
वसन्त अनुभव
९ असार/चितवन
नमस्ते आधुनिक लघुकथा मञ्चले यस वर्षको लघुकथालय कृति पुरस्कार लघुकथाकार लक्ष्मण अर्यालको लघुकथासङ्ग्रह ‘दुर्बिन’लाई प्रदान गर्ने भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सवको प्रथम दिन अर्थात् असार ९ गते उक्त पुरस्कारको घोषणा गरेको हो । लघुकथालय पुरस्कारको राशी नगद रु. ११ हजार १ सय ११ रुपैयाँ रकम र प्रमाणपत्र रहेको छ ।
संस्थाले २०८१ सालभरमा प्रकाशित भएका लघुकथा सङ्ग्रहहरू बजारमा उपलब्ध भएसम्मका सङ्कलन गरी मूल्याङ्कनमा समावेश गराएको थियोे । जसबाट निर्णायक समितिले अध्ययन र मूल्याङ्कन गरी उक्त पुरस्कारका लागि लघुकथा कृति ‘दुर्बिन’लाई छ्नोट गरेको थियोे । गतवर्षको लघुकथालय पुरस्कार लघुकथाकार ललिता दोषीकृत लघुकथा सङ्ग्रह ‘पहिरो’ लाई प्रदान गरिएको थियोे ।
‘दुर्बिन’मा सङ्ग्रहीत लघुकथाहरू विषयवस्तु, प्रस्तुती कला, भाषाकाे गुरूत्व, भाव प्रक्षेपण लगायतका आधारमा नेपाली सामाजिक सुधारवादी चेतनाले भरिएका अत्यन्त सफल भएको निर्णायक समितिले जनाएको छ ।
‘दुर्बिन’का कृतिकार लक्ष्मण अर्यालको जन्म पिता शिवहरि अर्याल र माता ज्ञानप्रभा अर्यालको दोस्रो सन्तान एवम् प्रथम पुत्ररत्नको रूपमा वि.सं. २०२६ साल साउन १५ गते धादिङमा भएको थियोे । हाल उहाँ रत्ननगर नगरपालिका– ३, विद्युत रोड, चितवनमा स्थायी बसोबास गर्दै आउनुभएको छ ।
प्राध्यापन पेशामा कार्यरत अर्यालका ‘टुटीकाण्ड’, ‘औँला’ र ‘दुर्बिन’ गरेर तीन वटा लघुकथासङ्ग्रहका साथै ‘लघुकथा विमर्शन’, एक लघुकथा सिद्धान्त पुस्तक प्रकाशित भइसकेका छन् ।
‘सम्प्रेषण’, ‘रत्नप्रभा’ जस्ता प्रकाशनका कार्यकारी सम्पादक रहेका अर्यालले हालसम्म लगभग २ दर्जनभन्दा बढी पुस्तक, पत्रिका, स्मारिका आदिमा प्रधानसम्पादकको भूमिका निभाइसक्नुभएको छ ।
उहाँ यस अघि पनि नमस्ते आधुनिक लघुकथा मञ्चबाट ‘लघुकथाश्री समालोचक सम्मान-२०८०’ बाट सम्मानित भैसक्नु भएको छ । उहाँले अन्य संस्थाहरूबाट ‘रेडियो अर्पण सम्मान’, ‘चिसाप कृष्णकृष्णा पुरस्कार’, ‘वैजयन्ती स्रष्टा सम्मान’ लगायत आधा दर्जन बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ ।
संस्थाको निर्णय अनुसार वि.सं. २०८२ सालमा आयोजना गरिने राष्ट्रिय कार्यक्रममा ‘लघुकथालय कृति पुरस्कार- २०८२’ उहाँलाई प्रदान गरिनेछ ।

