लघुकथाकार चुडामणि नेपाल ‘अकिञ्चन’को लघुकथासङ्ग्रह ‘धुवाँको रङ्ग’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजेसम्म चलेको थियोे ।
‘धुवाँको रङ्ग’ लघुकथासङ्ग्रह, लघुकथाकार चुडामणि नेपाल ‘अकिञ्चन’को पहिलो लघुकथा कृति हो । जसमा कुल ७९ वटा लघुकथाहरू सङ्ग्रहित रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. विदुर चालिसेले लघुकथासङ्ग्रहमा आयामगत आवृति एउटै भएको उल्लेख गर्दै लघुकथाकार अकिञ्चनको शिर्ष लघुकथा धुवाँको रङ्ग दार्शनिक चिन्तनबाट अभिप्रेरित रहेको बताउनुभयो । साथै उहाँले सेतो रङले सकारात्मक उर्जा र कालो रङले नकारात्मक उर्जा दर्शाउने भन्दै ती प्रतिकात्मक रूपमा आएको भन्नुभयो ।
लघुकथामा शब्द सङ्ख्याको सन्दर्भमा बोल्नुहुँदै उहाँले भन्नुभयो- “जब लघुकथाकार लेखनमा पारङ्गत अवस्थामा पुग्छ नि शब्द कति भयो भनेर उसलाई शब्द गनिरहनुपर्दैन । उसले मानक सङ्ख्याभन्दा बढी लेख्नै सक्दैन ।”
साथै उहाँले लघुकथामा प्राविधिक मोडुलाइजेसन खाँचो रहेको, जसको लागि वृहत् गोष्ठी आयोजना गर्नुपर्ने बताउनुभयो । धुवाँको रङ्ग लघुकथासङ्ग्रहमा ‘प्रोजेक्ट वर्क’ लघुकथा शिर्षक आफैँमा अङ्ग्रेजी शब्दको भएको र त्यसभित्र २४ भन्दा बढी ठाउँमा अङ्ग्रेजी शब्द प्रयोग भएको उल्लेख गर्दै अङ्ग्रेजी शब्द मोह त्याग्न उहाँले सर्जकलाई सुझाउनुभयो ।
कार्यक्रममा ‘धुवाँको रङ्ग’ लघुकथासङ्ग्रहलाई दुई पक्ष- विषयवस्तु वा संरचनागत पक्ष र शिल्प शैली वा सौन्दर्य पक्षमा आधारित रहेर परिचर्चा गरिएको थियोे । लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘विषयवस्तु वा संरचनागत पक्ष’मा केन्द्रित रही सोको परिचर्चा वरिष्ठ लघुकथाकार/समालोचक डा.हरिप्रसाद भण्डारीले र शिल्प शैली वा सौन्दर्य पक्षको परिचर्चा वरिष्ठ लघुकथाकार/समालोचक प्रा.डा. कपिल लामिछानेले गर्नुभएको थियोे । ‘धुवाँको रङ’ भित्रका लघुकथाहरूको संरचनागत पक्षको कोणबाट परिचर्चा गर्नुहुँदै डा. हरिप्रसाद भण्डारीले लघुकथा कृतिमा विषयगत विविधता रहेको उल्लेख गर्नुभयो ।
साथै लघुकथा लेख्नका लागि जुन विषय छान्ने गरिन्छ त्यसलाई लघुकथाको विषयवस्तु वा कथावस्तु मानिन्छ । सुनको प्रसङ्ग उठाउँदै उहाँले संरचनागत पक्ष र शिल्प शैली बीच रहेको भिन्नता स्पष्ट पार्नुभयो । खानीबाट सुन निकाल्नु लघुकथाको संरचनागत पक्ष हो भने बुद्धि विवेक सीप प्रयोग गरेर सुनलाई गहनामा परिवर्तन गर्नुलाई शिल्प पक्ष मान्न सकिन्छ, उहाँले भन्नुभयो ।
लघुकथा कृतिको शिर्ष लघुकथा धुवाँको रङ्गका बारेमा परिचर्चा गर्दै कथामा निर्दोष युवाको चिताको धुवाँको रङ सफा सेतो निस्किएको तर धनी स्वार्थी व्यक्तिको चिताको धुवाँको रङ कालो भएको दर्शाइनुले मान्छे जिउँदो हुँदा जस्तो चरित्र छ मरेपछि उसै अनुरूपको प्रभाव छोड्छ भन्ने सन्देश दिएको बताउनुभयो ।
साथै उहाँले सङ्ग्रहमा समाजमा रहेका सामाजिक, राजनैतिक, सास्कृतिक विकृति, विसङ्गतिहरूको उजागर गर्नुका साथै जेष्ठनागरिकको पीडा, वैदेशिक रोजगारले पारेको प्रभाव, महिनावारी बार्ने प्रचलन, महिलाले भोगेका पीडा, प्रेमको प्रसङ्ग, धार्मिक अन्धविश्वास, यौन चाहना, साहित्यमा भएको विकृति, प्राकृतिक प्रकोपले निम्त्याएको अवस्था लगायत विविध विषयलाई कथावस्तु बनाइएको बताउनुभयो।
साथै कृतिमा धेरै भूमिका, शुभकामना नराख्दा उत्तम हुने, पुस्तकको शिर्षक एउटा लघुकथाको शिर्षकबाट नलिई समग्र लघुकथाहरूको प्रतिनिधित्व हुने गरी उपयुक्त शिर्षक राख्दा सबै लघुकथालाई न्याय हुने, विषयवस्तुको पुनरावृत्ति राम्रो नमानिने भन्दै लघुकथामा परिमार्जन आवश्यकता भएको जनाउनुभयो । साथै केही लघुकथा लघुकथाभन्दा पनि बालकथा हुनपुगेको बताउनुभयो । साथै अन्तमा लघुकथाकार अकिञ्चनको प्रयास अत्यन्त सुन्दर, प्रशंसनीय रहेकोे बताउनुभयो ।
त्यस्तै धुवाँको रङ्गको शिल्प शैली अर्थात् सौन्दर्य पक्षको परिचर्चा गर्दै परिचर्चाकार प्रा.डा. कपिल लामिछानेले सङ्ग्रहभित्र सबै लघुकथाहरू उस्तै उस्तै आकारको भएको, एउटै पृष्ठमा अटाएको अर्थात् सन्तुलन कायम गर्नुभएकोमा सर्जकको प्रशंसा गर्नुभयो । लघुकथाहरूको शिर्षकबारे बोल्दै उहाँले कृतिमा ३६ लघुकथाहरू दुई शब्दको र बाँकी सबै लघुकथाहरू एक शब्दको शिर्षक हुनु कृतिको सुन्दर पक्ष रहेको बताउनुभयो ।
धेरै लघुकथामा संवाद शैलीको प्रयोग भएको तर कतिपय लघुकथामा वर्णनात्मक शैली, नाटकीय शैली र संस्मरणात्मक शैलीको पनि प्रयोग भएको बताउनुभयो । कृति अन्तर्गत सुधार गर्नुपर्ने पक्ष बारे बोल्नुहुँदै उहाँले शिर्ष लघुकथामा रङ हुनुपर्नेमा रङ्ग भएको, कतिपय स्थानमा हलन्त हुनुपर्नेमा अजन्त र अजन्त हुनुपर्नेमा हलन्त भएको उल्लेख गर्दै सर्जकले वर्णविन्यासमा सचेत रहन सुझाउनुभयो ।
साथै उहाँले केही लघुकथाहरूमा अन्त्य बिस्तार भएको, धेरै संवादलाई एउटै अनुच्छेदमा राखेको, दुईवटा वा बढी संवादलाई एउटै उद्धरण चिन्हभित्र राखेको, लघुकथामा द्वन्द आवश्यक हुन्छ, भएको तर हुर्कन नपाएको तर्फ औल्याउँदै सङ्ग्रहमा परिमार्जनको आवश्यकता रहेको बताउनुभयो । साथै उहाँले लघुकथा भनेर छापिएका सबै आख्यान लघुकथा हुँदैनन् । तसर्थ सङ्ख्यात्मकलाई भन्दा गुणात्मक पक्षलाई जोड दिनु आजको आवश्यकता भएको बताउनुभयो ।
कृतिकारको तर्फबाट बोल्नुहुँदै लघुकथाकार चुडामणि नेपाल ‘अकिञ्चन’ले समीक्षकहरूबाट आएको सुझावलाई शिरोपर गर्दै आगामी दिनमा सुधार गरेर अगाडि बढ्ने बताउनुभयो । साथै उहाँले सुन्दर समीक्षाका लागि समीक्षकहरूप्रति, अवसर र व्यवस्थापनका लागि नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूप्रति आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले केही सर्जकहरूमा आफ्नो सृजना ठिक भएको र जस्ताको तस्तै छापियोस्’ भन्ने चाहना हुन्छ जुन उचित नभएको बताउनुभयो । साथै अर्काले लेखेको लघुकथा चोरेर त्यसमा थोरै विषयवस्तु, शिल्प शैली परिवर्तन गरेर आफ्नो लघुकथा बनाउनु अनैतिक व्यवहार भएको, जुन क्षम्य नहुने बताउनुभयो ।
‘लघुकथा वन्दना’को प्रशारणसँगै सुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार हरि कट्टेल र दिनेश राज सुवेदीले शुभकामना मन्तव्य दिनुभएको थियोे भने वरिष्ठ लघुकथाकार/साहित्यकार ध्रुव मधिकर्मी, डा.टिकाराम पोख्रेल, वसन्त अनुभव, नर पल्लव, रमेन्द्र कोइराला, इन्दिरा चापागाईं, सीता रेग्मी, नारायणनाथ योगी, लक्ष्मी रेग्मी खनाल, तुलसी पण्डित, दुर्गा ढकाल, हरि कट्टेल, दिनेश राज सुवेदी, चिरञ्जीवी काफ्ले, तिर्थ राज भाट लगायत संस्थाका पदाधिकारी, लघुकथाकार, साहित्यकार, समीक्षक, पाठक, पत्रकारहरूको बाक्लो उपस्थिति रहेकोे थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार आयुष बडालले गर्नुभएको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रह ‘महाकम्प’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजेसम्म चलेको थियोे । ‘महाकम्प’ लघुकथासङ्ग्रह, लघुकथाकार घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को पहिलो लघुकथा कृति हो । जसमा कुल १ सय ८ वटा लघुकथाहरू रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा.दयाराम श्रेष्ठले आजका परिचर्चाकारहरूको परिचर्चाबाट आफू सन्तुष्ट नभएको प्रतिक्रिया दिनुभयो । आफू खरो व्यक्ति भएको उल्लेख गर्दै उहाँले भन्नुभयो- “परिचर्चाकरहरू लघुकथाको शिल्प शैलीमा छिर्न सक्नुभएन । लघुकथाको प्लटको बारेमा बोल्नु नै भएन । कक्षाकोठामा विद्यार्थीलाई लघुकथा कसरी लेख्ने ? भनेर सिकाएझैँ सिकाउनुभयो, वर्णविन्यास पढाउनुभयो । यसरी हुँदैन । लघुकथामा प्युरिटी हुनुपर्छ । बालकथा, गद्य कविता, निबन्ध लेखेर लघुकथा हुँदैन । न्याराटिभ एस्से लेखेर आख्यानीकरण हुँदैन ।” साथै उहाँले आफूले महाकम्प पुरै पढेको उल्लेख गर्दै महाकम्पका धेरैजसो लघुकथाहरू लघुकथा बन्न नसकेको धारणा राख्नुभयो ।
आज परिचर्चा गरिएको पुस्तकको बारेमा बोल्दै कृतिका सम्पादक एवम् कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा. विदुर चालिसेले ‘नमस्ते आधुनिक लघुकथा मञ्च र यसका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले जुन गुरुकुल अभियान सञ्चालन गर्नुभयो, एउटा छुट्टै मान्यतालाई स्थापना गर्न खोज्नुभयो, उक्त काम सराहनीय छ, स्तुत्य छ’ भन्नुभयो । “अभियान अन्तर्गत प्रकाशित २२ वटा कृतिहरूमध्ये महाकम्प प्रकाशित पहिलो कृति हो । जुन आकारमा ठूलो छ ।”, उहाँले भन्नुभयो ।
कार्यक्रममा ‘महाकम्प’को परिचर्चा दुई पक्षमा आधारित रहेर गरिएको थियोे । ‘महाकम्प’ लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘विषयवस्तु’मा केन्द्रित रही सोको विश्लेषण वरिष्ठ समीक्षक/समालोचक डा. शंकरप्राद गैरेले गर्नुभएको थियोे भने ‘महाकम्प’ लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘शिल्प शैली अर्थात सौन्दर्य’ पक्षको विश्लेषण प्रा.डा. कपिल लामिछानेले गर्नुभएको थियोे । कार्यक्रममा परिचर्चा गर्दै परिचर्चाकार डा. शंकरप्रसाद गैरेले महाकम्पका लघुकथाहरूलाई विभिन्न १७ वटा विषयवस्तुमा विभक्त गरी परिचर्चा गर्नुभयो । जसअन्तर्गत कोरोना, बाआमा/वृद्धावस्था, नेपाली सभ्यता र संस्कृति, लैङ्गीक विभेद, सामाजिक विकृति, विसङ्गति, राष्ट्रियता, दर्शन लगायत अन्य विभिन्न विषयवस्तुहरू रहेका थिए । “लघुकथाकार शर्माले आफ्ना लघुकथाहरूका माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गतिको उजागर मात्र गर्नुभएको छैन, घुमाउरो पाराले त्यसको समाधान पनि दिनुभएको छ । वर्तमान राजनीतिमा देखापरेका गलत संस्कार, प्रवृत्तिहरूको भण्डाफोर गर्नुभएको छ ।”, उहाँले भन्नुभयो । साथै उहाँले महाकम्पमा रहेका लघुकथाहरू विषयवस्तुको दृष्टिले र यसले दिने सन्देशको दृष्टिले निकै महत्वपूर्ण र बलिया रहेको उल्लेख गर्नुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका अर्का वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा.कपिल लामिछानेले महाकम्पको शिल्प शैली र सौन्दर्यगत पक्षबाट परिचर्चा गर्नुभयो । उहाँले विभिन्न शैलीका प्रकारहरूको बारेमा बोल्दै महाकम्पका अधिकांश लघुकथाहरू वर्णनात्मक शैलीमा रहेको उल्लेख गर्नुभयो । “धेरै लघुकथाहरूमा वर्णनहरू छोटो रहे तापनि केही लघुकथाहरूमा पट्यारलाग्दो लामो वर्णन पाइन्छ । जुन नभएमा उत्तम हुन्थ्यो ।” उहाँले भन्नुभयो । त्यस्तै उहाँले लघुकथामा नाटकीय शैलीको पनि प्रयोग भएको र संवादले लघुकथालाई जिवन्त बनाएको तर कतिपय ठाउँमा लामो संवाद हुँदा दाँतमा ढुङ्गा लागेको उल्लेख गर्नुभयो । “त्यस्तै महाकम्पका कतिपय लघुकथाहरूमा चित्रात्मक शैलीको, कतिपयमा संस्मरणात्मक शैलीको पनि प्रयोग गरिएको छ । आत्मसंस्मरणको प्रयोग गरेको पाइन्छ । साथै कतिपय लघुकथामा निबन्धात्मक शैलीको प्रयोग पनि भेटिन्छ ।”, उहाँले भन्नुभयो । “शर्माका कतिपय लघुकथाहरूमा अभिधात्मक शैली र कतिपयमा लक्षणा र व्यञ्जना शैलीको प्रयोग गरिएको पाइन्छ । व्यङ्ग्यात्मक शैलीको पनि प्रयोग पाइन्छ ।”, उहाँले भन्नुभयो । उहाँले महाकम्पमा संवाद ढाँचा फरक भएको उल्लेख गर्दै कथयिता र कथन अंशको बिचमा पूर्णविराम हुनुहुँदैन । सोचेकोमा सिंगल र भनेको कथनमा डबल इन्भर्टेड कमा हुनुपर्नेमा त्यसो नगरिएको बताउनुभयो । शीर्षक सकभर छोटो, आकर्षक र कथाको भाव समेट्ने र लघुकथामा अकस्मात् पटाक्षेप हुनुपर्ने मान्यता उल्लेख गर्दै महाकम्पका केही लघुकथाहरू बाहेक अधिकांशमा छोटो, आकर्षक र उपयुक्त शीर्षक रहेको बताउनुभयो । साथै उहाँले आगामी दिनमा कालखण्ड दोष, अन्त्य बिस्तार, वर्णविन्यास लगायतका कुराहरूलाई ध्यानमा राखेर कृति निकाल्दा उत्तम हुने बताउनुभयो ।
धन्यवाद मन्तव्य दिनुहुँदै कार्यक्रमका सभाध्यक्ष, परिचर्चा गरिएको कृतिका कृतिकार एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले आजको कार्यक्रम अत्यन्त महत्वपूर्ण भएको, धेरै कुराहरू जान्ने, सिक्ने मौका प्राप्त भएको उल्लेख गर्नुभयो । “बिरामीको हित (उपचार)का लागि डाक्टरले जसरी ब्लेड, औजार चलाउँदा क्षणिक रूपमा पीडादायी भए पनि दीर्घकालीन रूपमा राम्रो हुन्छ । त्यस्तै परिचर्चाकार, समालोचकज्यूहरूले मेरो कृतिमाथि छुरा चलाउँदा मलाई खुसी लागेको छ । विशेषतल: आजका प्रमुख अतिथि, महागुरु प्रा.डा. दयाराम श्रेष्ठले राख्नुभएको विचारबाट म अत्यन्त प्रभावित भएको छु । उहाँको कुराले गर्दा अब मेरो लेखनयात्राले छुट्टै मोड लिनसक्छ ।” उहाँले भन्नुभयो ।
‘लघुकथा वन्दना’को प्रशारणसँगै सुरु भएको कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. कपिल लामिछाने, प्रा.डा.विदुर चालिसे, डा. शंकरप्रसाद गैरे, ध्रुव मधिकर्मी, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, अवधेश सिंह, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, डा.टिकाराम पोख्रेल, हिमलाल श्रेष्ठ, प्रा.डा.खेमराज खनाल, नर पल्लव, मुक्ति गौतम, कर्ण दयाल, श्रीकृष्ण पौडेल, मित्र उराठी गौतम, गंगा शर्मा पौडेल, हरि शर्मा, लक्ष्मी रेग्मी खनाल, नारायणनाथ योगी, मुना थपलिया, सुरेशकुमार पाण्डे, विष्णु पन्थी, राजन घले, ईश्वर लामिछाने, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार एवम् कुशल कार्यक्रम सञ्चालक आयुष बडालले गर्नुभएको थियोे ।
काठमाडौँ, मङ्सिर ०६ गते वसन्त अनुभव नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रह ‘नेपाली नस्ल’ र ‘सुन्दरी’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा जुम प्रविधिबाट सञ्चालित उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि सुरु भएर सवा तीन घन्टासम्म चलेको थियोे ।
‘नेपाली नस्ल’ लघुकथासङ्ग्रह लघुकथाकार वसन्त अनुभवद्वारा लिखित प्रथम कृति हो । अनुभव नमस्ते आधुनिक लघुकथा मञ्चको संस्थापक सचिव एवम् प्रशासक हुनुहुन्छ । त्यस्तै लघुकथाकार मीठू कुमारी पाठकको ‘सुन्दरी’ लघुकथासङ्ग्रह पनि उहाँको प्रथम कृति हो । पाठक पनि नमस्ते आधुनिक लघुकथा मञ्चको कोषाध्यक्ष एवम् प्रशासक हुनुहुन्छ ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक, साहित्यकार प्रा.डा. कपिल लामिछानेले नमस्ते आधुनिक लघुकथा मञ्चले अहिलेसम्म कति कृति निकाल्यो, यो कतिऔँ कृति हो भन्ने कुरा पुस्तकमा अङ्कित गर्नुपर्ने, सम्पादकको नाम अलग्गै उल्लेख गर्नुपर्ने बताउनुभयो । यसो गर्दा पाठक संस्थाको प्रकाशन एवम् सम्पादक बारे सुसूचित हुने बताउनुभयो । साथै उहाँले लघुकथा छोटो हुनुपर्छ भनिरहँदा यसमा लेखिने भूमिका, सम्पादकीय/प्रकाशकीय लगायत समीक्षा कार्यक्रम पनि छोटो नै हुनुपर्ने उल्लेख गर्नुभयो ।
‘लेखकहरू भावुक हुन्छन् । कठोर भएर आफ्ना सृजना काँटछाट गर्न सक्दैनन् तर समीक्षक/समालोचक/सम्पादक कठोर हुनुपर्छ । निर्मम भएर कैँची चलाउनु पर्छ।” भन्नुभयो । कृतिका सम्पादक प्रा.डा. विदुर चालिसेप्रति लक्षित गर्दै उहाँले सबै पुस्तकहरूमा एउटै ढाँचाको सम्पादकीय भयो, प्रत्येक पुस्तकमा फरक फरक खालको हुनुपर्ने बताउनु भयो ।
परिचर्चाकार डा. शंकरप्रसाद गैरेको प्रशंसा गर्दै ‘उहाँले विषयवस्तुको गहिराइमा गएर, कत्ति नआत्तिएर गर्नुभयो, निकै राम्रो लाग्यो । तर उहाँले कृतिको सबल पक्ष धेरै बढी र सुधार गर्नुपर्ने पक्ष कम उल्लेख गर्नुभयो । सकभर सुधार गर्नुपर्ने पक्षलाई बढी जोड दिएर हामीले लेखकलाई परिष्कृत हुने अवसर दिनुपर्छ’ भन्नुभयो । ‘परिचर्चा कार्यक्रममा कृति परिचर्चा गर्नुपर्ने परिस्थिति आउनसक्ने सम्भावनालाई आँकलन गर्दै ‘नेपाली नस्ल’ पल्टाएर पढ्न सुरु गरेँ । पढ्न थालेपछि एकपछि अर्को लघुकथाले मलाई तान्दै गयो । अन्ततः मैले एकैदिनमा पुरै पढेर भ्याएँ ।’ भन्दै उहाँ अगाडि भन्नुभयो, ‘यति राम्रा मानक लघुकथा हुँदाहुँदै पनि एकाध लघुकथामा ढुङ्गा लाग्यो । जसमा मैले कालखण्ड दोष भेटाएँ ।”
त्यस्तै अर्को परिचर्चित लघुकथा ‘सुन्दरी’को बारेमा बोल्नुहुँदै उहाँले सुन्दरी शीर्षकको लघुकथा अत्यन्त सुन्दर रहेको बताउनुभयो । ‘अरू लघुकथाहरू पनि सुन्दरीझैँ भइदिएको भए कति राम्रो हुन्थ्यो ।’ उहाँले भन्नुभयो । ‘तपाईँ फरक क्षमता भएका विद्यार्थीहरूलाई पढाउनुहुन्छ, तिनीहरूकै बारेमा अध्ययन गर्नुस्, तिनीहरूकै बारेमा लघुकथा लेख्ने गर्नुस्, बाहिरको विषयमा लेख्ने त हामी छँदैछौँ नि !’ ठट्यौली पारामा उहाँले सुन्दरीकी स्रष्टा मीठू कुमारी पाठकलाई भन्नुभयो ।
‘हामी प्रायः पुस्तकको नामाकरण गर्दा पुस्तकभित्रकै कुनै एउटा लघुकथाको शीर्षकलाई लिएर गर्छौँ । यसो गर्दा बाँकी लघुकथाहरूमाथि अन्याय हुने भन्दै सकभर सबै लघुकथाहरूको भावलाई समेट्ने भिन्नै शीर्षक राख्न उपयुक्त हुने बताउनुभयो ।
परिचर्चा कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्नुहुँदै वरिष्ठ समालोचक एवम् कृतिका सम्पादक प्रा.डा. विदुर चालिसेले ‘अण्डाको स्वाद कुखुरालाई नहुने तर अण्डा खाने व्यक्तिलाई भएजस्तै लघुकथा कस्तो भयो भन्ने कुराको ज्ञान लेखकलाई नभई पाठक हुने र पाठकका प्रतिक्रिया हामीले सहर्ष ग्रहण गर्नुपर्ने बताउनुभयो ।
लघुकथासङ्ग्रहमा देखिएका वर्णविन्यास लगायतका त्रुटिका बारेमा स्पष्ट पार्नुहुँदै सम्पादक चालिसेले ‘छोटो समयमा दुईदर्जन बढी लघुकथाहरूको सम्पादन गर्नुपर्ने, ती लघुकथाहरूलाई नयाँ शिल्प र शैलीमा ढालेर तयार पार्नुपर्ने, भूमिका लेख्नुपर्ने लगायतका चुनौतीहरू थिए । सच्याउन दिइएको पनि नसच्चिएर आउँदा त्रुटि रहन गएको बताउनुभयो ।
कार्यक्रमको पहिलो चरणमा ‘नेपाली नस्ल’ लघुकथासङ्ग्रहको परिचर्चा गर्नुहुँदै वरिष्ठ साहित्यकार एवम् समालोचक डा. शंकरप्रसाद गैरेले ‘सुरुमा लेखकले के शीर्षक राख्नुभएको होला यस्तो ? भन्ने लागेको थियोे । तर पढेपछि थाहा पाएँ कृतिलाई शीर्षकले न्याय गरेको रहेछ’ भन्नुभयो ।
कृतिको समीक्षा गर्दै उहाँले ‘संरचनागत दृष्टिले कुरा गर्नुपर्दा उहाँका प्रायजसो सबै लघुकथा छोटा छन् तर छोटो बनाउनका लागि भने उहाँले कुनै सम्झौता गरेको पाइएन । उहाँका लघुकथामा मानवेत्तर, मानवीय पात्रहरू छन् । मानवेत्तर पात्र त्यसमा पनि मानवीय अङ्ग, भाव जस्ता कुराहरू पात्रका रूपमा आएका छन् जसलाई मानवीय पात्रको रूपमा प्रयोग गर्दै सन्देश प्रवाह गर्नुभएको छ’ भन्नुभयो ।
परिचर्चाकार गैरेले ‘वसन्त अनुभवका लघुकथाहरू सरल, सहज एवम् बोधगम्य छन् । विविध विषयवस्तु समेटेका छन् । सरल, सहज एवम् बोधगम्य छन् । प्रचुर व्यङ्ग्य विधानको प्रयोग गरिएका छन् । यति हुँदाहुँदै पनि केही (एक/दुई वटा) लघुकथा विषयवस्तुको दृष्टिले कमजोर, प्रायः लेखिँदै आएका विषयवस्तुका छन् ।” भन्नुभयो ।
त्यस्तै कार्यक्रमको दोस्रो चरणमा ‘सुन्दरी’ लघुकथाको परिचर्चा गर्दै परिचर्चाकार डा. शंकरप्रसाद गैरेले सुन्दरी शीर्षकले पनि न्याय पाएको उल्लेख गर्नुभयो ।
लघुकथाकार मीठू कुमारी पाठकले विशेषत: अपाङ्गता, शैक्षिक विषयवस्तु लगायत बिग्रिएका केटाकेटीलाई सुधार गर्ने जस्ता कुरा समेट्नुभएको छ । उहाँले मानवीय प्रवृतिको उजागर गर्नुभएको छ । कोरोनाकालका अवस्थाहरू, महिला हिंसा/अधिकार सम्बन्धी प्रस्तुतिले पाठकलाई घोत्लिन पर्ने अवस्था सृजना गर्दछन् । संरचनागत दृष्टिले उहाँका लघुकथाहरू मध्यम खालका छन् ।
सुन्दरीमा भएको सुधार गर्नुपर्ने पक्ष औँल्याउँदै डा.गैरेले केही भाषिक, वर्णविन्यासगत त्रुटिहरू छन् आगामी दिनमा सुधार्नुपर्ने देखिन्छ । केही लघुकथाले के भन्न खोजेको हो त्यो अस्पष्ट छ, त्यसतर्फ पनि लघुकथाकार सजग हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कृतिकारको तर्फबाट धन्यवाद मन्तव्य दिनुहुँदै नेपाली नस्लका सर्जक एवम् लघुकथाकार वसन्त अनुभवले परिचर्चाकार डा. शंकरप्रसाद गैरेले लघुकथासङ्ग्रह पढेर लघुकथाको गहिराईमा गएर, केस्रा केस्रा केलाएर, मिहिन ढङ्गले समीक्षा गरिदिनुभएकोमा खुसी व्यक्त गर्नुभयो । साथै समीक्षकप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभयो । साथै समीक्षकले दिनुभएको सुझावलाई अक्षरस: पालना गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।
कृति प्रकाशन गर्न हौसला दिनुहुने मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी कृष्णजी शर्मा, सम्पादनको बोझिलो कामको बिंडो थाम्नुहुने प्रा.डा. विदुर चालिसे लगायत सम्बद्ध सबैप्रति धन्यवाद प्रकट गर्नुभयो । त्यस्तै व्यस्तताका बावजुद पनि परिचर्चा कार्यक्रममा आइदिनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू सबै सबैप्रति आभार प्रकट गर्नुभयो ।
त्यस्तै धन्यवाद मन्तव्य दिनुहुँदै सुन्दरी कृतिका कृतिकार मीठू कुमारी पाठकले मिहिन ढङ्गले लघुकथाको समीक्षा गरिदिनुभएकोमा डा.शंकरप्रसाद गैरेप्रति आभार प्रकट गर्नुभयो । साथै समीक्षकले दिनुभएको सुझावहरूलाई ग्रहण गर्दै अक्षरस: पालना गर्ने कुरा व्यक्त गर्नुभयो ।
उहाँले सुन्दरीभित्र रहेका सम्पूर्ण लघुकथाहरू सत्य घटनामा आधारित रहेकोे उल्लेख गर्नुभयो । उहाँले लघुकथा लेखन एवम् कृति प्रकाशनका लागि प्रेरणा दिनुहुने मञ्चका अध्यक्ष कृष्णजी शर्मा, कृति सम्पादन गरिदिनुहुने प्रा.डा. विदुर चालिसे लगायत परिचर्चा कार्यक्रम उपस्थित हुनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण अतिथिहरूमा धन्यवाद प्रकट गर्नुभयो ।
परिचर्चा कार्यक्रममा समापन मन्तव्य दिनुहुँदै कार्यक्रम अध्यक्ष कृष्णजी शर्माले आजको परिचर्चा कार्यक्रमबाट निकै गम्भीर खालका दुई तीनवटा कुरा सिकाइ भएको उल्लेख गर्नुभयो । आजका प्रमुख अतिथि प्रा.डा. कपिल लामिछाने समीक्षक गुरुहरूको पनि गुरु भएको उल्लेख गर्दै उहाँले दिनुभएको सुझावहरूलाई गम्भीर ढङ्गले पालना गरिने बताउनुभयो । साथै उपस्थित सबै अतिथिहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
‘लघुकथा वन्दना’ प्रशारणसँगै सुरु भएको कार्यक्रममा प्रा.डा. कपिल लामिछाने, प्रा.डा.विदुर चालिसे, डा. शंकरप्रसाद गैरे, कृष्णजी शर्मा, वसन्त अनुभव, मीठू कुमारी पाठक, यमुना प्रधानाङ्ग मुना, गंगा कर्माचार्य पौडेल, श्रीकृष्ण पौडेल, डा.टीकाराम पोखरेल, सुरेशकुमार पाण्डे, कुमार काफ्ले, राजेन्द्र आचार्य, लोकनाथ पुडासैनी, मुक्ति गौतम, गंगा, मुना थपलिया, सावित्री अधिकारी, ईश्वर लामिछाने, आयुष बडाल लगायत संस्थाका पदाधिकारीहरू, सल्लाहकारहरू, अभिभावकहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक आयुष बडालले गर्नुभएको थियोे ।
कार्तिक १०, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका-८, खुरखुरेमा यही कार्तिक १० गते राष्ट्रिय विशिष्ट अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण समारोह-२०८२ भएको छ। वरिष्ठ साहित्यकार प्रा.डा. चूडामणि बन्धुकाे प्रमुख आतिथ्यमा प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. कपिल लामिछाने र भागीरथी श्रेष्ठ, वरिष्ठ गायिका तथा सङ्गीतकार लोचन भट्टराईलाई रथारोहण गराई भव्य सार्वजनिक अभिनन्दन गरियो । राप्ती नगरपालिकाका विभिन्न मार्ग हुँदै विभिन्न सांस्कृतिक समूहबाट बाजागाजा, नाचगान सहित नगर परिक्रमा गरी जनसमुदायबाट अभिनन्दन तथा सम्मान गरिएको हाे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष कृष्णजी शर्माकाे अध्यक्षता तथा आयुष बडाल र इन्दिरा पाैडेल प्रतीक्षाद्वारा सञ्चालित कार्यक्रममा मञ्चद्वारा पूर्व घोषित ‘आख्यान अनुसन्धान तथा समालोचना शीर्ष पुरुष-२०८२’ बाट वरिष्ठ साहित्यकार एवम् आख्यानकार प्रा.डा. दयाराम श्रेष्ठलाई अभिनन्दन गरिएको थियोे । त्यस्तै ‘लघुकथाश्री समालोचक सम्मान- २०८२’ बाट वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. कपिल लामिछानेलाई’ विशिष्ट संगीतश्री सम्मान- २०८२’ बाट वरिष्ठ गायक एवम् संगीतकार लोचन भट्टराईलाई र ‘विजय स्मृति अग्रज लघुकथा सम्मान-२०८२’ बाट वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठलाई सम्मान अर्पण गरिएको थियोे ।
साथै ‘लघुकथालय पुरस्कार- २०८२’ बाट ‘दुर्बिन’ लघुकथासङ्ग्रह कृतिका कृतिकार एवम् वरिष्ठ साहित्यकार लक्ष्मण अर्याल (चितवन)लाई, ‘वर्ष लघुकथा स्रष्टा सम्मान- २०८२’ बाट लघुकथाकार खगेन्द्र बस्याल (रुपन्देही)लाई, ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८२ बाट लघुकथाकारद्वय हिमा रोका ‘प्रतिज्ञा’ (सुर्खेत) र हेमराज अधिकारी (सिक्किम)लाई पुरस्कार एवम् सम्मान अर्पण गरिएको थियोे ।
साथै उक्त अवसरमा ‘लघुकथा विशिष्ट प्रतियोगिता- २०८१’ विजयी लघुकथाकारहरूलाई पुरस्कार, सम्मान एवम् प्रमाणपत्र समर्पण गरिएको थियो । पुरस्कृत हुनुहुनेमा लोकनाथ पुडासैनी (प्रथम), मित्र ‘उराठी’ गौतम (द्वितीय), तारानाथ पराजुली (तृतीय), लक्ष्मी रेग्मी खनाल (सान्त्वना) र कुमार काफ्ले (सान्त्वना) हुनुहुन्छ । साथै सोही अवसरमा प्रदेशगत प्रतियोगितामा विजयी हुनुहुने लघुकथाकारहरूलाई पनि पुरस्कार तथा सम्मान अर्पण गरिएको थियोे ।
मञ्चीय कार्यक्रम स्थानीय नन्दिनी स्टार पार्टी प्यालेसको सभाहलमा गरिएको हाे । साेही कार्यक्रमका बिचमा लघुकथा र यसको सौन्दर्य विषयमा प्रा.डा. कपिल लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभयो भने कार्यपत्रउपर प्रा.डा. विदुर चालिसे र डा. शङ्करप्रसाद गैरेले टिप्पणी प्रस्तुत गर्नुभयो । गाेष्ठीमा लघुकथाकाे स्वरूप र साैन्दर्यमा जाेड दिइयो । कार्यक्रमकाे तेस्रो चरणमा आयाेजित साङ्गीतिक साँझमा वरिष्ठ गायिका तथा सङ्गीतकार लोचन भट्टराईले दर्जनभन्दा बढी गीत प्रस्तुत गर्नुभयो ।
वसन्त अनुभव नमस्ते आधुनिक लघुकथा मञ्चले वरिष्ठ गायिका एवम् संगीतकार लोचन भट्टराईलाई ‘विशिष्ट संगीतश्री सम्मान- २०८२’ प्रदान गर्ने भएको छ । मञ्चको मिति २०८२ साल साउन २४ गते बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको थियोे ।
नेपाली लोक, आधुनिक, चलचित्र लगायत विभिन्न भाषाभाषीका गीत गायनका साथै नेपाली पद्य साहित्यमा संगीत र स्वरका माध्यमले दिनुभएको विशिष्ट योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गर्न लागिएको मञ्चले जनाएको छ ।
आगामी कार्तिक १० गते मञ्चले चितवनमा गर्ने ‘राष्ट्रिय विशिष्ट अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण समारोहमा नगद रु. ११,१११/- (रुपैयाँ एघार हजार एकसय एघार) पुरस्कार रकमसहित ताम्रपत्रद्वारा सम्मान गरिने मञ्चले जनाएको छ ।
वसन्त अनुभव नमस्ते आधुनिक लघुकथा मञ्चले वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठलाई ‘विजय स्मृति अग्रज लघुकथा सम्मान- २०८२’ प्रदान गर्ने भएको छ । मञ्चको मिति २०८२ साल साउन २४ गते बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको थियोे । कीर्तिशेष वरिष्ठ साहित्यकार विजय चालिसेज्यूको स्मृतिमा मञ्चले यसै वर्ष यस पुरस्कार तथा सम्मानको स्थापना गरेको थियोे ।
आगामी कार्तिक १० गते मञ्चले चितवनमा गर्ने ‘राष्ट्रिय विशिष्ट अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण समारोहमा नगद रु. ११,१११/- (रुपैयाँ एघार हजार एकसय एघार) पुरस्कार रकमसहित ताम्रपत्रद्वारा सम्मान गरिने मञ्चले जनाएको छ ।
मञ्चले दिएको जानकारी अनुसार यस वर्षको पुरस्कार रकम कीर्तिशेष विजय चालिसेज्यूका सुपुत्र आलोक चालिसे एवम् परिवारको चाहना अनुरूप उहाँहरूले नै व्यवस्थापन गर्ने बुझिएको छ ।
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘लोपाञ्जन’ र ‘प्रयोगशाला’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।
‘लोपाञ्जन’ लघुकथासङ्ग्रह, लघुकथाकार श्रीकृष्ण पौडेलको पहिलो लघुकथा कृति हो । त्यस्तै ‘प्रयोगशाला’ लघुकथासङ्ग्रह लघुकथाकार होम प्रसाद नेउपानेको पनि पहिलो लघुकथा कृति हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् आज परिचर्चा गरिएका पुस्तकहरूको सम्पादक समेत रहनुभएका वरिष्ठ समालोचक, साहित्यकार प्रा.डा.विदुर चालिसेले परिचर्चाकारज्यूले औल्याउनुभएका त्रुटिहरूको सन्दर्भमा बोल्दै ‘छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।’ उहाँले भन्नुभयो । साथै लघुकथाकार होम प्रसाद नेउपानेको लघुकथा कृति ‘प्रयोगशाला’को परिचर्चा गर्दै प्रा.डा. विदुर चालिसेले लघुकथाकार होम प्रसाद नेउपानेका लघुकथाहरू छोटा, सटिक र चोटिला रहेको उल्लेख गर्नुभयो । ‘उहाँका धेरै लघुकथाहरू समसामयिक परिवेशसँग मेल खाने हुनुका साथै व्यङ्ग्यात्मक शैलीमा रहेका छन् ।’ उहाँले भन्नुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा.कपिल लामिछानेले लघुकथाकार श्रीकृष्ण पौडेलको लघुकथा कृति ‘लोपाञ्जन’को परिचर्चा गर्दै सङ्ग्रहमा सङ्ग्रहित लघुकथाहरू सामाजिक, राजनैतिक लगायत विभिन्न परिवेशका रहेका उल्लेख गर्नुभयो ‘लघुकथाकार पौडेलले आफ्ना लघुकथाहरूमा नेपाली संस्कृति उजागर गर्नुभएको छ । साथै उहाँका लघुकथाहरूमा रैथाने शब्दहरूको प्रयोग धेरै पाइन्छ ।’ उहाँले भन्नुभयो । सङ्ग्रहमा रहेका सुधार गर्नुपर्ने कुराहरूको उल्लेख गर्दै परिचर्चाकार लामिछानेले केही लघुकथाहरूमा संवाद नभएकोमा संवाद राख्दा उचित हुने, लघुकथा लेख्दा एउटै कालमा लेख्नुपर्ने सुझाव दिनुभयो । साथै उहाँले शुद्धाशुद्धी तर्फ पनि ध्यान पुर्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा ‘लोपाञ्जन’ लघुकथासङ्ग्रहको कृतिकारको तर्फबाट बोल्नुहुँदै लघुकथाकार श्रीकृष्ण पौडेलले आफ्नो कृतिको शब्द शब्द केलाएर अत्यन्त मिहिन ढङ्गले समीक्षा गरिदिनुभएकोमा परिचर्चाकार प्रा.डा. कपिल लामिछानेज्यू, प्रमुख अतिथि प्रा.डा. विदुर चालिसेज्यू, अध्यक्षज्यू लगायत कार्यक्रममा उपस्थित भइदिनुहुने सबै महानुभावप्रति आभार प्रकाट गर्नुभयो ।
‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा.विदुर चालिसे, प्रा.डा. कपिल लामिछाने, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, अवधेश सिंह, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, डा.टिकाराम पोख्रेल, मुक्ति गौतम, कर्ण दयाल, श्रीकृष्ण पौडेल, विष्णुप्रसाद काफ्ले, लोकनाथ पुडासैनी, मुक्तिनाथ गौतम, मित्र उराठी गौतम, रोहिनी, प्रतीक्षा पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण आधिकारिक लघुकथा वाचक प्रतीक्षा पौडेलले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘हात्तीको दाँत’ र ‘विभीषिका’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि सुरु भएर ९ बजेसम्म चलेको थियोे ।
‘हात्तीको दाँत’ लघुकथासङ्ग्रह, हाल कीर्तिशेष रहनुभएका लघुकथाकार विजय चालिसेको र ‘विभीषिका’ लघुकथासङ्ग्रह, लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथासङ्ग्रह हो ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् परिचर्चित कृतिका सम्पादक समेत रहनुभएका वरिष्ठ साहित्यकार प्रा.डा. विदुर चालिसेले आज परिचर्चा गरिएका दुवै कृति अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । ‘आज यौटा अनौठो संयोग नै भनौँ परिचर्चा भएका दुवै कृतिका कृतिकारहरू मसँग अत्यन्तै नजिकबाट परिचित व्यक्तित्व हुनुहुन्छ । हात्तीको दाँतका स्रष्टा विजय चालिसे सहगोत्रीय दाजु र विभीषिकाकी स्रष्टा प्राध्यापन पेशाकी सहकर्मी हुनुहुन्छ।’ उहाँले भन्नुभयो । “साहित्यका विविध क्षेत्रमा सक्रिय रही अतुलनीय योगदान पुर्याउनुभएका लघुकथाकार विजय चालिसेको भौतिक शरीर हामी माझ नरहे पनि उहाँ नेपाली साहित्य आकाशमा सदा ध्रुवतारा भई चम्किरहनुहुनेछ ।”, भावुक हुँदै उहाँले बताउनुभयो । “गतवर्ष नमस्ते आधुनिक लघुकथा मञ्चले गरेको सम्मान एवम् रथारोहणबाट उहाँ अत्यन्त प्रभावित, खुसी हुनुहुन्थ्यो र जीवनकै ठूलो उपलब्धिको रूपमा लिनुभएको थियोे भन्दै प्रमुख अतिथि चालिसेले कृतिकार विजय बहुआयामिक व्यक्तित्व भएको कुरा पनि उल्लेख गर्नुभयो । लघुकथा सम्पादनको प्रसङ्ग उल्लेख गर्दै उहाँले लघुकथाकार चालिसेका लघुकथाहरू निकै खारिएका र पृथक शैलीका छन्, भन्नुभयो ।
लघुकथा लेखन, बालसाहित्य लगायत साहित्यका विभिन्न विधा र क्षेत्रमा कलम चलाउनुहुने विभीषिकाकी सर्जक वरिष्ठ साहित्यकार रञ्जुश्री पराजुली एक अब्बल साहित्य साधक भएको कुरा उल्लेख गर्दै प्रमुख अतिथि डा.चालिसेले उहाँका लघुकथामा जीवन र जगतका विभिन्न पाटाहरू भेटाउन सकिन्छ भन्नुभयो ।
दुवै कृतिको परिचर्चाको अभिभारा बोक्नुभएका वरिष्ठ साहित्यकार, समालोचक एवम् कार्यक्रमका विशिष्ट अतिथि गोपाल अश्कले पहिलो चरणमा कीर्तीशेष लघुकथाकार विजय चालिसेको लघुकथाकृति हात्तीको दाँतको बारेमा परिचर्चा गर्नुभएको थियोे । लघुकथाकार विजय चालिसेको लघुकथाहरूमा सामाजिक, राजनैतिक व्यङ्ग्य चेत पाइने उल्लेख गर्दै चालिसेका लघुकथाले घुमाउरो पाराले राजनैतिक, सांस्कृतिक, सामाजिक सुधारको आह्वान गरेका छन् ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथाकृति ‘विभीषिका’को परिचर्चा गर्नुहुँदै परिचर्चाकार गोपाल अश्कले ‘विभीषिका’ अर्थ ठूलो भय, त्रासको अवस्था भन्ने बुझाउछ भन्नुभयो । कृतिमा पराजुली आफैँ एक समीक्षकको रूपमा प्रस्तुत भएको उल्लेख गर्दै उहाँ आफैँमा एक समीक्षक, समालोचक पनि हो भन्नुभयो । उहाँ एक डायस्पोरिक स्रष्टा पनि हुनुहुन्छ, उहाँका लघुकथामा डायस्पोरिक सुगन्ध पाइन्छ । पराजुलीका लघुकथामा नेपाली समाज, संस्कृति, परम्परा, राजनीतिमा मौलाउँदै गएको विकृतिप्रति व्यङ्ग्य प्रहार भेटाउन सकिन्छ, उहाँले भन्नुभयो । हात्तीको दाँत लघुकथा सङ्ग्रह कृतिको कृतिकारको तर्फबाट किर्तीशेष लघुकथाकार विजय चालिसेका कनिष्ठ सुपुत्र आलोक चालिसेले र ‘विभीषिका’ लघुकथाकृतिका तर्फबाट कृतिकार रञ्जुश्री पराजुलीले परिचर्चा गरिदिनुहुने परिचर्चाकार, उपस्थित अतिथिहरू लगायत आयोजक संस्था नआलमप्रति यति राम्रो परिचर्चा कार्यक्रमका लागि हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभयो ।
‘लघुकथा वन्दना’को प्रशारणसँगै सुरु भएको कार्यक्रममा प्रा.डा. विदुर चालिसे, गोपाल अश्क, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, ध्रुव मधिकर्मी, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, म्यामराज राई, रामकुमार पण्डित, कीर्तिशेष विजय चालिसेका कनिष्ठ सुपुत्र आलोक चालिसे, इन्दिरा चापागाईं, मित्र उराठी गौतम, रमेन्द्र कोइराला, श्रीकृष्ण पौडेल, राजन ग्याल्दाङ ‘बुद्धिसिंह घले, कमल पौडेल, इन्दिरा पौडेल, लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेल र संस्थाकी आधिकारिक लघुकथा वाचिका इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘मारुनी’ र ‘चाक चारब्रा’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजेसम्म चलेको थियोे ।
‘मारुनी’ लघुकथासङ्ग्रह, लघुकथाकार राजन ग्याल्दाङ ‘बुद्धि सिङ’ घलेको र ‘चाक चारब्रा’ लघुकथासङ्ग्रह, लघुकथाकार मुक्ति गौतमको लघुकथासङ्ग्रह हो । यी दुवै लघुकथासङ्ग्रहहरू कृतिकारका पहिलो लघुकथा कृतिहरू हुन् ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार प्रा.डा. हरिप्रसाद सिलवालले नमस्ते आधुनिक लघुकथा मञ्चले फरक ढङ्गले परिचर्चा कार्यक्रम गरेकोप्रति मञ्चको सराहना गर्नुभयो । परिचर्चाकारले लघुकथाहरू वोधगम्य हुनुकासाथै समापन घोच्ने खालको, झसङ्ग बनाउने खालको हुनुपर्छ भन्ने परिचर्चाकार डा.शंकरप्रसाद गैरेको अभिव्यक्तिलाई समर्थन गर्दै लघुकथामा शब्द कति छ भन्नुभन्दा पनि लघुकथाले कस्तो सन्देश दिएको छ, कत्तिको झट्का हानेको छ भन्ने कुराले महत्त्व राख्ने बताउनुभयो । साथै उहाँले परिचर्चाकारहरूले दिनुभएको सुझावलाई ग्रहण गर्दै अगाडि बढ्न कृतिकारहरूमा अनुरोध पनि गर्नुभयो ।
राजन ग्याल्दाङ घलेको लघुकथा सङ्ग्रह ‘मारुनी’को परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, साहित्यकार ध्रुव मधिकर्मीले लघुकथा निश्चित विषय, निश्चित आयामको हुनुपर्छ, जसले लघुकथालाई राम्रो र मानक बनाउने बताउनुभयो । ‘लघुकथाकार घलेका लघुकथामा परदेशका विशेषत: जापानका चित्रहरू, हाम्रै समाजका चित्रहरू हेर्न र देख्न पाइन्छ’ उहाँले भन्नुभयो ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार मुक्ति गौतमको लघुकथा कृति ‘चाक चारब्रा’ बारे परिचर्चा गर्नुहुँदै परिचर्चाकार, वरिष्ठ साहित्यकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार गौतमको कृतिको शीर्षकले नै आफूमा कौतुहलता उत्पन्न गरेको बताउनु भयो । लघुकथासङ्ग्रहको शीर्षक ‘चाक चारब्रा’ले सुरुमा अर्थ नबुझेर र पछि बुझेपछि झनै आकर्षित गरेको बताउनु भयो । आजभोलि गाउँघरमा ‘खाना खानु भयो’ भनेर सोध्ने मान्छे र परिस्थिति दुवै नभएको उल्लेख गर्दै यसले पछिल्लो समयको गम्भीर कुरा उठाएको बताउनु भयो । गौतमका लघुकथामा आफू जन्मिएको समाज एवम् माटोको यथार्थ चित्रण पाइन्छ । कतिपय लघुकथाको शीर्षक उपयुक्त हुन नसकेको बताउँदै डा.गैरेले शुद्धता तर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ साहित्यकार, समालोचक एवम् उक्त कृतिहरूका सम्पादक डा.विदुर चालिसेले भन्नुभयो, “छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।”
परिचर्चा कार्यक्रममा कृतिकारद्वय राजन ग्याल्दाङ घले र मुक्ति गौतमले परिचर्चाकारज्यूहरू, नमस्ते आधुनिक लघुकथा मञ्च लगायत उपस्थित सबैप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभएको थियो ।
‘लघुकथा वन्दना’को प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा. हरिप्रसाद सिलवाल, कृष्णजी शर्मा, ध्रुव मधिकर्मी, डा.शंकरप्रसाद गैरे, डा.विदुर चालिसे, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, म्यामराज राई, डा.टिकाराम पोख्रेल, राजन घले, मुक्ति गौतम, लोकनाथ पुडासैनी, कमल पौडेल, इन्दिरा पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेल र संस्थाकी आधिकारिक लघुकथा वाचिका इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।
वसन्त अनुभव १० असार/चितवन लघुकथा विशिष्ट प्रतियोगिता-२०८१ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर असार १० गते प्रतियोगिताको नतिजा घोषणा गरेको हो ।
घोषित नतिजा अनुसार लघुकथाकार लोकनाथ पुडासैनीको लघुकथा ‘टिफिन’ प्रथम बन्न सफल भएको छ । उहाँ गण्डकी प्रदेशबाट सहभागी हुनुभएको थियोे । त्यस्तै लघुकथाकार मित्र उराठी गौतमको लघुकथा ‘आशीर्वाद’ले दोस्रो स्थान, लघुकथाकार तारानाथ पराजुलीको लघुकथा ‘समाचार’ले तेस्रो स्थान, लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा ‘गणतन्त्रको चोट’ र लघुकथाकार कुमार काफ्लेको लघुकथा ‘सम्पदा संरक्षण’ सान्त्वना स्थान प्राप्त गरेका छन् । उहाँहरूले क्रमशः लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशबाट प्रतिनिधित्व गर्नुभएको थियोे ।
विजयी लघुकथाकारहरूले पूर्व घोषित निर्णय अनुसार प्रमाणपत्र सहित प्रथमले रु. २५०००/-, द्वितीयले रु. २०,०००/-, तृतीयले रु. १५,०००/- र सान्त्वना स्थान प्राप्त दुईजनाले पाँच/पाँच हजार नगद प्राप्त गर्नुहुनेछ । साथै प्रतियोगिताको पहिलो र दोस्रो चरणमा विजयी सम्पूर्ण लघुकथाहरूलाई मञ्चको सातौँ वार्षिक स्मारिकामा समावेश गरिने आयोजकले जनाएको छ ।
आयोजक संस्था नमस्ते आधुनिक लघुकथा मञ्चले विजयी लघुकथा एवम् लघुकथाकारहरूमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दै विजयी लघुकथाकारहरूको पुरस्कार वि.सं. २०८२ सालमा संस्थाद्वारा राप्ती नगरपालिका, चितवनमा गरिने औपचारिक राष्ट्रिय कार्यक्रममा प्रदान गरिने जनाएको छ ।
लघुकथा विशिष्ट प्रतियोगिता, २०८१ दुई चरणमा सञ्चालन गरिएको थियोे । पहिलो चरणको प्रतियोगिता समूहगत (clusterwise) रूपमा मुलुकभित्र (नेपालका सातै प्रदेशका स्रष्टाहरूको सहभागिता सुनिश्चित हुने गरी) र मुलुकबाहिर (विश्वका जुनसुकै देशका नेपालीभाषी स्रष्टाहरूबाट सहभागिता सुनिश्चित हुने गरी) क्रमशः सञ्चालन गरिएको थियोे । यसरी समूहगत (clusterwise) रूपमा सञ्चालित प्रतियोगिताको निर्णायकज्यूहरूद्वारा मूल्याङ्कन गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने लघुकथाका सर्जकलाई पुरस्कार प्रदान गरिएको थियोे ।
त्यस्तै लघुकथा विशिष्ट प्रतियोगिता, २०८१ को दोस्रो चरणमा पहिलो चरणमा विजयी लघुकथाका सर्जकहरूलाई ‘मेरो विजयी लघुकथा, मेरो वाचन’ अन्तर्गत जुम हलमा कार्यक्रम सञ्चालन गरी वाचन गर्न लगाइएको थियोे । उक्त कार्यक्रम संस्थाद्वारा नियुक्त चार जना निर्णायकज्यूहरूले हेरेर/सुनेर र प्रथम चरणमा विजयी लघुकथाहरूको पुनर्मूल्याङ्कन गरेर प्रतियोगिताको अन्तिम नतिजा निकाल्नुभएको थियोे । जुन माथि उल्लेख गरिसकिएको छ ।