• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

एनआरएनए पदाधिकारी र संयुक्त राष्ट्र संघको आइएमओ बीच छलफल

  • २९ जेष्ठ २०७७, बिहीबार २३:११ मा प्रकाशित
  • संवाददाता

    लन्डन । कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा अलपत्र परेका नेपाली श्रमिकको समस्यालाई लिएर गैरआवासीय नेपाली संघले संयुक्त राष्ट्र संघमा छलफल गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीका अनुसार राष्ट्र संघअन्तरगतको इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेसन (आइएमओ) सँग संघका अध्यक्ष कुमार पन्तसहितको टोलीले छलफल गरेको हो ।

    बुधवार भिडियो कन्फ्रेन्समार्फत् भएको छलफलमा राष्ट्र संघअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्दारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन् ।

    लान्डाले कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न सकिने बताएकी थिइन् ।

    आइएमओले विश्वभरिका माग्रेन्ट श्रमिकका लागि सहयोग गर्दै आएको स्मरण गर्दै उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

    झन्डै दुई घन्टा लामो छलफलमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघ र कोभिड–१९ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    डा. शर्माले संघको भूमिका र कोभिड–१९ को प्रभावमा परेका नेपालीका बारेमा आ–आफ्ना भनाइ राख्दै संयुक्त राष्ट्रसंघका सबै पक्षलाई सहयोगको लागि आग्रह गरेका थिए । झन्डै ८० लाख नेपाली विदेशमा रहेको बताउँदै डा. शर्माले आइएमओ र संघबीच धेरै समान अजेन्डा रहेको बताएका थिए ।

    उनले आइएओसँग नेपाल फर्किएका श्रमिकको पुनस्र्थापना, कार्य क्षमता संकलन लगायत अन्य धेरै विषयमा संयुक्त रुपमा काम गर्न सकिने बताएका थिए ।  

    बैठकमा सांसद गंगालाल तुलाधारले कोभिड–१९ ले नेपालमा पारेको प्रभावको विषयमा जानकारी गराएका थिए । संघअन्तरगतको एनआरएनए फाउन्डेशन परियोजना प्रमुख एकनाथ खतिवडाले बैठकको समन्वयन गरेका थिए ।

    गैरआवासीय नेपाली संघका अनुसार आइएमओ प्रमुख लान्डाले तत्काल दुई संस्थाबीच समाधान धारणा तय गरी सम्झौता (एमओयु) गरेर अघि बढ्न सकिने बताएकी थिइन् ।

    नेपालले सन् २००६ मा इन्टरनेश्नल अर्गनाइजेशन फर माईग्रेसनको सदस्यता लिएपछि सो संस्था सन् २००७ देखि नेपालमा आप्रवासीहरुको हक र हितको लागि सक्रिय छ ।

    आइएमओले नेपालमा २०७२ मा भूकम्प गएको बेला देशका विभिन्न भागमा स्वास्थ्य शिविर सञ्चालन गरेर पीडितलाई सहयोग गरेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाजLeave a Comment on एनआरएनए पदाधिकारी र संयुक्त राष्ट्र संघको आइएमओ बीच छलफल

    नेपाल फर्कन चाहने नेपालीहरुका लागि चार्टर्ड उडान सञ्चालन हुने बारे दुताबासको अत्यन्त जरुरी सूचना

  • २९ जेष्ठ २०७७, बिहीबार २२:३८ मा प्रकाशित
  • संवाददाता

    साउदी अरब | कोरोना भाइरस महामारीका कारण अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगन भएका कारण साउदी अरबबाट स्वदेश फर्कनका लागि पर्खिरहेका नेपाली नागरिकको लागी नेपाली दुताबास रियादले जरुरी सूचना जारी गरेको छ।

    “कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार साउदी अरबमा असहज अवस्थामा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउनको लागि नेपाल सरकारले साउदी अरबका रियाद, दम्माम, र जेद्धा शहर बाट काठमाडौंका लागि पहिलो चरणमा निम्न अनुसार हवाई उडानहरु सञ्चालन हुने भएको छ।
    दुताबासले जारी गरेको सुचनामा निम्नलिखित उडान तालिका उल्लेख गरिएको छ:

    १५ जुन २०२० सोमबार दम्माम बाट (हिलामालय एयरलाइन्सको फ्लाईटA320)
    १८ जुन २०२० बिहिबार रियाद बाट (नेपाल एयरलाइन्सको फ्लाईटA330)
    १९ जुन २०२० शुक्रबार (हिलामालय एयरलाइन्सको फ्लाईटA320)
    २४ जुन २०२० बुधबार (नेपाल एयरलाइन्सको फ्लाईटA330)

    उक्त उडानहरू मध्ये १९ जुन र २४ जुनका उडान हुने शहरका बारेमा दुताबासले छिट्टै अर्को सुचना गरी गर्ने बताएको छ भने दुताबासले चार्टर्ड हवाई उडान टिकटको भाडा दर निम्न लिखित उल्लेख गरिएको छ:

    • रियाद-काठमाडौँ US $630/- तथा SAR2363/- साउदी रियाल
    • दम्माम-काठमाडौँ US $590/- तथा SAR2213/- साउदी रियाल
    • जेद्धा-काठमाडौ US $770/- तथा SAR2888/- साउदी रियाल

    दुताबासले सुचनामा दूतावासका टेलिफोन, वेबसाइटको अनलाईन दर्ता फारम र दुताबासको Whatsapp तथा ई-मेल बाट प्राप्त भएको विवरण र कागजातका आधारमा नेपाल सरकारले तय गरेको प्राथमिकताहरूलाई आधार मानी नेपाल जाने यात्रुहरू तय गरिने भनिएको छ जसमा

    • साउदी अरब बाट नेपाल फर्कनका लागि बहिर्गमन भिषा (Exit Visa) लगाई टिकट काटेर बसेकाहरू,
    • रोजगारदाता सँग करार समाप्त भएकाहरू,
    • कोभिडका परिस्थितिजन्य कारणले रोजगारी गुमाउन पुगेकाहरू,
    • बहिर्गमन भिषा (Exit Visa) लागेका महिला, गर्भवती, सुत्केरीहरू,
    • पारिवारिक/भिजिट भिषामा आएकाहरू,
    • आफन्तको मृत्यु भई काजकिरिया गर्न जानुपर्ने नागरिकहरू,
    • गम्भिर र दीर्घ विरामी परेकाहरु,
    • अध्ययन सकेर वा बिदामा नेपाल जानुपर्ने विद्यार्थीहरु,
    • कम्पनीबाट रोजगारी सहित लामो बिदा पाएकाहरू,
    • पर्यटक भिजिट भिषामा आएकाहरु रहेका छन्।

    दुताबासले भनेको छ “उल्लेखीत प्राथमिकताका संभावित यात्रुहरूको सूची दूतावासले उडान अनुसार क्रमैसँग फेसबुक पेजमा प्रकाशित गर्ने प्रयास गर्नेछ। उक्त सूचीमा नाम परेकाले टिकटका लागि व्यक्तिगत रूपमा एयरलाइन्स कम्पनीका तोकिएका एजेन्सीहरुमा सम्पर्क गर्नु हुन अनुरोध छ।”
    दुताबासका अनुसार यात्रीहरूले नेपालमा रहेका परिवारजनले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको नेपालस्थित कार्यालयमा सम्पर्क गरी टिकट खरिद गर्न पनि सक्नेछ। साउदी अरबमा हिमालय एयरलाइन्सको लागी सुवास तिमल्सिना संग ००९६६५९८४००१९८ मा संपर्क गर्न सकिने र नेपाल एयरलाइन्सको लागी संपर्क नंबर उपलब्ध हुन साथ दुताबासले सूचना जारी गरिने भएको छ|

    यस दौरान नेपाल सरकारले हवाई यात्रा गर्नकोलागि covd-19 परीक्षण प्रतिवेदन अनिवार्य गरेको छ भने हवाई टिकट खर्च, कोभिड-19 परिक्षण खर्च, नेपाल पुगे पछि होटल/क्वारिन्टिन् खर्च, र गन्तव्य स्थानसम्म स्थानीय यातायात खर्च यात्रु स्वयंले बेहोर्नु पर्ने जानकारी उक्त सुचनामा उल्लेख गरिएको छ ।
    सुचनामा हवाई उडान अगाबै यात्रुले कोभिड 19 संक्रमण नभएको यकिन हुने स्वास्थ्य परीक्षण (PCR/RDT) गर्नु पर्ने र परीक्षण गरी संक्रमण नभएको सात दिन भित्रको प्रमाण-पत्र साथैमा राख्नुपर्ने र उडानको समयमा यात्रुले फेसमास्क र पन्जा अनिवार्य प्रयोग गर्नुपर्ने भनिएको छ।
    यस क्रममा समयमै टिकट खरिद नगरेमा प्राथमिकता अनुसार क्रमसंख्याका पछिल्लो यात्रुहरुलाई टिकट खरिद गर्ने मौका प्राप्त हुनेछ भने दोस्रो चरणको उद्धारका लागि हुने हवाई उडानको बारेमा दुताबासले पछि जानकारी प्रकाशन गरिने जानकारी दुताबासले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर2 Comments on नेपाल फर्कन चाहने नेपालीहरुका लागि चार्टर्ड उडान सञ्चालन हुने बारे दुताबासको अत्यन्त जरुरी सूचना

    संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका लागि अमेरिकी राजदूत समक्ष नेपालको नक्सा सहित ज्ञापन पत्र

  • २८ जेष्ठ २०७७, बुधबार १९:५२ मा प्रकाशित
  • संवाददाता

    अमेरिका |संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका लागि अमेरिकी राजदूत महामहिम केली क्राफ्ट (Kelly Craft) समक्ष नेपालको सिमानामा भारतद्वारा गरिएको अतिक्रमणबारे ज्ञापन पत्र पेश गरिएको छ।

    जुन ८, २०२० सोमबारका दिन पेश गरिएको ज्ञापन पत्रमा नेपालको पश्चिम सिमानामा भारतद्वारा अतिक्रमण गरी नयाँ नक्सामा समेत भारतको जमिन भनि प्रकाशन गरेको अवस्थाको जानकारी गराउन सो ज्ञापन पत्र पेश गरिएको हो।

    ज्ञापन पत्रमा नेपालको आधिकारिक नक्सा, नेपाली नक्साको सिक्काको प्रति, भारतद्वारा अतिक्रमण गरिएको जमिनको भागको नक्सा र पहिलाको भारतसंग गरिएको सन्धिको पत्रको प्रति समेत समावेश गरिएको छ। सो ज्ञापन पत्रको प्रति विभिन्न सरोकार राख्ने निकायमा समेत प्रदान गरिएको छ।

    यो प्रयासमा गैरआवासीय नेपाली संघका क्षेत्रीय संयोजक राजन त्रिपाठी, आइसीसी सदस्य जेदु पोख्रेलका साथै संघका संस्थापक उपाध्यक्ष डा श्याम कार्की, बिज्ञ हरि शर्मा, संचारकर्मी किरण मरहट्टा, भिम बहादुर बिक, इश्वर थापाको टिमले गरेको हो। ज्ञापन पत्रलाई गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रको तर्फबाट प्रेश गरिएको छ। यो टिमले ज्ञापन पत्र पेश गरेपछि त्यसको फलो अप पनि गर्ने कुराको जानकारी संघका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिनु भएको छ।

    ज्ञापन पत्रको प्रतिलिपिहरू निम्नलिखित निकायहरुमा समेत पठाइएको छ:

    • Honorable Senator Tim Kaine, Foreign Relation Committee, US Senate Office
    • Honorable Senator Ben Cardin, Foreign Relation Committee, US Senate Office
    • US Department of State, Washington DC
    • United Nations, Office of the Secretary General, New York, NY
    • Government of Nepal, Foreign Ministry, Kathmandu, Nepal
    • Permanent Mission of Nepal to the United Nations, New York NY
    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका लागि अमेरिकी राजदूत समक्ष नेपालको नक्सा सहित ज्ञापन पत्र

    नेपाली भुमिको चिन्ता गर्दै अरबसागरबाट प्रधानमन्त्रीलाई चिठी!

  • २६ जेष्ठ २०७७, सोमबार २०:१५ मा प्रकाशित
  • दामोदर भुसाल

    काठ्माण्डौं । सरकारको लोगो निसाना छाप संसोधनका लागि विधेयक संसदमा अड्किएकोमा अरबबाट एक नेपाली युवाले आक्रोश पोखेका छन् ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै अहिलेको अवस्थामा एमसीसी भन्दा नेपाली माटोको रक्षा महत्वपूर्ण भएको भन्दै सामाजिक सन्जाल मार्फत सचेत गराएका छन् ।

    उनले भनेका छन्:

    प्रधानमन्त्री ज्यु नमस्कार!
    मैले तपाईंलाई नजिकबाट देखेको पनि छैन । भेटेको पनि छैन र ब्यक्तिगत कारणले भेट्न पनि नपरोस् भन्नेले जेसुकै भनुन । मैले त्यसलाई मतलब दिँदैन । तर राष्ट्रियताको अडानमा तपाईले लिएको प्रतिबद्धता, मुर्छित सपनाहरुलाई बिउँझाउने जुन कार्य गर्नुभएको छ त्यो ईतिहासमा लेखिने नै छ । अहिले कोरोनाको महामारी छ, जनताले राम्रोसँग उपचार पाएका छैनन । कहीँ रिपोर्ट दहासंस्कार सकेपछी कोरोना भएको भनेर पुष्टि हुन्छ भने भ्रष्टाचारका कुरा छ्याप्छ्यप्ती सुन्न सकिन्छ। यस्तो परिस्थितिमा तपाईँ दयालु हैन कठोर बन्नुपर्छ। युट्युबे बुङ्गाहरु देखि पितपत्रकारिता गर्ने चाटुकारहरुले पनि जनतामा भ्रम फैलाई त्रासको वातावरण शृजना गर्दै छन् जसलाई लगाम लगाउन आवश्यक छ ।

    यसै बिच सीमा विबादलाई नै ओझेलमा पार्दै अहिले MCC एउटा चर्को बहसको विषय बनेको छ । MCC के हो मैले पढेको छैन त्यसैले अहिले यसलाई सहि वा गलत भनेर म भन्दिनँ तर अहिलेको आवश्यकता MCC भन्दा महत्त्वपूर्ण देशको माटोको विषय छ। देश कठिन परिस्थितिबाट गुज्रीरहेको छ । हिजोको सरकारले सम्झौता गरेको MCC अहिलेको सरकारले गरे जसरी उचाल्दै छन् । ती उचाल्नेहरु तिनै हुन, जुन त्यतिबेला सरकारमा थिए ।तिनै मानिसहरु अहिले सम्झौता राष्ट्रघाती भनेर जनता भड्काउँदै छन् । जनतामा भ्रम छरेर आफ्नो स्वार्थ लुट्न पल्किएका केही लेन्डुप द्रोजेहरु तलुवा चाट्दै सरकार ढाल्नको लागी न्वारान देखिको बल लगाएर लागि परेका छन् । यस्तो अबस्थामा जाबो MCC हामीलाई किन चाहियो ? यसलाई थाती राखिदिनुहोस् ।

    भारत संगको सीमा बिवादबाट जनताको ध्यान अन्यत्र मोड्दै विभिन्न स्वार्थ केन्द्रित जमातहरुको मुद्धा मिल्दैछ । त्यो भनेको सत्ता परिवर्तन र सीमाको विषयमा हाम्रो आवाज कमजोर बनाउने मात्रै नभई आफ्नो हाकिमी राज्य स्थापित गराउन चाहान्छन् । जुन सीमाका बिषयमा एक शब्द बोल्न सक्दैनन, तिनै एमसीसीको विषयमा उग्ररुपमा प्रस्तुत हुँदैछन् ।

    त्यसैले हाम्रो भुमी फिर्ता ल्याउन तपाईको आवश्यकता छ, जनताले धेरै आशा अनि विश्वास गरेका छन् । हिजो भारतले नेपालको भुमिमा सडक बनाउँदा ‘मौन समर्थन’ गर्नेहरुबाट देशले भुमी रक्षाको अपेक्षा गर्न सक्दैन । तसर्थ, अमेरिकालाई नचिड्याई एमसीसी केही समय थाती राखेर, नभए MCC लाई खारेज गरेर भए पनि सीमामा केन्द्रित हुनु आवश्यक छ । हाम्रो देशको सान हाम्रो मान र मर्यदालाई कसैले ठेस पुर्याउने कार्य गर्छ भने त्यो कदापी स्विकार्य हुँदैन । तसर्थ अहिले MCC हैन आफ्नो भुमिलाई रक्षागर्न प्रतिबद्ध भएर अगाडि बढ्नुहोस । दुईचार जना लेन्डुप दोर्जे नेताहरु बाहेक सारा नेपाली जनता तपाईको साथमा छन् ।

    दामोदर भुसाल

    हाल अरबसागर

    Posted in विचारLeave a Comment on नेपाली भुमिको चिन्ता गर्दै अरबसागरबाट प्रधानमन्त्रीलाई चिठी!

    गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांक: अपडेट ८

  • २५ जेष्ठ २०७७, आईतवार २३:३८ मा प्रकाशित
  • सम्वाददाता

    काठ्माण्डौँ | विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा कमी आएको छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन् । संक्रमण दर गतसाता भन्दा ७५ प्रतिशतले कमी हो ।

    गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् । संघको पछिल्लो तथ्यांक अनुसार विभिन्न विदेशमा १ सय २५ जना गैरआवासीय नेपालीहरुको कोरोनाका कारणले निधन भएको छ ।
    संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।
    १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्र्की,नेदरल्याण्डस्, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।
    संयोजक डा.सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना नेपालीमा संक्रमण गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
    समितिका अनुसार नेपालमा कोरोना संक्रमणको संख्या ३ हजार २ सय ३३ जना रहेका छन् भने १३ जनाको कोरोनाबाटै मृत्यु भएको छ ।

    नेपाल फिर्तिलाई व्यवहारिक बनाउन एनआरएनएको आग्रह
    सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको सुरुआतको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु भएकोमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताउनु भएको छ ।
    सरकारले लकडाउन भएको ७४ दिन पछि सरकारले पहिलो पटक बर्मा २६ र युएईबाट १६८ जना नेपाली फर्काएको छ। विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीहरुको फिर्ति प्रक्रियालार्ई व्यवहारिक बनाउन संघले नेपाल सरकालाई आग्रह गर्ने भएको छ ।

    अध्यक्ष पन्तले नेपालीको फिर्तिको लागि भोगेका समस्यका बारेमा तत्काल परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली र कोभिड १९ उच्चस्तरिय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने जानकारी दिनुभयो ।
    यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माले विदेशमै पीसीआर टेष्टको सम्भवना न्युन रहेकाले भारत सरकारले जस्तै सामान्य स्वास्थ्य सर्टिफिकटले नेपाल जान पाउने गरि बाटो खोल्नु पर्ने बताउनुभयो ।

    महासचिव डा. शर्माले विदेशस्थित नेपाली दूतावासमा समेत होल्डिङ्ग (क्याम्प) सेन्टरको आवश्यकता रहेको औँल्याउनुभयो । डा. शर्माले विदेश रहेका नेपालीहरुलाई विमानस्थल सम्म पुर्याउनका लागि दुतावास र संघको सहकार्यमा होल्डिङ्ग सेन्टर बनाउन सकिने बताउनुभयो ।

    संघले विदेशमा रहेका शव नेपाल फर्काउन र आफैँ पैसा तिरेर जान नसक्ने नेपालीहरुको लागि आवश्यक सहयोगको नेपाल सरकारलाई आग्रह गर्ने बताइएको छ ।

    संघले विश्वका विभिन्न मुलुकमा छरिएका नेपाली दुतावाससँग सहकार्य गर्न संघ र दुतावासबीच संयन्त्र बनाएर अगाडि बढ्न सकिने धारणा राख्दै आएको छ । यसअघि संघले नेपालीहरुको फिर्तिको लागि सहयोग गर्न आफ्ना सबै शाखालाई निर्देशन दिइसकेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाजLeave a Comment on गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांक: अपडेट ८

    साउदी अरबमा एक नेपालीको मृत्यु, मृत्युको कारण पुष्टि हुन बाँकी

  • २५ जेष्ठ २०७७, आईतवार २१:१३ मा प्रकाशित
  • संवाददाता

    साउदी अरब। वैदेशिक रोजगारका प्रमुख गन्तव्य मध्ये एक खाडी मुलुक साउदी अरबको पश्चिमी शहर जेद्धा स्थित रहेको अल जामिल मेटल वर्क्स फ्याक्ट्रिमा विगत तिन वर्ष देखी कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ ।

    ६ जुन शनिवारका दिन कार्यलय बाट कोठामा फर्किएको केही समय पश्चात उनको मृत्यु भएको उनि संगै बस्ने एक नेपालीले बताएको छ। नेपालको महोत्तरी जिल्ला स्थाई घर रहेको उनी उक्त कम्पनीको स्टोरकिपरको रूपमा कार्यरत थिए।उनी संगै रहेको नेपालीको अनुसार हृदयघातको कारणले उनको मृत्यु भएको हुन सक्ने बताएको छ तथापी प्रहरी प्रशासन र अस्पताल प्रशासनले अहिले सम्म कुनै आधिकारीक जानकारी नदिएको उनको भनाई रहेको छ।

    करिब ४०/४५ वर्षिय उनि कोठामा आएर आराम गरिरहेको अवस्थामा घुरेको आवाज आए पश्चात संगै रहेको साथीहरूले नजिकै गएर हेर्दा सास फेर्न गाह्रो भएको जस्तो देखिएको र उठाउने प्रयास गर्दा गर्दै सोही ठाउँमा उनको मृत्यु भएको एउटै कोठामा बस्ने मृतकको साथीले बताए । कार्यरत कम्पनी र प्रहरी प्रशासनलाई जानकारी गराए संगै करिब रातको ८:३० बजे प्रहरीले मुचलका तयार गरी मृतकको शव प्रहरीले लिएर गएको र अन्य जानकारी पाउन बाँकी रहेको मृतकको सहकर्मीले जनाएको छ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदी अरबमा एक नेपालीको मृत्यु, मृत्युको कारण पुष्टि हुन बाँकी

    एनआरएनएले कोभिड-१९ बाट प्रभावित नेपाली विद्यार्थीहरूको आंकडा संकलन गर्दै

  • २४ जेष्ठ २०७७, शनिबार २२:२० मा प्रकाशित
  • संवाददाता

    काठ्माण्डौँ | गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले संसारभर रहेका कोभिड १९ प्रभावित र नेपाल फर्किन चाहने नेपाली विद्यार्थीहरूको आंकडा संकलन कार्य सुरु गरेको छ। संघका अध्यक्ष्य कुमार पन्तको अध्यक्ष्यतामा बसेको अन्तर्रास्ट्रिय परिषदको बैठकले उक्त निर्णय गरेको हो।

    यस कार्यको पहिलो चरणमा नेपाली विद्यार्थीहरू जाने गन्तब्य मुलुकहरुमा प्रारम्भिक सर्वेक्षण गर्ने योजना रहेको संघका उपाध्यक्ष्य मन केसीले जानकारी दिनुभएको छ। उक्त सर्वेक्षण संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु मार्फत गरिने योजना रहेको उनको भनाई छ।


    यस सर्वेक्षणमा कसैले पनि आफ्नो व्यक्तिगत विवरण दिनुपर्ने नभई बस्तुस्थिको जानकारी मात्र भर्नुपर्नेछ। तिन मिनटमा पुरा गर्न सकिने उक्त विश्व व्यापी सर्वेक्षण अत्यधिक प्रभावित विद्यार्थीहरूले भाग लिए पछि अर्को चरणको योजनालाई सघाउ पुग्नेछ।


    यस सर्वेक्षणबाट प्राप्त विवरण, संघका राष्ट्रिय समन्वय परिषदहरुबाट प्राप्त सूचना र सुझाब संकलन, सम्बन्धित राजदुताबास एवं बाणिज्यदुतहरुका कार्यालय, ब्यबसायिक प्रतिनिधिमुलक संस्थाहरु संगको समेत समन्वयका आधारमा चरण वद्ध रुपमा रिपोर्ट नेपाल सरकार एवं अन्य सरोकारवाला निकायहरुलाई वितरण गरिने योजना रहेको कार्यदलका संयोजक संघका उपाध्यक्ष्य मन केसीले जानकारी दिनुभएको छ।


    नेपाल बाहिर विद्यार्थी भिसामा रहेर संसारभरी अध्ययन गरीरहेका विद्यार्थीहरूलाई तलको लिंकमा गएर यो छोटो सर्भे सम्पन्न गर्न गराउन समेत संघले आब्हान गरिएको छ। लिंक https://www.nrna.org/ वेबसाइटको मेन्यूमा देब्रेबाट तर्फ ६ औं मा COVID 19 मा क्लिक गर्दा Covid 19 Student Survey देखिन्छ। त्यसमा गएर आफ्नो विवरण भर्न सकिने छ।
    अन्यथा तलको लिंकमा क्लिक गर्नुहोला: https://www.surveymonkey.com/r/studentsoutsidenepal

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाजLeave a Comment on एनआरएनएले कोभिड-१९ बाट प्रभावित नेपाली विद्यार्थीहरूको आंकडा संकलन गर्दै

    एनआरएनए साउदी द्वारा साउदीमा पिडीत नेपालीहरुलाई मानवीय राहत सहयोग: छैठौँ हफ्ता पार

  • २४ जेष्ठ २०७७, शनिबार २०:३२ मा प्रकाशित
  • संवाददाता

    साउदी अरब | कोरोना महामारिका कारण साउदी अरबमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा परेका धेरै नेपालीहरु पीडित हुन पुगेको खबरहरु र गुनासोहरु संस्थामा आउने क्रम बढ्दो छ। ५ जुन सम्ममा साउदी अरबमा एनआरएनए साउदीका प्रवक्ता विष्णु न्यौपानेले दिएको जानकारी अनुसार  ९५,७४८ जना संक्रमित भएका छन् भने मृत्‍यु हुनेको संख्या ६४२ रहेको छ भने संक्रमित हुने नेपालीहरुको संख्या १३ सय ६४ पुग्नुको साथै  ९ जना नेपाली नागरिकको कोरोनाकै कारण ज्यान गएको पुष्टी वैदेशिक रोजगार बोर्डको सचिवालयले गरेको छ। बिभिन्न सन्जाल तथा ब्यक्ती मार्फत संक्रमित नेपालीको संख्या अझै बढेको बारे खबरहरु आएता पनि हाल सम्म सम्बन्धित निकाय बाट पछील्लो आधिकारिक खबर प्राप्त नभएको प्रवक्ता न्यौपानेले बताउनु भएको छ।

    न्यौपानेका अनुसार यो साता पिडामा परेका १२ जना महिला सहित थप ३१ जना पीडितलाई खाद्यान्न उपलब्ध गराउनुको साथै हाल सम्म एनआरएनए साउदी अरब समक्ष आएका ३१२ जना पीडितहरुलाई साउदी स्थित रहेको नेपाली कुटनितिक नियोगहरुसंग समन्वय र पैरवी पहल गर्दै तत्कालका लागि एनआरएनए साउदीले खाद्यान्न बितरण गरिसकेको छ। साथै ३०० भन्दा बढी पीडित संख्यामा आएका गुनासोहरु नेपाली राजादुताबास र महावाणिज्य दुताबस संग समन्वय गरी दुताबासको पहलमै समाधान र कानुनी उपचार द्वारा समाधान भएका छन्।

     साउदीका हरेक क्षेत्रका क्षेत्रीय समिती तथा स्थानिय समितिहरुलाई प्रत्येक हफ्ता पालैपालो जोडदै लैजाने एनआरएनए एनसिसी साउदीको पूर्व योजना अनुसार ५ जुन २०२० का दिन NRNA NCC का सम्पूर्ण पदाधिकारी,सल्लाहकार परिषद,आइसिसी पदाधिकारी लगायत मध्य क्षेत्र रियाद र अलकासिम क्षेत्रका क्षेत्रीय समितिहरुको उपस्थितीमा बैठक पनि बसेको छ।बैठकमा उपस्थित सम्पूर्ण बक्ताहरुको चासो जती सक्दो छिटो साउदीमा फसेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्तिको प्रबन्ध मिलाउनु पर्ने थियो भने स्वदेश फर्काउने सरकारको तिब्र तयारी रहेको जानकारी प्राप्त भएतापनि साउदी अरबको लागि उडानको मिती नतोकिएको कारण अझै अन्योलता रहेको छ।

     स्वदेश फर्किन पाउँ भन्दै हाल सम्म झन्डै १० हजार भन्दा बढी  नेपालीहरुले साउदी अरबमा रहेको नियोग  राजादुताबास रियाद र  महावाणिज्य दुतावास जेद्धामा  निवेदन परेको छ, जसमा ६ हजार ५ सय पीडितहरु रोजगारी गुमाएका, बहिर्गमन भिषा लिएर बसेका, भिजिट भिसामा आएका,नेपालमा आफन्त गुमाएका जस्ता उच्च प्राथमिकताका रहेका छन्। जसलाई सरकारले यथा शिघ्र स्वदेश फिर्ता लैजानु पर्ने अवस्था साउदी अरबमा रहेको छ।

    गैर आवासिय नेपाली संघ साउदी अरबले यस  बिपदको घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै श्रमजिवि नेपाली बिच गठित सम्पूर्ण संघ संस्थाहरु एकजुट भएर संयुक्त रूपमा हातेमालो गर्दै नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाहरु संग समन्वयकारी भूमिका निभाउनको निम्ती मध्यस्थ कर्ताको रूपमा राष्ट्रिय स्तरका भूमिका र योगदान पुर्याउँदै आएको छ। दिन प्रति दिन  बड्दै गरेको कोरोना संक्रमणका कारण आगामी दिनमा स्थिती अझै भयावह हुने र यसको कारण धेरै संख्यामा नेपालीहरुलाई असर पुग्ने खतरा देखिएकोछ।

     एनआरएनए साउदीले साउदी अरबको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगार्थ  नेपाली राजदुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दा संग समन्वय गर्दै  नेपाली कामदारहरुको जिबन रक्षा, स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै आएको छैटौं  हफ्ता पार गरिसकेको छ। भने यसलाई स्रोत साधनले भ्याएसम्म निरन्तरता दिने एनआरएनए साउदीले प्रतिबध्दता जाहेर गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाजLeave a Comment on एनआरएनए साउदी द्वारा साउदीमा पिडीत नेपालीहरुलाई मानवीय राहत सहयोग: छैठौँ हफ्ता पार

    नेपाल फर्कन जरुरी नेपालीहरुको लागि नेपाली दुताबास दोहको अत्यन्त जरुरी सूचना

  • २३ जेष्ठ २०७७, शुक्रबार २२:२३ मा प्रकाशित
  • संवाददाता

    साउदी अरब | नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयबाट जारी भएको ‘कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न परिस्थितिमा स्वदेश आउनै पर्ने नेपाली नागरिकलाई सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७‘ अनुरुप कतार बाट स्वदेश फर्कनैपर्ने नेपालीको सम्बन्धमा कतारको दोहा स्थित रहेको नेपाली दुताबास दोहाले विज्ञप्ति जारी गरेको हो।


    नेपाली दुताबास दोहाले उक्त विज्ञप्ति मार्फत नेपाल जानै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७‘ अनुरुप तेश्रो मुलुकबाट स्वदेश फर्कनैपर्ने नेपालीको सम्बन्धमा देहायवमोजिमका प्रावधानहरु उल्लेख गरेका छन्:

    •अन्तरर्राष्ट्रिय हवाई उडानबाट स्वदेश आउने व्यक्तिले हवाई उडान गर्नु अघि कोभिड संक्रमण
    नभएको स्वास्थ्य परीक्षण (पि सी आर, आर डि टी अन्य परीक्षण) को प्रमाण साथमा राख्नु
    पर्नेछ । यस सम्बन्धमा थप जानकारी पछि उपलब्ध गराइनेछ ।
    •नेपाल जाँदा लाग्ने हवाइ उडान खर्च र होटल क्वारेन्टिन खर्चलगायतका सम्पूर्ण खर्च आफैले
    व्यहोर्नु पर्नेछ । हवाई उडान तथा यसका लागि लाग्ने खर्च साथै स्वदेश फर्कने प्रकृयाका बाँकी
    सबै जानकारी उपलब्ध हुनासाथ जानकारी गराइनेछ।
    •अन्तर्राष्ट्रिय विमानस्थलबाट होल्डिंग सेन्टर हुँदै होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन
    गरेको सम्बन्धित क्वारेन्टिनसम्मको यातायात खर्च व्यक्ति स्वयमले व्यहोर्नुपर्ने पर्नेछ ।
    • तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ ।

    दुताबासले उपरोक्त प्रावधान पूरा गरी नेपाल फर्कने नेपालीहरुको सम्बन्धमा सम्बन्धित विषय अनुसार तोकिएको अधिकारीहरू संग सम्पर्क गरी विवरण टिपाउन भनिएको छ जस अन्तर्गत आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्नेहरुले दुताबासको अधिकारी तृतीय सचिव जिना अधिकारी फोन नं.33880321 मा सम्पर्क गर्ने र कोभिड-१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका, सुत्केरी तथा गर्भवति महिला बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएकाहरुले दुताबासका तृतीय सचिव मनिशा शर्मा फोन नं. 66963616 मा संपर्क गर्ने।

    त्यसैगरी अध्ययन समाप्त भएका विद्यार्थी इन्टर्न समेत, पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएका नेपाली नागरिकले द्वितीय सचिव प्रवीण भट्टराई फोन नं.66950724 मा संपर्क राख्न दुताबासले सुचित गरेको छ।साथै कतार आई डी/भिसा समाप्त भएका वा आई. डी. रद्द भएका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, वार्षिक/बेतलबी बिदामा रहेकाहरूले https://forms.gle/oESHhvLbJqWtfr8s6 लिंकमा गई आफ्नो विवरण उपलब्ध गराउन दुताबासले विज्ञप्तिमा भनेको छ।

    यसरी स्वदेश फर्कने क्रममा कतार सरकारको कानूनबमोजिम बहन गर्नुपर्ने कुनै पनि दायित्वको कारणले नेपाल जान नमिल्ने भएमा व्यक्ति स्वयं जिम्मेवार हुने दुताबासले बताएको छ।

    यस सन्दर्भमा एनआरएनए कतार लगायत कतारस्थित रहेको संघ/संस्था तथा सामाजिक अभियन्ताहरुले माथि उल्लेखित सूचना अनुरुपको जानकारी सम्बन्धित सबैमा प्रवाह गर्न तथा उल्लेखित लिंकमा फाराम भर्न सहयोग गरी दिन पनि नेपाली राजदूतावास दोहाले अनुरोध गरेको छ ।

    पुनश्च: (दर्ता फारामको लिङ्क)
    https://forms.gle/3sGi4fWpHVQCVsEX7

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबरLeave a Comment on नेपाल फर्कन जरुरी नेपालीहरुको लागि नेपाली दुताबास दोहको अत्यन्त जरुरी सूचना

    नेपाल सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने, सहजीकरणको लागी एनआरएनए तयारी अवस्थामा

  • २२ जेष्ठ २०७७, बिहीबार २१:३० मा प्रकाशित
  • संवाददाता

    काठ्माण्डौँ | सरकारले ५ जुन २०२० शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने भएको छ । पहिलो पटक बर्मा र युएईबाट नेपाली फर्काउन सुरु गर्ने भएको हो ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफल पश्चात सरकारले नेपालीलाई स्वदेश फर्काउन सुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले बताउनु भयो ।

    संघले नेपालीहरुलाई तत्काल स्वदेश फर्काउनका लागि परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली तथा उपप्रधान मन्त्री ईश्वर पोख्रेलसँग समेत पटक पटक छलफल गरेको थियो । 

    मन्त्रीद्धयले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई जतिसक्दो चाडो उद्धार गर्ने प्रतिवद्धता एनआरएनएसँग जनाएका थिए । 

    भोलिबाट सुरु हुने उद्धार कार्यले अर्को हप्ताबाट तिब्रता लिने र पहिलो चरणमै करिब ४० हजार नेपालीहरुलाई नेपाल फर्काउने सरकारको तयारी रहेको छ ।

    नेपालीहरुलाई स्वदेश फर्काउने कार्यमा गैरआवासीय नेपाली संघले सक्दो सहजीकरण गर्ने संघका सबै राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । संघले विश्वभर छरिएका नेपाली दुतावाससंग सहकार्य गर्दै नेपालीहरुको फिर्तिको लागि सहयोग गर्न सबै शाखालाई गत हप्तानै निर्देशन दिएको थियो । 

    अध्यक्ष पन्तले विदेशमा अप्ठ्यारोमा परेका सबै नेपालीहरुलाई  धर्य गरी जहाँ हुनुहुन्छ त्यही रहन र एकअर्कालाई सहयोग पुर्याउन समेत आग्रह गर्नुभयो ।

    यसअघि संघका विदेशस्थित शाखाहरुले नेपाल फर्कन चहानेहरुको तथ्यांक संकलन गर्दै आएका छन् । 
    तथ्यांक अनुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ । युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची तयारी अवस्थामा रहेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on नेपाल सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने, सहजीकरणको लागी एनआरएनए तयारी अवस्थामा

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P