
वसन्त अनुभव
९ असार/चितवन
युवा स्रष्टाद्वय हिमा रोका ‘प्रतिज्ञा’ र हेमराज अधिकारीलाई ‘हेमलता स्मृति लघुकथा सम्मान-२०८२’ बाट सम्मान गरिने भएको छ । आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा नमस्ते आधुनिक लघुकथा मञ्चले यो सम्मानको घोषणा गरेको हो । ‘प्रतिज्ञा’ कर्णाली प्रदेशको सुर्खेत निवासी हुनुहुन्छ भने अधिकारी सिक्किम, भारत निवासी हुनुहुन्छ ।
कीर्तिशेष लघुकथाकार हेमलता उप्रेतीको स्मृतिमा स्थापित ‘हेमलता स्मृति लघुकथा सम्मान’ लघुकथामा कुनै पनि कृति ननिकालेका तर निरन्तर स्तरीय लघुकथा लेखनमा लागिपरेका जुझारु युवा लघुकथाकारहरूलाई प्रोत्साहनस्वरूप उक्त सम्मान प्रदान गरिँदै आएको संस्थाले जनाएको छ ।
६० वर्ष उमेरसम्मका लघुकथा लेखनमा सक्रिय एकजना महिला स्रष्टा र एकजना पुरुष स्रष्टा छनोट गरेर संस्थाले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ । यो सम्मानबाट विगतका तीन वर्षमा तीन पुरुष तथा तीन महिला गरी ६ जना सक्रिय युवा लघुकथा सर्जकहरूलाई मञ्चले सम्मानित गरिसकेको छ ।
संस्थाले दिएको जानकारी अनुसार वि.सं. २०८२ सालमा राप्ती नगरपालिका, चितवनमा आयोजना गरिने संस्थाको औपचारिक कार्यक्रममा छनोट हुनुभएका स्रष्टालाई सम्मान पत्रसहित नगद रु. ५,५५५/- रकमले सम्मान गरिनेछ ।
‘हेमलता स्मृति लघुकथा सम्मान- २०८२’बाट सम्मानित हुन लाग्नुभएकी ‘प्रतिज्ञा’को वास्तविक नाम हिमा रोका हो । बुबा चन्द्रबहादुर रोका र आमा निमकला रोकाकी सात सन्तानहरू मध्ये छैटौँ सन्तान एवम् कान्छी सुपुत्रीको रूपमा वि.सं. २०५२ साल भदौ ०७ गते घुमखहरे, सुर्खेत(कर्णाली प्रदेश)मा उहाँको जन्म भएको हो । हाल गुर्भाकोट नगरपालिका -८, मेहेलकुना, सुर्खेतमा स्थाउी बसोबास गर्दै आउनुभएको छ ।
जन्मजात नै दुवै खुट्टा र दाहिने हात नचल्ने उहाँ यताउता डुल्न ह्विलचियर प्रयोग गर्नुहुन्छ भने उहाँको देब्रे हात मात्र काम गर्न र लेखपढ गर्न प्रयोग हुन्छ । बोली लठेब्रो हुँदा उहाँ बोलेको कुरा अरूलाई बुझ्न कठिन हुने गर्दछ । विद्यालयबाट औपचारिक शिक्षा ग्रहण गर्नबाट बन्चित प्रतिज्ञाले घरमै बसेर अरूको सहयोगमा साउँ अक्षर छिचोल्नु भयो । उहाँले वि.सं. २०७८भदौ १६ गते ‘पालो’ शीर्षकको लघुकथा रचना गर्नुभएसँगै उहाँको लघुकथा लेखन यात्रा अगाडि बढेको थियोे ।
लघुकथासँगै उहाँले झिल्का कविता, टुक्का कविता, मुक्तक, गजल सृजनामा कलम चलाउनु हुने उहाँको हालसम्म कुनै कृति भने प्रकाशित भने भएको छैन ।
त्यस्तै ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८२’बाट समानित एवम् पुरस्कृत हुन लाग्नुभएका पुरुष स्रष्टा हेमराज अधिकारीको जन्म पिता स्व. कुबेरनाथ अधिकारी र माता देवकी अधिकारीका ५ सन्तानहरू मध्ये पहिलो सन्तानको रूपमा वि.सं. २०२८ साल जेठ १५ गते भारतको तुमिन, गान्तोक जिल्लाको, पूर्व सिक्किममा भएको थियोे । हालसम्म पनि उहाँ सोही स्थानमा बसोबास गर्दै आउनुभएको छ ।
स्कुले विद्यार्थी जीवनदेखि नै साहित्यमा लाग्नुभएका अधिकारी हालसम्म पनि सक्रिय रूपमा लाग्नुभएको छ । सन् २०१९/२० देखि विशेष रूपमा कथा, लघुकथा र निबन्ध लेखनमा समर्पित उहाँ सन् २०२१ देखि सिक्किमेली लघुकथा समाजको संस्थापक सदस्य तथा एडमिन हुनुहुन्छ ।
उहाँ एक स्थापित वक्ता पनि हुनुहुन्छ । राज्यस्तरीय विभिन्न तर्क प्रतियोगितामा विजयी भई नगद पुरस्कार, विभिन्न देश भ्रमणको अवसर पनि प्राप्त गर्नुभएको छ । उहाँ विभिन्न सामाजिक सेवा सम्बन्धी संघसंस्थामा आवद्ध हुनुका साथै सिटिजन एक्सन पार्टी(सिएपी), सिक्किमको संस्थापक सदस्य एवम् वर्तमान महासचिव/महामन्त्री हुनुहुन्छ । साथै उहाँ राज्यभरिकै विभिन्न शैक्षिक, साहित्यिक तथा सामाजिक संस्थाहरूबाट सम्मानित र पुरस्कृत हुनुहुन्छ ।

