झिल्का एक मौलिक प्रयोगवादी नवीनतम एवम् लघुतम काव्य विधा हो । जुन तीन हरफमा लेख्ने गरिन्छ । आद्य पङ्ती, मध्य पङ्ती र अन्त्य पङ्ती गरेर जम्मा तीन हरफहरू हुन्छन् । तीन हरफमा जम्मा नौ शब्दहरू हुन्छन्। तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
यसको आद्य पङ्तीले विषयवस्तुको उठान, मध्य पङ्तीले समर्थन गर्दै बिस्तार र अन्त्य पङ्तीले भावलाई उत्कर्षमा पुर्याउँदै समापन गर्दछ । यसको आद्य र अन्त्य पङ्तीमा अनिवार्य अनुप्रास हुनुपर्छ भने मध्य पङ्ती भने स्वतन्त्र लेख्न सकिन्छ ।
झिल्का कविता लेखन अभ्यास शृङ्खला-१
#प्रशिक्षण/संयोजन/सम्पादन: वसन्त अनुभव
१) बोकेर आँखामा नहर तड्पिरहेछु म निष्ठुरी, सम्झेर हरेक प्रहर ! २) सधैँ अगाडि सर सफलता प्राप्तिका लागि, कर्ममा विश्वास गर ! ✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
१) बाेकेर पिरकाे भारी बढ्दै जाउँ अघि खोस्रेर खाउँ खेतबारी । २) केमा गर्छौ जिरह मजबुत छन् हातखुट्टा, नमान केही विरह ! ✍️ रबि पाैडेल
१) समुद्रपारि गए जन कमाउनको लागि भनेर, प्रवासी बन्ने प्रचलन ! २) मौलायो मात्र भ्रष्टाचार जस्ताको त्यस्तै अवस्था, मिलीजुली गरौँ बहिष्कार ! ३) परदेशमा धेरैका जीवन बाध्यता, परिबन्दको सिकार, तोड्न सक्दैनन् बन्धन ! ✍️
पृथक प्रकृति,झापा
१) आज पालो खोयाको बाँचौँ यही लोकमा, समय आउॅंछ कोयाको ! २) आक्रमण एउटा पाठ बुझ्नेले जरुर बुझ्छ, सोह्र दुना आठ ! ✍️
म्यामराज राई, भोजपुर
१) पाप पुण्य विचार सेवाको भावना राखेर, आफूलाई पहिला निखार ! २) फल्दैन आफैँ फल, श्रम चाहिन्छ दर्बिलो नगरी आफैँमा छल। ✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
१) सद्भाव लिएर आऊ मनमुटाव त्याग पहिले, अनि सत्यतामा रमाऊ ! २) गरिबी बेरोजगारी भ्रष्टाचार हामीले चुनेका नेताले, गरिरहे मज्जाले लगातार ! ✍️ चेतन खनाल
बंगलाचुली १ दाङ्ग।
१) ओहो ! डर लाग्यो चाहना कता भाग्यो, मनले सुरक्षा माग्यो ! २) भोकोपेट नै पौडिरहेछु केही पाउने आशामा, मरुभूमिमा अतालिँदै दौडिरहेछु ! ✍️ मन्दिरा सेढाई
मलेखु,धादिङ
१) सपना ठूलो बोकेर सहरको भिडमा आएँ, झुपडीमा आमा छोडेर ! ✍️ कला ढकाल
हाल बुटवल
१) गरेर असल काम सबैको मनमा बसेर, कमाऊ नाम दाम ! ✍️
सरिता सेढाई धादिङ
१) हिमाल पहाड तराई हामी सबै नेपाली, कोही छैन पराई ! २) आहा ! आमाको चोली सधैँभरि सुन्न पाउँ , मिठो मिठो बोली ! ✍️
कृष्ण धामी, बझाङ
१) गङ्गाजल बगेझैँ सलल्ल नयाँ विधा उदायाे, झिल्का कविता झलल्ल ! २) खराबी धुस्नुमा मिल्का विकृति सबै डढाए, तब फुल्ला झिल्का ! ✍️
बीरगंज- बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न मुख्य सुटरलाई आज प्रहरीले पक्राउ गरेको छ ।
गत कार्तिक १३ गते बाराको कलैयामा प्रधानाध्यापक स्वर्णकारलाई गोली हानी हत्या गर्ने मुख्य सुटर भारत बिहार छौडादानो तिनकोनीका सुजित सिंहलाई प्रहरीले पक्राउ गरेको हो । विश्रामपुर गाउँपालिकाको सिमानामा लुकिछिपी बसेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले सिंहलाई पक्राउ गरेको हो ।
भाग्न खोज्दा प्रहरीले सिंहको खुट्टामा २ राउन्ड गोली हानेको छ । प्रहरीले सिंहको दुवै खुट्टामा गोली हानेको छ । गोली लागेर घाइते भएका सिंहको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताएका छन् ।
प्रहरीले सिंहको साथ बाट एक थान पेस्तोल र त्यसमा लाग्ने ४ राउन्ड गोली पनि बरामद गरेको छ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- उन्नसाठीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०९/ ०५ते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५९ [उन्नसाठीऔ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग
पञ्चाङ्ग:०१ भुइँमा बसि खै के गुन्दैछन् भेडाहरू। आफ्नाे बाटाे आफैंँले थुन्दैछन् भेडाहरू। गर्छन् राजनीति झुक्याउने छक्याउने, झुटाे खाेक्राे भाषण सुन्दैछन् भेडाहरू। भ्रष्टाचारीहरू नै चुन्दैछन् भेडाहरू। सुशीला पौडेल
पञ्चाङ्ग:०२ भेडाको नेतृत्वलाई पछ्याएर विकास कहाँ हुन्छ यहाँ। नगन्य विज्ञको बोलि बिलाउँछ नि मन कहाँ छुन्छ यहाँ। नेपाल रङ्गमञ्च अनि हामी सारा नेपाली कलाकार रे , अयोग्यहरुमा विकल्प खोज्दा योग्य कस्ले किन चुन्छ यहाँ देशको अहितमा बोल्छन् बोल्नेको मुख कसले पो नै थुन्छ ? सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०३
गर्छन् भाषण नेताले जनता मख्खै हुने गरि । विकासका कुरा गर्छन् सबैको मन छुने गरि । हामी जनता भेडा सम्मान ,जे भने पत्याउने , सुनाउँछन् जनताको पीडा यो मन रुने गरि । यस्तो गर्छन् कुरा पनि सबको पाप धुने गरि ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
पञ्चाङ्ग:०४ हाम्रो देशमा त नेता मात्र चुन्दाचुन्दै समय गएछ। पहिर्याउन फुलमाला उन्दाउन्दै समय गएछ। नेता बनेपछि धारा प्रवाह भाषण गरेर थाकेन, जनता भेडो बनेर कुरा सुन्दासुन्दै समय गएछ। काम केही नगरी सपना बुन्दाबुन्दै समय गएछ! -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५
जसो गरे पनि राजनीतिमा सुहाउँदो रहेछ। जनताका कल्पित इच्छा हरु कुहाउँदो रहेछ। लाज छैन घिन छैन आँखा छोपेर अगाडि जाँदा, सोझा सिधा जनको रगतले नुहाउँदो रहेछ। हो यसै गरि गरि सबैलाई रुहाउँदो रहेछ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०६
कसरी भन्नु भ्रम याे छरेकाे भनेर । नचाहिँदाे यहाँ काम गरेकाे भनेर । तालमेल आहा सुन्ने, सुनाउनेकाे , खुसी दुबै छन् असर परेकाे भनेर सधैँ माथि बस्नेलाई झरेकाे भनेर ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०७ आनन्दले माईक्रोफोनको आवाज सुनेका छन्। त्यहाँ सबैले मनमनै कुराहरू गुनेका छन्। ठूलो चौरमा भेडा र मान्छे सरोबरी बसेका, ती मान्छेले भोट दिएर भेडा नेता चुनेका छन् सबैले जानी नजानी आफैँको बाटो थुनेका छन् बेदु न्यौपाने ✍️🇳🇵 पञ्चाङ्ग:०८ देशको विकास गर्न असल नेता हुनु पर्छ । जनताकाे सेवा गरी सवैकाे मन छुनु पर्छ। मान्छे जम्मा गरी गफ दिएर मात्रै कहाँ हुन्छ, दुखीकाे मन रुँदा आफ्नाे पनि मन रुनु पर्छ। आइलागे समस्या अघि सरी आफैंँ धुनु पर्छ।
उर्मिला के.शी. धनकुटा !
पञ्चाङ्ग:०९
सधैँ मिठा मिठा कुराहरू गर्छन् यहाँ। माथि गए पछि, तल आँखा तर्छन यहाँ। जनतालाई आँखामा छारो हालेर नै, बोलीमा नै सोझा जन भर पर्छन् यहाँ। विश्वास गरि तिनकै पछि सर्छन् यहाँ । शोभा आचार्य गौतम काठमाडौँ
ॐ पञ्चाङ्ग:१० —==— सबै सर्दार बिग्रियाे घरबार के बताऊँ हजुर। देशभर बनेकाछन् दरवार के बताऊँ हजुर। नीति नियम खल्तीमा राखेर भयाे भन्दछन् विकास, कतै देखिदैन छेक्ने छेकबार के बताऊँ हजुर। हातमा समाइ आए तरबार के बताऊँ हजुर । प्रद्युम्न चालिसेे भक्तपुर, कटुञ्जे ।
पञ्चाङ्ग ११ नेतृत्व चयन पारदर्शिता नदेखिएको खाल । विधि विधानमा वास्तविकता नलेखिएको खाल । जनताको देखभाल कहाँ फूर्सद छैन उनका, सजावट र भरिभराउले नपेलिएको खाल । थोत्रो कुटीबाट महल पुग्दा नलेपिएको खाल ।
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११५ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११५औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] जता गयो उतै छाद्छौ, नहेरिकनै ठाउँ, पदको गरिमा नराख्दा देख्यौ बल्ल बाउ । ✍️ वसन्त अनुभव घोराही, दाङ [२] मस्ती गरेको पैसाको खेलो, मिलाउँदै छन् है मेसोमेलो । ✍️ भेष कुमारी लामिछाने रुपन्देही [३] मस्तै खाइयो पचाइयो गरियो हामीले चैन, यस्तो रमाइलो त हजुर कसैलाई नि छैन। ✍️ नवशिला, बेलबारी-२,लालभित्ती,मोरङ। [४] हिउँदमा सुक्ने खहरे, वर्षातमा साँघु चाहियो तर्दा, निल्नु न ओकल्नु भयो अहिले तातो खोले मुखमा पर्दा । ✍️ उमा दाहाल शुन्दर हरैँचा -१० मोरङ [५] यो पनि मै त्यो पनि मै गर्छु भनी तम्सिने हुँदा, फसे आफैँ आएनन् कोही विगतमा एक्लै रुँदा। ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 [६] अलिनो कसरी खानु हजुर म त नुन खान्छु, नुनको सोझो गर्दागर्दै उसकै घरमा जान्छु । ✍️ गुणनिधि घिमिरे अमेरिका [७] मौका भएर पाइन्जेल खाए मैले धेरै, कस्ले सक्छ निकाल्न अदालत सबै मेरै । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हाल:-अमेरिका,बोस्टन। [८] खाउँखाउँ लाग्दालाग्दै झिगो पर्छ भागमा, भ्रष्टाचारको अन्त्य गरौँ यो पालि मागमा । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [९] खान यतिसम्म खाइयो, डकार आउने गरी खाइयो, मस्तले पचाइयो, भ्रष्टाचारमा सामेल बनाइयो, आँखै नहेरीकन खुशियाली मनाइयो। ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [१०] दालमा कालाे थियाे, शङ्का त पहिल्यै भयाे, कति ठूलाे अपराधी रै’छ ज्यान नै गयो । ✍️ प्रद्युम्न चालिसे [११] किन हो किन रित्तोझैँ लाग्छ गाउँ र सहर, आँखामा हेर बग्दैछ आज पीडाको नहर ! ✍️ आर्त अकुलीन [१२] खानुसम्म नै खायौ पहिले पचाउन भएछ गाह्रो, नुनको सोझो गरेँ भन्छौ अब पचाउन भयो साह्रो । ✍️ बेदु न्यौपाने 🇳🇵 [१३] नुनको सोझो गर्छु भन्दै खाएको थिएँ टन्न, बल्लतल्ल ज्यान जोगाएर हिँडेको छु धन्न । ✍️ सरिता सेढाई धादिङ [१४] नखानु थियो खायौ भ्रष्टले, पेटमा के घोलौला शल्यक्रिया गर्नु छ, सत्य अब कहिले खोलौला ? ✍️ प्रेम थापा “मन”बागलुङ [१५] खाऊ तिम्रै छ दिन खाएको पचाउन, सकेनौँ आखिर आफ्नो देश बचाउन । ✍️ हिमा आर सी मेहेलकुना सुर्खेत [१६] लोभी आँखा स्वार्थी मन पापी पेट हजुर साथमा, कामै गर्न मन लाउँदैन पैसा नपरे हातमा । ✍️ शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर। [१७] मौका पर्दा हिरा फोर्यौ चुस्यौ मिठो रस, बल्ल बुझ्यौ गाँठी कुरा कुना पसी बस । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [१८] नुनको सोझो गर्नैपर्यो नत्र हुन्छ हानी, गाह्रो हुँदो रहेछ हेर्नुस् सत्य बोल्ने बानी । ✍️ बाबुराम पाण्डे अर्घाखाँची [१९] के नै पाएँ जस्तो गरि हसुरेथ्यौ देखाई दुनियाँलाई जात्रा, भन्दाभन्दै समाइहालेउ जसरी भए नि पार गर यात्रा । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [२०] भ्रष्टाचारमा कमाएको पचाउने, अहिले गाह्रो भयो सुन पचाउन, पहिले धेरैले साथ दिए, अहिले डराएर आएनन् कोही बचाउन । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [२१] कति धेरै पो खान सक्छस् तैँले खानसम्म खानू, एकदिन आँफै सकिन्छस् पाउँदैनस् केही लानु । ✍️ समुद्र [२२] लोभले लाभ लाभले बिलाप भन्ने कुरा भुल्यौ, त्यतिबेला घमण्डले कोही चाहिन्न भन्दै फुल्यौ । ✍️ गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौ [२३] खाएपछि हग्नै पर्यो कनिकुथी जसैगरी, नुनको सोझो गर्नै पर्यो उस्कै शरण परी । ✍️ विवश पारदर्शी झापा, [२४] मौका पाए भ्रष्टाचार, नपाएपछि विरोध गर्छ, नियतिले कोल्टे फेर्दा, मान्छे पनि नहेरेरै तर्छ। ✍️ एवाइ प्रभात सहिदभुमि छेन्ताङ धनकुटा [२५] चाकरी चाटुकार पनि नाङ्गिन्छन् एकचोटि , नुनको सोझो गर्नेमा पनि हुन्छन् उच्चकोटि । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [२६] नुनको साेझाे गर्नेकाे त छैन खासै काम, जसले छलकपट गर्याे उसकै नाम । ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर । [२७] नुनको सोझो बनिरहे झन् धूर्त बन्दै, विदेशमा बसेको छु सधैँ पैसो गन्दै । ✍️ भगवती दवाडी , झापा [२८] समुद्ररहित यो देशमा निकाल्दैछन् नुन, नुन निकाल्ने नेताहरूले थुपार्दैछन् सुन। ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल [२९] नुनकै साेझाे गर्छु भनी दर्शन छाट्यौ, डुबेर खुनमै, स्वजनलाई नै ढाट्याै । ✍️ हरिगाेपाल प्रधान बनेपा १४ साँगा बजार । [३०] जो सोझो छ उसकै मुखमा घोचो, बाठाहरू मिलाउँछन् चोचोमोचो ! ✍️ पवन कुमार बुढाथोकी [३१] समस्या र आफ्नो शरीरको घाउ छोपी नराखे आफ्नैबाट रेटिन्छन् नुनचुक बोक्ने आफन्त तमसुक बोक्ने ठग्ने साहु धेरै भेटिन्छन् । ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाडौ हाल बारा सिमरा [३२] खानु माथि नि घिच्नु पाइयो नाची नाची खायौं , बाेक्रैसँग खाइयाे केरा नपाउनेले पायौं । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । [३३] यो कलीमा पाइदैन नुनको सोझो गर्नेहरू, हार्दिक नमन,यस्तै खबर सुन्न पॅाऊ अरू । ✍️ पुष्पा सुवेदी नेपालगंज, बॅाके । [३४] देश बिग्रिएता पनि धनको सोझो गरौँ, नुनको सोझो भन्दै पापको घडा नभरौँ। ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ [३५] भक्ति मेरो प्रभुको सलामी र गुलामीमा, आउँछन् आउँन्नन् पछौटे मेरो मलामीमा। ✍️ प्रदीप के रिमाल इटहरी सुनसरी। [३६] आँसु पिएर बसेको किन पाउँला नुन, जतासुकै जे गरे नि देखिने छैन गुन । ✍️ जमुना आचार्य सिन्धुपाल्चोक [३७] खुस्किगयो मुखबाट ,बोल्नै नहुने कुरो, धक्का लाग्यो योजनामा हुनेभयो अपुरो। ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी [३८] खानुसम्म खायौँ, देश डुब्यो लौ कति सताएका, जन्मदै ऋणको भार थोपर्ने लाज पचाएका । ✍️ यमुना प्रधानाङ्ग’मुना’ २०८०/०९/०७ शनिबार वीरगञ्ज, पर्सा हाल: ललितपुर [३९] सोझो रुख नै काटिन्छ हेर , दुनियाँमा पहिले, सकियो जमाना, नुनको सोझो गर्नेको अहिले । ✍️ शुक्रराज कुँवर धरान १० [४०] खान्न खान्न भन्दै खान हुन्न चारमाना, जानुपर्ला यार खानै छोडी पाइखाना । ✍️ बिके माकजू ,भक्तपुर । [४१] नुनको सोझो गर्दा पनि लाग्न सक्छ पाप, दाजुभाइको युद्ध गर्ने बसेको छ छाप । ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला [४२] नखाउन्जेल हो खाउ खाउ लाग्ने , खाएपछि अरूको आरिस जाग्ने । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो) कनकाई ४ झापा [४३] देशलाई धितो राखेर खाए, माटो ढुङ्गा रूख सबै पचाए । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ [४४] कसले सक्छ मेरो जस्तो पावर देखाउन, आइलागेको खाएको मैले नाम लेखाउन । ✍️ दुर्गा आचार्य मोरङ [४५] आहा! सुन्दर देखिन्छ आमाको चोली, सबैभन्दा मिठो लाग्छ आमाको बोली ! ✍️: कृष्ण धामी – बझाङ [४६] नुनको सोझो भन्दाभन्दै विदेशतिर गयौ लम्पसारवादले देशै डुबाउने भयौ। ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ [४७] लोभको भाँडो भरिन्न त्यो कहिल्यै हेर, श्रमिक जनको पसिना नजाओस् खेर । ✍️ शोभा आचार्य गौतम काठमाडौँ [४८] कमाउनु कमाए बगाए पैसाको खेलो, देश नै सक्काउने गर्दैछन मेसो मेलो। ✍️ सहयात्री शोभा अर्याल रुपन्देही , बुटवल
४८) ढुकुटी नै रित्तिएछ नुनको सोझो गर्दागर्दै हाँडी घोप्टे बनिएछ लोभको भाँडो भर्दाभर्दै l ✍️ बाबुराम गौतम, गुल्मी
[४९] पाएपछि कसले छाेड्थ्याे लाएकाे त्याे बानी, दिनेले जब दिन्छन् भने पाए जति हाे खानी। ✍️ भवानी पाेखरेल(बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु [५०] खाइयो भन्दैमा नगर्ने काम गर्नु हुन्नथ्यो, गल्ती काम गर भन्दा नगरे खुसी मिल्दथ्यो । ✍️ नन्दलाल आचार्य, सिद्धार्थटोल, बेलका-२, गल्फडिया, उदयपुर । [५१] नखाने कुरा भए गलगिद्ध खाऊ, खाने कुरा भए परपरै पन्छाऊ । ✍️ लक्ष्मी रिजाल सप्तरी, रूपनगर, कञ्चनरूप~१२, मधेस, नेपाल । [५२] मालिककाे पाउ पर्छु उसकै चाकरीमा बाेल्छु, आफ्नो माैलिक संस्कारलाई आगाे लगाई पाेल्छु। ✍️ मित्र `उराठी´ गाैतम तिलाेत्तमा न पा-२,रुपन्देही [५३]) सोचे थिएँ पहिला त देशकै लागि लड्छु भनी, सबले पिए सकिएनँ हेरी बस्न साधु बनी । ✍️ पुष्पा राई, खोटाङ। [५४] देखेपछि खाउँखाउँ लाग्छ नखाउँ भने मन मान्दैन, पैसा दिएर रिझाउनुछ आफन्त अनि खुट्टा तान्दैन । ✍️ भुपेन्द्र राना मगर धादिङ [५५] हसुर्दा जति नै पच्छ, अगस्ति बस्छ पेटमा, न्याय मूर्छा परेको छ, अख्तियार छ सेटमा । ✍️ रामशरण न्यौपाने, भक्तपुर [५६] मौका पाए भने सबैजना कुर्सीतिरै ताक्ने, माखो मार्ने केही होइन तलबभत्ता पाक्ने । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ [५७] झन्डा भनेको कलेजो हो मुटु हो बुझेमा, अस्तित्व समाप्त बन्ने यही झन्डा झुकेमा । ✍️ चूडा निर्भीक [५८] नुनकाे साेझाे गर्न खाेज्दा धेरै दुख गर्छ, चतुर चढ्छ काँध माथि साेझाे ज्यूँदै मर्छ । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी [५९] पाएको बेला खाइहाल्यौ लोभी बनेर, सोचेनौ नि पछि तिर्नुपर्छ की भनेर । ✍️ सुशीला शिखा काठमाडौँ कागेश्वरी [६०] नभन्नुथ्याे भनिहाले, र त पासाे लाग्याे बाेली, सहनै मुस्किल भयो र त कुरिरहेँ भाेलि । ✍️ खुनराज काेईराला सिद्दलेक -३ गरीगाउँ,धादिङ [६१] खान्छु सकेजति, नखाऊ नभन, खाएँ त देशकै, नदुखाऊ मन । ✍️ रचना शर्मा प्रतीक्षा , ललितपुर [६२] नुनको सोझो गर्दागर्दै, गयो जीवन सारा, पाइनँ जस कतै, जुटाउनै कठिन चारा । ✍️ नागेन्द्रप्रसाद यादव , दाङ
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १३४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
मस्त
हाम्रा महामहिम
गिदी खानमै व्यस्त !
- वसन्त अनुभव
[२]
अनेक
मिलेछ कहानी
मनुष्यको बित्यो जवानी !
- अम्बिका अधिकारी
झापा, बिर्तामोड
[३]
काण्ड
अनेकन् काण्ड
कहिल्यै नसकिने भूखण्ड !
- प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[४]
मनुष्य
खाइरहेछन् गिदी
अचम्म भयो जातिबित्ती !
- सरिता सेढाई, धादिङ
[५]
मस्तिष्क
चेतन प्रवाह
आखिर भुटेर खाँदै !
- आर्त अकुलीन
[६]
नतमस्तक
सम्पूर्ण सज्जन
दिमाग खान तल्लिन !
- पृथक प्रकृति, झापा
[७]
मस्तिक
उब्जाएको कथा
साध्य छैन व्यथा !
- सुरेशकुमार पाण्डे
घोराही-१८, दाङ
[८]
मस्तिष्क
जीवनको गाेरेटाे
भैराखेकाे छ सिरेटाे !
- कविदत्त ढकाल
ताँजाकाेट-४, हुम्ला
[९]
खप्पर
खाएका गिदी
गरेका आफ्नै जातिबित्ती !
- बेदु न्यौपाने
[१०]
मानव
पारेर प्रभाव
आफैँ बन्छ खराब !
- पूर्णबहादुर श्रेष्ठ 'हदयङकृत'
पनौती न.पा.-३, काभ्रे
[११]
मनुष्य
आउने जाने
गिदी भुटेर खाने !
- अच्युत घिमिरे, भुटान
[१२]
खाेेपडी
दानवीय राज
कदर हराएकाे संसार !
- भवानी घिमिरे, सर्लाही
[१३]
मानव
मस्तिष्कको प्रयोग
सकारात्मक नकारात्मक दुबै !
- प्रेम थापा 'मन', बागलुङ
[१४]
संसार
सँगैको चित्र
देखिन्छ अनेक विचित्र !
- अनुग्रह राना मगर 'पुष्प'
पाँचखपन नपा - ६ संखुवासभा ।
[१५]
मस्तिष्क
केन्द्रीय कार्यालय
सम्पूर्ण अङ्ग चलायमान !
- सविता के.सी.
[१६]
गिदी
मुख्य चालक
शरीरकाे राजा पालक !
- नवराज भट्ट, कञ्चनपुर
[१७]
दिमाग
चलाउने मैले
खराब गर्दिने अर्कैले !
- मधुसूदन अधिकारी, खुंग्री-५, रोल्पा
[१९]
परतन्त्र
विधर्मी शासक
गणतन्त्र नामको मन्त्र !
- विवश पारदर्शी, झापा
[२०]
शासन
फेरिएको व्यवस्था
जीवन नफेरिएको अवस्था !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[२१]
चुस्त
राज्य व्यवस्था
कथा हैन आवश्यकता !
- केशवप्रसाद ढकाल 'प्रीतबीज'
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[२२]
नेता
देश सकेका
जनताको मस्तिष्क खाएका !
- भगवती दवाडी, झापा
[२३]
भोज
निर्धालाई तोप
बलवानलाई छ मोजैमोज !
- दीपा गुरुङ्ग 'समभाव'
बुनपा-१२, कपन, काठमाडौँ
[२४]
मान्छे
धेरै दिमाग
झिकेर खान्छ आफैँ !
- पशपती राई, खोटाङ
[२५]
मस्तिष्क
सुझाव मान्दैन
असल काम जान्दैन !
- रामप्रसाद पुरी, बादेल, खाेटाङ
[२६]
गिदी
मानव हतियार
नष्ट गर्दै मतियार !
- गोपेन्द्र रिजाल, पाँचथर
[२७]
ल्याउनुपर्ने
मस्तिष्कले सुविचार
दिव्यज्ञानले अघि सारिने !
- कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[२८]
मस्तिष्क
चेतनाको भण्डार
मानव दानव बन्दै !
- राज कुमार राजभण्डारी 'खाेटाङ्गे'
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[२९]
अन्जान
प्रविधि व्यापार
आफ्नै गिदी उपहार !
- सुस्मिता अधिकारी, काठमाडौँ
[३०]
गिदी
भुटेर खाने
दानवीय मानिसको विधि !
- सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
[३१]
विकृती
अनौठो देखियो
मस्तिष्क खाएको भेटियो !
- रिता खराल, रूपन्देही
[३२]
अनेकौँ
चलेका कहानी
यस्तैमा बित्यो जिन्दगानी !
- दुर्गा भट्टराई, मोरङ
[३३]
पढेको
दिमाग सडेको
खोपडीमा किरा भरेको !
- जमुना कायस्थ, पोखरा
[३४]
मस्तिष्क
चिन्तन हरायो
खप्परले संसार सजायो !
- सरस्वती वली
बर्दिया, नेपाल
[३५]
खप्पर
विचारकाे आवास
आवश्यकता सद्बुद्धिकाे प्रवाह !
- नारायणप्रसाद उपाध्याय , कैलाली
[३६]
सचित्र
देखियो विचित्र
कस्तो यो चित्र ?
- कमला पौडेल
बरेङ-१, उर्लेनी, बागलुङ
[३७]
बकम्फुसे
बोलिले तिम्रो
मगज खायो मेरो !
- मङ्गला उपाध्याय
[३८]
अनौठो
आपसी सम्बन्ध
गिदीको मोल भाउमा !
- समुन्द्रा शर्मा, सुनसरी
[३९]
खोपडी
गिदी भरिएको
त्यही निकाली भुट्दै !
- धनमाया चौधरी, कैलाली
[४०]
प्रयोगशाला
विज्ञानको खेल
त्यसैले ल्यायो झेलैझेल !
- नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर
[४१]
खप्पर
भिडन्तै भिडन्त
समयको आश्चर्यजनक अवतार !
- लक्ष्मी रिजाल
कञ्चनरूप नगरपालिका-१२, रूपनगर, सप्तरी
[४२]
गिदी
यति अविधि
सङ्कुचित सोच परिधि !
- म्यामराज राई, भोजपुर
[४३]
अन्धविश्वास
महाजालमा भुलाउने
ठगहरूको व्यापारिक परिपञ्च !
- उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौँ
[४४]
विवशता
हुनेखानेको राज
बढ्दै गरिबको पीडा !
- कविता आचार्य, कैलाली
[४५]
मस्तिक
खाइसकेको सबै
सामाजिक सञ्जालले भुटेर !
- दुर्गा आचार्य, मोरङ
[४६]
मानव
चित्र हजारौँ
देखाउँछन् अनेक विचित्र !
- सहयात्री शोभा अर्याल
१) बाँझो छन् ती खेतबारी कुराकै खेती गर्दछ्न् काँट्छ्न्, दाइँ गर्छन्, कुराको भकारी भर्दछ्न् व्यस्त छन् ती ब्वाँसाहरू रगत पिउन नेपालमा, विचरा ती हरिणहरू, खाडीमा अकालै मर्दछ्न् । ✍️ वसन्त अनुभव घोराही, दाङ
२)
देश तिम्रै हातमा छ नेताज्यू सकेजति लुट्न पाइहाल्छौ
नानाथरी आश्वासनले जनताको बुद्धि भुट्न पाइहाल्छौ
दुःखी गरिबहरूलाई पो नियम कानून लाग्छ नेपालमा,
तिमीले अबौँ भ्रष्टाचार गरेर लाखौँमा छुट्न पाइहाल्छौ ।
✍️
चेतन खनाल (दाह्रीवाला)
बंगलाचुली १ दाङ
३) साहित्यिक यात्रा सबैको भरिलो खास हुनुपर्छ देश जनताको हितमा साहित्यको रास हुनुपर्छ साइँली साइँलाका गीत त गाउँदै आएका थियौँ, अबको रचनाभित्र देशभक्तिकै आभास हुनुपर्छ । ✍️ सुरेशकुमार पाण्डे घोराही १८ दाङ
४)
मख्खै पार्छन् नेताज्यूले चुनावमा भाेट माग्दाखेरि
कहाँ हुन्छन् थाहा हुँदैन जनताले राेट माग्दाखेरि
यस्तै छ याे देशकाे परिस्थिति कसलाई के भनौँ,
भेटिदैन यहाँ समस्याको समाधान सर्पाेट माग्दाखेरि ।
✍️
विना बुढाथोकी
सल्यान
५) भित्रभित्रै देश सिध्याउने खेल भएपछि चारैतिर षड्यन्त्र र जालझेल भएपपछि जनताहरू उफ्रिएर केही हुन्न सडकमा, अब नेताहरूकै आपसी तालमेल भएपछि। ✍️ अनिता भण्डारी ताप्लेजुङ
६)
अराजकतालाई पाता कस्न नसके देश हुन्छ भत्ताभुङ्ग
अब जनताले कालो मोसो धस्न नसके देश हुन्छ भताभुङ्ग
सबै आफसेआफ गोजी भरेर चल्न खोज्छन् अनि कसरी हुन्छ,
भ्रष्ट हातको ताल्चा खोसेर पस्न नसके देश हुन्छ भताभुङ्ग।
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
७) नेपालमा निकै गम्भीर अवस्था आएको छ जनता सडकमा छन् सरकार निदाएको छ दिनहुँ बढ्दैछ गरिबी, बेरोजगारी,भोकमरी, नेताले भ्रष्टाचार गरेर करोडौँ कमाएको छ । ✍️ भेषराज खनाल बंगलाचुली १ दाङ
८)
देश डुब्न लाग्दा पनि तिमी किन हेरिरहेछौ
यी जनताहरू रुवाएर तिमी त्यसै हाँसीरहेछौ
किन सक्दैनौ देशको विकास गर्न ए नेता हो ?
दिनदिनै सयौँको सङ्ख्यामा युवाहरू बेचिरहेछौ ।
✍️
विक्रम तिरुवा सलिन
जुम्ला
९) नेताहरू पनि आज अजिङ्गरजस्तै लाग्छ आफ्नै गाउँ पनि कालको सहरजस्तै लाग्छ उनी मोटाउँदै गए जनता ज्यूँदै जल्दाखेरी, हिमालको स्वच्छ पानी पनि जहरजस्तै लाग्छ। ✍️ मोती पोख्रेल घोराही दाङ।
१०)
भ्रष्ट नेताको सुध्रिने छाँट देखिएन
देश बनाउने कत्ति पनि आँट देखिएन,
स्विस बैङ्कमा अर्बौंको ब्यालेन्स उनको,
तर देश निर्माण गर्ने छाँटकाँट देखिएन ।
✍️
मोती पोख्रेल
दाङ
११) सरकारले जन जनको समस्या बारे सोच्न सक्नुपर्छ दायित्व बहन गर्न गम्भीर भई निकास खोज्न सक्नुपर्छ जनमतको कदर गरी जनताको मन जित्ने हो भने भ्रष्टाचार नियन्त्रण गरी सामानको मूल्य तोक्न सक्नुपर्छ । ✍️ रुपा गौतम निजगढ बारा
१२)
अरू कोही नआएपनि भेडाको बथान आउँछन् जानेर
भाषण दिन तयार भए नेता गुण चाहिँ गाउँछन् जानेर
चास्नीमा कमिलाहरू फसेझैं प्रलोभनमा फस्छन् जनता ,
र लागि परेका हुन्छन् दायाँबायाँ नगरी सघाउँछन् जानेर ।
✍️
पृथक प्रकृति,झापा
१३) आफन्त र नातेदारलाई सक्दो जागिर खुवाएका छन् लाखौँ युवा खाडी पठाउँछन् धुरुधुरु रुवाएका छन् भ्रष्टाचार गुन्डागर्दी घुसखोरीले भुँडी उत्तानो पल्टाएर, बुढा नेता कुर्सी ओगट्दै राल सिँगान चुवाएका छन् । ✍️ सरिता सेढाई धादिङ
१४)
यहाँ मन्त्री संसदलाई के पिर जनता बाँकी छन्
चुनावमा चाहिने जति स्थिर जनता बाँकी छन्
दु:खी गरिब भोकै मरेर फरक पर्दैन यो देशमा,
नेताको चाप्लुसी गर्न आखिर जनता बाँकी छन् ।
✍️
चेतन खनाल (दाह्रीवाला)
बंगलाचुली १ दाङ
१५) देशको ढुकुटी रित्याएर खोक्रो बनायौ डामाडोल छ अर्थतन्त्र धोक्रो बनायौ के नै बाँकी छ र यहाँ लुट्नु लुट्यौ देश, गुदी सबै खाइसकेर शेष बोक्रो बनायौ । ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ
१६)
रहे कि केही सपना अधुरा सोचेनौ है प्रिय
चाहिएको थियो कि सुनको चुरा सोचेनौ है प्रिय
मागेको हार हैन नेक्लेस हैन धर्को सिन्दुर त हो,
अहिलेसम्म कसरी गरौँ इच्छा पूरा सोचेनौ है प्रिय ।
✍️
गिता खड्का अञ्जली
दाङ
१७) समता उब्जाउने मुटुमा कुनै औकात हुँँदैहुँदैन जहाँ सुन्दर दृष्टि राखिन्छ, त्यहाँ घात हुँदैहुँदैन सहयोग गर्नेले मनैबाट प्रेम गरेको हुन्छ त्यसैले, जिउँदो छँदा नै देऊ नत्र पछि सौगात हुँँदैहुँदैन । ✍️ प्रेम थापा “मन”बागलुङ
१८)
टन्न कमाउनुछ पहिला हामीलाई कमाउनदिनुस्
यसो छोरा र नातिको लागि पनि जमाउनदिनुस्
तपाईँ भनेको जनता हो नि पालो आइहाल्छ नि,
दुईचार वर्ष हामीलाई देश लुटेर रमाउनदिनुस्।
✍️
नवशिला,बेलबारी २
लालभित्ती,मोरङ
१९) भ्रष्ट दलालहरू देशभर हल्लिएका छन् नेताका भाषणले जनता थल्लिएका छन् सबल र प्रभावशाली शासन नभएपछि, युवा अरूको कब्जामा दल्लिएका छन् । ✍️ कला ढकाल झापा दमक
२०)
जब पीडाले छोएको हुन्छ
आँसुले मुहार धोएको हुन्छ
आँसु लुकाई हाँसे पनि,
भित्रि मन निकै रोएको हुन्छ ।
✍️
सुनिता पाण्डे
घोराही १८ दाङ्ग
२१) छैन् छोरी सुरक्षित जन्मभूमि आमा पनि बलात्कारमा छन् अपराधीलाई फूलको हार मात्र निर्दोष कारागारमा छन् जसको शक्ति हुन्छ, उसकै भक्ति कानुन मरेको देशमा, नेतादेखि न्यायाधीशसम्म घुसखोरी र भ्रष्टाचारमा छन् । ✍️ शोभा शाह थापा हेटौडा ४ मकवानपुर
२२)
तिमी न्यायको भाषण गर्दै गर्नु म चल्दै गर्छु
तिमी माटोमा खोज्दै गर्नु म रुखमा फल्दै गर्छु
कैयौँ रात काटेर रम्ने ती दिन बचाएँ कति,
सधैँ जस्तै नै म पीडालाई निल्दै ओकल्दै गर्छु ।
✍️
प्रेम थापा "मन"बागलुङ
२३) नेताको भाषण कठै जनता आभार बनाउने रे झुठो आश्वासन हामीलाई स्वरोजगार बनाउने रे गरिबी बेरोजगारीले देश अस्तव्यस्त भएको छ, अझै बोल्छन् स्यालहरू दृढ सरकार बनाउने रे । ✍️ आकाश बि.क. बंगलाचुली १ दाङ्ग।
२४)
दुःखी गरिब जानैपर्ने भाषा भेश छोडेर
आफैँले जन्मेको हुर्केको परिवेश छोडेर
यहाँ पूजिवाद हरूको मात्र हैकम भयो,
म अब बिदा हुँदैछु आफ्नै देश छोडेर ।
✍️
गणेश क्षेत्री
बंगलाचुली १ दाङ्ग
२५) मान्छेको मनभित्र रिस डाहा अहङ्कार किन हुन्छ एकअर्कोलाई उचाल्ने पछार्ने संस्कार किन हुन्छ आपसी सद्भाव, भाइचारा बिस्तारै हराउँदै गयो, फरक विचार फरक भावनाको दुत्कार किन हुन्छ ? ✍️ सम्झना थापा मगर स्याङ्जा
२६)
म तिम्रै लागि भनेर काम गरेँ परिणाम के भयाे
आधा पेट खाई तिमीलाई पालेँ परिणाम के भयाे
छाेडेर जान्छाै अशक्त शरीर निर्दयी कति छाै,
चडाई काँधमा राखेको हरे परिणाम के भयाे ?
✍️
रबि पाैडेल
दक्षिण भारत पाण्डेचरि ~~~~~~~~~~~~~~~~~~~~
२७)
रातो रगत चुसेर बनेका छन् सेता घर यहाँ
शासक स्वार्थमै लिप्त कसको पर्नु भर यहाँ
गरिखाने वातावरण छैन न पैसा छ विदेशिन,
विपन्न वर्गलाई त जीवन धान्नै अभर यहाँ ।
✍️
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (४७औँ) शृङ्खलाका लागि लघुकथाकार रामकुमार पण्डितको लघुकथा ‘गाउँसहर’, लघुकथाकार तुलसी पण्डितको लघुकथा ‘श्रीमती’ र लघुकथाकार सुनिता निरौला पौडेलको लघुकथा 'निर्णय’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१) लघुकथाः गाउँसहर
✍️ रामकुमार पण्डित चोभारको ठूलो ढुङ्गामा पुगेर बागमतीको पानी ठोक्कियो । नदीको प्रवाहको चपेटामा परेर ढुङ्गाको ठाउँठाउँमा खोपिल्टो थियो । त्यो खोपिल्टोमा थोरै पानी रोकियो । ढुङ्गाले त्यही मौकामा भन्यो- “आफ्नो खबर सुनाउनु न पानीजी !”
त्यो एकमुठी पानीले भन्न सुरु गर्यो- “जब म गाउँको छेउबाट बग्दैथिएँ, गाउँका मान्छेहरूले मेरो पानीले नुहाए, धुहाए, कसैकसैले पिए पनि । गार्गीमा भरेर घर लैजाने महिलाहरू त कति कति ।”
त्यति नै बेला नदीको बिचमा छप्लाङ्ग गर्यो । चोभारको झोलुङ्गे पुलबाट बालकले एउटा गिट्टी फालेछ । त्यो सुनेर दुवैले आवाज आएतिर ध्यान दिए । वास्तविकता बुझेपछि ढुङ्गाले भन्यो- “अनि त्यसपछि के भयो ? सुनाउनु न !”
“मेरो बदन सफा थियो । मभित्र माछा, भ्यागुता आदि जीवले सिर्जना गर्दथे । किसानले सिँचाइ गर्दथ्यो । म बडो आनन्दित हुँदै बहदै आएँ । धेरै बहेपछि काठमाडौँ सहरको नजिक आइपुगेँ । गाउँमाभन्दा म अझ ठूलो सिर्जनाको खानी हुनेभए भनेर उत्साहित भएँ । अरूभन्दा नि काठमाडौँजस्तो राजधानीमा बस्ने सहरियाको सङ्गतले मैले केही सिक्न पाउँछु भन्ने लाग्यो ।”
“सहर आएपछि मेरो शरीर ढल र मलले ढाक्यो । पानीमा नुहाउने, धुवाउने त कताकता, मेरो नजिक आएपछि मान्छेहरू नाक थुन्दै हिँड्न थाले । देवीको रूपमा पूजा गर्ने मान्छेले नै मलाई किन यस्तो गर्यो ? मभित्र अथवा पानीमा सिर्जना गर्ने जीव खोइ कहाँबाट छुटे ? म सोचमग्न छु ।”
का.म.पा ६ सिमलटार । (रचना मिति: २०८० मङ्सिर २१ गते )
२) लघुकथा: श्रीमती
✍️ तुलसी पण्डित “परिवारको नाममा मेरी एक आमा हुनुहुन्छ । विवाहपछि उहाँलाई माया गर्ने भए म तिमीसँग विवाह गर्छु । माया नगर्ने भए म तिमीसँग विवाह गर्न सक्दिनँ ।” “हजुरले यो के भन्नुभएको ? घरमा पालिएको कुकुरको त कति माया लाग्छ, झन् आमा । म माया नगरौँला र । ती आमा पनि मेरी आमा नै हुन् ।”
धनेलाई चित्त बुझ्यो । धने र तिलमाया बिच विवाह भयो । ती जोडी अति नै मिल्थे । आमालाई पनि दुवैले अति माया गर्थे ।
केही समयपछि धने एक बिहानै काम छ भन्दै बाहिर गयो । जानेबेलामा धनेले भन्यो । “हेर तिलमाया ! म अहिले केही साथीहरुलाई भेटेर आउँछु । म आएपछि खाना खाएर तिमी र म बाहिर घुम्न जाउँला ?
“हस् हुन्छ ।”
धने घर आउन ढिला भयो । बुहारीले आमालाई भात खान दिइन् । आफू धनेको प्रतीक्षामा भोकै बसिन् ।
दिउँसोको बाह्र बजेको थियो, घर हल्लायो । एकैचोटी घर लड्यो । आमा र तिलमाया घरभित्र पुरिए । धने हस्याङफस्याङ गर्दै घर आयो । हेर्छ घर भित्र आमा र श्रीमती पुरिएका । ऊ रुन कराउन थाल्यो । बाटोमा हिड्दै गरेका उद्दार टोली आए । दुवैको खुट्टा बाहिर देखिएको थियो । उद्दार टोलीले ‘ पहिले बुढीमाउलाई निकालौँ भन्दै सबै कुरा पन्छाउन थाले । धनेले गएर छेक्यो ।
“किन छेकेको ? आमा जिउँदै हुनुहुन्छ । हामी उहाँलाई चाँडै गरेर निकाल्छौ । एक घण्टामा सहजसँग निकाल्न सकिन्छ ।”
उसले श्रीमती तिलमायालाई देखाउँदै भन्यो- “एक घण्टाामा ऊ मर्न सक्छे । पहिले उसलाई निकाल्नु न !”
३) लघुकथा: निर्णय
✍️ सुनिता निरौला पौडेल “घाम यति माथिसम्म आउँदा नि नउठ्या ! यो केटीको के चाला हो ?” आमाले छोरीमाथि रोष प्रकट गर्दै भन्नुभयो ।
“आमा ! राति अबेरसम्म निन्द्रा लागेन । बिहानीपखमात्र आँखा झ्याप्प लाग्यो, एकैछिन सुत्न दिनु न !” छोरी अझै कोल्टे फर्केर सुतिन् ।
“यसरी अबेरसम्म सुत्नेले के गरी घर खालान् ! के के न गर्छु भन्छे, खै ? पत्यारै लाग्नछाडिसक्यो मलाई त !” आमा निराश अनुहार लिएर भान्सातिर पस्नुभयो ।
‘आँफूखुसी सुत्न र उठ्न पनि नपाउनु ? अब त म बुझ्ने भइसकेँ । केही गर्छु पनि भनिरहेको छु; बुझ्दै बुझ्नुहुन्न आमाले । यसरी म कति दिनसम्म साँगुरिएर बस्ने ?’ मनमनै सोच्न थालिन् उनी । र, साथीहरूसँग फोनबाट कुराकानी गरेर बाहिर जाने विचार गरिन् ।
“आमा, म अब बाहिर जाँदैछु । भोलिको टिकट छ ।” भन्दै गर्दा “किन जानुपर्यो, विदेश छोरी ? कसरी यति छिटो निर्णय गर्यौ ?” कारुणिक शब्दले भन्नुभयो आमाले ।
“मैले के गर्दा राम्रो, के गर्दा नराम्रो हुन्छ भन्ने आफ्नो निर्णय आफैँ गर्नसक्ने भएँ आमा ।” भनेर घरबाट बिदा भइन् । उहाँले आँखाभरि आँसु टिलपिल पार्दै भित्र पस्नुभयो ।
भक्तपुर : राधे राधे, निकोशेरा । २०८० – ०९ – ०४ गते ।
( छोटो समयमा मनोभाव व्यक्त गर्न सकिने नयाँ नेपाली साहित्यिक प्रविधा “झिल्का” भनेको नौ शब्दको कविता। प्रत्येक हरफमा तीन तीन शब्द, पहिलो हरफले उठान, दोश्रो हरफले व्याख्यान र तेश्रो हरफले समापन गर्छ । पहिलो र तेश्रो हरफमा अन्त्यानुप्रास हुनु अनिवार्य छ । - गुणनिधी घिमिरे )
१) सााहित्यिक मनका आँखाहरूले छर्लङ्ग उज्यालो बनाउन्, हाम्रा झिल्काका भाखाहरूले ! २) न्यायलाई बुई बोकेर सुन्दर समाज बनाऊँ, अन्यायलाई व्यङ्ग्य ठोकेर ! ३) अर्काकै मात्र भरमा परेर देश बिग्रियो, अचेतन् नेताका करमा ! ४) जाग युवा जाग प्रगति धेरै गर्नलाई, सुमार्ग छानेर लाग ! ५) धुलो मैलोले भरियो रमाइलो हाम्रो आँगन, बेवास्ता किन गरियो ? ६) शान्ति व्यवस्था ल्याउन देशको मुहार फेर्नलाई, युवाले सक्छ भ्याउन ! ७) आगोको झिल्का लप्कामा होसले कर्म नगरे, खाइदेला एकै झप्कामा ! ८) झिल्कामा फाल हालेर सत्यको बाजी जितौँला, फोहर कर्तुत् फालेर ! ९) कसैको प्रशंसा पर्दैन जाँगर आँट गरौँला अल्छेले केही गर्दैन ! १०) बाँधेर संसारी मायाले कर्तव्य कर्म बिर्सेला, छाड्ला आफ्नैँ छायाँले । ✍️ गुणनिधि घिमिरे अमेरिका
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: चौहतरौऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७४ ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०९/०२गते बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ हरिको चरण पर्नु छ। भजन किर्तन गर्नु छ। जीवनमा खुसी ल्याउन, ज्ञानको प्रकाश छर्नु छ। भक्तिको मार्गमा सर्नु छ। सुशीला पौडेल
पञ्चाङ्ग:०२ नीति सिद्धान्त मानेर अघि बढ्नु छ। भक्ति मार्गमा जानेर अघि बढ्नु छ। सबल,सक्षम बन्नको लागि सधैँ, जगत आफ्नो ठानेर अघि बढ्नु छ। शक्तिमा ध्यान तानेर अघि बढ्नु छ। ह्यारिस
पञ्चाङ्ग :०३
नीति_सिद्धान्तहरू सधैँ मानेर चल्नुपर्छ। सुख दुःख एकै हो सधैं जानेर चल्नुपर्छ। मौसम बदलिए रहने निरन्तरतामा पल, भागदौड जिन्दगी सधैं तानेर चल्नुपर्छ । मन तरङ्गित पाइला धानेर चल्नुपर्छ । कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
पञ्चाङ्ग:०४
छोटो छोटो सास तानेर हिँड्नुपर्छ यहाँ। असल खराब छानेर हिँड्नुपर्छ यहाँ। बढ्नुपर्नेे विश्वास दिनदिनै घट्नेे गर्छ, ढुंगा भगवान मानेर हिँड्नुपर्छ यहाँ। आफ्नै मनलाई जानेर हिँड्नुपर्छ यहाँ ।
होम प्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग:०५ गुनासो गर्नु भन्दा चुप लागेर बस्नै बेस। पछुतो पर्नु भन्दा दुर भागेर बस्नै बेस। स्वतन्त्र भएर जिउनु पनि आलम्बना हो, जिउँदै मर्नु भन्दा खुब जागेर बस्नै बेस। पौन नै हर्नु भन्दा आड मागेर बस्नै बेस।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०६
याद तिम्रै छायाँ बनेर मेरो साथ धाउँछ ममा। छुँदाखेरी रुप तिम्राे फेरि कता हराउँछ ममा। खै किनकिन मनमा अनेक कुरा खेलिरहँदा, बिर्सुँ भन्छु पलपल तिम्रै कल्पना आउँछ ममा। गर्न खाेज्छु केही काम तिम्रै झल्काे छाउँछ ममा।
उर्मिला के.शी. धनकुटा
पन्चाङ्ग:०७ नीति र सिद्धान्त सानाले मान्नै पर्छ यहाँ। ठुलाले सकेजती साना हान्नै पर्छ यहाँ। जीवन जिउनुको मजा यहि त रहेछ, आफन्त पैसावाललाई छान्नै पर्छ यहाँ । आफ्ना सोरेर मिलाउन जान्नै पर्छ यहाँ । कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग :०८
यहाँ जानीजानी ठूलाले सानालाई चैँ मिच्ने रहेछन्। दुनियाँ आँखा छल्दै डोनेसन उठाई घिच्ने रहेछन्। बोली धर्म न चलनको आफैँ ठूलो बनेर रहेका, नबुझेको छ भने अत्याचार मात्रामा थिच्ने रहेछन् । आँखा चिम्लेर आफू अघि सर्दै सबैले किच्ने रहेछन्।
बेदु न्यौपाने ✍️🇳🇵
पञ्चाङ्ग :०९
शान्तिका दुत मान्दछौ तिमीलाई । धर्म पालक छान्दछौ तिमीलाई । अशान्तिकाे छिमाेलेर सारा हाँगा , ज्ञानी बुद्ध याे जान्दछौँ तिमीलाई । भगवान् रुप ठान्दछौ तिमीलाई ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:१० आँसु बनेर दुःख बग्दछ टुटे पछि तन मेरो। इमान्दारिता अङ्गाल्नेको दुःखेको छ नि मन मेरो। संघर्षको संसारमा कर्म हराउन थाल्यो सधैं जाने मृत्यु पश्चात खाली ठूलो नठानौ धन मेरो। मातृभूमी छोडेर बसाईँ सर्न थाले जन मेरो। सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:११ मान्छेले तँछाडमछाड गरेर हुल गरे बाबै। आफुले आफैंलाई श्रेष्ठ ठानेर भुल गरे बाबै। नत्र त ढुङ्गालाई देउता मानी किन पुज्नुपर्थ्यो, ज्ञानओझेल पारी घमण्डलाई मुल गरे बाबै। विश्वासलाई पनि छिद्र पारेर झुल गरे बाबै। -पशपती राई खोटाङ ।
झिल्का एक नवीनतम, लघुतम प्रयोगवादी काव्य विधा हो । जुन तीन हरफको हुन्छ । प्रत्येक हरफमा ३/३ शब्द हुने गर्दछ्न् । एउटा कवितामा जम्माजम्मी ९ शब्दहरू हुन्छन् । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले बिस्तार र तेस्रो हरफले भावलाई उत्कर्षमा पुर्याउँदै समापन गर्दछ । झिल्काको पहिलो र तेस्रो हरफको अन्त्यानुप्रास मिलेको र दोस्रो हरफ स्वतन्त्र रहेकोे हुन्छ । झिल्कामा विम्व, प्रतीकको प्रयोग गर्दै कुनै पनि विषयवस्तु माथि चोटिलो प्रहार गर्न सकिन्छ ।
वसन्त अनुभवका उत्कृष्ट झिल्का कविताहरू-
१) जीवन सारा जगत सम्झेर ल्याउँदा हजुर, लाग्दैछ आज फगत ! २) आकाश धर्ती सबमा एकमात्र तिमी पियारी, अमूल्य सारा जगमा ! ३) नशालु तिम्रो नजर पलपल मलाई तान्दैछ, लोभलाग्दो त्यो अधर ! ४) उज्यालो जुनेली रातमा हातमा हात राखेर, भुलियो मायाको साथमा ! ५) गाजा भाङ चरेस हानिकारक हुन्छ जीवनमा, नखानू कहिल्यै हरेश ६) जानेर या नजानेर ऊ भइदियो टाढा मुटुमा छुरा हानेर ! ७) स्वार्थीको छ धुइरो मुहारमा कुटिल मुस्कान हातमा छ सुइरो ! ८) मायामा विष भरेर हिड्यो ऊ सुटुक्क आँखामा नहर खनेर ! ९) चिसो अन्धकार रातमा झुम्दैछन् मदहोस मान्छेहरू आआफ्नै सुर मातमा ! १०) सडक र सदन नेताहरू सबै कलाकार मुना र मदन ! ११) आमालाई दिएर घात मख्ख छन् राष्ट्रप्रेमीहरू गरेर युवा निर्यात ! १२) परेपछि घमण्डको छिर्को उचितअनुचित हेक्कै नहुने लागेपछि बुद्धिमा बिर्को ! १३) राखेर मलाई क्षोभमा हाँस्दै गयौ निष्ठुरी परेर धनको लोभमा ! १४) कतिबेला पस्यौ सुटुक्क थाहै नदिई मलाई दिलमा बस्यौ सुटुक्क ! १५) शब्द शब्द जोखेर हिँड्छन् छ्द्मभेषी स्यालहरू मुखमा मह बोकेर ! १६) नदेखाऊ धेरै कमाल इज्जत पर्दैछ धरापमा आफ्नो लँगौटी समाल ! १७) लखेटी युवा खाडीमा मस्त छन् हजुरबाहरू चढेर अर्बौँको गाडीमा १८) खोलेर कुरा कम्पनी बाँड्दैछन् रोजगार नेताहरू बन्नेछ देश धनी । १९) लोग्ने परदेश खाडीमा भताभुङ्ग भयो घरबार स्वास्नी नाठोको गाडीमा ! २०) लाग्दैछ कुक्क बाँडुली धेरै भयो नदेखेको सम्झ्यौकि ए ! ठुली ? २१) कोसौँको दूरी चलेर भेट्न आउँदैछु सुटुक्क सासुकी छोरी छलेर ! २२) छातीमा हात राखेर धरोधर्म धोका दिनेछैन कसम देउता भाकेर ! २३) बनायौ नोकर भान्छे जोत्यौ, म जोतिइरहेँ जिउँदै मरेको मान्छे ! २४) हाँसो, रोदनको मूल रहेछ जिन्दगी आखिर छाङ्गो भिरको फूल ! २५) दिलकी रानी सम्झिएँ एयरपोर्ट जस्तै तिमीलाई सुनको खानी सम्झिएँं ! २६) अजङ्गको पिर छातीमा बोकेर हिँड्दैछ लगातार, तिखिलो झिर छातीमा ! २७) आँखामा बोकी असार छातीमा उस्तै ज्वालामुखी, जलेको ध्वाँसो अङार ! २८) वचनको किलो गाडेर अचानक गई निष्ठुरी, सम्बन्ध सारा भाँडेर ! २९) दुनियाँका कान भर्दै हिड्दैछे मोरी अचेल एकपछि अर्को गर्दै ! ३०) माया गर्छु तिमीलाई ख्याल ठट्टा नठान्नू, नपाए मर्छु तिमीलाई ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ