
काठमाडौं । कोभिड १९ को संक्रमण रोकथामको लागि सरकारले लकडाउन गरेको ७० दिन वितिसकेको छ । लामोसमय लकडाउनमा बस्नु पर्दा सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्प छन् । यस्तोमा मोटरसाइकल बिक्रेता कम्पनीहरु लकडाउन सकिएपछि नयाँ अफर योजना सहित आफ्नो शोरुमहरु खोल्ने तयारीमा जुटेका छन् ।
नेपालमा दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्ने लिडिङ कम्पनीको रुपमा रहेको होन्डाले नयाँ योजना अगाडि ल्याएर अन्य कम्पनीहरुलाई दबाबमा ल्याइदिएको छ । होन्डाले विभिन्न ४ अफर ग्राहकलाई गरेको छ । उसले एक रुपैयाँ मासिक किस्ता, एक रुपैयाँ डाउन पेमेन्ट र एक प्रतिशतसम्म व्याज जस्ता अफर ग्राहकलाई दिएको हो ।
यस्तोमा अन्य कम्पनीले पनि आफ्ना योजना बनाउदै गरेको जनाएका छन् । मोटरसाइकल बिक्री गर्ने कम्पनीमा अग्रणी रहेको बजाज, यामाहा, टिभीएस, हिरो र सुजुकी जस्ता कम्पनीले कस्तो अफर ल्याउने भनेर आन्तरिक छलफल गरिरहेको जानकारी दिएका छन् ।
‘अहिले सरकारले लकडाउन लम्ब्याएको छ । आगामी जेठ ३२ गतेसम्म नै लकडाउन हुने हुँदा तत्काल घोषणा गरेर कुनै फाइदा हुँदैन । पहिला लकडाउन सकियोस्, त्यसपछि राम्रो अफर दिने तयारीमा छौं’, हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङ प्रालिका चेयरम्यान अभिक ज्योतिले मेरोअटोसँग भने ।
यस्तै भनाई यामाहा, बजाज, टिभीएस लगायतका कम्पनीहरुको रहेको छ । यस्तोमा यी सबै कम्पनीले ग्राहकलाई लोभ्याउने योजना अगाडि सार्नेमा दुईमत छैन । तर, कुन कम्पनीले कस्तो अफर ल्याउँछ भन्ने थाहापाउन भने केही दिन कुर्न पर्ने भएको छ । मेरोअटो.कम.

