साउदी अरब| नेपाली दुताबास रियादले सुचाना जारी गर्दै हिमालय एअरलाइन्सको २० जून २०२० मा दमाम-काठमाडौँ तय भएको उडान प्राविधिक कारणले जून २३,२०२० हुने भएको जानकारी गराएको छ। उक्त सुचना अनुसार उडानको समय तालिका परिवर्तन गरिएको एअरलाइन्सबाट दूतावासमा सुचाना प्राप्त भएको जानकारी उल्लेख गरिएको छ।
उक्त उडानको लागी प्राथमिकतामा रहेको यात्रुहरूको नामावली दुताबासले सार्वजनिक गरिसकेको छ जुन यस प्रकार रहेको छ: नामावलीको पूर्ण विवरण
साउदी अरब | रोजगारीका क्रममा विभिन्न कारण साउदी अरेबियामा मृत्यु भएका नेपालीका परिवार वा हकवालाले पाउनुपर्ने रकम नेपाली दुताबास रियादले नेपाल पठाएको छ ।
नेपाली दूतावास साउदी अरेबियाले सूचना जारी गरी मृतकका हकवालाले पाउनुपर्ने ७ लाख ५८ हजार ७१६ रियाल ( २ करोड ४६ लाख २७ हजार रुपैयाँ) कन्सुलर बिभागमा पठाएको जानकारी दिइएको हो ।
मृतकका तलबभत्ता, बीमा, ब्लडमनी, जीवन बीमा र सर्भिस, बेनिफिट बापत पाउनुपर्ने रकम पठाएको राजदूत प्रा.डा.महेन्द्रप्रसाद सिंह राजपुतको भनाई रहेको छ । उनका अनुसार कोरोनाका कारण यहाँ अदालतको काम अझै ठप्प छन् । सामान्य हुनासाथ दुताबासले अरु मुद्दाको नियमित फलोअप गरिनेछ ।
त्यसैगरी दूतावास उपप्रमुख दिलीपकुमार पौडेलले दुर्घटनामा दोस्रो पक्षको संलग्नतामा ज्यान गुमाएका ६८ जना मृतकका परिवारलाई ब्लडमनी उपलब्ध गराउने प्रयास भइरहेको बताए । उनका अनुसार ब्लडमनी बापतको झण्डै ५६ लाख ६५ हजार ५ सय साउदी रियाल (१८ करोड ३९ लाख रुपैयाँ) पनि सम्बन्धित पक्षबाट असुल गर्ने प्रयासमा दुताबास निरन्तर लागीरहेको छ ।
साउदी अरब| साउदी अरबमा बहिर्गमन भिषा लिईसकेका नेपाली श्रमिकहरू विगत तिन महिना देखी विश्व व्यापी कोरोना भाईरसको कारण उत्पन्न महामारीले गर्दा नेपाल जान नपाई विभिन्न प्रकारको समस्याहरूको सामाना गरीरहेका मध्ये नेपाल सरकारले तय गरिएको प्राथमिकताको आधार अनुसार प्राथमिकतामा परेको ३३ सय १३ जना मध्ये १८ जुन २०२० का दिन हिमालय एयरको H9 5602 उडान बाट ८ जना महिला सहित १५३ जना नेपाली श्रमिकहरू साउदी अरबको पूर्वी शहर दम्माम एयरपोर्ट बाट स्वदेश फर्किएका छन्। नेपाल फर्किनै पर्ने नेपाली श्रमिकहरू संगै उक्त विमानमा साउदी अरबमा विभिन्न कारणले मृत्यु भएका मध्ये १ जनाको लाश पनि नेपाल फर्किँदै छ।
गैर आवसिय नेपाली संघको निरन्तर समन्वय र नेपाली नियोगहरूको पहलमा नेपाल सरकारले श्रमिक स्वयंले सम्पूर्ण खर्च व्यहोर्ने गरी उक्त उडानको सहजीकरण गरेका थिए।भने टिकट शुल्क अत्याधिक भएको भनि चौतर्फी विरोध र आलोचना भए पश्चात पहिलो निर्धारित समय तालिका अनुरूपको उडान हुन सकेको थिएन । यसका साथै दुताबासले संयोजन गर्ने गरी अन्य कुनै पनि विमान चार्टर गरी नेपाली श्रमिकहरू स्वदेश आउन सकिने भनि गत जेष्ठ ३० शुक्रबार क्याबिनेटले निर्णय गरे पनि कार्यन्वयन हुन सकेन र निर्धारण गरिएको मुल्यमा पुनर्विचार गरी हवाई कम्पनीले मुल्य घटाए पश्चात अहिलेको उडान भएको हो।
“कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार साउदी अरबमा असहज अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन अर्को उडानहरू २० जुनमा दम्माम बाट र २१ जुनमा रियाद बाट हुने तय भएको छ भने उक्त उडानको लागी दुताबासमा आएको निवेदन र नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा यात्रुहरूको नामावली नेपाली दुताबास रियादले सार्वजनिक गरिसकेको छ।
बोर्डिङको लागी प्रतिक्षारतप्रतिक्षालयमा प्रतिक्षारत
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानँकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमवार एक पत्र मार्फत सरकारलाई विदेशमा अलपत्र परेका श्रमिकहरुको तत्काल उद्धारको लागि आग्रह गरेको छ । संघले उपप्रधानमन्त्री तथा अध्यक्ष, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादव र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई लेखेको पत्रमा विदेशमा अलपत्र परेका नेपालीको उद्धार प्रक्रियालाई थप तीव्रता दिन आग्रह गरिएको छ ।
संघले विदेशमा अलपत्र परेका व्यक्तिहरुको उद्दारको लागि सरकारको तर्फबाट चाल्नु पर्ने कदमको बारेमा बुँदागत रुपमा सुझाव दिएको छ ।
संघले चार्टर उडान गर्ने व्यवहारिक र सहज व्यवस्था मिलाउन, कामदारहरु पनि विदेश फर्कने बाटो खोल्न, खर्च बिहिन भएका विद्यार्थीहरुलाई सरकारी खर्चमा तुरुन्त उद्दार गर्न, देशमा होल्डिग सेन्टरको प्रबन्ध मिलाउन, सेल्टरमा कुरिरहेका मजदुरहरुलाई नेपाल फर्कने स्वीकृति प्रदान गर्न, सयौंको संख्यामा रहेका शव तुरुन्त नेपाल झिकाई सांस्कृतिक परम्पराअनुसार दाह संस्कार गर्नको लागि परिवारलाई हस्तान्तरण गर्न, अलपत्र परेका कामदारहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट मार्फत सहयोग गर्न ठोस कदम चाल्न आग्रह गरेको छ ।
प्रेश बक्तब्यको पूर्णपाठ
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारणले संसारका विभिन्न ठाउँमा लाखौँ नेपाली अलपत्र परेका छन् । अलपत्र परेकाहरु मध्ये अधिकांश नेपालको अर्थतन्त्रमा एक तिहाई योगदान पुर्याउने वैदेशिक रोजगारी कामदारहरु छन् भने बाँकी मानव तस्करले अलपत्र पारेका, आफन्तलाई भेटन गएर अड्किएका, खर्चविहिन विद्यार्थीहरु तथा भिजिट भिसामा रहेका व्यक्तिहरु छन् । यस विषम परिस्थितिमा अलपत्र परेका मध्ये करिब २४ हजार नेपालीहरुलाई नेपाल फर्काउने सरकारको सैद्धान्तिक निर्णय स्वागत योग्य छ । यस निर्णयको कार्यान्वयनको चरण समेत सुरु भइसकेकोप्रति हामी आभारी छौँ । यस प्रक्रियालाई थप तीव्रता दिन आग्रह गर्दछौँ । अलपत्र परेका व्यक्तिहरुको उद्दारको लागि सरकारको तर्फबाट देहाय बमोजिमका कदम यथाशक्य छिटो चाल्न विन्रम अनुरोध गर्दछौँ ।
गैरआवासीय नेपाली संघ तथा अन्य संघसंस्थाहरुको राहत एवं सहयोगले गाँस बाससम्मको जोहो गरिरहेका अलपत्र ती सबै नेपालीले हालकै अवस्थामा नेपाल सरकारले तोकेको सामान्य समयको भन्दा पनि धेरै महँगो भाडा तिरेर नेपाल फर्कन असम्भव छ । श्रम स्वीकृति बाहेक अन्य कारणले विदेशमा अलपत्र परेका नेपालीहरुलाई पनि स्वदेश फर्काउन दूतावास तथा संघको सहकार्यमा सस्तोमा चार्टर उडान गर्ने व्यवहारिक र सहज व्यवस्था मिलाउन आग्रह गर्दछौँ ।
अधिकांश कामदारसँग कोरोना कहर सुरु हुनु पुर्व नै रोजगारदाता कम्पनिले व्यवस्था गरिदिएको टिकट हातमा भएको र चार्टर उडानमा फर्कदा सो टिकट खेर जाने र विश्वका अधिकांश देशहरुमा नियमित उडान नै सञ्चालन हुन् सुरु भइसकेकोले वैदेशिक रोजगारको मुख्य गन्तव्य देशहरुमा सिमित संख्यामा मात्रै भएपनी नियमित उडान सञ्चालन गर्न अनुरोध गर्दछौँ । नियमित उडान सुरु भएको खण्डमा पुरानो टिकटको प्रयोग हुने, भाडादर कम हुने तथा नेपालमा अड्किएका अन्य कामदारहरु पनि विदेश फर्कने बाटो खुल्ने तर्फ ध्यानाकर्षण गराउँदछौँ ।
मानव तस्करको कारणले विभिन्न देशमा अलपत्र परिरहेका तथा खर्च बिहिन भएका विद्यार्थीहरुलाई सरकारी खर्चमा तुरुन्त उद्दार गर्न आग्रह गर्दछौँ ।
क्यानाडा, युरोप तथा अफ्रिकाका धेरै देशहरुमा एउटै देशबाट जहाज नभरिने भएकोले अन्य देशसँग मिलाएर संयुक्त उद्दार उडानको व्यवस्था गर्न सकिने जानकारी गराउँदछौँ ।
फर्कने क्रममा एयरपोर्टसम्म धेरै टाढाबाट यात्रा गर्नुपर्ने व्यक्तिहरुको लागि सम्बन्धित देशमा होल्डिग सेन्टरको प्रबन्ध मिलाइदिन आग्रह गर्दछौँ ।
पिसिआरमार्फत कोरोना टेष्ट गर्ने सुविधा नभएका देशहरुबाट सम्बन्धित देशका FIT TO FLIGHT सर्टिफिकेट अनुसार फिर्ता आउने व्यवस्था गरियोस् ।
कुवेत बाहेक अन्य देशहरुमा पनि आम माफी पाएर सेल्टरमा कुरिरहेका मजदुरहरुलाई नेपाल फर्कने स्वीकृति प्रदान गरियोस् ।
विभिन्न कारणले सम्बन्धित देशको नियम अनुसार बिना इजाजत श्रम गरिरहेका (Undocumented Migrants workers) कामदारहरुलाई उक्त देशको कुटनीतिक निकायसँग सहकार्य तथा अनुरोध गरि आम माफी (Amnesty) दिलाउने प्रबन्ध तुरुन्त गरियोस् ।
गर्भवती, नाबालक एवं बालबालिका सहित अन्य महिला, अशक्त तथा कोरोना बाहेक अन्य रोगले पिडित व्यक्तिहरु, परिवारलाई भेट्न अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानाडा युरोप लगायतका देशमा आएका नेपालीहरुलाई प्राथमिकताको आधारमा उद्दार गरियोस् ।
विभिन्न देशमा कार्यरत भई हाल नेपालमा छुट्टीमा रहेका वैदेशिक रोजगारी कामदारहरुलाई रोजगारमा फिर्ता हुन श्रम स्वीकृत तथा अन्य सुविधा सञ्चालन गरियोस् ।
वैदेशिक रोजगारको क्रममा कोरोना बाहेक अन्य रोगले विदेशमा मृत्युवरण गरेका सयौंको संख्यामा रहेका शव तुरुन्त नेपाल झिकाई सांस्कृतिक परम्पराअनुसार दाह संस्कार गर्नको लागि परिवारलाई हस्तान्तरण गरियोस् ।
संघले एकल रुपमा प्रदान गरिरहेको राहत कार्यक्रममा वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सरकारले संघसँग हातेमालो गर्न अति आवश्यक भइसकेकोतर्फ ध्यानाकर्षण गराउँदछौँ । अन्यथा संघले जम्मा गरेको सिमित श्रोत सकिने र पिडितहरु भोकै सडकमा सुत्नुपर्ने अवस्था आउने भएकोले यसतर्फ तुरुन्तै ठोस पहलकदमी लिइयोस् ।
वैदेशिक रोजगार ऐन २०६४ को कल्याणकारी कोष प्रयोग तथा सञ्चालन कार्यविधि दफा ३३ ख तथा नेपाल फर्काउने कार्यविधि दफा ७५ मा करार बमोजिमको सुविधा नपाएर तथा महामारीले विदेशमा अलपत्र परेका श्रम स्वीकृति लिएर गएका नेपालीहरुलाई नेपाल फर्काउने जिम्मेवारी वैदेशिक रोजगारीमा पठाउने एजेन्सी तथा रोजगार दाताको हुनेछ भनि उल्लेख रहेको स्मरण गराउँदै सो व्यवस्था अनुरुपको जिम्मेवारी बहन गराउन सम्बन्धित मन्त्रालय स्तरबाटै पहल गरियोस् । यसका साथै सम्बन्धित देशको दूतावासहरुलाई समेत यस विषयमा पहलकदमी लिन सचेत गराइयोस् । अन्यथा, अलपत्र परेका कामदारहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट फिर्ता गराउनु पर्ने अवस्था सिर्जना हुने भएकोले यस सम्बन्धमा यथाशक्य छिटो ठोस कदम चाल्न अनुरोध गर्दछौँ ।
माथि उल्लेखित समस्या समाधानको लागि संघ सरकारसँग सहकार्य तथा हातेमालो गर्न सदैव तैयार रहेको जानकारी दिलाउँदै उद्दारको काम तुरुन्त सञ्चालन गर्न अनुरोध गर्दछौँ ।
भवदीय
कुमार पन्त अध्यक्ष एनआरएनए
डा. बद्री के. सी.उपाध्यक्ष,वैदेशिक रोजगार तथा एनआरएन कल्याणकारी विभाग
साउदी| “कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार साउदी अरबमा असहज अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउनको लागि नेपाल सरकारले साउदी अरबको दम्माम शहर बाट काठमाडौंका लागि पहिलो चरणमा हिमालय एयरलाइन्सको विमानले १८ जुन २०२० का दिन उडान गर्ने तय भएको छ भने उक्त उडान बाट नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताको आधारहरूमा आधारित रही पहिलो चरणको उडानका लागी दम्माम बाट प्राथमिकतामा परेका २२३ जना नेपाली नागरिकहरूको नामावली नेपाली दुताबास रियादले सार्वजनिक गरेको छ साथै चार्टर्ड हवाई उडान टिकटको नयाँ भाडा मुल्य ४६५/- अमेरिकन डलर(१७४४ साउदी रियाल) रहेको पनि जानकारी गराएको छ।
उक्त दिनको लागी तय भएको उडानको टिकट खरिद गर्न साउदी अरबमा हिमालय एयरलाइन्सको लागी सुवास तिमल्सिना संग ००९६६५९८४००१९८ मा संपरद गर्न सकिने भएको छ भने एयरलाइन्सले भोली १६ जुन २०२० बाट टिकट बिक्री सुरू गरिने एयरलाईन्सका प्रतिनिधि सुबास तिमलसीनाले बताएका छन्। उनका अनुसार प्राथमिकतामा परेको भनि दुताबासले सार्वजनिक गरेको नामावलीका सबै जनालाई सहजताको लागी Whatsaap समुह बनाई समन्वय गरिने बताएको छ साथै उनले कोरोना परिक्षणको नतिजा लिएर मात्र टिकट खरिद गर्न पनि सबैलाई आग्रह गरेका छन्।
दुताबासको सुचना र सार्वजनिक गरेको नामावलीको पूर्ण पाठ: हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट यही मिति १८ जुन २०२० मा उडान गर्ने जानकारी प्राप्त भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्रथमिकताका आधारमा राजदूतावासले तयार गरी हिमालय एयरलाईन्सको दम्माम स्थित कार्यलयमा पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पुर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ । हवाई भाडा दर: अमेरिकी डलर 465 (साउदी रियाल करिब १,७४४.००) हवाई टिकटको लागि हिमालय एयरलाईन्सको दम्मामस्थित प्रतिनिधि सुवास तिमिल्सिना, टेलिफोन नं +00966 598400198 ईमेल ठेगाना: subash.timilsina@himalaya-airlines.com मा सम्पर्क गरी टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला । अन्य विषयमा कुनै सहयोग आवश्यक भएमा यस राजदूतावासका जनसम्पर्क अधिकारी श्री हरि घिमिरे (Mob. No. 0500081536) लाई सम्पर्क गर्नुहुन समेत अनुरोध छ। COVID-19 टेष्ट सम्बन्धमा COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन र सो समेत सम्भव नभएमा परीक्षणका लागि निम्न स्थानमा सम्पर्क गर्नु हुन अनुरोध छ । Dammam Health Care Polyclinic (CR No. 2050110244) Rihan Hajiameen, Operation Manager Mob: +966549726585 Address: 17th Street Al-Souq, Opp to Islamic Dawah Center, Dammam 32242 KSA परीक्षण शुल्क: SAR 160.00
Jubail Gulf Asian Medical Center (Department of Laboratory Medicine) Telephone: +966 03 3627121 Email: info@gulfasianhealthcare.com Website: www.gulfasianhealthcare.com Address: King Abdulaziz Road, P.O.box1714, Jubail City 31951, KSA परीक्षण शुल्क: SAR 132.00
(यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।)
नोट: स्वदेश फर्किने सबैजनाले विमानमा चढ्नुपुर्व कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनि कागजातमा हस्ताक्षर गर्नुपर्ने छ । ——————————– नेपाली राजदूतावास, रियाद । ०१ असार २०७
काठमाडौँ |गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडाले १४ जुन २०२० का दिन एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारले प्रतिनिधि सभामा टेबल गरेको लिम्पियाधुरा सहितका भूभाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक प्रस्ताव संसदले शनिबार सर्वसम्मत रुपमा पास गरिएको निर्णयलाई स्वागत गरेको छ ।
गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडाले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ:
प्रेस विज्ञप्ति ।
नेपालको प्रतिनिधिसभाबाट २०७७ जेष्ठ ३१ गते सर्वसम्मतीले पारित राष्ट्रीय निशाना छापलाई महाकाली नदी पूर्वको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगाएत भूभाग समेटेर जारी गरिएको नयाँ नक्सा अनुकूल बनाउने संबन्धी संविधान संशोधन विधेयकलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडा हार्दिक स्वागत गर्दछ।
संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित हुँदा नेपालको राष्ट्रीयता र संप्रभुताको पक्षमा सबै राजनितिक दलहरु एकताबद्ध छन भन्ने युगान्तकारी सन्देश प्रवाह भएको छ । यसले देश भित्र र प्रवाशमा रहेका समस्त नेपालीहरु गौरवान्वित भएका छन। संविधान संशोधनसम्बन्धी उक्त विधेयक सर्वसम्मतीले पारित गराउन सम्पूर्ण राजनीतिक दलहरुकाबीच अभूतपूर्व राष्ट्रीय एकता कायम गराउन सम्मनानीय प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले कुशल नेतृत्व प्रदर्शन गरेको छ ।
यस अभियानमा भूमिका खेल्नुहुने संपूर्ण राजनीतिक दल हरुका साथै स्वदेश तथा विदेशमा रहेर आवज बुलन्द गर्ने नेपालीहरुलाई हामी धन्यवाद दिन चाहन्छौं ।
राजनीतिक तथा कूटनीतिक कौशलता पुर्ण सम्वाद मार्फत् भारतद्वारा अतिक्रमित नेपाली भूमि भोगचलनमा ल्याउन यो एकताबद्ध पहलकदमी निरन्तर अघि बढ्ने विश्वास एनआरएनए क्यानाडाले लिएको छ । साथै अतिक्रमित भुमी समेटेर नयाँ नक्सा जारी गर्ने र राष्ट्रको निसाना छापलाई नयाँ नक्सामा समेट्ने कार्यमा देशभित्र र संसारभरी छरिएर रहेका नेपालीहरुबीच देखिएको अभूतपूर्व एकता समृद्ध नेपाल निर्माणको अभियानमा अक्षुण्ण रहोस भनि शुभकामना व्यक्त गर्न चाहन्छौं ।
साउदी अरब | कोरोना महामारिका कारण साउदी अरबमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा पर्दै जाने नेपाली श्रमिकहरूको संख्या बढ्दै जाने क्रम दिन प्रतिदिन बढ्दो छ।यसै क्रममा आज १२ जुन २०२० सम्ममा साउदि अरबमा संक्रमित संख्या १,१९,९४२ पुगेको र मृत्यु हुनेको संख्या ८९३ पुगेको छ भने हाल सम्म ८१,०२९ जना कोरोना बाट मुक्त भएर घर फर्केका छन्। संक्रमित हुने नेपालीहरुको बिगत २ साताको संख्या १३६४ यथावत रहेको जस मध्ये ९ जना नेपाली नागरिकको कोरोनाकै कारण ज्यान गएको पुष्टी भएको थियो। संक्रमित तथा मृत्यु हुने नेपालीहरुको संख्या बढेको हुन सक्ने बिभिन्न सन्जाल तथा ब्यक्ती मार्फत खबरहरु आएता पनि हाल सम्म आधिकारीक निकाय बाट थप पुस्टि भएको छैन।
यो साता थप २९ जना समस्यामा परेका नेपाली श्रमिकहरूलाई खाद्यान्न उपलब्ध गराउनुको साथै हाल सम्म एनआरएनए साउदी अरब समक्ष आएका ३४१ जना नेपालीहरूको लागी यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्व्य पहल गर्दै तत्कालका लागि १४ हजार ५ सय ५२ साउदी रियाल बराबरको खाद्यान्न बितरण गरिएको छ। साथै ३५० भन्दा बढी संख्यामा आएका श्रमिक समस्याका गुनासोहरु नेपाली राजादुताबास र महावाणिज्य दुताबस संग समन्वय गरी दुताबासको पहलमै समाधान तथा कानुनी उपचारका साथै स्वदेश फिर्ताको प्रकृयामा रहेका छन्। भने यस महामारीले उत्पन्न विषम परिस्थितिमा अप्ठ्यारोमा परेका श्रमिकहरूको जिवन रक्षार्थ गरिरहेको उद्धार तथा राहत वितरण कार्यमा एनआरएनए साउदी संग नेपाली हातेमालो समाज साउदी अरब र मोरङ सुनसरी सेवा समाजले पनि संयुक्त सहकार्य गर्दै आएको छ।
यतिवेला उक्त एनआरएनए साउदी तथा सहकार्य गर्दै आएका सामाजिक अभियान्त तथा एनआरएनए कर्मीहरूको चासोको बिषय चाहीँ यथासक्य छिटो साउदीमा फसेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्तिको प्रबन्ध मिलाउनु पर्ने माग रहेको छ । स्वदेश फर्काउने सरकारको तयारी रहेको भए तापनि सरकारले तोकेको हवाइ भाडा दर निक्कै महंगो रहेको कारण दैनिक छाक टार्न समेत कठिन भएका नेपालीहरुले सामान्य अबस्था भन्दा करिब तिन गुणा बढी रकम जुटाउन नसक्ने तथा नेपालमा गएर आफ्नै खर्चमा ब्यक्ती स्वयंले क्वेरन्टाइन खर्च ब्यहोर्न नसक्ने भएकोले सरकारले त्यस किसिमका वास्तविक पीडितको पहिचान गरी बहिर्गमन भिसा लागिसकेका, बेरोजगार भएर खान नपाएका हरुलाई स्वदेश फर्काउनु पर्ने, नेपालमा पुर्याएर स्वास्थ्य सेवा, रोजगारिको ब्यबस्था, कोरोना टेस्ट तथा क्वेरन्टाइन सेवा उपलब्ध सरकारले गर्नु पर्ने धारणा उक्त उद्धार तथा राहत वितरण कमिटीको रहेको छ ।
एनआरएनए साउदीले सातौँ हप्ताको आफ्नो गतिविधीहरू सार्वजनिक गर्ने क्रममा संघका अध्यक्ष तेज थापाले गैर आवासिय नेपाली संघ साउदी अरबले यस बिपदको घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै संयुक्त रूपमा नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाहरु संग समन्वयकारी भूमिका निभाउँदै मध्यस्थ कर्ताको रूपमा राष्ट्रिय स्तरका भूमिका र योगदान पुर्याउंदै आएको जानकारी गराउनु भएको छ । अध्यक्ष थापाले भन्नुभयो: “साउदी अरबको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था,नेपाली कामदारहरुको जिबन रक्षा,स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दा बिच समन्वयको सातौं हप्ता पार गरिसकेका छौं र यसलाई हाम्रो स्रोत साधनले भ्याएसम्म निरन्तरता दिने प्रतिबध्दता जाहेर गर्दछौँ।”
काठ्माण्डौँ |कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत ८ साता लगातार विभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणले कुनै नेपालीले ज्यान गुमाउन परेन ।
यस्तो छ– तथ्यांक एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा हिजो शनिवार साँझसम्म उल्लेख्य रुपमा कमी आएको छ ।
डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो । संघका अनुसार कोरोना संक्रमणले हालसम्म १ सय २७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् भने नेपालमा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । हाल सम्म विश्वभर कोरोनाका कारण १४५ जना नेपालीले ज्यान गुमाएका छन् ।
सापकोटाका अनुसार नेपालको ५ हजार ३ सय ३५ सहित विश्वभरका ३५ देशमा २३ हजार १ सय २७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
कोरोना भाइरसका कारण बेलायत, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो ।
सहयोग एनआरएनएले विदेशमा अलपत्र परेका नेपालीहरुको लागि आर्थिक सहयोगको दायरालाई फराकिलो बनाएको छ । यो साता गर्भवती महिला र बालबालिकाका लागि आर्थिक सहयोग वितरण गरिएको छ । एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले कुवेत र युएईका समस्यामा परेका नेपाली गर्भवती महिला र बालबालिकाहरुका लागि थप आर्थिक सहयोग वितरण गरेको हो ।
संघले कोभिड १९ बाट पीडित गैरआवासीय नेपालीहरुलाई तेश्रो चरणअन्तर्गत कुवेत र युएईमा ६–६ हजार डलर, फ्रान्समा र डेनमार्कमा रहेका नेपालीहरुको लागि २ हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । यसअघि संघले मलेसिया, बहराइन, स्पेन, पोर्चुगल, ईटाली, माल्टा, कुवेत, युएइ, सउदी अरब र साईप्रसमा कोरोनाबाट प्रभावित नेपालीको लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
संघले हालसम्म विदेशमा कोभिड पीडित नेपालीको लागि ६६ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।
उद्दार एनआरएनएले दिएको रिपोर्ट अनुसार बिहीबारसम्म विदेशमा अलपत्र परेका पाँच सयभन्दा बढी नेपालीको उद्दार गरिएको जनाएको छ । संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २ सय ९९ नेपाली स्वदेश फर्किएका छन् ।
अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा रहेका थप दुई हजार नौ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी नेपाल फर्काउने तयारी भएको छ । अहिलेसम्म गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दुतावासको समन्वयमा म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट एक सय ६८, अष्ट्रेलियाबाट ११, जापानबाट ७ र कुवेतबाट २ सय ९९ गरी समय ५ सय ११ जनाको उद्दार गरिएको छ ।
संयुक्त राष्ट्र संघमा छलफल यसैबीच नेपाली श्रमिकको उद्धारको लागि एनआरएनएले संयुक्त राष्ट्र संघमा छलफल गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीका अनुसार राष्ट्र संघअन्तरगतको इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेसन (आइओएम) सँग संघका अध्यक्ष कुमार पन्तसहितको टोलीले छलफल गरेको थियो ।
गत बुधवार भिडियो कन्फ्रेन्समार्फत् भएको छलफलमा राष्ट्र संघअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्दारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन् । आइओएमले कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न इच्छुक रहेको जनाएको छ ।
साउदी अरब |एनआरएनए एनसिसी साउदी अरब, मोर ङ सुनसरी सेवा समाज र नेपाली हातेमालो समाज साउदी अरबले संयुक्त रूपमा सामाजिक संजाल जूम मार्फत १३ जुन २०२० का दिन प्रेस मिटको आयोजना गरी “कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार नेपाल सरकारले नेपाली नियोग मार्फत साउदी अरब बाट नेपालको लागी उडान तालिका र टिकेट मुल्य सार्वजनिक गरे पश्चात नेपाल सरकारले निर्धारण गरेको हवाई भाडा दर प्रति साउदी अरबमा रहेका नेपाली श्रमिकहरूमा तिव्र असन्तुष्टि रहेको विषयलाई प्राथमिकतामा राखी संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ।
उक्त प्रेस मिटमा अहिले सम्म कोरोना महामारीका कारण उत्पन्न असहज स्थितिमा अप्ठ्यारोमा परेका र नेपाल फिर्ता जान पर्खिरहेका नेपालीहरुको लागी भएका प्रयास, गतिबिधि र पछिल्लो अवस्थाबारे संघका अध्यक्ष तेज थापाले जानकारी गराउनुभएको थियो।
यसै क्रममा संघका कोषाध्यक्ष सन्तोष लुईँटेलले हालसम्ममा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरूलाई मानविय आवश्यक राहत वितरणमा भएको खर्च विवरण, कोषको स्रोत तथा व्यबस्थापन बारे जानकारी गराउनु भएको थियो ।
भने एनआरएनए आईसिसी क्षेत्रिय सहसंयोजक राजेन्द्र अर्यालले समस्यामा परि नेपाल फिर्ता जान पर्खिरहेका नेपाली श्रमिकहरू सके नि:शुल्क नसके कम्सेकम न्युनतम हवाई टिकट शुल्क तिरेर जान पाउन् भन्ने उदेश्यका साथ संस्थात पहलहरू भईरहेको जानकारी गराउनु भएको थियो साथै मोसुसका अध्यक्ष हेम सुवेदी र नेपाली हातेमालो समाजका अध्यक्ष टेक कटुवालले पनि प्रेस मिटमा उठेका जिज्ञासा सम्बोधन साउदी गर्नु भएको थियो ।
संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ:
संयुक्त प्रेस विज्ञप्ति नेपालको विषम परिस्थितीका कारण र अन्य विभिन्न कारण तथा वाध्यताले वैदेशिक रोजगारीका लागि बिदेशीएका नेपालीहरु वर्तमान कोभिड १९ का कारण आईपरेको विश्वव्यापि संकटका कारण बिदेशमा भएको आफ्नो रोजगारीका अवसरहरु गुमाएर पुन स्वदेश मै फर्कनु पर्ने अबस्था आएको छ । तिन महिना देखिको यो संक्रमणकालिन अवस्था साथै बिना कमाईको बिदेश बसाईले बिहान बेलुकाको खानाको खर्च धान्न समेत मुश्किल भएर यतिखेर हजारौ हजार नेपालीहरु दोहोरो तेहोरो पिडामा बॉंच्न बिवश छन्। ढिलासुस्ती गतिमा काम गर्ने सरकारी निति र कोरोनाको महामारी लाई आफ्नो द्रब्य आर्जन गर्ने अवसरको रुपमा लिने केहि अमुक व्यक्तिहरूको प्रभाबमा सरकार परेर थप आहत बनाएको हामीलाई महशुस भएको छ ।
साउदी अरबमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धार गरी अभिभाबकीय भुमिका निर्वाह गर्नुपर्ने बेला आफु निटकका ट्राभल्स एजेन्सीहरुको छनौट गरी उनीहरुले नै तोकेको चार्टर फ्लाईटमा महंगो भाडादर तिर्नुपर्ने वाताबरण बन्नु अत्यन्त दुखदायी बिषय हो। यो कठिन घडिमा आफ्ना नागरिकहरुलाई सहजता दिनुको सट्टा नेपाल सरकारले महंगो जहाज भाडा कायम गरी विदेशमा रहेका पिडित आफ्ना नागरिकहरुलाई विदेश मै कष्टकर जीवन विताउन बाध्य पार्न खोजेको हामीलाई महशुस भएको छ। विदेशमा कामगर्ने नेपालीहरूले नै पठाएको रेमीट्यान्सको ताकतमा उभीएको वर्तमान सरकारले बिपतको घडिमा यसरी गैर जिम्मेवार बन्नु बिदेशीएका हामी नेपालीहरूका लागी अत्यन्त दःखद कुरा हो ।
नेपाल सरकारले आफ्ना नागरिकहरुको उद्धारमा गर्ने कुनैपनि बाहनाबाजी हाम्रा निम्ति स्विकार्य छैन। आफ्नै पैसा तिरेर स्वदेश फर्कन चाहने र हवाई खर्च जुटाउन नसक्नेहरुको लागी पनि संगसंगै उद्धार ब्यबस्थापन गर्नुपर्दछ। देशको अर्थतन्त्रको लगभग एक तिहाई योगदान पुर्याउने बैदेशिक रोजगारमा रहेका धेरै श्रमिकहरु कोरोनाको महामारीको कारणले बिपतमा बैदेशिक रोजगारीका लागि लिनु पर्ने श्रम स्विकृति लिने वखत श्रमिकवाट उठाईको कल्याणकारी कोषमा करिब ६ अर्ब भन्दा बढी रुपियॉं थन्किएर बसेको छ। यो विषय परिस्थतिमा त्यो कोषको उपयोग नगरे कहिले गर्नेर ? यो गम्भिर प्रश्न वनेको छ । उक्त कोषको संचालन ऐनमा उल्लेख भएको ब्यबस्था अनुसार बिदेशमा महामारीको अबस्थामा उद्दारको लागि प्रयोग गर्नु पर्दछ। हामी यथासक्य चाँडो अलपत्र परेका नेपालीहरूलाई नेपाल फर्काउने उचित प्रबन्ध मिलाउन नेपाल सरकार र सरोकारवाला सबैमा यसै संयुक्त बिज्ञप्ति मार्फत जोडदार माग गर्दछौ ।
साउदी अरब | नेपाली दुताबास रियादले १३ जुन २०२० शनिवारका दिन प्रेस विज्ञप्ति जारी गर्दै “कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार साउदी अरब बाट तय भएको उडान तालिका रद्द सुचाना सार्वजनिक गरेको छ । दुताबासले भनेको छ “नेपाली राजदूतावासमा भर्खरै प्राप्त जानकारी अनुसार हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट यही मिति १५ जुन २०२० मा गर्ने भनेर तय भएको हवाई उडान अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित भएको व्यहोरा सूचित गरिन्छ। यस निर्णयबाट स्वदेश फर्कने तयारीमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा पर्न गएको असुविधाप्रति नेपाली राजदुतावास, रियाद दु:ख प्रकट गर्न चाहन्छ ।
उक्त वायुसेवाको नयाँ उडान मिति र नयाँ हवाई भाडादरको बारेमा सूचना प्राप्त हुनासाथ जानकारी गराउने व्यहोरा अनुरोध छ । साथै, हवाई उडानका लागि आवश्यक पर्ने PCR वा RDT जस्ता स्वास्थ्य सम्बन्धी परीक्षण पनि हाललाई नगर्नुहुन सबैमा अनुरोध छ ।”