नेपाल सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने, सहजीकरणको लागी एनआरएनए तयारी अवस्थामा

  • २२ जेष्ठ २०७७, बिहीबार २१:३० मा प्रकाशित
  • संवाददाता

    काठ्माण्डौँ | सरकारले ५ जुन २०२० शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने भएको छ । पहिलो पटक बर्मा र युएईबाट नेपाली फर्काउन सुरु गर्ने भएको हो ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफल पश्चात सरकारले नेपालीलाई स्वदेश फर्काउन सुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले बताउनु भयो ।

    संघले नेपालीहरुलाई तत्काल स्वदेश फर्काउनका लागि परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली तथा उपप्रधान मन्त्री ईश्वर पोख्रेलसँग समेत पटक पटक छलफल गरेको थियो । 

    मन्त्रीद्धयले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई जतिसक्दो चाडो उद्धार गर्ने प्रतिवद्धता एनआरएनएसँग जनाएका थिए । 

    भोलिबाट सुरु हुने उद्धार कार्यले अर्को हप्ताबाट तिब्रता लिने र पहिलो चरणमै करिब ४० हजार नेपालीहरुलाई नेपाल फर्काउने सरकारको तयारी रहेको छ ।

    नेपालीहरुलाई स्वदेश फर्काउने कार्यमा गैरआवासीय नेपाली संघले सक्दो सहजीकरण गर्ने संघका सबै राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । संघले विश्वभर छरिएका नेपाली दुतावाससंग सहकार्य गर्दै नेपालीहरुको फिर्तिको लागि सहयोग गर्न सबै शाखालाई गत हप्तानै निर्देशन दिएको थियो । 

    अध्यक्ष पन्तले विदेशमा अप्ठ्यारोमा परेका सबै नेपालीहरुलाई  धर्य गरी जहाँ हुनुहुन्छ त्यही रहन र एकअर्कालाई सहयोग पुर्याउन समेत आग्रह गर्नुभयो ।

    यसअघि संघका विदेशस्थित शाखाहरुले नेपाल फर्कन चहानेहरुको तथ्यांक संकलन गर्दै आएका छन् । 
    तथ्यांक अनुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ । युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची तयारी अवस्थामा रहेको छ ।

    Leave a Reply