• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: Uncategorized

शुद्धोधन गाउँपालिकामा मल वितरण र प्रशासनिक हस्ताक्षर विवाद: अध्यक्ष–सदस्यबीच आरोप–प्रत्यारोप चर्कियो

  • ४ मंसिर २०८२, बुधबार ०८:१० मा प्रकाशित
  • कपिलवस्तु -मंसिर -३

    शुद्धोधन गाउँपालिकामा कपिलवस्तुमा मल वितरण र प्रशासनिक हस्ताक्षरसँग सम्बन्धित विवाद तीव्र बन्दै गएको छ । यसले स्थानीय तहको पारदर्शिता र निर्णय प्रक्रियामा प्रश्न उठाएको छ ।

    गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीको सरुवा रोक्ने प्रयोजनका लागि कार्यपालिका सदस्य प्रिन्स कुमार श्रीवास्तवले पाँच नम्बर वडा अध्यक्ष आशुतोष कुमार सिंहको नाममा हस्ताक्षर गरेको आरोप लगाएका छन् । अध्यक्षका अनुसार उक्त हस्ताक्षर भैरहवास्थित गौतमबुद्ध विमानस्थलमै गरेको थिए । उनले यस किसिमको हस्तक्षेप प्रशासनिक प्रक्रियामा गम्भीर शंका उत्पन्न गर्ने बताए ।

    त्यसैगरी, मल वितरण सम्बन्धी विवादले पनि स्थानीय तहमा तनाव बढाएको छ । केही दिनअघि क्षमतावान कृषि सहकारी संस्थाले दुई संस्थाको मल एउटै ट्रकमा ल्याउँदा पाँच नम्बर वडाको दोहनी गाउँमा स्थानीयले जाँच गर्दा मलको संख्या कम भेटिएको थियो । उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मी र वडा अध्यक्ष आशुतोष कुमार सिंहको रोहबरमा स्थानीयले मल नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

    अध्यक्ष चौधरीका अनुसार, सो सहकारी संस्थाको मुद्दा प्रक्रियामा रहेकाले मल वितरणको कोटा रोक्का गरिएको छ । यस विवादका कारण क्षेत्रका किसानहरूले गाउँपालिकामा तालाबन्दी गरेका थिए र सेवाग्राहीको काम ठप्प भएको थियो । पछि स्थानीयले प्रहरीको सहयोगमा तालाबन्दी खोलिएको थिए ।

    कार्यपालिका सदस्य प्रिन्स कुमार श्रीवास्तवले सामाजिक सञ्जालमार्फत तीन बोरा युरिया मल अध्यक्षले लिएको तर पैसा नदिएको गुनासो सार्वजनिक गरेका छन् । अध्यक्ष चौधरीले भने आफुले पैसा दिन खोज्दा नलिएको र सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्न खोजिएको आरोप लगाएका छन् । यसरी दुई पक्षबीच सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप सुरु भएको छ ।

    अध्यक्ष चौधरीले थप आरोप लगाउँदै भने, अरूको नाममा हस्ताक्षर गर्नु केवल अनियमितता मात्र नभई भविष्यमा कानुनी जटिलता निम्त्याउने अपराध पनि हुन सक्ने बताए ।

    स्थानीय तहमा यी घटनाले शुद्धोधन गाउँपालिकाको आन्तरिक प्रक्रिया, प्रशासनिक पारदर्शिता र जनप्रतिनिधि–कर्मचारी समन्वयमा गम्भीर प्रश्न खडा गरेको छ ।

    Posted in Uncategorized

    किसानका गुनासो बढेपछि मायादेवी गाउँपालिकाको कडाइ: अब पासबुक बिना मलखाद वितरण बन्द

  • २ मंसिर २०८२, सोमबार १५:५७ मा प्रकाशित
  • कपिलवस्तु, १ मंसिर – कपिलवस्तुको मायादेवी गाउँपालिकाले किसानहरूले मलखाद वितरणमा अनियमितता भएको गुनासो बढेपछि कृषक मलखाद पासबुक अनिवार्य गर्ने कडा निर्णय गरेको छ । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै कृषि सहकारीहरूलाई ३० दिनभित्र आफ्ना क्षेत्रमा सूचीकृत किसानहरूको विवरण, पासबुक कार्ड नम्बर र आवश्यक कागजातसहित सम्बन्धित शाखामा बुझाउन अनिवार्य भएको जानकारी दिएको छ ।

    हालसम्म सहकारी र व्यवसायी आपूर्तिकर्तामार्फत मलखाद वितरण हुँदै आएको भए पनि प्रक्रिया पारदर्शी नहुँदा किसानहरूले मल कमी, मनलाग्दी वितरण र मूल्य वृद्धि जस्ता समस्या भोग्दै आएका थिए । यिनै गुनासोहरूका कारण पालिकाले मल वितरण प्रणालीमा कडाइ गर्नु परेको जनाएको छ ।

    गाउँपालिकाको कृषि विकास शाखाले सहकारीहरूलाई पटक–पटक सूचना दिएको भए पनि विवरण नआएपछि “पासबुक विना कोटा उपलब्ध गराइने छैन” भन्ने चेतावनीसमेत दिएको छ । अब सहकारीहरूले पेश गर्ने पासबुक र किसान विवरणका आधारमा मात्र मलखाद वितरण हुनेछ ।

    गाउँपालिका उपाध्यक्ष सरस्वती यादव र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादवको हस्ताक्षरित सूचनामा सहकारीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरिएको छ । सूचना अनुसार, किसानले समयमै मलवाट पाउन सहकारी र पालिका दुवै पक्षले सशक्त समन्वय गर्नुपर्नेछ ।

    सूचनामा भनिएको छ, “कृषकका गुनासो अब बेवास्ता हुँदैनन् । पारदर्शी प्रणाली लागू गर्न हामी दृढ छौँ ।”

    यस निर्णयले मलखाद वितरण प्रणालीलाई व्यवस्थित, पारदर्शी र दुरुपयोगरहित बनाउने अपेक्षा गरिएको छ । पासबुक प्रणाली लागू भएपछि किसानहरूले आफूले पाउनुपर्ने मलको मात्रा, वितरण समय र स्रोत स्पष्ट रूपमा जान्न सक्नेछन् । साथै, पालिकाले सहकारीहरूले ढिलाइ गरेमा कारबाही प्रक्रिया अघि बढाउने तयारी पनि गरेको छ ।

    Posted in Uncategorized

    किसान आक्रोशित: शुद्धोधन गाउँपालिकामा मलखाद नपाउँदा तालाबन्दी

  • २ मंसिर २०८२, सोमबार ०७:४७ मा प्रकाशित
  • कपिलवस्तु -१ मंसिर
    मलखादको अभावपछि शुद्धोधन गाउँपालिकाका कृषकहरूले आइतबार गाउँपालिका कार्यालयमा तालाबन्दी गर्दै विरोध प्रदर्शन गरेका थिए । आक्रोशित कृषकहरूले प्रमुख, उपप्रमुख, कृषि शाखासहित कार्यालयका विभिन्न कक्षमा तालाबन्दी गर्दै नाराबाजीसमेत गरेका थिए ।

    तालाबन्दी गर्नु अघि कृषकहरूको समूह गाउँपालिका अध्यक्षको कार्यकक्षमा पुगेको थियो । उनीहरूले अध्यक्ष कमलेश शरण चौधरीलाई ज्ञापनपत्र बुझाउँदै खेतीको मुख्य सिजनमा अत्यावश्यक मल समयमै नपाउँदा किसानहरू मारमा परेको गुनासो राखे । कृषकहरूले बारम्बार मलको सूचना माग गर्दा पनि पालिकाबाट स्पष्ट जवाफ नआएको र वितरण प्रक्रिया अव्यवस्थित भएको गुनासो गरे ।

    ज्ञापनपत्रमा कृषकहरूले उल्लेख गर्दै क्षमतावान कृषि सहकारी संस्थाका लागि पालिकाले मलको कोटा निर्धारण नगरेको र पालिका उपाध्यक्ष होमप्रकाश चौधरीले व्यक्तिगत रिसिईबिइका कारण सो कोटामा कटौती गरेको आरोप लगाइएको छ । उनीहरूको दाबीमा, कोटा कटौतीका कारण वडा नम्बर ५ का किसानहरू मल अभावको गम्भीर समस्यामा परेका छन् ।

    उपाध्यक्ष चौधरीका अनुसार कुनै व्यक्तिगत निर्णय नगरेको स्पष्ट पार्दै, समस्या सहकारीकै कर्तुतका कारण उत्पन्न भएको बताए । उनका अनुसार, केही दिनअघि क्षमतावान कृषि सहकारी संस्थाले ल्याउँदै गरेको मल बीच बाटोमै बिक्री गरेको पाइएपछि स्थानीयवासीले उपाध्यक्ष चौधरी र वडा अध्यक्ष अशुतोष कुमार सिंहको रोहवरमा मल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

    उपाध्यक्ष चौधरीले भने, “यो घटना सम्बन्धी मुद्दा अहिले कानुनी प्रक्रियामा छ । मुद्दा नटुंगिँदासम्म क्षमतावानसहित दुई संस्थाको कोटा रोकिएको हो । ती संस्थालाई दिनुपर्ने मल अन्य सञ्चालनमा रहेका सहकारीमार्फत किसानलाई वितरण गरिएको छ ।”

    उपाध्यक्ष चौधरीले किसानहरूको आन्दोलन र आरोपलाई राजनीतिक उद्देश्यसहित गरिएको दाबी पनि गरे ।

    गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले ज्ञापनपत्र प्राप्त भएको पुष्टि गर्दै आवश्यक छानबिन गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

    Posted in Uncategorized

    शैक्षिक महाकुम्भअघि बगदीमा विद्यार्थीहरूको कलश यात्रा

  • २९ कार्तिक २०८२, शुक्रबार २१:१५ मा प्रकाशित
  • कपिलवस्तु – २८
    शुद्धोधन गाउँपालिका–१ बगदीमा आज विद्यार्थी गुणीय चक्र (एसक्युसि)–शैक्षिक महाकुम्भको तयारीसहित भव्य प्रभातफेरी तथा कलश यात्रा सम्पन्न गरिएको छ । क्वेष्ट नेपालको समन्वयमा सन लाइट इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

    प्रभातफेरी विद्यालय परिसरबाट शुरु भई बगदी बजारका विभिन्न टोल परिक्रमा गर्दै पुनः विद्यालयमै समापन गरिएको थियो । विद्यार्थीहरूले शिक्षा, अनुशासन, सिर्जनशीलता, टोलीगत समन्वय र सकारात्मक सोच प्रवर्द्धन गर्ने सन्देशयुक्त ब्यानर, पम्प्लेट र प्लेकार्डसहित सहभागिता जनाएका थिए । मार्गभरि विद्यार्थी तथा शिक्षकहरूको सक्रिय उपस्थितिले वातावरण शिक्षामय बनेको थियो ।

    मंसिर ५ र ६ गते आयोजना हुन गइरहेको ‘एसक्युसि–शैक्षिक महाकुम्भ’ मा कपिलवस्तु जिल्लाका १७ विद्यालयका करिब ७०० विद्यार्थी सहभागी हुने प्रबन्ध निर्देशक एस.एन. त्रिपाठीले जानकारी दिए । उनका अनुसार हाल जिल्लाभर विद्यार्थी गुणस्तर सुधार, व्यवहारिक सीप अभिवृद्धि र सिर्जनशीलता विकाससँग सम्बन्धित विभिन्न शैक्षिक गतिविधि निरन्तर सञ्चालन हुँदै आएका छन् । त्यसलाई थप प्रभावकारी बनाउन तथा महाकुम्भबारे जनचेतना अभिवृद्धि गर्न आजको प्रभातफेरी आयोजना गरिएको हो ।

    त्रिपाठीका अनुसार एसक्युसि कार्यक्रमले विद्यार्थीको नेतृत्व क्षमता, समस्या समाधान कौशल, टोलीगत समन्वय, व्यवहारिक सीप र सामाजिक चेतनामा उल्लेखनीय सुधार ल्याइरहेको छ । यही कारण जिल्लाका विभिन्न विद्यालयलाई समेटेर अभिमुखीकरण, अन्तरक्रिया कक्षा र जनचेतनामूलक अभियान निरन्तर सञ्चालन भइरहेको उनले बताए ।

    उनले विद्यार्थीहरूको उत्साह, अनुशासन र सक्रियता सराहनीय रहेको उल्लेख गर्दै, “आगामी शैक्षिक महाकुम्भलाई सफल बनाउन विद्यालय परिवार पूर्ण रूपमा तैयार छ,” भने ।

    त्यस्तै, सहभागी विद्यालयहरूले विद्यार्थी–केन्द्रित यस्ता शैक्षिक अभियानले बालबालिकामा आत्मविश्वास, नेतृत्व क्षमताको विकास र सकारात्मक सोच अभिवृद्धिमा ठूलो योगदान दिएको प्रतिक्रिया दिएका छन् ।

    Posted in Uncategorized

    मसिनो चामल महँगो, बिलमा मोटो—प्रहरीको कब्जामा तीन ट्रेलर

  • २९ कार्तिक २०८२, शुक्रबार ०७:०७ मा प्रकाशित
  • कपिलवस्तु -२८
    कपिलवस्तु प्रहरीले भन्सार छली गर्दै महँगो मसिनो चामल भित्र्याउन खोज्ने एक समूहलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिलमा भएका विवरणभन्दा फरक र बढी मात्रामा चामल बोकेका तीन भारतीय ट्रेलरलाई मायादेवी गाउँपालिका–१, पकडीबाट नियन्त्रणमा लिएको हो ।

    प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार नियमित चेकजाँचका क्रममा ट्रेलरहरूमा उल्लेख गरिएकोभन्दा महँगो र भिन्न किसिमको चामल फेला परेको थियो । नियन्त्रणमा लिइएका ट्रेलरहरूको नम्बर युपी ५१ बीटी ३९३२, एचआर ६९३२ ई ९०३९ र एचआर ५८ बी ८६८७ रहेका छन् ।

    प्रहरीका अनुसार युपी ५१ बीटी ३९३२ नम्बरको ट्रेलरमा ४२,२२० केजी ‘डी वाइल्ट केक पोल्ट्री फिड्स’ चामल (मूल्य रु. २६ लाख ४ हजार ८६६), एचआर ६९३२ ई ९०३९ मा ४२,००० केजी बासमती चामल (मूल्य रु. ५३ लाख १८ हजार १०) र एचआर ५८ बी ८६८७ मा ४२,००० केजी ‘सोया डक’ चामल (मूल्य रु. २५ लाख ९१ हजार २९३) फेला परेको छ ।

    प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार व्यापारीहरू लामो समयदेखि मोटो चामलको नाममा कम भन्सार शुल्क तिर्ने तर मूलतः महँगो मसिनो चामल भित्र्याएर राजस्व छली गर्दै आएको सूचनाका आधारमा अभियान सञ्चालन गरिएको हो ।
    “मोटो चामलको नाममा मसिनो चामल ल्याएर राजस्व छली भइरहेको सूचनापछि ट्रेलर नियन्त्रणमा लिइएको हो,” आचार्यले बताए ।

    बरामद गरिएको चामल र तीनवटै ट्रेलरको संयुक्त मूल्य रु. १ करोड ८० लाख १४ हजार आंकेको प्रहरीले जनाएको छ । नियन्त्रणमा परेका ट्रेलर चालक तथा बरामद वस्तुहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको डिएसपी सिंहले जानकारी दिए ।

    Posted in Uncategorized

    कपिलवस्तुमा भारतीय टेलरबाट करोडौं रुपैयाँ बराबरको सामान बरामद

  • २८ कार्तिक २०८२, बिहीबार २०:५८ मा प्रकाशित
  • कपिलवस्तु – २७

    जिल्लाको मायादेवी गाउँपालिका–१ पकडीमा भारतीय नम्बरको तीन टेलर गाडीबाट करिब १ करोड ८० लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको निर्देशनमा इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सुभाष खतीवडाको कमान्डमा खटिएको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा, UP 51 BT 3932 नम्बरको टेलरमा ४२,२२० केजी De-Oiled Cake (Poultry Feeds), HR 69 E 9039 नम्बरको टेलरमा ४२,००० केजी बासमती चामल, र HR 58 B 8687 नम्बरको टेलरमा ४२,००० केजी Soya DOC समान बरामद गरेको छ ।

    बरामद सामानको कुल मूल्य १ करोड ५ लाख १४ हजार १६९ रुपैयाँ रहेको र टेलरहरूको मूल्य सहित जम्मा करिब १ करोड ८० लाख १४ हजार १६९ रुपैयाँ पुगेको प्रहरीले जनाएको छ । बरामद सामान र चालकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल, पठाइएको प्रहरीले जानकारी दिएको छ ।

    Posted in Uncategorized

    मायादेवी गाउँपालिका ५,भरद्वाज तेल प्रशोधन कारखानाका लागि दक्ष प्राविधिक आवश्यक

  • २८ कार्तिक २०८२, बिहीबार ०८:५३ मा प्रकाशित
  • कपिलवस्तु – कपिलवस्तुस्थित मायादेवी गाउँपालिका ५, सिहोरवा गाउँमा स्थापना हुन लागेको भरद्वाज आयल उद्योगले आफ्नो नयाँ अत्याधुनिक तेल प्रशोधन कारखानामा काम गर्न अनुभवी प्राविधिकको तत्काल आवश्यकता परेको जनाएको छ ।

    कम्पनीका अनुसार, निर्माणको अन्तिम चरणमा पुगेको यस कारखानामा मेसिनरी र उपकरणहरूको जडान, परीक्षण र सञ्चालनका लागि दक्ष व्यक्तिको खोजी भइरहेको छ । पदधारीले कारखानामा जडान भएका मेसिनरीहरू संचालन, प्लान्टको विद्युतीय प्रणाली निरीक्षण, मेकानिकल प्रवाह व्यवस्थापन, भ्याकुम प्रणाली र बोइलर सञ्चालन तथा उपकरणहरूको नियमित मर्मत सम्भार गर्ने जिम्मेवारी पाउनेछन् ।

    हाल उत्पादन प्रक्रिया सुरु नगरीएकोले, यस पदको मुख्य काम गुणस्तर नियन्त्रणभन्दा बढी उपकरण सञ्चालन र मर्मत सम्भारमा केन्द्रित रहने कम्पनीले जनाएको छ ।

    योग्यता र अनुभव

    तेल प्रशोधन वा सम्बन्धित औद्योगिक क्षेत्रमा अनुभव ।

    इलेक्ट्रिकल र मेकानिकल उपकरणहरूको राम्रो सैद्धान्तिक र व्यावहारिक ज्ञान ।

    औद्योगिक मेसिनरीको जडान, सञ्चालन र मर्मत सम्भारमा दक्ष ।

    समस्या समाधानमा सिपालु र टिममा काम गर्न सक्ने ।

    इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा (CV) निम्न इमेल ठेगानामा पठाउन सक्नेछन्:

    prem@bhardvaj.com.np

    om@bhardvaj.com.np

    info@bhardvaj.com.np

    फोन: 984-0011734 / +61432250730
    वेबसाइट: bhardvaj.com.np

    कम्पनीले योग्य उम्मेदवारलाई छिटो सम्पर्क गर्न आग्रह गरेको छ ।

    Posted in Uncategorized

    कपिलवस्तुमा विद्यार्थी गुणीय चक्र (SQC) को दशौँ सम्मेलन मंसिर ५ र ६ गते

  • २७ कार्तिक २०८२, बुधबार ०८:०३ मा प्रकाशित
  • कपिलवस्तु, मंसिर ५ ।
    क्वेस्ट नेपाल लुम्बिनी हबको आयोजनामा विद्यार्थी गुणीय चक्र (SQC) अन्तर्गतको दशौँ सम्मेलन कपिलवस्तुमा हुने भएको छ। सम्मेलन मंसिर ५ र ६ गते शुद्धोधन गाउँपालिका–१, बग्दि स्थित सनलाईट इङ्लिस बोर्डिङ स्कुलमा आयोजना गरिने भएको हो ।

    पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको जानकारी अनुसार सम्मेलनमा कपिलवस्तुका १७ विद्यालयका करिब ७ सय विद्यार्थी सहभागी हुने छन् । साथै, अन्य जिल्लाका ८ विद्यालयका विद्यार्थीहरू पर्यवेक्षकका रूपमा सहभागी हुने जनाइएको छ ।

    क्वेस्ट नेपाल लुम्बिनी हबका अध्यक्ष मदन मल्लका अनुसार विद्यार्थी गुणीय चक्र कार्यक्रमले विद्यार्थीहरूमा समस्या पहिचान, विश्लेषण र समाधान क्षमताको विकास गर्ने उद्देश्य राखेको छ । यस सम्मेलनले विद्यार्थीहरूमा नेतृत्व, समूहगत कार्य, रचनात्मक सोच र आत्मविश्वास अभिवृद्धिमा टेवा पुर्‍याउनेछ ।

    कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा हुने सम्भावना रहेको आयोजकले जनाएको छ । उद्घाटन समारोहमा प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रमुख, शिक्षक तथा क्वेस्ट नेपालका केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहने जानकारी दिइएको छ ।

    दुईदिने उक्त सम्मेलनमा विद्यार्थीहरूको सहभागितामा विभिन्न शैक्षिक प्रतियोगिता, उद्घोषण तालिम, क्विज, हिज्जे प्रतियोगिता, एआई सम्बन्धी तालिम र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ । लुम्बिनी हबका सचिव डम्बर बहादुर सोमैका अनुसार कार्यक्रमका सम्पूर्ण क्रियाकलाप विद्यार्थीहरूले नै सञ्चालन गर्नेछन्, जसले उनीहरूको जिम्मेवारी र आत्मविश्वास वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

    कार्यक्रमस्थल सनलाईट इङ्लिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक एस.एन. त्रिपाठीले विद्यार्थीहरूलाई सिर्जनशील र प्रतिस्पर्धी बनाउन यस किसिमका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार यस प्रकारका गतिविधिले विद्यार्थीहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमता विकासमा सहयोग पुर्‍याउँछ ।

    विद्यार्थी गुणीय चक्र (SQC) शिक्षण–अभ्यासको एउटा प्रभावकारी विधा हो, जसअन्तर्गत विद्यार्थीहरूले साना समूह बनाएर विद्यालय वा घरपरिवारमा देखिएका समस्या पहिचान गर्छन् र वैज्ञानिक विधिबाट त्यसको समाधानका उपायहरू निकाल्छन् । यस प्रक्रियाले विद्यार्थीहरूमा सहकार्य, विश्लेषण, नेतृत्व र व्यवहारिक सीपको विकास गर्छ ।

    कपिलवस्तुमा यस किसिमको वृहत सम्मेलन पहिलो पटक आयोजना हुन लागेको हो । आयोजकहरूका अनुसार यसले जिल्लाको शैक्षिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने र विद्यार्थीहरूमा वैज्ञानिक सोच र जिम्मेवार नागरिक बन्ने चेतना जगाउने अपेक्षा गरिएको छ ।

    Posted in Uncategorized

    ४८ घण्टादेखि बेपत्ता दुई वर्षीया मन्शा ओझा मृत अवस्थामा फेला

  • २५ कार्तिक २०८२, सोमबार १३:०१ मा प्रकाशित
  • कपिलवस्तु — ४८ घण्टादेखि बेपत्ता रहेकी दुई वर्षीया मन्शा ओझाको शव मर्थी खोलामा मृत अवस्थामा फेला परेको छ ।
    इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सुभाष खतीवडाका अनुसार शनिबार बिहान घरअगाडि खेल्दै गर्दा हराएकी बालिका ओझाको शव सोमबार बिहान मर्थी खोलामा भेटिएको हो ।

    बालिकाको शव घरबाट करिब तीन किलोमिटर टाढा, मायादेवी गाउँपालिका–१ र शुद्धोधन गाउँपालिका ६ को सिमानामा पर्ने मर्थी खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

    घटनापछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोली घटना स्थलमा पुगेर शवलाई नियन्त्रणमा लिई पोष्टमार्टमका लागि तौलिहवा अस्पताल पठाएको छ ।
    प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    अचानक यस्तो दु:खद घटना भएपछि ओझा परिवारमा गहिरो शोक छाएको छ । गाउँमा समेत शोक र स्तब्धता छाएको स्थानीयहरूले बताएका छन् ।

    Posted in Uncategorized

    दुई वर्षीया बालिका मन्शा बेपत्ता : ३६ घण्टा बित्दा पनि कुनै सुराक फेला परेन

  • २४ कार्तिक २०८२, आईतवार १९:०९ मा प्रकाशित
  • कपिलवस्तु — तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत मायादेवी गाउँपालिका–१ पकडी चौक नजिक बस्दै आएकी दुई वर्षीया बालिका मन्शा ओझा ३६ घण्टा बितिसक्दा पनि बेपत्ता छिन् ।

    बालिकाका बुवा अमित कुमार ओझा आफ्नी श्रीमती र दुई सन्तानसहित पकडी चौकबाट करिब ५०० मिटर दूरीमा रहेको भाडाको कोठामा बस्दै आएका थिए । हिजो बिहान करिब ८ बजे घर अगाडि खेल्दै गरेकी मन्शा अचानक बेपत्ता भएकी थिइन् ।

    बालिकाका बुवा ओझा डीएक्सएन (DXN) कम्पनी, धरमपानीयामा सुरक्षा गार्डको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

    बालिका हराएको सूचना पाएपछि प्रहरीले विशेष खोजी अभियान सञ्चालन गरेको छ । घर वरिपरि, छिमेक तथा आसपासका क्षेत्रका बासिन्दासँग सोधपुछ गर्दै खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय पकडीका प्रमुख, प्रहरी निरीक्षक सुभाष खतीवडाले भने, हामीले हरेक कोणबाट घटनालाई हेर्दै खोजी अभियान अघि बढाइरहेका छौं । विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिएको छ र सीसीटीभी फुटेज पनि जाँच भइरहेको छ ।

    बेपत्ता बालिकाका बुवा अमितले बताएका अनुसार, यदि बालिका अपहरणमा परेकी भए पनि परिवारलाई अहिलेसम्म कुनै किसिमको फोन, सन्देश वा पैसाको डिमान्ड प्राप्त भएको छैन । प्रहरीका अनुसार, यो घटनाले रहस्यमय रुप धारण गरेको र जिल्ला बाहिरका अस्पताल तथा स्वास्थ्य संस्थामा समेत खोजी अभियान जारी रहेको जानकारी दिइएको छ ।

    घटनालाई बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले पनि आज बालिकाको घर परिवारलाई भेटेर खोजी अभियान जारी रहेको बताउनु भयो ।

    Posted in Uncategorized

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P