रेमिट्यान्स द्वारा अर्थव्यवस्थाको खम्बा बनेका युवा/यूवतीहरूले के पाए?

  • ९ असार २०७७, मंगलवार ०१:१५ मा प्रकाशित
  • यासमिन बेगम सैयद

    साउदी अरब | बिश्वव्यापी महामारी कोविड 19 को कारण आफ्नो रोजीरोटी गुमाएका, हातमुख जोड्न धौ धौ परी स्वदेश फर्किँन बाध्य हुनु परेको पीडा आफैँमा दर्दनाक छ। यसै क्रममा सरकार प्रति चौतर्फी दवाव बढ्दै गए पछी लामो समय पश्चात् विभिन्न सहयोगी हातहरूको अथक प्रयासका कारण आफ्नो देश फर्किन पाएका हाम्रा दिदि बहिनीलाई आफनै देशमा किन अमानवीय व्यवहारको सामना गर्नू पर्ने ?

    विषम परिस्थितिमा आफ्नो देश, घर, गाउँ अनि समाज सम्म पुग्न यत्रो संघर्ष गर्नुपर्ने ? कोरोना एक बाट अर्को सार्न सक्ने क्षमता १०-२० प्रतिशत व्यक्तिमा मात्र हुन्छ भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित हुँदा पनि अछूत सरह ब्यवहार किन गरिने ? ढुंगेयुगमा नगरिएको ब्यवहार एकाईसौँ शताब्दीको शिक्षित नेपाली समाजले गर्दैगर्दा यसबाट भावी मानव समाजमा कस्तो संदेश जान्छ ?
    नेपाल सरकारको सहजिकरण नाममा के पाएका छन् त रेमिट्यान्स् भित्राएर देशको अर्थव्यवस्थाको खम्बा बनेका नेपाली युवा/यूवतीहरूले? मात्र लामो समय सम्म निरीह बनी स्वदेश फर्किने प्रतीक्षामा बस्नु पर्ने मात्र नभई चर्को हवाईभाडाको मार, नेपालमा उनीहरूलाई हेर्ने पाशुवत दृष्टिकोण अनि मानसिक पीडा।

    एका तिर बैदेशिक रोजगारीको क्रममा विशेषगरी मध्यपूर्ब बाट फर्किएका महिलाहरू प्रतिको दुर्व्यवहार त अर्को तिर क्वारेन्टाईन भित्र नै महिला माथी सामूहिक बलात्कारको दुष्प्रयास गर्नु । कतै प्रवास बाट फर्किएका गर्भवति महिलाहरू पानी सम्म पिउन नपाएको खबरले जो कोहीलाई मर्माहत बनाएको छ।

    कोविड 19 को संक्रमणको पीडामा रहेका आप्रवासी नेपाली नागरिकको सहयोगका निमित्त NRNA ICC -NCC , नेपाली दूतावास , विभिन्न स्थापित संघ संस्था तथा ब्यक्तिगत सहयोग सबैको एकिकृत प्रयासले ति युवा/यूवतीहरू स्वदेश फर्किए भनेर सन्तोषको सास फेर्न नपाउँदै विभिन्न दुःखद ह्रदयविदारक घटनाक्रमले विकराल समस्या सृजना हुने संभावित प्रारूप देखिन थालेको छ।

    यस जटिल घडीमा नेपाल फर्किएका गर्भवति महिलाहरूलाई उहाँहरूको नजिक पायक पर्ने ठाउँको सरकारी हस्पिटल वा स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसुती अधिकारको सुनिश्चिततालाई मध्यनजर गर्दै ती महिलाहरूलाई सम्मानजनक निशुल्क सेवासुविधा दिनु पर्ने बिषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै महिला अधिकारकर्मी अनि सम्बन्धित सरोकारवाला निकायहरू संग मेरो अनुरोध छ ।

    मध्यपूर्वका विभिन्न राष्ट्रहरूमा आएका महिलाहरू जो आफ्नै व्यक्तिगत कारणले नेपाल फर्किन बाध्य हुनु पर्यो जस्को पिडा उनीहरू स्वयंलाई छ। जसलाई आधार बनाएर नकारात्मक टिकाटिप्पणी गर्नू , आधारहीन संगिन आरोप लगाउँदै चरित्रहत्या गर्नू , सहयोगको साटो मानसिक रूपमा बिक्षिप्त हुने गरी सामाजिक संजालमा तथानामको शब्दावलीले प्रहार गर्दै उपेक्षित लान्छाना लगाउनु , तथ्यहिन समाचार सम्प्रेषण हुँदा पिडित मात्र नभई मध्यपूर्वमा बस्ने सम्पूर्ण हामी जस्ता संघसंस्थामा आवद्ध भई सामाजिक सेवामा अग्रसर भएका महिलाहरूको प्रतिष्ठामा समेत आघात पुगेको मैले महसुश गरेकी छू।

    तसर्थ फराकिलो सोच राखी सकारात्मक सेवा तथा सदभाव देखाउनु हुन सम्पूर्णमा आग्रह गर्दछु ।

    यासमिन बेगम सैयद
    NRNA ICC

    Leave a Reply