कपिलवस्तु -मंसिर -३

शुद्धोधन गाउँपालिकामा कपिलवस्तुमा मल वितरण र प्रशासनिक हस्ताक्षरसँग सम्बन्धित विवाद तीव्र बन्दै गएको छ । यसले स्थानीय तहको पारदर्शिता र निर्णय प्रक्रियामा प्रश्न उठाएको छ ।
गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीको सरुवा रोक्ने प्रयोजनका लागि कार्यपालिका सदस्य प्रिन्स कुमार श्रीवास्तवले पाँच नम्बर वडा अध्यक्ष आशुतोष कुमार सिंहको नाममा हस्ताक्षर गरेको आरोप लगाएका छन् । अध्यक्षका अनुसार उक्त हस्ताक्षर भैरहवास्थित गौतमबुद्ध विमानस्थलमै गरेको थिए । उनले यस किसिमको हस्तक्षेप प्रशासनिक प्रक्रियामा गम्भीर शंका उत्पन्न गर्ने बताए ।
त्यसैगरी, मल वितरण सम्बन्धी विवादले पनि स्थानीय तहमा तनाव बढाएको छ । केही दिनअघि क्षमतावान कृषि सहकारी संस्थाले दुई संस्थाको मल एउटै ट्रकमा ल्याउँदा पाँच नम्बर वडाको दोहनी गाउँमा स्थानीयले जाँच गर्दा मलको संख्या कम भेटिएको थियो । उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मी र वडा अध्यक्ष आशुतोष कुमार सिंहको रोहबरमा स्थानीयले मल नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।
अध्यक्ष चौधरीका अनुसार, सो सहकारी संस्थाको मुद्दा प्रक्रियामा रहेकाले मल वितरणको कोटा रोक्का गरिएको छ । यस विवादका कारण क्षेत्रका किसानहरूले गाउँपालिकामा तालाबन्दी गरेका थिए र सेवाग्राहीको काम ठप्प भएको थियो । पछि स्थानीयले प्रहरीको सहयोगमा तालाबन्दी खोलिएको थिए ।
कार्यपालिका सदस्य प्रिन्स कुमार श्रीवास्तवले सामाजिक सञ्जालमार्फत तीन बोरा युरिया मल अध्यक्षले लिएको तर पैसा नदिएको गुनासो सार्वजनिक गरेका छन् । अध्यक्ष चौधरीले भने आफुले पैसा दिन खोज्दा नलिएको र सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्न खोजिएको आरोप लगाएका छन् । यसरी दुई पक्षबीच सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप सुरु भएको छ ।
अध्यक्ष चौधरीले थप आरोप लगाउँदै भने, अरूको नाममा हस्ताक्षर गर्नु केवल अनियमितता मात्र नभई भविष्यमा कानुनी जटिलता निम्त्याउने अपराध पनि हुन सक्ने बताए ।
स्थानीय तहमा यी घटनाले शुद्धोधन गाउँपालिकाको आन्तरिक प्रक्रिया, प्रशासनिक पारदर्शिता र जनप्रतिनिधि–कर्मचारी समन्वयमा गम्भीर प्रश्न खडा गरेको छ ।

