वरिष्ठ साहित्यकार प्रा.डा. कपिल लामिछानेलाई ‘लघुकथाश्री समालोचक सम्मान-२०८२’

  • ९ असार २०८२, सोमबार ०५:५७ मा प्रकाशित
  • वसन्त अनुभव
    ९ असार/चितवन

    नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर ‘”लघुकथाश्री समालोचक सम्मान-२०८२” घोषणा गरेको छ । उक्त सम्मान नेपाली आधुनिक लघुकथाको समीक्षा/समालोचनामा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका वरिष्ठ समीक्षक/समालोचक प्रा.डा. कपिल लामिछानेलाई प्रदान गर्न लागेको हो ।

    मञ्चले दिएको जानकारी अनुसार वि.सं. २०८२ सालमा राप्ती नगरपालिका, चितवनमा आयोजना गरिने संस्थाको औपचारिक कार्यक्रममा नगद रु ७,७७७/- र सम्मान पत्र सहित वरिष्ठ समीक्षक/समालोचक प्रा.डा. कपिल लामिछानेलाई सम्मान गरिनेछ ।

    “लघुकथाश्री समालोचक सम्मान-२०८२” बाट समानित हुनलाग्नुभएका प्रा. डा. कपिल लामिछानेको जन्म पिता शुकदेव र माता सुकुमायाका तेस्रो सन्तान एवम् ज्येष्ठ पुत्ररत्नको रूपमा कास्की पोखराको माझठानामा वि.स. २०१५ असोज २४ गते भएको थियोे । उहाँ पनि एक वरिष्ठ साहित्यकार एवम् विशिष्ट प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ । हाल उहाँ सिद्धार्थनगर, भैरहवामा बस्दै आउनुभएको छ । उहाँले पनि त्रि.वि.बाटै ‘नेपाली गाउँखाने कथा’मा विद्यावारिधि गर्नुभएको थियोे ।

    दर्जनौँ साहित्यिक, सामाजिक, सांस्कृतिक संघसंस्थामा आवद्ध प्रा.डा. लामिछानेका अन्यथा, जलमानव, बोन्साइ लगायत आधा दर्जन लघुकथा कृति, एक समालोचना सङ्ग्रह र करिब ५ दर्जन अन्य कृतिहरू प्रकाशित छन् । उहाँले गीता प्रथमा रजत पदक, महेन्द्र विद्याभूषण पदक ख, मकबुल अहमद लारी स्वर्ण पदक लगायत चार दर्जन बढी पदक, पुरस्कार, सम्मान प्राप्त गर्नुभएको छ ।