वसन्त अनुभवका उत्कृष्ट झिल्का कविताहरू

  • ४ पुष २०८०, बुधबार २३:४७ मा प्रकाशित
  • झिल्का एक नवीनतम, लघुतम प्रयोगवादी काव्य विधा हो । जुन तीन हरफको हुन्छ । प्रत्येक हरफमा ३/३ शब्द हुने गर्दछ्न् । एउटा कवितामा जम्माजम्मी  ९ शब्दहरू हुन्छन् । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले बिस्तार र तेस्रो हरफले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । झिल्काको पहिलो र तेस्रो हरफको अन्त्यानुप्रास मिलेको र दोस्रो हरफ स्वतन्त्र रहेकोे हुन्छ । झिल्कामा विम्व, प्रतीकको प्रयोग गर्दै कुनै पनि विषयवस्तु माथि चोटिलो प्रहार गर्न सकिन्छ ।

    वसन्त अनुभवका उत्कृष्ट झिल्का कविताहरू-

    १)
    जीवन सारा जगत
    सम्झेर ल्याउँदा हजुर,
    लाग्दैछ आज फगत !
    २)
    आकाश धर्ती सबमा
    एकमात्र तिमी पियारी,
    अमूल्य सारा जगमा !
    ३)
    नशालु तिम्रो नजर
    पलपल मलाई तान्दैछ,
    लोभलाग्दो त्यो अधर !
    ४)
    उज्यालो जुनेली रातमा
    हातमा हात राखेर,
    भुलियो मायाको साथमा !
    ५)
    गाजा भाङ चरेस
    हानिकारक हुन्छ जीवनमा,
    नखानू कहिल्यै हरेश
    ६)
    जानेर या नजानेर
    ऊ भइदियो टाढा
    मुटुमा छुरा हानेर !
    ७)
    स्वार्थीको छ धुइरो
    मुहारमा कुटिल मुस्कान
    हातमा छ सुइरो !
    ८)
    मायामा विष भरेर
    हिड्यो ऊ सुटुक्क
    आँखामा नहर खनेर !
    ९)
    चिसो अन्धकार रातमा
    झुम्दैछन् मदहोस मान्छेहरू
    आआफ्नै सुर मातमा !
    १०)
    सडक र सदन
    नेताहरू सबै कलाकार
    मुना र मदन !
    ११)
    आमालाई दिएर घात
    मख्ख छन् राष्ट्रप्रेमीहरू
    गरेर युवा निर्यात !
    १२)
    परेपछि घमण्डको छिर्को
    उचितअनुचित हेक्कै नहुने
    लागेपछि बुद्धिमा बिर्को !
    १३)
    राखेर मलाई क्षोभमा
    हाँस्दै गयौ निष्ठुरी
    परेर धनको लोभमा !
    १४)
    कतिबेला पस्यौ सुटुक्क
    थाहै नदिई मलाई
    दिलमा बस्यौ सुटुक्क !
    १५)
    शब्द शब्द जोखेर
    हिँड्छन् छ्द्मभेषी स्यालहरू
    मुखमा मह बोकेर !
    १६)
    नदेखाऊ धेरै कमाल
    इज्जत पर्दैछ धरापमा
    आफ्नो लँगौटी समाल !
    १७)
    लखेटी युवा खाडीमा
    मस्त छन् हजुरबाहरू
    चढेर अर्बौँको गाडीमा
    १८)
    खोलेर कुरा कम्पनी
    बाँड्दैछन् रोजगार नेताहरू
    बन्नेछ देश धनी ।
    १९)
    लोग्ने परदेश खाडीमा
    भताभुङ्ग भयो घरबार
    स्वास्नी नाठोको गाडीमा !
    २०)
    लाग्दैछ कुक्क बाँडुली
    धेरै भयो नदेखेको
    सम्झ्यौकि ए ! ठुली ?
    २१)
    कोसौँको दूरी चलेर
    भेट्न आउँदैछु सुटुक्क
    सासुकी छोरी छलेर !
    २२)
    छातीमा हात राखेर
    धरोधर्म धोका दिनेछैन
    कसम देउता भाकेर !
    २३)
    बनायौ नोकर भान्छे
    जोत्यौ, म जोतिइरहेँ
    जिउँदै मरेको मान्छे !
    २४)
    हाँसो, रोदनको मूल
    रहेछ जिन्दगी आखिर
    छाङ्गो भिरको फूल !
    २५)
    दिलकी रानी सम्झिएँ
    एयरपोर्ट जस्तै तिमीलाई
    सुनको खानी सम्झिएँं !
    २६)
    अजङ्गको पिर छातीमा
    बोकेर हिँड्दैछ लगातार,
    तिखिलो झिर छातीमा !
    २७)
    आँखामा बोकी असार
    छातीमा उस्तै ज्वालामुखी,
    जलेको ध्वाँसो अङार !
    २८)
    वचनको किलो गाडेर
    अचानक गई निष्ठुरी,
    सम्बन्ध सारा भाँडेर !
    २९)
    दुनियाँका कान भर्दै
    हिड्दैछे मोरी अचेल
    एकपछि अर्को गर्दै !
    ३०)
    माया गर्छु तिमीलाई
    ख्याल ठट्टा नठान्नू,
    नपाए मर्छु तिमीलाई !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    Leave a Reply