रामघाट मेलामा श्रद्धा, व्यवस्थापन सुधारको माग

  • २० कार्तिक २०८२, बुधबार १७:०६ मा प्रकाशित
  • कपिलवस्तु — कपिलवस्तुको ऐतिहासिक रामघाट मेलामा यस वर्ष करिब आठ हजार भक्तजन पुगेका छन् । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा बुधबार लाग्ने मेला भर्न मंगलबार रातिदेखि नै भक्तजनहरू वाणगंगा नदी किनारमा पुगेका थिए ।

    त्रेतायुगमा भगवान् रामले प्यास मेटाउन वाण हानेर पानी निकालेको धार्मिक किम्बदन्तीले प्रसिद्ध यो स्थलमा स्नान, पूजापाठ र गौदान गर्ने परम्परा रहँदै आएको छ । भारतको नौगढ, तुल्सीपुर, बासी, अलीगढवा तथा छिमेकी रुपन्देही, दाङ र नवलपरासीबाट समेत भक्तजन आएका थिए ।

    रातभर भजन–कीर्तन, प्रवचन र भागवत पाठमा सहभागी भक्तजनहरूले बुधबार बिहान स्नान गरी दान र पूजापाठ गरेका थिए ।

    मेलामा भीडभाड बढेसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीले हिजो रातिदेखि नै मेला क्षेत्रमा खटिएर सुरक्षा व्यवस्था सुदृढ बनाएका छन् । भक्तजनहरूको भीडलाई सहज बनाउन ट्राफिक प्रहरीमार्फत यातायात व्यवस्थापन पनि गरिएको थियो ।

    तर श्रद्धा र आस्थाको यो मेलामा पार्किङ शुल्कको मनपरी असुलीले धेरै भक्तजनलाई असन्तुष्ट बनाएको छ । भक्तजनहरूले मोटरसाइकल पार्किङ शुल्कमा रु. १०० असुलिएको भन्दै विरोध जनाएका छन् ।
    शुद्धोधनका राजकुमारका अनुसार, “साधारण पार्किङको २०–३० रुपैयाँ हुने ठाउँमा १०० लिइयो, यो त ब्रह्मलूट हो ।”

    स्थानीयले स्पष्ट दर तोक्न र पारदर्शी व्यवस्थापन गर्न प्रशासनलाई आग्रह गरेका छन् । मायादेवी गाउँपालिका–१ का राजेश यादवले भने, “धार्मिक आस्थाको केन्द्रमा यस्तो मनपरी शुल्कले मेलाको सौन्दर्य बिगार्छ ।”

    साथै भक्तजनहरूले महिलाहरूका लागि नुहाएपछि कपडा फेर्न सक्ने सुरक्षित घर वा सुविधा निर्माण गर्नुपर्ने माग समेत गरेका छन् । त्यस्तो व्यवस्था नहुँदा महिलाहरूलाई असहज हुने गरेको उनीहरूको गुनासो छ ।

    स्थानीय नगरपालिका र जिल्ला प्रशासनले आगामी वर्ष मेला व्यवस्थापन, पार्किङ शुल्क र महिलामैत्री सुविधामा सुधार ल्याउने अपेक्षा भक्तजनहरूले व्यक्त गरेका छन् ।

    श्रद्धा, परम्परा र जनविश्वासको प्रतीक रामघाट मेला यस वर्ष पनि जनसागरले भरिएको छ, तर अब भक्तजन व्यवस्थापनमा सुधारका ठोस कदमको प्रतीक्षा गरेको छन् ।