कपिलवस्तु, ५ पुस – कपिलवस्तु प्रहरीले अवैध रूपमा भण्डारण गरिएको १ सय २ बोरा अनुदानको मल सहित एक व्यवसायीलाई नियन्त्रणमा लिएको छ । सूचनाका आधारमा कपिलवस्तु नगरपालिका–१० पचेहरास्थित मनोज किराना पसलमा छापा मारेको थियो । इलाका प्रहरी कार्यालय पकडीका निरीक्षक सुवास खतिवडाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोलीले मलसहित पसल सञ्चालक गोरखनाथ बनियालाई नियन्त्रणमा लिएको हो ।
बरामद मलमा ६२ बोरा डिएपी (मूल्य रु. १,३६,४००) र ४० बोरा युरिया (मूल्य रु. ३०,२००) रहेको छ । कुल मूल्य १,६६,६०० रुपैयाँ पर्छ ।
प्रहरीका अनुसार पछिल्लो समय अनुदानको मलमा कालोबजारी र अवैध भण्डारण बढेकोले सो छापा हानेको हो । नियन्त्रणमा लिइएका व्यक्ति र बरामद मल आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


