रियाद साउदी अरब ! साउदी अरबका समाजसेवी तथा लालिगुराँस होटलका संचालक सफल ब्यबसायी यम तमुले बिरामी रामपाल सदाको लागि (११२४९ रियल) करिब ४ लाख नेपाली रुपैयाँ संकलन गर्नुभएको छ ।
नेपाल सप्तरी घर भई विगत केही वर्षदेखि साउदी अरबको रियादमा कार्यरत रामपाल सदा कुनै कारणवश कम्पनी छोडेर अन्त बाहिर काम गर्न पुगे। भागेर काम गर्ने क्रममा दुर्घटनामा परी एउटा खुट्टा भाँचिन पुग्यो। जसका फलस्वरूप शरीरको दायाँ भागमा गहिरो चोट लागेर रियादको किङ खालीद हस्पिटलमा भर्ना भएर उपचार गराउनपुगे। १५ दिनपछि १७ अगस्ट २०२४ का दिनमा हस्पिटल बाट डिस्चार्ज भएपछि काम गर्दै गरेको कम्पनीको रुममा गए तर भागेर काम गरेको कम्पनीले रुमभित्र छिर्न नदिएपछि रियादको रोडमा बिहान ९ बजेदेखि ८ बजे बेलुकी सम्म सुत्न बाध्य भए !
उक्त घटनाक्रमलाई थाहा पाएपछि समाजसेवी यम तमुले पीडित रामपाल सदालाई आफ्नै रूममा ल्याएर राख्नुभयो। त्यसपछि समाजसेवी तमुले पीडित सदालाई नेपाल पठाउनका लागि नेपाली राजदूतावास रियाद साउदी अरबमा समन्वय गरेर जानकारी गराउनुको साथै इक्जिट लगाउन सहयोगको लागि अनुरोध गर्नुभयो, फलस्वरूप अहिले करिब डेढ महिनाको अन्तरालमा उहाँको एक्जिट भिसा लागेको छ । सदाको पुरा उपचार नभएको र स्वास्थ स्थिति नाजुक रहेकोले उहाँलाई अझै उपचारको आवश्यकता परेको र आर्थिक अवस्था कमजोर भएकोले समाजसेवी तमुले उहाँको लागि आर्थिक सहयोग रकम संकलनका लागि एक अभियान नै चलाउनुभएको थियो। सदाको सहयोगको लागि ५-१० रियल सहयोग गर्न आफ्नो लालिगुँरास होटलमा आएका ग्राहकहरु तथा सामाजिक सञ्जाल फेसबुकबाट पनि रामपालको सहयोगको लागि अनुरोध गरेका थिए! तमुको अनुरोधपछि उक्त रकम करिब ४ लाख नेपाली संकलन गर्नुभएको छ ।
सदाको एक्जिट लागिसकेको र अब केही दिनमा नेपाल पठाउने जानकारी पनि समाजसेवी यम तमुले दिनुभएको छ। साथै आजबाट उहाँको लागि सहयोग रकम पनि रोकिएको जानकारी गराउनुभएको छ। यस अभियानमा जोडिएर जजसले आर्थिक तथा सामाजिक सहयोग गर्नुभयो उहाँहरूको लागि यम तहार्दिक धन्यवाद तथा आभार पनि व्यक्त गर्नुभएको छ।
लघुकथाकार अवधेश सिंहको जन्म २०१४ सालमा सिराहा जिल्लाको लक्ष्मीपुर गाउँपालिका ४, ब्रह्मपुरीमा भएको हो । गणपति सिंह र अञ्जनदेवी दनुवारका कनिष्ठ पुत्ररत्न हुन् उनी । हाल उनको बसोबास काठमाडौँको नागार्जुन गाउँपालिका २, शान्तिटोलमा रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा र यु.एस.ए.बाट Teaching English to the Speakers of Other Languages विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा आर्जन गरेका सिंहको मुख्य पेसा प्राध्यापन भए पनि हाल उनी अवकाशप्राप्त जीवन व्यतीत गरिरहेका छन् । वि.सं. २०३६ सालतिर ‘दुपहरिया मे डुबैत सूर्य’ शीर्षकको कथा प्रकाशित गराएर साहित्ययात्रामा लागेका सिंहको ‘अवोध अभिलाषा’ शीर्षकको लघुकथा नै पहिलो लघुकथा हो जुन ‘नमस्ते आधुनिक लघुकथा मञ्च’ नामक लघुकथाप्रधान फेसबुक पत्रिकामा २०७६ सालमा प्रकाशित भएको देखिन्छ ।
‘मरजाद’ लघुकथाकार सिंहको पहिलो प्रकाशित लघुकथासङ्ग्रह हो । प्रकाशन संस्था नमस्ते आधुनिक लघुकथा मञ्च र प्रकाशन वर्ष २०८१ वैशाख रहेको यो कृति एक मात्र प्रकाशित साहित्यिक पुस्तकका रूपमा दखिएको छ । हुनत सिंहका ‘मरजाद’का अतिरिक्त अन्य ४ वटा कृतिहरू पनि प्रकाशनमा आएका छन् । उनका साहित्येतर ४ कृतिमध्ये ३ वटा अङ्गेजी भाषामा र एउटा नेपाली भाषामा लेखिएको छ । अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरू अङ्ग्रेजी भाषा सम्बद्ध नै छन् भने नेपाली भाषामा लेखिएको कृति दनुवार संस्कृतिको चिनारीसँग सम्बन्धित छ । आफ्नो भाषा र संस्कृति मासिए पहिचान पनि बिलाउँदै जान्छ । पढेलेखेका मानिसहरूले आफ्नो भाषा अनि संस्कृतिलाई बिर्सिंदै गएको आजको सन्दर्भमा दनुवार संस्कृतिसँग सम्बन्धित यो पुस्तक निकै उदाहरणीय पनि रहेको छ ।
‘मरजाद’मा ५४ वटा लघुकथाहरू सङ्ग्रहित छन् । यी मध्ये एकपदीय र द्विपदीय संरचनाका शीर्षकहरू २६/२६ वटा छन् भने चतुष्पदीय संरचनाका शीर्षक २ वटा छन् । मर्यादा अर्थ बोकेर आएको कृतिको मूल शीर्षक आकर्षक छ तर यो शब्द प्रयोगमा अचाक्ली आइरहने शब्द भने होइन । यो शब्द लेखकको गाउँठाउँतिर बढी प्रयोग गरिने पनि हुनसक्छ । आयामका दृष्टिले ५३ वटा लघुकथाहरू २/२ पेजका र एउटा १ पेजको छ । भूमिका, विषयसूची (लघुकथा क्रम भनिएको) र अन्यका लागि १२ पेज र लघुकथाको पाठ्य रूपका लागि १०७ पेज खर्चिएको छ । लघुकथाका विषयहरू हाम्रै समाज वरपरका नै छन् । लेखकले कोरा कल्पनालाई यथार्थिक कल्पनालाई नै बढी महत्व दिएका छन् ।
‘मरजाद’भित्रका लघुकथाहरूलाई सर्सर्ती हेर्दा कुनैमा शीर्षक प्रभावी छ भने कुनैमा विषयवस्तु प्रभावी छ । कुनैमा सामाजिक यथार्थ बलियो बनी आएको छ भने कुनैमा आदर्शतिर ढल्किएको स्थिति छ । कुनैमा परिवेशको सजीव वर्णन छ भने कुनैमा स्थानीय भाषासंस्कृतिको रङ्गीन तस्बिर छ । कुनैमा कर्मवादी चिन्तन हावी छ भने कुनैमा शैक्षिक जागरणको स्वरलाई बुलन्द बनाइएको छ ।
अन्त्यव्यवस्थापनका दृष्टिले अधिकांश लघुकथाहरू सशक्त नै छन् । लघुकथाहरूमा व्यङ्ग्य सघन छ । सम्वाद प्रभावकारी छन् । भाषा सरल र कताकति स्थानीय रङ घोलिएका छन् । लघुकथामा नेपालीमा कमै प्रयोग गरिने तत्सम शब्द पनि यदाकदा टुप्लुकिन्छन् । यस्ता शब्द प्रयोग गर्दा लेखकले निकै ध्यानपूर्वक प्रयोग गरेकाले पढ्दा ती बिझाउने खालका भने छैनन् । लेखकले सङ्ग्रहका लघुकथालाई त्यत्तिकै लहडमा नलेखी सोची–बुझी–संझी लेखेका हुन् भन्न सकिने ठाउँ छ । लेखनमा परिपक्वता झल्किएको छ । लेखकमा अन्तर्निहित बौद्धिक व्यक्तित्वले लघुकथा लेखनमा उनलाई राम्रै सघाएको छ । तर यति हुँदाहुँदै पनि ठाउँ ठाउँमा मुद्राराक्षसले भने बिछट्टै सताएको भने छ ।
अल कासिम साउदी अरब ! नेपाली राजदूतावास रियाद र गैरावासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलकासिमको संयुक्त सहकार्यमा गत २७ सेप्टेम्बर २०२४ शुक्रबारका दिन अलकासिम क्षेत्रमा राहदानी नवीकरण घुम्ती सेवा भब्यताका साथ सञ्चालन भएको छ ! उक्त पासपोर्ट नवीकरण घुम्ती सेवाका लागि नेपाली राजदूतावास रियादका प्रथम सचिव टोप नारायण गिरी प्रथम सचिव टिकाराम उपाध्याय, सहचारी कमल कुवंर का साथमा अन्य दूतावासका कर्मचारीहरु बिहीवार बेलुकी नै अल कासिम पुगेर शुक्रबार बिहानै ७ बजेदेखि बेलुकी ६:३० बजेसम्म घुम्ती शिविरमा रहेर सेवा प्रदान गर्नुभएको थियो।
उक्त घुम्ती सिविरमा अल कासिम क्षेत्र वरिपरि रहेका अन्य स्थानहरू हाइल, जुल्फी, उनैजा लगायताका ठाउँहरुबाट नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू पासपोर्ट नवीकरण गर्नका लागि आएका थिए।
नेपाली दूतावास रियाद साउदी अरबले जारी गरेको पुर्व सूचना अनुसार ६०० जनाकालागी आवेदन फारम खुलाएको थियो। जसमध्येबाट ५४० जनाले राहदानी नवीकरण सेवा लिएका छन्। भने एकजनाको ट्रावल डकुमेन्ट बनाइएको एनआरएनए साउदी अरबका उपाध्यक्ष मनिष कोइरालाले जानकारी गराएका छन्।
उक्त पासपोर्ट नवीकरण घुम्ती शिविरमा एनआरएनए आइसिसीका सदस्य विशाल कुमार श्रेष्ठ एनआरएनए एनसीसी साउदी अरबका उपाध्यक्ष, मनिष कोइराला, सचिव ध्रुव कटुवाल तथा एनसीसी साउदी अरबका अन्य सदस्यहरू र एनआरएनए आरसीसी अल कासिमका सचीव कार्यबाहक अध्यक्ष सिद्धिलाल श्रेष्ठ प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठ लगायतका अन्य आरसीसी अलकासिमका पदाधिकारीहरू अन्य संघसंस्थाका पदाधिकारीहरू, होटेल व्यवसायीहरू तथा समाजसेवीहरू र इस्लामिक सेन्टरका अलि उर्सिन मियाहरुले पासपोर्ट नवीकरण घुम्ती टोलीलाई धेरै सहयोग गरेका थिए।
उक्त घुम्ती सेवाबाट एकजना नेपालीले ट्राभल डक्युमेन्टको सेवा पनि लिएको कुरा कोईरालाले जानकारी दिए ! एनआरएनए आरसीसी अल कासिमले हल व्यवस्थापनदेखि लिएर आकस्मिक प्रि इनरोलमेन्ट फारम भरिदिने, फोटोकपी तथा प्रिन्टिङको सुविधा प्रदान गर्नुको साथसाथै इस्लामिक सेन्टर बुराइदाको तर्फबाट सेवाग्राहीहरुलाई निःशुल्क पानी पनि वितरण गरिएको थियो । रियाददेखि अल कासिम करिब ४०० किलोमिटरको दुरीमा रहेको र अलकासिमबाट श्रमिकहरू रियाद जान आउन असहज तथा खर्चिलो रहने हुँदा, श्रमिकहरूको हक हितको मध्यनजर गर्दै नेपाली दूतावास रियादले अल कासिम क्षेत्रमा उक्त घुम्ती शिविर राखेको थियो । यसरी घुम्ती शिविर राखेर अल कासिम क्षेत्र वरिपरि रहेका श्रमिकहरुलाई सेवा दिएकोमा नेपाली राजदूतावास रियादलाई एनआरएनए आरसीसी अल्कासिमले धन्यवाद तथा आभार प्रकट गरेको छ। यसैगरी उक्त घुम्ती शिविरमा सेवा गर्नुहुने समाजसेवी बुद्धिजीवी, संघसंस्थाका पदाधिकारीहरु, होटल व्यवसायीहरु, इस्लामिक सेन्टर सबै सबैमा हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ।
दाेपानी´ कर्ण दयालसाेराडी´ काे पहिलो एकल लघुकथासङ्ग्रह हाे । यसअघि लघुकथाकाे सुगन्ध´ संयुक्त लघुकथासङ्ग्रह प्रकाशित गरेका दयालले गजल, कविता, मुक्तक विधामा सशक्त रूपमा कलम चलाउँदै आएका छन् । बैतडीमा जन्मिए हुर्केका दयाल उच्च शिक्षा हासिल गरेर केही समय शिक्षण पेसामा लागे भने पछिल्लो समय मानवअधिकारकर्मी तथा सामाजिक अभियन्ताकाे परिचय बनाएका छन् ।
हालसम्म आधादर्जनभन्दा धेरै कृति प्रकाशित गरिसकेका दयालले २०७३ सालतिरबाट लघुकथा लेख्न थालेका हुन् । विदुर चालिसे, शंकरप्रसाद गैरे, कपिल लामिछाने लगायतका अग्रज स्रष्टाका लघुकथाबाट प्रभावित दयाल मूलतः मानवीय मूल्य मान्यता स्थापित गर्ने पक्षमा आफ्ना लघुकथाहरूलाई केन्द्रित गर्न मन पराउँछन् । पानी बार्ने नेपाली समाजकाे परम्परागत मान्यतामा आधारित रहेर दाेपानी शीर्षक राखिएको दयालकाे लघुकथासङ्ग्रहमा चउन्नवटा लघुकथा समावेश गरिएका छन् । सरल भाव सुन्दर शिल्पशैलीका यिनका लघुकथाहरूले नेपाली समाजमा देखिने विविध विषय र समस्यालाई उठान गरेका छन् भने कतै व्यङ्ग्य गरेका छन् त कतै सुधारका लागि सन्देश सम्प्रेषण गरेका छन् ।
जातीय विभेद, आर्थिक विभेद, लगायतका विभेद दयालका लघुकथाकाे मुख्य कथ्य हाे भने मान्छेका साथै मानवेतर प्राणीप्रति पनि दया माया देखाउनुपर्छ भन्ने सन्देश यिनका लघुकथामा सम्प्रेषण गरिएको छ । मानवेतर प्राणीका साथै विभिन्न समय र प्रहरलाई मानवीकरण गरी पात्र चयन गरेकाे पाइन्छ ।
बालबालिकाप्रति अभिभावककाे दायित्व, पशुअधिकार र मान्छेकाे क्षुद्र र स्वार्थी प्रवृत्ति, पशुमा दया देखिने तर मान्छे क्रूर हुने गरेकाे यथार्थ, पशुमाथि मान्छेले गर्ने छल, काम गर्नेलाई अधिकार नदिने विभेदकारी नीति, मजदुर अधिकार, लैङ्गिक विभेदजस्ता विषय दयालका लघुकथामा प्रस्तुत भएका छन् । छाेरीलाई शिक्षा दिनुपर्ने र उमेर नपुग्दै बिहे गरिदिन नहुने सन्देश, कर्मचारीकाे भ्रष्ट आचरण, प्रकृतिको दाेहन, विभेदयुक्त समाज, अरूलाई आराेप लगाउने तर आफै लापरबाही गर्ने प्रवृत्ति, राजनीतिमा नयाँ पुस्तालाई अगाडि बढाउनुपर्ने मान्यता, कर्मचारीले गर्ने भ्रष्टाचार र जनप्रतिनिधिले राज्यकोषकाे दाेहन गर्ने प्रवृत्ति, मर्दै गएको मानवीय संवेदना, विदेशिनुपर्ने विवशता, काेराेनाका विविध सन्दर्भ, माेबाइलकाे लत, अन्धविश्वास, चाकरी खाेज्ने प्रवृत्ति, यिनका लघुकथामा प्रस्तुत भएका विषय हुन् । सामाजिक विकृति, विसङ्गति, गतिहीनता, बेमेल, भ्रष्ट राजनीति लगायतका विषय प्रस्तुत गरेर दयालले सामाजिक विषयका लघुकथा लेख्ने लघुकथाकारकाे परिचय बनाएका छन् । नेपाली समाजमा देखिने, सुनिने र भाेगिने गरेका आम विषयलाई नै चयन गरेर सुन्दर ढङ्गले आख्यानीकरण गर्ने दयाल कुशल लघुकथा स्रष्टा हुन् । यिनका लघुकथा क्रमशः परिष्कृत हुँदै गैरहेका छन् । दयाल बलियो सम्भावना बाेकेका लघुकथाकार हुन् भन्ने कुराकाे पुष्टि उनकोदाेपानी´ लघुकथासङ्ग्रहले गरेको छ ।
कृति : दाेपानी विधा : लघुकथा लेखक : कर्ण दयाल `साेराडी´ प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च प्रकाशन वर्ष : २०८१ वैशाख मूल्य : ३३३/-
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (६४औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथा ‘मर्निङ्ग वाक’, लघुकथाकार खगेन्द्र बस्यालको लघुकथा ‘गहना’ र लघुकथाकार ध्रुवराज थापा ‘पुरूष’को लघुकथा ‘उच्च सम्मान’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।
——————-<•>——————
[१] लघुकथा: मर्निङ्ग वाक
✍️ रञ्जुश्री पराजुली दिनमा कम्तीमा पनि पाँच हजार पाइला हिँड्नुपर्छ । हिँडाइ पनि एकप्रकारको उपचार नै हो भन्ने भनाई आजभोलि यत्रतत्र सुनिन्छ । हिँडाइले अनेकौँ रोग निको पार्छ भनेको सुनिन्छ । त्यसैले अझ कोही त सातदेखि दस हजार पाइलासम्म हिँड्नुपर्छ भनेर नाडीमा बाँधेको वाकिङ्ग सेस्टेप देखाउने घडी हेर्दै हिँड्छन् । एकदिन लौ त भनेर म पनि बिहान छ बजेतिर हिँड्न निस्किएँ । पिच सडकमा बिहानको स्कुलको बसहरू हुइकिरहेका देखिन्थे ।
पेटीमा वृद्ध, युवा आदि हिँड्नेको लर्को नै थियो । ठूलाठालुहरू सडकको पेटीमा आफ्ना पाल्तु कुकुरलाई हगाउन ल्याउने पनि निकै देखिन्थे । उनीहरू मध्ये एउटाले अर्को कुकुर मालिकसँग उसको कुकुर सुम्सुम्याउँदै ‘राम्रो रहेछ । कुन ब्रीडको हो ? कति पर्यो ?’ भनेर सोध्यो । “यो ल्याब्रे सेपर्ड हो । पचास हजार पर्यो ।” तपाईँको के ब्रीडको सानो लामो कान भएको कालो सेतो रङ्गको राम्रो रहेछ ।” “यो बर्नी डुडल मिनी हो । यस्को साठी हजार पर्यो । मेरी छोरीले यही चाहियो भन्न थाली ।” यसरी ती दुई सम्भ्रान्त नवधनाड्यहरूले आफ्ना मूल्यवान पाल्तु कुकुरहरूको प्रशंसा गर्दै कुकुरलाई सडकमा हगाएर ‘बाई बाई’ भन्दै आ-आफ्ना आलिसान बङ्गलोतिर लागे । अरूको कुरा सुन्नु त राम्रो होइन तर उनीहरूभन्दा पछि परेकोले नसुनुभन्दा पनि मैले उनीहरूको सबै सम्वाद प्रत्यक्ष सुनेँ ।
हिँडदा हिँडदै एउटाले सडकको बिचमा थुप्रिएको एक रास ठूलै कुकुरको आची टेक्यो । छि: छि: र दुर्दुर गर्दै “छोराले आमेरिकाबाट भर्खर पठाइदिएको लेटेस्ट ब्रान्डेडे मेरो नयाँ महङ्गो दुई सय डलर पर्ने स्पोर्ट्स सु …” भन्ने चीत्कार उस्को मुखबाट निस्कियो । ——————-<•>——————
२) लघुकथा: गहना
✍️ खगेन्द्र बस्याल -“गहनाले झकिझकाउ हुँदा कति राम्री तिमी त !” शारदाले विमलालाई भनिन् । विमलाको भनाइ रह्यो, -“मेराभन्दा राम्रा गहना तिमीसँग छन् ।”
शारदाले प्रतिक्रिया जनाइन्, -“के भनेकी, तिमीसँग जति गहना छन्, त्यसको एक चौथाइ पनि छैन मसँग ।” विमलाले हाँस्दै भनिन्, -“सासूआमाले मेरी बुहारीसँग एक नम्बरी सुन, चाँदीको अतिरिक्त हिरामोतीका गहना समेत प्रयाप्त छन् भनेर फाइँफुट्टी लगाउनु भएको थियो र !”
शारदाको कथन रह्यो, -“मैले भनेको होइन, देखेको मात्रै कुरा पत्याउँछु । कहिलेकाहीँ कसैको केहीबेरलाई लगाएको गहना देखेर झुक्किनु भयो कि ?” शारदाले हँसाइन्, -“आफ्नो वा अरूको लगाएको हो, अनुहारले नै बताउँछ नि !” विमलाले जिज्ञासा राखिन्, -“उसो भए ल भन त मेरा गहना के के देखेकी छ्यौ ?”
शारदाले स्पष्ट पारिन्, -“बोल्ने कला, कसैलाई दुःख परेको बेला सम्झाउन सक्ने क्षमता, नाच्न गाउनमा विलक्षण प्रतिभा, सामाजिक कार्यमा अग्रसरताको कारण तिमी समाजकै गहना बन्न सफल भएकी छ्यौ। वास्तवमा त्यो सक्कली गहना मसँग छ त !”
तिलोत्तमा ९ सरस्वती पथ, रुपन्देही ——————-<•>—————– ३) लघुकथा: उच्च सम्मान
✍️ ध्रुवराज थापा ‘पुरूष’ -“भाइ साहब ! हम आपके साथ एक फोटो ले सकते हैँ ?” शैक्षिक सम्मेलनमा सहभागी एक भारतीय शिक्षकले मलाई अनुरोध गरे । -“अरे भाइ, क्योँ नहीँ ! आइए न लिजिए ।” भारतको राजस्थानस्थित शान्तिवनमा आयोजित शैक्षिक सम्मेलनमा सहभागीता जनाउन पुगेको मैले सहजै स्वीकारोक्ति जनाएँ ।
उनले मसँग टाँसिएरै फोटो खिचे । उनका समूहका साथीहरूले पनि मसँग उत्साहकासाथ फोटो खिचाए । ग्रुप फोटो पनि प्रसस्तै खिचे । उनीहरू मसँग फोटो खिचाउन पाउँदा दङ्ग थिए । म पनि फुरूङ्ग परेँ ।
बिहानीको नास्ताको समयमा खाली समयको सदुपयोग गर्दै सम्मेलनमा सहभागी भारतीयहरूको अरू धेरै समूहले मेरो साथमा त्यस्तै सद्भाव प्रकट गरे । पर्याप्त फोटो खिचे । महिलाहरूले पनि त्यसै गरे । मिलाइमिलाइ फोटो खिचाए । देख्नेहरूलाई लाग्थ्यो होला ‘म ठूलै सेलिब्रेटी हुँ ।’ भिडले उत्साहपूर्वक यो दृष्य नियालिरहेको थियो । म भने गर्वले दङ्ग थिएँ । मेरो महत्त्व बढेको देखेर फोटो सेसनको समयपछि सम्मेलनमा सहभागी हुन आएका अर्का एक नेपाली साथीले मसँग जिज्ञासा राख्नुभयो, -“आज हाम्रा छिमेकी मित्रहरूले तपाईँको निकै सम्मान गरे, खै हामीसँग त त्यस्तो गरेनन् !” मैले उत्तर दिएँ, -“उनीहरूले मलाई सम्मान गरेका हैनन्, न म कुनै चर्चित मान्छे, न मैले उनीहरूलाई चिनेको नै छु ।”
-“त्यसो भए त्यत्रो सम्मान केको लागि थियो त ?” साथिले सोधे । मैले प्रतिउत्तर दिएँ, -“मेरो शिरमा उच्च सगरमाथा समान ढाका टोपी सजिएको छ नि त !”
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय चौध अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११४ —————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०६/०७ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ राम्रो कामहरू गरेर देखाउनु छ। धेरै खुशीहरू छरेर देखाउनु छ। हुन्छ धेरै उतार चढाव जीवनमा सबै दुखहरू हरेर देखाउनु छ। पछि हैन अघि सरेर देखाउनु छ। सुशीला पौडेल
पञ्चाङ्ग:०२ ॐ रिसरागले ठूलाे व्यक्तित्व झनक्क झन्किनु भयाे देश चलाउने अस्तित्व त सनक्क सन्किनु भयाे नीति नियममा नचल्ने अडानमा रहन गाह्राे अधिकार प्राप्त शक्ति हरे फनक्क फन्किनु भयाे अति भयाे सेवाग्राही व्यक्ति तनक्क तन्किनु भयाे । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे।
पञ्चाङ्ग:०३ यो जिउँदो लास मिल्छ भने पोलेर जाऊ मिल्दैन भने केही न केही बोलेर जाऊ सम्बन्ध लाएपछि निभाउन पनि पर्छ कि त मन्मथ एकैठाउँमा घोलेर जाऊ नत्र त्यो मौनताको रहस्य खोलेर जाऊ ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग०४ कति हुन्छ पिडा जिन्दगीमा भुल्न सक्नुपर्छ संसारमा दु:ख छ दु:खमै फुल्न सक्नुपर्छ दु:खसुख आउँछ जान्छ हिउँद बर्खा जस्तै जिन्दगी भने दुवै याममा डुल्न सक्नुपर्छ आँशोमा थोरै हाँसो मिसाइ घुल्न सक्नुपर्छ । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५ धर्ती बल्यो असोजको चर्को घामले यहाँ। चाड पर्व बले छ महँगो दामले यहाँ। संस्कार संस्कृति धान्न नै गाह्रो हुने भयो , नेताले धोक्रो भर्छन् संस्थाका नामले यहाँ। निमुखा त मर्यो रातदिन कामले यहाँ। ✍️ बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०६ जस्को सरकार आउँछ उहीँ बनेर बस्छ ढाल यहाँ , फरक फरक नीति मात्रै त ल्याउछन् हर साल यहाँ । न त बिकास भयो न त निकास आउँछ देशमा गति, यस्तो पाराले कसरी हुन्छ देशमा निश्चित ताल यहाँ , धेरैजसोको घरमा मुन्टो ओतलाई छैन पाल यहाँ ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०७ सत्ता एक नशा रहेछ र सधैँ मातेर बस्दै छु म गाेली बन्दुकले हरेक जनता हाँकेर डस्दै छु म भित्री दम्भ घमण्डकाे कहरले सत्ता समाइ बसेँ भ्रष्टाचार गरी अकूत धनले झाँटेर फस्दै छु म जाे उच्चासनथ्याे चढेर रहदा हल्लेर खस्दै छु म। -ताेयानाथ सुवेदी काँडाघारी,
पञ्चाङ्ग:०८ धर्ती बलेको छ चर्को घामले । ज्यान गलेकाे छ चर्को घामले । अस्तव्यस्त छ प्राणी जगत, गर्मी फलेको छ चर्काे घामले । जन थलेकाे छ चर्को घामले । भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०९ दुःखमा किन प्रभु नाम घोकिन्छ होला ? प्रभु नामले भव बाधा रोकिन्छ होला सराहनीय कार्यले रहोस् नाम हाम्रो कुकर्मले पापको भारी बोकिन्छ होला अर्काकै उन्नतिमा जिब्रो टोकिन्छ होला । कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
पञ्चाङ्ग:१० प्रेमील संसार जगाएर जाऊ। दुःख पीडा सबै भगाएर जाऊ। मानव जिन्दगी अजीव रहेछ, सुख खुसी यतै मगाएर जाउँ। प्रेम रूपी फूल लगाएर जाऊ। ह्यारिस
पञ्चाङ्ग११ अन्तिम पल्ट मात्र भेटेर जाऊ सम्बन्ध सबै सबै मेटेर जाऊ समस्या सँग लड्नै पो नसक्नेले छिद्र भएको मुटु रेटेर जाऊ जिउँदो लाशलाई खेदेर जाऊ। -कला ढकाल झापा
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छ्यानब्बेऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०६/०३गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९६[छ्यानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ एउटा पुस्तकालय खोल्न मन छ। यसबारे चारैतिर बोल्न मन छ। कस्तो राम्रो देखियो पुस्तकको घर, गल्ती बोल्ने सबैलाई पोल्न मन छ। अब गल्ती गर्नेलाई विष घोल्न मन छ। सुशीला पौडेल
पञ्चाङ्ग :०२
खुवाउनेकाे महल बन्यो खानेकाे पाल छ । याे कसले चलाउँछ कुन्नि कसकाे जाल छ । संघर्ष त सबैले गर्छन् रातदिन नभनी , छ दुःखकाे कथा अनगिन्ती आँसुको ताल छ । खान्न भन्दै कसम खायो भाेलि उही हाल छ ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०३ घर बनाउने सपनामा थिए कुनै दिन आश्वासन परिवारलाई दिए कुनै दिन। मिहिनेत नगरेको पनि हैन नपुगेको पिडाकोअैासधि भन्दै पनि पिए कुनै दिन नसोचेका धारिला वचन लिए कुनै दिन।
दुर्गा आचार्य मोरङ पञ्चाङ्ग:०४ एउटा पुस्तकालय बनाउन मन छ। सम्पूर्णको उपस्थिति जनाउन मन छ। कस्तो राम्रो देखियो पुस्तकको घर हेर्दा, यस्को घृणा गर्नेलाई हनाउन मन छ। धेरै वार्षिक उत्सव मनाउन मन छ। -ह्यारिस
पञ्चाङ्ग-०५ चौरासी लाख जुनीपछि बल्ल मानव जुनी पाएको मान्छे प्रकृतिकै अनुपम रुप सुन्दर मस्तिष्कले छाएको मान्छे सुख सयल मात्रै खोज्छ तपस्या अनि साधना कहाँ रोज्छ? पढ्दैन किताब यति धेरै दु:ख र हन्डर खाएको मान्छे रित्तै फर्किन्छ आखिर यत्रो ज्ञानको भण्डारमा आएको मान्छे । -पशपती राई खोटाङ ।
साप्ताहिक झिल्का लेखन अभ्यासको ३६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, उसको आज आएन भोलिले जुग खायो गाइएको गीत गाएन । २, लम्बेतान कहानी कह्यो कसले देख्यो अरुण ? अनगिन्ती पानी बह्यो । ३, आजले भोलि ठेलिरह्यो पहाडको दु:ख सम्म्याउन हिजोले आज पेलिरह्यो ।
म्यामराज राई … १, रहरले होकी करले बाँचेका खाना नपाई गरिब दुःखी तरले । २, आँसु कसैले नदेखोस् अर्काको खोसेर नखानु दुःख सधैँ मेटोस् । ३, हजार सपना देख कर्म गरेर देखाऊ झिल्का सधैँ लेख ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, टुप्पोबाट पलाउने नासिन्छ घमण्ड बढ्छ मनमा उचालिँदै तल भासिन्छ ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, तिम्रो वचन कस्तो बिजाई मुटुमा चसक्क किन गर्यो यस्तो ? २, कसरी भुलौँ अतितलाई? कोशिस जारी राखें सकिएन बस्न रमाई । ३, भुल्न प्रयास गरेँ त्यही भएर ठाउॅं छोडी अन्तै सरेँ ।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। … १, मलाई भेट्न बोलाएर केही कुरा नबोली चुपचाप बस्यो टोलाएर । २, पहाडमा दिनदासा सुरु विकासको काम छैन् पहिरो खस्छ खुरुखुरु। ३, मायाको कुरा गर्यो सॅंगै बस्छु भन्दा ऊ पछाडि सर्यो ।
चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ … १, संविधानभन्दा पनि माथि कोही हुन सक्दैनन् होइन त साथी! २, संविधानमा मौलिक हक छ उल्लेख गरिएको लाग्छ बोल्नलाई धक। ३, वीर योध्दाको योगदान भन्दछन् फेरि सबै उत्कृष्ट नेपालको संविधान।
सतीश पण्डित, भानु -६, चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, हिजोआज प्रेममा परे थाहा छैन खोइ ! मैले के गरे ? २, बाउले गर्छन् गाली हिजोपनि कुटेका हुन् उचालेर हलोको फाली । ३, दिमाग घुम्छ किन ? मैले सक्दिन तिमीलाई चोखो माया दिन ।
लक्ष्मण देउवा डोटी … १, बतास यहाँ चल्दैछ होसियार दलाल हो तिम्रो सत्ता ढल्दैछ । २, यहाँ भाँड्नसम्म भाँडिसके नभएको सपना देखाइ यहाँ ढाँट्नसम्म ढाँटिसके । ३, यहाँ खोला तर्दैछ जीवन गइसक्यो फेरि यिनकै भर पर्दैछ ।
दीप गोले तामाङ, रौतहट … १, लगाएको ढाका टोपी कति राम्रो सुहाएको कालो कपाल छोपी । २, बसिन् उनी थचक्क आइ मेरो काखैमा भयो मन चसक्क। ३, भाषण एउटा कुरा मख्खै पारी बोल्छन् भित्र चलाई छुरा ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. ६ संखुवासभा … १, देश बेचेर खायो जनता चुपचाप छ नेता धेरै रमायो। २, लिम्पियाधुरा नेपालको भन्छ खाना पाए चुपचाप अनि देश बन्छ? ३, शरणार्थी काण्ड कता ? सुनिन्दैन आवाज अहिले भ्रष्टाचारी गए जता।
एवाइ प्रभात, सहिदभुमि, धनकुटा … १, जिन्दगी त्यसै चल्दैन मेहनत नगरे कसैले चुलोमा आगो बल्दैन । २, नाजिक बनेर आयो आफू राम्रो भएर मलाई नराम्रो बनायो ।
अनिता भण्डारी, ताप्लेजुङ … १, मन सकिँदैन सिउन सङ्घर्षले सिकाउँछ यहाँ साहसिक जीवन जिउन । २, बेकार जगमा लुकेर तरुवर बृहत् भए आखिरमा जाने सुकेर । ३, बाधा हुनेछ बेअसर नित्य चिन्तन गरेमा जीवनमा नरहने कसर ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, फुरफुर नगर नासिन्छ घमण्डी चालको विचार आफै यहाँ भासिन्छ। २, कस्तो रहेछ चाला अरूलाई मारेर जिउने पर्ला अरूको पाला।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, भ्रम मात्र छर्छन् पुरा गर्छु भन्दै झुटा आश्वासनले भर्छन् । २, गर्दै कुरा खासखुस यताउता मिलेन भन्दै नेताहरूले खाइरहन्छन् घुस । ३, निकाल्न सक्नुपर्छ जुक्ति यो घुसखोरी नेताबाट कसरी पाइन्छ मुक्ति ?
हिरामाया श्रेष्ठ, गजुरी -१, धादिङ … १, प्रेम अचम्मको हुने एकैछिन बोल्न नपाउँदा मन धेरै रुने । २, टुप्पोबाट पलाएको मातिन्छ बढ्छ अहङ्कार धेरै आखिरमा छिनैमा मासिन्छ। ३, मनको कुरा लेखेर भविष्य आफै बनाऊ सुन्दर सपना देखेर ।
राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, जनताको राज भन्छन् आफै टन्न खाई भोट मात्रै गन्छन् । २, नेताको भ्रष्ट मति जनताको ॲाखामा आँसु हाम्रो देशको गति । ३, सम्पतिको भण्डार गन्छ जनतालाई चाहिन्न केही छादुन्जेल खाएर भन्छ ।
राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ … १, सम्भावनाको घर विदेश दौड़ने बाध्यता हातमुख नजोरिने डर । २, माटो सुहाउँदो रोजगारी मजबुत समृद्धिको बाटोमा भरौँ सिर्जनाले खेतबारी ।
ममता पौडेल, बुढीगङ्गा -२,मोरङ … १, हिजोआज अनि भोलि आजको सदुपयोग गरौ अवश्यै भरिनेछ झोली। २, जीवन एक यात्रा हिडेँ चोटि पुगिन्छ न हिडेँ जात्रा।
बिके मुखिया, दार्जिलिङ भारत। … १, परेको छ गारो पाखुरीले साथ दिँदादिँदै नहेप यति सारो । २, लेख्नु धेरै थियो अधिकार आउला भनेर हेर्दाहेर्दै संसदले पियो । ३, शिक्षक आन्दोलन आयो सहमतिलाई जेल पठाउँदा कसले के पायो ?
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा) … १, जो अन्याय अत्याचारी अधोगति देख्छौ देख्दैनौ ए काला भ्रष्टाचारी ।
प्रेम थापा “मन”, बागलुङ … १, संविधान देखाउने लेखियो न्याय छैन गरिबलाई हत्यारा बाहिर देखियो । २, रास्ट्रको अपमान गर्दै नेता राजनीति गर्छन आफ्नो झोला भर्दै ।
रबि पौडेल, दक्षिण भारत पाण्डेचरी । … १, श्रमिकले पाउने अधिकार दिन गाह्रो मालिकलाई गर्छौ किन प्रतिकार ? २, रुझिभिजि रोज कमाएको मालिकलाई नाफा पुर्याएर पाउने हक जमाएको । ३, सङ्घर्ष भएर पहिले आफ्नो अधिकार पाउनलाई चाडपर्वको मुखमा जहिले ।
मोती योन्जन सुब्बा, दार्जिलिङ। … १, धोका दिन्न भनेर हिसाब चुक्ता गरायो पाई पाई गनेर । २, विश्वासघात भयो भन्दै पश्चात्ताप गर्छ ऊ दुःखले विह्वल बन्दै ! ३, सुन्दर फूल देखियो लोभि नजर दौडाई काँडा मात्रै टेकियो।
विवश पारदर्शी, झापा … १, हेर सारा गगन बादल वर्षालाई हाँस्दै सकेको पीडा सहन !
आर्त अकुलीन … १, दु:खको घैलो फोडिॅंदैन कुनै काम नभएपछि हातमुख पनि जोडिॅंदैन । २, नगर्दा हुन्छ रहर गधा धोएर गाई बनाउन सक्दैनौ जिन्दगीभर । ३, भ्रममा रुमलिन्न मित्र लाग्न थाल्यो तिम्रो नेताको जस्तो चरित्र ।
अरुण कुमार भुजेल, दार्जीलिङ्ग भारत। … १, ठोकेर मुटुमा किला खोज्दैछे ओठमा मुस्कान छन् आँखा रसिला । २, सपना अपूरो अधुरो चारैतिर छ अन्धकार जीवनको ज्योति मधुरो । ३, कालोनिलो निस्पट्ट सगर लाग्दैछ आजकल मलाई जिन्दगी मरुभूमि बगर ।
वसन्त अनुभव, घोराही, दाङ … १, भन्नलाई स्वयम् मेरो सिन्दुर लगाई जग्गेमा घुमाइदिनु उसलाई सातफेरो । २, दिन पनि खुलेको आहा! दशैँको बहार धान पनि झुलेको । ३, घाम लाग्यो घमाइलो दिनमा गर्मी भएपनि, लाग्छ साह्रै रमाइलो ।
अमृत कोइराला, पोखरा … १, कोही नपाएर खान भोको यहाँ सबै सन्तुष्टि खोज्न जान।
सुनगाभा पोखरेल, हाल: नेपालगन्ज … १, कसरी खोलूँ बह ? चम्किलो रातमा देखिन्छ जमिएला सुखको दह !
जनक बिसी, दक्षिणभारत कोचिन … १, आयो महिमा शारदको धरती अति शोभायमान भयो अन्त्य मेघको । २ , झुल्यो धानबाला खेतमा सयपत्री मखमली हाँस्यो रम्यो तनमन उल्लासमा ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनपा १४ साँगाबजार … १, उजाड भएपछि पाखाहरू सुख्खा रहे यहाँ हेर्ने पनि आँखाहरू । २, आउँदैछन् हाम्रा चाडपर्व सुखद बनून् क्षणहरू लागोस् सबैलाई गर्व । ३, सुनौलो रहोस् बिहान अन्तिम गन्तव्य हाम्रो केवल हो चिहान ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा … १, चाड पर्वको भेल चामल छैन घरमा कसरी पकाउने सेल ? २, विदेशिएको छोरा टाढा दिलमा स्नेहको भावले बल्झन्छ घाउ गाढा । ३, सुचना संचारको नाउमा प्रवेश भएर आजकल छाडा केटाकेटी गाउॅंमा ।
हिरालाल न्यौपाने, बानपा ८ काेटमाैला सल्यान … १, देश बेथितिले चल्छ अराजक जातततै देख्दा युवाको मन जल्छ। २, खेत बाँझो देखिन्छन् बन्द छन् उद्योगहरू युवा जति बेचिन्छन् । ३, नेताको झगडा हुन्छ जनताले दुःख पाउने गुनासो कसले सुन्छ?
कृष्ण बजगाई, भक्तपुर … १, भित्रिँदै छन् चाडपर्व महङ्गी आकाशियो झनै लागेन खासै गर्व । २, खेतबारी बाँझो राखेर लहैलहैमा हिँडेका युवा फर्किन्छन् दु:ख चाखेर । ३, नभुलौँ भाषा भेषलाई गरेर पौरख यहीँ स्वर्ग बनाऔँ देशलाई ।
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ … १, सत्य कहाँ गएछ यो धर्तीमा कसैलाई फूल काँडा भएछ । २, जात्रा देखाए धेरै असल आफू मात्रै हारेर जित मेरै ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, सुखमा खुसी हुन्छ सम्हाल्न जानेन भने दुःखमा परेर रुन्छ ! २, खास कोही भेटिएन भ्रममा पार्ने मात्रै अन्योलको वातावरण मेटिएन ! ३, परिक्षा लिँदा दिँदा जीवनले मोड फेर्छ बेला बेला झुकिॅंदा !
अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 … १, रङ्गिॅंदै छन् गाउँघर चाडपर्वले छोएर होला रित्तिॅंदै छन् शहर । २, सुनसान परदेशको बसाइँ , याद आउँछ गाउँघरको, बस्नुछ आँखा रसाई ।
भुपेन्द्र राना मगर, धादिङ … १, सुन्दर जीवनको पाटो अकालमै चुँडेर यसलाई, नबनाऔॅं माटोको धुलो । २, जीवन कर्कलाको पानी सुख दुःखसॅंग जुधेर, सबैले कटाऔॅं जिन्दगानी । ३, मन बनेमा निराश दिक्क लाग्ने बाँच्नलाई, खुसीको नहुने आस ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १, जोडी राधाकृष्ण जस्तै देखियो हजुरको पनि प्रसंशा चौतर्फी प्रशस्तै । २, दुरी बढ्यो अचेल हामीबिचको आज किन ? हुनुपर्ने देखियो सचेत । ३, कहानी राम सिताको लेख्नुपर्ने भयो फेरि आउॅंछ यो युगबिनाको ।
ईश्वर साउद(भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, पाउन छोड्यो रासन अहोरात्र रुन्छ देश निरङ्कुश भयो शासन ! २, मत्स्य न्याय भयो खोसिए मौलिक हक आशा भरोसा गयो ।
ऋजु दिल्पाली, ईटहरी १ सुनसरी … १, जताततै घेरेको अभावले गरी खाने ठाउँबाट हटाइएछ राजनीति दबाबले। २, अधिकार पाउने आसमा खान छैन पेटभरि फर्के चरी बासमा। ३, कहिले पाउने अधिकार लडाइँको मैदान खाली गर्छ कस्ले प्रतिकार ।
दुर्गा आचार्य, मोरङ … १, बादलले पानी पार्दछ, दुखलाई बाँडेर नलिए सहर्ष आँसु झार्दछ। २, रुखमा कोइली करायो, वसन्त आएको देखेर वर्षाद ऋतु डरायो।
होमप्रसाद नेउपाने, धरान, सुनसरी … १, समयमै सोच्नुपर्छ अब पछुतो मानेर हुदैन, बिग्रन सक्छ जब। २, मान्छे भन्न डराउॅंछ आखालाई दोष किन, मनले मन पराउॅंछ। ३, मन पराउनु राम्रो धोका नदिनु कसैलाई, बैगुनी बानी हाम्रो।
शंकर कार्की … १, केहि लेख्न खोजे शवहरूको माला उनेर झिल्का कविता रोजे । २, भावना पोख्ने ठाउँ साहित्यमा कविता हेर तीन लाइनको नाउँ ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा … १, आँशुले मुख धोएर समस्या झनै बल्झिन्छ हुँदैन समाधान रोएर! २, चाहना थिएन भन्ने आशा लागेर हो तिम्रो नजिक बन्ने!
मन्दिरा सेढाई, मलेखु,धादिङ … १, राष्ट्रिय नेता रमाए निर्दोषको पसिनामा कस्तरी हैकम जमाए। २, सदमा हल्ला चल्दैछ भ्रष्टाचारी नेताले आज निर्दोसको आँखा छल्दैछ। ३, भयो सबैलाई थाहा नेताको भाषण शैली सबैलाई भयो चाहा।
कला ढकाल, झापा … १, स्वार्थी मानिसको जात बेकम्मा बन्दैछ आफू उठाउन नजान्दा हात।
कोपिला अधिकारी, गोरखा … १, बढायौ अचेल दुरी नढाँटीकन भन लौ के पर्यो मजबुरी? २, मायाप्रीतिको सुँइको पाए अबदेखि तिमीसँग भेट्न घरमै प्रतिबन्ध लगाए l ३, नबस्नु कत्ति पिरमा मायाको जित हुनेछ रहेछ भने तक्दिरमा l
बाबुराम गौतम, गुल्मी … १, जनता दुःखमा घेरेको छैन अलिकति फिकिर नेता टुलुटुलु हेरेको।
बिरेन्द्र चौधरी, इटहरी, सुनसरी … १, देखाउनेको भिड लाग्छ भित्री कुरा बुझ्दैनन् उसकै पछि भाग्छ।
शोभा आचार्य गौतम, काठमाडौँ … १, मनैबाट निकालौँ तितोपिरो एकैबारको जिन्दगी बाँच्दा बनाऔॅं सबैले सुवासिलो।
विष्णु पंगेनी(पाण्डे ), वालिङ -स्याङ्जा … १, शरद् महिना आयो गाउँ घरमा रमाइलो चाडपर्वमा खुसी छायो । २, साहुले दिएको ऋण हुन्छ होला अप्ठ्यारो हुनेछ तिर्न घृण ! ३, खर्चमा नहौसनु पर्वमा एक छाक अन्न अघाएर परौँ गर्वमा
बेदु न्यौपाने … १, भ्रष्टले मृत्यु देख्दैन लुट्छ जीवनभर देशलाई , इज्जतले नाम लेख्दैन। २, इमानीले गर्छ कर्म अँगाल्छ सेवाको धारणा , गर्छ ठूलो धर्म। ३, भोलि बिहान हुनेछ उदाउनेछन् कोही इमानी , दुःखीको मन छुनेछ।
सुस्मिता अधिकारी, काठमाडौँ … १, मेटिन्छ कहिले आशा, लासको श्वासमा अडी , चाडमा नखेल्नु पासा । २, रुपैया खल्तीमा भए भइन्छ पीडामा हेर आवेग भेलमा गए । ३, त्यसैले समय गति, बुझेर मानिस हिॅंडे , सुध्रिन्छ उसको मति ।
जी.वि.कश्यप, घोराही, दाङ … १, आफ्नो कर्तव्य बुझौँ कान छाम्ने गर्नुपर्छ समयमै सबै सुझौँ । २, धानको बाला लहराएको परिश्रमी किसान हर्षित दसैँको तरङ्ग तरङ्गाएको ।
धनमाया चौधरी, कैलाली … १, समयले फन्को मार्यो उकाली ओराली गर्दै अघि बाटो सार्यो । २, भर्न खोजीमा रहेछु हरेक इच्छाका झोलीहरू सबै कुरा सहेछु । ३, भत्किन्छ सपनाको महल बनाउने कोसिसमा हुन्छु खुसीको गर्छु पहल ।
पुष्पा राई, बादेल, खाेटाङ । … १, मुटुको हुन्छ चिरफार प्रेमको घारीमा पसेपछि नहुने रहेछ उपचार । २, हरपल उसैको चाहना बुझ्नेले नबुझ्नेपछि बेकार मुटुभरि गुम्सिएका भावना । ३, गर्छु आज वारपार निकाली फाल्छु उसलाई ठानी काँडे झार।
रुना कर्माचार्य दाहाल, चितवन … १, गर्छौँ हामी गर्व राम्रो लाग्छ हामीलाई हाम्रै आफ्ना चाडपर्व । २, हाम्रो संस्कृति बचाऔॅं मौलिकता बचाई राख्न सारा विकृति हटाऔॅं । ३, आचार विचार हाम्रो सादा जीवन जिउँदा हुन्छ सधैँ राम्रो ।
जयनारायण नेपाल, इलाम ,सूर्य विनायक २, बालकोट ,भक्तपुर । … १, दसैँ पनि आयो नेपाली मनहरूमा सधैँ , हर्ष खुसीले छायो । २, आउँदैछन् देशमा चाडपर्व नेपाली हुनामा मलाई , लाग्छ सधैँ गर्व ।
साताका उत्कृष्ट झिल्का कविताको २८ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २८ का लागि झिल्काकारत्रय नवराज भट्ट, सुनगाभा पोखरेल र भुपेन्द्र के.सी.का उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
[१] १. हेर सरकारकाे चाल धम्क्याउँछ उल्टै दाेषी कानुनको छ बेहाल । २. गल्ती नगर्ने डर्दैन गर्छ निर्धक्क सामना कदापि पछाडि सर्दैन । ३. सुशासन कायम गर्नू नत्र भ्रष्टाचार राेकिन्न यसमा अगाडि सर्नू । ✍️ नवराज भट्ट कञ्चनपुर
[२] १. परिरहेछ भदौरे झरी गुन्जन पानीको थोपाको भेट्नु मायालाई कसरी ? २. मौलिक हाम्रा चाडपर्व हुन् धरोहर खुसीका साच्चिँकै लाग्छ गर्व । ३. कलिला उमेरका नानी हुन्छन् खुल्ला दिलको सबैसँग हाँसिरहने बानी ! ✍️ सुनगाभा पोखरेल
१. चलिरहेछ पितृ पक्ष श्रद्धाभावले अर्पण गराैँ दान पितृदेव समक्ष । २. पूर्वजले आँखा देखाए सानामा हुर्काई बढाई हामीलाई टाठाे गराए । ३. ठूला भयाैँ अहिले अझै ज्ञानी बन्नुछ घमण्ड नगरौँ कहिले । ✍️ भुपेन्द्र के.सी.
नुवाकाेट पञ्चकन्या गाउँपालिका २ कविलास निवासी पार्वती घिमिरे पाैडेलले स्थानिय मठ मन्दिर र पर्यटकीय स्थानहरूकाे वर्णन गर्दै तयार पारेकाे लाेकगीत काटाैँ दाउरा घाँस हालै सार्वजनिक भएकाे छ ।
पार्वती घिमिरे पाैडेलका शब्दहरूमा तिलक भट्टराई कल्पित र प्रभा खत्रीले स्वर दिनु भएकाे उक्त गीतकाे म्युजिक भिडियाेमा डा.के.पि.पाैडेल, रितु बस्नेत, पार्वती घिमिरे पाैडेल लगायत स्थानिय वासिन्दा तथा केही साहित्यकारहरूकाे समेत अभिनय रहेकाे छ ।
“पार्वती घिमिरे पाैडेल” नामक युट्युव च्यानलबाट सार्वजनिक भएकाे उक्त लाेकगीतकाे बारेमा बाेल्दै पाैडेलले स्थानिय परिवेशकाे हुवहु चित्रण गर्ने प्रयास गर्नुकाे साथै साेही स्थानहरूमा छायाङ्कन गरिएकाे कारण याे लाेकगीतले नुवाकाेट कविलासकाे परिचय उजागर गर्नुकाे साथै पर्यटन प्रवर्दनमा समेत टेवा पुर्याउने बताउनु भएकाे छ । साहित्यका विभिन्न विधाहरूमा कलम चलाउने पाैडेलले यही गीत मार्फत सङ्गीत क्षेत्रमा डेब्यू गर्नु भएकाे हाे ।