• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

ड्युटी गर्दागर्दै साउदीमै ढले कर्णबहादुर

  • ३० आश्विन २०८०, मंगलवार १७:२३ मा प्रकाशित
  • झापाको बाह्रदशी गाउँपालिका–१ बस्ने कर्णबहादुर केरुंगा साउदी अरबमा काम गर्दैगर्दा अचानक रिंगटा लागेर ढले । उनी साउदी अरब अलकासिमस्थित एक निजी कृषि फार्ममा लामो समयदेखि काम गर्दै आएका थिए ।

    एक दिन काम गर्दागर्दै अचानक रिंगटा लागेर ढलेपछि सहकर्मी साथीहरू तथा कम्पनीको मालिकले अलकासिमस्थित किंग फाहाद हस्पिटलमा उपचारका लागि उनलाई लगेका थिए । तर, उनको स्वास्थ्यमा सुधार आएन । उपचारकै क्रममा गत ३० सेप्टेम्बरमा अस्पतालको बेडमा कहिल्यै नफर्किने गरी अस्ताए उनी ।

    नेपाली राजदूतावास रियादका द्वितीय सचिव टीकाराम उपाध्याय र अलकासिमस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबका पूर्वउपाध्यक्ष तथा नेपाली राजदूतावास रियादका अवैतानिक प्रतिनिधि भक्तवीर राईलगायतको अथक प्रयासपछि मृतकको पार्थिव शरीरलाई मंगलबार नेपाल पठाउन सफल भएको संघका क्षेत्रीय समन्वय समिति अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on ड्युटी गर्दागर्दै साउदीमै ढले कर्णबहादुर

    मिस प्रोभिन्सको पब्लिक च्वइस को उपाधी अपेक्षा राईले जितिन्।

  • २९ आश्विन २०८०, सोमबार ००:३२ मा प्रकाशित
  • धरान। ड्रीम एम प्रोडक्सन ले आयोजना गरेको मिस प्रोभिन्स आइडल २०२३ को मिस प्रोभिन्सको पब्लिक च्वइस उपाधी अपेक्षा राईले हात पार्न सफल भएकी छिन्।
    अपेक्षा राई धरान ११ स्थायी निवासी भएता पनि पुर्खौली घर खोटाङ्ग भएकोले खोटाङ्ग नै प्यारो ठान्ने गर्छिन्। उनी हाल धरान मेघा कलेजमा होटेल म्यानेजमेन्ट तर्फ कक्षा ११ का बिद्यार्थी हुन्।

    आईडलको उपाधी धरानकि माङ्सेमी लिम्बुले जितेकी छिन् फस्ट रनरअपको उपाधि संखुवासभाकी आकृति चाम्लिङ राईले प्राप्त गरिन, सेकेण्ड रनरअप सुनसरीका विनिसा बिष्ट र थर्ड रनरअपको उपाधि तेह्रथुमकी नुनमा लिम्बुले प्राप्त गर्न सफल भईन ।

    प्रतियोगिताको ग्राण्ड फनालेमा मस्ट ग्राजुअसको उपाधि राधिका नेपाली, मिस ट्यालेन्ट माङसेमी लिम्बु भएका थिए । अन्य टाईटलमा बेस्ट वाक एन्जिला तामाङ, मस्ट एक्टिभ अपेक्षा राई, मस्ट डिस्पीलिन बिनिसा दर्नाल, मिस फोटोजेनिक निवासा लिम्बु, मिस बव्ली सोनिया याख्खा, मिस फ्रेण्डली आयुसा श्रेष्ठ, मस्ट कन्फिडेण्ट अनिता परियार, मस्ट चार्मिन नुनम लिम्बु, मस्ट अविडेण्ट आकृति चाम्लिङ राई, मिस मल्टिमिडिया च्वाईस रोजिना जिमि र मिस पंचुअल प्रशंसा राईले उपाधि प्राप्त गरिन ।
    ग्राण्ड फिनाले कार्यक्रम धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । ग्राण्ड फिनाले निर्णायकहरुमा युवा व्यवसायी तथा संचार उद्यमी विश्वराज तामाङ, एनि ब्राण्डका अध्यक्ष सन्तोष थोप्रा लगायत रहेका थिए।

    Posted in कला /जीवनशैली, मुख्य खबर1 Comment on मिस प्रोभिन्सको पब्लिक च्वइस को उपाधी अपेक्षा राईले जितिन्।

    ब्युटिसियन पार्वती शाक्य एभरेस्ट ब्युटिसियन एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

  • २८ आश्विन २०८०, आईतवार २१:१० मा प्रकाशित
  • काठमाडौं ! सौर्न्दर्य ब्यबसायी तथा ब्युटिसियन पार्वती शाक्य एभरेस्ट ब्युटिसियन एक्सिलेन्सी अवार्डद्वारा सम्मानित भएकी छिन्।

    शाक्यलाई शनिबार राष्ट्रिय नाचघर जमलमा एभरेष्ट इभेन्ट्स तथा करुणाको ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरद्वारा आयोजित मिस्टर एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३को ग्रान्ड फिनालेमा उक्त अवार्डद्वारा सम्मानित गरिएको हो।

    विगत १० बर्ष देखि सौन्दर्य व्यावसाय तथा ब्युटिसियनमा कार्यरत शाक्य उपत्यकाको रैथाने नेवा: समुदायका हुन्। परम्परागत ब्यबसाय भन्दा फरक सौर्न्दर्य ब्यबसाय रोजेका उनको ललितपुरको भैसेपाटीमा सिन्दुर ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर रहेका छन्।

    आफुले गर्दै आएका व्यावसायमा खुशी रहेकी शाक्यले कुनै पनि काम गर्दा उक्त कामप्रति लगनशील हुनु पर्ने बताउदै अवार्डद्वारा सम्मानित हुदा अझ काम गर्न प्रेरणा मिलेको बताएकी छिन्।

    मिस्टर एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३को उपाधी मिस कृष्णा कुँवर र सोलिना लामाले चुमेकी छिन् भने श्रीमती प्रिना राई गुरुङ र मिस अरुणा पुरीले फर्स्ट रनरअप ,मिस बिनिता खड्का र श्रीमती झरना काफ्लेले सेकेन्ड रनरअप ,मिस कृतिका गिरी र श्रीमती संगम शर्माले ब्रान्ड एसेम्डर,क्रान्ति घिमिरेले आयोजक छनोट र सरिता पत्र वंशले ब्युटी विथ ब्रेन अवार्ड जितेकी छिन्।i

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on ब्युटिसियन पार्वती शाक्य एभरेस्ट ब्युटिसियन एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग-४९

  • २८ आश्विन २०८०, आईतवार २०:३९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौँ।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- उनन्पचासौँमा हामी पुगेका छौँ।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०६/२५गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४९[ उनन्पचासौँ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~~~~~
    पञ्चाङ्ग:०१
    प्रकृतिले अनुपम सुन्दरता छरेको छ।
    यसले मानिसहरुलाई खुसी भरेको छ।
    प्रकृतिको अद्वितीय शक्ति कसले भन्नु खै,
    प्रफुल्लित प्रकृतिमा मान्छे छक्क परेको छ।
    मानिसका पीडा मनको वेदना हरेको छ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    सुन्दर फूलबारी घरका छानामा हेरे आज।
    बस्ती त्यो बादलको मनको पानामा केरे आज।
    कस्तो हुन्थ्यो होला सपनाको महल जान पाए ,
    ब्युँझिनु अगाडी चाहनाको थानामा घेरे आज।
    स्वर्ग जस्ता महललाई नै गानामा बेरे आज।
    सुस्मिता अधिकारी , काठमाडौँ

    पञ्चाङ्ग:०३

    लुताे कन्याएर मज्जा ठान्छौ भने ।
    कृतिमतालाई सज्जा मान्छौ भने ।
    भित्री मन रमाउँदैन है तिम्रो ,
    उज्यालो छाेडी अँध्याराे छान्छौ भने,
    कर्म नगरीकन नै खान्छौ भने ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०४

    सुन्दर संसार राम्रो घर होस्।
    त्यो घरमा बस्ने असल वर होस्
    फूलसँग चरा खेलेको हेरौँ,
    माया भनेर बोल्ने धर होस् ।
    हाम्रो लागि सजिएको चर होस् ।

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ।

    पञ्चाङ्ग:०५
    सुन्दर घरमा बस्न मन छ।
    यसमा नै घुँडा धस्न मन छ।
    प्राकृतिको अनुपम सुन्दर,
    बादल झै गरि खस्न मन छ।
    प्रकृति दिलमा कस्न मन छ।
    ह्यारिस

    पञ्चाङ्ग:०६
    कल्पनाभन्दा परको गाउँ हो यो।
    सपनामा जाॅदै खेल्ने ठाउँ हो यो।
    धर्तीमा कतै यस्तो होला नहोला,
    नन्दन या अरू यस्तै नाउँ हो यो।
    या त स्वर्गसम्म जाने साउँ हो यो।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०७
    सायद सबैले नै परिकल्पना गरेको होला !
    यो प्रकृतिले नै त्यो सुन्दर रङ्ग भरेको होला,
    सपनाको स्वर्ग त्यो नन्दन वन वाटिका जस्तै,
    त्यो सृष्टिकर्ताले नै जीवन बीज छरेको होला !
    कि सुरम्य रचना बादल बाट झरेको होला ?

    विवश पारदर्शी
    झापा,

    पञ्चाङ्ग:०८

    कुनै दिन कल्पना गरेको ठाउँ।
    प्राकृति सुन्दरता भरेको ठाउँ ।
    प्राकृतिक सुन्दरता नै उत्तम,
    अवस्य स्वर्गबाट झरेको ठाउँ।
    जाऊँ झैँ लाग्ने मन परेको ठाउँ ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०९

    एक चित्त मनले सुन्दर स्वर्गको कल्पना गरौँ साथी
    लामो गरेर स्वास फालेर लामो स्वास भित्र भरौँ साथी
    यम नियम आसन ध्यान धारणा समाधी अपनाऊँ
    आफ्नो स्वास्थ्य असल बनाउन आफैँ नै लागि परौँ साथी
    सुख शान्ति र खुसीको अनुभव गरी पार तरौँ साथी ॥

    गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:१०
    आहा! कति राम्रो सुन्दर घर हेर।
    घर माथि छ पिपलु र वर हेर?
    प्राकृतिक मनोरम दृश्यमा पनि,
    अल्झियो नी मानिसको थर हेर।
    केही होला भन्ने मनमा डर हेर?
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:११
    फुलाउन सके फूल छतैमा नि फुल्दो रहेछ।
    जहाँ फुल्छ फूल उतैतिर मन भुल्दो रहेछ।
    चरीहरु गीत गाउन आउँछन् यहीँ नै सधैं ,
    मौरी पनि लठ्ठिएर रसमा नै झुल्दो रहेछ।
    बादल पनि देश छाडी यतै नै डुल्दो रहेछ।

                           -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:१२
    घरकाे छतमा पनि कति राम्राे फूल फुलेकाे हेर।
    भुन्भुन् गर्दै भमरा यहाँ यत्रतत्र डुलेकाे हेर।
    फूल फुल्दा सबैतिर हराभरा भइरहँदा यहाँ,
    वसन्तकाे बहार आए जस्तै सवत्र झुलेकाे हेर।
    अर्कैकाे बगैँचामा भए नि मन त्यतै भुलेकाे हेर।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:१३
    धर्ती जननी तिमीसँगै छ हराउन मन ।
    तलाउ नजिक भेडाबाख्रा चराउन मन ।
    प्रकृति लता वृक्ष कुञ्ज विहारीका तटमा ,
    बासस्थान त्यसमै सरक्क सराउन मन ।
    कोइली झैँ मालश्री धुनमा कराउन मन ।

    ✍️जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग-४९

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२५

  • २७ आश्विन २०८०, शनिबार २०:४२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२५ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    नियति
    देशको खम्बा
    आयात बाख्रा थुम्बा !

    • वसन्त अनुभव
      [२]
      आयात
      कमसल मियाँ
      निर्यात हीराको धनसार !
    • कमला भण्डारी ढकाल
      रुपन्देही, तिलोत्तमा-९
      [३]
      निर्यात
      युवाको लर्को
      बाख्राको दाम चर्को !
    • अम्विका अधिकारी
      झापा, विर्तामोड
      [४]
      आयात
      भेडा बाख्रा
      निर्यात युवा राेजगार !
    • राेशन पराजुली, धरान
      [५]
      भरियो
      भेडा बाख्राले
      देशको शक्ति बाहिर !
    • गुणनिधि घिमिरे, अमेरिका
      [६]
      निर्यात
      युवाको जमात
      आयात खस्किँदो भविष्य !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [७]
      निर्यात
      युवा शक्ति
      आयात भेडा बाख्राकाे !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [८]
      देश
      काट्नु काटे
      चौपायसँग दोपाए साटे !
    • अमृत सुवेदी, रूपा सात, कास्की
      [९]
      वैदेशिक
      यात्रामा दसैँ
      बाजा बजाएर आउने !
    • जमुना कायस्थ, पोखरा
      [१०]
      निर्यात
      स्वदेशको जन
      आयात सासको धन !
    • पृथक प्रकृति, झापा
      [११]
      निर्यात
      देशका जनशक्ति
      आयात भगौरे भेडा !
    • धनमाया चौधरी, कैलाली
      [१२]
      युवा
      छोड्दै देश
      जनशक्तिमा बाख्राको भेष !
    • दुर्गा आचार्य, मोरङ
      [१३]
      सपना
      सजाएर तमाम
      परदेशीयो युवाको लाम !
      चेतन खनाल ‘दाह्रीवाला’, दाङ्ग
      [१४]
      सम्झाैता
      वैदेशिक राेजगारीकाे
      सत्ता छाती फुलाउँदै ।
    • प्रद्युम्न चालिसे
      [१५]
      लोकतन्त्र
      भेडाबाख्रा महँगो
      युवा अति सस्तो !
    • पशपती राई, खोटाङ
      [१६]
      निर्यात
      मानव जवान
      आयात खसीको बथान !
      जिज्ञासु पन्त, लमजुङ
      [१७]
      दसैँ
      युवा बेचेर
      बाख्रा किन्दैछ देश !
    • सरिता सेढाइ, धादिङ
      [१८]
      मस्ति
      पैसाकाे आशक्ति
      पशुसँग साटेर जनशक्ति !
    • निरज कोइराला, इटहरी
      [१९]
      गरिबी
      सामना गर्नुपर्ने
      वैदेशिक बन्धनमा बाँध्नुपर्ने !
    • सम्झना थापा मगर, स्याङ्जा
      [२०]
      भविष्य
      देश बाहिर
      कुबुद्धि भित्राउँदै सरकार !
    • डुकछिरिङ लेपचा
      मिरिक, डुपटिन
      [२१]
      बाध्यता
      हाम्रो कस्तो
      भयो भेडाबाख्रा जस्तो !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [२२]
      आयात
      असमान् सम्झौता
      लाजै मान्दैनन् निर्यातकर्ता !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [२३]
      नेताजी
      भेडाहरू स्याहार
      हामी विदेश लाग्यौँ !
    • राम उदित
      चन्द्रपुर नपा-४, रौतहत
      [२४]
      बेरोजगारी
      देशको समस्या
      युवा विदेशिन बाध्य !
    • तेजप्रसाद खनाल
      लमही, दाङ
      [२५]
      दसैँ
      शून्य गाउँघर
      गर्दै भेडाको व्यापार !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२६]
      जनावर
      निर्यात गर्ने
      युवाले एयरपोट भर्ने !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु नगरपालिका-३
      [२७]
      हालत
      बाठोपन देखियो
      जनशक्तिसित भेडा साटियो !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [२८]
      लकडबुद्धि
      आयात वर्जक
      निर्यात कुसल आर्जक !
    • अगस्टीन राई, पूर्व सिक्किम, भारत
      [२९]
      विडम्बना
      देशकै दूर्भाग्य
      बन्यो दानवी राज्य !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [३०]
      बेथिति
      युवा निर्यात
      भेडा बाख्रा आयात !
      -पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा.-३,काभ्रे
      [३१]
      भवितव्य
      युवा निर्यात
      देशले भोगेर आघात !
    • गङ्गा खड्का
      बुढानीलकण्ठ, काठमाडौँ
      [३२]
      लर्को
      विदेशिने मानिस
      पेट पाल्नेहरूको झर्को !
    • चक्र शाही, लम्की, कैलाली
      [३३]
      निर्यात
      बहुमूल्य युवा
      अनुत्पादक आयात अनौठो !
    • प्रेम थापा “मन”, बागलुङ
      [३४]
      कर्णधार
      देशका युवाहरू
      बन्दैछन् भोलिका सपनाहरू !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [३५]
      बेरोजगार
      युवा परदेशिँदै
      चाडपर्व नजिकिँदै आँगनमा !
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई ४ झापा
      [३६]
      साटासाट
      मुटु कलेजो
      एक धार्नी भुँडी !
    • टीकाराम जाेशी, टीकापुर
      [३७]
      अनमोल
      युवाको भाउ
      भेँडा बाख्राको मोल !
    • विवश पारदर्शी, झापा
      [३८]
      निर्यात
      देशको शक्ति
      फर्कियो प्रभु भक्ति !
    • नन्दलाल आचार्य, उदयपुर
      [३९]
      दुर्दशा
      देशको अवस्था
      निकम्मा राज्य व्यवस्था !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [४०]
      भविष्य
      होनहार युवाको
      खसी बाख्राको जस्तै !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४१]
      दसैँ
      आयो लर्केर
      खसीतिर नहेर फर्केर !
    • होम प्रसाद नेउपाने
      धरान, सुनसरी
      [४२]
      आयात
      हरेक वस्तु
      विदेशीन बाध्य युवा !
    • समुन्द्रा शर्मा
      इटहरी, सुनसरी
      [४३]
      अमूल्य
      माटोको माया
      सुनको खोजीमा परदेश !
    • आर्त अकुलीन, कैलाली
      [४४]
      दुर्दशा
      युवा विदेश
      दसैँमा बाख्रा स्वदेश !
    • तोया नाथ चापागाईं
      दमक, झापा
      [४५]
      डसिया
      गरिबके घर
      सुनसान हुइल बसिया !
    • सागर कुस्मी, कैलाली
      [४६]
      नेपाली
      दैनिक निर्यात
      दसैँ न तिहार !
    • गोपाल प्रसाद पौड्याल
      [४७]
      चाडपर्व
      बढ्दो महङ्गीले
      युवा विदेश पलायन !
    • मङ्गला उपाध्याय, बारा
      [४८]
      सरकार
      गर्दै व्यापार
      किन मानव ओसारपसार ?
    • बालकृष्ण खनाल
      [४९]
      विडम्बना
      युवायुवती निर्यात
      पशुपन्छी जस्तै मानव !
    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      हाल: काठमाडौ
      [५०]
      आह्वान
      नेपाली जमान
      गरे विदेशमा चलान !
      -:सरस्वती श्रेष्ठ, इटहरी
      [५१]
      सन्तुलन
      पैठारी निकासीमा
      देश कठिन कसीमा !
    • तोया घिमिरे
      शङ्खमुल, काठमाडौँ
      [५२]
      सपना
      सुख समृद्धिमा
      युवा शक्ति विदेशमा !
    • घनश्याम पौडेल
      गौरीगङ्गा नपा-९, कैलाली
      [५३]
      निर्यात
      युवा खाडी
      जनावर आयात बराबरी !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु न पा-३
      [५४]
      श्रेष्ठ
      माटोको माया
      आखिर बन्दै घामछाया !
    • कविता आचार्य, कैलाली
      [५५]
      आयात
      भेडाको बथान
      युवा विदेश गमन !
    • कमला देवकोटा, पाल्पा
      [५६]
      बाहिरिए
      सुखको लालसामा
      उर्जावान कर्मठ युवाहरू !
    • उर्मिला पन्त पाण्डेय
      ज्ञानेश्वर, काठमाण्डौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२५

    साताका तीन लघुकथा- ४०

  • २७ आश्विन २०८०, शनिबार २०:१५ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (४०औँ) शृङ्खलाका लागि लघुकथाकार मित्र उराठी गौतमको लघुकथा ‘कान्छो लोग्ने’, लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘अर्घेलो बा’ र लघुकथाकार प्रभादेवी पौडेलको लघुकथा ‘बासेको पोथी’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथाः कान्छो लोग्ने

    मित्र ‘उराठी’ गौतम
    “ल स्वागत छ । आऊ, भित्रै आऊ ।” धेरै वर्षपछि भेट भएको साथी कल्पनालाई हार्दिकतापूर्वक स्वागत गरिन् सुप्रियाले ।
    क्याम्पस सँगै पढेका थिए उनीहरूले । पढाइ सकेपछि सुप्रिया सरकारी सेवामा प्रवेश गरिन् । कल्पना अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थामा आवद्ध भइन् ।

    सुप्रिया कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर दुर्गम जिल्लामा कार्यरत थिइन् । यसैबखत कल्पना पनि आफ्नो संस्थाको कामको सिलसिलामा यहाँ आएकी थिइन् । त्यसैले पनि यो भेटघाट महत्वपूर्ण थियो । यो मित्र मिलनमा हार्दिकता झल्कन्थ्यो ।

    “कान्छु ! नास्ता तयार भएको भए ल्याइहाल।” सुप्रियाले भान्छामा भएका नहकुललाई इसारा गरिन् ।

    “भिनाजु कता हुनुहुन्छ ? बच्चाबच्ची कति भए ? कता छन् ?” कल्पनाले जिज्ञासा राखिन् ।

    “भिनाजु अध्यापन गर्नुहुन्छ । घरपायक जागिर छ । दुई छोराछोरी उहाँसँगै छन् । आफू भने यो जागिरले कहिले यो जिल्ला, कहिले त्यो जिल्ला । सधैँ बाहिरको बाहिरै ।” दुखेसो पोखिन् सुप्रियाले ।

    “त्यही त ! बुढाबुढी नै जागिरे हुनु र घरपायक नहुनु त साह्रै विजोग, हैन ? बैँस छउञ्जेल बुढाबुढीसँगै हुन नपाउनु पनि के जिन्दगी ? चालिस कटेसी रमाउँला भन्ने गीत त्यसै त बनाएको हैन् रहेछ ।” कल्पनाले ठट्यौँली गर्दै भनिन् ।

    “चालीस हो र ! साठी कटेसी हुने भो जागिरेको त । त्यसैले आफूले त बुढाको सल्लाह बमोजिम नै ऊ, उनलाई कान्छो लोग्ने बनाएको । जहाँ गएपनि पकानपुकुन देखि हरेक कुरामा सजिलो भएको छ ।” नहकुल तर्फ सङ्केत गर्दै सुप्रियाले स्पष्ट पारिन् ।
    अमरपुर गुल्मी
    हालःतिलोत्तमा न पा–२,रुपन्देही

    २)
    लघुकथा: अर्घेलो बा

    सुरेशकुमार पाण्डे
    “के भयो बाबा ? किन रोइरहेको हजुर ?” महेशले बसपार्कमा बसेर रोइरहेको एकजना भिखारीलाई सोध्यो ।
    भिखारीको याचनाभरिएको दृष्टिले महेशलाई नियाल्यो र भन्यो- “के भनौँ बाबु ! मैले हिजोदेखि केही खाएको छैन ।”

    “पैसा दिन्छ भनेर बुढाले नाटक गरेको होला।” महेशले मनैमन लख काट्यो।
    उसले आफ्नो घडीतिर हेर्‍यो । घडीले दिउँसोको दुई बजाएको थियो । बस आउँन अझै एक घन्टा बाँकी थियोे । महेशले बुढासँगै टाइमपास गर्न खोज्यो ।

    “बाबा एक बोतल रक्सी किन्दिन्छु है खानुहुन्छ ?” महेशले परख गर्दै भन्यो ।
    “बाबु ! मलाई बोतल होइन् दुइटा रोटी किनिदेऊ । अहिलेलाई परान टङ्गाउन पुग्छ ।” बुढाले महेशतिर पुलुक्क हेर्दै भने ।

    बुढाको त्यो शब्दले महेशको भित्रि मनलाई छोयो । ऊ केही नबोली अलिपर होटेलमा पुगेर चारवटा रोटी र तरकारी लिएर बुढालाई टकार्‍यो । त्यो देखेर बुढाको आँखाबाट फेरी आँसु बग्यो ।

    “बाबा ! नरुनुहोस् । रोटी खानुहोस् ।” महेशले बुढालाई पानी पनि किन्दियो ।
    “बुढाले एकछिनमै रोटी खाएर सिद्धाए । उनी साँच्चि धेरै भोका थिए ।”
    “बाबा ! हजुरको घरमा छोराछोरी छैनन् ?” महेशले सोध्यो ।

    “छन् । सानो छँदा पढाए लेखाए । ठुलो भएपछि पाल्छन् कि भनेको तर अहिले उसैले घरबिहिन बनायो ।” बुढाले रुँदै भने ।
    उनको कुराले महेशलाई भावुक बनायो । ‘कसैका बाआमा छैनन् तर कसैले जन्मदातालाई अर्घेलो बनायो ।’ महेशले मनमनै भन्यो । अनि अमिलो मन बनाएर बसमा चढ्यो ।
    दाङ घोराही १८

    ३)
    लघुकथा: बासेको पोथी

    प्रभादेवी पौडेल
    खोरमा ‘कुखुरी काँ’को आवाज सुनेर धने एक्कासी ब्युँझियाे । घडी हेर्‍यो । बिहानको चार बजेको थियो । ऊ दङ्ग पर्‍यो । कुखुरा पालेको धेरै वर्ष भएको थियो तर अहिलेसम्म उसले पोथी बासेको सुनेको थिएन ।

    उसले माइलीलाई झकझक्यायो । ऊ आँखा मिच्दै उठी र भनी- “बुढा पोथी बासेको त नराम्रो हुन्छ भन्छन् । कि यसलाई डाँडो कटाउनु पर्छ रे कि च्वाट्ट काट्नुपर्छ रे । परारै हाम्रो माइतीमा पोथी बासेको रे त्यसको भोलिपल्टै हजुरबा खस्नु भो।”

    “त्यस्तो अशुभ नै हुनेभए आजै काटिदिन्छु यसलाई ।”

    उसले माइलीलाई पानी तताउन लगाएर आफू खुर्पा लिन गयो । पानी भकभक उम्लिएपछि धने र माइली खोरतिर लागे । उनीहरू फूल पार्दापार्दैको पोथी काट्नुपर्दा एकमन निकै दुःखी थिए भने अर्कोतिर अशुभ नै हुने भएपछि उनीहरूले जोखिम उठाउन चाहेनन् ।

    धनेले सबै तयारी गरेर जब खोरको पलेटो खोल्यो । पोथी फुत्त बाहिर निस्कियो र उसको सँगै रत्नेको भाले पनि निस्किएर कुलेलम ठोक्यो । यो देखेर माइलीले लजाउँदै भनी- “काट्टो लाउनु, भाले लाउँन जाँदा कुन झमट पछि लाएर आएछ कुन्नि ? “
    भरतपुर ९, चितवन

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ४०

    मुक्तक अभ्यास शृङ्खला- ०३

  • २७ आश्विन २०८०, शनिबार ०२:२४ मा प्रकाशित
  • सहभागी मुक्तककारहरू –

    [१]
    आउँछ दसैँ आउँछ तिहार रुवाएर जान्छ
    ऋण काढ्नै हुन्छ मारामार रुवाएर जान्छ
    यहाँ दुई छाक टार्नै धौधौ भइरहेको बेला,
    बोकाउँछ अझै गह्रुङ्गो भार रुवाएर जान्छ ।

    वसन्त अनुभव

    दाङ्ग

    [२]
    गरिबलाई साहुको पाउमा लगाउन
    सस्तो सामान महङ्गो भाउमा लगाउन
    दसैँ तिहार आउन लागे अब सतर्क हुनु,
    लाखौँ पशुको जीवन दाउमा लगाउन ।

    श्रीकृष्ण शर्मा पोखरा

    [३]
    नराम्रो सुन्न नपरोस्, सुन्दर मति थप्ने समय आओस्
    विसङ्गति हट्ने मगज चाहे जति थप्ने समय आओस्
    यही वर्षको दसैँ तिहारदेखि,नौलो नयाँ ईतिहास लेखी,
    निमुखाहरूको मुहारमा प्रगति थप्ने समय आओस् ।

    प्रेम थापा “मन”बागलुङ

    [४]
    परदेशी छोरो आउला भनेर बाटो हेर्दै होलान्
    औँलाहरू भाँच्दै दिन गनेर बाटो हेर्दै होलान्
    यो दसैँमा विदा पाइएन् निधार रित्तो हुने भो मेरो,
    घरमा बा आमा भावुक बनेर बाटो हेर्दै होलान् ।

    चेतन खनाल (दाह्रीवाला)

    बङ्गलाचुली १ दाङ्ग

    यो तिहार पनि पीडा टार्दै बस्नु परेको छ
    रित्तो निधारमा हात मुसार्दै बस्नु परेको छ
    बहिनीको सयपत्री माला व्यर्थ हुने भो उता,
    परदेशमा मैले आँसु झार्दै बस्नु परेको छ ।

    चेतन खनाल (दाह्रीवाला)

    बंगलाचुली १ दाङ्ग।

    [५]
    दसैँ आओस् र दशा नलागोस् सबैको
    मेला पर्वमा दुःख कष्ट भागोस् सबैको
    अखण्ड देश सुन्दर समाज एकतामा,
    सधैँ देशभक्ती भावना जागोस् सबैको ।

    सुरेशकुमार पाण्डे दाङ घोराही १८

    [६]
    दसैँ किन आउँछ गरिबलाई रुवाएर जान्छ
    काटमार उस्तै हुन्छ दाजुभाइ रुवाएर जान्छ
    रीतिरिवाज चलेकाे हाम्रो देशमा तमास यस्तै,
    झुपडीमा दसैँ खाई नखाई रूवाएर जान्छ।

    रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि ।

    [७]
    यो चाडबाडमा मेरो तस्बिर हेरी आँसु झारेर नरुनू
    रातो टिका र पहेलो जमरा थालीमा राखेर नरुनू
    के गर्छेउ त मेरी आमा मेरै देशले परदेशी बनायो,
    दसैँ आउँदा तिहार आउँदा मलाई सम्झेर नरुनू ।

    जीवन रोका मगर

    बङ्गलाचुली १ दाङ्ग

    [८]
    दु:ख पीडाहरूलाई मनमा बेरेर दसैँ मनाऔँ
    सामान्य भए पनि कपडा फेरेर दसैँ मनाऔँ
    प्रत्येक वर्षमा आउने यो महान् चाडपर्वमा,
    आफ्नो आर्थिक अवस्था हेरेर दसैँ मनाऔँ

    सम्झना थापा मगर

    स्याङ्जा

    सबैको घर आँगनमा दसैँ आयो, कसरी मनाउने ?
    मन भित्रभित्र चिन्ता पो छायो, कसरी मनाउने ?
    गरिबहरूलाई रुवाउन किन आउँछ यो चाडपर्व,
    आँखाबाट आँसुका ढिका खसायो, कसरी मनाउने ?

    सम्झना थापा मगर

    स्याङ्जा

    [९]
    जिन्दगी कर्कलाको पानी भयो
    बिना अर्थको नै जिन्दगानी भयो
    थाहा छैन के हुने हो, यो जिन्दगी,
    आगो नलागी यो मन खरानी भयो ।

    सुनिता पाण्डे। घोराही १८

    [१०]
    उमेर हुँदै तिमी पनि फर्किएर आउनु पर्छ प्रिय
    वर्ष दिनमा हर्ष सँगै बडादसैँ मनाउनु पर्छ प्रिय
    तिमी एक्लै म पनि एक्लै दैलो कुरी बसेकी छु,
    आऊ फर्की खाडी छोडी घरमै रमाउनु पर्छ प्रिय !

    कला ढकाल

    झापा दमक

    [११]
    चुहिने छानो झुपडीको बास गर्दागर्दै
    परदेशीको फर्कने आस गर्दागर्दै
    बितिसक्यो आधाजुनी बुढ्यौलीले छोयो,
    आफूसँगै छौ भन्ने आभास गर्दागर्दै ।

    सरिता सेढाई धादिङ

    [१२]
    दसैँको बेला जङ्गलमा लाइन लागेछु हे आमा !
    हरायो दिनरात निद्रा मेरो जागेछु हे आमा !
    अमेरीका पुग्ने टन्न कमाउने सपना बोकेर,
    ज्यान बाजी लगाई मेक्सिको पर्खाल नाघेछु हे आमा!

    मोति पोख्रेल

    घोराही दाङ्ग।

    [१३]
    परम्परा नभुलेर गाऔँ नाचौँ महत्व यही
    रहोस् सद्भाव आस पनि साँचौँ महत्त्व यही
    केही पात्र बद्लिन्छ चाडपर्व कायम रहन्छ,
    दिदीबहिनी,साथी विकृति मासौँ महत्व यही।

    पृथक प्रकृति ,झापा

    चाडपर्व आएपछि त कोही खुसी कोही दुखी मात्र हुन्छन्
    कतै हराभरा कतै चाहिँ रुखो उजाड मरुभूमि मात्र हुन्छन्
    परिस्थिति एक पात्र अनेक आआफ्नो कथा व्यथा हुनाले,
    चाहेर पनि मेट्न नसकिने यो जिन्दगीमा दूरी मात्र हुन्छन्।

    पृथक प्रकृति,झापा

    [१४]
    दसैँ तिहार आउँदा मन उदास भएको छ
    सम्झेर गाउँघर झनझन उदास भएको छ
    खै कस्तो रहेछ म परदेशीको भाग्य रेखा?
    खुसी थोरै सिङ्गो जीवन उदास भएको छ।

    भेषराज खनाल

    बंगलाचुली १दाङ्ग।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on मुक्तक अभ्यास शृङ्खला- ०३

    सल्यानमा घरमा रोकेर राखेको ट्याक्टर एक्कासी गुड्दा च्यापिएर बालकको मृत्यु

  • २६ आश्विन २०८०, शुक्रबार २३:३३ मा प्रकाशित

  • असोज २६, सल्यान ।

    सल्यानमा रोकेर राखेको ट्याक्टर एक्कासी आफै गुड्दा च्यापिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ४ लामाडाँडाका ६ वर्षीय बालक दिपशन चन्द चन्दको मृत्यु भएको हो ।

    शुक्रबार बेलुकी ५ बजेतिर २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ नम्बर ट्याक्टर एक्कासी आफै गुड्दा देवबहादुर चन्दका छोरा दिपशनको मृत्यु भएको हो ।

    उक्त ट्याक्टर देवबहादुर चन्दकै भएको र बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।

    ट्रयाक्टर एक्कसी किन गुड्यो भन्ने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाएको बताइएको छ ।

    Posted in मुख्य खबरLeave a Comment on सल्यानमा घरमा रोकेर राखेको ट्याक्टर एक्कासी गुड्दा च्यापिएर बालकको मृत्यु

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६४

  • २६ आश्विन २०८०, शुक्रबार १२:३३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: चौसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६४ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०६/२२ गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    छेपारो जस्तै रंग फेर्ने धेरै छन्।
    दुःखमा दबाबले घेर्ने धेरै छन्।
    गाह्रो हुँदै गयो दबावमा बाँच्न,
    दुःख पर्दा रमिता हेर्ने धेरै छन्।
    पीडामा हुँदा कथा केर्ने धेरै छन्।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    जागेर जनता अब राँको बाल्नु पर्छ।
    विद्रोहको अभियान अब थाल्नु पर्छ।
    चौपट्ट भो मुलुकमा अब थामिदैन,
    यी भ्रष्टाचारीहरूको जालो फाल्नु पर्छ।
    यी छिद्रभेदीहरूमा हिङ हाल्नु पर्छ।

    विवश पारदर्शी
    झापा,

    पञ्चाङ्ग:०३
    जसरी बुढेसकालमा केश हराउँछ।
    लगाइरहेको जुताको लेश हराउँछ।
    आपत्मा कसैको सहयोग रहँदैन यहाँ,
    आफ्नै देहबाट एक धर्को वेस हराउँछ।
    जनता रोइरहेका बेला देश हराउँछ ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०४
    लुकाइदिन्छन् सत्य मिलीजुली खाने छन् यहाँ।
    राज्यको ढुकुटी खर्ची भ्रमण जाने छन् यहाँ ।
    जनता ‘को’ परिभाषा बुझ्न गार्हो भयो हेर ,
    जस्ले सक्यो लुट्छन् उही महान ठाने छन् यहाँ ।
    कत्रो शान त्यो वीरको डुबाई लाने छन् यहाँ ।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०५
    कोही विदेशिने थिएन नि आफ्नै देशमा काम पाए।
    काम गरिसके पछि भने जस्तै उचित दाम पाए।
    मरेपनि कमसेकम मलामीको त साथ पाइन्थ्यो,
    स्वर्ग चाहिन्नथ्यो मरेपछि आफ्नै देशमा नाम पाए।
    पसिना पनि सुकि नै हाल्थ्यो आफ्नै देशको घाम पाए।
    -पशपति राई खोटाङ ।

    👉पञ्चाङ्:०६
    चुँडिएको त्यो पुच्छर पलाउला हेर।
    कट गाह्रो पर्दाखेरि मलाउला हेर।
    सकिँदैन चिन्न असर फेर्ने छेपारो,
    यस्ताले त भित्रभित्रै जलाउला हेर
    सुकेको दाउरासरि बलाउला हेर।

    ✍️अच्युत घिमिरे,सर्पाङ,भुटान🇧🇹

    पञ्चाङ्ग:०७

    मातापिता गुरु बहुमूल्य हिराका हार हुन् ।
    समाजलाई बाटो देखाउने शक्ति सार हुन् ।
    सकिन्न कहिल्यै तिरेर याेगदान यिनको,
    सृष्टिलाई जीवन्त राख्ने सञ्जीवनी झार हुन् ।
    साँध लगाइएको तेजिलो बौद्धिक धार हुन् ।

    • भवानी घिमिरे
      सर्लाही

    पञ्चाङ्ग:०८

    कहिले वारि कहिले पारी सार्दैछन् के गरौँ

    अर्काको ज्यान लिएर आफ्नो पार्दैछन् के गरौँ
    विपदमा परेका छन् विदेशमा नेपाली नै
    जिन्दगी बचाउन नसकी हार्दैछन् के गरौँ
    गर्छु सहयोग भन्नेले नै टार्दैछन् के गरौँ।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०९

    जीवन जिउन जान्नु पर्छ।
    पराई नि आफ्नो ठान्नु पर्छ।
    मान्छेको आ आफ्नै हुन्छ इच्छा,
    आफ्नो काम राम्रो मान्नु पर्छ।
    सत्य राम्रोसँग छान्नु पर्छ।
    ह्यारिस

    पञ्चाङ्ग:१०

    दुःख सुख जसरी नि जिन्दगी जिउनु पर्दाे रहेछ।
    फाटेकाे मनलाई शान्त पार्न सिउनु पर्दाे रहेछ।
    मनका कुरा मनमै रहेमा सुनिदिने काेही छैन,
    पीरव्यथा भुलाउन हजुर पिउनु पर्दाे रहेछ।
    भाग्यले दिएसम्म त चाेट पनि लिनु पर्दाेरहेछ।

    उर्मिला के.शी.
    धनकुटा ।

    पञ्चाङ्ग ११

    देशमा रोजगार छैन र विदेशमा सुरक्षा पनि छैन
    जनताका यथार्थपरक पीडाहरू साध्य भनि छैन
    एक अर्कामा मर्यादाक्रम राख्ने खै तयारीमा उत्कृष्ट
    युद्ध माहोल चपेटाबाट बचाऊँ पहल बनी छैन
    युवालाई देशमै रोकी पुरस्कार खोरिया खनी छैन

    जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६४

    इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिक स्वदेश आइपुगे

  • २६ आश्विन २०८०, शुक्रबार ०७:३० मा प्रकाशित
  • काठमाडौं। इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ। उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो। उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए।

    उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए।

    “इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन्। जसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गरेकार्नुभएकोमा दुई सय ५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ,” मन्त्री साउदले भने।

    परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए। यस घटनामा परी चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्किएको, एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेको मन्त्री साउदले जानकारी दिए।

    “आक्रमणमा परी सम्पर्कबिहीन हुनुभएका विपिन जोशीको खोजी निरन्तर जारी छ”, उनले भने, “यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौं।”

    इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए।

    “कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको छ। त्यसैले उनीहरुको परिवार तथा आफन्तलाई केही समय धैर्यधारणा गर्न म अनुरोध गर्दछु”, उनले भने।

    हाल तेल अभिवबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक कारणवश छुटेका नेपालीहरुलाई आवश्यकताअनुसार नेपाल सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उनको भनाइ छ।

    परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकको उद्धार गर्न साथ दिइ ऐक्यवद्धता जनाउने सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरु, इजरायल सरकार तथा नेपाल सरकार, इजरायलको नेपालस्थित राजदूतावास र नेपालको इजरायलस्थित राजदूतावास जस्ता निकायहरु र विमान चालकदलका सदस्यलाई पनि धन्यवाद दिएका छन्।

    आजै उद्धार गरी नेपाल ल्याइएका नागरिकहरुलाई विभिन्न गन्तव्यमा पुर्‍याउनका लागि विमानस्थलमा नेपाल प्रहरी तीन वटा बसहरु तयारी अवस्थामा राखिएको थियो।

    Posted in मुख्य खबरLeave a Comment on इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिक स्वदेश आइपुगे

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P