
झिल्का एक मौलिक प्रयोगवादी नवीनतम एवम् लघुतम काव्य विधा हो । जुन तीन हरफमा लेख्ने गरिन्छ । आद्य पङ्ती, मध्य पङ्ती र अन्त्य पङ्ती गरेर जम्मा तीन हरफहरू हुन्छन् । तीन हरफमा जम्मा नौ शब्दहरू हुन्छन्। तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
यसको आद्य पङ्तीले विषयवस्तुको उठान, मध्य पङ्तीले समर्थन गर्दै बिस्तार र अन्त्य पङ्तीले भावलाई उत्कर्षमा पुर्याउँदै समापन गर्दछ । यसको आद्य र अन्त्य पङ्तीमा अनिवार्य अनुप्रास हुनुपर्छ भने मध्य पङ्ती भने स्वतन्त्र लेख्न सकिन्छ ।

झिल्का कविता लेखन अभ्यास शृङ्खला-१
#प्रशिक्षण/संयोजन/सम्पादन: वसन्त अनुभव
१)
बोकेर आँखामा नहर
तड्पिरहेछु म निष्ठुरी,
सम्झेर हरेक प्रहर !
२)
सधैँ अगाडि सर
सफलता प्राप्तिका लागि,
कर्ममा विश्वास गर !
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
१)
बाेकेर पिरकाे भारी
बढ्दै जाउँ अघि
खोस्रेर खाउँ खेतबारी ।
२)
केमा गर्छौ जिरह
मजबुत छन् हातखुट्टा,
नमान केही विरह !
✍️
रबि पाैडेल
दक्षिण भारत पाण्डेचरि ।
१)
नौलो आभास बोकेर
उदायो झिल्का समाजमा,
झाङ्गियोस् ताल ठोकेर !
२)
सुतेको बस्ती जगाउँन
रमाउँदै कविताको फाँटमा,
आयो साइनो लगाउँन !
✍️
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
१)
राखेर हामीले सेवाभाव
दिने गरौँ अरूलाई,
सल्लाह र सुझाव !
२)
राखेर तिमीलाई मनमा
दिँदैन कहिल्यै दु:ख,
पाल्दछु सुखैले जीवनमा !
✍️
बाबुराम पाण्डे
अर्घाखाँची
१)
मुटुको टुक्राले बतायो
घमन्ड गर्दथ्यौ आखिर,
निष्ठुरी मायाले सतायो !
२)
सिक्दैछु भर्खर देखेर
नवीनतम झिल्का कविता,
राख्दैछु अलिअलि लेखेर !
✍️
अम्विका अधिकारी
झापा विर्तामोड
१)
सोचौँ सबैको भलाइ
मरिन्छ पक्कै एकदिन,
नगरौँ घात कसैलाई !
२)
मनमा पिर बोकेर
युवा उड्यो समुद्रपारि,
भविष्य बनाउने सोचेर !
✍️
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
१)
माया जितेर गयो
सधैँ सफलताको यात्रामा,
ऊ गरिब भयो !
२)
देश बेचेर नेताले
रुँदैछिन् जननी आमा
गरिब भो खेताले।
३)
सपना बोकेर हिडेको
दोबाटोमा अल्झिरहेको छु,
विचार तिमीले जितेको !
✍️
एवाइ प्रभात
सहिदभुमि धनकुटा
१)
ठान्छौ आफू पवित्र
बुझ वा सोच,
कस्तो छ चरित्र ?
२)
आफ्नो चाल पाउन
समर्पण जरुरी छ,
सुनौलो दिन आउन ।
✍️
प्रेम थापा “मन”बागलुङ
१)
बोकेर सपना धेरै
युवाहरू खाडी मुलुक,
झुपडीमा गरिबी मेरै !
✍️
नागेन्द्रप्रसाद यादव , दाङ
१)
समुद्रपारि गए जन
कमाउनको लागि भनेर,
प्रवासी बन्ने प्रचलन !
२)
मौलायो मात्र भ्रष्टाचार
जस्ताको त्यस्तै अवस्था,
मिलीजुली गरौँ बहिष्कार !
३)
परदेशमा धेरैका जीवन
बाध्यता, परिबन्दको सिकार,
तोड्न सक्दैनन् बन्धन !
✍️
पृथक प्रकृति,झापा
१)
आज पालो खोयाको
बाँचौँ यही लोकमा,
समय आउॅंछ कोयाको !
२)
आक्रमण एउटा पाठ
बुझ्नेले जरुर बुझ्छ,
सोह्र दुना आठ !
✍️
म्यामराज राई, भोजपुर
१)
पाप पुण्य विचार
सेवाको भावना राखेर,
आफूलाई पहिला निखार !
२)
फल्दैन आफैँ फल,
श्रम चाहिन्छ दर्बिलो
नगरी आफैँमा छल।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
१)
सद्भाव लिएर आऊ
मनमुटाव त्याग पहिले,
अनि सत्यतामा रमाऊ !
२)
गरिबी बेरोजगारी भ्रष्टाचार
हामीले चुनेका नेताले,
गरिरहे मज्जाले लगातार !
✍️
चेतन खनाल
बंगलाचुली १ दाङ्ग।
१)
ओहो ! डर लाग्यो
चाहना कता भाग्यो,
मनले सुरक्षा माग्यो !
२)
भोकोपेट नै पौडिरहेछु
केही पाउने आशामा,
मरुभूमिमा अतालिँदै दौडिरहेछु !
✍️
मन्दिरा सेढाई
मलेखु,धादिङ
१)
सपना ठूलो बोकेर
सहरको भिडमा आएँ,
झुपडीमा आमा छोडेर !
✍️
कला ढकाल
हाल बुटवल
१)
गरेर असल काम
सबैको मनमा बसेर,
कमाऊ नाम दाम !
✍️
सरिता सेढाई धादिङ
१)
हिमाल पहाड तराई
हामी सबै नेपाली,
कोही छैन पराई !
२)
आहा ! आमाको चोली
सधैँभरि सुन्न पाउँ ,
मिठो मिठो बोली !
✍️
कृष्ण धामी, बझाङ
१)
गङ्गाजल बगेझैँ सलल्ल
नयाँ विधा उदायाे,
झिल्का कविता झलल्ल !
२)
खराबी धुस्नुमा मिल्का
विकृति सबै डढाए,
तब फुल्ला झिल्का !
✍️

