कार्तिक १०, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका-८, खुरखुरेमा यही कार्तिक १० गते राष्ट्रिय विशिष्ट अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण समारोह-२०८२ भएको छ। वरिष्ठ साहित्यकार प्रा.डा. चूडामणि बन्धुकाे प्रमुख आतिथ्यमा प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. कपिल लामिछाने र भागीरथी श्रेष्ठ, वरिष्ठ गायिका तथा सङ्गीतकार लोचन भट्टराईलाई रथारोहण गराई भव्य सार्वजनिक अभिनन्दन गरियो । राप्ती नगरपालिकाका विभिन्न मार्ग हुँदै विभिन्न सांस्कृतिक समूहबाट बाजागाजा, नाचगान सहित नगर परिक्रमा गरी जनसमुदायबाट अभिनन्दन तथा सम्मान गरिएको हाे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष कृष्णजी शर्माकाे अध्यक्षता तथा आयुष बडाल र इन्दिरा पाैडेल प्रतीक्षाद्वारा सञ्चालित कार्यक्रममा मञ्चद्वारा पूर्व घोषित ‘आख्यान अनुसन्धान तथा समालोचना शीर्ष पुरुष-२०८२’ बाट वरिष्ठ साहित्यकार एवम् आख्यानकार प्रा.डा. दयाराम श्रेष्ठलाई अभिनन्दन गरिएको थियोे । त्यस्तै ‘लघुकथाश्री समालोचक सम्मान- २०८२’ बाट वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. कपिल लामिछानेलाई’ विशिष्ट संगीतश्री सम्मान- २०८२’ बाट वरिष्ठ गायक एवम् संगीतकार लोचन भट्टराईलाई र ‘विजय स्मृति अग्रज लघुकथा सम्मान-२०८२’ बाट वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठलाई सम्मान अर्पण गरिएको थियोे ।
साथै ‘लघुकथालय पुरस्कार- २०८२’ बाट ‘दुर्बिन’ लघुकथासङ्ग्रह कृतिका कृतिकार एवम् वरिष्ठ साहित्यकार लक्ष्मण अर्याल (चितवन)लाई, ‘वर्ष लघुकथा स्रष्टा सम्मान- २०८२’ बाट लघुकथाकार खगेन्द्र बस्याल (रुपन्देही)लाई, ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८२ बाट लघुकथाकारद्वय हिमा रोका ‘प्रतिज्ञा’ (सुर्खेत) र हेमराज अधिकारी (सिक्किम)लाई पुरस्कार एवम् सम्मान अर्पण गरिएको थियोे ।
साथै उक्त अवसरमा ‘लघुकथा विशिष्ट प्रतियोगिता- २०८१’ विजयी लघुकथाकारहरूलाई पुरस्कार, सम्मान एवम् प्रमाणपत्र समर्पण गरिएको थियो । पुरस्कृत हुनुहुनेमा लोकनाथ पुडासैनी (प्रथम), मित्र ‘उराठी’ गौतम (द्वितीय), तारानाथ पराजुली (तृतीय), लक्ष्मी रेग्मी खनाल (सान्त्वना) र कुमार काफ्ले (सान्त्वना) हुनुहुन्छ । साथै सोही अवसरमा प्रदेशगत प्रतियोगितामा विजयी हुनुहुने लघुकथाकारहरूलाई पनि पुरस्कार तथा सम्मान अर्पण गरिएको थियोे ।
मञ्चीय कार्यक्रम स्थानीय नन्दिनी स्टार पार्टी प्यालेसको सभाहलमा गरिएको हाे । साेही कार्यक्रमका बिचमा लघुकथा र यसको सौन्दर्य विषयमा प्रा.डा. कपिल लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभयो भने कार्यपत्रउपर प्रा.डा. विदुर चालिसे र डा. शङ्करप्रसाद गैरेले टिप्पणी प्रस्तुत गर्नुभयो । गाेष्ठीमा लघुकथाकाे स्वरूप र साैन्दर्यमा जाेड दिइयो । कार्यक्रमकाे तेस्रो चरणमा आयाेजित साङ्गीतिक साँझमा वरिष्ठ गायिका तथा सङ्गीतकार लोचन भट्टराईले दर्जनभन्दा बढी गीत प्रस्तुत गर्नुभयो ।
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘हात्तीको दाँत’ र ‘विभीषिका’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि सुरु भएर ९ बजेसम्म चलेको थियोे ।
‘हात्तीको दाँत’ लघुकथासङ्ग्रह, हाल कीर्तिशेष रहनुभएका लघुकथाकार विजय चालिसेको र ‘विभीषिका’ लघुकथासङ्ग्रह, लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथासङ्ग्रह हो ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् परिचर्चित कृतिका सम्पादक समेत रहनुभएका वरिष्ठ साहित्यकार प्रा.डा. विदुर चालिसेले आज परिचर्चा गरिएका दुवै कृति अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । ‘आज यौटा अनौठो संयोग नै भनौँ परिचर्चा भएका दुवै कृतिका कृतिकारहरू मसँग अत्यन्तै नजिकबाट परिचित व्यक्तित्व हुनुहुन्छ । हात्तीको दाँतका स्रष्टा विजय चालिसे सहगोत्रीय दाजु र विभीषिकाकी स्रष्टा प्राध्यापन पेशाकी सहकर्मी हुनुहुन्छ।’ उहाँले भन्नुभयो । “साहित्यका विविध क्षेत्रमा सक्रिय रही अतुलनीय योगदान पुर्याउनुभएका लघुकथाकार विजय चालिसेको भौतिक शरीर हामी माझ नरहे पनि उहाँ नेपाली साहित्य आकाशमा सदा ध्रुवतारा भई चम्किरहनुहुनेछ ।”, भावुक हुँदै उहाँले बताउनुभयो । “गतवर्ष नमस्ते आधुनिक लघुकथा मञ्चले गरेको सम्मान एवम् रथारोहणबाट उहाँ अत्यन्त प्रभावित, खुसी हुनुहुन्थ्यो र जीवनकै ठूलो उपलब्धिको रूपमा लिनुभएको थियोे भन्दै प्रमुख अतिथि चालिसेले कृतिकार विजय बहुआयामिक व्यक्तित्व भएको कुरा पनि उल्लेख गर्नुभयो । लघुकथा सम्पादनको प्रसङ्ग उल्लेख गर्दै उहाँले लघुकथाकार चालिसेका लघुकथाहरू निकै खारिएका र पृथक शैलीका छन्, भन्नुभयो ।
लघुकथा लेखन, बालसाहित्य लगायत साहित्यका विभिन्न विधा र क्षेत्रमा कलम चलाउनुहुने विभीषिकाकी सर्जक वरिष्ठ साहित्यकार रञ्जुश्री पराजुली एक अब्बल साहित्य साधक भएको कुरा उल्लेख गर्दै प्रमुख अतिथि डा.चालिसेले उहाँका लघुकथामा जीवन र जगतका विभिन्न पाटाहरू भेटाउन सकिन्छ भन्नुभयो ।
दुवै कृतिको परिचर्चाको अभिभारा बोक्नुभएका वरिष्ठ साहित्यकार, समालोचक एवम् कार्यक्रमका विशिष्ट अतिथि गोपाल अश्कले पहिलो चरणमा कीर्तीशेष लघुकथाकार विजय चालिसेको लघुकथाकृति हात्तीको दाँतको बारेमा परिचर्चा गर्नुभएको थियोे । लघुकथाकार विजय चालिसेको लघुकथाहरूमा सामाजिक, राजनैतिक व्यङ्ग्य चेत पाइने उल्लेख गर्दै चालिसेका लघुकथाले घुमाउरो पाराले राजनैतिक, सांस्कृतिक, सामाजिक सुधारको आह्वान गरेका छन् ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथाकृति ‘विभीषिका’को परिचर्चा गर्नुहुँदै परिचर्चाकार गोपाल अश्कले ‘विभीषिका’ अर्थ ठूलो भय, त्रासको अवस्था भन्ने बुझाउछ भन्नुभयो । कृतिमा पराजुली आफैँ एक समीक्षकको रूपमा प्रस्तुत भएको उल्लेख गर्दै उहाँ आफैँमा एक समीक्षक, समालोचक पनि हो भन्नुभयो । उहाँ एक डायस्पोरिक स्रष्टा पनि हुनुहुन्छ, उहाँका लघुकथामा डायस्पोरिक सुगन्ध पाइन्छ । पराजुलीका लघुकथामा नेपाली समाज, संस्कृति, परम्परा, राजनीतिमा मौलाउँदै गएको विकृतिप्रति व्यङ्ग्य प्रहार भेटाउन सकिन्छ, उहाँले भन्नुभयो । हात्तीको दाँत लघुकथा सङ्ग्रह कृतिको कृतिकारको तर्फबाट किर्तीशेष लघुकथाकार विजय चालिसेका कनिष्ठ सुपुत्र आलोक चालिसेले र ‘विभीषिका’ लघुकथाकृतिका तर्फबाट कृतिकार रञ्जुश्री पराजुलीले परिचर्चा गरिदिनुहुने परिचर्चाकार, उपस्थित अतिथिहरू लगायत आयोजक संस्था नआलमप्रति यति राम्रो परिचर्चा कार्यक्रमका लागि हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभयो ।
‘लघुकथा वन्दना’को प्रशारणसँगै सुरु भएको कार्यक्रममा प्रा.डा. विदुर चालिसे, गोपाल अश्क, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, ध्रुव मधिकर्मी, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, म्यामराज राई, रामकुमार पण्डित, कीर्तिशेष विजय चालिसेका कनिष्ठ सुपुत्र आलोक चालिसे, इन्दिरा चापागाईं, मित्र उराठी गौतम, रमेन्द्र कोइराला, श्रीकृष्ण पौडेल, राजन ग्याल्दाङ ‘बुद्धिसिंह घले, कमल पौडेल, इन्दिरा पौडेल, लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेल र संस्थाकी आधिकारिक लघुकथा वाचिका इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे ।