• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

अविरल वर्षा र हावाहुरीले मधेशका किसानको सपना भत्कायो

  • १७ कार्तिक २०८२, आईतवार ०८:५१ मा प्रकाशित

  • उमेश कुशवाहा, वीरगञ्ज (पर्सा)

    चार दिनदेखिको अविरल वर्षा र हावाहुरीले मधेश प्रदेशका अधिकांश जिल्लामा ठुलो असर पारेको छ। किसानले खेतमा लगाएका धानबाली र तरकारीमा व्यापक क्षति पुगेको छ।

    पाकिसकेको धान थन्क्याउन नपाउँदै खेतमै भासिएपछि किसानहरू निराश बनेका छन्। हावाहुरीसहितको लगातार वर्षाले खेतमा ढलेको धान सड्न थालेको र तरकारी बाली पनि नष्ट भएको किसानहरूको गुनासो छ।

    पर्साका किसान शिवचन्द्र महतो भाबुक हुँदै भन्छन् — “एक पटक लगाएको धानले बर्षभरि खान पुग्थ्यो, तर यो अविरल वर्षा र हावाहुरीले खेतमै धान सोत्तर भयो। अब हाम्रो मेहनत र आशा दुवै माटोमा मिल्यो।”

    कृषि प्राविधिकहरूका अनुसार वर्षा र हावाहुरीका कारण खेतमा पानी जम्दा धानको गोडा कुहिने र उत्पादनमा ह्रास हुने अनुमान गरिएको छ।

    स्थानीय प्रशासन र कृषि ज्ञान केन्द्र वीरगञ्जले क्षतिको विवरण संकलन थालिएको कृषि ज्ञान केन्द्र वीरगञ्जका अधिकृत रामजीवन ठाकुरले बताए।

    Posted in बिज्ञान/प्रविधि, मुख्य खबर

    अमेरिकामा भएको ‘स्टाइल आइकन’ 2025 को टप 8 मा नेपालका विशाल कार्की, टप वानमा पुग्दै

  • १७ कार्तिक २०८२, आईतवार ०१:३६ मा प्रकाशित
  • समर्पण रमजान

    अमेरिकामा आयोजना भईरहेको फेसन सम्बन्धी प्रतिस्पर्धा ‘स्टाइल आइकन’ कार्यक्रममा एक हजार जना प्रतिस्प्रधिहरुलाई पछि पार्दै सुप्रसिद्द गायक बिरही कार्किका छोरा विशाल कार्की टप 8 भित्र पर्न सफल भएका छन् ।

    उनी टप टेनबाट टप 8 मा परेपछि अब टप वानका लागि प्रस्तिस्पर्धा गरिरहेका छन् । नपालदेखि नै बाल्यकालदेखिनै म्युजिक भिडियोहरुमा खेलेका र अमेरिकामा पनि चलचित्र, तथा बिबिध विज्ञापनमा अभिनय गर्दै आईरहेका विशाल कार्की फेसन सम्बन्धी प्रतिस्पर्धा ‘स्टाइल आइकन’ का लागि छानिएका हुन् ।

    स्टाइल आइकनलाई एल्टन जोन एड्स फाउन्डेसनले आयोजना गरेको उक्त प्रतिस्पर्धा कार्यक्रममा कार्कीले ‘स्टाइल आइकन’ जिते भने मिलान फेसन विक २०२६ मा भर्साचेको शोको टिकट, फ्लन्ट म्यागजिनमा विशेष स्पटलाइट फिचर २० हजार डलर प्राप्त गर्नेछन् ।
    अमेरिकामा बिजनेशमा ब्याचलर डिग्री तेस्रो वर्षमा अध्ययन गर्दै आएका विशाल अमेरिकन आर्मीमा समेत काम गरिसकेका छन् । नेपालमा छँदादेखि नै स्कुल टप विद्यार्थीका रुपमा अध्ययन गरेका उनले अमेरिका गएपछि पनि पढाइमा टप नै छन् ।

    अहिले भोटिङ खुलिसकेको छ उहाँको भोटिङको लागि तलको लिङ्कबाट गर्न सकिने र नेपालको सानलाई बिश्वमा चिनाउनका लागि पनि बिशाल कार्किलाई भोट गर्न उहाँका बुबा बिरहि कार्किले अपिल गरेका छन् ।

    for vote click : https://styleicon.org/2025/bishal-karki

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, लोकप्रिय

    द्वन्द्वकालमा ध्वस्त चाकरचौडा प्रहरी भवन अझै जीर्ण, भन्सार सहयोगीले सञ्चालन गर्दै ।।

  • १६ कार्तिक २०८२, शनिबार २०:४१ मा प्रकाशित
  • कपिलवस्तु — भारतसँगको सीमाक्षेत्रमा पर्ने मायादेवी गाउँपालिका–४ चाकरचौडा हाल सुरक्षा र प्रशासनिक दुवै दृष्टिले चुनौतीमा परेको छ ।
    द्वन्द्वकालमा माओवादीले बम आक्रमण गरी ध्वस्त पारेको इलाका प्रहरी कार्यालय आजसम्म जीर्ण अवस्थामा नै छ । शान्ति प्रक्रियापछि नेपाल प्रहरीले सोही भवनमा अस्थायी रूपमा काम थाले पनि पूर्ण मर्मत र पुनर्निर्माण हुन सकेको छैन ।

    भवनको छत चुहिने, ढोका–झ्याल कुहिने र शौचालयको अभावले प्रहरीहरू कठिन परिस्थितिमा कार्यरत छन् । अस्थायी बोराले छोपिएको शौचालय प्रयोग गर्न बाध्य छन् । सीमा क्षेत्रमा प्रहरीको लागि चेकिङ बिट नहुनुले सुरक्षा व्यवस्थापनमा चुनौती थपेको छ ।

    त्यसैगरी, स्वागत गेटमा अस्थायी आल्मुनियमको मध्यमबाट बस्ने व्यवस्था गरिएको भए पनि पर्याप्त बस्ने ठाउँ नहुँदा प्रहरी र कर्मचारीहरू कठिन परिस्थितिमा छन् ।

    सोही क्षेत्रको चाकरचौडा छोटी भन्सार कार्यालय पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । भारतको अलिगढवामा कस्टम नहुँदा आयात–निर्यात कार्य अव्यवस्थित भएको छ । नेपालतर्फ भन्सार सञ्चालनको जिम्मेवारी सुठौलीलाई भए पनि, कार्यालय सहयोगीको माध्यमबाट दैनिक सञ्चालन भइरहेको छ ।

    मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन खानले सीमाक्षेत्रका यी समस्या समाधानका लागि पालिकाले संघीय तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गरिरहेको बताए ।
    उनका अनुसार, “प्रहरी कार्यालयको भवन मर्मत, भन्सार पूर्ण रूपमा सञ्चालन र सीमाक्षेत्रमा स्थायी बसाइव्यवस्था सुनिश्चित गर्न हामी पहल गरिरहेका छौं ।”

    अध्यक्ष खानले थपे, “सीमाक्षेत्रमा जडान गरिएका सिसीटिभी क्यामेरा अहिले बिग्रिएका छन्, त्यसको मर्मतका लागि पालिकाले पहल गरिसकेको छ र छिट्टै कार्यान्वयनमा ल्याइनेछ ।”

    सोही पालिकाको ४ नम्बर वडाअध्यक्ष अशफाक अहमद खानले पनि सरोकारवालाहरूले संघीय सरकारलाई तत्काल ध्यानाकर्षण गराउँदै सीमाक्षेत्रमा पूर्वाधार सुधार, सिसीटिभी मर्मत, भन्सार सुदृढीकरण, चेकिङ बिट र स्थायी प्रहरी बसाइव्यवस्था निर्माण गर्न माग गरेका छन् ।

    Posted in मुख्य खबर, राजनीति

    अध्यक्ष वलिउद्दिन खानको नेतृत्वमा मायादेवी गाउँपालिका विकास र सुशासनको उदाहरणीय मोडेलतर्फ ।।

  • १६ कार्तिक २०८२, शनिबार ००:०४ मा प्रकाशित
  • कपिलवस्तु –
    मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दिन खान आफ्नो ईमानदार र सोझो स्वभावका कारण स्थानीय तहमा उदाहरणीय नेतृत्वकर्ताका रूपमा परिचित छन् । गाउँपालिकाको समग्र विकास, सुशासन र जनसहभागितामा उनले देखाएको सक्रियता र प्रतिबद्धताले स्थानीयवासीहरूमा विश्वास जागेको हो ।

    अध्यक्ष खानको नेतृत्वमा गाउँपालिकाले पछिल्ला वर्षहरूमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । विकासका योजनाहरूमा पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई प्राथमिकतामा दिइँदै आएको हुन् । स्वास्थ्य सेवा सुदृढीकरणका लागि गाउँपालिकाले वडा नं ७ हरनामपुरमा १५ शैयाको आधुनिक अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । छिट्टै सञ्चालनमा आउने उक्त अस्पतालले स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा ल्याउनेछ । साथै, प्रत्येक वडामा एक-एकवटा नयाँ एम्बुलेन्स उपलब्ध गराइएको छ, जसले आपतकालीन अवस्थामा जनजीवन सुरक्षित गर्न सहजतामा ल्याएको छ । अध्यक्ष खानको सक्रियतामा गाउँपालिकाले सडक विस्तार, खानेपानी आयोजना, विद्यालय सुधार तथा सार्वजनिक भवन निर्माणमा प्राथमिकता दिएको छ ।

    जापान सरकारको सहयोग र युनाइटेड मिसन टु नेपालको पहलमा अहिले गाउँपालिकामा आधुनिक दमकल पनि आइसकेको छ । यसले आकस्मिक आगलागी नियन्त्रणमा सहजता ल्याउने र जनधनको सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । अध्यक्ष खानका अनुसार गाउँपालिकाको विकास भनेको जनताको सशक्तीकरण हो । योजना निर्माणदेखि कार्यान्वयनसम्म नागरिकको सुझावलाई प्राथमिकता दिइएको छ। स्रोतसाधन व्यवस्थापन, कर संकलनको पारदर्शिता र बजेटको उचित उपयोगमा गाउँपालिकाले उदाहरण प्रस्तुत गरेको छ ।

    यसले ‘जनताको कर, जनताको विकास’ भन्ने सिद्धान्तलाई व्यवहारमा उतारेको छ । स्थानीय बासिन्दाहरूका अनुसार अध्यक्ष खान ईमानदार, मिलनसार र जिम्मेवार नेताका रूपमा परिचित छन् । उनका सहकर्मीहरू भन्छन्— “उनको सरल स्वभावले गाउँपालिकाभित्र सामाजिक सद्भाव, सहअस्तित्व र सहकार्य कायम राख्न मद्दत गरेको छ।”वलिउद्दिन खानको नेतृत्वले मायादेवी गाउँपालिकालाई स्थानीय विकास, सुशासन र जनसहभागिताको उदाहरणीय मोडेलका रूपमा उभ्याउँदै लैजाने विश्वास जनाइएको छ । जनताको साथ र विश्वास नै उनको सबैभन्दा ठूलो शक्ति बनेको छ ।

    Posted in मुख्य खबर, राजनीति

    चितवनमा विशिष्ट अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण समारोह

  • १४ कार्तिक २०८२, बिहीबार ०८:४६ मा प्रकाशित
  • कार्तिक १०, चितवन ।
    पूर्वी चितवनको राप्ती नगरपालिका-८, खुरखुरेमा यही कार्तिक १० गते राष्ट्रिय विशिष्ट अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण समारोह-२०८२ भएको छ।
    वरिष्ठ साहित्यकार प्रा.डा. चूडामणि बन्धुकाे प्रमुख आतिथ्यमा प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. कपिल लामिछाने र भागीरथी श्रेष्ठ, वरिष्ठ गायिका तथा सङ्गीतकार लोचन भट्टराईलाई रथारोहण गराई भव्य सार्वजनिक अभिनन्दन गरियो । राप्ती नगरपालिकाका विभिन्न मार्ग हुँदै विभिन्न सांस्कृतिक समूहबाट बाजागाजा, नाचगान सहित नगर परिक्रमा गरी जनसमुदायबाट अभिनन्दन तथा सम्मान गरिएको हाे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष कृष्णजी शर्माकाे अध्यक्षता तथा आयुष बडाल र इन्दिरा पाैडेल प्रतीक्षाद्वारा सञ्चालित कार्यक्रममा मञ्चद्वारा पूर्व घोषित ‘आख्यान अनुसन्धान तथा समालोचना शीर्ष पुरुष-२०८२’ बाट वरिष्ठ साहित्यकार एवम् आख्यानकार प्रा.डा. दयाराम श्रेष्ठलाई अभिनन्दन गरिएको थियोे । त्यस्तै ‘लघुकथाश्री समालोचक सम्मान- २०८२’ बाट वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. कपिल लामिछानेलाई’ विशिष्ट संगीतश्री सम्मान- २०८२’ बाट वरिष्ठ गायक एवम् संगीतकार लोचन भट्टराईलाई र ‘विजय स्मृति अग्रज लघुकथा सम्मान-२०८२’ बाट वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठलाई सम्मान अर्पण गरिएको थियोे ।

    साथै ‘लघुकथालय पुरस्कार- २०८२’ बाट ‘दुर्बिन’ लघुकथासङ्ग्रह कृतिका कृतिकार एवम् वरिष्ठ साहित्यकार लक्ष्मण अर्याल (चितवन)लाई,
    ‘वर्ष लघुकथा स्रष्टा सम्मान- २०८२’ बाट लघुकथाकार खगेन्द्र बस्याल (रुपन्देही)लाई, ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८२ बाट लघुकथाकारद्वय हिमा रोका ‘प्रतिज्ञा’ (सुर्खेत) र हेमराज अधिकारी (सिक्किम)लाई पुरस्कार एवम् सम्मान अर्पण गरिएको थियोे ।

    साथै उक्त अवसरमा ‘लघुकथा विशिष्ट प्रतियोगिता- २०८१’ विजयी लघुकथाकारहरूलाई पुरस्कार, सम्मान एवम् प्रमाणपत्र समर्पण गरिएको थियो । पुरस्कृत हुनुहुनेमा लोकनाथ पुडासैनी (प्रथम), मित्र ‘उराठी’ गौतम (द्वितीय), तारानाथ पराजुली (तृतीय), लक्ष्मी रेग्मी खनाल (सान्त्वना) र कुमार काफ्ले (सान्त्वना) हुनुहुन्छ । साथै सोही अवसरमा प्रदेशगत प्रतियोगितामा विजयी हुनुहुने लघुकथाकारहरूलाई पनि पुरस्कार तथा सम्मान अर्पण गरिएको थियोे ।

    मञ्चीय कार्यक्रम स्थानीय नन्दिनी स्टार पार्टी प्यालेसको सभाहलमा गरिएको हाे । साेही कार्यक्रमका बिचमा लघुकथा र यसको सौन्दर्य विषयमा प्रा.डा. कपिल लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभयो भने कार्यपत्रउपर प्रा.डा. विदुर चालिसे र डा. शङ्करप्रसाद गैरेले टिप्पणी प्रस्तुत गर्नुभयो । गाेष्ठीमा लघुकथाकाे स्वरूप र साैन्दर्यमा जाेड दिइयो ।
    कार्यक्रमकाे तेस्रो चरणमा आयाेजित साङ्गीतिक साँझमा वरिष्ठ गायिका तथा सङ्गीतकार लोचन भट्टराईले दर्जनभन्दा बढी गीत प्रस्तुत गर्नुभयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, लघुकथा समाचार, वसन्त अनुभव

    चन्द्रगढी खानेपानीमा २ दशकीय किल्ला तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीको प्यानल विजयी

  • १३ कार्तिक २०८२, बुधबार ११:२८ मा प्रकाशित
  • संस्थागत राजनीतिलाई जनताको ‘घण्टी’ मार्फत कडा चुनौती; सभापतिमा जगत प्रसाद तिवारी ४२३ मतसहित निर्वाचित

    चन्द्रगढी, २०८२ कार्तिक १२ गते – झापाको चन्द्रगढी खानेपानी संस्थानको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्यानलले दुई दशकभन्दा लामो समयदेखि स्थापित रहेको CPN-UML र नेपाली कांग्रेसको गठबन्धनको राजनीतिक विरासतलाई पूर्ण रूपमा भत्काएको छ। यो निर्वाचनले स्थानीय तहमा समेत ‘घण्टी’ प्रतिको जनआकर्षण र परिवर्तनको चाहना कति बलियो छ भन्ने स्पष्ट सन्देश दिएको छ। रास्वपा ले सभापतिसहित दुई तिहाइ बहुमत पदमा ऐतिहासिक विजय प्राप्त गरेको हो।

    मतदानको विस्तृत विवरण र रास्वपाको वर्चस्व

    संस्थानको निर्वाचन परिणामअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका श्री जगत प्रसाद तिवारी ४२३ मत प्राप्त गरी सभापति पदमा निर्वाचित हुनुभएको छ। गठबन्धनका उम्मेदवारमाथि प्राप्त यो भारी मतान्तरले रास्वपा को विजयको आधारलाई मजबुत बनाएको छ।

    मुख्य पदाधिकारीमा रास्वपा को पूर्ण वर्चस्व रहेको छ। उपसभापतिमा श्री घनश्याम अधिकारी ले ३३६ मत प्राप्त गर्नुभएको छ भने, सह-सचिव पदमा श्रीमती बिमला पौडेल दाहाल ले ४१३ मत प्राप्त गरी जित दर्ता गराउनुभयो। यस्तै, कोषाध्यक्षमा श्रीमती कल्पना पौडेल २७१ मतसहित विजयी हुनुभएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य सदस्य उम्मेदवारहरूले पनि गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै सफलता प्राप्त गरेका छन्। यसरी संस्थानको सञ्चालक समितिमा रास्वपा ले दुई तिहाइ बहुमत कायम गर्दै आफ्नो वर्चस्व स्थापित गरेको छ।

    निर्वाचन विवरण र ‘परिवर्तनको चाहना’

    यस निर्वाचनमा कुल मतदाता ८९५ रहेकोमा जम्मा ७८९ मत खसेको थियो, जसले मतदाताको उत्साहजनक सहभागितालाई देखाउँछ।

    यो सम्पूर्ण जानकारी सार्वजनिक गर्दै भद्रपुर पालिका नगर सभापति श्री प्रेम न्यौपाने ले विजयलाई सामान्य रूपमा लिन नहुने बताउनुभयो। उहाँले भन्नुभयो, “यो जित सामान्य जित होइन, देश अब घण्टीमय हुँदैछ भन्ने स्पष्ट संकेत हो। अब जनताले पुरानो राजनीतिक नेतृत्वबाट परिवर्तन चाहेका छन्। जनताको विश्वास छ कि घण्टीका उम्मेदवारले मात्र व्याप्त भ्रष्टाचार र अनियमितता रोक्न सक्छन्, त्यसैले हामीले यो ऐतिहासिक सफलता प्राप्त गर्यौँ।”

    गठबन्धनको सान्त्वना: सचिवमा मात्र सीमित

    लामो समयदेखि संस्थानको नेतृत्वमा रहेको CPN-UML र नेपाली कांग्रेसको गठबन्धन यसपटक एक पदमा खुम्चिएको छ। गठबन्धनले केवल सचिव पदमा मात्रै झिनो मतान्तरले विजय हासिल गर्न सफल भयो। गठबन्धनको लागि यो परिणाम संस्थागत रूपमा गम्भीर समीक्षाको विषय बनेको छ।

    नयाँ नेतृत्वका चुनौती र अपेक्षा

    यो निर्वाचन परिणामले उपभोक्ता तथा मतदाताहरू लामो समयदेखि संस्थागत हुँदै आएको पुरानो राजनीतिक नेतृत्वको सट्टा नयाँ विकल्प खोजेको स्पष्ट संकेत दिएको छ। विशेषगरी, खानेपानी जस्तो अत्यावश्यक सेवा दिने संस्थामा पारदर्शिता र प्रभावकारी सेवा प्रवाहको आवश्यकतालाई मतदाताले प्राथमिकता दिएको देखिन्छ।

    विजयी नेतृत्वले अब २ दशकदेखिको परम्परालाई तोडेर संस्थानको सेवा प्रवाह, वित्तीय पारदर्शिता, र उपभोक्ताको गुनासो सम्बोधनमा तत्काल सुधार ल्याउने चुनौती र अवसर दुवै प्राप्त गरेको छ। चन्द्रगढीका बासिन्दाले अब नव-निर्वाचित पदाधिकारीहरूबाट स्वच्छ खानेपानीको निरन्तर उपलब्धता र संस्थानको कुशल व्यवस्थापनको उच्च अपेक्षा राखेका छन्।

    Posted in मुख्य खबर, राजनीति

    “लोकतन्त्रको मुनि, आदेशको शासन?”

  • ११ कार्तिक २०८२, सोमबार १३:२५ मा प्रकाशित
  • — राजनीतिक संकट र संस्थागत मर्यादाको प्रश्न

    ✍️तुल्सीराम आचार्य

    काठमाडौं ।

    हालै देशभर चर्चित “२३ र २४ गतेका घटना” लाई लिएर सामाजिक सञ्जालमा तीव्र बहस चलिरहेको छ। कतिपयले “२३ गते गलत” त कोहीले “२४ गते गलत” भन्दै आफ्नो पक्ष पुष्टि गर्न खोजिरहेका छन्। तर यी दुवै घटनाबाट देशले पाएको क्षति — १९ जनाको ज्यान र सार्वजनिक सम्पत्तिको विनाश — कुनै पनि अर्थमा औचित्यपूर्ण ठहरिन सक्दैन।

    २३ गतेका घटनामा निर्दोष युवाहरूले ज्यान गुमाउनु नैतिक र राजनीतिक दुवै दृष्टिले गम्भीर विषय हो। त्यसका लागि तत्कालीन राज्यसत्ता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उत्तरदायी ठहरिन सक्छ, यद्यपि यो निष्कर्ष अनुसन्धान र समयसापेक्ष प्रतिवेदनले दिनेछ। तर यसका साथै, ती युवाहरूलाई उक्साउने, तोडफोडमा संलग्न गराउने, संसद भवनमा प्रवेश गराई आगजनी र विध्वंसकारी गतिविधिमा संलग्न गराउनेहरू नै सबैभन्दा ठूला दोषी हुन्।

    २४ गतेका घटनाहरूमा देखिएको अराजकता, लुटपाट र हिंसक गतिविधि कुनै पनि दृष्टिले क्षम्य हुन सक्दैन। ती कार्यमा संलग्नहरूलाई देशद्रोही, अराजकतावादी र गुण्डागर्दी प्रवृत्तिका व्यक्ति मान्न कुनै द्विविधा रहँदैन।

    तर सबैभन्दा चिन्ताजनक पक्ष भनेको देशको उच्च सुरक्षा संयन्त्रका प्रमुख स्वयंले प्रधानमन्त्रीलाई नै “हामी तपाईंलाई सुरक्षा दिन सक्दैनौं, तत्काल राजीनामा दिनुहोस्” भन्ने आशय प्रकट गर्नु हो। विधि र पद्धतिमार्फत स्थापित प्रधानमन्त्रीविरुद्ध यस्तो अभिव्यक्ति आउनु लोकतान्त्रिक प्रणालीकै आधारभूत मूल्यमा प्रश्न उठाउने घटना हो।

    यदि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हाम्रा मनपर्ने पात्र होइनन् भनेर मानौं, र त्यस घटनाले हाम्रो भावनालाई सन्तुष्ट गर्‍यो भने पनि—भोलि हाम्रै मनपर्ने प्रधानमन्त्रीविरुद्ध त्यस्तै आदेश जारी भए भने के हामी त्यसलाई पनि स्वीकार गर्न तयार हुनेछौं?

    यो प्रश्न केवल आजका पात्रहरूसँग सम्बन्धित छैन; यो देशको लोकतान्त्रिक संरचना, राज्यसंस्थाको मर्यादा र भविष्यको राजनीतिक दिशासँग जोडिएको गम्भीर चेतावनी हो।

    Posted in मुख्य खबर, राजनीति

    मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु !

  • ८ कार्तिक २०८२, शुक्रबार २३:३० मा प्रकाशित
  • वालिङ (स्याङ्जा)। आज पुतलीबजार नगरपालिका–१४ आमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा सोही वडाको लामागे लम्सालडाँडाका ४५ वर्षीय माधव लम्साल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल नेपालीले जानकारी दिए।

    पुतलीखेत–सतौँ जोड्ने भित्री पक्की सडकखण्डमा लु५९प ३७९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। सातौँबाट पुतलीखेततर्फ आउने क्रममा ओरालो सडकबाट मोटरसाइकल अनियन्त्रित भई झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

    दुर्घटना परी गम्भीर घाइते भएका लम्साललाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पु्र्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक लम्साल हाल राष्ट्रिय कृषि परियोजना एकाइ कार्यालय पोखराको कार्यालय प्रमुख थिए।

    Posted in मुख्य खबर, समाज

    सिर्सिया नदी प्रदूषित: चोर्नीस्थित उद्योगका प्रबन्धकमाथि मोबिल छ्यापी विरोध

  • ८ कार्तिक २०८२, शुक्रबार २१:१३ मा प्रकाशित

  • वीरगञ्ज । छठ पर्व नजिकिँदै गर्दा सिर्सिया नदी प्रदूषित भएको भन्दै वीरगञ्ज–३२ चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रालिका प्रबन्धकमाथि स्थानीयले मोबिल छ्यापी विरोध प्रदर्शन गरेका छन् ।

    स्थानीयका अनुसार ‘म्याक्सोल ल्युब्रिकेन्ट’ उत्पादनका क्रममा प्रयोग भएका रासायनिक फोहोर पदार्थ नदीमा मिसाउँदा पानी दुर्गन्धित बनेको छ ।

    लामो समयदेखि विरोध गर्दै आएका स्थानीयहरूले माग पूरा नभएपछि शुक्रबार कम्पनी परिसरमै प्रवेश गरी आक्रोश पोखेका थिए ।

    घटनापछि प्रहरी पुगेको र स्थिति नियन्त्रणमा लिइएको छ । स्थानीयहरूले प्रदूषण रोक्न र कम्पनीमाथि कारबाही गर्न माग गरेका छन् ।

    Posted in मुख्य खबर

    वरिष्ठ गायिका एवम् संगीतकार लोचन भट्टराईलाई ‘विशिष्ट संगीतश्री सम्मान- २०८२’ प्रदान गरिने

  • ४ कार्तिक २०८२, सोमबार ०५:५६ मा प्रकाशित
  • वसन्त अनुभव
    नमस्ते आधुनिक लघुकथा मञ्चले वरिष्ठ गायिका एवम् संगीतकार लोचन भट्टराईलाई ‘विशिष्ट संगीतश्री सम्मान- २०८२’ प्रदान गर्ने भएको छ । मञ्चको मिति २०८२ साल साउन २४ गते बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको थियोे ।

    नेपाली लोक, आधुनिक, चलचित्र लगायत विभिन्न भाषाभाषीका गीत गायनका साथै नेपाली पद्य साहित्यमा संगीत र स्वरका माध्यमले दिनुभएको विशिष्ट योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गर्न लागिएको मञ्चले जनाएको छ ।

    आगामी कार्तिक १० गते मञ्चले चितवनमा गर्ने ‘राष्ट्रिय विशिष्ट अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण समारोहमा नगद रु. ११,१११/- (रुपैयाँ एघार हजार एकसय एघार) पुरस्कार रकमसहित ताम्रपत्रद्वारा सम्मान गरिने मञ्चले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, लघुकथा, वसन्त अनुभव

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P