दै उपेक्षित लान्छाना लगाउनु , तथ्यहिन समाचार सम्प्रेषण हुँदा पिडित मात्र नभई मध्यपूर्वमा बस्ने सम्पूर्ण हामी जस्ता संघसंस्थामा आवद्ध भई सामाजिक सेवामा अग्रसर भएका महिलाहरूको प्रतिष्ठामा समेत आघात पुगेको मैले महसुश गरेकी छू।
तसर्थ फराकिलो सोच राखी सकारात्मक सेवा तथा सदभाव देखाउनु हुन सम्पूर्णमा आग्रह गर्दछु ।
काठमाडौँ | २० जुन २०२० का दिन गैरआवासीय नेपाली संघले २५०० Covid-19 Detection PCR Test Kit र २५०० RNA Extraction Kit सुदुर पश्चिम प्रदेशका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश राणाले स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहको रोहवरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेका छन् ।
मन्त्री भट्टले गैरआवासीय नेपाली संघबाट प्राप्त सामाग्रीहरुमा सरकारका तर्फबाट थप किट थपेर आइतबारसम्म सुदूरपश्चिम पठाउने जानकारी दिएका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार सुदूरपश्चिममा भारतबाट ठूलो संख्याका नेपाली भित्रिए पनि परीक्षण हुन नपाई लामो समय क्वारेन्टिनमै कष्टपूर्ण तवरले बस्नुपरे पछि संघले सो सहयोग गरेको हो भने कोरोना परिक्षणको लागि सुदुर पश्चिम प्रदेशले किटको अभाव समेत झेल्नुपरेको अवस्थामा थियो ।
पन्तका अनुसार संघले सुदूरपश्चिमका पहाडी जिल्लालाई लक्षित गरी डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालामा गैरआवासीय नेपालीको सहयोग रहने भएको छ ।
गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको सकृयतामा गैरआवासीय नेपाली संघले सुदूरपश्चिम प्रदेशका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत २ हजार ५ सय Covid-19 Detection PCR Test Kit र सोही संख्यामा RNA Extraction Kit हस्तान्तरण गरेको हो ।
बह्राईन मनामा | बह्राईनमा कोरोना प्रकोपको कारण रोजगारी गुमाएका र अध्ययनरत क्षिक्षालय बन्द हुँदा अन्तर्राष्ट्रिय सबै उडान बन्दका कारण नेपाल फर्किन नपाएका मध्ये बह्राईन सरकार द्वारा आममाफी दिएका १७ जना सहित १ सय ५१ जना नेपाली नागरिक नेवानिको चार्टर विमान बाट २२ जुन २०२० का दिन नेपाल फर्किएका छन्। उक्त विमानमा नेपाल फर्किएका यात्रु संगै विभिन्न कारणले बह्राईनमा मृत्यु भएको ७ नेपाली श्रमिक मध्ये ३ जनाको शव पनि नेपाली दुताबास मनामाले नेपाल पठाएको छ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अन्त्येष्टिको अनुमति पाएका ३ वटा शव बह्राईनमा रहेको थियो भने दुताबासले उक्त ३ वटै शव नेवानिको पहिलो उडानमै नेपाल पाठाएको छ। एनआरएनए एनसिसी बह्राईनका अनुसार बह्राईनमा विभिन्न कारणले मृत्यु भएका ७ जना मध्ये ३ वटा बह्राईनमा नै अन्त्येष्टि गर्न अनुमती प्राप्त भएको र ३ वटा नेपाल पुगेको छ भने कागजी काम पुरा गरी नेपाल पठाउनु पर्ने एक जनाको शव मात्र बह्राईनमा रहेको छ ।
तस्विर स्रोत: नेपाली नियोग मनामा बह्राईन
“कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार तयार गरिएको प्राथमिकताको आधारमा आधारित पहिलो चरणमा नेपाल फर्किनै पर्नेमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो चरणको सहजिकरणको उडान बाट नेपाल फर्किनु पर्ने नेपाली नागरिकहरू बह्राईनमा ३ सय ७२ जना रहेको तथ्यांक सार्वजनिक भएको थियो भने नेपाली दुताबास मनामाले पहिलो सुचनामा २ सय ५६ जना र दोस्रो सुचनामा पहिलो सुचनालाई पनि समेट्दै २ सय ९१ जनाको नामावली सार्वजनिक गरिसकेको छ। नेवानिले बाँकी यात्रुको निमित्त बह्राईनको लागी अर्को उडान यही २५ जुनमा गर्ने बताईएको छ।
तस्विर स्रोत: नेपाली नियोग मनामा बह्राईनतस्विर स्रोत: नेपाली नियोग मनामा बह्राईन
साउदी अरब | नेपाली दुताबास रियादका अनुसार दूतावासले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहेर पनि जान नसकेका नेपाली श्रमिकहरूलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भिषा (Exit Visa) सहज र शिघ्र रुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई अनुरोध गरेकोमा साउदी सरकारले वहिर्गमन भीषा प्रदान गर्ने प्रकृयाको थालनी गरेको छ । वहिर्गमन भीषाका लागि राजदूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण साउदी सरकारलाई उपलव्ध गराएको भएता पनि कोरोना संक्रमणका कारण अवरूद्ध यो प्रकृया क्रमशः शुरु भैरहेको छ ।
दुताबासले भनेको छ “उक्त प्रकृयाको थालनी स्वरुप साउदी सरकारले हालसम्म ७४ जना नेपालीहरुलाई बहिर्गमन भीषा जारी गरेको छ । यसरी भीसा लागेकाहरु भीषा लागेको मितिले ६० दिनभित्र आफ्नो खर्चमा स्वदेश फर्किसक्नु पर्ने छ ।” स्वदेश फर्कने उडान र मिति आदिका बारेमा दुताबासले छिट्टै सम्बन्धित सबैलाई जानकारी गराइने भएको छ ।
दुताबासले जारी गरेको सुचानामा बहिर्गमन भीषाका लागि आवेदन दिएका र दिन बाँकी रहेकाहरुका लागि समय समयमा सूचना जारी गरी जानकारी गराइने भएकोले धैर्य गरी बस्न अनुरोध गरेको छ। दुताबासको सुचना र वहिर्गमन भिषा प्राप्त गरेका नेपाली श्रमिकहरूको नामावली पूर्ण पाठ:
साउदी अरब| साउदी अरबमा बहिर्गमन भिषा लिईसकेका नेपाली श्रमिकहरू विगत लामो समय देखी विश्व व्यापी कोरोना भाईरसको कारण उत्पन्न महामारीले गर्दा नेपाल जान नपाई विभिन्न प्रकारको समस्याको सामाना गरीरहेका मध्ये नेपाल सरकारले तय गरिएको प्राथमिकताको आधार अनुसार प्राथमिकतामा परेको ३३ सय १३ जना मध्ये २० जुन २०२० मा नेवानिको उडान मार्फत साउदी अरबको राजधानी रियाद बाट १ बालक र दुताबास रियादको सेल्टरमा आश्रय लिएर बसेको ४ महिला सहित २४७ जना नेपालीहरू स्वदेश फर्किएका छन् (१८ जुन २०२० का दिन हिमालय एयरको उडान मार्फत १५३ जना साउदीको दम्माम बाट फर्किसकेको छhttps://himalayandristi.com/?p=9457 ) ।
नेपाल फर्किनै पर्ने नेपाली श्रमिकहरू संगै नेवानिको उक्त विमानमा साउदी अरबमा विभिन्न कारणले मृत्यु भएका र त्यसमध्ये दुताबासले एनओसी प्रमाणपत्र जारी गरेका मध्ये कम्तिमा ४ वटा शवहरू नेपाल पठाउने दुताबासको तयारी रहे तापनि एउटा पनि शव नेवानिको विमानमा नेपाल पठाउन सकिएन । नेपाली दुताबास रियादका अनुसार उडान समयावधि एकदमै छोटो र साप्तान्तको(सरकारी कार्यलय बन्द) समय पर्न गएको कारण उडान सम्बन्धि अन्तिम तथा महत्वपूर्ण कागजी काम पुरा गर्न नसक्दा शवहरू पठाउन नसकिएको बताईएको छ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले २० जुन २०२० शनिवारका दिन सार्वजनिक गरेको तथ्यांक अनुसार साउदी अरबमा विभिन्न कारणले मृत्यु भएको श्रमिकको ९८ वटा शव रहेको बताए पनि नेपाली दुताबास रियादको निगरानीमा दश दर्जन भन्दा बढी शवहरू रहेको बुझ्नमा आएको छ जस मध्ये २४ वटा शवको लागी एनओसी जारी भईसकेको छ भने हिमालय एयरको उडान बाट गत १८ जुनमा १ वटा शव नेपाल पुगिएको छ। बाँकी रहेको मृतकको कागजी कामकार्वाही जारी छ भने प्राप्त जानकारी अनुसार जस मध्ये ५ वटा शव अवैध श्रमिकको रहेको बुझिएको छ । साथै विभिन्न स्रोत बाट प्राप्त सुचना अनुसार करिब डेड् दर्जन भन्दा बढी नेपालीको कोरोना संक्रमण बाट मृत्यु भएको बुझिएको छ। उक्त सुचनालाई आधिकारीक निकाय बाट पुष्टि सहित सुचाना सार्वजनिक भएको छैन।विशेष स्रोत बाट प्राप्त जानकारी अनुसार कोरोना संक्रमण बाट मृत्यु भएको मध्ये करिब एक दर्जन शवहरू साउदी अरबमा नै अन्त्येष्टि गर्ने अनुमती समेत प्राप्त भईसकेको बुझिएको छ ।
“कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार साउदी अरबमा असहज अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन नेपाल सरकारले सहजिकरण गरिएको उक्त रियाद बाट हुने उडानको लागी नेपाली दुताबास रियादले ४४५ जनाको नामावली सार्वजनिक गरेको थियो। तथापी नेवानिको २७४ जना यात्रु क्षमता रहेको विमान मार्फत २४७ जना मात्र स्वदेश फर्किएको हो भने अन्य बाँकी यात्रुको लागी २६ जुन २०२० मा पुन: रियाद बाट नेवानिको अर्को उडान हुने एयरलाइन्स प्रतिनिधि सुरेश राज त्रिपाठीले बताएका छन्।
त्रिपाठीका अनुसार २० जुनको उडानको लागी २६४ थान टिकट बिक्री गर्ने अनुमती पाएकोमा २५९ थान टिकट बिक्री गरिएको र बोर्डिंग पास २५० जनाले मात्र लिएको र त्यस माध्ये पनि ३ जनाको कागजात तथा कानुनी अड्चनका कारण विमान स्थल बाट फर्किएको छन्। उनले टिकट लिएर पनि उडान भर्न नपाएका श्रमिकहरूको टिकट वापतको रकम फिर्ता गरिने जनाएको छ। उक्त नेवानिको उडान बाट स्वदेश फर्किँदै गरेको नेपाली नागरिकलाई बिदाई गर्न नेपाली दुताबास रियादका राजदुत प्रा.डा. महेन्द्र सिंह राजपुत, नियोग उपप्रमुख दिलिप पौड्याल, द्वितीय सचिव भरत खनाल लगायत दुताबासका अन्य पदाधिकारीहरू विमान स्थल पुगेका थिए । गैर आवसिय नेपाली संघको निरन्तर समन्वय र नेपाली नियोगहरूको पहलमा नेपाल सरकारले श्रमिक स्वयंले सम्पूर्ण खर्च व्यहोर्ने गरी उक्त उडानको सहजीकरण गरेका थिए।