• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: विचार

नर्सिङ पीडाको नालीबेली : नाइटिंगेल कि विदेश ?

  • ९ पुष २०७६, बुधबार ०१:१२ मा प्रकाशित
  • नर्सिङ संघको चुनावी माहोल देशभरका नर्सहरुलाई लागिसकेको छ । नर्सहरुले भोगेका पीडालाई कम गर्नको लागि भनेर कैयौं बुँदाहरु घोषणापत्रमा समेटिइसकेका छन् । राजनीतिक रुपमा नेकपा र काँग्रेसको झण्डाभित्र बसेर उम्मेदवारी दिएका मनकुमारी राई र मुना राणाको दुई पक्षले चुनावमा उम्मेदवारी दिएको छ । यस अघि पनि कैयौं यस्ता घोषणापत्रहरु आए । तर, तिनीहरुले पनि नर्सको पीडालाई कम गर्न सकेको छैन ।

    यही सन्दर्भमा यो चुनावमा पनि दुई प्यानलले मिलेर ४० वटा बुँदाहरु नर्सहरुको हकहितको लागि भनेर उठाइएका छन् । यी बुँदाहरुबाट पनि नर्सहरुले आफ्नो पेशागत सम्मान र सुरक्षाको अनुभूति गर्न सक्ने देखिँदैन ।

    नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले आफ्नो कार्यकालमा धेरै कामहरु भएको भएपनि विविधकारणहरुले आफ्नो कार्यकालमा आँटेका जति काम गर्न नसकेको स्वीकार गरिन् । नर्सिङ तथा सामाजिक सुरक्षा ईकाईको अवधारणा, ‘विद्यालयमा नर्स’ भन्ने परियोजना मार्फत् विभिन्न ७ वटै प्रदेशहरुमा त्यसको कार्यान्वयन गराउने जस्तो काम आफूहरुकै कार्यकालमा भएको भन्दै केही भएन भन्ने आधार नरहेको बताइन्।

    उनले आफूहरुको कार्यकालमा नै श्रम शोषणको अन्त्य गर्नको लागि विभिन्न कार्यक्रमहरु गरेको, भोलेन्टेयर प्रथाको अन्त्य गर्न नसकेपनि न्यूनीकरण गरिरहेको उनले जानकारी दिइन् । सन् २०१५ मा भूकम्प जाँदा  पीडित भएकाहरुलाई सेवा गरेबापत अन्तराष्ट्रिय अवार्ड समेत पाएको उनले बताइन् ।

    केही समयअघिको माथेमा आयोगले आफ्नो प्रतिवेदनमा निःशुल्क नर्सिङ सेवा दिनुपर्ने विषय उल्लेख गर्यो । यो विषयलाई कसैले पनि आफ्नो घोषणापत्रमा उठाएका छैनन् । कोरा राजनीतिक झण्डा लिएर चुनाव लड्नेहरुले नर्सहरुको हकहितको बारेमा कहिलै पनि गम्भीर भएर नसोचेको नर्सहरुको आरोप छ । सबैभन्दा पहिलो कुरा त लाखौं रुपैयाँ खर्च गरेर नर्स पढेकाहरुलाई उचित पारिश्रमिक छैन भने संघको चुनावमा राखिने अरु एजेण्डाहरुको कुनै औचित्य नरहेको नर्सहरु बताउँछन् ।

    नर्सिङ काउन्सिलको तथ्यांक अनुसार अहिले काउन्सिलमा दर्ता भएका कूल ५६ हजार ४०६ जना मध्ये १३ हजारभन्दा धेरैले विदेशमा काम गर्न र वैदेशिक उच्च शिक्षाको लागि प्रस्ताव पेश गरेका छन् । नेपालमाभन्दा झण्डै १० गुणा धेरै कमाई विदेशमा हुने भएकोले नर्सहरुको मुख्य आकर्षण अष्ट्रेलिया, क्यानडा जस्ता मुलुकहरुमा धेरै हुने गरेको छ ।

    महंगो शुल्कमा अध्ययन गरेर सकेसम्म निःशुल्क र नभएपनि अति न्यून शुल्कमा रात दिन नभनी काम गर्नुपर्ने पेशा हो नर्स । अझ कार्यक्षेत्रमा हुने जोखिम र त्यसको समस्यालाई त गौण मान्ने हो भने त्यो भन्दा ठूला पीडाहरु नर्सहरुले भोग्ने गरेका हुन्छन् । बिरामीको पीडा भुलाउने नर्सहरु अहिले आफैं पीडै पीडाको भारी बोकेर कार्य क्षेत्रमा पुग्ने गर्छन् ।

    स्कूले जीवनमा नै अस्पतालमा पाइला टेकेकाहरुले सेतो पहिरनमा बिरामीको हेरचाह गर्न आउने नर्सहरु देखेपछि आफ्नो पनि त्यही ठाउँमा पुग्ने लक्ष्य लिन्छन् । अधिकांश त्यसमा महिलाहरु नै हुन्छन् । जब लाखौं पैसा खर्च गरेर निःशुल्क वा अति कम शुल्कमा अस्पतालमा काम गर्नुपर्ने हुन्छ । त्यसपछि एकाएक नर्सहरुको अनुहारमा बनावटी हाँसोको श्रृंखला सुरु हुन्छ ।

    नर्सिङ पढ्नेहरुको वास्तविक पीडा पिसिएल सकेर अस्पतालमा भोलेन्टियरको रुपमा काम गर्ने ६ महिनामा नै देखिन्छ । आफ्ना छोराछोरीहरुको सपना पूरा गर्नको लागि ऋण काढेर नर्सिङ पढाएका आमाबुबाहरुले पिसिएल सकेलगत्तै छोराछोरीहरुले ऋण तिर्न सुरु गरुन् भन्ने सोचाई राख्छन् । तर, पिसिएल तहको अध्ययन गर्दासम्म एक व्यक्तिले कम्तीमा पनि ५ लाखदेखि १५ लाख रुपैयाँसम्म खर्च गरिसकेका हुन्छन् ।

    तर, त्यो तह पूरा गरेपछि उनीहरुको ६ महिनाकोलागि भोलेन्टियर बनेर काममा जानु पर्ने हुन्छ । कोटा थोरै र जनशक्ति धेरै भएका कारण काम पाउन मुस्किल छ । काम नपाउँदासम्म भोलेन्टियर बनेर काम गर्नेदेखि कामै पाए पनि ६ हजारदेखि २० हजार रुपैयाँ मासिक तलब बुझेर काम गर्नुपर्ने बाध्यतामा धेरै नर्सहरु रहेको नर्सिङ संघले जनाएको छ । अहिलेसम्म कतिले यो समस्या समाधान गर्छु भनेर आए । तर, उनीहरुले यसको समाधान रोक्न सकेनन् ।

    नर्सिङ संघले अझैसम्म पनि न्यूनतम पारिश्रमिक १८ हजार तोक्नको लागि संघर्ष गरिरहेको छ । यस्तो अवस्थामा त्यति महंगो शुल्क तिरेर गरेको अध्ययनको औचित्य के ? भन्ने प्रश्नले नै नर्सहरुमा बेचैन हुने गरेको अनुभव सुनाउँछन् ।

    वर्षौं भइसक्यो सरकारी अस्पतालहरुमा नर्सको कोटा खुलाईएको छैन । झण्डै ७५ हजारको हाराहारीमा नर्सहरु कार्यरत रहेकोमा नर्सिङ संघको तथ्यांक अनुसार ८ हजारको हाराहारी नर्स मात्रै सरकारी अस्पतालहरुमा कार्यरत छन् । बाँकी ६७ हजारले भोग्नु पर्ने पीडाहरु भिन्दा भिन्दै छन् ।

    सपना विदेशको, आधा भन्दा धेरै असन्तुष्ट

    नर्सिङ काउन्सिलको तथ्यांक अनुसार अहिले काउन्सिलमा दर्ता भएका कूल ५६ हजार ४०६ जना मध्ये १३ हजारभन्दा धेरैले विदेशमा काम गर्न र वैदेशिक उच्च शिक्षाको लागि प्रस्ताव पेश गरेका छन् । नेपालमाभन्दा झण्डै १० गुणा धेरै कमाई विदेशमा हुने भएकोले नर्सहरुको मुख्य आकर्षण अष्ट्रेलिया, क्यानडा जस्ता मुलुकहरुमा धेरै हुने गरेको छ ।

    नर्सिङ पेशा यति असुरक्षित हुँदा हुँदै पनि किन मरिहत्ते गरेर यही पेशा तिर आाकर्षण बढ्ने गरेको त ? हरेक वर्ष देशभरबाट ५ हजार नर्सहरुले आफ्नो अध्ययन पूरा गर्ने गरेका छन् । तर, केही समय अघि गरिएको एक अध्ययनका अनुसार ५५.२२ प्रतिशत नर्सहरु आफ्नो पेशाप्रति सन्तुष्ट नरहेको देखिएको थियो । यति हुँदा हुँदै पनि नर्सिङ क्षेत्रप्रतिको यो आकर्षण केवल विदेश जानको लागि मात्रै देखिएको हुनसक्ने नर्सिङ संघका अधिकारीहरु बताउँछन् ।

    नर्सहरुका पीडाहरु

    सबैभन्दा ठूलो त नर्स बनिसकेपछि जागिर पाउन र न्यून पारिश्रमिकको पीडा नै सबैभन्दा ठूलो हो । महंगो अध्ययन शुल्क र सबैभन्दा सस्तो जागिरमा समेत हुने श्रम शोषण अर्काे समस्याको पाटो हो । एउटा नर्सले अस्पतालमा रातिको समयमा एक्लैले ३० देखि ३५ जनासम्म बिरामीको स्वास्थ्य निगरानी गर्नुपर्ने हुन्छ । अहिले बेड रेसियो अनुसार कोटा निर्धारण गरिएको छैन ।

    त्यस्तै, लामो समयदेखि नयाँ कोटामा दरबन्दी नखुल्दा नर्सहरु निजी अस्पतालमा अति कम शुल्कमा जागिर खान बाध्य छन् । अध्ययन पूरा गरेपछि हरेक तहको अध्ययनमा भोलेन्टियर बनेर काम गर्नुपर्ने पनि नर्सहरुको अर्काे पीडा हो । त्यस्तै, कार्यक्षेत्रमा रहँदा पुरुष कामदार र बिरामी कुरुवाहरुको गिद्दे दृष्टिको जोखिम पनि उनीहरुको अर्काे पीडा रहेको नर्सहरु बताउने गर्छन् ।

    Posted in कला /जीवनशैली, बिज्ञान/प्रविधि, विचार, समाजLeave a Comment on नर्सिङ पीडाको नालीबेली : नाइटिंगेल कि विदेश ?

    “मलाई शब्दसँग खेल्न असाध्यै मनपर्छ” उपन्यासकार पुरी

  • ३० मंसिर २०७६, सोमबार २०:२१ मा प्रकाशित
  • सीमा पुरी, उपन्यासकार

    –वसन्त अनुभव –

    परि नामक उपन्यासबाट नेपाली साहित्य जगतमा पहिचान र चर्चा बटुल्दै आउनु भएकी सीमा पुरी आजभन्दा करिब ४४ वर्ष पहिले दाङ जिल्लाको स्युजामा बुवा तेज बहादुर पाण्डे र आमा भिमादेवी पाण्डेको कोखबाट जन्मिनु भएको हो । जन्मले तेश्रो सन्तान भए पनि उहाँ पहिलो जिवित सन्तान भएको बताउनु हुन्छ ।

    कलिलै उमेरमा विवाह बन्धनमा बाँधिनु भएकी पुरी हाल एक छोरा र एक छोरीको आमा हुनुहुन्छ । २०५२ सालमा दाङ छोडेर काठमाडौ छिर्नु भएकी सीमा पुरीले २०५६ सालमा सहकारीबाट आफ्नो पेशागत जीवनको सुरुवात गर्नु भएको हो । सुरुमा कर्मचारीको रुपमा सहकारी भित्र छिर्नु भएकी पुरी सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, का.म.न.पा.६ महाकालको अध्यक्षको जिम्मेवारी बिगत १० वर्ष देखि सम्हाल्दै आउनु भएको छ । उहाँको कुशल नेतृत्वका कारण उहाँको सहकारीले एउटा उचाई कायम गरेको छ ।

    काठमाडौ महानगरपालिका वडा नं. ६, शान्तिनगर स्थित आफ्नै निवासमा बस्दै आउनु भएकी पुरीको सानैदेखि कथा, कविता पढ्ने, लेख्ने रुचि रहेको थियो । शब्दसँग लुकामारी खेल्न असाध्यै रुचाउने पुरीका थुप्रै कविता, कथा, गजल आदि विभिन्न पत्रपत्रीकाका छापिदै आइराखेका छन । साहित्य लेखनका साथसाथै टि.भि.सिरिएलमा अभिनय समेत गरिसक्नु भएको छ । प्रकाशित उपन्यास परी उहाँको पहिलो प्रकाशित कृति हो ।

    परी एक सामाजिक कथावस्तु बोकेको उपन्यास भएको जसमा समाज र परिवारबाट स्वीकार नगरिएकी कुमारी आमाले आफ्नो र बच्चाका लागि समाज, परिवार सँग गर्नु परेको संघर्ष र अन्त्यमा सन्तान मार्फत न्याय पाएको दृष्टान्त उल्लेख भएको बताउनु हुन्छ ।

    परी उपन्यासको जन्म बारेमा सोधिएको प्रश्नको उत्तरमा उहाँले परीको जन्म अत्यन्त रोचक रुपमा भएको राती के लेखौ के लेखौ भएको, उदास भएको बेला राती सुतिरहेको अवस्थामा परी शब्द दिमागमा आयो उठेर लेखे त्यसपछि कथा लेखी फेसबुकमा पोस्ट गरे । साथिहरु, आफन्तहरुको राम्रो कमेन्ट पाए । लेख्ने र पोस्ट गर्ने कार्य करिब ४ महिना निरन्तर रह्यो अन्तत परीको जन्म भएको उल्लेख गर्नु भयो ।

    परीले पुस्तकार लिएको करिब ३ महिना पुग्दासम्म पहिलोपटक प्रकाशित अधिकांस प्रति बिक्री भैसकेको र पाठकबाट अत्यन्त राम्रो प्रतिक्रिया प्राप्त भैराखेको बताउनु भयो । एक प्रश्नको उत्तरमा आफ्नो उपन्यासको पहिलो पाठक आफ्नै आमा रहेको बताउनु हुन्छ । हाल पुरी अर्को उपन्यास अपरिचित को लेखनकार्यमा ब्यस्त रहनु भएको छ ।

    Posted in मुख्य खबर, विचार, साहित्यLeave a Comment on “मलाई शब्दसँग खेल्न असाध्यै मनपर्छ” उपन्यासकार पुरी

    के कहिल्यै सोच्नुभएको छ ?

  • २४ मंसिर २०७६, मंगलवार १९:१३ मा प्रकाशित
  • नारायण गाउँले

    के कहिल्यै सोच्नुभएको छ ? हरेक गाउँ र वडामा नेकपा र कांग्रेसका दर्जनौं यस्ता नेता-कार्यकर्ता छन् जसले न जागिर खान्छन् न कुनै व्यवसाय गर्छन् । तर तिनको जीवनशैली आम जनताको भन्दा धेरै माथि छ । ती हरेक कार्यक्रम र भेलामा पुग्छन्, भाषण गर्छन्, देशविदेश डुल्छन् र सधैँ महँगा होटल या रेस्टुरेन्टमा भेटिन्छन् । तपाईं एक कट्ठा जग्गा जोड्न बर्सौँ मिहिनेत गर्नुहुन्छ, अरब पस्नुहुन्छ तर ती हेर्दा हेर्दै अग्लो घर ठड्याउँछन् र गाड़ी चढ्छन् । तपाइँ गाड़ीभाड़ा बढेकोमा चिन्तित हुनुहोला, ती प्लेनमा यात्रा गर्छन् । मन्त्री, सांसद या मेयर भेट्न तपाईंलाई गाह्रो होला तर ती ‘बड़ीगार्ड’ झैँ जहाँ पनि साथ हुन्छन् । तपाईंकहाँ भोट माग्ने बेला पनि मुश्किलले आउने ‘भिभिआईपी’हरू तिनको बिहेवर्तबन्धदेखि सटर उद्घाटनसम्म भ्याउँछन् । तपाईंलाई फीस तिर्न साह्रो होला, तर तिनका सन्तान वरपरको सबैभन्दा महँगो स्कुल जान्छन् ।

    के तपाईंले कुनै ठेकेदारको फोटो गाड़ीको शीसामा टाँस्नुअघि ती ‘नेता’को आयस्रोत र जहिले उकालो लाग्ने सम्पत्तिबारे औँला उठाउनुभएको छ ? द्वन्द्व, लोडसेडिंग, भ्रष्टाचार, कमिशनतन्त्रजस्तो कठीन परिस्थितिमा समेत उद्योगधन्दा चलाएर रोजगारीसहित देशको अर्थतन्त्र धराशायी हुन नदिने उद्योगव्यवसायीलाई करछलुवा भनेर गाली गर्न सजिलो छ तर सांसद् हुँदा तलबले खान र गाउँ जान पुग्दैन भनेर संसदमैं रुनेहरू पूर्वसांसद बनेर पनि कसरी लग्जरियस जीवन बिताउँदै छन् भनेर सोध्नुभएको छ ? सम्पत्ति विवरणमा एक कट्ठा जग्गा र दुई तोला सुन देखाउनेहरू सामान्य रोगको उपचार गर्न अमेरिकादेखि स्विट्जरलैंडसम्म सपरिवार कसरी पुग्न सक्छन् भनेर सोध्नुभएको छ ?

    सधैँ ठेक्का कसले पारिरहन्छ भन्ने पनि हामी धेरैलाई राम्ररी थाहा छ । एनसेलजस्ता कम्पनीले हाम्रा नेताको फोटो पत्रिकाका फ्रन्ट पेजदेखि सड़कका पोलपोल सम्म टाँगिदिनुपर्ने, चुनाब खर्चदेखि जो सत्तामा आउँछ उसलाई ठूलो नजराना बुझाउनुपर्ने कुरो ‘ओपन सिक्रेट’ भएको हामीलाई थाहै छ । कर तिरेन भनेर आज बम पड्काउने र निर्दोष नागरिकको ज्यान लिने कुनै दलले भोलिपल्ट करोडौं चन्दा मागेर रसिद पठाउँछ भन्ने पनि हामीलाई थाहा नै छ । बारम्बार ब्ल्याक लिस्टमा परे पनि फेरि ठूलो ठेक्का पप्पू कन्स्ट्रक्शनले नै पाउँछ भन्ने पनि हामी धेरैलाई थाहा छ । खासमा देशको ढुकुटी पुग्नुपर्ने रकम तिनै नेता कार्यकर्ता पाल्न खर्च भइरहेछ ।
    विश्वभर राम्रो ख्याति कमाएका कम्पनी र ठेकेदार पनि हाम्रोमा कमिशनको भारले गर्दा काम सकिनै लाग्दासमेत छोडेर हिँड्नुपर्ने बाध्यता छ ।

    उद्योगी या ठेकेदारलाई दोष दिन सजिलो छ । तर, एउटा ठेक्का पाउनेदेखि सम्पन्न गर्दासम्म उसले खरदारदेखि पार्टीका सरदारसम्मलाई बुझाउनुपर्ने कमिसनबारे सोच्ने फुर्सत हामीलाई छैन । असी हजार तलब बुझ्ने प्रचण्डले एक लाखको घरभाड़ा कसरी तिर्छन् भन्ने प्रश्न गर्नुभन्दा शारदाप्रसाद अधिकारीको फोटो टाँस्न सजिलो पनि छ । क्रिकेट खेलेर कमाए स्रोत देखाउनुपर्ने तर राजनीति गरेर कमाए छुट हुने अवस्था रहेसम्म देशको उन्नति यस्तै त होला नि !

    Posted in राजनीति, विचार, समाजLeave a Comment on के कहिल्यै सोच्नुभएको छ ?

    साथीको नाता त्यो होइन जुन दुनियाँलाई देखाइन्छ । साथीको नाता त्यो हो जुन, मनदेखि निभाइन्छ ।

  • २२ मंसिर २०७६, आईतवार ००:५३ मा प्रकाशित
  • कसैका भनाइले तपाईको जीवनमा सकारात्मक प्रभाव पार्न सक्छ । यस्ता भनाइबारे हामी यहाँ उल्लेख गरिरहेका छौं । यसलाई मनन गर्नु भयो तपाइँको जीवनमा सफलता पाउन सकिन्छ । हामीले यहाँ यस्तै १० वटा कुराहरु राखेका छौं ।

    • मानिस जतिसुकै सुन्दर किन नहोस् तर कदर मानिसको गुण स्वभावको नै हुन्छ ।
    •  दुख र पीडामा साथ दिने साथी प्राण भन्दा प्यारो हुन्छ, जुन बेला दुख परेको छ त्यो बेला साथ छोड्छ त्यो एक नम्बरको स्वार्थी हुन्छ ।
    •  आजभोलि मिठास खानासँग नडराउनुहोस्, तर मिठास बोलीसँग पक्का डराउनुहोस् किनकी त्यहाँ डरलाग्दो स्वार्थ लुकेको हुन्छ ।
    •  साथीको नाता त्यो होइन जुन दुनियाँलाई देखाइन्छ । साथीको नाता त्यो हो जुन, मनदेखि निभाइन्छ ।
    •  घमण्डले मानिसलाई केही समयसम्म त ठुलो बनाउँला तर महान भने कहिल्यै बनाउन सक्दैन ।
    •  दुनियाँमा कोही कसैको आफ्नो हुँदैन, मानिसहरु मलामी जान्छन् त केबल हाजिर जनाउन दुख सम्झेर होइन ।
    •  बुद्धि नहुनेहरु बल देखाउँछन् भने बद्धि हुनेहरु दिमाग लगाउँछन् ।
    •  मान्छेको तागत र शक्ति हेरेर होइन उसको वुद्धि र विचार हेरेर काम गर्नुहोस् ।
    •  केही गर्ने सोच राख्ने मान्छेलाई यो संसारमा केही असम्भव छैन ।
    • संसारको समस्या त्यही हो, मान्छेले समाज बदल्ने कुरा गर्छ, ठूलो आवाजमा तर आफु चाहिँ जस्ताको त्यस्तै ।

    स्रोत : खबरहब

    Posted in विचार, समाज, साहित्यLeave a Comment on साथीको नाता त्यो होइन जुन दुनियाँलाई देखाइन्छ । साथीको नाता त्यो हो जुन, मनदेखि निभाइन्छ ।

    सेना, प्रहरीले मौलिक बाजा प्रयोग गर्न जरुरी : प्रदेश प्रमुख शेरचन

  • २२ मंसिर २०७६, आईतवार ००:१९ मा प्रकाशित
  • गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मौलिक बाजाको संरक्षण अपरिहार्य भएको बताएका छन्।

    नेपाल सङ्गीत नाट्य एकेडेमीको आयोजना तथा हिमाली सांस्कृतिक परिवारको सहकार्यमा  यहाँ आयोजित ‘गण्डकीका धुनहरु’ कार्यक्रममा उनले मौलिक बाजाका बारेमा युवा पुस्ताले चासो नलिने हो भने इतिहासमा समेत नभेटिने बताउँदै पछिल्लो समय पश्चिमी बाजाको प्रभावका कारण नेपालको मौलिक बाजा लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षणका लागि सबै लाग्नुपर्ने  औँल्याए।

    नेपाली मौलिक बाजाको  महत्व र इतिहास रहेको उल्लेख गर्दै प्रमुख शेरचनले नेपाली सेना र प्रहरीले पनि आप्mनो मौलिक बाजालाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए।ग


    गण्डकी प्रदेशका ११ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी दुईदिने उक्त कार्यक्रममा ९५ लोपोन्मुख बाजाको प्रदर्शनी र तीन कार्यपत्रको प्रस्तुति  थियो । कार्यक्रममा पञ्चैबाजाका बारेमा तुलसी प्रभास, हिमालमा प्रचलित बाजा टुङ्नाका बारेमा कर्मा फारम र नवलपुरको थारू बाजाका बारेमा पीताम्बर महतोले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी १२ समूहले गण्डकी प्रदेशभित्रका हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी विभिन्न बाजाका धुनको प्रस्तुति दिएका थिए । 

    नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले मौलिक बाजा र धुनको संरक्षण र विकासका लागि गण्डकीका धुन कार्यक्रम आयोजना गरिएको बताउँदै परम्परागत बाजा, गीतसङ्गीत, कला संरक्षणका लागि प्रतिष्ठानले सहयोग गर्ने आश्वासन दिए।

    पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित गण्डकीका लोपोन्मुख बाजाको धुनले आज पोखरा गुञ्जायमान बन्यो ।  लोपोन्मुख आरबाजा, पात, सारङ्गी, त्हउदु, टुङ्ना, ह्याङ्जे, ढग्ने, मानर, खैजडी, मृदा, ता र ढल्कीलगायत प्रचलित बाजाको धुनले कार्यक्रम रोचक बनाएको थियो ।

    कार्यक्रममा लोपोन्मुख मुख बाजा र  ढल्कीको प्रस्तुति, झलकमान गन्धर्व सारङ्गी पाठशाला कास्कीले गाइने धुन, डाँफेचरी, आरबाजा, सारङ्गी, मादल र  मुजुरा तथा नेवाः खल कास्कीको प्रतिनिधित्व गर्दै तेर्सापट्टि तया मचा समितिले नेवारी धुन, मृदा झ्याली, ता, ढल्कीबाजाको धुन प्रस्तुत गरेका थिए ।

    लोपोन्मुख लोकबाजा नयाँपुस्तालाई जानकारी गराउने उद्देश्य रहेको कार्यक्रममा दूधपोखरी तमु समाज पोखराले स्वर्ग जाने धुन, त्हउदु, झ्यालीबाजाको प्रस्तुति, बौद्ध अर्घौ सदन पोखराले लामाबाजा र बौद्ध धुन, तमु प्येल्हु सङ्घले पच्यु, क्याप्री, बोन्पो लमको बाजा धुन, ढ्याङग्रो, शङ्ख र झ्यालीसहित प्रस्तुति दिएको कार्यक्रमका स्थानीय संयोजक तेज केसीले जानकारी दिए।

    सो अवसरमा लाफा मगर समाज घाँसीकुवाले कौडा धुनसँगै   झ्याली र  मुजुरा, लेखनाथस्थित सत्सङ्ग भजन कीर्तन समूहले भजन प्रस्तुति, नवलपुर थारू समाजले थारू संस्कृति धुन, मानर र मजुर वाद्यवादनसहित प्रस्तुति, नेपाल दैविक सनातन धर्म संरक्षण समिति, पञ्चै बाजा समूहले लोपोन्मुख धुन र बाजा सनाही, नरसिंहा, दमाहा ढोलकी, ट्याम्कोलगायत प्रस्तुत गरेकामा  सबै उमेरका कलाकार नाचगानमा सहभागी भएका थिए ।

    साभार लोकान्तर

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on सेना, प्रहरीले मौलिक बाजा प्रयोग गर्न जरुरी : प्रदेश प्रमुख शेरचन

    तलब भिख होइन, बौद्धिक श्रमको मूल्य हो (यस्ता छन तलब बढाउनु पर्ने १६ कारण)

  • २० मंसिर २०७६, शुक्रबार १९:०४ मा प्रकाशित
  • भिम उपाध्यय

    युवालाई नेपालमै आकर्षित गर्न कर्मचारीको तलव किन बढाउने ?

    १. सार्क क्षेत्रमा नेपालको तलब सबैभन्दा थोरै छ त्यसैले।

    २. नेपालको जीडीपी विगत दश पन्ध्र वर्षमा दुगुना भएर एक हजार डलर पुगेको छ त्यसैले।

    ३. बजारभाउ वार्षिक ६ प्रतशितले बढेको छ भने मुद्रा अवमुल्यन १० प्रतिशत भइरहेको छ।

    ४. आगामी ५ वर्षमा जीडीपी दुगुना गर्ने र कृषि उत्पादन पनि दुगुना गर्ने सरकारको लक्ष्य छ।

    ५. बौद्धिक वर्गलाई नेपालमा नै रोजगार दिने स्तरको तलब नहुँदा विदेश पलायन हुने भय रहन्छ।

    ६. तलब कम हुँदा प्रतिभावान र शहरिया सक्षम युवा जागिरमा आकर्षित नभई दिँदा सरकारी संयन्त्रमा पढेलेखेका ब्रिलियन्ट प्रतिभावान युवाको कमि हुन लागिरहेको छ।

    ७. न्युन तलबले अनियमित आम्दानी गर्न उक्साइरहेको र घरपायक वा अतिरिक्त आम्दानी हुने जागिर जोगाउन अनावश्यक दबाव थेग्न भ्रष्ट संस्कृति रोक्न असमर्थ बनाइरहेको छ।

    ८. पर्याप्त जीविकोपार्जन गर्ने तलब दिन सक्दा मात्र इमान्दार र सक्षम कर्मचारीले गलत तत्वसँग भिडेर सरकारी संयन्त्रलाई सफा राख्ने ऑट देखाउन सक्ने हुन्छ। अतिरिक्त पैसा कमाउन नेताको घरघरमा प्रिरपोस्ट पेमेन्ट गर्ने कुसंस्कार हट्नेछ। साथै कर्मचारीहरू मन्त्री नेताहरूसँग राष्ट्रहितमा ऑखा जुधाएर काम गर्न सक्नेछन्।

    ९. पर्याप्त तलब भएमा मुलुकभित्रै बस्ने, अनुकूल उत्प्रेरणा जागेर घरपरिवार बुढाबुढीहरूको हेरचाह र आफू बुढाबुढी हुँदा पनि समाजको सामिप्यमा बालबच्चाको हेरचाह पाउँदा समाजमा खुशी शान्त र सुखी आदर्श महसुस गर्नेछ।

    १०. तलवमानको भिन्नता पनि सबैभन्दा तल्लो र सबैभन्दा माथिल्लो पदबीच करिब ५ देखि १० गुणा हुनुपर्छ। करियर भनेको आर्थिक दृष्टिले परिश्रमको सम्मान पनि हो। कर्मचारी हुँ भन्दा देश विदेशमा लाज मान्नुपर्ने स्केलको तलवमानले आत्मसम्मान दिँदैन।

    ११. तलब भीख होइन, बौद्धिक परिश्रमको मूल्य हो। थोरै तलब हुनु परिश्रम गर्न नसक्ने, नालायक, उत्पादकत्व नभएको, कमजोर, अक्षम जनशक्ति हो भन्ने बुझाउँछ।

    १२. विदेशीको अगाडि नेपालीको बुद्धि नै हुँदैन भन्ने स्तरको तलबले आत्मसम्मान र स्वाभिमान गिराउँछ। शीर उच्च राख्न आफ्नो तलब सार्वजनिक गर्न लाज नमान्ने हुनुपर्छ।

    १३. जागिर पेशा हो र जुनकुनै पेशाले पनि जीवन परिपूर्ण पार्नसक्ने हुनैपर्छ। बलिदान, त्याग, जीवनभरि पिलन्धरे रूवाई, पद्दलित, टीठलाग्ने, र जसले पनि भ्रष्ट नै हो भन्ने हालको वातावरणलाई हटाइएन भने राज्य सञ्चालनको केन्द्रविन्दू चालक रहने कर्मचारीबिना मुलुक उँभो लाग्दैन। दूध खान मन हुनेले गाईलाई हरियो घाँस र दानापानी पर्याप्त दिनुपर्छ। नत्र कर्मचारी पनि दूध थोरै दिने काठे गाईलाई सरापेजस्तो हुनेछ।

    १४. पुग्ने तलब दिइयो भने मात्र गलत, कामचोर, भ्रष्ट कर्मचारीलाई सरकारले सजाय दिन वा हटाउन नैतिक अधिकार रहने हुन्छ। कर्मचारीलाई गलत काम गरेकोमा गालीमात्र गर्ने होइन, सही काम गर्ने पूर्वाधार पनि बनाइदिएकै हुनुपर्छ।

    १५. सरकार तलबबारे यसमा केही गर्न असमर्थ छौं, सक्दिन भन्छ भने त्यो सरकारका अरू सबै लक्ष्य पनि हावादारी नै हुनेछ, त्यसमा पनि उसले केही गर्न सक्नेछैन।

    १६. चालकरूपी कर्मचारीलाई भोकभोकै राखेर हाइवेमा तीब्र गतिमा गाडी हाक भन्दै पेसेन्जरसहित गाडीलाई त्रिशुलीमा जाक्नुसरह हो, त्यही गर भनेसरह हो।

    निजामति सेवा ऐनमा प्रत्येक २ वर्षमा मूल्यवृद्धिका आधारमा कर्मचारीको तलब समायोजन गर्ने लेखिएको हो। तलब आयोगहरूले पनि यसै बमोजिम तलब पुनरावलोकन गर्नुपर्ने सिफारिस गरेका हुन्। तर, सरकारले कहिल्यै ऐन र तलब आयोगहरुका सिफारिस अनुसार तलब वृद्धि गरेको छैन।

    नेपालमा कर्मचारीको तलब निर्धारणमा यथेष्ठ बेथिथिहरु छन्। तल्लो र माथिल्लो पदका कर्मचारीहरुको तलबमा खासै फरक छैन। तल्लो तहको कर्मचारी र माथिल्लो तहका बीचमा करिब २.५ देखि ३ गुणा मात्रै तलब स्केल बढी छ। औषतमा मुद्रास्फिति १० प्रतिशतको हाराहारीमा हुने गरेको छ। त्यस हिसाबले हेर्ने हो भने ३ वर्षमा कर्मचारीको तलब ३० प्रतिशतले बढाउनु न्यायसंगत हुन्छ।

    भारतमा सचिवको तलब २ लाख ७० हजार भारू छ। कार्यालय सहयोगीका तलब करिब २५ हजार छ। तर नेपालमा सचिवको तलब जम्मा ५१ हजार छ र कार्यालय सहयोगीका १८ हजार रुपैंयाँ छ। यसले त कर्मचारीलाई क्षमता अनुसार पेट पाल्न पुग्ने भत्ता मात्रै भयो। तलब बृद्धि गर्दा तलब आयोगका सिफारिस लागू गर्नुपर्छ। तलबलाई निर्वाह भत्ताका रुपमा होइन, बौद्धिक पारिश्रमिकका रुपमा लिइनुपर्छ
    pathakpatra.com

    Posted in मुख्य खबर, विचारLeave a Comment on तलब भिख होइन, बौद्धिक श्रमको मूल्य हो (यस्ता छन तलब बढाउनु पर्ने १६ कारण)

    “हृदयघात, मधुमेह र उच्च रक्तचापको कारण सुत्न नजान्नु हो” डा. भगवान कोईराला

  • १६ मंसिर २०७६, सोमबार ०९:४४ मा प्रकाशित
  • काठमाडौ । अहिले मानिस धेरै नै व्यस्त रहने भएको हुँदा स्वास्थ्यको चिन्तालाई ख्याल गर्न सक्दैन । सुत्ने, खानपान लगायतका कुराहरुमा अहिले धेरैले ख्याल गर्दैनन् । अहिले खापान र आरामका कारणले गर्दा धेरै बिरामी हुँदै आएका छन् । अब दैनिक ६ घण्टा भन्दा कम सुत्नेहरुका लागि एकदमै दुःखद खबर आएको छ ।एक अध्ययनले राति ६ घन्टाभन्दा थोरै निदाउने व्यक्तिको मृत्यु मुटुको रोग, हृदयघातको खत्तरा २ गुणा धेरै हुने भन्दै ज्यान जाने खत्तरा पनि त्यस्तै भएको जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा. भगवान कोईरालापनि अनिन्द्रा मुटु रोगको प्रमुख कारण रहेको मान्नुहुन्छ ।

    केही बंशानुगत रहेपनि विकाशोन्मुख देशहरुमा खानपान र बेचैन नै मुटु रोगको प्रमुख कारण हो । खानेकुरा ब्यालेन्समा खान नसक्नु । उहाँ कसरतको समय नपाउँनु र चैनका साथ सुत्न नसक्नु नै प्रमुख कारण हो भन्नुहुन्छ । अध्ययनले राति ६ घन्टाभन्दा थोरै सुत्ने व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाट हुने जोखिम बढ्ने बताएके हो । अध्ययनका अनुसार पहिले नै मुटुसम्बन्धी रोग र मधुमेहसम्बन्धी जोखिममा रहेका व्यक्तिमा यस्तो मृत्युको जोखिम दुई गुणा धेरै हुने गर्दछ ।

    ‘मेटाबोलिक सिन्ड्रोम’ भनिने यो जोखिम समूहमा उच्च रक्तचाप, एलडिएल (मुटुका लागि खराब) कोलेस्टेरोलको उच्च मात्रा, हाइ ब्लड सुगर, मोटोपन, रगतमा उच्च मात्रामा बोसो (ट्राइग्लिसराइड) र एचडिएल (मुटुका लागि असल) कोलेस्टेरोलको कम मात्रा लगायत पर्दछन् । यीमध्ये कम्तीमा तीन लक्षण देखिएका व्यक्तिलाई मेटाबोलिक सिन्ड्रोम भएको मान्न सकिन्छ ।

    अध्ययन समूहका प्रमुख जुलियो फर्नान्डेज–मेन्डोजा भन्छन्, ‘मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिले ६ घन्टा निदाए वा सुत्ने समय बढाए यसको जोखिम घट्न सक्छ। यसको अर्थ अकाल मृत्यु हुनेगरी मुटुसम्बन्धी रोग (कार्डियोभास्कुलर डिजिज) वा हृदयघातको जोखिम बढ्दैन ।’ मेन्डोजा अमेरिकाको पेन्सिलभानिया राज्यस्थित पेन स्टेट्स मिल्टन एस हर्सी मेडिकल सेन्टरको निद्रा अनुसन्धान तथा उपचार सेन्टरका निद्रा साइकोलजिस्ट हुन् ।

    तर फर्नान्डेज–मेन्डोजाले यो अध्ययनबाट ६ घन्टाभन्दा थोरै सुत्ने मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिको मृत्यु मुटुसम्बन्धी रोग वा हृदयघातबाटै हुन्छ भन्ने प्रमाणित भएको कुरा सत्य नभएको पनि बताए । उनका अनुसार त्यस्ता व्यक्ति (मेटाबोलिक सिन्ड्रोम भएका) र अपर्याप्त निद्राबीच सम्बन्ध हुनसक्ने बताए । यसरी हेर्दा यो कुरालाई हामी दावा गर्न सक्दैनौ कि कम सुत्नेहरु मुटु रोगका कारण मर्छन तर खत्तरा भने हुन्छ ।

    उनी भन्छन्, ‘मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिलाई मुटुसम्बन्धी रोग वा हृदयघातको जोखिम बढ्नुमा धेरै तत्वले प्रभाव पारेको हुनसक्छ । स्वभावजन्य र जीवनशैलीका दृष्टिकोणबाट त्यस्ता व्यक्ति जो सन्तुलित भोजन गर्दैनन् । साथै जसलाई मेटाबोलिक सिन्ड्रोम छ र कम सुत्छन्, उनीहरूमा यस्तो जोखिम बढ्ने सम्भावना हुन्छ ।’

    उनले भने, ‘अध्ययनकर्ताहरूले जैविक दृष्टिकोणबाट पर्याप्त निद्रा नपुग्नाले अकाल मृत्युको जोखिम बढाउने पत्ता लगाए, खासगरी उच्च रक्तचाप भएका र रगतमा ग्लुकोजको मात्रा उच्च भएका (हाइ ब्लड सुगर) व्यक्तिहरूममा मेटाबोलिक सिन्ड्रोम भएका कम सुत्ने व्यक्तिमा स्नायु र पाचनसम्बन्धी धेरै जटिल समस्या आउन सक्छ । तर, यी सबै सम्भावनाबारे अझै अनुसन्धान गर्न आवश्यक छ ।’ यस्ता जोखिममा परेका व्यक्तिको मुटुसम्बन्धी रोग पहिल्याउँदा निदाउने समयलाई पनि ख्याल राख्नुपर्ने उनको बुझाइ रहेको छ ।

    अव्यवस्थित निद्रासम्बन्धी रोगको (अनिद्रा र निद्रा नपुग्नेमा समेत) स्वभाव–बानी परिवर्तन र औषधि प्रयोगबाट प्रभावकारी उपचार गर्न सकिने उनी बताउँछन् । यस्तै अमेरिकाको सान फ्रान्सिस्कोस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाको इलेक्ट्रोफिजियोलोजी लेबोरेटरिज एन्ड क्लिनिक्सका निर्देशक डा।बाइरन ली भन्छन्, ‘निद्रा नपुग्नाले अकाल मृत्युको जोखिम बढाउँछ वा यो खराब स्वास्थ्यको एउटा लक्षण मात्र हो भन्ने अध्ययनबाट जानकारी पाउन कठिन छ।’

    उनका अनुसार जेसुकै भए पनि यस्तो जोखिममा रहेका व्यक्तिले भने निद्रामा ध्यान दिनैपर्छ । लीले भने ‘यस्ता व्यक्तिले पर्याप्त निद्रा लिइरहेका छैनन् भने जँचाउन डाक्टरकोमा जानु र पर्याप्त निद्रा लिनु उचित हुन्छ ।’

    तपाईलाई जानकारी गराउँ अध्ययनका लागि फर्नान्डेज–मेन्डोजा र उनका सहकर्मीले एक रात निद्रा प्रयोगशालामा बिताउन महिला र पुरुष गरी १३ सय जनाभन्दा बढी सहभागी छनौट गरेका थिए । औसत उमेर ४९ वर्ष रहेका यी सहभागीमध्ये ३९ प्रतिशतमा मेटाबोलिक सिन्ड्रोमका कम्तीमा तीन जोखिम लक्षण भेटिएको उनिहरु बताउँछन् ।

    अध्ययनकर्ताले १७ वर्षसम्म सहभागीको औसत फलोअप गर्दा तीमध्ये २२ जनाको मृत्यु भएको पाए । मेटाबोलिक सिन्ड्रोम भएका सहभागीहरू जसले कम्तीमा ६ घन्टा सुत्न पाएका थिएनन् । उनीहरुलाई मेटाबोलिक सिन्ड्रोम नभएका ६ घन्टा सुत्ने सहभागीको तुलनामा मुटुसम्बन्धी रोग वा हृदयघातबाट मृत्यु हुने सम्भावना दोब्बर भएको अध्ययनकर्ताले जानकारी दिए ।

    त्यस्तै अर्को महत्वपुर्ण कुरा ६ घन्टाभन्दा बढी सुत्नेहरुमा मेटाबोलिक सिन्ड्रोमग्रस्त मुटुसम्बन्धी रोग वा हृदयघातबाट मृत्यु हुने सम्भावना डेढ गुणा बढेको अध्ययनमा देखियो । फर्नान्डेज–मेन्डोजाका अनुसार मेटाबोलिक सिन्ड्रोम नभएका सहभागीको तुलनामा मेटाबोलिक सिन्ड्रोमग्रस्त सहभागी जो ६ घन्टाभन्दा थोरै सुत्थे । उनीहरुमा अन्य कुनै पनि कारणबाट मृत्यु हुने सम्भावना करिब–करिब दोब्बर नै पाइयो ।

    अध्ययनले देखाएको निद्रा र मेटाबोलिक सिन्ड्रोमबीचको सम्बन्ध ध्यानाकर्षण गर्ने खालको थियो । किनभने अध्ययनकर्ताहरूले मुटुरोगको जोखिम बढाउने एउटा कारण ‘स्लिप एप्निया’लाई भने अध्ययनमा सामेल गरेनन् । एक रात स्लिप लेबोरोटरीमा सुतेका आधारमा सामान्यतया कुनै व्यक्ति कसरी सुत्छ भन्न नसक्ने जनाइएको छ । न्युयोर्कस्थित लेनक्स हिल हस्पिटलका स्लिप मेडिसिन डाइरेक्टर डा। स्टिभन फेन्सिल्भर भन्छन्, ‘सुत्नु तपाईंका लागि राम्रो हो। पर्याप्त सुत्नु तपाईंका लागि अझै बेस हुनसक्छ, खासगरी तपाईंमा यस्ता स्वास्थ्य समस्या छन् भने ।’ यसरी हेर्दा धेरै सुत्नेहरु र कम सुत्नेहरुमा स्वास्थ्य समस्या धेरै हुने गर्दछ । साभार श्राेतः स्वदेश नेपालबाट

    Posted in कला /जीवनशैली, मुख्य खबर, विचार, समाजLeave a Comment on “हृदयघात, मधुमेह र उच्च रक्तचापको कारण सुत्न नजान्नु हो” डा. भगवान कोईराला

    काठमाडौँको आकाशमा ‘अनौठो विमान’? नझुक्किनुस्, मिडिया भ्रम मात्रै छर्दैछ

  • ८ मंसिर २०७६, आईतवार १९:०९ मा प्रकाशित
  • यो फोटो हेर्दा तपाईँलाई केही अनौठो लाग्यो? यसमा सेतो धुँवा छाड्दै एउटा विमान आकाशमा उडिरहेको देखिन्छ। यो फोटो मैले अस्ति भर्खर मंगोलिया जाँदा त्यहीँको आकाशमा खिचेको हुँ। एकदम चीसो मौसम हुने मंगोलियाको आकाशमा यो सामान्य दृश्य हो। कहिलेकाहीँ त दुई वटा यस्ता सेता धर्कासहित विमानहरु उडिरहेका हुन्छन्। यस्तै दृश्य जब काठमाडौँमा देखियो, तब के भयो हेर्नुस् त। नेपाल समाचारपत्र दैनिकले त पहिलो पेजमा महत्त्वका साथ ‘काठमाडौँको आकाशमा अनौठो विमान’ भनेर मुख्य समाचारै छाप्यो। 

    समाचारमा यो विमान भारतीय एयरफोर्सको भएको दावी गरिएको छ। त्यस्तो दावीका लागि कुनै भरपर्दो आधार भने छैन। हवाई क्षेत्रका जानकारहरु भनिएको छ। को हुन् त हवाई क्षेत्रका जानकार? न नाम छ, न अरु कुनै तथ्य नै। हचुवामा कसैले हल्ला गरिदिएको भरमा भारतीय एयरफोर्सको विमान भनिएको मात्र छैन, समाचारमा अनौठो विमानको नेपाल प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको भनिएको छ।

    यस्तो छ समाचार-

    काठमाडौंको आकाशमा अनौठो विमान

    नेपाल समाचारपत्र, काठमाडौं।

    शनिबार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए। राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा कसैले पनि त्यसको उत्तर दिन सकेन।

    हवाई क्षेत्रका जानकारहरूले उक्त विमान भारतीय एयरफोर्सको विमान भएको दाबी गरेका छन् भने सरकारी अधिकारीहरूले त्यसका बारेमा आफूहरू अनभिज्ञ रहेको बताएका छन्।

    नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले त्यस बारेमा आफूलाई कसैले कुनै जानकारी नगराएको जानकारी दिनुभयो।

    शनिबार बिहान ७ बजेर २५ मिनेट जाँदा काठमाडौंको आकाशमा देखिएको उक्त विमान पश्चिम दिशातर्फ लागेको प्रत्यक्षदर्शी सुमन पाण्डेले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

    भारतले हालै जारी गरेको नयाँ नक्सामा पश्चिम नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारततर्फ पारेपछि नेपालमा अहिले भारत विरोधी स्वर तीव्ररूपमा बढिरहेका बेला अनौठो विमानको नेपाल प्रवेशलाई अर्थपूर्णरूपमा हेरिएको छ।

    अनौठो विमानले छाडेको धूवाँको मुस्लो एक किलोमिटर परसम्म लामो समयसम्म देखिएको थियो।

    यो भयो नेपाल समाचारपत्रले छापेको समाचार। बिहानै साथी विकास कार्कीले फेसबुकमा व्यङ्ग्य गरे- यो समाचार लेख्ने पत्रकारलाई सर्वोत्कृष्ट खोज पत्रकारिता पुरस्कार र छाप्ने सम्पादकलाई उत्कृष्ट वर्ष सम्पादकको पुरस्कार घोषणा गरियोस्।

    तर कागले कान लग्यो भन्दैमा कागको पछि कुद्‍नेहरु त हुने नै भए। अनि सुरु भो अनलाइन आतंक। एउटा पत्रिकाले गरेको गल्तीलाई आँखा चिम्लेर नाम चलेका अनलाइनहरु यही हावादारी समाचारमा झुण्डिए।

    तीर्थ कोइराला प्रधान सम्पादक रहेको थाहा खबरदेखि जीवेन्द्र सिम्खडा प्रधान सम्पादक रहेको रातोपाटीसम्म यो हावादारी खबरलाई ‘नेपाल समाचार’ मात्र छापिएको भन्दै झन् फैलाउन मद्दत गरे।

    खासमा अनलाइनहरुले पत्रिकामा छापिएका समाचारको फ्याक्टचेक गरेर प्रकाशन गर्नुपर्थ्यो। तर कुन सन्दर्भमा समाचारपत्रले नेपाली सेनाका प्रवक्तालाई सोधेको प्रश्न र थाहा भएन भन्ने जवाफलाई अतिरञ्जित तवरले पो फैलाइयो। सेनाका प्रवक्तालाई हैन नागरिक उड्डयन कार्यालयमा अझ एटिसी (एयर ट्राफिक कन्ट्रोलर) मा सोधेको भए पो प्रष्ट हुन्थ्यो।

    धेरै लाइक भएको अर्को फेसबुक पेज न्युज २४ नेपाल पनि यो हल्ला फैलाउन किन चुक्थ्यो र

    अझ त्यसको कमेन्टमा हेर्नुस्, फाइटर जेट भएको ठोकुवादेखि खसाल्नुपर्नेसम्मका उग्र आवाज छन्। खासमा त्यो के हो? कसैलाई केही मतलबै छैन।

    यी नाम चलेका अनलाइनबाहेक फेसबुकमा अरु भारेभुरे कति अनलाइनले के के लेखे त्यसको त हिसाबकिताबै छैन। अझ युट्युबमा सनसनीपूर्ण शीर्षक र थम्बनेल राखेर के कस्ता भिडियो बने, भरे ट्रेन्डिङमा पनि आउने हो कि।

    खासमा के हो त्यो?

    यो कन्ट्रेल हो। condensation trails लाई छोटकरीमा contrail भनिन्छ। चीसो मौसममा मुखले हा…गर्दा वाफ उड्छ नि, झण्डै त्यस्तै प्रक्रिया हो। हवाइजहाजबाट निस्किएको ग्यास पानीको वाफसँग मिसिएपछि सानो सानो बादल जस्तो गरी यस्तो कन्ट्रेल बन्ने हो। यस्तो देखिनका लागि चीसो मौसम र आकाशमा बादल नभएको हुनुपर्छ।

    यो भिडियो हेर्नुस्-

    अब ठ्याक्कै त्यो समयमा कुन चाहिँ विमान उड्यो होला त? समाचारमा लेखिएको ७ बजेर २५ मिनेटको समयमा काठमाडौँबाट देखिएर पश्चिमतर्फ गएको भनेपछि फ्लाइटराडार२४ मा हेर्दा यो भुटानको पारोबाट नयाँ दिल्ली उडेको भुटान एयरलाइन्सको विमान हुनुपर्छ।

    केही वर्षअघि एक पटक एभिन्युज टेलिभिजनले यस्तै आकाशमा देखिएको कुरालाई लिएर दिनभर बहस चलाएको थियो। पछि नागरिक उड्डयन प्राधिकरणले हैन, त्यो त भुटानको विमान हो भनेको थियो।

    अहिले पनि सेतो धर्को बनाएको भरमा यो अनौठो विमान हुँदैन। चीसो मौसम र आकाश खुला भएकोले यस्तो देखिएको हो। समाचारपत्रको समाचारमा त काठमाडौँ कै फोटो राखिएको छ। तर थाहाखबर र रातोपाटीमा त समाचारपत्रको समाचार चोरेर फोटो चाहिँ गेट्टी इमेजेसको अर्कै देशको राखिएको छ। अनि त्यसमा यो फोटो काठमाडौँको हैन पनि लेखिएको छैन। पाठकलाई यसरी झुक्याउन पाइन्छ?


    थाहा खबरमा राखिएको फोटो।


    रातोपाटीमा राखिएको फोटो।


    बीबीसीमा गेट्टी इमेजेस भनेर स्रोत खुलाएर राखिएको फोटो।

    जाँदाजाँदै मंगोलियाको कन्ट्रेलको थप फोटो-

    यो मंगोलियाको राजधानी उलनबाटरबाट बिहान सबेरै खिचेको फोटो। प्रदूषण भएका कारण यसमा भने कालो देखिएको छ।

    by salokya भन्ने यूसर बाट २०७६ मंसिर ५ गते mysansar.com। मा छापिएको लेख

    Posted in विचार, समाज1 Comment on काठमाडौँको आकाशमा ‘अनौठो विमान’? नझुक्किनुस्, मिडिया भ्रम मात्रै छर्दैछ

    अदालतै निर्मलाको हत्यारासँग मिलेको’ भन्न थालेका खेम भण्डारी जेल पर्नुको पर्दा पछाडिको कथा

  • ६ मंसिर २०७६, शुक्रबार ०६:०९ मा प्रकाशित
  • यो हप्ता अलि अनौठो भयो। मंगलबार कञ्चनपुरका पत्रकार खेम भण्डारी एक घण्टाका लागि जेल परे। उनले एक रुपैयाँ जरिवाना पनि तिरे। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र आचार्यले असार ३० गते अदालतको अवहेलना मुद्दामा खेमलाई दोषी ठहर गर्दै यस्तो सजाय सुनाएका थिए। असारमा सुनाएको सजाय मंसिरमा बल्ल कार्यान्वयन भएको हो।
    नौलो खालको फैसला भएको हुनाले धेरैलाई यो अनौठो लाग्यो। कुनै अनलाइनले त नबुझेर प्रहरीले एक घण्टा नियन्त्रणमा लिएर छाडेको भनेर समेत लेखे। वास्तवमा त्यसो हैन। यो त अदालतले अवहेलना भएको भनेर फौजदारी कसुरमा दोषी ठहर गरेको हो। त्यसै अनुसार उनलाई कैद गरिएको हो।
    दोषी ठहर भएपछि सजाय कति दिने भन्ने अदालतमा भर पर्छ। यो केसमा न्यायाधीशले खेमलाई सजायका लागि पनि उपयुक्त नभएको तुच्छ भएको फैसला गरेका छन्। उनले फैसलामा लेखेका छन्- ‘यसबाट न्यायालयले यो मान्दछ कि तँ यति तुच्छ (Mean/Damn) छस् कि सजाय पनि तेरो लागि अनुपयुक्त छ भन्ने हुन्छ।…..यस्तो सजाय पाएको व्यक्तिले मलाई सानो सजाय गयो भनेर मख्ख पर्नु भन्दा पनि म कति तुच्छ रहेछु जहाँ मेरो लागि सजाय पनि उपयुक्त भएन भनेर सोच्नु पर्ने हुन्छ। यदि सो कसूरदारले सोचेन भने पनि सो सजाय पायो भनेर सुन्ने व्यक्तिले सो व्यक्तिलाई तुच्छताको धारणा बनाउन सक्ने हुन्छन्। यस्तो प्रकृतिको सजाय निकै खतरनाक हुन्छ। बरू १ वर्ष कैद बस्न उपयुक्त हुन्छ। सही सद्दे मानिसलाई १ मिनेटको कैद वा १ दामको जरिवाना सामाजिक एवम मानसिक रूपमा पीडादायक हुन्छ।’
    असारमा भएको फैसला अकस्मात् मंसिरको ३ गते कसरी कार्यान्वयन हुन गयो त? यसको पर्दा पछाडिको कथा यस्तो छ-
    निर्मला पन्तको बलात्कार र हत्याको मूल मुद्दा अहिलेसम्म अदालतमा पुगेको छैन। मूल मुद्दा नपुगे पनि अरु पाँच वटा यो प्रकरणसँग सम्बन्धित मुद्दा कञ्चनपुरको जिल्ला अदालतमा चलिरहेका छन्-
    १) चार प्रहरीहरु विरुद्ध गैरकानुनी यातना दिएको (दिलिपसिंह विष्टका दाजुको जाहेरीमा)
    २) आठ प्रहरीहरु विरुद्ध प्रमाण नष्ट गरेको (निर्मलाकी आमा दुर्गादेवी पन्तको जाहेरीमा)
    ३) बबिता बमले खेम भण्डारी, इन्द्र अर्याल र भक्ति फुलाराविरुद्ध दिएको गाली बेइज्जतीसम्बन्धी मुद्दा
    ४) किरण विष्ट (एसपीका छोरा) ले खेम भण्डारीविरुद्ध दिएको गाली बेइज्जतीसम्बन्धी मुद्दा
    ५) अधिववक्ता विनोद भट्टले खेम भण्डारीविरुद्ध दिएको प्रतिष्ठाविरुद्धको कसुरसम्बन्धी मुद्दा
    छैटौँ मुद्दा जिल्ला बारले खेम भण्डारीविरुद्ध दिएको अदालतको मानहानीसम्बन्धी थियो, जसको फैसला भइसकेको छ। त्यही फैसला अनुसार नै खेम एक घण्टा जेल परेका हुन्।
    त्यो फैसलामा उनले पुनरावेदन गर्न पाउँथे। पुनरावेदनमा गएको भए सजाय तत्काल कार्यान्वयन नहुन पनि सक्थ्यो। तर उनले पुनरावेदनको म्याद गुजारे। विभिन्न किसिमका म्यादहरु हुँदै अन्तिम म्याद गएको कात्तिक १६/१७ गते सकिएको थियो।
    खेमले आफूलाई पुनरावेदनको मौका नै नदिइएको, फैसलाको जानकारी नै नदिइएको तर्क गर्छन्। तर अदालतले भने नयाँ लागू भएको फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा १३४ (३) अनुसार आफैले इजलासमा उपस्थित भई बहस पैरवी गरेकोले जानकारी पाएको मानिने हुनाले पुनरावेदनको म्याद जारी गर्न नपर्ने बताउँछ। फैसलामा पनि त्यस्तै लेखिएको छ।
    ऐनको सो दफामा (३) ‘यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अदालतबाट सुनुवाई हुँदाका बखत मुद्दाको पक्ष वा निजको वारिस उपस्थित भएको वा निजको कानून व्यवसायी उपस्थित भई बहस पैरवी गरेको रहेछ र सोही दिन फैसला भएको रहेछ भने मुद्दाको पक्षले त्यस्तो फैसला भएको थाहा पाएको मानिनेछ’ भनिएको छ।
    यो मुद्दा बारले नै दर्ता गरेको भएर सबै वकिल खेमको विरुद्धमा थिए। त्यसैले उनको पक्षमा बहस गर्ने कुनै वकिल भएका थिएनन्। उनले अदालतबाट कानुन व्यवसायी राखी पाउँ भनी निवेदन दिए। तर अदालतका वैतनिक अधिवक्ता देवराज पन्त जिल्ला बार एसोसिएसनका तर्फबाट कानुन व्यवसायी नियुक्त भएकोले खटाउन मिल्दैन भन्ने आदेश भयो। त्यसपछि उनी आफैले प्रतिवादमा बहस गरेका थिए।
    अदालतले मानहानीकारक सामाग्री सामाजिक सञ्जाल र पत्रिकाको अनलाइनबाट सात दिनभित्र हटाउन, बार र बारका पदाधिकारीविरुद्ध अनर्गल विषयवस्तु पोस्ट नगर्न र त्यसमा न्यायिक कामकारबाही नजोड्न र तीन दिन भित्र बिना शर्त आत्मालोचना गर्न निर्देशन दिएको थियो। त्यो आदेश पालना नगरेमा १ घण्टा कैद र एक रुपैयाँ जरिवाना तोकिएको थियो। एक रुपैयाँ जरिवाना नतिरे दुई दिन कैद भनिएको थियो।
    खेम भण्डारीले निर्देशन पनि मानेनन्, पुनरावेदन पनि गरेनन्। उनले फैसलाको जानकारी आफूलाई आधिकारिक रुपमा नदिइएको नै भनिरहे।
    यो कुरा यत्तिकैमा थियो।
    माथिका अन्य मुद्दाहरु भने प्रक्रियामा गइरहेको थियो। अदालतले यी सबै मुद्दालाई लगाउमा राखेको छ। अर्थात् एक अर्कासँग जोडिएको हुनाले सँगै सुनुवाई गर्ने गरी।
    अनुसूची २ का मुद्दा अर्थात् सीधै अदालतमा दर्ता हुने देवानीका मुद्दामा मेलमिलापका लागि इजलास राख्ने प्रक्रिया हुन्छ। माथिका तीन वटा गाली बेइज्जती र प्रतिष्ठाविरुद्धको कसुर यस्तै प्रकृतिका मुद्दा हुन्। यसमा अदालतले खासमा मिलापत्र गर्ने भए गर भनेर चान्स दिएको हो।
    प्रक्रिया अनुसार सबै पक्ष भेला हुने अनि माफी माग्न चाहे माफी माग्ने अनि माफी दिन चाहेमा माफी दिएर मुद्दा टुङ्ग्याउनेतिर लाग्ने हो। अघिल्लो पटकको तारिखमा नै १५ दिनको समय दिएर मंसिर ३ गते मेलमिलापका लागि समय तोकिएको थियो।
    यसका लागि शर्त चाहिँ सबै आफै उपस्थित हुनुपर्ने हुन्छ। अर्थात् वारिस गएर हुँदैन।
    तर यसमा म्याद गुजार्न पनि पाइने अवस्था भने थियो। जस्तै प्रतिवादी बनाइएका इन्द्र अर्याल उपस्थित भएका थिएनन्। खेम भण्डारी पनि उपस्थित नहुन सक्थे।
    आफै उपस्थित हुनु पर्ने भएपछि तीन वटा मुद्दा परेका खेम भण्डारी पनि स्वयं अदालतमा आउनु पर्थ्यो। अदालतमा आउँदा पुनरावेदनको म्याद गुजारिसकेका कारण तोकिएको सजाय कार्यान्वयन गरिनु पर्छ भनेर एक पक्ष बाटो ढुकेर बसेका थिए। त्यही अनुसार खेम भण्डारी आएपछि प्रक्रिया अनुसार उनले जरिवाना तिरे एक रुपैयाँ। अदालतले जिल्ला कारागारको नाममा एक घण्टा थुन्नु भनेर पत्र लेखेर उनलाई कैदी पुर्जी दिइयो।
    खासमा अदालतसम्म प्रहरीले लानु पर्ने थियो। तर उनी आफ्नै साथीको मोटरसाइकल चढेर कारागार पुगे र एक घण्टा कैद भुक्तान गरेर फर्किए।
    फर्किएपछि उनको आवाज झन् चर्को हुन थाल्यो। निर्मला प्रकरणमा अदालतकै मिलेमतोको गन्ध पाइएको भनेर स्टायटस लेखे-


    आफै सम्पादक रहेको पत्रिका मानसखण्डमा उनी आफैलाई उद्‍धृत गर्दै आफूविरुद्ध फैसला गर्ने न्यायाधीशले हत्यारा पक्षसँग मिलेमतो गरेको भन्दै यस्तो समाचार लेखे- दैनिक मानसखण्डका सम्पादक तथा निर्मला प्रकरणमा न्यायका लागि संघर्षरत पत्रकार खेम भण्डारीले निर्मला प्रकरणमा कञ्चनपुर जिल्ला अदालतका तत्कालिन एक नम्बर न्यायाधीश डा. राजेन्द्र आचार्यले हत्यारा पक्षसँग मिलेमतो गरेर आफूलाई आधारभूत न्यायिक अधिकारबाट बन्चित गरेको आरोप लगाएका छन् । (पूरा समाचारको लिङ्क)
    आफूले खडा गर्दै आएको भिआइपी अपराधीको हौवामा समर्थन जनाउने जति उनलाई राम्रो हुन्छ, त्यसो नगर्नेलाई नानाभाँती आरोप लगाउनु नयाँ कुरा हैन। उनले कस्ता कस्ता मनगढन्ते आरोप लगाउँदा रहेछन् भनेर त निर्मला प्रकरणमा #WhoKilledNirmala सिरिजमा उनका स्टायटसहरुसहित अन्य जानकारीहरु अध्ययन गरी लेखिएको सामाग्री प्रकाशित भएपछि थाहा भयो। हामीले फलानोलाई फोन गर्‍यौँ रे भनेर काल्पनिक संवादै उनले स्टायटसमा कोरेका थिए।
    (पढ्नुस् https://whokillednirmala.com/ मा सबै ३० अङ्क। त्यसमध्ये २६ औँ अङ्कमा लेखिएको निर्मला प्रकरणलाई ‘ट्विस्ट एन्ड टर्न’ गराउने ती शक्तिशाली व्यक्ति जसलाई अदालतले समेत Obiter fact का रुपमा लिएको छ। Obiter fact भनेको observation मा लिनु हो acknowledge गरेको छु भन्नु हो। तर यसलाइ एउटै सत्यको रुपमा वा authentic source वा प्रमाणको रुप ग्रहण गरिएको हैन। यसको अर्थ हाम्रो रिपोर्टलाई अब्जर्भ गरी further issue केलाउनु हो।)
    त्यसैगरी दिलिपसिंह विष्टलाई म आफैले भेटेर कुरा गरी भिडियो र अडियो बनाएको थिएँ जसमा पहिले प्रचार गरिए अनुसार उनी शारीरिक रुपमा एकदमै कमजोर नभएको, केटीको मामिलामा गौतम बुद्ध भनेर उनका दाजुले भने पनि उल्टो आशक्त रहेको, फोहरी कुरा गर्ने, महिलाप्रति आशक्त रहेको, घाँटी थिचेर कसरी मार्न सकिन्छ भन्ने ज्ञान भएको, निर्मलालाई खोला पारी कसरी लगेको भन्ने समेत बताएका थिए उनले।


    त्यतिबेला म मंगोलियामा थिएँ। काठमाडौँमा आउँदा साथीहरुले जिस्काइरहेका थिए- क्या महँगो रहेछस् तँ। अरुलाई भए बिकेको भनेर लेख्थे। तँलाई त किन्न नसक्ने रहेछ, त्यही भएर भाडामा मात्र लिएको रे। हैट।
    त्यतिमात्र हैन उनले मलाई पागल पनि घोषणा गरिदिए कमेन्टमै


    उनका समाचार र उनले लेखेका स्टायटसहरुको लामो समयदेखि अध्ययन गरिरहेको भएकोले मलाई यो नौलो लागेन।
    बरु यिनैले भनेको पत्याएर डोरिएका मिडियाहरु उनको बारेमा खुलासा भएपछि पहिलेभन्दा सचेत भएको देख्दा खुशी लाग्छ।
    उनी जे पनि भन्छन्। प्रहरी जवान चाँदनी साउदलाई प्रमाण मेटे वापत बढुवा गरेर हवल्दार बनाइयो भनेर सार्वजनिक कार्यक्रममा बोल्छन्। जुन पूरै झुट हो। किरण विष्टको जन्मदिनलाई फेक कि फेक बर्थ डे भनेर भन्छन्, फ्याक्ट के हो हेर्दैनन्, बुझ्दैनन्।
    नातामा सालो पर्ने दिलिपसिंह विष्टले त्यसो गर्नै नसक्ने भनेर उनले लेखेका समाचारहरु उनको पत्रिकाको फाइल पल्टाएर हेरे हुन्छ। अनुसन्धानले भने उनै दिलिपसिंह विष्टलाई त्यतिबेलै अभियुक्त देखाएको थियो। हल्लैहल्लामा निर्दोष फँसाइएको आरोप लगाइयो। हल्लाहरुबाट गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिसमेत प्रभावित भयो।
    खेम भण्डारी भिआइपीले अपराध गरेको र पूरै राज्य जोगाउन लागिपरेको दावी गर्छन्। तर त्यसको विश्वसनीय आधार भने देखाउन सक्दैनन्। सभामुख जस्तो देशको माथिल्लो वरियतामा रहेका भिआइपी त जेलमा रहेको अनि गृहमन्त्रीका भाइसमेत पक्राउ परेको, सांसद आलम पक्राउ परेको घटनाहरु हेर्ने हो राज्यले यो केसमा पनि भिआइपी यदि हाे भने पनि कसैलाई संरक्षण दिन जरुरी देखिन्न।
    एक वर्षदेखि यो प्रकरणमा फलोअप गरिरहँदा धेरै संकेत दिलिपसिंह विष्टतर्फै इंगित भएको देखिन्छ। दिलिपसित भेटेर प्रत्यक्ष कुरा गर्दा थाहा भयो, जसरी हुँदै नभएका भैँसी ब्याएको, बम दिदीबहिनीको घरमा लगाउँदै नलगाएको रङ लगाएको, उनीहरुको घरमा आउँदै नआउने केटाहरु आएको, अम्बाको रुखमा झुण्ड्याएको जस्ता कुरा हचुवा हल्ला थिए, त्यसरी नै उनको बारेमा भनिएका,सुनिएका र विश्वास गर्न लगाइएका धेरै कुरा गलत रहेछन्।
    अब फेरि उनलाई (र अरु छन् भने अरुलाई पनि) अनुसन्धानको दायरामा ल्याई कम्तिमा न्यायिक निरुपणका लागि अदालतसम्म लानै पर्छ। आखिर दोषी वा निर्दोष ठहर गर्ने काम अदालतकै हो।
    खेम भण्डारीको त के छ र, आफूले भनेको नभए पछि उनले निर्मलाको हत्याराहरुसित मिलेमतो भएको भनिहाल्छन्।
    साभार : mysansar.com

    Posted in Uncategorized, विचार, समाजLeave a Comment on अदालतै निर्मलाको हत्यारासँग मिलेको’ भन्न थालेका खेम भण्डारी जेल पर्नुको पर्दा पछाडिको कथा

    भेटियो कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाण

  • ५ मंसिर २०७६, बिहीबार ०३:२४ मा प्रकाशित
  • ५ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्मा गरिएको हेरफेर र नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भएको नयाँ कार्यविभाजन आजका सबै दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ ।

    कान्तिपुृरले ‘ओलीलाई सरकार, दाहाललाई दल’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । एकीकरणको १८ महिनापछि नेकपाका दुई अध्यक्षबीचको कार्यविभाजन कसरी सफल भयो भन्ने जिज्ञासाको जवाफ पनि आज कान्तिपुरले खोजेको छ । स्रोतको हवाला दिँदै कान्तिपुरमा लेखिएको समाचारअनुसार, यसमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका छ । ‘ओली र दाहालले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आफ्नो कार्यविभाजनसम्बन्धी सहमति गर्नुभएको हो’, घटनाक्रमबारे जानकार नेकपाका एक नेतालाई कोट गर्दै कान्तिपुरले लेखेको छ ।

    एक्लाएक्लै विगतमा गरिएका समझदारी कार्यान्वयनमा ओलीले उदासीनता देखाएपछि प्रचण्डले भरपर्दो साक्षी खोजेको र राष्ट्रपतिको रोहवरमा नयाँ कार्यविभाजन गरिएको कान्तिपुर समाचारको निष्कर्ष छ ।

    मन्त्रिपरिषद्मा थपिएका नयाँ अनुहारबारे पनि कान्तिपुरले प्राथमिकतापूर्वक समाचार बनाएको छ ।

    कालापानी क्षेत्रका बासिन्दाले १९९५ मै तत्कालीन नेपाल सरकार मातहतका निकाय–व्यक्तिलाई बसोबासको तिरो तिरेको तथ्य पनि कान्तिपुरले आज उजागर गरेको छ । समाचार अनुसार तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ ।

    खोजीका क्रममा ८१ वर्ष पुरानो लगत आधारको तिरो रसिद प्राप्त भएको र भूमिसुधार मन्त्रालयले केही वर्षअघि अभिलेखालयलाई बुझाएको समाचारमा उल्लेख छ ।

    राष्ट्रिय अभिलेखालयकी निर्देशक सौभाग्य प्रधानांगले कान्तिपुरसँग बताएअनुसार, १९९५ असार १९ मा कालापानी क्षेत्रमा रहेका बासिन्दाले नेपाल सरकारका नाममा निश्चित अन्न वा पसाको तिरो बुझाएको प्रमाण भेटिएको जनाएको छ । त्यसमा हाल भारतीय पक्षबाट अतिक्रमित गुञ्जी (कुञ्जी) का बासिन्दाले पनि तिरो बुझाएको सूची देखिन्छ । तिरो प्रमाणमा हाल भारततर्फ पारिएका नावी र कुटी गाउँका बासिन्दाको नामसमेत उल्लेखख छ । तिरोस्वरुप केही बासिन्दाले मानापानी अन्न र केहीले पसा बुझाएको प्रमाण देखिन्छ ।

    अन्नपूर्णले ‘दाहाल कार्यकारी’ शीर्षकमा सत्तारू नेकपाले शक्ति संघर्षमा रहेका पार्टीकाजोर पाइलट प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यविभाजन टुंगिएको छ । अन्नपूर्णले ओली र प्रचण्डको राजनीतिक यात्राबारे पनि चर्चा गरेको छ ।

    नागरिकले मन्त्रिपरिषद् पुनर्गठन, नेकपा अध्यक्षद्वयको कार्यविभाजनसँगै नेपालबाट हराएको मूर्ति अमेरिकामा भेटेको लेखेको छ भने सरकारी मुखपत्र गोरखापत्रले द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन सम्भव भएको लेखेको छ ।

    हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, कला /जीवनशैली, खेल, बिज्ञान/प्रविधि, मुख्य खबर, राजनीति, विचार, समाजLeave a Comment on भेटियो कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाण

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P