‘मारुनी’ र ‘चाक चारब्रा’को परिचर्चा कार्यक्रम सम्पन्न

  • १ भाद्र २०८२, आईतवार २०:१३ मा प्रकाशित
  • काठमाडौँ, साउन ३१ गते
    वसन्त अनुभव

    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘मारुनी’ र ‘चाक चारब्रा’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजेसम्म चलेको थियोे ।

    ‘मारुनी’ लघुकथासङ्ग्रह, लघुकथाकार राजन ग्याल्दाङ ‘बुद्धि सिङ’ घलेको र ‘चाक चारब्रा’ लघुकथासङ्ग्रह, लघुकथाकार मुक्ति गौतमको लघुकथासङ्ग्रह हो । यी दुवै लघुकथासङ्ग्रहहरू कृतिकारका पहिलो लघुकथा कृतिहरू हुन् ।

    परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार प्रा.डा. हरिप्रसाद सिलवालले नमस्ते आधुनिक लघुकथा मञ्चले फरक ढङ्गले परिचर्चा कार्यक्रम गरेकोप्रति मञ्चको सराहना गर्नुभयो । परिचर्चाकारले लघुकथाहरू वोधगम्य हुनुकासाथै समापन घोच्ने खालको, झसङ्ग बनाउने खालको हुनुपर्छ भन्ने परिचर्चाकार डा.शंकरप्रसाद गैरेको अभिव्यक्तिलाई समर्थन गर्दै लघुकथामा शब्द कति छ भन्नुभन्दा पनि लघुकथाले कस्तो सन्देश दिएको छ, कत्तिको झट्का हानेको छ भन्ने कुराले महत्त्व राख्ने बताउनुभयो ।
    साथै उहाँले परिचर्चाकारहरूले दिनुभएको सुझावलाई ग्रहण गर्दै अगाडि बढ्न कृतिकारहरूमा अनुरोध पनि गर्नुभयो ।

    राजन ग्याल्दाङ घलेको लघुकथा सङ्ग्रह ‘मारुनी’को परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, साहित्यकार ध्रुव मधिकर्मीले लघुकथा निश्चित विषय, निश्चित आयामको हुनुपर्छ, जसले लघुकथालाई राम्रो र मानक बनाउने बताउनुभयो । ‘लघुकथाकार घलेका लघुकथामा परदेशका विशेषत: जापानका चित्रहरू, हाम्रै समाजका चित्रहरू हेर्न र देख्न पाइन्छ’ उहाँले भन्नुभयो ।

    कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार मुक्ति गौतमको लघुकथा कृति ‘चाक चारब्रा’ बारे परिचर्चा गर्नुहुँदै परिचर्चाकार, वरिष्ठ साहित्यकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार गौतमको कृतिको शीर्षकले नै आफूमा कौतुहलता उत्पन्न गरेको बताउनु भयो । लघुकथासङ्ग्रहको शीर्षक ‘चाक चारब्रा’ले सुरुमा अर्थ नबुझेर र पछि बुझेपछि झनै आकर्षित गरेको बताउनु भयो । आजभोलि गाउँघरमा ‘खाना खानु भयो’ भनेर सोध्ने मान्छे र परिस्थिति दुवै नभएको उल्लेख गर्दै यसले पछिल्लो समयको गम्भीर कुरा उठाएको बताउनु भयो ।
    गौतमका लघुकथामा आफू जन्मिएको समाज एवम् माटोको यथार्थ चित्रण पाइन्छ । कतिपय लघुकथाको शीर्षक उपयुक्त हुन नसकेको बताउँदै डा.गैरेले शुद्धता तर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

    कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ साहित्यकार, समालोचक एवम् उक्त कृतिहरूका सम्पादक डा.विदुर चालिसेले भन्नुभयो, “छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्‍यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।”

    परिचर्चा कार्यक्रममा कृतिकारद्वय राजन ग्याल्दाङ घले र मुक्ति गौतमले परिचर्चाकारज्यूहरू, नमस्ते आधुनिक लघुकथा मञ्च लगायत उपस्थित सबैप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभएको थियो ।

    ‘लघुकथा वन्दना’को प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा. हरिप्रसाद सिलवाल, कृष्णजी शर्मा, ध्रुव मधिकर्मी, डा.शंकरप्रसाद गैरे, डा.विदुर चालिसे, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, म्यामराज राई, डा.टिकाराम पोख्रेल, राजन घले, मुक्ति गौतम, लोकनाथ पुडासैनी, कमल पौडेल, इन्दिरा पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेल र संस्थाकी आधिकारिक लघुकथा वाचिका इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।