नमस्ते आधुनिक लघुकथा मञ्चले वर्ष स्तम्भकार सम्मा, २०८१’बाट स्तम्भकार वसन्त अनुभवलाई र । ‘वर्ष उत्कृष्ट पत्रिका सम्मान, २०८१ बाट ‘हिमालयन दृष्टि मिडिया प्रा. लि.’लाई सम्मान गरेको छ । मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मानबाट सम्मानित गरेको हो ।
नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथाहरू छानेर स्तम्भकार वसन्त अनुभवले ‘साताका तीन लघुकथा’ स्तम्भ हिमालयन दृष्टि अनलाइन पत्रिकामा निरन्तर प्रकाशन गर्दै आउनुभएको छ । पत्रकारिताको माध्यमबाट उहाँले लघुकथाको उन्नयन र प्रवर्द्धनमा पुर्याउनुभएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।
मञ्चका सचिव समेत रहनुभएका अनुभवले लघुकथाको लेखन, सम्पादनका अलावा कथा, कविता, मुक्तक, निबन्ध, गीत, गजल, झिल्का, टुक्का, उदक, पञ्चाङ्ग, चारु लगायत विविध विधामा कलम चलाउने गर्नुहुन्छ । अनुभव विभिन्न संस्थाहरूका कार्यसमितिमा रहेर कार्य गर्दै आउनुभएको छ । उहाँ झिल्का कविताको प्रवर्तक एवम् झिल्का साहित्य समाजको संस्थापक अध्यक्ष हुनुहुन्छ ।
त्यस्तै लघुकथालाई लगातार वर्षभरि समाजमा फैल्याउनका लागि स्तम्भ प्रदान गरेर योगदान पुर्याएकोमा हिमालयन दृष्टि अनलाइन पत्रिकालाई पनि ‘वर्ष उत्कृष्ट पत्रिका सम्मान, २०८१’ द्वारा सम्मान गरिएको छ । “साताका तीन लघुकथा” स्तम्भ विगत लामो समयदेखि यसै पत्रिकामार्फत सञ्चालन हुँदै आइरहेको छ, जसको सञ्चालन वसन्त अनुभवले गर्दै आउनुभएको छ ।
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (५८औँ) शृङ्खलाका लागि लघुकथाकार वत्सराज कोइरालाको लघुकथा ‘भुलक्कड प्रोफेसरकी असली धर्मपत्नी’, लघुकथाकार चूडामणि नेपाल ‘अकिञ्चन’को लघुकथा ‘छुइछाइ’ र लघुकथाकार त्रिपूरा खरेलको लघुकथा ‘गणतन्त्र’ उत्कृष्ट तीनभित्र परेका छन् । ~<•>~
[१] लघुकथा: भुलक्कड प्रोफेसरकी असली धर्मपत्नी
✍️ वत्सराज कोइराला निकै भुलक्कड थिए, प्रोफेसर खड्काजी । कलेजतिर हिँड्ने बेलामा कहिले पर्स बोक्न बिर्सन्थे, कहिले मोबाइल । हत्तपत्त उनकी पत्नीले ‘यो छुट्यो, त्यो छुट्यो’ भन्दै ती चीज ल्याएर उनलाई थमाइदिन्थिन् ।
बुढीले सधैँ आफूलाई बुद्धू र भुलक्कड भनेर गिज्याइरहेपछि एकदिन प्रोफेसर खड्काजीको दिमागमा एउटा आइडिया फुर्यो ।
भोलिपल्ट बिहान कलेज जानुअघि आफूले लैजानुपर्ने पेन, पर्स, मोबाइल, ब्याग, चस्मा, डायरी आदिको लिस्ट बनाए । त्यसपछि चिनो लगाउँदै ती सामान खल्तीमा, ब्यागमा राखे ।
त्यसपछि ढोकाबाट निस्केर आँगनमा रहेको मोटरसाइकल स्टार्ट गर्न लाग्दा ढोकामा बुढीलाई देखेपछि मुसुक्क हाँस्दै भने- “देख्यौ बुढी ! आजबाट म भुलक्कड होइन नि !”
अनि पत्नी नजिकै आइन् र बिस्तारै भनिन्- “मेरो प्यारो भुलक्कड पतिदेव ! हिँड्नुस् भित्र, आज शनिवार हो ।”
यो सुनेर खड्काजी लाजले पानी पानी हुँदै भने- “धन्यवाद बुढी ! आज बल्ल धर्मपत्नीको असली महत्त्व बुझेँ ।”
[२] लघुकथा: छुइछाइ
✍️ चूडामणि नेपाल ‘अकिञ्चन’ “भनेको मान्दिनस् ? पर समालिएर बस है ।” बिहानैदेखि घरमा भ्याइ नभ्याइ थियो । हजुरआमालाई पूजामा बसेपछि एक घण्टा लाग्थ्यो । पेटको शल्यक्रिया गरेर आएकी आमा सकि नसकी काममा व्यस्त हुनुहुन्थ्यो । “भाउजूको छुइछाइ चारदिन भएको, अझै छुन हुँदैन रे ! लु फटाफट रोटी पकाउनुहोस् त भाउजू ! ओइ बुने तँ आइज तरकारी काट । दुईदिन होस् कि तीनदिन, म डयुटी बस्छु; कसले के गर्दो रैछ, के हुँदोरैछ हेर्छु । कसैलाई यता आउनै दिन्नँ । शरीरको नियमित एउटा प्राकृतिक कुरालाई अपराध बनाउन हुन्न । यो सामान्य कुरा हो । जानु आमा कुर्सीमा बसेर आरामा गर्नु ।” जेठी नातिनी सुधा बोेली ।
“हाम्रो परिवार र समाज कहिले बदलिन्छ दाइ ? तपाईँहरू पनि त बोल्नु पर्यो नि !” “खै हजुरआमा, आमासँग कसले सक्ने बहिनी ? बुवा र मैले त बोलेकै छौँ । जबसम्म सम्पूर्ण महिलामा चेतना आउँदैन तबसम्म यस्तै होला बहिनी । हामी लोग्नेमान्छेभन्दा महिलाहरूमा नै परम्परा र धार्मिक कट्टरता बढी देखिन्छ बहिनी !”
हजुरआमा भटभटेभन्दा ठूलो स्वरमा भटभट्याउँदै पूजा सकेर भर्याङ ओर्लनुभयो । फेरि अवस्था परिवर्तन भयो । आमा आएर पिठोमा हात चोब्नुभयो । बहिनी उठेर अर्कैतिर लागी । पूजा सकिँदा तीन बज्यो । आमा एकपटक बेहोस हुनुभयो । हजुरआमा त्यसै रिङ्गटा लाग्यो भनेर ढल्नुभयो । हामीले जीवनजल खुवायौँ । “कुन चाहिँ मोरामोरीले छुइछाइको बेला के बिगार गरे, आज भगवान् रिसाउनुभयो । यस्तो मलाई कहिल्यै भएको थिएन ।” “भगवान् होइन, नातिनी रिसाई हजुरआमा ! दक्षिणा कम भयो ।” कोठामा हजुरआमा बाहेक सबै हाँस्न थाल्यौँ । हामीले देखेका पूजा कोठाका र भित्तामा टाँगिएका भगवानहरू पनि हाँसीरहनु भएको थियो । विराटनगर १
[३] लघुकथा: गणतन्त्र
✍️ त्रिपुरा खरेल जङ्गलमा आमसभा बस्यो । सभालाई हात्ती र स्यालले सञ्चालन गरेका थिए । सभा राख्नुको उद्देश्य थियो, जङ्गलको राजालाई सिंहासनबाट हटाउनु ।
“हामीले सिंहलाई सत्ताच्युत गर्नुपर्छ । एउटै वंशले राजसत्ता चलाउनु प्रजाहरूका लागि घोर अन्याय होब।” स्यालले टेबल ठटायो ।
“हामी पनि कमजोर छैनौँ । आफूमात्र खाने अरूको भोकप्यासको वास्ता नगर्ने राजाका विरुद्धमा हामी सबै मिलेर विद्रोह गर्नुपर्छ।” हात्ती गर्जियो । “जङ्गलको राजालाई हटाउनै पर्छ । हामीलाई राजतन्त्र होइन गणतन्त्र चाहिन्छ।” सभामा उपस्थित सबैले नारा लगाए । “शान्त, शान्त ! पहिले हामीले सिंहलाई गद्दीबाट हटाउने उपायबारे सोच्नुपर्छ । त्यसपछि उसले अन्याय गरेर जेलमा थुनेका निर्दोष बाघहरूलाई जेलबाट निकाल्नुपर्छ । यसपछि मात्र हामी प्रजाहरूले सुशासन चलाउनुपर्छ ।” हात्तीले सबैलाई चुप गरायो ।
“हामीलाई आफ्नो पेट भरेर मस्त सुत्ने अविवेकी अल्छे राजा चाहिँदैन । गरीबलाई गाँस, बास, कपास दिने नेता चाहिन्छ ।” स्यालले पनि हात्तीले जस्तै प्रजातन्त्रको पक्षमा भाषण दियो । सबै मिलेर सिंहलाई जालमा पारेर सत्ताबाट हटाए । जेलको सजाय भोगेका बाघहरूलाई कैदबाट मुक्त गरिदिए । जङ्गली जानवरहरूले हात्तीलाई राजा र स्याललाई जम्बु मन्त्रीको पदभार सम्हाल्ने अनुमति दिए ।
हात्ती र स्याल खादा माला लगाएर आआफ्नो कुर्सीमा बस्न जाँदै थिए । जेलबाट मुक्त भएका बाघहरूले ती दुईलाई मारेर सत्ता हत्याए । मामरिङ्ग, दक्षिण सिक्किम