• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

भिजिट नेपाल २०२० देखि नारायणी नदीमा पानी जहाज चल्ने

  • १८ मंसिर २०७६, बुधबार २०:१२ मा प्रकाशित
  • काठमाडौं । भिजिट नेपाल २०२० देखि नारायणी नदीमा पानी जहाज चल्ने भएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालीले १५ करोड लगानीमा २५० जना क्षमताको मिनी पानी जहाज सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो । कम्पनीका सञ्चालक डा. शंकर खतिवडाका अनुसार आगामी हप्ता नारायणी नदिमा पानी जहाजको परिक्षण सञ्चालन गरिनेछ । आगामी जनवरी १ तारिखका दिन राष्ट्रपति र प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी छ । ‘जनवरी पहिलो तारिखका दिन औपचारिक सेवा आरम्भ गर्ने तयारी गरेका छौं, एक हप्तापछि परिक्षण सञ्चालन गरिनेछ’, सञ्चालक खतिवडाले भने । ३८ किलोमिटर पानी जहाजमा सरर…. पानी जहाज कार्यालयबाट कम्पनीले ३८ किलोमिटर दुरीमा जहाज सञ्चालनको अनुमति पाएको छ ।  कम्पनीले गोलाघाटदेखि देवघाटसम्मको दुरीमा जहाज सञ्चालन गर्नेछ ।
    नर्वेको प्रविधि, भारतीय निर्माता पानी जहाज निर्माणका लागि नर्वेजियन प्रबिधिको प्रयोग गरिएको खतिवडाले बताए । तर दक्षिण भारतीय राज्य केरलाका प्राविधिकहरु निर्माण कार्यमा संलग्न छन् । उनीहरुले नै आगामी ६ महिनासम्म नेपाली प्राविधिकहरुलाई तामिल दिएर सञ्चालनको पूर्ण जिम्मा सुम्पिनेछन् । ‘६ महिनासम्म उनीहरुले नै सञ्चालन गरिदिन्छन्, त्यसको त्यस अवधीमा हाम्रा जनशक्तिले सिकेर आफैं सञ्चालन गर्नेछन् । हामी तालिम केन्द्र खोलेर जनशक्ति तयार पार्छाै’, खतिवडाले भने । डिजेल इञ्जिनको पानी जहाजमा २ वटा इञ्जिन रहनेछन् । ३ सिफ्ट चल्ने, ब्रेक फास्ट देखि डिनरसम्म कम्पनीले ३ वटा सिफ्टमा जहाज सञ्चालनको योजना बनाएको छ । पहिले सिफ्टमा ब्रेक फास्टसहितको प्याकेज हुनेछ । दोश्रो सिफ्टमा लञ्च र साँझ डिनरसहितको प्याकेज तयार भैरहेका छन् । ‘हामीले ब्रेक फस्ट देखि डिनरसम्मको प्याकेज तयार पारेका छौं, आफु अनुकुल उपयोग गर्न सकिन्छ’, खतिवडाले भने । २ जेट बोट थपिँदै कम्पनीले तत्कालै २ वटा जेट बोट थप्ने योजना बनाएको छ । ५० जना यात्रु अट्ने एउटा र अर्काे एक सय जना यात्रु बोक्ने गरि जेट बोट थप्ने तयारी गरिएको पनि उनले जानकारी दिए । काभ्रे घाटमा पोर्ट र रिसोर्ट चितवनकै काभ्रे घाटमा पानी जहाजका लागि पोर्ट निर्माण गरिएको छ । पोर्टसँगै १० करोड लगानीमा रिसोर्ट पनि बन्दैछ । पानी जहाजको सफरपछि रिसोर्टमा बसेर आनन्द लिन सकिने सुविधासहितको कम्प्लिट
    प्याकेज तयार हुने उनले बताए ।

    Source:- corporate Nepal

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on भिजिट नेपाल २०२० देखि नारायणी नदीमा पानी जहाज चल्ने

    विपद् व्यवस्थापनमा ८ महिनामा हेलिकोप्टरमा मात्र ७ करोड खर्च

  • १५ मंसिर २०७६, आईतवार १९:३४ मा प्रकाशित
  • अच्युत पुरी

    १५ मंसिर, काठमाडौं । पछिल्लो ८ महिनामा विपद् व्यवस्थापनमा सवा ११ करोड रुपैयाँ खर्च भएको छ । विपदमा परी घाइते भएकाको उपचार, क्षतिपूर्ति र हेलिकोप्टरको परिचालनमा यो रकम खर्च भएको हो ।

    विप्द जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट अनुमोदन हुने गरी केन्द्रीय विपद् कोषबाट यस्तो रकम निकासा दिने गरिन्छ । मन्त्रालयको तथ्यांकअनुसार वैशाख २०७६ यता कात्तिकसम्म यति रकम निकासा भएको छ । यसमध्ये सबैभन्दा ठूलो रकम हेलिकोप्टरको परिचालनमा खर्च भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    यस अवधिमा हेलिकोप्टर उडानमा मात्र ६ करोड ८३ लाख ५३ हजार ९ सय ७१ रुपैयाँ खर्च भएको छ । घाइतेको उपचार र क्षतिपूर्तिमा भने ४ करोड ३७ लाख ३९ हजार ५ सय ४२ रुपैयाँ खर्च भएको छ ।

    गृह मन्त्रालय अन्तर्गत रहेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले निकासा भएको रकम अनुमोदन गर्ने निर्णय हालै गरेको छ । अब केन्दि्रय विपद् व्यवस्थापन कोषमा १ अर्ब ४५ करोड ७५ लाख २८ हजार ८ सय १३ रुपैयाँ मौज्दात रहेको समेत गृह मन्त्रालयले जानकारी दिएको छ ।

    सीमाका अग्ला सडकले डुबान

    समितिले सीमा सुरक्षाका नाममा भारतले बनाएका अग्ला सडकले बाढी तथा डुबानको समस्या निम्त्याएको भन्दै समस्या समाधानका लागि सुझाव दिएको छ । परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरी समस्या समाधान गर्नुपर्ने समितिको धारणा छ ।

    सीमा क्षेत्रमा पूर्वाधार प्रकोप न्यूनिककरण हुने गरी निर्माणको व्यवस्था मिलाउन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समितिले भनेको छ । तराई क्षेत्रका केही जिल्लामा नदी नियन्त्रणकै आयोजनाका कारण नदीको पानी गाउँमा बसेको, तटबन्धको निर्माण कमजोर अवस्थामा रहेको र नदीको बहाव रोक्नेगरी पुल पुलेसा निर्माण हुन नसकेका कारण त्यसको व्यवस्था मिलाउन उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिइएको छ ।

    चिसोबाट बच्न पूर्वतयारी

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हिमपात, चिसो तथा शीतलहरसम्बन्धी पूर्वतयारी थाल्नसमेत सरोकारवालालाई निर्देशन दिएको छ । सम्बन्धित स्थानीय सरकारहरुले हिमपात, चिसो तथा शीतलहरबाट प्रभावित हुन सक्ने क्षेत्रका गरिब तथा विपन्न नागरिक र परिवारको पहिचान गरी आकस्मिक उद्दारका लागि तयारी अवस्थामा रहन सुझाव दिइएको छ ।

    इन्धन, दाउरा, कम्बलजस्ता सामग्रीको भण्डारणको काम समेत समयमै थाल्न बैठकले निर्देशन दिएको छ । सेना, प्रहरी तथा सशस्त्र प्रहरीले समेत आफ्नो तर्फबाट पूर्वतयारी थाल्न बैठकले निर्देशन दिएको छ ।

    कुहिरो लाग्ने सडकको म्यापिङ गरिने

    कुहिरो तथा हुस्सु लागेको समयमा सम्भावित सवारी दूर्घटनालाई न्यूनीकरण गर्न एक सर्वे समूह गठन गरी त्यस्तो स्थानको म्यापिङ गरिने भएको छ । नेपाल प्रहरीसँगको समन्वयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

    यसका आधारमा हिमपात, कुहिरो तथा हुस्सुबाट सडक दूर्घटना हुन सक्ने जोखिमयुक्त/सम्भावित सडकमा विभिन्न सांकेतिक चिह्न र सूचनामुलक सन्देश राख्ने काम सडक विभागले गर्ने भएको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on विपद् व्यवस्थापनमा ८ महिनामा हेलिकोप्टरमा मात्र ७ करोड खर्च

    शेयर बजारको गिरावट निरन्तर जारी

  • १४ मंसिर २०७६, शनिबार ०९:५१ मा प्रकाशित
  • मंसिर, काठमाडौं । पछिल्लो समय लगातार सेयर बजार ओरालो लागेपछि लगानीकर्ताहरु हताश बन्दै गएका छन् । आक्कलझुक्कल हरियाली देखिए पनि लामो समयदेखि सेयरबजारमा गिराबट आएको आयै छ ।

    यो साताको कुरा गर्ने हो भने पनि गत आइतबारदेखि बिहीबारसम्म भएको कारोबारमा अधिकांश दिन बजार राताम्मे भयो । साताको पहिलो दिन आइतबार नै ओरालो लागेको बजार अन्तिम कारोबार दिन बिहीबार ४.६७ अंकले घट्दा परिसूचक १ हजार १ सय १२ दशमलव ७९ बिन्दुमा खसेको छ । बिहीबार नोभेम्बर महिनाकै अन्तिम कारोबार दिन समेत हो ।अघिल्लो साता पनि बजारमा सिथिलता नै छाएको थियो । साताको अन्तिम कारोबार दिन ११३५.९५ बिन्दुमा बजार बन्द भएको थियो ।

    नोभेम्बर महिनाभरको सेयर कारोबारको तथ्यांक हेर्ने हो भने नेप्से परिसूचक ३३ दशमलव ३८ अंकले घटेको देखिन्छ । नोभेम्वर ३ तारिखका दिन पहिलो कारोबार सुरु हुँदा ११४६.१७ विन्दुमा रहेको नेप्से परिसुचक महिनाको अन्तिम कारोबार दिन २८ तारिखमा १११२.७९ बिन्दूमा खुम्चिएको छ ।

    यसरी बजार लगातार ओरालो लाग्दा सेयर लगानीकर्ताहरुले भने सरकारलाई दोष दिएका छन् । बजार उकास्न सरकारले कुनै रणनीति नबनाइ टुलुटुलु हेरेर बसेको उनीहरुको आरोप छ ।

    नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरलले सेयर बजार धराशयी हुँदा लगानिकर्तामा मनोवैज्ञानिक असर परिसकेको बताउँछिन् । तत्काल बजारमा सुधार ल्याउने र लगानिकर्ताको मनोबल उकास्ने काम सम्बन्धित निकायबाट हुनुपर्नेमा उनले जोड दिइन् ।

    ‘सम्पत्ती सुद्दिकरणको बिषयलाईर् सम्बन्धित निकायले बुझाउन नसक्नु तथा लगानिकर्ताको पनि गलत बुझाईको कारण पहिले खुलेर कारोबार गर्नेहरु अहिले हच्किएका छन्,’ पोखरेलले भनिन् ।

    केही समय पहिले आफूहरुले सरकारलाईर् बुझाएको बजारसुधारका लागी ५८ बुँदेे माग कार्यान्वयन नभएको उनको गूनासो छ ।

    पोखरेल भन्छिन्, ‘छिमेकी मुलुक भारत सरकार पुँजी बजारप्रती संवेदनशिल हुँदा सेन्सेक्सले ४०,००० को रेकर्ड बनाइसक्यो । हाम्रो मुलुकमा भने परिस्थिती सहज हुँदाहुँदै पनि सरकारी बेवास्थाको कारण लगानीकर्ताको मनोबल दिन प्रतिदिन कमजोर भइरहेको छ ।’

    सेयर लगानीकर्ता दवाव समूहका महासचिव नयन बास्तोला पनि बजार लगातार ओरालो लाग्दा लगानीकर्तामा निराशा छाएको बताउँछन् । उनले भने, ‘मुख्य चाडपर्वपछि खुलेको बजार ओरोलो लाग्नु त्यति स्वभाविक मान्न सकिन्न । कम्पनीहरुले दिने लाभांश पहिलाको भन्दा राम्रो छ र कम्पनीहरुको पहिलो त्रैमासिक रिपोर्ट पनि राम्रै आएको छ । बजार घट्नुपर्ने कुनै कारण छैन ।’

    पुँजी बजारप्रति सरकारले हेर्ने दृस्टिकोण नै सकारात्मक भएको बास्तोलाको आरोप छ । पुँजी बजारको विकास र विस्तार गर्नका लागि प्रविधि र पुर्वाधारयुक्त बनाउन घोषणा गरिएका कामहरु समेत नभएको उनी बताउँछन् ।

    बास्तोला भन्छन्, ‘लगानीकर्ताहरुमा पछिल्लो समय बजारप्रति वितृष्णा बढेको छ । सरकारी नीतिहरु लगानीकर्तामैत्री छैनन । यहि तरिकारले बजार ओरालो लाग्दै जाने हो भने दुर्घटनाको खतरा छ ।’

    सेयर बजारमा सक्रियतापूर्वक लगानी गरिरहेका युवा लगानीकर्ताहरुको धारणा पनि उस्तै छ । सक्रिय लगानीकर्ताहरु बजार निरन्तर घटिरहनुमा सरकारको कमजोरी कारक रहेको बताउछन् । बजार घटबढ हुनु स्वभाविक नियम भए पनि लगातार घट्नुलाई स्वभाविक मान्न नसकिने उनीहरुको धारणा छ ।

    लगानीकर्ता केशव अधिकारीले बजार सुधार हुनु पर्ने धेरै कारणहरु रहेको भए पनि अर्थ मन्त्रालय सकारात्मक नबनिदिदा त्यसको असर नकारात्मक परेको बताए । यसको समाधानका लागि अर्थमन्त्री नै बजारबारे सकारात्मक हुनुपर्ने उनको धारणा छ ।

    अर्का लगानीकर्ता कमल पन्थी पनि बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेको बेला बजार घट्नु दुखद भएको बताउँछन् ।

    ‘यतिबेला बजार घट्ने समय होइन, बढ्नुपर्ने हो’ पन्थीले भने, ‘तर लगातार ओरालो लागिरहेको छ, अहिले नेप्से टर्नओभर रेसियो तल झरेको छ, यो खतरानाक अवस्था हो ।’ बजारको अवस्थाले लगानीकर्ताकोहरुको भावना एकदमै कमजोर भएको उनको बुझाई छ ।

    साभार: अनलाईन खबर

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on शेयर बजारको गिरावट निरन्तर जारी

    बिद्युतिय चुल्होमा ५० प्रतिशत अनुदान

  • १३ मंसिर २०७६, शुक्रबार ११:१७ मा प्रकाशित
  • तीन वर्ष पहिले हरेक हप्ता नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको नयाँ–नयाँ सूचना सार्वजनिक गथ्र्यो । मुलुकको आर्थिक अवस्था चौपट थियो । आम नागरिकले विद्युत् आउने समयका आधारमा नै आफ्नो काम कारवाहीको योजना बनाउँथे । मोबाइल फोन चार्ज गर्नेदेखि, पानी तान्ने, टिभी हेर्ने वा अन्य कामसमेत प्राधिकरणको तालिकामा निर्भर हुन्थ्यो ।

    हिउँद् लागेपछि आउने त्यस्ता सूचनाले नागरिकलाई हैरान मात्रै बनाएको थिएन, सरकारको समेत टाउको दुखाइको विषय बनेको थियो । पेट्रोलियम पदार्थको खरीदसमेत बढेको थियो । सरकारले दुःख गरेर जम्मा पारेको वैदेशिक मुद्रासमेत पेट्रोलियम पदार्थको खरीदमा विदेश पठाउन बाध्य भएको थियो ।

    यतिखेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अर्को टाउको दुखाइ शुरु भएको छ । त्यो भनेको प्रणालीमा उपलब्ध विद्युत्को खपत कसरी बढाउने । विद्युत्को खपत बढाउनका लागि केही न केही गर्नैपर्ने बाध्यतामा मन्त्रालय पुगेको छ ।

    विद्युत् खपत बढाउने लक्ष्यका साथ मन्त्रालय पछिल्लो दिनमा निरन्तर संवादमा छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन सरोकार भएका निकाय तथा व्यक्तिसँग विद्युत् खपत बढाउने योजनाका साथ संवाद शुरु भएको र त्यसले शीघ्र सार्थक रूप पाउने बताउनुहुन्छ ।

    शहरिया र शहरोन्मुख क्षेत्रका नागरिकको खाना पकाउने प्रमुख साधनको रुपमा एलपी ग्यास रहेको छ । त्यसलाई विस्थापन गर्ने प्रमुख साधनको रुपमा विद्युतीय चुल्हो रहेको छ । नीतिगतरूपमा नै प्रष्ट व्यवस्था नगर्दासम्म विद्युतीय चुल्होमा नागरिकको आकर्षण नहुने भएकाले अनुदान उपलब्ध गराउनेतर्फ मन्त्रालय लागेको छ ।

    मन्त्रालयले विद्युतीय चुल्होमा ५० प्रतिशतसम्म अनुदान दिन अर्थ मन्त्रालयलाई आग्रह गरेको छ । शहरिया उपभोक्तालाई विशेषगरी केन्द्रमा राखेर विद्युतीय चुल्होमा अनुदान दिने लक्ष्यका साथ उक्त प्रस्ताव गरिएको मन्त्री पुनको भनाइ छ । हाल प्राधिकरणको प्रणालीमा एक हजार २२५ मेगावाट विद्युत् उपलब्ध छ । चालू आर्थिक वर्षको अन्त्यसम्म प्रणालीमा थप एक हजार मेगावाट विद्युत् थप हुँदैछ ।

    विद्युत् व्यापारका लागि क्षेत्रीय बजारको समेत खोजी गरिरहेको सरकारले आन्तरिकरूपमा नै विद्युत् खपत बढाउनेतर्फ पनि उत्तिकै पहलकदमी लिएको छ । सामान्यतया ५०० मेगावाट विद्युत् थप हुँदा कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशत योगदान बढ्छ । चालू आवको अन्त्यसम्म थपिने एक हजार मेगावाटले कूल गार्हस्थ्य उत्पादनमा दुई प्रतिशतको सहजै योगदान हुनेछ ।

    औद्योगिक क्षेत्रको उतपादन क्षमता बढाउनेदेखि रोजगारीको अवसरमा समेत वृद्धि हुन जान्छ । यसलाई ध्यान दिएर नै विद्युत् खपत बढाउने लक्ष्यका साथ आक्रामकरूपमा प्रवद्र्धनात्मक कार्यक्रम अगाडि सारिएको मन्त्री पुनले राससलाई जानकारी दिनुभयो ।

    मन्त्रालयले तय गरेको योजनाअनुसार चालु आवको अन्त्यसम्म प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुनेछ ।

    यस्तै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना र साञ्जेनका दुई आयोजना निर्माण सम्पन्न हुनेछन् । माथिल्लो साञ्जेन १४.८ मेगावाट र ४२.५ मेगावाट रहेको छ । ‘गोरखा भूकम्प’ र बाढी पहिरोका कारण लामो समयदेखि बन्द भएको ४५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत् आयोजनासमेत केही समयभित्रै पुनः सञ्चालनमा आउँदैछ ।

    यस्तै निजी क्षेत्रले निर्माणमा रहेका तीन हजार मेगावाट क्षमताका आयोजनामध्ये करीब एक दर्जन आयोजना चालु आवमा नै सकिँदैछ । यस्तै आगामी असारदेखि हिमाल पावरले सञ्चालन गरिरहेको ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत विद्युत् प्राधिकरणले निःशुल्क पाउँदैछ । त्यसले आन्तरिकरूपमा विद्युत् खपतका लागि सरकार र प्राधिकरणलाई दबाब दिइरहेको छ ।

    प्राधिकरणले विद्युत् खपत बढाउनका लागि सवस्टेशनको क्षमता वृद्धि गर्नेदेखि ट्रान्सफर्मरको क्षमता वृद्धिसम्मको काम गरिसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण, वितरण प्रणालीदेखि सवस्टेशनको क्षमता वृद्धिसम्मको काम भइरहेको जानकारी दिनुभयो ।

    यस्तै प्राधिकरणले विद्युत् खपत बढाउनका लागि विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माणको प्रक्रियासमेत अगाडि बढाएको छ । काठमाडौँ उपत्यकाभित्र र प्रमुख राजमार्गमा त्यस्ता स्टेशन निर्माणको प्रक्रिया शुरु भइसकेको प्राधिकरणको भनाइ छ ।

    त्यसो त प्राधिकरणले विद्युत् महसुलमा समेत केही छुट दिने गरी तयारी गरेको छ । कम विद्युत् खपत गर्ने ग्राहकलाई केही छुट तथा बढी विद्युत् प्रयोग गर्नेलाई समेत विशेष सुविधा दिने गरी महसुल प्रस्ताव गरिएको छ । सो प्रस्ताव स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा पठाएको छ ।

    विगतमा कम विद्युत् खपत गर्नुस् भन्ने प्राधिकरण यतिबेला विद्युत् सक्दो उपयोग गर्नुस् भन्ने अवस्थामा आइपुगेको छ । त्यस्तै ‘डेडिकेटेड’ र ‘ट्रङलाइन’को अवधारणासमेत हटाएको छ । त्यसबाट उद्योगमा विद्युत् खपत बढ्ने प्राधिकरणको विश्वास छ ।

    विद्यमान व्यवस्थामा बढी विद्युत् खपत गर्नेले बढी महसुल तिर्नुपरेको छ । नयाँ व्यवस्थामा भने बढी खपत गर्नेलाई केही विशेष छुट दिन सकिन्छ कि भनेर महसुलमा पुनरावलोकन गर्न लागिपरेको प्राधिकरणको भनाइ छ ।

    प्राधिकरणको आधिकारिक ट्रेड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले यही मङ्सिर ११ गते मन्त्रालयमै छलफलको आयोजना गरी देशभित्रै इन्डक्सन चुल्होको कारखाना खोल्नतर्फ पहल गर्न मन्त्री पुनको ध्यानाकर्षण गराएको थियो । खाना पकाउने एलपी ग्यासको खरीदमा नै वार्षिक रु ३५ अर्बदेखि रु ५० अर्बसम्म खर्च हुने गरेको अवस्थामा विद्युतीय चुल्होको बढावा नै उत्तम विकल्प रहेको निष्कर्षमा सरकार पुगेको छ ।
    साभार गोरखापत्र

    Posted in अर्थ, कला /जीवनशैलीLeave a Comment on बिद्युतिय चुल्होमा ५० प्रतिशत अनुदान

    यामाहा बाईकको मुल्य वृद्धि, नयाँ मुल्य यस्तो रहेको छ।

  • १३ मंसिर २०७६, शुक्रबार ०८:०५ मा प्रकाशित
  • काठमाडौं । यामाहाका लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले आफ्ना अधिकांस मोटरसाइकल तथा स्कुटरहको मूल्य बढाएको छ । 

    विभिन्न मोडलका १९ भेरियन्ट बिक्री गर्दै आएको कम्पनीले सबै बाइक तथा स्कुटरको मूल्य करिब पाँच हजारका दरले बढाएको हो ।

    कम्पनीले चालु आर्थिक वर्ष २०७६/७७ लागेपछि एफजेडएस एफआई भी थ्री, एफजेड २५ डबल च्यानल एबीएस, मोटोजिपी डबल एबीएस, एमटी १५ र आर १५ भी थ्री मोटोजिपी गरि पाँच नयाँ बाइक नेपाल भित्र्याएको थियो । 

    यी बाइकको नयाँ मूल्यसूची आएको हो भने अन्य बाइक तथा स्कुटरको मूल्य बढेको हो । 

    हाल, सबैभन्दा सस्तो बाइकको रुपमा चिनिएको यामाहा सलुटो ड्रमको मूल्य बढेर २ लाख ३ हजार ९ सय पुगेको छ । कम्पनीले बिक्री गर्दै आएको रे–जेड, फेसिनो युबीएस, जेड आर स्ट्रिट, जेड आर डिस्क र स्ट्रिट र्याली स्कुटरको मूल्य पनि एकै पटक पाँच हजारले बढेको छ । 

    कम्पनी स्रोतका अनुसार यामाहाले थप गरेका सुरक्षा फिचर सिबीएस वा यूबीएसका कारण १२५ सीसीसम्मका मोटरसाइकलमा ५ हजारसम्मले महंगो भएको जनाएको छ । साथै केही माेडलकाे भने मूल्य बढेकाे छैन ।

    कुन मोडलको मूल्य कति ?

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on यामाहा बाईकको मुल्य वृद्धि, नयाँ मुल्य यस्तो रहेको छ।

    राष्ट्रवादमात्रै भन्ने कि आत्मनिर्भर पनि बन्ने ?

  • ८ मंसिर २०७६, आईतवार १८:४८ मा प्रकाशित
  • ४ मंसिर, काठमाडौं । भारतले नेपालमाथि बारम्बार किन हेपाहा प्रवृत्ति देखाउँछ ? नेपालभन्दा ठूलो र शक्तिशाली देश भएर मात्रै होइन, यसको अर्को ठूलो कारण हो, नेपालको परनिर्भरता ।

    भारतले नेपाली भूभागलाई आफ्नो नक्साभित्र पारेको विषय अहिले निकै चर्चामा छ । विगतदेखि नेपालप्रति उसको हेपाहा व्यवहारकै निरन्तरता हो यो । किनकि, भारतलाई सबैभन्दा ठूलो घमण्ड यसैमा छ कि उसले नाकामा सामान रोकिदियो भने नेपालीको चुल्हो बल्दैन ।

    हुन पनि नेपालको अर्थव्यवस्था अत्यधिक भारतमुखी हुँदै गइरहेको छ । भारतसँग आयात र निर्यातको असन्तुलन लगातार बढिरहेको छ । राष्ट्रिय स्वाधीनताको कुरा गरिरहँदा यो पक्षलाई कुनै पनि सरकारले सम्बोधन गर्न सकेका छैनन् ।

    सरकारी विवरण अनुसार, पछिल्लो ५ वर्ष ३ महिनामा भारतसँग नेपालको व्यापार घाटा ३३ खर्ब ५३ अर्बभन्दा बढी छ । सो अवधिमा २ खर्ब १९ अर्ब रुपैयाँको वस्तु भारत निर्यात गर्दा भारतबाट नेपालले ३५ खर्ब ७३ अर्ब रुपैयाँभन्दा धेरैको वस्तु आयात गरेको छ । पेट्रोलियम पदार्थदेखि तरकारीसम्म, गाडीदेखि साडीसम्म भारतसँगै किनेर उपभोग गर्नुपर्ने नियतिले नै भारतको मनोबल बढाएको हो ।

    हरेक नेपालीले सोच्नुपर्ने विषय के हो भने घर अगाडिको डिल बाँझै राखेर भारतबाट धनियाँ र लसुनसमेत किन्छौं भने हाम्रो सरकारले लिने राष्ट्रियताको अडान दरिलो नहुन सक्छ ।

    नाकाबन्दीबाट नसिकेको पाठ

    नेपालले नयाँ संविधान जारी गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै भारतले ६ महिनासम्म नाकाबन्दी लगाइदियो । नाकाबन्दीले नेपालमा उपभोग्य वस्तुहरुको चरम अभाव सिर्जना भयो ।

    यदि कालोबजारीमार्फत भारतबाट पेट्रोलियम पदार्थको चुहावट नभएको भए नेपाललाई आफ्नो अडानमा टिक्न मुस्किल पर्ने अवस्था थियो । त्यतिबेला नेपालको अर्थव्यस्था आत्मनिर्भर बनाउनुपर्ने बहस निकै चर्को रूपमा उठ्यो । पेट्रोलियम पदार्थ चीनबाट ल्याउने गृहकार्यसमेत भयो । तर, नाकाबन्दी अन्त्यसँगै आत्मनिर्भरताको बहस सेलाउन पुगेको छ ।

    त्यतिबेला ‘बरू साइकलमा हिँडिन्छ, भारतसँग झुकिन्न’ भन्दै भाषण गरेका तत्कालीन एमाओवादी अध्यक्ष प्रचण्ड अहिले सत्तारूढ दलका अध्यक्ष हुन् । तत्कालीन समयमा भारतविरुद्ध अडान लिने भनेर प्रशंसित केपी ओली नै अहिले पनि प्रधानमन्त्री छन् । तर, पनि देशभित्र उत्पादन बढाएर आयात घटाउनेतर्फ ठोस प्रयास भएको छैन । आयातलाई निरुत्साहन र निर्यातलाई प्रोत्साहन गर्ने केही नीति भने सरकारले ल्याएको छ ।

    भारत निर्भरताको पराकाष्टा

    नेपाल–भारत आर्थिक सहकार्यको औपचारिक सुरुआत ००७ मा नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणबाट सुरु भएको थियो । त्यसयता थुप्रै क्षेत्रमा दुई देशले सहकार्य गरेका छन् ।

    दुई देशबीचको व्यापारिक सम्बन्ध भने लगभग एकतर्फी छ । भारतबाट उच्च परिमाणमा आयात गर्ने नेपालले उल्लेख्य वस्तु निर्यात गर्न सकेको छैन । नेपालमै उत्पादन र बजारीकरणको सम्भावना भएका वस्तुहरू समेत भारतसित किनेर उपभोग गर्ने गरिएको छ ।

    जस्तो कि, हाम्रो वरपर प्रशस्त फल्न सक्ने कृषि उपज हो, प्याज । तर, प्याजमा नेपालको भारतसँग परनिर्भरता ९८ प्रतिशत छ । भन्सार विभागको विवरण अनुसार, नेपालीले भारतको नासिक, इन्दौंर, कानपुर, चण्डीगढ, लखनउ, गौरखपुर र सिमलालगायतबाट प्याज किनेर ल्याइरहेका छन् ।

    आर्थिक वर्ष ०७५/७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँको प्याज नेपालमा भारतबाट आयात भएको थियो । असोज मसान्तसम्मको विवरण अनुसार, नेपालमा भारतबाट ७ लाख ३९ हजार २५३ किलो सुकेको प्याज भित्रिएको छ । हरियो तरकारी खाने प्याजका पात र बिउको हिसाब यहाँ जोडिएको छैन । अहिले भारतले प्याज निर्यातमा कडाइ गर्दा नेपालमा भाउ आकाशिएको छ ।

    नेपालमा प्रशस्त मात्रामा खेतीयोग्य जमिन छ । हाम्रो खेतहरूमा फल्ने मुख्य उत्पादन धान हो । तर, भन्सार विभागको विवरणअनुसार गत वर्ष नेपालले ३० अर्ब रुपैयाँभन्दा बढीको चामल आयात गरेकाे छ ।

    आलु, साग, काँक्रो, खुर्सानी, गोलभेंडा, फर्सीजस्ता हरिया तरकारी हरेक नेपालीको करेसामा फल्न सम्भव छ । तर यस्ता वस्तुमा भारतसँगको परनिर्भरता कहालीलाग्दो छ । मुलुकभित्रै मागअनुसार उत्पादन नहुँदा तरकारीको ठूलो हिस्सा भारतमै आयात हुने गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार, कालीमाटी बजारमा दैनिक करिब ८ सय टन तरकारी भित्रिन्छ । जसको करिब ४५ प्रतिशत हिस्सा भारतकै हुन्छ । गत वर्ष १३ अर्बभन्दा धेरैको ताजा तरकारी नेपालमा आयात भएको थियो ।

    भन्सार विभागका अनुसार, गत वर्ष २० अर्बभन्दा धेरैको फलफूल नेपालमा आयात भएको थियो । जसमा स्याउबाहेकका धेरै फलफूलको बजार हिस्सा भारतले ओगट्छ । तिहारमा दिदीबहिनीले दिने भाइ मसला, जनैदेखि सयपत्रीका मालासम्ममा भारतबाट ल्याइन्छ ।

    पछिल्लो पाँच वर्षको नेपाल र भारतको व्यापार घाटा हेर्ने हो भने जिब्रो टोक्नु पर्ने अवस्था छ । आर्थिक वर्ष ०७१/७२ मा भारतसँगको व्यापार घाटा ४ खर्ब ४४ अर्ब १८ करोड तथा आर्थिक वर्ष ०७२/७३ मा ब्यापार घाटा ४ खर्ब ४७ अर्ब ९० करोडभन्दा धेरै पुगेको थियो । आव ०७४/७५ मा ७ खर्ब ६७ अर्ब ३८ करोड पुगेको व्यापारघाटा आव ०७५/७६ मा ८ खर्ब ५५ अर्ब १९ करोडभन्दा माथि पुग्यो । चालु आवको तीन महिनामा भारतसँग नेपालको व्यापार घाटा १ खर्ब ८९ अर्ब ५४ करोड रुपैयाँभन्दा धेरै पुगेको छ ।

    ‘विपन्न भए अडान कमजोर हुन्छ’

    अर्थशास्त्री  केशवराज आचार्य पुँजीगत वस्तुको आयातले मुलुकको हित गरे पनि उपभोग्य वस्तुको आयात अर्थतन्त्रका लागि घातक हुने बताउँछन् । भारतसँगको कुल आयातको थोरै हिस्सा पुँजीगत र धेरै उपभोग्य हुने भएकाले स्वदेशमै उत्पादन बढाएरमात्रै परनिर्भरता तोड्न सकिने उनको भनाइ छ ।

    कतारले उसका छिमेकीहरूले लगाएको नाकाबन्दी चिरेर अगाडि बढेको स्मरण गर्दै राजनीतिक दल र सरकारले उपयुक्त नीति बनाएर काम गर्नु पहिलो सर्त हुने आचार्य बताउँछन् ।

    ‘आफू सबल नभए अरूको मुख ताक्नु पर्छ र जसको मुख ताक्ने हो ऊविरुद्ध बोल्ने हिम्मत हुन्न,’ आचार्यले भने ।

    उनी थप्छन्, ‘आफूले चाहे नेपाललाई ठप्प बनाउन सक्छौं भन्ने भारतले जानेको छ । नेपाल सरकारले लिपुलेकबारे भारतसँग कडा अडान लिँदा नाकाबन्दी भोग्नुपर्‍यो भने के विकल्प हुन्छ ? बरू लिपुलेक खाऊ तर ग्यास, चामल, तरकारी र ग्यास देऊ भन्न बाध्य हुनुपर्छ ।’

    भारतमात्रै नभएर कुनै पनि छिमेकीमाथिको पूर्णनिर्भरता मुलुकका लागि हितकर नहुने अर्का अर्थशास्त्री डा.चन्द्रमणि अधिकारी बताउँछन् । आमजनताले आफ्नो सोच बदलेर उत्पादनका लागि नयाँ ढंगले अघि बढ्नुपर्ने उनको मत छ ।

    ‘देश बनाउन उत्पादन महत्त्वपूर्ण हुन्छ र उत्पादनका लागि युवाहरू मुलुकमा रहनु पहिलो सर्त हुन्छ,’ अधिकारीले भने, ‘एउटै देशसँगको पूर्णनिर्भरताको वैकल्पिक बाटोहरूमा सरकारले ध्यान दिँदै विभिन्न मुलुकतर्फ बजार विस्तार गर्नुपर्छ ।’

    नवीन ढुंगानाको
    २०७६ मंसिर ५ गते अनलाइन खबर मा छापिएको लेख


    Posted in अर्थLeave a Comment on राष्ट्रवादमात्रै भन्ने कि आत्मनिर्भर पनि बन्ने ?

    भेटियो कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाण

  • ५ मंसिर २०७६, बिहीबार ०३:२४ मा प्रकाशित
  • ५ मंसिर, काठमाडौं । मन्त्रिपरिषद्मा गरिएको हेरफेर र नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भएको नयाँ कार्यविभाजन आजका सबै दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ ।

    कान्तिपुृरले ‘ओलीलाई सरकार, दाहाललाई दल’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । एकीकरणको १८ महिनापछि नेकपाका दुई अध्यक्षबीचको कार्यविभाजन कसरी सफल भयो भन्ने जिज्ञासाको जवाफ पनि आज कान्तिपुरले खोजेको छ । स्रोतको हवाला दिँदै कान्तिपुरमा लेखिएको समाचारअनुसार, यसमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका छ । ‘ओली र दाहालले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आफ्नो कार्यविभाजनसम्बन्धी सहमति गर्नुभएको हो’, घटनाक्रमबारे जानकार नेकपाका एक नेतालाई कोट गर्दै कान्तिपुरले लेखेको छ ।

    एक्लाएक्लै विगतमा गरिएका समझदारी कार्यान्वयनमा ओलीले उदासीनता देखाएपछि प्रचण्डले भरपर्दो साक्षी खोजेको र राष्ट्रपतिको रोहवरमा नयाँ कार्यविभाजन गरिएको कान्तिपुर समाचारको निष्कर्ष छ ।

    मन्त्रिपरिषद्मा थपिएका नयाँ अनुहारबारे पनि कान्तिपुरले प्राथमिकतापूर्वक समाचार बनाएको छ ।

    कालापानी क्षेत्रका बासिन्दाले १९९५ मै तत्कालीन नेपाल सरकार मातहतका निकाय–व्यक्तिलाई बसोबासको तिरो तिरेको तथ्य पनि कान्तिपुरले आज उजागर गरेको छ । समाचार अनुसार तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ ।

    खोजीका क्रममा ८१ वर्ष पुरानो लगत आधारको तिरो रसिद प्राप्त भएको र भूमिसुधार मन्त्रालयले केही वर्षअघि अभिलेखालयलाई बुझाएको समाचारमा उल्लेख छ ।

    राष्ट्रिय अभिलेखालयकी निर्देशक सौभाग्य प्रधानांगले कान्तिपुरसँग बताएअनुसार, १९९५ असार १९ मा कालापानी क्षेत्रमा रहेका बासिन्दाले नेपाल सरकारका नाममा निश्चित अन्न वा पसाको तिरो बुझाएको प्रमाण भेटिएको जनाएको छ । त्यसमा हाल भारतीय पक्षबाट अतिक्रमित गुञ्जी (कुञ्जी) का बासिन्दाले पनि तिरो बुझाएको सूची देखिन्छ । तिरो प्रमाणमा हाल भारततर्फ पारिएका नावी र कुटी गाउँका बासिन्दाको नामसमेत उल्लेखख छ । तिरोस्वरुप केही बासिन्दाले मानापानी अन्न र केहीले पसा बुझाएको प्रमाण देखिन्छ ।

    अन्नपूर्णले ‘दाहाल कार्यकारी’ शीर्षकमा सत्तारू नेकपाले शक्ति संघर्षमा रहेका पार्टीकाजोर पाइलट प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यविभाजन टुंगिएको छ । अन्नपूर्णले ओली र प्रचण्डको राजनीतिक यात्राबारे पनि चर्चा गरेको छ ।

    नागरिकले मन्त्रिपरिषद् पुनर्गठन, नेकपा अध्यक्षद्वयको कार्यविभाजनसँगै नेपालबाट हराएको मूर्ति अमेरिकामा भेटेको लेखेको छ भने सरकारी मुखपत्र गोरखापत्रले द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन सम्भव भएको लेखेको छ ।

    हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, कला /जीवनशैली, खेल, बिज्ञान/प्रविधि, मुख्य खबर, राजनीति, विचार, समाजLeave a Comment on भेटियो कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाण

    नेपालमा गाडी एसेम्बल गर्ने घोषणा गरेको मोट्रेक्सलाई बुटवल धागोको जग्गा दिने तयारी

  • ४ मंसिर २०७६, बुधबार ०६:४६ मा प्रकाशित
  • काठमाडौं- नेपालमा गाडी एसेम्बल उद्योग स्थापनाको घोषणा गरेको दक्षिण कोरियाली कम्पनी मोट्रेक्सलाई सरकारले बुटवल धागो कारखानाको जग्गा उपलब्ध गराउने तयारी गरेको छ। लगानी बोर्डले अर्थ मन्त्रालय र उद्योग मन्त्रालयसहितका सरोकारवालासँग समन्वय गरेर यो विषयमा छलफल गरिरहेको छ। 
    मोट्रेक्सले २०७५ चैतमा भएको लगानी सम्मेलनको पूर्वसन्ध्यामा नेपामै सवारी एसेम्बल प्लान्ट स्थापना गर्ने उद्देश्यले १० अर्ब ५४ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव गरेको थियो। त्यसलगत्तै लगानी बोर्डको बैठकले उक्त लगानी स्वीकृत गरेको थियो। 
    मोट्रेक्सको उक्त लगानी आउने निश्चित भएसँगै नेपाली अटोमोबाइल क्षेत्रमा ठूलै तरंग ल्याएको थियो। लगानी बोर्डले बुटवल धागो कारखानाको १०० रोपनी जग्गा भाडामा दिने विषयमा बोर्डमै सरोकारवाला निकायलाई बोलाएर प्रस्तुती दिएको थियो। त्यसलगत्तै कम्पनीले जग्गा भाडामा लिन प्रकृया अघि बढाएको लगानी बोर्ड स्रोतले बतायो। 

    मेट्रक्सले सवारी एसेम्बलका लागि कडा शर्त राखेको छ। जसमा लक्ष्मी ग्रुपको अगुवाइमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले लगानी बोर्डमा मोट्रेक्सको शर्त अमान्य हुने भन्दै निवेदन दिएको थियो। 
    त्यस विषयमा विभिन्न छलफल भएपनि मोट्रेक्सको शर्त बारे लगानी बोर्डले पछिल्लो अवस्थाको जानकारी नगराएको नाडाका एक सदस्यले नेपाल लाइभसँग भने।
    ‘लगानी बोर्डले मोट्रेक्ससँग परियोजना लगानी सम्झौताका लागि छलफलकै चरणमा रहेकाले शर्तका विषयमा समेत उक्त सम्झौतामा सबै कुरा खुल्ला,’ ती सदस्यले भने, ‘सरकारले मोट्रेक्सलाई एसेम्बल प्लान्ट स्थापना गर्न दिँदै गर्दा अन्यलाई वर्षौं आउन नदिने सम्झौता नगर्ला।’ 
    मोट्रेक्सले ७ वर्षसम्म कुनै पनि कम्पनीलाई एसेम्बल प्लान्ट राख्न नपाउने र ७ वर्षपछि पनि ११ अर्ब रुपैयाँ भन्दा ठूला परियोजनालाई मात्रै अनुमति दिनुपर्ने शर्त राखेको छ। यो शर्तका बारेमा भने लगानी बोर्डले सहमती जनाइसकेको छैन। 
    लगानी बोर्ड सवारी एसेम्बल गर्न आएको कम्पनी मोट्रेक्सलाई जग्गादेखि करका दरका बारेमा भने सहुलियत दिन सकारात्मक रहेको जनाएको छ। त्यसका लागि अर्थ मन्त्रालयसँग छलफल भइसकेको बोर्डको भनाइ छ। 
    कम्पनीले प्लान्ट सञ्चालनमा आएको पहिलो वर्ष ५ हजार ८ सय २०, दोस्रो वर्ष ९ हजार ५ सय ३०, तेस्रो वर्ष १५ हजार ८०, चौथो वर्ष २० हजार थान सवारी उत्पादन गर्ने उल्लेख गरेको छ। कम्पनीले परियोजना सुरु भएको पाँचौ वर्ष र उत्पादन भएको चौथो वर्षबाट परियोजना ‘ब्रेक इभन’मा जाने दाबीसहितको प्रस्ताव अघि सारेको छ। 
    मोट्रेक्सले हालसम्म सावरी उत्पादन भने गरेको छैन। कोरियामा कारका लागि आवश्यक पर्ने पार्टपूर्जा उत्पादन गर्दै आएको छ। मोट्रेक्सले उत्पादन गरेका पार्टस् हुन्डाई मोटर्सले समेत प्रयोग गर्दै आएको छ।
    मोट्रेक्सले नेपालमा सवारी एसेम्बल प्लान्ट स्थापना गर्ने योजना सहित वैदेशिक लगानी ल्याएसँगै २ दर्जन भन्दा बढी सवारी कम्पनीले सवारी उत्पादनका लागि कम्पनी दर्ता गरेका छन्। 
    मोट्रेक्सले २०२१ सम्ममा सवारी उत्पादन गर्ने बताएको भएपनि हालसम्म एसेम्बल प्लान्टको विस्तृत अध्ययन नै गरेको छैन। समयमा नै विस्तृत अध्ययनगरि परियोजना निर्माण सुरु नगर्ने हो भने समयमै उत्पादन थाल्न सम्भव छैन।
    साभार :- नेपाललाइभ

    Posted in अर्थLeave a Comment on नेपालमा गाडी एसेम्बल गर्ने घोषणा गरेको मोट्रेक्सलाई बुटवल धागोको जग्गा दिने तयारी

    दक्षिण एसियाको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतले घट्ने प्रक्षेपण

  • ४ मंसिर २०७६, बुधबार ०४:५८ मा प्रकाशित
  • काठमाडौं– विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । दक्षिण एसियाको आर्थिक वृद्धिदर केही घटे पनि त्यसले नेपालको आर्थिक वृद्धिदरमा भने कुनै फरक नपार्ने बैंकले मंगलबार काठमाडौंमा सार्वजनिक गरेकोे प्रतिवेदनमा उल्लेख गरिएको छ ।
    विप्रेषणलगायतका कारण नेपालको आर्थिक वृद्धिदर भने चालू आर्थिक वर्षभित्र ७ दशमलव १ प्रतिशत पुग्न कुनै समस्या नरहेको विश्व बैंकको अध्ययन प्रतिवेदनले देखाएको अर्थविद् विश्व पौडेलले जानकारी दिए ।

    विश्व बैंकले नेपालको आर्थिक बृद्धिदरलाई निरन्तरता दिन उद्योग स्थापनामा जोड दिनुपर्ने र कर असुलीलगायतका अधिकार स्थानीय तहलाई दिन उपयुक्त हुने सुझाव पनि दिएको छ ।

    बजारका अवरोध हटाउने तर स्थानीय तहले नै कर उठाउने लगायतका काम गर्दा नेपालको आर्थिक वृद्धिदर झनै बढेर जाने विश्व बैंकको निष्कर्ष रहेको पनि अर्थविद् पौडेलले बताए । प्र

    तिवेदनमा उत्पादन घटेका कारण दक्षिण एसियामा भने आर्थिक बृद्धिदर केही घटन गएको पनि स्पष्ट पारिएको छ ।

    Posted in अर्थLeave a Comment on दक्षिण एसियाको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतले घट्ने प्रक्षेपण

    नेपाल तामाङ घेदुङ साउदी अरेबियाका पूर्वी

  • २६ कार्तिक २०७६, मंगलवार १०:२२ मा प्रकाशित
  • नेपाल तामाङ घेदुङ साउदी अरेबियाका पूर्वी क्षेत्रीय समन्वय समिति दमामको संस्कृति प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जुवेलस्थित कुकजोन रेस्टुरेण्टमा नोभेम्बर ८ शुक्रबार भएको हो । कार्यक्रमका अतिथि साउदी घेदुङका उपाध्यक्ष शम्सेर तामाङ समुदायभित्र संस्कृति प्रशिक्षण अनिवार्य भएको बताए । विश्वभरि छरिएर रहेका तामाङ समुदायको भौगोलिक रुपमा अलगअलग संस्कृति छ, उनले भने । घेदुङका प्रवास शाखाहरुले तत्काल गर्नुपर्ने कामहरू भनेको नेतृत्व विकास, भाषा, धर्म, लिपी लगायलाई एकरुपता गराउनु हो, उपाध्यक्ष शम्सेरले भने । घेदुङका सदस्य फुर्वा पाख्रिनले स्वागत मन्तव्यका क्रममा प्रवासमा व्यस्तताका बाबजुद समेत उपस्थिति भएर उर्जा दिलाएकोमा धन्यवाद दिदै घेदुङलाई बृहत बनाउन पदाधिकारीहरुले जिम्मेवारीबोध गर्नुपर्ने बताए । समारोहमा अतिथि जिफण्ट सहयोग समूह साउदीका बरिस्ठ उपाध्यक्ष राईले मन्तव्यका क्रममा पूर्वी क्षेत्रका घेदुङले छोटो समयमा छलाङ मारेको बताए । उपाध्यक्ष राईले जिफण्ट साउदीले श्रमिकहरुका मुद्दामा घेदुङसँग सहकार्य गरेर जाने बताए । कार्यक्रमका सभापति विजय तामाङले प्रशिक्षण कार्यक्रम सोचेभन्दा सफल भएको बताउँदै आगामी कार्यक्रमहरुमा यसरी नै उत्साहित रूपले साउदीको पूर्वी क्षेत्रमा रहेका सम्पूर्ण तामाङहरुलाई घेदुङको छातामुनि ल्याउनुपर्ने दायित्व बढेको बताए । त्यसैगरी घेदुङका सदस्यहरू हिरा बम्जन, अस्मिता तामाङ, बृखराम तामाङ, कल्पना तामाङ, रञ्जु तामाङ, अर्जुन तामाङ, जीतबहादुर गोले लगायतले मन्तव्यका क्रममा घेदुङको क्षेत्रीय समितिले छोटो समयमा धेरै सचेतना मुलुक कार्यक्रम गरेकोमा धन्यवाद दिएका थिए । वक्ताहरुले घेदुङलाई अझ बृहत बनाउन पदाधिकारीहरुले विशेष भूमिका खेल्नुपर्ने औल्याए । कार्यक्रममा घेदुङकी क्षेत्रीय सल्लाहकार राममाया मोक्तानले फापरे र सदस्य जीतबहादुर गोलेले चौतारी भाकाको गीत प्रस्तुत गरेको थियो । त्यसैगरी घेदुङकी उपाध्यक्ष पुतली तामाङ सदस्यहरू डोल्मा तामाङ, रञ्जु तामाङ, मुस्कान तामाङ, कमली तामाङ, अर्जुन तामाङ लगायतले तामाङ गीतहरुमा बेजोड प्रस्तुति गरेको थियो । नेपालको पश्चिमेली तामाङहरुमा विशेष गरेर रसुवा, धादिङ, नुवाकोट लगायका जिल्लामा म्हेन्दोमाया, मानेदोरा, साईकोले लगायतका गीत तथा नृत्य चर्चित छन् । त्यसैगरी पूर्वका तामाङ समुदाय विशेष गरेर दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, सिन्धुली लगायतमा फाफरे, सेलो, डाम्फु लगायत गीतहरू चर्चामा रहने गर्छ । घेदुङका कोषाध्यक्ष लालबहादुर लामाले कार्यक्रम सञ्चालन गरेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, कला /जीवनशैली, खेल, बिज्ञान/प्रविधि, राजनीति, विचार, समाज, साहित्य70 Comments on नेपाल तामाङ घेदुङ साउदी अरेबियाका पूर्वी

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P