कपिलवस्तु जिल्लाको सुद्धोधन गाउँपालिका–३ मा शुक्रबार दिउँसो दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ भने अर्को व्यक्ति गम्भीर घाइते भएका छन् । गाउँपालिका कार्यालय नजिकै लु ८३ प ७६९२ नम्बरको मोटरसाइकल र अर्को मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । सो दुर्घटनामा लु ८३ प ७६९२ नम्बरको मोटरसाइकल चालक प्रहरी सहायक हवल्दार राम बेलास यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ । इलाका प्रहरी कार्यालय कोपवा, कपिलवस्तुमा कार्यरत यादव बिदा सकाएर अफिसतर्फ जाँदै गर्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
मृतक यादवको घर रोहिणी गाउँपालिका–टिकरमा रहेको बुझिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्यक्तिलाई उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको छ । दुर्घटनामा संलग्न अर्को मोटरसाइकल घटनास्थलबाट फरार भए पनि, सो पत्ता नलागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


