• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: विचार

“प्यूठान” बस्ती रित्याउने भया’नक त्यो दुर्घटना

  • ४ मंसिर २०७६, बुधबार १३:०३ मा प्रकाशित
  • मङ्सिर ४, प्यूठान । अनुहार मलिन छ । हरपल रसाएझैं देखिन्छन् आँखा । ६१ वर्षीया दीपा अधिकारी रिजाललाई १४ वर्षअघिको दुःखान्तले आज पनि झस्काइरहन्छ । उनी चाहन्छिन्, त्यो घटना दिमागबाट मेटिएर जाओस् । तर अहँ, त्यो त आज पनि उत्तिकै ताजा छ ! उत्तिकै पीडादायी ।

    यो खबर गिरुप्रसाद भण्डारीले आजको कान्तिपुर दैनिकमा लेखेका छन् । ०६१ माघ ८ गते शुक्रबार दाङको देउखुरीबाट बेहुली लिएर प्यूठानको टारीगाउँ फर्केको जन्तीबस गर्जेनीमा दुर्घटनामा परेको थियो । त्यो भयानक दुर्घटनामा परिवारका सबै सदस्य गुमाएकी थिइन्, बुहारी भित्र्याउने प्रतीक्षामा रहेकी बेहुलाकी आमा दीपाले । बुहारी ल्याउन आफूले अन्माएर पठाएको जेठो छोरो लोकराजसहित पति भीमकान्त, कान्छो छोरो माधव, देवर, भान्जा, भतिजालगायत ४१ आफन्तलाई त्यो दुर्घटनाले उनीबाट हठात खोसेको थियो ।
    त्यसको एक वर्षपछि दीपाले गाउँको सबै सम्पत्ति बेचेर टारी छोडिन् । दाङको घोराही बजारनजिक एकतले घर किनेर छोरीज्वाइँको रेखदेखमा बस्न थालिन् । १४ वर्ष एक्लै बिताएको घरको एउटा कुनोमा थचक्क बस्दै उनले भनिन्, ‘भित्रभित्रै पोलिरहे पनि बाहिर खाटा बसिसकेको त्यो घाउ अब फेरि नकोट्याऊँ होला बाबु !’ निरन्तरको तनावले उनको रक्तचाप बढेको छ । नियमित औषधि खान्छिन् । रुँदारुँदा दुवै आँखा कमजोर भएका छन् । भर्खरै आँखाको शल्यक्रिया गरेकी छन् । कालो चस्मा लगाएर चिनजान गरेपछि बिस्तारै भनिन्, ‘मेरा लागि मात्र नभएर हाम्रो टारीगाउँकै लागि त्यो कालो दिन थियो ।’
    घटनापछि टारीगाउँ पुरुषविहीन भयो । टारीका मात्र २२ महिला विधवा भए । तीमध्ये केहीले दोस्रो विवाह गरे । कति छोराछोरीसहित बसाइँ सरे । दीपाले भनिन्, ‘सिंगो गाउँको खुसी त्यो दिन त्यही एउटा बसभित्र थियो । गर्जेनीमै बिलायो ।’ मृत्यु भएका सबै ४१ जनालाई झिमरुक नदी किनारमा लहरै जलाइएको थियो । सबै मलामीका आँखा नदीजस्तै उर्लिएका थिए । वर्ष दिनपछिको बर्खान्त पनि एकै ठाउँमा सामूहिक रूपमा गरिएको थियो । त्यसलगत्तै दीपाले गाउँ छोडेकी हुन् ।
    १४ वर्षअघि प्यूठानको जर्गेनीमा भएको जन्तीबस दुर्घटनामा दुलाहा छोरासहित परिवारका सबै सदस्य गुमाएकी दीपा अधिकारी । तस्बिरः कान्तिपुर
    ‘१८ वर्षमै जेठो छोरो जन्मेको थियो । बेलैमा जन्मेको छोराले बुढ्यौलीमा सुख देला भनेर एमएसम्म पढायौं । उसैको बिहेमा बज्रपात पर्‍यो,’ दीपा बिस्तारै खुलिन्, ‘ऊ सबैसँग मिल्ने स्वभावको थियो । आफ्नो बिहेमा धेरै जन्ती जानुपर्छ भनेर उसैले धेरै आफन्त बोलाएको थियो । टीकाटालो गरेर पठाएकी थिएँ । बेलुका बुहारीसहित खुसी लिएर फर्केलान् भनेको त सबै कहिल्यै नआउने गरी गए ।’
    ६० जना जन्ती लिएर गएको बसमा फर्कंदा ५६ जना थिए । तीमध्ये ३३ जनाले घटनास्थलमै ज्यान गुमाए भने पाँच जनाको प्यूठान अस्पतालमा, दुई जनाको बुटवलस्थित अञ्चल अस्पतालमा र एक जनाको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको थियो ।
    चालकसमेत १५ जना घाइते भएका थिए । मृत्यु भएकामा टारीगाउँका मात्र २८ जना थिए । दाङका दुई जना र अरू प्यूठानकै पुण्यखोला, विजयनगर र खलंगाका थिए ।
    दुर्घटनाको एक वर्षपछि दीपा अधिकारीले छाडेको प्यूठान नगरपालिका–४ स्थित टारीको घर।
    घोराही सरेपछि दीपा टारी फर्केकी छैनन् । तर उनको मन टारीबाट अलग्गिएको पनि छैन । ‘यता आएपछि त्यो जमिन, घर, बाहिरी सेरोफेरो त छैन,’ उनले भनिन्, ‘तर, मनभरि सधैँ टारीगाउँ र आफन्तकै मात्र झल्को आइरहन्छ ।’
    सपनामा टारीगाउँको सेरोफेरो र आफन्त देख्दा रमाउने उनी झल्यास्स बिउँझिँदा अर्कै संसारमा आइपुगेजस्तो लाग्ने बताउँछिन् । भन्छिन्, ‘ब्युँझँदा मसँग आफन्त र टारीगाउँ केही हँॅदैन । दिनभरि कुनामा बसेर एक्लै रुन्छु । कोसँग पीडा सुनाउनु ? सुनाए पनि अब गुमेका कोही फिर्ता हुने होइनन् ।’
    रेडियो, टेलिभिजनलगायत सञ्चारमाध्यममा सवारी दुर्घटनाको समाचार सुन्नेबित्तिकै त्यही माघ ८ को सम्झना आउने गरेको दीपाले बताइन् । ‘मैले समाचारमा सुनेजतिका जन्तीबस दुर्घटनाको गन्ती गरेकी छु । ०६१ माघ ८ यता आठवटा जन्तीबस दुर्घटनामा परे,’ उनले भनिन्, ‘हाम्रो जत्रै ठूलो दुर्घटना अन्त भएको छैन । तर पनि भइरहेकै छन् ।’
    बाँचेको जीवन उपहार
    दुर्घटनामा गम्भीर घाइते भएर लामो उपचारपछि बाँचेका प्यूठान नगरपालिका, गेजबाङका शिवराज पण्डितले दुर्घटनापछिको जीवनलाई भगवान्को उपहारका रूपमा लिएको बताए । पण्डितको दाहिने खुट्टा, देब्रे हात र बायाँपट्टिका सातवटा करङ भाँचिएका थिए ।
    ‘दुर्घटना सम्झँदा त्यतिका लासको थुप्रोमा कसरी जीवितै रहिएछ भन्ने लाग्छ,’ उनले भने, ‘एकअर्कालाई हेर्दाहेर्दै गुमेका आफन्तको सम्झना आउँछ । बरर आँसु झर्छन् ।’ दुर्घटनामा घाइते भएकाहरू सबै अहिलेसम्म जीवितै रहेको पण्डितले बताए । तीमध्ये पाँच जना गाडी खस्दै गर्दा हामफालेर बाँचेका थिए भने आठ जना बससँगै खोलामा झरेका थिए ।
    बस दुर्घटना भएको साँघुरो घुम्ती सडक।
    सालोको बिहे भएकाले निकै रमाइलो गर्दै जन्ती गएको पण्डितले सुनाए । उनका अनुसार फर्कंदा चालकले गाडी धेरै छिटो कुदाइरहेका थिए । गीत घन्किरहेको थियो । कोही नाच्दै थिए, कोही गाउँदै । बाहिर सिमसिम पानी परेको थियो । ‘अन्दाजी साँझ सवा ६ बजेको हुँदो हो । गर्जेनीको घुम्तीनेर आइपुगेपछि गाडीमा एक्कासि गड्याङ्ग आवाज आएको थियो ।
    त्यसपछि गाडी पल्टिँदै सीधै खोलामा पुगेको सम्झन्छु,’ उनले भने, ‘अरू कुरा त अस्पतालमै पुगेपछि मात्र थाहा पाएँ ।’ त्यो सडक अझै फराकिलो पारिएको छैन । अझै पनि त्यो बाटो भएर यात्रा गर्दा डर लाग्ने गरेको उनले सुनाए । ‘त्यसबेला ग्राभेल थियो,’ उनले भने, ‘अहिले पनि उस्तै साँघुरो छ । कालोपत्रे मात्रै गरिएको छ ।’
    सुझाव बेवास्ता
    गर्जेनी दुर्घटनाले सिंगो मुलुकको ध्यानाकर्षण गराएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शोक वक्तव्य निकालेका थिए । जिल्ला विकास समिति, प्यूठानमा भएको सर्वदलीय बैठकले अधिवक्ता रामेश्वर सुवेदीको संयोजकत्वमा सात सदस्यीय स्वतन्त्र नागरिक छानबिन समिति गठन गरेको थियो ।
    ‘हामीले धेरै दुःख गरेर दुर्घटनाको कारणसहित प्रतिवेदन तयार पारेका थियौं,’ सुवेदीले भने, ‘तर कतैबाट पनि सुझाव कार्यान्वयन भएन । गर्जेनी दुर्घटना भएको १५ वर्ष बित्यो तर अहिले पनि सडक यातायातमा उस्तै लापरबाहीको अवस्था देख्छु ।’ चालकको गाडी चलाउने अनुभव कम भएको, तीव्र गतिमा बस चलाएको, मदिरा सेवन गरेको, साँघुरो सडकका कारण दुर्घटना भएको प्रतिवेदनको निष्कर्ष रहेको उनले बताए ।

    Posted in विचार, समाजLeave a Comment on “प्यूठान” बस्ती रित्याउने भया’नक त्यो दुर्घटना

    नेपाल तामाङ घेदुङ साउदी अरेबियाका पूर्वी

  • २६ कार्तिक २०७६, मंगलवार १०:२२ मा प्रकाशित
  • नेपाल तामाङ घेदुङ साउदी अरेबियाका पूर्वी क्षेत्रीय समन्वय समिति दमामको संस्कृति प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जुवेलस्थित कुकजोन रेस्टुरेण्टमा नोभेम्बर ८ शुक्रबार भएको हो । कार्यक्रमका अतिथि साउदी घेदुङका उपाध्यक्ष शम्सेर तामाङ समुदायभित्र संस्कृति प्रशिक्षण अनिवार्य भएको बताए । विश्वभरि छरिएर रहेका तामाङ समुदायको भौगोलिक रुपमा अलगअलग संस्कृति छ, उनले भने । घेदुङका प्रवास शाखाहरुले तत्काल गर्नुपर्ने कामहरू भनेको नेतृत्व विकास, भाषा, धर्म, लिपी लगायलाई एकरुपता गराउनु हो, उपाध्यक्ष शम्सेरले भने । घेदुङका सदस्य फुर्वा पाख्रिनले स्वागत मन्तव्यका क्रममा प्रवासमा व्यस्तताका बाबजुद समेत उपस्थिति भएर उर्जा दिलाएकोमा धन्यवाद दिदै घेदुङलाई बृहत बनाउन पदाधिकारीहरुले जिम्मेवारीबोध गर्नुपर्ने बताए । समारोहमा अतिथि जिफण्ट सहयोग समूह साउदीका बरिस्ठ उपाध्यक्ष राईले मन्तव्यका क्रममा पूर्वी क्षेत्रका घेदुङले छोटो समयमा छलाङ मारेको बताए । उपाध्यक्ष राईले जिफण्ट साउदीले श्रमिकहरुका मुद्दामा घेदुङसँग सहकार्य गरेर जाने बताए । कार्यक्रमका सभापति विजय तामाङले प्रशिक्षण कार्यक्रम सोचेभन्दा सफल भएको बताउँदै आगामी कार्यक्रमहरुमा यसरी नै उत्साहित रूपले साउदीको पूर्वी क्षेत्रमा रहेका सम्पूर्ण तामाङहरुलाई घेदुङको छातामुनि ल्याउनुपर्ने दायित्व बढेको बताए । त्यसैगरी घेदुङका सदस्यहरू हिरा बम्जन, अस्मिता तामाङ, बृखराम तामाङ, कल्पना तामाङ, रञ्जु तामाङ, अर्जुन तामाङ, जीतबहादुर गोले लगायतले मन्तव्यका क्रममा घेदुङको क्षेत्रीय समितिले छोटो समयमा धेरै सचेतना मुलुक कार्यक्रम गरेकोमा धन्यवाद दिएका थिए । वक्ताहरुले घेदुङलाई अझ बृहत बनाउन पदाधिकारीहरुले विशेष भूमिका खेल्नुपर्ने औल्याए । कार्यक्रममा घेदुङकी क्षेत्रीय सल्लाहकार राममाया मोक्तानले फापरे र सदस्य जीतबहादुर गोलेले चौतारी भाकाको गीत प्रस्तुत गरेको थियो । त्यसैगरी घेदुङकी उपाध्यक्ष पुतली तामाङ सदस्यहरू डोल्मा तामाङ, रञ्जु तामाङ, मुस्कान तामाङ, कमली तामाङ, अर्जुन तामाङ लगायतले तामाङ गीतहरुमा बेजोड प्रस्तुति गरेको थियो । नेपालको पश्चिमेली तामाङहरुमा विशेष गरेर रसुवा, धादिङ, नुवाकोट लगायका जिल्लामा म्हेन्दोमाया, मानेदोरा, साईकोले लगायतका गीत तथा नृत्य चर्चित छन् । त्यसैगरी पूर्वका तामाङ समुदाय विशेष गरेर दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, सिन्धुली लगायतमा फाफरे, सेलो, डाम्फु लगायत गीतहरू चर्चामा रहने गर्छ । घेदुङका कोषाध्यक्ष लालबहादुर लामाले कार्यक्रम सञ्चालन गरेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, कला /जीवनशैली, खेल, बिज्ञान/प्रविधि, राजनीति, विचार, समाज, साहित्य70 Comments on नेपाल तामाङ घेदुङ साउदी अरेबियाका पूर्वी

    अमेरिकाको न्यूयोर्क सहरमा नेपाली समुदायले आफ्नै बैंक संचालनमा

  • १७ कार्तिक २०७६, आईतवार ०६:०८ मा प्रकाशित
  • अमेरिका : अमेरिकाको न्यूयोर्क सहरमा नेपाली समुदायले आफ्नै बैंक संचालनमा ल्याएका छन्। न्यूयोर्कमा नेपालीले अक्टोबर महिनाको पहिलो साताबाट एभरेष्ट फेडरल क्रेडिट युनियन बैंक संचालनमा ल्याएका हुन्।

    करिब दुई सय शेयर सदस्य रहेको एभरेष्ट युनियन बैंकले अघिल्लो वर्षको मार्च महिनामा संघीय सरकारबाट अमेरिकाका सबै राज्यमा कारोबार गर्ने मान्यता पाएको थियो। 

    बैंक संचालनमा आएपछि यहाँ रहेका नेपालीलाई उद्यमशील बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ। अमेरिकामा शाखाखोल्ने लक्ष्य सहितक्रेडिट समिति, सुपरीवेक्षण समितिलगायत विभिन्न उपसमितिसमेत बनाएर काम गरिरहेका छौं, कार्य समितिका सचिव अन्जन श्रेष्ठले भने, ‘यस बैंकको मुख्यलक्ष्य नेपालीलाई नै धनी बनाउनु हो।’ 

    बैंकका प्रमुख कार्यकारी अधिकृत तथा संचालक समिति कोषाध्यक्ष विराज रिजालले अमेरिकामा रहेका सबै नेपालीलाई शेयर किनेर बैंक धनी बन्न सुझाएका छन्। यो बैंकको शेयर किन्नु भनेको यस बैंकको धनी बन्नु हो, अनि डिभिडेन्टका लागि भागिदार हुनु हो। प्रमुख कार्यकारी अधिकृत रिजालले बैंकले अहिले १० हजार डलर बराबर व्यक्तिगत ऋण उपलब्ध गराई रहेको जानकारी समेत दिएका छन्।

    यस बैंकमा खाता हुने सदस्यले मात्रै कर्जा र अन्य कारोबार गर्न पाउनेछन्। अहिले करिव दुई सय सदस्यबाट तीन हजार डलरका दरले शेयर उठाइएको छ। बैंकले नेपाली समुदायबाट एक सय मिलियन डलर जम्मागर्ने र सोही अनुसारको कारोबार गर्ने लक्ष्य लिएको छ। अहिले प्रति शेयर २५ डलरका दरले बिक्री भइसकेको छ। 

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, कला /जीवनशैली, खेल, बिज्ञान/प्रविधि, राजनीति, विचार, समाज, साहित्यLeave a Comment on अमेरिकाको न्यूयोर्क सहरमा नेपाली समुदायले आफ्नै बैंक संचालनमा

    Posts navigation

    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P