• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

मायादेवी गाउँपालिकाकी दुई वर्षीया मन्शा ओझा बेपत्ता, प्रहरीको खोजी जारी

  • २३ कार्तिक २०८२, शनिबार १७:५० मा प्रकाशित
  • कपिलवस्तु । मायादेवी गाउँपालिका–८ अमाहवा घर भई हाल तौलिहवा–भैरहवा सडक खण्ड अन्तर्गत पकडी चौकदेखि करिब ५०० मिटर नजिकै श्रीमती र दुई बच्चासहित डेरा लिएर बस्दै आएका अमित ओझाको दुई वर्षीया छोरी मन्शा ओझा आज बिहान बेपत्ता भएकी छिन् ।

    बिहान करिब ८ बजे घर अगाडि खेल्दै गरेकी मन्शा अचानक बेपत्ता भएको परिवारले जनाएको छ । बालिका बेपत्ताको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पकडीका निरीक्षक सुभाष खतिवडाको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयवासीले संयुक्त रूपमा घर वरिपरि, नजिकैको खोला–नाला र आसपास क्षेत्रमा खोजी अभियान थालेका थिए ।

    प्रारम्भिक खोजीमा कुनै सुराक नपाएपछि जिल्ला प्रहरी कार्यालयबाट समेत थप टोली खटाइएको प्रहरीले जनाएको छ । साथै, घर वरिपरि र सडक क्षेत्रमा रहेका सिसिटिभी फुटेज पनि प्रहरीले जाँच गरिरहेको छ, तर अहिलेसम्म उपयोगी जानकारी फेला परेको छैन ।

    प्रहरीले बालिकाको खोजीमा सहयोग गर्न स्थानीयवासी र सर्वसाधारणलाई आग्रह गर्दै जोसुकैले पनि कुनै जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

    Posted in Uncategorized

    प्रहरी सहायक हवल्दार यादवको मृत्यु, अर्को व्यक्ति घाइते

  • २२ कार्तिक २०८२, शुक्रबार १६:४६ मा प्रकाशित
  • कपिलवस्तु जिल्लाको सुद्धोधन गाउँपालिका–३ मा शुक्रबार दिउँसो दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ भने अर्को व्यक्ति गम्भीर घाइते भएका छन् । गाउँपालिका कार्यालय नजिकै लु ८३ प ७६९२ नम्बरको मोटरसाइकल र अर्को मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । सो दुर्घटनामा लु ८३ प ७६९२ नम्बरको मोटरसाइकल चालक प्रहरी सहायक हवल्दार राम बेलास यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोपवा, कपिलवस्तुमा कार्यरत यादव बिदा सकाएर अफिसतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
    मृतक यादवको घर रोहिणी गाउँपालिका–टिकरमा रहेको बुझिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्यक्तिलाई उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ । दुर्घटनामा संलग्न अर्को मोटरसाइकल घटनास्थलबाट फरार भए पनि, सो पत्ता नलागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    Posted in Uncategorized

    शिवबलवामा प्रहरीले अबैध मल र गहुँको ब्यू बरामद

  • २१ कार्तिक २०८२, बिहीबार १७:५२ मा प्रकाशित
  • कपिलवस्तु —
    शुद्धोधन गाउँपालिका–५, शिवबलवास्थित भन्सार कार्यालयको पछाडिपट्टि रहेको एक घरमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा अबैध सामान बरामद गरेको छ ।

    ईलाका प्रहरी कार्यालय पकडीको टोलीले २० केजीका ३३ बल्टिन जैविक मिस्कड कम्पोजिट मल र ४० केजीका २७ बोरा गहुँको ब्यू नियन्त्रणमा लिएको हो ।

    प्रहरी निरीक्षक सुभाष खतीवडाको नेतृत्वमा गएको टोलीले स्थानीयबाट प्राप्त गोप्य सूचनाका आधारमा उक्त घरमा छापा मारेको थियो ।

    स्थानीयवासीका अनुसार सीमा प्रहरी चौकीका सुरक्षाकर्मी र सशस्त्र प्रहरी बल शिवबलवाको मिलेमतोमा यस्ता सामानहरू लामो समयदेखि भण्डारण हुँदै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकाय २४ सै घण्टा सिमामा तैनाथ रहँदा पनि यति ठूलो मात्रामा सामान भित्रिनु प्रश्न उठाउने खालको भएको स्थानीयले बताएका छन् ।

    प्रहरी चौकीदेखि करिब ३०० मिटर टाढा यति धेरै मात्रामा मल र ब्यू भण्डारण हुनु आफैंमा शंकास्पद विषय हो, एक स्थानीयले भने ।

    बरामद गरिएको सामान अहिले सुठौली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । यद्यपि, उक्त सामान कसको स्वामित्वमा रहेको हो भन्नेबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

    Posted in Uncategorized

    रामघाट मेलामा श्रद्धा, व्यवस्थापन सुधारको माग

  • २० कार्तिक २०८२, बुधबार १७:०६ मा प्रकाशित
  • कपिलवस्तु — कपिलवस्तुको ऐतिहासिक रामघाट मेलामा यस वर्ष करिब आठ हजार भक्तजन पुगेका छन् । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा बुधबार लाग्ने मेला भर्न मंगलबार रातिदेखि नै भक्तजनहरू वाणगंगा नदी किनारमा पुगेका थिए ।

    त्रेतायुगमा भगवान् रामले प्यास मेटाउन वाण हानेर पानी निकालेको धार्मिक किम्बदन्तीले प्रसिद्ध यो स्थलमा स्नान, पूजापाठ र गौदान गर्ने परम्परा रहँदै आएको छ । भारतको नौगढ, तुल्सीपुर, बासी, अलीगढवा तथा छिमेकी रुपन्देही, दाङ र नवलपरासीबाट समेत भक्तजन आएका थिए ।

    रातभर भजन–कीर्तन, प्रवचन र भागवत पाठमा सहभागी भक्तजनहरूले बुधबार बिहान स्नान गरी दान र पूजापाठ गरेका थिए ।

    मेलामा भीडभाड बढेसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीले हिजो रातिदेखि नै मेला क्षेत्रमा खटिएर सुरक्षा व्यवस्था सुदृढ बनाएका छन् । भक्तजनहरूको भीडलाई सहज बनाउन ट्राफिक प्रहरीमार्फत यातायात व्यवस्थापन पनि गरिएको थियो ।

    तर श्रद्धा र आस्थाको यो मेलामा पार्किङ शुल्कको मनपरी असुलीले धेरै भक्तजनलाई असन्तुष्ट बनाएको छ । भक्तजनहरूले मोटरसाइकल पार्किङ शुल्कमा रु. १०० असुलिएको भन्दै विरोध जनाएका छन् ।
    शुद्धोधनका राजकुमारका अनुसार, “साधारण पार्किङको २०–३० रुपैयाँ हुने ठाउँमा १०० लिइयो, यो त ब्रह्मलूट हो ।”

    स्थानीयले स्पष्ट दर तोक्न र पारदर्शी व्यवस्थापन गर्न प्रशासनलाई आग्रह गरेका छन् । मायादेवी गाउँपालिका–१ का राजेश यादवले भने, “धार्मिक आस्थाको केन्द्रमा यस्तो मनपरी शुल्कले मेलाको सौन्दर्य बिगार्छ ।”

    साथै भक्तजनहरूले महिलाहरूका लागि नुहाएपछि कपडा फेर्न सक्ने सुरक्षित घर वा सुविधा निर्माण गर्नुपर्ने माग समेत गरेका छन् । त्यस्तो व्यवस्था नहुँदा महिलाहरूलाई असहज हुने गरेको उनीहरूको गुनासो छ ।

    स्थानीय नगरपालिका र जिल्ला प्रशासनले आगामी वर्ष मेला व्यवस्थापन, पार्किङ शुल्क र महिलामैत्री सुविधामा सुधार ल्याउने अपेक्षा भक्तजनहरूले व्यक्त गरेका छन् ।

    श्रद्धा, परम्परा र जनविश्वासको प्रतीक रामघाट मेला यस वर्ष पनि जनसागरले भरिएको छ, तर अब भक्तजन व्यवस्थापनमा सुधारका ठोस कदमको प्रतीक्षा गरेको छन् ।

    Posted in Uncategorized

    कपिलवस्तुमा ट्राफिकको कडा कारबाही

  • १९ कार्तिक २०८२, मंगलवार २०:५८ मा प्रकाशित
  • कपिलवस्तु ।
    जिल्लामा बढ्दो सवारी अव्यवस्थालाई नियन्त्रण गर्न र सडक सुरक्षामा सुधार ल्याउने उद्देश्यका साथ ट्राफिक प्रहरी कार्यालय तौलिहवाले स्पष्ट नम्बर प्लेट नभएका सवारी साधनहरुलाई सुधार अभियान” सुरु गरेको छ ।

    ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक लिल बहादुर कुँवरको नेतृत्वमा खटिएको पाँच सदस्यीय ट्राफिक टोलीले तौलिहवा बजार, हुलाकी राजमार्ग र आसपासका भित्री सडकखण्डमा व्यापक अनुगमन तथा चेकजाँच सञ्चालन गरेको हो ।

    अभियानका क्रममा नम्बर प्लेट मेटिएका, अस्पष्ट रहेका वा पुरै नलेखिएका १४ वटा सवारी साधन नियन्त्रणमा लिइएको थिए । ती सवारी चालकलाई तत्काल सवारीको नम्बर प्लेट स्पष्ट रूपमा अंकित गर्न लगाइएको र सुधारपछि मात्र सवारी छोडिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रहरी वरिष्ठ नायब निरीक्षक कुँवरका अनुसार, पछिल्ला दिनमा सडकमा चल्ने धेरै सवारी साधनमा नम्बर प्लेट ढाकिएको, हराएको वा पढ्न नसकिने अवस्थामा रहेको पाइँएको हुँदा निगरानी कडा पारिएको हो । उनले भने, “नम्बर प्लेट नदेखिँदा दुर्घटना वा अपराध अनुसन्धानमा समस्या हुने भएकाले यो अभियान चलाइएको छ ।

    उनले चालकहरुलाई सवारी साधन सञ्चालन गर्दा आवश्यक कागजात, लाइसेन्स र स्पष्ट नम्बर प्लेटसहित मात्र सडकमा निस्कन आग्रह गरेका छन् ।ट्राफिक प्रहरी कार्यालयका अनुसार, यसअघि पनि अनियमित पार्किङ, लेन तोडफोड, हेलमेट नलगाउने र नम्बर प्लेट मेट्ने जस्ता गल्तीमा पटक–पटक सचेतना तथा कारबाही कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

    ट्राफिक प्रहरीले यो अभियान स्थायी रूपमा जारी रहनेछ र दैनिक अनुगमनका क्रममा नियम उल्लङ्घन गर्नेहरूलाई दण्डात्मक कारबाही गरिनेछ ।

    सडक सुरक्षामा नागरिकको सहभागिता बढाउन कार्यालयले स्थानीय निकाय, यातायात व्यवसायी र नागरिक समाजसँग समन्वयमा जनचेतनामूलक कार्यक्रम पनि अघि बढाउने तयारी गरेको छ ।

    Posted in Uncategorized

    कपिलवस्तुमा सडक दुर्घटनामा वृद्धको निधन

  • १९ कार्तिक २०८२, मंगलवार १७:२६ मा प्रकाशित
  • कपिलवस्तु — कृष्णनगर नगरपालिका–९ जुमिलास्थित कृष्णनगर–चन्द्रौटा सडकखण्डमा मंगलबार दिउँसो करिब ३ बजे एक दुखद सडक दुर्घटना भयो । ६५ वर्षीय शिवप्रसाद चौधरी पैदल हिँड्दै गर्दा यु पी ३५ ए के २४१५ नम्बरको महिन्द्रा स्कार्पियोले ठक्कर दियो ।

    घाइते चौधरीलाई तत्काल शिवराज अस्पताल बहादुरगंज पुर्‍याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।

    दुर्घटनामा संलग्न स्कार्पियो चालक ३५ वर्षीय पप्पु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीले सडक सुरक्षा र दुर्घटना रोकथाममा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

    Posted in Uncategorized

    स्वागतमा रमाएका इन्स्पेक्टर, जिम्मेवारीमा सुस्ती

  • १९ कार्तिक २०८२, मंगलवार ०६:४५ मा प्रकाशित
  • कपिलवस्तु, कार्तिक १८ —
    जिल्लामा हालै सरुवा भएर आएका प्रहरी निरीक्षकहरू (इन्स्पेक्टर) शान्ति–सुरक्षा सुदृढ गर्ने जिम्मेवारी सम्हाल्नुभन्दा पनि स्वागतमा रमाउन व्यस्त देखिएका छन् । स्थानीय तहका कार्यालयदेखि निजी संघसंस्था र व्यवसायिक संस्थासम्म धाउँदै उनीहरू खादा, दोसल्ला, फूलमाला र डायरी लिन पुगेका छन् ।

    नयाँ सरुवा भएर आएका इन्स्पेक्टरहरूको स्वागत गर्ने लहर यति बढेको छ कि, प्रहरीभन्दा बढी स्थानीय तहका जनप्रतिनिधि र संघसंस्था तिनको आगमनलाई ‘औपचारिक अवसर’का रूपमा उपयोग गरिरहेका छन् । प्रहरी प्रशासनका विषयमा स्थानीय टिप्पणीहरू पनि बढिरहेका छन् — “स्वागतमा त सक्रिय, काममा कति सक्रिय हुने हुन्?” भन्ने खालका ।

    प्रहरी प्रधान कार्यालयले असोज २८ गते ६ सय ६५ जना निरीक्षकको सरुवा गरेपछि कपिलवस्तुमा पनि नयाँ इन्स्पेक्टरहरूको समूह आएको हो। सरुवापछि सुरु भएको यो ‘स्वागत संस्कृतिले’ जिल्लामा प्रहरीको प्राथमिकता र पेशागत मर्यादाबारे प्रश्न उठाएको छ ।

    सबैभन्दा पहिले इलाका प्रहरी कार्यालय पिपराका निरीक्षक अर्जुन पौडेलले वाणगंगा नगरपालिकामा पुगेर नगर प्रमुख चक्रपाणी अर्यालबाट कार्तिक ११ गते स्वागत पाए । पाँच दिन नबित्दै उनले उद्योग व्यापार संघ, जितपुरको अर्को स्वागत पनि थापे ।

    त्यस्तै, वडा प्रहरी कार्यालय चन्द्रौटाका निरीक्षक सन्तोष घिमिरे पनि पछाडि परेनन् । उनले कार्तिक ९ गते शिवराज नगरपालिकाका प्रमुख अजय थापाबाट स्वागत पाए र चार दिनपछि कार्तिक १३ गते महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलामबाट अर्को स्वागत थापे ।

    उही दिन महाराजगन्जमै सशस्त्र प्रहरी सुरक्षा बेसका निरीक्षक गंगाराम भट्ट पनि स्वागत कार्यक्रममा सहभागी भए। उनी पनि हालै सरुवा भएर आएका अधिकारी हुन् ।

    स्थानीय नागरिकहरू भन्छन् — “प्रहरी निरीक्षकहरूले जिम्मेवारीभन्दा बढी प्रोटोकल र स्वागतमा चासो देखाइरहेका छन् ।” उनीहरूको भनाइमा, जनसुरक्षाका मुद्दा गौण बन्दै, औपचारिकता प्रमुख बन्दै गएको छ ।

    सुरक्षा सुदृढीकरणको समयमा प्रहरी निरीक्षकहरूको यस्तो ‘स्वागत–दौडधुप’ ले संगठनभित्रको अनुशासन र प्राथमिकताबारे गम्भीर प्रश्न उठाएको स्थानीय टिप्पणीहरूमा उल्लेख छ ।

    सभार :- कान्तिपुर

    Posted in Uncategorized

    नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको बैठक, आगामी कार्यक्रम तय ।।

  • १८ कार्तिक २०८२, सोमबार २२:४१ मा प्रकाशित
  • कपिलवस्तु — नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तु जिल्ला कमिटीको पदाधिकारी बैठक सोमबार बाणगंगा नगर कमिटी कार्यालय, बैरियामा सम्पन्न भएको छ । बैठकले कार्तिक २२ गते वडास्तर भेलाहरू, ९६ वडामा जनसङ्ग्रह अभियान, कार्तिक २५ गते १० पालिकामा जनप्रदर्शन, र कार्तिक २९ गते बाणगंगा नगरपालिकामा शान्तिपूर्ण जनसभा आयोजना गर्ने निर्णय गरेको छ ।

    केन्द्रीय सदस्य बलराम अधिकारीले पार्टीका निर्णयले संगठन सुदृढ हुने र जनतासँगको सम्बन्ध बलियो हुने विश्वास व्यक्त गर्नुभयो । बैठक जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।

    यी कार्यक्रममार्फत पार्टीले स्थानीय जनतालाई आफ्नो नीति र विचारवारे जानकारी गराउने योजना बनाएको छ ।

    Posted in Uncategorized

    फिल्मी शैलीमा असफल भयो प्रेमिकाको हत्या योजना, भारतीय नागरिक कपिलवस्तुमा पक्राउ ।।

  • १८ कार्तिक २०८२, सोमबार २१:३७ मा प्रकाशित
  • कपिलवस्तु — प्रेम सम्बन्ध, विश्वासघात र बदला ,यी तीन शब्दले भारतका हफिजूल्लाह मुसलमानको जीवनलाई उल्ट्याइदियो । तीन वर्षदेखि लिभिङ टुगेदरमा रहेकी प्रेमिकाले मोबाइलबाट तस्बिर पठाएपछि परिवारसँगको सम्बन्ध चर्कियो । त्यसपछि उनले रचे — हत्या योजना ।

    एक लाख भारतीय रुपैयाँको सुपारीमा भाडाका मान्छे खोजिए, विवाहको बहानामा प्रेमिकालाई बोलाउने रणनीति बनाइयो ।
    तर नियतले खेल खेल्यो — कार दुर्घटना भयो र योजना भत्कियो ।

    प्रहरीका अनुसार भारत उत्तर प्रदेशका ३५ वर्षीय हफिजूल्लाहले गत कार्तिक १५ गते आफ्नी ४० वर्षीया प्रेमिकालाई चन्द्रौटा बोलाए । बाहिरबाट देख्दा विवाहको तयारी जस्तो लाग्थ्यो, तर भित्रभित्रै उनले उनको अन्त्य सोचिरहेका थिए ।

    योजना अनुसार हफिजूल्लाह, प्रेमिका र सुपारी लिएका व्यक्ति एउटै कार (युपी ५५ एबी ६९७९) मा चढे । कपिलवस्तु नगरपालिका–४ लौसा गाउँ पुग्दा उनले नाइलनको डोरीले घाँटी कसेर हत्या गर्न खोजे । महिलाले ज्यान बचाउन संघर्ष गर्दा उनको खुट्टा स्टेरिङमा अड्कियो, कार अनियन्त्रित भई ट्रक (ना १ ख ४९५०) सँग ठोक्कियो ।

    दुर्घटनापछि चिच्याउने आवाजले बाटो छेउका चालकहरू सचेत भए । ट्रक चालक र सहचालकले हफिजूल्लाहलाई नियन्त्रणमा लिए र प्रहरीलाई खबर गरे । महिलाको ज्यान बच्यो, तर रहस्य खुल्यो ।

    प्रहरीले घटनास्थलबाट नाइलनको डोरी, गम्छा र केही भारतीय समाचार च्यानलको नाम लेखिएको माइक बरामद गरेको छ । यसले हफिजूल्लाह कुनै सञ्चारमाध्यमसँग जोडिएको हुनसक्ने संकेत गरेको छ ।

    प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार, “परिवार बिगारेको आरोपमा बदला लिने उद्देश्यले उनले यो हत्या योजना रचेका थिए । कोर्ट म्यारिज गर्ने बहानामा बोलाएको देखिन्छ ।”

    पीडित महिलाको उजुरीका आधारमा हफिजूल्लाहलाई पक्राउ गरी जिल्ला अदालतको आदेशमा सात दिनको म्याद थप गरिएको छ ।
    प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान अघि बढाएको छ र अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ ।

    Posted in Uncategorized

    १३ वर्षीया छोरीको शव खोज्दै सात दिनदेखि धाइरहेका बाबुआमा।।

  • १८ कार्तिक २०८२, सोमबार २०:३६ मा प्रकाशित
  • कपिलवस्तु — सडक दुर्घटनामा निधन भएकी आफ्नी १३ वर्षीया छोरीको शव खोज्दै एक दम्पती सात दिनदेखि जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु धाइरहेका छन् ।

    भारतको सिद्धार्थनगर बर्डपुर घर भई कपिलवस्तुको मायादेवी–१ पकडीमा मजदूरी गर्दै आएका हरिचन्द्र मल्लाह र उनकी श्रीमतीले प्रहरीमा बारम्बार गएर जाहेरी दिन खोजे पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।

    मल्लाह दम्पतीका अनुसार, कात्तिक २ गते लु.१ क ५७८० नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरूको १३ वर्षीया छोरी खुशी मल्लाहको मृत्यु भएको थियो । तर प्रहरीले शव उनको नाममा दर्ता नगरी घरबेटी पर्शुराम तेलीका छोरा पिन्टु तेलीलाई “श्रीमान्” भन्दै जिम्मा लगाएको पीडित पक्षको आरोप छ ।

    ‘मेरी छोरीको विवाह नै भएको थिएन। प्रहरीले नक्कली अभिभावक खडा गरेर हाम्रो दुःख बढायो,’ बाबु हरिचन्द्र मल्लाहले आँसु झार्दै भने ।

    घटनाको पृष्ठभूमि

    पीडित मल्लाह दम्पती कात्तिक १ गते भारतस्थित आफ्नै घरमा धान स्याहार्न गएका थिए । उनले छोरी खुशीलाई स्थानीय पर्शुराम तेलीको जिम्मा लगाएका थिए । त्यसको भोलिपल्ट साँझ ट्रकको ठक्करबाट बालिकाको मृत्यु भयो ।

    तर जब मल्लाह दम्पती कात्तिक ८ गते फर्किए, उनीहरूले छोरीको मृत्यु र शव पहिले नै अरूलाई बुझाइएको थाहा पाए ।

    गैरजिम्मेवार प्रहरी र विवादास्पद शव बुझाइ

    प्रहरी स्रोतका अनुसार, नाता प्रमाणित गर्ने कुनै पनि कागजात नहुँदा पनि जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका एसपी सन्तोष आचार्यको निर्देशनमा शव पिन्टु तेलीलाई बुझाइएको थियो ।
    एक प्रहरी अधिकृतले नाम नखुलाउने सर्तमा भने, “माथिबाट दबाब आएपछि शव बुझाइयो ।”

    पीडित परिवारले जाहेरी नदर्ता भएपछि हुलाकमार्फत पनि जाहेरी पठाए, तर प्रहरीले त्यो समेत बेवास्ता गरेको उनीहरूको भनाइ छ ।

    ‘मेरी छोरीको लाश कहाँ छ—जलाइदिए कि गाडे ? कि फालिदिए ? कम्तीमा अन्तिम पटक हेर्न पाए हुन्थ्यो,’ भन्दै आमाले बिलौना गरेकी छन् ।

    प्रहरीको भनाइ

    मामिला हेर्दै आएका प्रहरी नायब निरीक्षक सुशिल केसीले “शव श्रीमान् दाबी गर्ने पिन्टुलाई बुझाइएको” बताए । तर उनले नाता प्रमाणित गर्ने कागजात नभएको स्वीकारे ।
    सभार:- जनआस्था

    Posted in Uncategorized, मुख्य खबर, समाज

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P